निर्णय नं. ८८६ – जग्गा दर्ता
निर्णय नं. ८८६ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०२७...
निर्णय नं. ८८६ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
सम्वत् २०२७ सालको दे.फु.नं. ११४
फैसला भएको मिति : २०३१।१०।११।६
निवेदक : जि.सुनसरी प्र.वेली मौजे बनिगामा बस्ने मोनालाल थारु समेत
विरुद्ध
विपक्षी : मोरङ विराटनगर गोश्वार पूर्वटोल बस्ने गगीया दासीन थारुनी
मुद्दा : जग्गा दर्ता
(१) ०१७ साल अगावैदेखि जग्गामा खिचोला परेको कुरालाई लिएर ०१९।६।४ मा उजूर निवेदन परेको तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.हालको १८ नं. को जग्गाको कुरामा उजूर गर्ने हदम्याद २ वर्ष नाघिसकेपछिको उजूर भई खारेज हुने ।
(प्रकरण नं. २२)
फैसला
न्या. धनेन्द्रबहादुर सिंह
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. तथ्य यसप्रकार छ : मेरो ससुरा चुनीकारी भन्ने २ भाइका नाउँमा ७० सालमा दर्ता भएको बेलि मौजे वनीगामा १ शिवनगर १ बनीगामा १ गरी ३ मौजाको जग्गा ३१।१ भएको ससुराहरू लोग्ने परलोक भई भतिजा पलट र मेरो बराबर हक भएकोमा ४ सालमा पलट परलोक भएबाट जग्गामा मेरो मात्र हक भएकोमा अघोरी सोमनसँग अपुताली मुद्दा परी सर्वोच्च अदालतबाट मैले जिती ३१।१ मध्ये १७।४।।३ जग्गा १६ सालमा मोहनलाललाई राजीनामा दिई अरू बाँकी मेरो हक भइरहेकोमा खेत रोप्न जाँदा नदिई बन्द गरिदिएकोबाट ०१७ सालको सर्भेमा उजूर दिंदा जग्गै छैन भनी बयान गरेको र अन्यायका नाउँमा र अरू क–कसका नाउँमा जालसाजबाट दर्ता गरी मोहनलालले मैले दिएको भन्दा बढी जग्गा खाएको हुँदा मेरो जग्गा अन्यायवालाहरूका नाउँबाट कट्टा गरी ७० सालको श्रेस्ता बुझी दावी बमोजिमको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत वादी गङ्गिया दासिन थरुनीको निवेदनमा यसमा अघि कुनै आदेश भएको छैन र व्यहोरा साँचो भए त्यस अदालतले ठाडै बुझी ऐन सवाल बमोजिम गर्नुहोला भन्ने तत्कालीन धरान जिल्ला अदालतको नाउँमा सर्वोच्च अदालत सिङ्गल बेञ्चको आदेश र निवेदनमा लेखिए बमोजिम गरिपाउँ भन्ने समेत वादी गङ्गीया दासिनको बयान भएको रहेछ ।
३. वादीको जग्गा मैले लिए खाएको छैन । अपुतालीको र आफ्नो समेत गरी वादीको करीब १७ विगाह जग्गा थियो सो सबै जग्गा मोहनलाललाई वादीले बिक्री गरिसकेको हुँदा वादीको जग्गै छैन झुट्टा उजूर गरेको हो भन्ने समेत प्र.दानालालको बयान ।
४. वादीको जग्गा मैले लिए भोगेको छैन निजको तल्सीं जग्गा मोहनलालले लिई भोगेको ३,४ वर्ष भयो भन्ने समेत प्र.नेत्रप्रसादको बयान ।
५. वादीको जग्गा लिए खाएको छैन वादीको अपुतालीको समेत गरी करीब १७ बिगाहा जग्गा थियो । सो सबै जग्गा मोहनलाललाई बिक्री गरीसकेको हुँदा वादीको १ धुर पनि बाँकी छैन । झुट्टा उजूर गरेको हो भन्नेसमेत प्र.मोहन, बनहु, कारिलालको वा.भई आफ्नो हकमासमेत प्र.सतनलालको बयान ।
६. वादीको जग्गा हामीले लिए खाएको छैन । वादीको जे जति थियो मोहनलालले लिएको छ । सो बाहेक बाँकी जग्गा छैन अपुतालीमा मुद्दा परेको इवीले झुट्टा उजूर गरेको भन्ने समेत प्र.पोसं, मागं बुधनीको वा.भई आफ्ना हकमा समेत प्र.अघोरी थारुको बयान ।
७. वादीको नाउँको १७।३।।३ जग्गा राजीनामा लिएको छु । अरू जग्गा छ छैन मलाई थाहा छैन भन्ने समेत न्या.मोहनलालको बयान ।
८. वादीको जग्गा मैले लिए खाएको छैन वादीको ससिम जग्गा मोहनलाललाई बिक्री गरी सकेको छ भन्ने समेत प्र.सरला भन्ने सुरथलाल हजाम, सुबुरीहजाम, मुनिलाल, ठिठरको वा.भई आफ्ना हकमा समेत प्र.लालमणिको बयान ।
९. वादीको जग्गा मैले मिची चापी लिए खाएको छैन निजको मोहनलाललाई बिक्री गरे बाहेक अरू जग्गा छैन भन्ने समेत प्र.उल्लालको वा.जगन्नाथको बयान ।
१०. प्र. अच्युतानन्दले आफैले बुझी तामेल भएको म्याद गुजारेको बलिराम, मुनिया तेलीको १९।११।३ मा बेपत्ते जनी टाँस भई तामेल भएको ।
११. श्रेस्ता हेर्दा दर्तावाला बुनिकारीका नाउँमा ७० सालको पुर्जामा जम्मा कित्ता ४२ को जग्गा बिगाहा ३१।।१।।२ निजहरूको नाउँमा दर्ता रहेको देखिएको ७० सालको नापी जम्मा बदी बमोजिमको जग्गा मध्ये गङ्गीयाको राजीनामाबाट मोहनलालको नाउँको १८।.।१ बाहेक अरू बेदर्ताको प्र.बतहुँका नाउँमा कट्ठा द्र४ प्र.पोषणको छोरा सोनालालको नाउँमा ।३।३ प्र.मागन र निजको भाइ जगतको नाउँमा ।३। प्र.सबुरीको नाउँमा २।।। भोगेको कुरा पटवारीबाट खुल्न आयो । प्रतिवादी मोहनलालले लिखतले पाएभन्दा बढी भोगेको देखिएन । निजको बाहेक अरू प्रतिवादी बनहुँ पोषणको छोरा सोनालाल मागन, जगत, सबुरी ठिठरका हकमा माथि लेखिए बमोजिमको जग्गा कसरी को बाट हक गरी सरि आएको हो सो कुराको प्रतिवाद नगरी बयानमा लुकाएकोले दर्तावालाको हक छुटाएको कानूनी लिखत प्रमाण दाखिल गर्न नसकेको र हक छुटेको लिखत बेगर अर्काको जग्गा त्यसै खान नपाउने अपुताली समेतको बंशजका नाताले दर्ता सरेको भन्ने पनि नदेखिएकोले दावी बमोजिम उल्लेखित प्रतिवादीले खिचोला गरेको र अरू प्रतिवादी उपर वादीले झुट्टा उजूर गरेको ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०२३।८।२४।४ को फैसला ।
१२. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.ठिटर, सोनालाल, सबुरीयाको छुट्टाछुट्टै पुनरावेदन ।
१३. वादीको ससुरा कारिबनीका नाउँको जग्गा प्रतिवादीको नाउँमा सरेको भनी पटवारीले दिएको विवरणबाट देखिए पनि हक टुटाई लिएको सबूत प्रमाण पेश गर्न सकेको पाईंदैन । हक टुटाई लिएको प्रमाण बेगर प्रतिवादीहरूको हक पुग्छ भन्न मिलेन वादीको जग्गै छैन भनी प्रतिवादीले सुरु बयानमा लेख्नु भएको र पुनरावेदन गर्दा अंशबाट हक भएको पनि जिकिर गर्नु भएको देखिए पनि अंशबाट हक भएको भए त्यस कुराको सबूत प्रमाण पनि पेश दाखिल गर्न सक्नुपर्ने सकेको नदेखिएकोले इन्साफ कोशीअञ्चल अदालतको मनासिव ठहर्छ भन्ने समेत ०२५।५।१४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
१४. मुद्दा दोहर्याई दिनु भन्ने बकस भई आएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा ७० सालको दर्ताको ३१।।१ मध्ये पलटका नाउँमा ज.विगाहा १६।३।।१ दर्ता भई पटल मरी अपुतालीमा मुद्दा परी यिनै वादीले जितेको र वादीकै दर्खास्तले दाखिल दर्ता हुन आएको भन्ने भएपछि अंशबण्डा भएको प्रमाण पनि पुग्न आउने जम्मै जग्गा निजको मात्र हक पुग्ने थियो भन्ने पलटको जग्गा दर्ता गर्न दर्खास्त र अपुताली मुद्दा चलाउने वादीले बाँकी जग्गा उसैबखत दर्ता गराउनु पर्ने अथवा प्र.का नाउँको दर्ता बदर गराउन उजूर गर्न सक्नुपर्ने नसकेको हाल यस मुद्दाको उठान अर्थात वादीकै निवेदन हेर्दा पनि यो जग्गामा प्रतिवादीहरूले हालै खिचोला गरेको भन्न नसकेको अरू सो बारे अघि पनि निवेदन दिएको थिएँ, केही भएन ठूला ठालूसँग सोद्धा तिम्रो बाली बिगो र अपुताली मुद्दा किनार नभएसम्म उजूर गर्न पर्दैन भनेकोले होला भनी बस्दै रहें भन्ने उल्लेख गरेको देखिन्छ । यसबाट झगडा परेको जग्गामा अघि उक्त अपुताली मुद्दा चलेको अवस्थामा अर्थात ६ सालदेखि नै भोगचलन गरिआएको रहेछ भन्ने कुरा देखिन आई जग्गामा वादीको भोग दर्ता तिरो केही नभएको मिसिल प्रमाणबाटै छर्लङ्ग हुन आउँछ भने यस्तो अवस्थामा २ वर्ष पछिको उजूरबाट वादी दावी कायम गर्न साविक ज.मि.को २१ हाल १८ नं.र ज.प.को ३४ (हाल १७) नं. ले नमिल्ने वादीले सबै दर्तावाला उपर उजूर गर्न नसकेको कुरामा प्रतिवादीको भोग दर्ताको जमीन वादीलाई दिलाउने गरेको कोशी अं.अ.को फैसला मनासिव ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्याउन आदेश बक्सनुपर्ने भन्ने समेत उल्लेख भएको रहेछ ।
१५. वादी गङ्गीया दासीनले पेश गरेको बुनिकारी रुग्नु पाचु चौधरी आगे भएको सोमन माझीसँग रु.१००।– बुझी जग्गा बिगाहा २।।.।।।२ राजीनामा लेखिएको १९७१ साल चैत्र ८ गतेको कागजको पीठमा नथरु आगे भई दरपीठ गरेको कागज १ र १९९९ सालको पलट चौधरी समेतको नाउँ लेखिएको १ नम्बरको फाराम समेत कीर्ते हो भन्ने समेत सबुरीको वा.सुरतलालको बयान ।
१६. पाचुचौधरी पराउ चौधरी आगे भई ठिटरका नाउँमा जग्गा बिगाहा २।।।.।।।१ दाखिल दर्ता गरी दिनु भन्ने १९९५।१०।२८ को अंशबण्डाको लिखत भनेको देखे पराउको सहिछाप होइन अरू कारणी र साक्षीहरूको सहीछापको हकमा म भन्न सक्तिन । सो ९५ साल माघ २८ गते अंशबण्डाको कागज भनेको सद्दे होइन वा.सुरतललाले दाखिल गरेको थान ३७ वा.मुनिलालले पेश गरेको थान ५५ रसिदको हकमा जालसाजीबाट खडा गरेको हो भन्ने र मैले दाखिल गरेको कागजहरू सद्दे हो भन्ने समेत गङ्गीया दासिन थारुको बयान ।
१७. मेरोतर्फबाट पेश भएको लिखित कागजहरू सबै सद्दे हुन् । वादी गङ्गीयाले पेश गरेको ७१ साल चैत्र ८ गतेको पीठमा दरपीठ व्यहोरा जनिएको छोडपत्र कागज र पलट गङ्गीया नथरु पाचुका नाउँको १नं.फाराम कीर्ते खडा गरेको हो भन्नेसमेत २९।७।२९ को ठिटरको वा.मुनिलालको बयान ।
१८. ५५ थान रसिद सक्कलै देखें । मैले दिएको सक्कल रसिद हुन सद्दे हो भन्ने समेत प्र.लालमुनीको बयान ।
१९. ९५।१०।२८।३ को सक्कल देखें साक्षीमा कारिलाल भन्ने सहीछाप मेरै हो । सो लिखत सद्दे साँचो हो भन्ने करिलालको बयान ।
२०. वादीकै लेखाईमा २०१७ सालको नापी भन्दा अगावै खेत रोप्न समेत नदिएको भन्ने उल्लेख गरेको खिचोला परेको मितिले तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं. को म्याद २ वर्ष भित्र वादीको यो उजूर परेको नदेखिएको समेत हुँदा हाल उपस्थित नरहेको वादी गङ्गीया दासिनलाई अ.बं.२०२ नं.बमोजिम छलफल निमित्त नोटिस जारी गरी झिकाई आएपछि नियमबमोजिम पेश गर्नुभन्ने २०३१।२।१८।६ को फुल बेञ्चको आदेश ।
२१. यसमा निर्णयतर्फ विचार गर्दा मेरो ससुरा बुनीकारिका नाउँमा ७० सालमा दर्ता भएको जि.मोरङ प्र.बेली मौजे वनिगामा, शिवनगर, वनिगामा गरी ३ मौजाको जम्मा जग्गा विगाहा ३१।।१ भएको ससुरा लोग्ने मरी भतिजा पलट र मेरो बराबर हक भएको ०४ सालमा भतिजा पलट मरी जग्गा मेरो मात्र हक हुन आएको अपुताली मुद्दा परी ०१४।३।१४ मा सर्वोच्च अदालतबाट जिती पाएकोले ३१।।१ मध्येबाट मोहनलाललाई १७।४।।३ जग्गा १६ सालमा फार्छे राजीनामा गरी दिएको अरू बाँकी जग्गा मेरो हक बाँकी रहेकोमा अन्यायवालाहरूले उक्त जग्गामा जान आउन खेत रोप्न समेत बन्द गरी दिंदा मौकैमा निवेदन दिंदै रहेकी २०१७ सालमा सर्भे नाप नक्सा गर्न लाग्दा ०१७ साल चैत्रमा दौडाहामा निवेदन गर्दा तोक लागी गएको सर्भेले मलाई हराउनै नहुने अन्यायवालाहरूको नाउँमा र अरू कसको नाउँमा समेत जालसाज गरी दर्ता गराइसकेको मोहनलाल समेतले मैले दिएको भन्दा बढी जग्गा खाइरहेकै छन् । उक्त अन्यायहरूले दर्ता गराई ल्याएको जग्गा निजहरूको नाउँ कट्टा गरी निवेदकको नाममा दर्ता गराई जग्गा चलन चलाई पाउँ भन्ने समेत वादी गङ्गीया दासिन थारुनीले २०१९।६।४ मा दिएको निवेदनमा व्यहोरा साँचो भए त्यस अदालतले ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चबाट २०१९।६।८।२ मा तत्कालीन धरान जिल्ला अदालतका नाउँमा भई गएको आदेशानुसार मुद्दा दायर भई निर्णय हुँदै आएको प्रस्तुत मुद्दा यस बेञ्चसमक्ष पेश हुन आएको देखिएकोले सर्वप्रथमतः वादी उजूरवालीको दावीको जग्गा कुन मितिमा खिचोला गर्न आएको र वादीको उजूरी म्यादभित्र परेको छ छैन भन्ने प्रश्नमा नै विचार गर्नुपर्ने हुन आएको छ ।
२२. वादी गङ्गिया दासिनको उजूरी निवेदनमा जग्गा बिगाहा ३१।।१ मध्येबाट १७।४।।३ मोहनलाललाई १६ सालमा बिक्री गरी दिई बाँकी जग्गामा अन्यायवालाले रोप्न समेत नदिंदा निवेदन दिंदै रहेको ०१७ सालमा सर्भे नापी हुँदा ०१७ साल चैत्रमा दौडाहामा निवदेन दिएको भन्ने समेत उल्लेख भएबाट ०१७ साल अगावै देखि जग्गामा खिचोला परेको कुरालाई लिएर यो वादीको उजूर निवेदन ०१९।६।४ मा मात्र परेको देखियो । तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.हालको १८ नं.जग्गाको कुरामा उजूर गर्ने हदम्याद २ वर्ष नाघिसकेपछि उजूर परेको भन्ने प्रष्ट देखिन आएकोले प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । मुद्दा खारेज भएकोले वादी प्रतिवादीको लिखत सद्दे कीर्तेमा सुनाएतर्फ समेत केही गर्नु परेन । म्याद नाघेको उजूरीबाट निर्णय गरेको कोशी अञ्चल अदालतको सदर गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मुद्दा खारेज भएकोले सुरु कोशी अञ्चल अदालतको ०२३।८।२९ को फैसलाले देहाएको कलममा देहायबमोजिम जरिवाना गर्ने गरेकोमा हाल सो बमोजिम गर्नु परेन असुल भइसकेको भए फिर्ता र नभए लगत कटी दिनु भनी मोरङ जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिने…………………१
देहायका वादी प्रतिवादी के देहायबमोजिम जरिवाना हुन्छ वादी रुजु र अरू बेरुजु हुँदा लगत कसी ऐनबमोजिम पर्ने गरेको कलम १ प्रतिवादी देहायका मानिस के – प्रतिवादी देहायका मानिस के २।– प्र.बनहु चौधरी थारु के रु.२। प्र.मगन थारु के.रु.२।– प्र.सबुरी हजाम के रु.२।– प्र.ठिटर थारु के रु.२।– वादी गङ्गीया दासिन थारु के रु.१।–देहायका मानिसके श्रेस्ता सम्बन्धमा देहायबमोजिम जरिवाना हुन्छ । बेरुजु हुँदा लगत कसी असूल गर्ने गरेको कलम २ अच्यूतानन्द पाध्या के २।– पटवारी लालमणि थारु के २०।–वादीले जितेको जग्गाको हकमा अन्तिम निर्णय भएपछि चलन चलाउन वादीको दर्खास्त परे चलन चलाइ दिने गरेको हाल चलन चलाई दिन नपरेकोले व्यहोरा जनाई सो लगत काटी दिने कलम ३
देहायका प्रतिवादी के कोशी अञ्चल अदालत उपर पुनरावेदन गर्दा जनही रु.१।५० दरले राखेको कोर्टफी रु.४।५० र मुद्दा दोहर्याए बापत जनही रु.१ का दरले राखेको कोर्टफी रु.३। समेत जम्मा रु.७।५० मुद्दा खारेज भएकोले वादीबाट देहायका प्रतिवादीले भरी पाउनेहुँदा भरि पाउँ भनी नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र वादी गङ्गीया दासिन थारुनी मरी सकेको र निजको हकमा मुद्दा सकार भएको समेत मिसिलबाट नदेखिनाले निज मर्ने वादीको अपुताली खाने हकदारको जायजात देखाई देहायका प्रतिवादीको दर्खास्त परे कोर्टफी ऐनको दफा १५ (७) बमोजिम देहायका प्रतिवादीलाई देहायबमोजिम भराई दिनु भनी मोरङ जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिने………………….२
सोनालाल थारु के.रु.२।५० सबुरी हजाम के रु.२।५० ठिठर थारु को मु.स.मुनिलाल चौधरी के रु.२।५०
हामीहरूको सहमती छ ।
न्या. झपटसिंह रावल,
न्या. इश्वरीराज मिश्र
इति सम्वत् २०३१ साल माघ ११ गते रोज ६ शुभम् ।