निर्णय नं. ६०२९ – हक कायम गरी निखनाई पाउं
निर्णय नं.:६०२९ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०४९ सालको दे.पु.नं. :...
निर्णय नं.:६०२९ ने.का.प. २०५२ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्वत् २०४९ सालको दे.पु.नं. : ४९१
फैसला मिति : २०५१/११/१/२
मुद्दा : हक कायम गरी निखनाई पाउं ।
पुनरावेदक/वादी:जि. बर्दिया नयाँ गाउँ गा.वि.स. वडा नं. २ बस्ने वर्ष ६४ को देवी बहादुर थारु ।
विरुद्ध
विपक्षी/प्रतिवादी:जि. बर्दिया नयाँ गाउँ गा.वि.स. वडा नं. २ बस्ने वर्ष १९ को हंशराज थारु।
ऐ.वा.नं.३ बस्ने वर्ष २८ को धनी बहादुर थारु ।
संधियारको नाताले मात्र हक निखन्न पाउने हक लेनदेन व्यवहारको ११ नं. ले प्रदान गरेको नदेखिने ।
(प्र.नं. ११)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाटःX
अवलम्बित नजिरःX
फैसला
न्या. गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतबाट भएको मिति ०४८/११/२८ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :
२. म मोही भएको र मेरो घर पायक पर्ने नयाँ गाउँ गा.वि.स. वडा नं. २ को कि.नं. १८७/२४३ को ज.वि., ०–१५–५ जग्गा विपक्षी हंशराज थारु दिने धनि बहादुर लिने भै ०४५/२/११ गते रु. १५,५००/– मा पारित गरेकोले लेनदेन व्यवहारको ११ नं. तथा १२ नं. ले हक कायम गरी हक निखनाई पाउँ भन्ने समेत फिराद पत्र ।
३. दावी अनुसारको जग्गा विपक्षी वादीलाई दिनु पर्ने होइन, लेनदेन व्यवहारको ११ नं. तथा १२ नं. को दावी एकै व्यक्तिे दिन सक्दैन वादीको जग्गाको साँध जोडिएको कि.नं. २४१ को पश्चिम कुलो पर्दछ र सो कुलोबाट पश्चिम तर्फ बाटो पर्दछ, खरिद गरेको जग्गामा सँधिसर्पन पर्दैन भन्ने समेत प्रतिउत्तरपत्र ।
४. मिति ०४७/२/३ गतेको नक्सा सर्जमिन मुचुल्का ।
५. वादी दावकिो कि.नं. २४३ को जग्गामा हक कायम गरी वादीले निखनाई पाउने ठहर्छ भन्ने समेत ०४७/३/२८ को बर्दिया जिल्ला अदालतको फैसला ।
६. बर्दिया जिल्ला अदालतले हक कायम गरी निखदाई पाउने ठहराएको फैसलामा चित्त बुझेन, बदर गरी पाउँ भन्ने प्रतिवादी हंशराज थारु समेतको तत्कालिन भेरी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
७. यस्मा बादीले कि.नं. २४३ को जग्गाको मोही हुँ भन्ने कुरा पुष्टी हुने कुनै प्रमाण पेश गर्न नसकेको तथा सो जग्गा वादीलाई संधिसर्पन पर्ने देखिन नआएकोले वादीले हक निखनाई पाउँ भन्ने बादी दावी पुग्न सक्दैन हक निखनाई पाउने ठहर्याएको शुरुको इन्साफ उल्टी हुन्छ भनने समेत पुनरावेदन अदालत वीरेन्द्रनगरको फैसला ।
८. विवादित जग्गा साविकमा एउटै कि.नं. १८७ बाट कित्ताकाट भई मेरो कि.नं २४१ पश्चिम तर्फ र कि.नं. २४२ र कि.नं. २४३ चाँहि पूर्व तर्फ अवस्थित रहेका छन् । विपक्षी र हामी परस्पर हकवाला हौं भन्ने कुरा निर्विवाद छ । विवादित जग्गाबाट मेरो बाटो साँच जोडिएको पानी ल्याउन र गोरु ल्याउने बाटो पनि त्यहि जग्गा पर्छ । यसरी संधिसर्पन पर्नेलाई सन्धिसर्पन पर्न नसक्ने गरी भएको पु.वे.अ. को इन्साफ त्रुटीपूर्ण छ । विवादित जग्गा साविकमा कि.नं. ११ बाट कित्ताकाट हुँदै कायम भएको कित्ता हो । साविक कि.नं. बाट नै कित्ताकाट भएको कि.नं. १८५ र १८६ पनि हो । उक्त कि.नं. ११ मा साविक देखि म पुनरावेदक मोही कायम भई आएको छु । मेरो मोहियानी लगत यथावत छ । तसर्थ मेरो मोहियानी हकको उल्लेखित प्रमाण तर्फ दृष्टिपात नगरी सो प्रमाणको मूल्याङ्कन नगरी गरेका पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटी भएको छ । साथै अ.वं. १८४ क, १८५ र १८९ नं. समेतको प्रत्यक्षतः त्रुटीपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला बदर गरी बादी दावी बमोजिम गरी पाउँ भन्ने समेत यस अदालतमा परेको वादीको पुनरावेदनपत्र ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले पुनरावेदक विवादित जग्गाको मोही हो भन्ने कुरा साविकको कि.नं. ११ को मोही लगतबाट देखिन्छ । विवादित जग्गा मेरो पषको कि.नं. २४१ को प्रवेश मार्ग, आवतजावत गर्ने पानी ल्याउने समेत भई सो जग्गालाई अति आवश्यक पर्ने किसिमको हुँदा सन्धि सर्पन नपर्ने भन्न सकिने अवस्था छैन । तसर्थः सन्धि सर्पन नपर्ने तथा वादी मोही भएको समेत नदेखिएको भनी गरेको पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको फैसला त्रुटीपूर्ण छ । बदर गरी बादी दावी बमोजिम इन्साफ गरिनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।
१०. प्रस्तुत पुनरावेदनमा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा कि.नं. २४३ को जग्गा धनी बहादुरले हंशराजलाई विक्री गर्दा मोही कसैलाई नदेखाई मोहीको महलमा आफैं भन्ने जनाएको राजीनामाबाट देखिन्छ । विवादित जग्गाको मोही बादी भएको देखिने कुनै सबूद प्माण बादीले पेश गर्न सकेको देखिन आउँदैन । सन्धिसर्पन पर्ने नपर्ने तर्फ सर्भे नक्सा तथा शुरु जिल्ला अदालतबाट भएको नक्सा हेर्दा बादीको कि.नं. २४१ को जग्गा पश्चिम तर्फ र विवादित कि.नं. २४३ को जग्गा पूर्व तर्फ रहेको देखिन्छ । कि.नं. २४१ को पूर्व तर्फ सो जग्गासँग जोडिएको कच्चि सडक देखिनाले सो कि.नं. २४१ मा जान आउन कि.नं. २४३ को जग्गाले कुनै अबरोध गरेको देखिन आएन । निखन्न पाउने हकदार बादी हो होइन भन्ने तर्फ विचार गर्दा सँधियारको नाताले मात्र हक निदन्न पाउने हक लेनदेन व्यवहारको ११ नं. ले प्रदान गरेको देखिँदैन । उपरोक्त कारण प्रमाण समेतबाट वादीको दावी अनुसार ०४५/२/११ को राजीनामाबाट दिएको कि.नं. २४३ को जग्गा बादीले हक निखनाई पाउने भन्न मिल्ने अवस्था देखिएन । तसर्थ बादीले निखन्न पाउने गरी गरेको शुरुको इन्साफ उल्टी गरी बादी दावी नपुग्ने गरी गरेको पुनरावेदन अदालत, विरन्द्रनगर सुर्खेतको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाइ दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णजंग रायमाझी
इति सम्वत् २०५१ साल फाल्गुण १ गते रोज २ शुभम् ।