निर्णय नं. ३०६० – कर्तव्य ज्यान
निर्णय नं. ३०६० ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ६४७,...
निर्णय नं. ३०६० ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको फौ.पु.नं. ६४७, ६५७
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/प्रतिवादी: कारागार शाखा खलंगाबजार, प्युठानमा थुनामा रहेको चेतबहादुर रावत।
विरुद्ध
विपक्षी/वादी: यामकुमारीको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति: २०४३।१२।८ मा
लाशको मौकामा हुनु पर्ने लाश प्रकृति मुचुल्का हुन सकेन र त्यस्तै शव परिक्षण हुन सकेन भन्दैमा अपराध र अपराधीको छानबीन नै नगर्ने भन्ने होइन उपलब्ध भए सम्मका प्रमाणबाट न्याय निरोपण हुनु गर्नु पर्दछ ।
(प्रकरण नं. २३)
सह अभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि हुनु गराउन सक्नु ज्यादै राम्रो कुरा हो तर त्यो छैन भन्दैमा सहअभियुक्तको पोललाई विचारै नगर्ने भन्ने होइन, यो कुरा मुद्दाको तथ्यमा भर पर्दछ । अन्य प्रमाणबाट समर्थन गराउनु वा समर्थन भएको छ छैन भनी केलाउनु एक कुरा हो तर यसैलाई अनिवार्य तत्व हो भनी सम्झनु हुन्न, यसलाई वाञ्छनीय तत्व हो भनी माने पनि अनिवार्य तत्व हो भनी यसलाई मान्न नसकिने ।
(प्रकरण नं. २५)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
उल्लेखित मुद्दा :
§ बागलुङ जिल्ला सर्कुवा गा.पं. को पत्रले श्री ५ को सरकार विरुद्ध लक्ष्मी दत्त उपाध्याय समेत भएको ज्यान मुद्दा (ने.का.प. ०४२ फाल्गुण डि.वे.नि.नं. २५४५ पृ. १०१४) मा सिद्धान्त प्रतिपादित भएको)
§ श्री ५ को सरकार विरुद्ध शुसिला शाह भएको ज्यू मास्ने बेच्ने मुद्दामा (ने.का.प. २०४३ आश्विन नि.नं. २७६३ पृ. ५८४) सिद्धान्त प्रतिपादित ।
§ विष्णुबहादुर गिरी समेत विरुद्ध श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा (ने.का.प. ०४२ नि.नं. २२६६ पृ. १४४) पूर्णइजलासबाट सिद्धान्त प्रतिपादित ।
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादीहरूको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ।
२. अन्यायी तेजबहादुरले जग्गा किन्दा ऋण लागेको छ मलाई ८।१० तोला सुन दिनु पर्यो भन्दा विश्वासमा परी ८ तोला सुनको गहनाहरू दिएको, सो माग्दा नदिएको मेरो पतिको र निजको बीचमा झगडा भएको र मेरो वारीको कान्लोमा भएको आँपको रुख मेरो पतिले रु. ६००।– मा बेचेकोमा आधा मोल दिनुपर्छ भनी मेउकीले भनी आफ्नो ज्वाईं तेज बहादुरलाई बोलाई दुवै जनाले मेरो पतिसंग धुमधाम झगडा गरी तँलाई के गर्ने छौं थाहा पाउलास् भनी धम्की दिएका थिए । ०३८।३।१४ गते मेरो पति तेजबहादुरको दोकानमा गई मेरो सुन दिनु पर्यो कि तमसूक गरी दिनु पर्यो भनी तेजबहादुरसंग भन्दा तेजबहादुर र निजको आफन्त चेतबहादुर समेतले तँलाई २।४ दिनमा नमारी छाडदिन भनी धम्की दिएको कुरा देवबहादुर, जीतबहादुर समेतले सुनेका रहेछन् सोही १४ गतेको रातमा मेरो पति यामबहादुर रातामाटाको घरबाट चिती खोलाको घरमा आइरहेको अवस्था तेजबहादुरले आफ्नो मानिस चेतबहादुरको मद्दतबाट मेरो लोग्नेलाई कुटपिट गरी मारेछन् सो कुरा ऐ १५ गते विहान साहिंली सासु रमिले भनेबाट थाहा पाई लाश भएको ठाउँमा गई हेर्दा लाशमा घाउ चोट लागेको देखि कर्तव्य गरी मारेमा शंका लागेकोले क्रियाबाट फुर्सद पाएपछि जाहेर गर्न आएकी छु निजहरूलाई पक्राउ गरी कानून बमोजिम सजायँ गरिपाउँ भन्ने समेत यामकुमारी क्षेत्रीनीको ०३८।४।५ को जाहेरी ।
३. २०३८।३।१४ गते एकले पसल मेरो दोकानमा मर्ने यामबहादुर थापा चेतबहादुर रावत सासु मेउकी समेत बसेको अवस्था सासु मेउकीले मलाई र चेतबहादुर समेतलाई बाहिर एकान्तमा बोलाई आज यामबहादुरलाई मार्नु पर्छ भन्दा यामबहादुरलाई मार्न तीनै जनाका सासु मेउकी दोकानमा बस्नु भयो । म, चेतबहादुर र यामबहादुर समेतले कवाडीको डेरामा गई रु. ३६।– को रक्सी खायौं । त्यसपछि हामी र सासु समेत चारै जना त्यहाँबाट हिंडी चिसो खोलाको किनार नेर पुगेपछि हामीहरूको झगडा हुन थाल्यो । चेतबहादुरले यामबहादुरलाई समात्यो । मैले दायाँ खुट्टा समातें र मेउकीले बायाँ खुट्टा समाती मुर्दमा ढाले पछि चेतबहादुरले उत्तानो पारी छातीमा घोडा चढी बायाँ हातले घाँटी च्यापी दायाँ हातले ढुड्डाले टाउकोमा हानी मारेका हुन् । मारिसकेपछि भिमबहादुर पनि घटना स्थलमा गएका थिए भन्ने समेत तेजबहादुर विष्टले प्रहरीमा गरेको बयान ।
४. २०३८।३।१४ गते सम्धी टेकबहादुरको घरमा गरएको थिएँ । डुम्रे खोलामा ज्वाई तेजबहादुरसंग भेट भई त्यहाँबाट एकले पसल पुग्यौं । त्यहाँ भिमबहादुर, चेतबहादुर, तेजबहादुर र यामबहादुर समेतले रक्सी खाई अन्दाजी ७।८ बजे त्यहाँबाट हिंडी चिती खोलाको किनार पुगेपछि तेजबहादुर समेतका तीन जनाले यामबहादुरलाई ढुड्डा लात मुर्छाले हान्न लाग्दा यसो नगर भनी मैले भन्दा तलाई पनि मार्छु भनी भिमबहादुरले मेरो घाँटी समातेकोले भन्दिन भन्दा छोडिदियो खुट्टा समाउन मलाई भनेकोले मैले खुट्टासम्म समाएको हुँ यामबहादुरलाई तेजबहादुर समेत तीन जनाले मारेका हुन् भन्ने समेत मेउकी क्षेत्रीनीले प्रहरीमा गरेको बयान ।
५. यामबहादुरको सुनका गहनाहरू तिर्नु पर्छ भनेको र आँपको रुख यामबहादुरको ठहर्छ भनेको समेत कारणबाट म उपर काल्पनिक आरोप लगाएका हुन् म निर्दोष छु भन्ने समेत चक्रबहादुरको बयान ।
६. वारदातको अवस्था म घरमै थिएँ अरु कुरा मलाई थाहा छैन मर्ने यामबहादुर र मेउकीको आपसमा झगडा भएको र निज यामबहादुरको साथमा बराबर हिंड्डुल गर्ने गरेको हुँदा शत्रुका साथ लागि हिंड्को भनी रिसइवीले पोल गरेको हुनु पर्छ भन्ने समेत भिमबहादुर थापाको बयान ।
७. मर्ने यामबहादुर र प्र.मेउकीको बीचमा आँपको रुख २ बगरको खेत विषयमा झगडा भएको तेजबहादुर तथा मर्ने यामबहादुर बीच आठ तोला सुन लिनु दिनु विषयमा कल झगडा भएको वारदातको दिन रात यामबहादुर तेजबहादुर, चेतबहादुर समेत भई कवाडी गछीमा रक्सी खाएको देखेका हौं भन्ने धोजबहादुर विष्ट समेतका व्यक्तिहरूले लेखाई दिएको सरजमीन मुचुल्का ।
८. संकलित सबूद प्रमाणबाट प्र.तेजबहादुर विष्ट चेतबहादुर राउत, मेउकी क्षेत्रीनी समेत जना तीनले यामबहादुरलाई ढुंगा मुक्काले हानी मारेको सिद्ध हुन आएकोले निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
९. २०३८।३।१४ गते म आफ्नो घरमा छु । ऐ १५ गते विहान चिती खोलामा लाश भएको भन्ने सुनी गई हेर्दा यामबहादुरको लाश देखेको हुँ । हुकुमबहादुर समेतले प्रहरीमा रिपोर्ट खोलाले बगाएकोले लाश जलाई दिनु भनी प्रहरीले भन्दा लाश जलाएको हो मैले यामबहादुरलाई मारेको होइन निज कसको कर्तव्यबाट के भई मर्यो थाहा छैन भन्ने समेत प्र.तेजबहादुर विष्टको अदालतमा बयान ।
१०. ०३८।३।१४ गते मेरो सन्धी टेकबहादुरको घर कुवा पानी गएको थिए यामबहादुर मेरो देवर हुन निज खोलाले बगाएर मर्नु भयो भन्ने ऐ १५ गते सुनी म पनि हेर्न गएकी थिएँ निजसंग मेरो कुनै रिसइवी थिएन निजलाई मैले मारेको वा मार्नमा सहयोग समेत गरेको होइन भन्ने समेत प्र. मेउकी क्षेत्रीको अदालतमा बयान ।
११. ०३८।३।१४ गते पति यामबहादुर धान रोप्न जानु भई साँझसम्म फर्की आउनु भएन । भोलिपल्ट तेरो लोग्ने चिती खोलामा बगी मरेछ भनी सासु नाता पर्ने रमिले भनेबाट हेर्न जाँदा लोग्ने यामबहादुरको लाशमा चोट पटक लागेको देखि कर्तव्य गरी मारेको शंका लागि जाहेरी दिएकी हुँ । प्र.मेउकीसँग आएको रुख विषयमा लोग्ने यामबहादुरको झगडा हुँदा निजको ज्वाई प्र.तेजबहादुर सासुतर्फ लागी तलाई नमारी छाड्दैन भनी लोग्नेलाई धम्की दिएकोले प्र.चेतबहादुर प्र.मेउकीको माइती तिरको भतिजा नाता पर्ने मानिस हुँदा निजहरूले लोग्नेलाई मारेको विश्वास लाग्छ भन्ने समेत जाहेरवाली यामकुमारीले गरेको बकपत्र ।
१२. प्र.तेजबहादुर र प्र.मेउकीले यामबहादुरको खुट्टा समाई चेतबहादुरले निज यामबहादुरलाई भुईंमा ढाली निजहरूले यामबहादुरको टाउकोमा ढुंगाले हानी मारेको देखिन आएकोले प्र.तेजबहादुर र प्र.मेउकीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । प्र.चेतबहादुर म्यादमा हाजिर नभई पक्राउ समेत नपरी फरार रहेकोले निजको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत प्यूठान जिल्ला अदालतको २०४०।३।३१ को फैसला ।
१३. फेरार रहेका चेतबहादुरलाई खोज तलास गरी पक्राउ गरी यसै साथ उपस्थित गराएको भन्ने जि.प्र.का. प्यूठानको पत्र र मुलतवीबाट जगाउन भन्ने प्यूठान जिल्ला अदालतको ०४०।४।२६ को आदेश ।
१४. २०३८।३।१४ गतेका दिन ६ बजेको समय प्यूठान कवाडीको रक्सी डेकमा गई एक वोतल रक्सी खाएँ प्र.तेजबहादुर, मेउकी, यामबहादुर थापा खोलामा बसेका रहेछन् । निजहरूसंग भेट भयो । यामबहादुरले पनि रक्सी खाई हल्ला भएको थियो । यो यामबहादुरले हामीसंग दुश्मनी लिएको छ यसलाई कुटपिट गर्नु पर्छ भनी तेजबहादुर, मेउकीले भनेको हुँदा मैले पनि यामबहादुरलाई एक बक्सीङ हानेपछि भुइँमा पल्टियो र तेज बहादुर मेउकीले निज यामबहादुरलाई कुट्न थाले म आफ्नो घरतर्फ गइहाले । यामबहादुर मेरो चोटले मरेको होइन तेजबहादुर मेउकीको चोटबाट मरेको जस्तो लाग्छ भन्ने समेत प्र.चेतबहादुरले अदालतमा गरेको बयान ।
१५. लाश प्रकृति मुचुल्का वा शव परिक्षण नभएको अवस्थामा यामबहादुर थापा कर्तव्यमा परेको हो होइन सो कुराको यकिन हुन नआएकोले प्र.चेतबहादुरले कर्तव्य गरी मारेको हो भन्ने न्यायोचित नहुँदा निज चेतबहादुरले सफाई पाउने ठहर्छ भन्ने समेत प्यूठान जिल्ला अदालतको ०४०।११।२९ को फैसला ।
१६. प्यूठान जि.अ.को इन्साफ उपर प्र.तेजबहादुर विष्ट र मेउकी थापा क्षेत्रीको संयुक्त र प्र.चेतबहादुरलाई सफाई दिएकोमा श्री ५ को सरकारको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।
१७. प्र.चेतबहादुरलाई सफाई दिने ठहर्याएको शुरु प्यूठान जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिएबाट छलफलको निमित्त थुनामा रहेका चेतबहादुरलाई अ.बं. २०२ नं. बमोजिम सूचना दिई पेश गर्ने भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१८. प्र.तेजबहादुरले सुनको विषयमा र प्र.मेउकी क्षेत्रीनीले रुखको विषयमा परेको झगडाको रिसइवीलाई लिएर कर्तव्य गरी मारेको रहेछ भन्ने देखिन आएकोले प्र.तेजबहादुर र मेउकीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.चेतबहादुरको हकमा यामबहादुरलाई एक बक्सिङ हानेको कुरामा अदालतमा आई स्वीकार गरी बयान गरेको र प्र.तेजबहादुर तथा मेउकीको बयान समेतको आधारबाट प्र.चेतबहादुर, प्र.मेउकी क्षेत्रीनी, प्र.तेजबहादुर समेत तीनजना भई यामबहादुरलाई कर्तव्य गरी मारेको ठहर्छ परन्तु यसैको चोटबाट यामबहादुरको मृत्यु भएको भन्ने तथ्ययुक्त कुरो मिसिलबाट स्पष्ट खुल्ने देखिन नआएको हुँदा प्र.तीनै जनालाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत जन्मकैद मात्र हुने ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।११।४ को फैसला ।
१९. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त निर्णय उपर प्र.तेजबहादुर विष्ट तथा मेउकी थापा क्षेत्रीनीको संयुक्त रुपमा र प्र.चेतबहादुर रावतको छुट्टै पुनरावेदन पर्न आएको रहेछ ।
२०. लाश २०३८।३।१५ मा फेला परेको र लाशमा घाउ चोट देखिएको भन्ने मृतकको श्रीमतीको जाहेरीबाट देखिन्छ । लाशमा घा चोट देखिएपछि मौकैमा प्रहरीमा दर्खास्त दिई कानून बमोजिम लाश प्रकृति मुचुल्का शव परीक्षण गराई मात्र दाहा संस्कार गर्नु पर्नेमा सो कानूनी प्रकृया नअपनाई दाह संस्कार गरी सकेपछि ०३८।४।५ मा मात्र जाहेरी परेको छ । जाहेरवालाको जाहेरी र अदालतमा भएको कागजमा एक रुपता पाइँदैन । प्र.तेजबहादुर मेउकीको प्रहरीमा भएको सावितीलाई अन्य प्रमाणबाट समर्थन भएको छैन । चस्मदिद साक्षी पनि देखिँदैन । यस्तो अवस्थामा प्रतिवादीलाई म.प.क्षे.अ.ले दोषी ठहर्याएको रायसंग सहमत हुन नसकिएको हुँदा अ.बं. २०२ नं. बमोजिम वादी श्री ५ को सरकारलाई सूचना दिई आएपछि पेश गर्नु तथा साधकको लगत कट्टा गरिदिनु भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको ०४३।१०।१२ को आदेश ।
२१. पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता द्वय श्री गणेशराज शर्मा तथा श्री महादेवप्रसाद यादव विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस समेत सुनियो ।
२२. यसमा प्रस्तुत मुद्दामा पुनरावेदकका कानून व्यवसायी तर्फबाट कानूनी सिद्धान्तका केही कुराहरू उठाइए । सर्वप्रथम लाश प्रकृतिको मौका मुचुल्का तथा शव परीक्षण नभएको कुरालाई लिएरतर्क वितर्क उठाइयो । त्यस्तै सहअभियुक्तको पोललाई अन्य प्रमाणबाट समर्थन भएको हुनुपर्दछ भनी भनियो । त्यस्तै प्रहरीको सावितीलाई आधार मान्न हुन्न भन्ने तर्कहरू पनि राखियो । अब यिनै तर्कहरू तर्फ नै पहिले विचार गरौं ।
२३. लाश बरामद नभएकोमा पनि अन्य प्रमाणबाट कर्तव्य भएको हो भन्ने कुरा पुष्टी हुन्छ भने त्यसलाई मान्यता दिन मिल्दछ भनी यस अदालतबाट बागलुङ जिल्ला सर्कुवा गा.पं. को पत्रले श्री ५ को सरकार विरुद्ध लक्ष्मी दत्त उपाध्याय समेत भएको ज्यान मुद्दामा (ने.का.प. ०४२ फाल्गुण डि.बे.नि.नं. २५४५ पृ. १०१४) सिद्धान्त प्रतिपादित भएको पाइन्छ । यसो नगर्ने हो भने अभियुक्तले लाश बेपत्ता पारेमा के कसैलाई सजायँ नै नगर्ने भन्ने प्रश्न उठ्न जान्छ । त्यसकारण यस्तो कोरा सिद्धान्तलाई अदालतले मान्यता दिन मिल्दैन । प्रत्येक मुद्दामा सबै प्रत्यक्ष वा परिवन्धात्मक प्रमाणको मूल्याड्ढन एक एक गरी केलाई हेर्नु पर्दछ । यस मुद्दामा लाश खोलामा भेटेपछि सदगत गरिएको छ । यस कुरामा विवाद छैन । त्यसकारण यस सम्बन्धमा कुनै शंका छैन लाशको मौकामा हुनु पर्ने लाश प्रकृति मुचुल्का हुन सकेन र त्यस्तै शव परिक्षण हुन सकेन भन्दैमा अपराध र अपराधीको छानबीन नै नगर्ने भन्ने होइन । उपलब्ध भए सम्मका प्रमाणबाट न्याय निरोपण हुनु गर्नु पर्दछ ।
२४. प्रहरीमा भएको सावितीलाई अन्य प्रमाणले समर्थन नगरेसम्म आधार प्रमाण लिइनु हुन्न भनिन्छ । यो सदामन्य हुने कुरा होइन । हाम्रो प्रमाण ऐनको बारेमा यस अदालतबाट श्री ५ को सरकार विरुद्ध शुसिला शाह भएको ज्यू मास्ने बेच्ने मुद्दामा (ने.का.प. २०४३ आश्विन नि.नं. २७६३ पृ. ५८४) केही कुरा भनिएको छ । अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई कमजोर प्रमाण हो भनी पूर्व धारणा बनाई चल्ने काम अदालतको होइन । प्रहरीको सावितीलाई अन्य प्रमाणसंग समग्ररुपले भिडाई हेर्नु पर्दछ । प्रहरीको सावितीलाई मात्र एकतर्फ राखी अन्धाले बाटो खोजे जस्तो अन्य प्रमाणको मात्र खोजी गर्ने होइन । यसरी चल्दा न्याय प्राप्त हुने भन्दा लुप्त हुने सम्भव बढी हुन्छ । न्यायको निमित्त सिद्धान्त बनेको हो, नकी सिद्धान्तको निमित्त न्याय, सिद्धान्त साधन हो साध्य होइन । अभियुक्तको प्रहरीको साविती बयान लगायत सबै संकलित प्रमाणको एक एक गरी सही मूल्यांकन हुनु पर्दछ ।
२५. सह अभियुक्तको पोललाई प्रमाणमा लिने बारेमा पनि यही कुरा लागु हुन्छ । सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि हुनु गराउन सक्नु ज्यादै राम्रो कुरा हो तर त्यो छैन भन्दैमा सहअभियुक्तको पोललाई विचारै नगर्ने भन्ने होइन । यो कुरा मुद्दाको तथ्यमा भर पर्दछ । अन्य प्रमाणबाट समर्थन गराउनु वा समर्थन भएको छ छैन भनी केलाउनु एक कुरा हो तर यसैलाई अनिवार्य तत्व हो भनी सम्झनु हुन्न यसलाई वाञ्छनीय तत्व हो भनी माने पनि अनिवार्य तत्व हो भनी यसलाई मान्न सकिन्न । यसको आडमा न्याय निरोपण गर्ने कामबाट विमुख हुन मिल्दैन । नत्रभने “सिद्धान्तभासैपराधावरण अन्याय” हुन जान्छ । यस विषयमा माथि उल्लेखित शुशिला शाहको मुद्दामा विस्तृत विवेचना भएको पनि छ । त्यस्तै गरी विष्णुबहादुर गिरी समेत विरुद्ध श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा (ने.का.प. ०४२ नि.नं. २२६६ पृ. १४४) पूर्णइजलासले सह अभियुक्तको पोलको आधारमा अभियुक्तलाई सजायँ भागी बनाउन मिल्ने कुरालाई स्वीकारेको पाइन्छ ।
२६. अभियुक्तको साविती तथा सहअभियुक्तको पोल सम्बन्धी हाम्रो प्रमाण सम्बन्धी कानूनमा व्यवस्थित प्रावधानहरू भारतले बेलायतबाट अनुकरण गरेको प्रतिबद्धात्मक पद्धतिमा आधारित छन् । बेलायतको पृष्ठभूमिमा विकसित यो सिद्धान्त वास्तविक न्याय पार्नमा साधक भन्दा बढी बाधक रहेको कुरा भारतीय कानूनी साहित्यको अध्ययनबाट स्पष्ट हुन्छ । केही भारतीय विद्वान यो पद्धतिको विपरीत छन् कि यो पद्धतिलाई भारतको विषय आर्थिक तथा सामाजिक मैदानमा न्यायको सट्टा अन्याय र सत्यको सट्टा असत्यको सहायक रहेको धारणा राख्दछन् । यिनै मध्येका एक न्यायमूर्ति भि.आर.कृष्ण अैयर हुनु हुन्छ । उहाँले प्रतिद्वन्दात्मक पद्धतिको प्रमाणको मूल्यांकनको बारेमा यस्तो प्रतिकृया व्यक्त गर्नु भएको छ । “The glamour for the adversery technology of truth discovery needs debunking because, in its strict rigour, it is an abettor of injustice and untruth in India’s an even socioeconomic terrain” (Indian Justice by Justice V.R. Krishna Iyer, 1984 P. 38 Published by Vedpal Law house, Indore India)
२७. कुनै पनि सिद्धान्तको अनुसारको लक्ष एउटै हुनु पर्छ, न्याय यदि आफ्नो देशको पृष्ठभूमिमा कुनै न्यायिक सिद्धान्त मेल खाँदैन अर्थात् न्यायमुखी सावित हुन सक्दैन भने त्यस्तो सिद्धान्तलाई तत्कालै तुरुन्तै बहिस्कार गर्नु उपयुक्त हुन्छ भन्ने कुरामा दुइमत हुन सक्दैन । सिद्धान्तहरूको जालमा न्याय पर्नु हुँदैन । सिद्धान्तलाई जाँची बुझी अनुसरण गर्ने परिपाटी बसाल्न सके मात्र यो खतराबाट मुक्त हुन सकिन्छ ।
२८. उपयुक्त पृष्ठभूमिमा अब प्रस्तुत मुद्दाको तथ्य तर्फ हेरौं । मृतक यमबहादुरको लाश ०३८।३।१५ खोलाको बगरमा फेला परेको र लाशमा घाउचोट देखिएको कुरा जाहेरवाली यामकुमारीको जाहेरीमा परेको छ । मृतकको टाउको आँखामा घाउ भएको र खुट्टा लछारिएको कुरालाई अदालतमा आई बयान गर्दा समेत प्रतिवादी मध्येको तेजबहादुर विष्टले स्वीकार गरेको छ। लाशको सद्गत आफू समेत भई गरेको कुरा पनि निजको बयानमा छ । लाशका टाउकोमा घाउ भई सो घाउबाट रगत बगेको कुरालाई देख्ने सरजमीनका मानिस (अदालतमा समेत आई बकपत्र गर्ने) रम्भा कुमारी, शिवराज, भोजराज समेतको बकपत्रबाट देखिन्छ । त्यस्तै प्रतिवादी मध्येकी मेउकी क्षेत्रीनीले पनि लाश देखेको कुरा अदालतको बयानमा उल्लेख गरेकी छन् । यसबाट यमबहादुरको मृत्यु भएको कुरामा विवाद गर्ने ठाउँ छैन । अब यमबहादुरको मृत्यु वादी पक्षको दावी अनुसार प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा प्रतिवादीहरूले अदालतमा आई गरेको बयान जिकिर अनुसार खोलाले बगाई भएको हो भन्ने तर्फ हेर्दा प्रतिवादी मध्येकी मेउकी क्षेत्रीनी तथा तेजबहादुर विष्टले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा यामबहादुरलाई कर्तव्य गरी फालेमा सावित भई प्रतिवादी मध्येको चेतबहादुरलाई पोल गरेको पाइन्छ । अभियुक्तहरूसंग मृतकको जग्गा आँपको रुख तथा सुनका गहनाको लेनदेन विषयमा रिसइवी रहेको कुरा निजहरूको बयानबाट देखिन्छ । प्र.मेउकी तथा तेजबहादुर अदालतमा बयान गर्दा इन्कार भई प्रहरीमा कुटपिट गरी साविती गराएको हो भनी जिकिर लिई बयान गरे तापनि प्र.मध्येको तेजबहादुरको घा जाँच हुन सकेको देखिँदैन । यस्तै प्र. मध्येकी मेउकीको घा जाँच भएकोमा पनि शरीरमा कुनै चोटपटक नदेखिई सिर्फ खुट्टामा पुरानो घाउ देखिएको भन्ने मिसिल संलग्न प्यूठान स्वास्थ्य केन्द्रको घा जाँच फारामबाट देखिन्छ । यसबाट प्रहरीमा निजहरूलाई इच्छा विरुद्ध साविती गराइएको भन्न सकिने स्थिति देखिँदैन । प्र.मध्येको चेतबहादुरले जो अनुसन्धानका बखत फरार रही पछि अदालतमा हाजिर भई बयान गरेको छ निजले बयान गर्दा मर्ने यामबहादुरलाई मैले एक बक्सिङ हाने पछि निज भुइँमा पल्टियो र त्यसपछि तेजबहादुले र मेउकीले कुट्न थाले म घरतिर गएँ भनी वारदातमा आफू सावित भई प्र. मेउकी र तेजबहादुलाई पोल गरेको देखिन्छ । वारदातमा आफू साविती भई अन्य अभियुक्तहरूलाई पोल गर्ने सहअभियुक्तको बयानमा विश्वास गर्नु नपर्ने कुनै कारण देखिँदैन । जाहेरवाली यामकुमारीले अदालतमा समेत आई आफ्नो जाहेरीलाई समर्थन गरी बकपत्र गरिदिएको पाइन्छ । वारदातको दिन कवाडीको डेगमा मृतक यामबहादुर र प्रतिवादीहरूलाई रक्सी खाँदै गरेको देखेको पनि सरजमीनमा लेखाई दिने भीमबहादुर विष्ट, भोजराजले अदालतमा समेत आई सरजमीनको व्यहोरालाई समर्थन परी बकपत्र गरी दिएको समेतबाट प्रतिवादीहरू तेजबहादुर विष्ट, चेत बहादुर रावत तथा मेउकी क्षेत्रीनी निर्दोष रहेछन् भन्न सकिने स्थिति देखिएन ।
२९. अतः उपयुक्त कारणबाट प्रतिवादीहरूलाई वादी दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ हुने ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । वारदातको प्रकृति एवं अभियुक्तहरूको अवस्था समेत सबै कुराहरूको विचार गर्दा जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिएकोले प्रतिवादी तेजबहादुर विष्ट, चेतबहादुर रावत तथा मेउकी क्षेत्रीनीलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम देहायका प्रतिवादीहरलाई मध्येपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरेको सो गर्नु पर्दैन सो को लगत काटी दिनु र त्यसको सट्टा देहाय बमोजिमको लगत कस्नु भनी प्यूठान जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…१
चेतबहादुर राउत के कैदवर्ष २०।–
तेजबहादुर विष्ट के कैदवर्ष २०।–
मेउकी थापा क्षेत्री के कैदवर्ष २०।–
माथि इन्साफ खण्डमा लेखिए बमोजिम देहाय प्रतिवादीहरू के अ.बं. १८८ नं. बमोजिम दश १० वर्ष मात्र कैद हुने ठहरेकोले निज प्रतिवादीहरू प्रहरी हिरासतमा रहेको मिति देखि १० वर्षको कैदको लगत कस्नु भनी प्यूठान जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…२
चेतबहादुर राउत के कैदवर्ष १०।–
तेजबहादुर विष्ट के कैदवर्ष १०।–
मेउकी थापा क्षेत्रीनी के कैदवर्ष १०।–
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४३ साल चैत्र ८ गते रोज शुभम् ।