July 12, 1987
Created by nepalarchives

निर्णय नं. ३०२८ – उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

निर्णय नं. ३०२८     ने.का.प. २०४४ अङ्क ३   संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट...

निर्णय नं. ३०२८     ने.का.प. २०४४ अङ्क ३

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर २२१५

विषय : उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 

रिट निवेदक: जिल्ला सिराहा गाउँ पञ्चायत महेशपुर वडा नं. ५ बस्ने महावीर साहू सुडी।

विरुद्ध

विपक्षी : जिल्ला कार्यालय सिराहाको प्र.जि.अ.जि.का. सिराहा।

      मालपोत कार्यालय सिराहाको प्र.मा.अ ज्यू मा.का.सिराहा।

आदेश भएको मिति: २०४४।३।२८।१ मा

     प्रमुख जिल्ला अधिकारीले लिखत पारीत रोक्का राख्ने आदेश गरेपछि प्र.ज.अ.आफैंले फुकुवा गर्नु पर्ने ।

(प्रकरण नं. ९)

रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा           

उल्लेखित मुद्दाःX

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    मेरो दर्ता तिरो भोगचलन भई आएका जग्गाहरू मध्ये असलपुर गा.पं. वडा नं. ५(क) कि.नं. १२१ को ज.वि. ३१०१० मध्ये ज.वि. ०१२१० जग्गा सोखिलाल यादवलाई ज.वि. ०१७० सागरपती यादवनीलाई १० असर्फी यादवलाई ज.वि. ०१८० राम असीस यादवलाई समेत बिक्री गर्न मैले निजहरूबाट सो जग्गाको मोल लिई उक्त जग्गा कृषि विकास बैंक शाखा कार्यालय मिरचैयामा धितो राखेको सो रकम २०४३।१०।२३ मा तिरी ऐ बैंकबाट असूली भएको भर्पाई लिई ऐ मितिमा मालपोत कार्यालय सिराहामा राजीनामा पास गर्न गएको सो दिन उक्त जग्गा जग्गाधनीहरूको नाममा कित्ताकाट समेत भई मालपोत अधिकृतको सही मात्र हुन बाँकी रहेको अवस्था ४ बजे गई सो राजीनामा अर्को दिन पारीत हुने गरी बाँकी रहन गएकोमा भोलपल्ट शनिवारको विदा परी मिति २०४२।१०।२५ को दिन अड्डा खुलेको दिनसम्ममा म ऋणी र राजीनामा लिने धनीहरू विपक्षी मालपोत कार्यालयमा हाजिर हुँदा सो दिन सो जग्गाको राजीनामा पारीत समेत हुन नपाउने गरी विपक्षी जिल्ला कार्यालय सिराहाको प्र.जि.अ. ज्यूबाट रोक्कापत्र पठाएको जानकारी गराउँदै प्र.मा.अ.ज्यूले पत्र दिइएको जग्गाको राजीनामा पारीत गर्न नमानी जग्गा रोक्का राखिएको जानकारी पत्र दिनु भयो । के कति कारणबाट सो जग्गा रोक्का राखिएको हो जानकारी पाउँ भनी प्र.मा.अ.ज्यू समक्ष अनुरोध गर्दा निजले जि.का. सिराहासंग नै सम्पर्क राख्न जवाफ दिनु भएकोले त्यहाँ गई प्र.जि.अ. समक्ष सोधनी गर्दा तिमीले आफ्नो खुशी जसलाई पायौ त्यसलाई सो जग्गा बिक्री गर्न खोजेकोले सो रोक्का पत्र पठाएको हुँ मैले भनेको मानिसलाई सो जग्गा दिए हुन्छ भनी मौखिक भन्नु हुँदा मैले मेरो सम्पत्ति मैले खुशी अनुसार बिक्री गर्ने मेरो संवैधानिक अधिकार छ, भनी अनुरोध गर्दा विपक्षी प्र.जि.अ.ज्यूले तँ बडो कानूनी कुरा गर्ने भइस् मैले भने बमोजिमको व्यक्तिलाई सो जग्गा बिक्री नगरे तँलाई शान्ति सुरक्षा ऐन अन्तर्गत थुनिदिन्छु भनी मलाई  हप्काई ठाडो जवाफ दिनु भएको र सो रोक्का राख्न पत्रको नक्कल दिन नमान्नु भएको यसबाट मेरो संविधान तथा कानूनद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकहरू आघात पुर्‍याएकोले विपक्षी जि.का. सिराहाको प्र.जि.अ.ज्यू लाई उपरोक्त गैरकानूनी तरिकाबाट मेरो जग्गा रोक्का राख्ने काम कारवाही बदर गरी मालपोत कार्यालय सिराहाको मा.अ.ज्यूलाई सो राजीनामा पास गरिदिनु भन्ने समेत व्यहोराको उत्प्रेषणयुक्त परमादेशको आदेश विपक्षीहरूको नाममा जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

३.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४३।१०।२८।४ को आदेश ।

४.    विपक्षी रिट निवेदकले के कति कारणबाट मेरो जग्गा रोक्का भयो भन्ने कुराको सवाल लिई यस कार्यालयमा आएको छैनन् रामप्रसाद साहू सुडीले भारत दरभंगा जिल्ला बस्ने महावीर साहू सुडीका नामबाट जि.सि.गा.पं. असनपुर वडा नं. ५(क) कि.नं. १२१ को ३१०१० जग्गा खरीद गरी पारीत गराई दिएको र जग्गा मैले नै भोगचलन गर्दै आएकोमा विपक्षी जयनगर भारत बस्ने महावीर साहूले नाम मिल्दो जुल्दो भएको हुँदा मलाई आर्थिक क्षेती पुर्‍याउने नियत गरी सो जग्गावाला महावीर साहू सुडी म नै हुँ भनी जग्गा बिक्री गर्न लागेकोले कृत्रिम महावीर साहू सुडीबाट उक्त जग्गा बिक्री हुन नपाओस् सद्दे महावीर साहू सुडी स्वर्गे भइसकेको । रजिष्ट्रेशन रोक्का गरिपाउँ भनी निवेदन दिएको हुँदा रजिष्ट्रेशन गर्न मिति २०४३।१०।२३ का दिन मालपोत कार्यालय सिराहालाई पत्राचार भएको र मिति २०४३।११।६ गते निवेदक रामप्रसाद साहू सुडीलाई आफ्नो प्रमाण लिई ७ दिन भित्रमा उपस्थित हुन पत्र पठाएकोमा निज रामप्रसादबाट प्राप्त हुन आएका मिति २०४३।११।१९ गतेको पत्रको तपसीलमा उल्लेख भएका कागजात सहित आवश्यक कानून बमोजिम गर्न भनी मालपेत कार्यालय सिराहामा पठाई सकिएको छ । अब जे गर्नु पर्ने कारवाही मालपोत कार्यालयले नै गर्ने हुँदा यस कार्यालयबाट यस पश्चात केही गरिरहन पर्ने आवश्यक नभएकोले रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारीको लिखितजवाफ ।

५.    विपक्षी महावीर साहू सुडीको निवेदनपत्रमा उल्लेख भए बमोजिमको जग्गा रजिष्ट्रेशन पारीतको लागि ऋणी धनी भई तमसूक लेखी पारीतको लागि यस कार्यालयमा मिति २०४३।१०।२३ मा पेश गरेकोमा सो लिखत पारीत हुनु अगावै केही कुरा बुझ्न पर्ने भएकोले कारवाही नटुड्डिएसम्म कुनै किसिमको हक हस्तान्तरण नहुने गरी निजका नाममा दर्ता कायम रहेको सो लिखतमा उल्लेखित जग्गा रोक्का राखिदिने भनी जिल्ला कार्यालय सिराहाको च.नं. २८७९ मिति २०४३।१०।२३ को पत्रबाट लेखिआएको हुँदा रोक्का राखेको जग्गा फुकुवा नभई पारीत गरिदिन कानून बमोजिम नमिल्ने देखिएकोले यस कार्यालयबाट लिखत पारीत नभएको हो। सो रोक्का रहेको जग्गा पारीत नभएको सम्बन्धमा यस कार्यालयको कुनै पनि कानूनी त्रुटि नभएकोले कार्यालय प्रमुख माथि उक्त आदेश जारी नहुनु पर्ने व्यहोरा सादर अनुरोध छ भन्ने समेत प्रत्यर्थी मालपोत कार्यालय, सिराहाको लिखितजवाफ ।

            ६.    रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले रिट निवेदकले आफ्नो जग्गा बिक्री गर्न लागेकोमा रजिष्ट्रेशन पास गर्न रोक्का राख्ने गरेको प्र.जि.अ. को काम कारवाही गैरकानूनी छ । सो रोक्का बदर गरी राजीनामा पास गरी दिनु भन्ने समेत परमादेश जारी हुनु पर्दछ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले कृत्रिम महावीर साहू सुडीबाट जग्गा बिक्री हुन नपावस् रजिष्ट्रेशन  रोक्का राखिपाउँ भन्ने निवेदन पर्न आएको सन्दर्भमा प्र.जि.अ.ले केही दिनको लागि रजिष्ट्रेशन नगर्न मिति २०४३।१०।२३ का दिन मालपोत कार्यालयलाई पत्राचार भएको हो । तर निवेदक रामप्रसाद साहू सुडीले पेश गरेको प्रमाणपत्र समेत राखी कानून बमोजिम गर्न मालपोत कार्यालयमा पठाई सकेको हुँदा जे गर्ने कारवाही मालपोत कार्यालयले नै गर्नेछ । रिटनिवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।

७.    प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

८.    यसमा निर्णयतर्फ हेर्दा मेरो जग्गा बिक्री गर्ने राजीनामा पास गर्ने प्र.जि.अ.ले गैरकानूनी तरीकाबाट रजिष्ट्रेशन पास रोक्का गरिदिएकोले सो बदर गरी राजीनामा पास गरिदिनु भन्ने परमादेश जारी गरिपाउँ भन्ने रिटनिवेदन जिकिर देखिन्छ ।

९.    प्र.जि.अ.को लिखितजवाफमा कृत्रिम महावीर साहूबाट जग्गा बिक्री हुन नपाओस् सद्दे महावीर स्वर्गे भइसकेको छ रजिष्ट्रेशन रोक्का गरिपाउँ भनी निवेदन दिएकोले केही दिनको निमित्त रजिष्ट्रेशन नगर्न पत्राचार भएको निवेदक रामप्रसाद साहूलाई प्रमाण पेश गर्ने मौका दिनसम्म सो रोक्का गरी प्रमाण पेश भइसकेपछि सम्पूर्ण कागज निवेदन कानून बमोजिम गर्न मिति २०४३।११।१९ मा मालपोत कार्यालयमा पठाउन सकिएको हुँदा अब जे गर्ने कारवाही मालपोतले नै गर्ने हुँदा यस कार्यालयबाट केही गरी रहन नपर्ने भएको भन्ने समेत उल्लेख भएको पाइन्छ । मालपोत कार्यालय सिराहाको लिखितजवाफमा कुनै किसिमको हक हस्तान्तरण नहुने गरी रोक्का राखिदिने जिल्ला कार्यालय सिराहाबाट लेखिआएको हुँदा रोक्का राखेको फुकुवा नभई पारीत गरी दिनु नमिल्ने देखिएकोले लिखत पारीत नभएको हो भन्ने उल्लेख भएको देखिन्छ । प्रमुख जिल्ला अधिकारीले लिखत पारीत रोक्का राख्ने आदेश गरेपछि प्र.जि.अ.आफैंले फुकुवा गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रमुख जिल्ला अधिकारीले लिखत पारीत गर्न रोक्का राखेकोमा सो रोक्का फुकुवा गरेको भन्ने लिखितजवाफबाट देखिँदैन । तसर्थ उक्त लिखत पारीत रोक्का रहेको सम्पत्ति कानून बमोजिम रोक्का राखी रहन नपर्ने भए कानून बमोजिम फुकुवा गरिदिनु भनी प्रत्यर्थी प्र.जि.अ.जिल्ला कार्यालय सिराहाका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल आषाढ २८ गते रोज १ शुभम् ।

