निर्णय नं. ३९९८ – दर्ता बदर हक कायम समेत
निर्णय नं. ३९९८ ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ६९२ फैसला भएको...
निर्णय नं. ३९९८ ने.का.प. २०४६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ६९२
फैसला भएको मिति : २०४६।११।१०।४ मा
पुनरावेदक/वादी : नु.जि. तारुका गा.पं. वडा नं. ६ बस्ने बेखारत्न शाक्य
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. ल.पु.न.पं. वडा नं. १७ बस्ने अष्टराज बज्राचार्य
मुद्दा : दर्ता बदर हक कायम समेत
§ विवादित जग्गाहरु प्रतिवादी समेतका नाउँमा दर्ता हुँदा समेत कतै उजूर बाजूर नगर्नुबाट विवादित जग्गाहरुमा आफ्नो समेत हक लाग्छ भन्ने वादी दावी समर्थित भएको नदेखिने।
(प्रकरण नं. १५)
पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल
विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ.को मिति २०४५।२।१२।४ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. यस्मा मावली बाजे पूर्णजोति कि श्रीमती मिख्या थकुं बज्राचार्यका छोरा नभएका छोरीहरु ज्यानमाया, जोगमाया, प्राणमायालाई बराबर खान पाउने गरी १९८१।१०।१० मा बकसपत्र दिनु भएको दाइजो पाउने छोरीहरुका नाउँमा नामासारी दर्ता हुँदै ज्यानमाया समेतको गरी प्राणमायाका नाउँमा २ खण्ड र जोगमायाका नाउँमा १ खण्ड छुट्टाई पोता नं. ७४३ मा दर्ता भएको इकुहिटी लोहलंत चुडोल कैमुली खेल भनिएको वागडोल ठहैखेल तपांमा ब्रम्हा भनिएको समेत जग्गा जोगमायाका नाउँमा दर्ता भएको निजको परलोक पछि अपुतलीको १, २ र स्त्री अंश धनको ५ नं. बमोजिम मेरो हक भएको र मैले नै भोगचलन गरेको छु । विपक्षी अष्टराज, प्राणमाया नाति हुन र जग्गाको रेखदेख गरी मलाई वार्षिक ८। मुरी धान बुझाई आएको विश्वास हुँदा भर्पाई लिने दिने थिएन । विपक्षीले नापीमा मेरो नाउँमा समेत नापी गराएको छु दर्ता प्रमाणित संगै गरौंला भनेकाले नाम सारी गरी लिनु दिनु पर्यो भनी आमा जोगमायाले दिएको बकसपत्रबाट भिड्ने कि.नं. ४००, ५०३, १२, १४४, २४४, ३७ का जग्गाहरु दावी लिई निवेदन दिई कारवाई चल्दा कि.नं. ३९७ र १२ कित्ता दर्ता गर्न बाँकी मिति २०४०।९।४ का निर्णयले कि.नं. ३९७ दर्ता भएको र कि.नं. १२ मा कारवाही चलिरहेको छ । अरु जग्गा विपक्षीले दर्ता गराई सक्नु भएको कुरा मालपोत कार्यालयको टिप्पणी मिति २०४०।५।५ मा नक्कल सारी थाहा पाएकाले विपक्षीको नियतप्रति स्पष्ट रुपमा थाहा भयो र शंका लागी मेरो उक्त प्रमाणसंग भिड्ने विभिन्न कित्ता जग्गाहरु विपक्षी अष्टराज समेतलाई बुझी ३ भागको १ भाग दर्ता प्रमाणित गरी पाउन मालपोत कार्यालय ललितपुरमा मिति २०४०।१।१२ मा निवेदन दिंदा ०३१, ०३२, ०३४ सालमा नै दर्ता भइसकेको देखिएकोले मिति २०४०।६।१९ मा तामेलीमा राखी दिने निर्णय भइसकेकोले म्यादभित्र फिराद गर्न आएको छ । माथि उल्लेख भए बमोजिमको मेरो हक भोगको ल.पु.न.पं. वडा नं. ३ ग कि.नं. २७९, ३५८ वडा नं. ४घ कि.नं. ३९८, ४१३, २१५, १३५, १४४, २४४ वडा नं. ४ङ कि.नं. १२७, १४, १३, ९, १७ वडा नं. ४ज. कि.नं. ५०३, ३७, ४१९ वडा नं. १९ कि.नं. २ समेत जग्गाहरुको विपक्षी र मलाई पायक पर्ने हिसाबले नरम गरम भाग बण्डा लगाई ३ खण्डको १ खण्ड जग्गा विपक्षीको नाउँको दर्ता गर्ने गरेको निर्णय दर्ता बदर गरी खिचोला समेत मेटाई मेरो नाउँमा दर्ता गरी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको बेखारत्नको फिराद ।
३. वादी दावी झुठ्ठा हो, विवादित जग्गामा वादी समेतको हक छैन, यी जग्गा पहिला विर्ता भएको र विर्ता उन्मूलन पछि रैकरमा परिणत भई विपक्षी वादीले १९८१ को बकसपत्र र पोत नामसारीलाई अंगाली गरेको फिराद बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ३ ले समेत त्यस्तो लिखत लगायत सम्पूर्ण खारेज तथा बदर भएको कानुनी तथ्य स्पष्ट छ । विपक्षीको हक लाग्ने भए रैकरमा परिणत गराउनु सक्नु पर्ने, सो सक्नु भएको छैन, त्यस्तै जग्गाको नाप नक्शा हुँदा पनि आफ्ना नाउँमा नाप नक्शा गराउन सक्नु भएको छैन, दर्ता पूर्जा वितरण गर्दा पनि समयमा दावी विरोध गर्न सक्नु भएको छैन । सोबाट समेत विवादित जग्गामा विपक्षीको हक नलाग्ने कुरा प्रष्टै छ । प्राणमायाको हक खाने म भएको कुरामा मुख मिलेकोछ । विपक्षीले ७ नं. फाँटवारी दिंदा यी जग्गाहरु ७ नं. फाँटवारीमा उल्लेख गर्न सकेको समेत नभएको साथै ०१६ सालमा जोगमाया परलोक भएको कुरा यी वादीले स्वीकारेका र अपुतालीको २० नं. बमोजिमको फिराद गर्ने हदम्याद समेत वादीले गुमाई सकेका छन् भने अपुतालीको २ नं. ले वादीको हक रहेछ भन्न मिल्दैन प्राणमायाको हक खाने म हुँदा रैकर परिणत नामासारी दर्ता समेत गरेको छु । विपक्षीको आमा भनेको जोगमायाको जग्गा दर्ता नामसारी समेत मैले गराएको छैन भन्ने व्यहोराको प्रतिवादी अष्टराजको प्रतिउत्तरपत्र ।
४. यसमा विवादित जग्गा नापी हुँदा जग्गा धनीमा प्राणमाया भन्ने मोहीले लेखाएको फिल्डबुक उतारबाट देखिन आएको साथै मोही र जग्गा धनी बीचमा कुरा लिए दिएको प्रमाण समेत कुनै वादीले पेश गर्न सकेको नपाइएकोले यस्तो स्थितिमा केवल मिति १९८१।१०।१० को बकसपत्रको आधार सिवाय अरु केही प्रमाण नदेखिँदा वादीको फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरु ललितपुर जिल्ला अदालतको मिति २०४१।८।९।२ को फैसला ।
५. शुरु ललितपुर जिल्ला अदालतको इन्साफमा चित्त बुझेन फैसला बदर गरी मेरो वादी दावी बमोजिम गरी पाउँ भन्ने वादीको बागमती अञ्चल अदालतमा पुनरावेदनपत्र ।
६. शेषपछिको बकसपत्रको आधारले मात्र एकाले ०३१, ०३२, ०३४ सालमा दर्ता श्रेस्ता तथा हक कायम गराई सकेको उक्त विवादित जग्गाहरुलाई दर्ता बदर गरी हक कायम गराई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न नसक्ने भई अरु शुरु बुंदा प्रमाण समेतबाट शुरु ललितपुर जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मिति २०४२।९।१६ को बागमती अञ्चल अदालतको फैसला ।
७. बागमती अञ्चल अदालतको उक्त मिति २०४२।९।१६ को फैसला त्रुटिपूर्ण हुँदा फिराद दावी बमोजिम हक इन्साफ पाउँ भन्ने समेत वादीको म.क्षे.अ.मा परेको पुनरावेदन ।
८. वादीको आमा जोगमायालाई १९८१ को बकसपत्रबाट विवादको जग्गा प्राप्त भएको देखिएको तर उक्त जग्गाहरु समयमै रैकरमा परिणत गराउन नसकेको, ७ नं. फाँटवारी नभरेको, नापीमा आफ्नो हक कायम गराउन नसकेको तथा प्रतिवादीले उक्त जग्गाहरुको ज.ध.प्र.पूर्जा प्राप्त गरिसकेको र वादीले पनि १९८१ को बकसपत्रको आधार देखाई कि.नं. ३९७,१२,४०० का जग्गाहरुमा आफ्नो हक स्थापित गराई सकेको देखिँदा विवादित जग्गाहरुमा वादी दावी नपुग्ने गरी शुरु फैसला बदर गरेको बा.अं.अ.को इन्साफ मनासिब छ भन्ने समेत म.क्षे.अ.को मिति २०४५।२।१२।४ को फैसला ।
९. म.क्षे.अ.को उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।४।२१।६ को आदेश ।
१०. नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्लको तथा विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावी पुग्न नसक्ने ठहराएको शुरु सदर गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा मावली पट्टिकी बज्यै मिख्या थकुंले १९८१।१०।१० मा पारित शेषपछिको बकसपत्रबाट ३ खण्डको १ खण्ड मेरी आमा जोगमायाले पाउने गरी दिएका जग्गा समेत विपक्षी अष्टराजले ल.पु.न.पं.को विभिन्न वार्ड नं. मा हाल नापीको कि.नं. २७९, ३५८, ३९८, ४१३, २१५, १२७, १४१३, ५०३, ४१९, ९, १७, २ मा दर्ता गराएकोले नरम गरम भाग बण्डा लगाई उक्त ३ खण्डको खण्डमा विपक्षीको नामको दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भन्ने समेत वादी दावी भएकोमा विवादित जग्गामा विपक्षीको हक छैन यदि भए समयमा नै हक कायम गराउन सक्नु पथ्र्यो, झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ ।
१२. वादी समेतकी दाताले आफ्नो हकको चल अचल श्रीसम्पत्ति अष्टलौहय गैह्र मिति १९८१।१०।१०।६ मा आफ्ना छोरीहरु यिनी वादीकी आमा जोगमाया समेत ३ जनाले बराबरी बाँडी खान पाउने गरी शेषपछिको बकसपत्र गरी दिएको कुरामा कुनै विवाद देखिँदैन । सोही बकसपत्र बमोजिमका जग्गाहरु दिदी बहिनी प्राणमाया र जोगमायाको नाउँमा पोता दर्ता भई सोको ३ खण्डको १ खण्ड जोगमायाको भाग र ज्यानमायाको र आफ्नो समेत २ खण्ड प्राणमायाको भाग भई आफू आफूले भोग गरी आएकोमा आफ्ना आफ्ना नाउँमा नामसारी दर्ता गर्ने भन्ने समेत व्यहोराको मिति २००९।११।३ दर्ता फरीको पारित लिखतबाट यिनी वादीको आमा जोगमाया र प्रतिवादीकी बज्यै प्राणमायाका बीच २००९ सालदेखि नै दर्ता फुटी अलग अलग भोग तिरो भएको भन्ने देखिन्छ । प्राणमायाको २०३३ सालमा कालगतिले परलोक भएको भन्ने देखाई निजको हक खाने यिनी प्रतिवादीले विवादित कित्ताका जग्गाहरु समेत आफ्ना नाउँमा नामसारी गरी पाउँ भनी दिएको निवेदनमा कारवाही भई दर्तावाला प्राणमाया गुभाजुनीको नाम खारेज गरी निवेदकको नाउँमा नामसारी गरी दिने भन्ने समेत भूमिप्रशासन शाखा ललितपुरबाट मिति २०३४।७।११ समेतमा निर्णय भएको र सो बमोजिम यिनी प्रतिवादीले उक्त जग्गाहरुको जग्गा धनी प्रमाण पूर्जा लिएको प्रमाणको निम्ति आएको भू.प्र.शाखाको फायल तथा मिसिलसाथ रहेको ज.ध.प्र.पूर्जाको प्रतिलिपिबाट देखिन्छ ।
१४. विवादित जग्गाहरु आफ्नो समेत हक लाग्ने भन्ने वादी दावी भएको तर उक्त जग्गाहरु विर्ता जग्गा भएकोमा विर्ता उन्मूलन ऐन, २०१६ लागू भएपछि वादीले रैकरमा परिणत गराई हक स्थापित गराउन सकेको देखिन्न साथै भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि वादीले जग्गा धनीको हैसियतबाट ७ नं. फाराम भरेको भन्ने पनि देखिन्न भने सर्भे नापीमा उक्त जग्गाहरुका मोहीहरुले जग्गा धनीमा यिनी प्रतिवादीको बज्यै समेतको नाम लेखाई दिएको देखिन्छ । वादीले मिति २०३८।८।२४।४ मा मालपोत कार्यालयमा आमा जोगमायाका नाउँको साविक पोता रै.नं. ७४३ को आधार देखाई कि.नं. ५०३, ३९७, ४०० र १२ का जग्गाहरु आफ्ना नाउँमा नामसारी गरी पाउँ भनी निवेदन दिएकोमा पछि मिति २०३८।११।३ मा हाललाई कि.नं. ४०० को मात्र कारवाही गरी पाउँ भनी दर्खास्त दिई उक्त कि.नं. ४०० निजका नाउँमा नामसारी भएको र पछि कि.नं. ३९७ र १२ सम्म निजका नाउँमा नामसारी गर्ने निर्णय भई वादीले आफ्नो हक कायम गरेको प्रमाणका निमित्त आएको मालपोत कार्यालय ललितपुरको टिप्पणी आदेशबाट देखिन्छ । त्यस बखत पनि हाल विवादित जग्गाहरु सम्बन्धमा वादीले दावी लिनसकेको देखिँदैन १९८१ सालको बकसपत्रको आधार देखाई पोता नं. ७४३ बाट दर्ता भिडाई विवादित कित्ता नम्बरका जग्गाहरु ३ खण्डको १ खण्ड दर्ता गरी पाउँ भन्ने समेत यिनी वादीको मालपोत कार्यालयमा मिति २०४०।६।११ मा परेको निवेदन उपर कारवाही हुँदा कि.नं. ३५८, ३९८, ४१३, २१५, १२७, १४, १३, ५०३, ४१९, ९१७ र २ नं. कित्ता जग्गा २०३१, २०३२ र २०३४ सालमै प्राणमाया, अष्टराज समेतका नाउँमा दर्ता भइसकेको मोठ भिडाएकोबाट देखिएकोले निवेदकको नाउँमा दर्ता गर्न नमिल्ने हुँदा मिसिल तामेलीमा राख्ने भनी मिति २०४०।६।१८।३ मा मा.पो.का. ल.पु.बाट निर्णय आदेश भएको देखिन्छ ।
१५. विवादित प्रत्येक कित्तामा ३ खण्डको १ खण्ड आफ्नो हक लाग्छ भन्ने यिनी वादीले पटक पटक गरी ३ कित्ता मात्र आफ्ना नाउँमा नामसारी दर्ता गराउन र २०३१, २०३२ र २०३४ सालमा विवादित जग्गाहरु प्रतिवादी समेतका नाउँमा दर्ता हुँदा समेत कतै उजूर बाजूर नगर्नुबाट विवादित जग्गाहरुमा आफ्नो समेत हक लाग्छ भन्ने वादी दावी समर्थित भएको देखिँदैन ।
१६. तसर्थ आफ्नी आमाले बकसपत्रबाट पाएको साविक पोता नं. ७४३ मा भिडाई कि.नं. ४००, ३९७ र १२ का जग्गाहरु वादीले दर्ता गराई सकेको देखिँदा प्रतिवादीले २०३१, २०३२ र २०३४ सालमा दर्ता श्रेस्ता हक कायम गराई सकेका विवादित जग्गाहरुको दर्ता बदर गरी हक कायम गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने गरी गरेको शुरु जि. अ.को फैसला सदर गरेको बा.अं.अ. को फैसला सदर ठहर्याएको म.क्षे.अ.को फैसला मिलेकै देखिँदा केही परिवर्तन गरिरहनु परेन । इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४६ साल फाल्गुण १० गते रोज ४ शुभम् ।