निर्णय नं. ३९०२ – कूत मोही
निर्णय नं. ३९०२ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान...
निर्णय नं. ३९०२ ने.का.प. २०४६ अङ्क ८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.ई.नं. ११०
फैसला भएको मिति : २०४६।७।३।५ मा
डिभिजन बेञ्चबाट फैसला मिति : २०४२।११।२४।६ मा
निवेदक/प्रतिवादी : रौतहट जिल्ला फुवरीया गा.पं. भई हाल कायमी पिपरा रजवाडा गा.पं. वडा नं. ३ बस्ने गमिरी महतो सुडी
विरुद्ध
विपक्षी/वादी : ऐ. वडा नं. २ बस्ने भोजेन्द्रप्रसाद यादव
मुद्दा : कूत मोही
§ दावी बमोजिम बाँझो नै राखेको हो भनी यकीन साथ भन्न सकिने देखिन नआएकोले वादी दावीको जग्गामा प्रतिवादी मोहीले बाली नलगाई जग्गा पर्ता राखेको भन्ने नदेखिने ।
(प्रकरण नं. १९)
§ वादीका साक्षीहरू तीनैजनाले कूत प्रतिवादीले वादीलाई बुझाइएको छैन भनी किटानी साथ बकपत्र गरेको देखिन्छ यसबाट प्रतिवादीले वादीलाई कूतबाली बुझाएको भन्ने नदेखिने ।
(प्रकरण नं. २०)
निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
फैसला
न्या. बब्बरप्रसाद सिंह : श्री महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।११।२४।६ को फैसला फुलबेञ्चबाट दोहर्याई पाउँ भनी निवेदकले बिन्तिपत्र चढाउनु भएकोमा पूर्ण इजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मेरा नाम दर्ता तिरो हकभोगको जिल्ला रौतहट प्र. झाझ उत्तर पञ्चायत रजबाडा वडा नं. ३ को कि.नं. ४२७ ज.वि. ०–११–८ को विपक्षी मोही भएकोमा निजले कुनियत चिताई आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक २०३५ साल बैशाख १ गतेदेखि २०३५ साल चैत्र मसान्तसम्म १ वर्षतक उक्त जग्गामा खेती नगरी पर्ता पारी दिई मैले पाउनु पर्ने २०३५ सालको कूत समेत निज प्रतिवादीले मलाई नदिई धरौट राख्नु पर्ने ठाउँमा धरौट समेत नराखेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा (२) बमोजिम प्रतिवादीको मोही निष्कासन गरी कूत धान मन ६–२२–० को वर्तमान बजार दरभाउ धान मन १ को रु. ६०।– ले हुने रु. ३९३।– प्रतिवादीबाट दिलाई पाउँ भन्ने समेत फिरादपत्र ।
३. २०३५ सालको कूतबाली ६–२२–० २०३५ साल माघ १६ गतेका दिन प्रमाणका व्यक्तिहरू समेतका रोहवरमा वादीलाई बुझाई भर्पाई माग्दा अहिले भर्र्पाई लेख्ने मानिस नहुँदा पछि भर्पाई गरी दिउँला फरक पर्ने छैन भनी वादीले भन्नु भएकोले विश्वासमा परी चुपचाप बसें । पछि भर्पाई माग्दा आलटाल गरी आजसम्म भर्पाई पनि दिनु भएको छैन । मलाई सो जग्गा जोतकोड समेत गर्न नदिई मोहीबाट बन्चित समेत गराई दिनु भएकोले मोही बेदखली र २०३५ सालको कूत बुझी लिनु भएको भर्पाई समेत दिलाई पाउँ भन्ने सम्बन्धमा मिति २०३६।१।१९।४ मा श्री भूमिसुधार कार्यालय रौतहटमा मैले निवेदन दिएको हुँ । सो सम्बन्धमा कारवाही चली नै राखेको छ । वादीको झुठ्ठा फिराद दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. २०३५ सालको बालीमा २०३५ साल चैत्रदेखि आजसम्म प्रतिवादी मोहीले जग्गा पडता राखेको मैले देखेको हुँ । २०३५ साल चैत्र भन्दा अघिदेखि नै वादी दावीको जग्गा पडता भएको मैले देखेको हुँ भन्ने समेत वादीका साक्षी गुदरी महतोको मिति २०३६।५।७ गतेको बकपत्र।
५. २०३५ सालको बालीमा २०३५ साल बैशाख १ गतेदेखि ऐ. चैत्र मसान्तसम्म वादी दावीको ०–११–८ जग्गा प्रतिवादी मोहीले जोतकोड केही नगरी पर्ता राखेको मैले देखेको हुँ भन्ने समेत वादीका सियाराम महतोको मिति २०३६।५।८ गतेको बकपत्र रहेछ ।
६. २०३५ सालको बालीमा २०३५ साल बैशाख देखि आजसम्म जग्गा पडता रहेको मैले देखेको हुँ भन्ने समेत वादीका साक्षी महावीर महतोले मिति २०३६।५।७ मा गरेको बकपत्र ।
७. वादी दावीको जग्गामा २०३५ साल बैशाख १ गतेदेखि ऐ. चैत्र मसान्तसम्म आवाद थियो पडता थिएन । २०३५ सालको कूत वादीलाई म समेतको रोहवरमा मिति २०३५।१०।१६ गते बुझाई दिएका हुन् । भर्पाई दिएको छैन भन्ने समेत प्रतिवादीका साक्षी सर्वलाल रायको २०३६।५।७ गतेको बकपत्र ।
८. वादी दावीको जग्गामा २०३५ सालभरी आवाद गरेको थियो भन्ने समेत प्रतिवादीका साक्षी रुद्रनाथ झाले गरेको बकपत्र ।
९. जग्गा पर्ता थिएन, प्रतिवादीले आवाद गरेको देखेको हुँ भनी प्रतिवादीको साक्षी रुद्रनाथ समेत जवान २ ले किटानीसाथ बकपत्र गरेको हुँदा २०३५ सालको बालीमा पर्ता थियो मोही निष्कासन गराई पाउँ भन्ने वादी दावीलाई साँचो मान्न मिल्ने देखिएन । प्रतिवादीले जग्गा पर्ता राखेको नठहर्ने र कूत बुझाएको भर्पाई प्रतिवादीबाट दाखिल नभएकोले वादीले प्रतिवादीबाट कूत भरी पाउने ठहर्छ भन्ने समेत रौतहट जिल्ला अदालतको मिति २०४६।७।२३।६ को फैसला ।
१०. रौतहट जिल्ला अदालतको फैसला उपर वादी प्रतिवादी दुवैजनाको नारायणी अञ्चल अदालतमा पुनरावेदन परेको ।
११. शुरु जिल्ला अदालतबाट मोही निष्कासन नहुने गरी गरेको इन्साफ खण्ड कानुनसंगत नभएकोले बदर हुन्छ र कूत भराई दिने ठहर्याएको शुरुको इन्साफ सदर हुने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति २०३६।१२।१५।६ को फैसला ।
१२. नारायणी अञ्चल अदालतको फैसला उपर प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति प्रदान गरेको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१३. प्रतिवादीलाई मोहियानी हकको जग्गाबाट निष्कासन गर्ने ठहर्याएको र बाली वादीले पाउने ठहर्याएको नारायणी अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुनाले सो फैसला र बाली प्रतिवादीलाई भराई दिने ठहराएको सो हदसम्मको रौतहट जिल्ला अदालतको फैसला समेत सोही हदसम्म बदर हुन्छ । वादी दावी बमोजिम प्रतिवादी निष्कासन हुन सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।४।४ को फैसला ।
१४. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा निवेदन परेकोमा वादीका साक्षीहरूले प्रतिवादीले जग्गा पर्ता राखेको र कूत नबुझाएको भनी किटानी बकपत्र गरेको देखिन्छ । त्यस्तो बकपत्रको सही मूल्यांकन गरी फैसला गर्नुपर्नेमा सो बमोजिम नगरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई वादी दावी नपुग्ने ठहर्याएको कुरा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को प्रत्यक्षतः गम्भीर त्रुटि देखिन्छ । त्यस्तो कानुनी त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को १३(५)(ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४०।१२।१।४ को आदेश ।
१५. बाली बुझाएको भर्पाई प्रमाण प्रतिवादीले पेश गर्न नसकेको र वादीका साक्षीहरूले पनि किटानीसाथ प्रतिवादीले जग्गा पर्ती राखेको भन्ने बकपत्र समेत गरे बाट प्रतिवादीले विवादित जग्गामा खेती पनि गरेको र बाली समयमा नै बुझाएको भन्ने प्रतिवादी जिकिर साँचो देखिन आएन । तसर्थ मोही निष्कासन हुने ठहर्याई रौतटह जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी नारायणी अञ्चल अदालतबाट भएको फैसला मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४२।११।२४।६ को फैसला ।
१६. श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको फैसला फुलबेञ्चबाट दोहोर्याई पाउँ भनी प्रतिवादीको बिन्तिपत्र परेकोमा यस्मा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको कूत मोही मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत हुकुम बक्स भएको ।
१७. श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई नियम बमेजिम निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले मेरो पक्षले वादी दावीको जग्गा नजोती पर्ता राखेको छैन । २०३५ साल माघ १६ गते हाम्रो रोहवरमा बाली बुझाएको हो भनी किटानीसाथ प्रतिवादीका साक्षीहरूले बकपत्र गरिदिएका छन । वादीका साक्षीहरूको भनाई एक अर्कासंग मिलेको छैन । तसर्थ प्रमाणमा लिन नहुने वादीका साक्षीहरूको बकपत्रको आधारमा मोही निष्कासन हुने ठहर्याएको डिभिजनबेञ्चको फैसला नमिलेको हुनाले सो फैसला बदर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले प्रतिवादी मोहीले वादी दावीको खेत २०३५ सालमा बाँझो राखेको देखेको हुँ भनी वादीका साक्षीहरूले प्रष्ट रुपमा बकी दिएका छन् २०३५ सालको बाली बुझाएको भर्पाई पनि प्रतिवादीले पेश गर्न सकेको छैन । तसर्थ डिभिजनबेञ्चको फैसला मनासिब ठहरिनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा यस अदालत डिभिजनबेञ्चबाट मोही निष्कासन हुने ठहर्याएको निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ । निर्णयतर्फ हेर्दा यस्मा मेरो हकभोगको जिल्ला रौतहट प्र. झाझ उत्तर पञ्चायत रजवाडा वडा नं. ३ को कि.नं. ४२७ को ज.वि. ०–११–८ को विपक्षी मोही भएकोमा निजले २०३५ साल बैशाख १ गतेदेखि २०३५ साल चैत्र मसान्तसम्म उक्त जग्गा पर्ता राखेको र २०३५ सालको कूत समेत नबुझाएकोले प्रतिवादी मोहीबाट बाली भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने दावी वादीले लिएको देखिन्छ । मैले वादीको जग्गा पर्ता राखेको छैन । २०३५ सालको बाली प्रमाणका साक्षीहरूको रोहवरमा २०३५ साल माघ १६ गतेका दिन बुझाई सकेको छु भर्पाई माग्दा दिइएन भन्ने समेत प्रतिवादीको जिकिर रहेको पाइन्छ । तसर्थ प्रस्तुत मुद्दामा निम्नलिखित दुई विवाद विन्दुमा निर्णय दिनु पर्ने हुन आएको छ ।
(क) वादी दावी बमोजिमको जग्गामा प्रतिवादी मोहीले २०३५ सालको बाली नलगाई पर्ता राखेको हो होइन ?
(ख) २०३५ सालको कूत प्रतिवादी मोहीले वादीलाई बुझाएको हो होइन ?
१९. पहिलो विवाद विन्दुतर्फ हेर्दा वादी दावीको जग्गा २०३५ साल बैशाख १ गतेदेखि ऐजन चैत्र मसान्तसम्म एक वर्षतक प्रतिवादी मोहीले बाँझो पर्ता राखेको हो भन्ने आफ्नो दावी प्रमाणित गर्नाका लागि वादीले आफ्नो तीनजना साक्षीहरू पेश गरेको मिसिलबाट देखिन्छ । वादीका साक्षी महावीर महतोले वादीको जग्गाको सरेटमा मेरो जग्गा हुँदा २०३५ सालको बालीमा २०३५ साल बैशाख देखि आजसम्म पडता रहेको मैले देखेको हुँ भनी मिति २०३६।५।७ मा बकपत्र गरेको पाइन्छ । वादीका साक्षी महावीर महतोको यो बकपत्रबाट वादीको जग्गा २०३५ साल बैशाख देखि २०३६ साल भाद्र ७ गतेसम्म पडता रहेको देखिन्छ । वादीका अर्का साक्षी सियाराम महतोले पनि २०३५ सालको बालीमा २०३५ साल बैशाख १ गतेदेखि ऐजन चैत्र मसान्तसम्म वादी दावीको जग्गामा प्रतिवादी मोहीले जोतकोड केही नगरी पर्ता राखेको मैले देखेको हुँ भनी २०३६।५।८ मा बकपत्र गरेको पाइन्छ । त्यस्तै वादीका अर्का साक्षी गुदरी महतोले २०३५ सालको बालीमा २०३५ साल चैत्रदेखि आजसम्म उक्त जग्गा प्रतिवादी मोहीले पर्ता राखेको मैले देखेको हुँ । २०३५ साल चैत्रभन्दा अघिदेखि नै वादी दावीको जग्गा पडता भएको मैले देखेको हुँ भनी २०३६ साल भाद्र ७ गते बकपत्र गरेको देखिन्छ । यसरी वादीका तीनजना साक्षीहरूमा कसैले २०३५ साल बैशाख देखि ऐजन चैत्र मसान्तसम्म खेत बाँझो राखेको भनी र कसैले २०३५ साल बैशाख देखि २०३६ साल भाद्र ७ गतेसम्म प्रतिवादी मोहीले खेत बाँझो राखेको देखेको हो भनी र अर्को साक्षीले २०३५ साल चैत्रदेखि २०३६ साल भाद्र ७ गतेसम्म खेत बाँझो राखेको देखेको हुँ भनी बकपत्र गरेबाट यी वादीका साक्षीहरूको बकाई एकै मिलानको नदेखिई फरक फरक देखिन आयो । प्रतिवादीले जग्गा बाँझो राखेको हो भन्ने अरु तथ्ययुक्त आधार देखिँदैन । अर्कोतर्फ प्रतिवादीका साक्षीहरू सर्वलाल राय र रुद्रनाथ झाले किटानीसाथ २०३५ सालको बालीमा वादी दावीको जग्गा २०३५ सालभरी नै जग्गा आवाद गरेको थियो भनी बकपत्र गरेको पाइन्छ । यसबाट जग्गा दावी बमोजिम बाँझो नै राखेको हो भनी यकीन साथ भन्न सकिने देखिन आएन । तसर्थ वादी दावीको जग्गामा प्रतिवादी मोहीले २०३५ सालको बाली नलगाई जग्गा पर्ता राखेको भन्ने यकीन देखिन आएन ।
२०. अब दोस्रो विवाद विन्दुको सम्बन्धमा २०३५ सालको कूत प्रतिवादी मोहीले वादीलाई बुझाएको हो होइन भन्नेतर्फ हेर्दा प्रतिवादी मोहीले २०३५ सालको बाली वादीलाई प्रमाणका मानिसहरूको रोहवरमा मिति २०३५।१०।१६ गते बुझाई सकेको छु भर्पाई माग्दा पछि दिन्छु भनी भर्पाई दिएन भन्ने जिकिर लिएको पाइन्छ । २०३६ सालको बाली लगाउन जाँदा मोही बेदखली गरेको हुँदा मोही बेदखलीमा सजायँ गरी २०३५ सालमा कूत बुझेको भर्पाई दिलाई पाउँ भनी यी प्रतिवादी गमिरी महतो सुडीले यिनै वादी भोजेन्द्रप्रसाद यादव उपर भूमिसुधार कार्यालय, गौरमा दिएको उजूरीमा मिति २०३६।८।२७ गतेमा निर्णय हुँदा भर्पाई दिलाई पाउँ भनी दावी सम्बन्धमा केही ठहर बोलेको देखिँदैन । यसका साथै वादीका साक्षीहरू तीनैजनाले २०३५ सालको कूत प्रतिवादीले वादीलाई बुझाएको छैन भनी किटानीसाथ बकपत्र गरेको देखिन्छ । यसबाट प्रतिवादीले वादीलाई २०३५ सालको कूतबाली बुझाएको भन्ने देखिँदैन । वादीलाई २०३५ सालको कूत बुझाएको कानुन बमोजिमको लिखत प्रमाण प्रतिवादीले पेश गर्न सकेको पनि छैन । यस स्थितिमा लिखत सबूद प्रमाणको अभावमा प्रतिवादी मोहीले वादीलाई २०३५ सालको कूतबाली बुझाएको भनी ठहर गर्न मिल्ने अवस्था नहुँदा वादीलाई २०३५ सालको कूतबाली प्रतिवादीले बुझाएको भन्ने देखिन आएन ।
२१. अतः माथि विश्लेषण गरिएका आधारहरूबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादी मोहीले २०३५ सालको बाली नलगाई जग्गा पर्ता राखेको देखिन नआएकोले मोही निष्कासन गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने र २०३५ सालको कूतबाली सम्म वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ । बाली भराउने गरेको सम्म शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । मोही निष्कासन हुने ठहर्याएको यस अदालत डिभिजनबेञ्चको मिति २०४२।११।२४।६ को निर्णय नमिलेको हुनाले उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बाली भरी पाउने ठहरिएको हुँदा शुरु रौतहट जिल्ला अदालतको मिति २०३६।७।२३ को फैसलाले बालीतर्फको बिगो रु. ३६३।५३ र कोर्टफी रु. १८।१७ प्रतिवादीबाट वादीलाई भराई दिने गरी लगत कसेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।४ गतेको फैसलाले बाली भराउने गरेको लगत कट्टा गरेको देखिँदा सो क्षेत्रीय अदालतको फैसला बमोजिम लगत कट्टा गर्नु पर्दैन । शुरु जिल्ला अदालतले कायम गरेको लगत कायम राखी कानुन बमोजिम गर्नु भनी रौतहट जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु ……१,
सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।११।२४ गतेको फैसलाले यस अदालतमा वादीले पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २।९४ प्रतिवादीबाट वादीलाई भराउने गरेकोमा सो कोर्टफी भरी भराउ गराउन नपर्ने हुँदा सो कोर्टफी रु.२।९४ को भरी भराउनको लगत काटी दिनु भनी का.जि. अ. मा लगत दिनु …….२,
निवेदक प्रतिवादीले मुद्दा दोहोर्याई ल्याउँदा राखेको कोर्टफी रु. १।८२ वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे दस्तूर केही नलिई वादीबाट भराई दिनु भनी का.जि. अ. मा लगत दिनु ………..३,
सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।११।२४ को फैसलाले यस अदालतमा पुनरावेदन गर्दा वादीले राखेको कोर्टफी रु. २।९४ प्रतिवादीबाट भराउने गरेकोमा सो कोर्टफी रु. २।९४ प्रतिवादीले सर्वोच्च अदालत निवेदन शाखाको मिति २०४४।३।१४ को पत्रसाथ का.जि. अ. मा धरौट राखेका देखिँदा सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादीको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई सो धरौटी कोर्टफी प्रतिवादीलाई फिर्ता दिनु भनी का.जि. अ. मा लगत दिनु ….४,
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मोही निष्कासन नहुने ठहरेकोले सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।११।२४ गतेको फैसलाबाट प्रतिवादी अमिरी महतो सुडीको नाम मोही लगत कट्टा गरी दिन भूमिसुधार कार्यालय, रौतहटमा लेखी पठाउन का.जि. अ. मा लगत दिने गरेकोमा सो बमोजिम मोही लगत कट्टा गर्नु पर्दैन । सो डिभिजनबेञ्चको मोही लगत कट्टा गर्ने लगत कट्टा गरी दिनु भनी लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा दिनु ……५
मिसिल नियम बमोजिम गरी बुझाई दिनु………६
उक्त रायमा हामी सहमत छौं ।
न्या. हरगोविन्द सिंह प्रधान,
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल कार्तिक ३ गते रोज ५ शुभम् ।