निर्णय नं. ९९६ – बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय नं. ९९६ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् ०३३ सालको रिट नम्बर १२३५ आदेश...
निर्णय नं. ९९६ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् ०३३ सालको रिट नम्बर १२३५
आदेश भएको मिति : ०३३।९।२०।२ मा
निवेदक : अञ्चल बागमती जिल्ला काभ्रेपलान्चोक उग्रतारा आ.गा.पं.६वडा नं. घर भई धुलिखेल प्रहरी थानामा बन्दी भई बस्ने टिकाबहादुर खड्का समेत
विरूद्ध
विपक्षी : उग्रतारा आ.गा.पं.को प्र.पं.वीरबहादुर खड्का समेत
विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
(१) रिट निवेदन पर्नुभन्दा अघिदेखि थुनामा राखेको भन्ने निस्सा प्रमाण निवेदक तर्फबाट केही देखिन नआएको हुनाले, रिट निवेदन दर्ता भइसकेपछि बन्दी गराएकोमा यो रिट निवेदनबाट विचार गर्न नमिल्ने ।
(प्र.नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा
आदेश
न्या. वासुदेव शर्मा
१. विनाकसुर गिरफ्तारीको कारणको विनासूचनाबाट गरिएको बन्दी मेरा बाबुसमेतलाई वैयक्तिक स्वतन्त्रताको हकको संरक्षणको लागि बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा छाडिदिनु भन्ने आदेश जारी गरिपाउँ भन्नेसमेत कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३३।७।१६।२ मा प्रस्तुत रिट निवेदन दर्ता हुनआएको रहेछ ।
२. संक्षिप्त तथ्य यसप्रकार छ : ०३३ साल कात्तिक ११ गतेका दिन १०।११ बजेका टायममा वीरबहादुरको प्र.जि.अ.मा परेको व्यक्तिगत उजूरी बमोजिम प्र.जि.अ.ज्यूको आदेश बमोजिम भनी प्रहरी आई मेरा बाबु टिकाबहादुरलाई लगी थुनी वीरबहादुर समेतका मानिसले गोकर्णबहादुर समेत ५ जनालाई वारदातमा कुटपिटसमेत गरी कोही कोहीको हातखुट्टा भाँची जखम गरी सो कुरा बनेपा प्रहरी थानामा जाहेर गरी सो ११ गतेको राती बनेपाबाट घाइतेलाई वीरअस्पतालमा लगी केश फाराम गराइ सिमेण्ट प्लाष्टर गराई रातमा धुलिखेल प्रहरीथानामा ल्याई घाइतेलाई अहिलेसम्म उपचार नगरी बाबु र बिरामीहरू लाई थुनामा राखी दिनु भयोे खाने कुरा लाँदा भेटघाट गर्न नदिई फिर्ता गरी ल्याए ।
३. संक्षिप्त जिकिर यसप्रकार छ : विपक्षी प्र.जि.अ.ज्यूलाई र उपरीक्षकज्यूलाई त्यसरी मेरा बाबु र गोकर्णबहादुर समेतलाई विना अभियोग र विना पूर्जीमा थुनामा राख्न नेपालको संविधानको धारा ११ को उपधारा (१) (क) को अनाधिकार सरकारी शाक्ति प्रयोग गरी बन्दी बनाउँदा स्वतन्त्रताको हनन हुन गएको छ । संविधान र कानूनको समेत उल्लंघन गरी बन्दी बनाइराखेको हुनाले र भेटघाटसमेत गर्न नदिएकोले संवैधानिक हक र कानूनी हकको प्रचलनको लागि निवेदन गर्न आएको छु । बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा छाडिदिनु भन्ने आदेश जारी गरिपाउँ ।
४. विपक्षीहरूद्वारा लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको मिति ०३३।७।१८।४ को आदेशानुसार प्राप्त भएका विपक्षीहरूको लिखित जवाफ जिकिर यसप्रकार छन् ।
५. विपक्षी टिकाबहादुर १, केदार खड्का १, गोकर्ण खत्री १, सकुल खत्री १ समेत ४ जनाई शा.सु. ऐन, २०१८ को दफा ३ को (ख) को कुरामा विरोध पर्ने कामबाट रोक्न जरूरी भएबाट विपक्षीहरूलाई पक्राउ गर्ने जिल्ला प्रहरी थाना काभ्रे धुलिखेललाई ०३३।७।१९।५ मा आदेश दिई सोही मितिमा विपक्षीहरूलाई आदेश दिई निजहरूले सहीछाप गरी ०३३।७।१९ मा आदेश बुझी लिएको र (ख) मेलको सिधा खान पाउने गरी नजरबन्द थुनामा राख्नु भनी ०३३।७।१९।५ मा जिल्ला कार्यालय कारागार शाखा काभ्रे धुलिखेललाई पत्र लेखी गई विपक्षीहरूलाई थुनामा राखिएको हो सार्वजनिक सुरक्षा ऐन, ०१८ को दफा ११ अनुसार विपक्षीको रिट खारेज हुन प्रस्तुत गरेको छु भन्नेसमेत प्रमुख जिल्ला अधिकारी ।
६. जि.का.का.प. को प.सं.का.पं.खा.स. २०५०।०३३।३४।१४ च.नं. ४३ मिति ०३३।७।१९ को आदेश अनुसार निजहरूको नजरबन्द थुनुवामा राख्ने आदेश पत्र निजहरूलाई बुझाई का.प. कारागार गार्डमा पठाएको हो यस थानाबाट थुनछेक समेत नगरेको व्यहोरा अनुरोध गर्दछौं भन्ने जिल्ला प्रहरी थाना धुलिखेल ।
७. विपक्षहरुका कुटपिटबाट मिति ०३३।७।११ मा कुटिएको हामी वीरबहादुर समेत ५ जनाले ०३३।८।१३ मा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा कुटपिट मुद्दा दायर गरेका छौं शान्ति सुरक्षाको वातावरणमा खलल पुर्याएकोले विपक्षीहरू सुरक्षा ऐन अन्तर्गत थुनामा राखिएको हुन सक्छ । वास्तविक तथ्य प्र.जि.अ. तथा जि.प्र. थाना धुलिखेलबाट आएको लिखित जवाफबाट प्रष्ट हुने नै छ । इवि साधन विपक्षी बनाएको हुँदा रिट निवेदनपत्र खारेज गरिपाउँ भन्नेसमेत वीरबहादुर ।
८. तारेखमा रहेका निवेदक टिकाबहादुर खड्का समेत जना ६ को हकमा हर्षबहादुर खड्कालाई रोहवरमा राखी निजतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको र विपक्षी जिल्ला कार्यालय काभ्रे पलाञ्चोक समेततर्फबाट खटिनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माको बहस समेत सुनी प्रस्तुत केसमा निवेदकका माग बमोजिको आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
९. यसमा रिट निवेदन दर्ता हुँदाका मितिभन्दा अघि थुनामा रहेको देखिदैन सो भन्दा पछि ०३३।७।१९ गतेदेखि सार्वजनिक सुरक्षा ऐनअन्तर्गत निवेदकमध्ये टिकाबहादुर १, केदार खड्का १, गोकर्ण खत्री १ र सकुल खत्री १ समेत जम्मा ४ लाई मात्र थुनामा राखी थुनुवाको नोटीस समेत बुझाएको भन्ने विपक्षी जिल्ला कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलको लिखित जवाफबाट देखिन आयो । रिट निवेदन पर्नु भन्दा अघिदेखि थुनुवामा राखेको भन्ने निस्सा प्रमाण निवेदक तर्फबाट पनि केही देखिन नआएको हुनाले रिट निवेदन दर्ता भइसकेपछि बन्दी गराएकोमा यो रिट निवेदनबाट विचार गर्न नमिल्ने हुँदा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फायल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. झपटसिंह रावल
इति सम्वत् ०३३ साल पौष २० गते रोज २ शुभम् ।