July 23, 1976
Created by nepalarchives

निर्णय नं. ९७३ – ठगी

निर्णय नं. ९७३            ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय...

निर्णय नं. ९७३            ने.का.प. २०३३

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२९ सालको फौ.फु.नं. ३४

फैसला भएको मिति :      ०३३।४।८।६ मा

निवेदक      : का.जि. लगन बस्ने प्र.से. जनार्दन विक्रम राणा

विरूद्ध

विपक्षी : जि. वर्दिया तप्पे पदनाहा मौजे सुहेला बस्ने भिमार्जुन उपाध्याय

मुद्दा : ठगी

(१)   इन्स्पेक्टर सवालको दफा २ मा उल्लेख भएको अमिनीमा चलान गरिदिने छन् भन्ने शब्दहरूले प्रहरीलाई ठगीको अपराधको सम्बन्धमा ठाडो कारवाही गरी मुद्दा चलाउन अधिकार दिएको सम्झन नमिल्ने ।

(प्र.नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल

विपक्षी तर्फबाट      : अधिवक्ता ठाकुरप्रसाद खरेल

फैसला

     प्र.न्या रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भन्ने निवेदक वादी जनार्दन विक्रम राणाको निवेदनमा फुल बेञ्च बाट दोहोर्‍याई इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरबार मार्फत हुकुम प्रमांगी बक्स भई आएबमोजिम विशेष जोहेरी विभागबाट लेखिएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : भ.ईं नृप विक्रमको नाउँमा खरिद गरेको ट्याक्टर हामी नभएको मौका पारी काम गर्ने हरिविक्रमलाई तिम्रो मालिक जनार्दन विक्रमले ट्याक्टर लैजानु भन्नु भएको छ भनी ढाँटी सामान सहितको साबुद ट्याक्टर प्रतेवादीले लगेछन् मौजामा गएपछि माग्न पठाउँदा बनाउन लागेको रू.१५०० दिए मात्र दिन्छु भनी झुठ्ठा बाहाना गरी ढाँटी ठगी पचाउने नियत गरेकोले सामान सहितको ट्याक्टर दिलाई सजाय गरिपाउँ भन्नेसमेत वादी जनार्दन विक्रमको दरखास्त बयान ।

      ३.    ०१४ साल आश्विन १० गते कोठारमा रहेको चालू ट्याक्टर भिमार्जुनले ४।५ दिनलाई जोत्न मागेकोले दिएको ४।५ दिन पछि माग्न जाँदा जनार्दनसँग हरहिसाब छ भनी नदिएकोले जानार्दनलाई काठमाडौंमा चिठी पठाएको हुँ भन्नेसमेत हरिविक्रमको कागज ।

      ४.    वादीले ट्ययाक्टर खरीद गर्न रू.१५०० र पछि पनि कर्जा लिएको रूपैयाँबारे झलक जङ्गसँग सोध्दा तपाईंसँग कर्जा लिई खरीद गरेको ट्ययाक्टर बिग्रीरहेको हुँदा ट्याक्टर नै तपाईं जिम्मा लगाई दिन्छु भनेको र निस्सासमेत गरिदिएकोले ईञ्जिन मात्र लगी १५०० चानचुन खर्च लगाई तयार भएपछि प्रयागपुर ल्याई ट्ययाक्टर फिर्ता गराई प्लाड १ लिटर १ सिट १ समेत ल्याएको हुँ ठगी ल्याएको होइन भन्नेसमेत प्र.भिमार्जुनको कागज बयान ।

      ५.    वादीले पश्चिमाञ्चल डी.आई.जी.पी अफिसमा दिएको दर्खास्तमा ठगी भन्ने लेखेको अमिनीमा बयान गर्दा कारिन्दासँग मागिलगेको भन्ने लेखेको देखिएको अ.बं. ४३ नं. मा लेखिएको किसिमको समेत पुलिसमा दायर भई ठाडो बुझीने र अ.बं. १७५ नं. बमोजिम अदालतबाट ठाडो बुझ्ने किसिमको समेत नभएको नालिस दिनुपर्ने यस्तो कुरा ठाडो बुझ्न ऐनले अधिकार नदिएको हुँदा उजूर खारेज हुने ठहर्छ भन्नेसमेत तत्कालिन रा.का. देवानी आदालत दास्रोको फैसला ।

      ६.    उक्त इन्साफमा चित्त बुझेन भने वादी जनार्दन विक्रम राणाको पुनरावेदन पत्र ।

            कुनै वारदात भएको ठाउँमा पुलिसले पक्राउ गरी कागज गराएको नभई दर्खास्त निवेदन लिई कागज गराएको र सरजमिन गराई अमिनीमा बुझाएको मिलिसबाट देखियो अ.बं.४३ नं.मा उल्लेख भई पुलिसले कारवाही गर्न पाउने अधिकार नभएको मुद्दामा ठाडो कागज सरजमीन गरी पठाएको कागजलाई मान्यता दिई सो कागजबाट चलेको उक्तिबाट बयान गराई चलेको यो मुद्दा खारेज गरेको मानसिव ठहर्छ भन्ने तत्कालिन काठमाडौ जिल्ला अदालतको फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी जनार्दन विक्रम राणाको पुनरावेदन ।

            सम्पूर्ण फौजदारी मुद्दामा पुलिस कारवाही भई ठाडै बुझीने व्यवस्था नभई अ.बं. ४३ नं. र १७५ नं. अन्तर्गत पर्न आउने मुद्दामासम्म ठाडो कारवाही गर्ने व्यवस्था भएको प्रस्तुत ठगीको वारदात देखाई चलाएको मुद्दामा पुलिस कारवाहीद्वारा ठाडै मुद्दा चलाउने कानूनी व्यवस्था नदेखिएकोले समेत खारेज गर्ने गरेको इन्साफ सदर गरेको जिल्ला अदालतको मानसिव ठहर्छ भन्ने ०२१।८।१० मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

      ८.    उक्त निर्णय दोहर्‍याई पाउँ भनी वादी जनार्दन विक्रमको निवेदन परी श्री ५ महाराजाधिराजबाट बक्स भएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहर्‍याएकोमा यसै सम्बन्धको दे.फु.नं. १०६ को यिनै वादी प्रतिवादी भएको हर्जाना दिलाई पाउँ भन्ने मुद्दा र प्रस्तुत मुद्दासमेत दोहर्‍याई पाउँ भनी एउट निवेदन दिएको देखिएको र उक्त हर्जाना दिलाईपाउँ भन्ने मुद्दामा आजका मितिमा यसै फुल बेञ्चबाट मुद्दा नदोहरिने आदेश भएकोले सो आदेशमा उल्लिखित कारणले यो मुद्दा पनि दोहोर्‍याई हेर्न नमिल्ने भन्नेसमेत ०२९।१।२०।३ को फुल बेञ्चबाट आदेश भएको रहेछ ।

      ९.    यस बेञ्च समक्ष निवेदक वादी तर्फबाट विद्धान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले तत्कालिन प्रचलित २००१।९।२९।६ को पुलिस सवालको दफा २ अनुसार पुलिसले ठगी विषयको उजूरी लिई जाँची बुझी अमिनीमा पठाउन पाउने अधिकार भएकैले अघि कारण भएको भनी खारेज गरेको मिलेको छैन इन्साफ तहकिकात हुनुपर्छ भन्नेसमेत र विपक्षी प्रतेवादी तर्फबाट विद्धान अधिवक्ता ठाकुरप्रसाद खरेलले उक्त सवालमा ठगी मुद्दासमेत लेखिएको भए पनि त्यसमा सूचना टाँस्ने कुरा उल्लेख छ पुलिसले कारवाही गर्ने उल्लेख छैन दफा दफामा लेखिएबमोजिम कारवाही गर्नु गर्न लाउनु भन्ने उक्त दफामा उल्लेख भएको ठगी विषयको कारवाही गर्ने अधिकार दिएको अरु दफा नभएको पुलिसको अधिकार नहुँदा खारेज हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

      १०.    यसमा २००१।९।२९।६ को इन्सपेक्टरको सवालको दफा २ अनुसार ठगीको अपराधमा प्रहरीले ठाडो कारवाही गरी मुद्दा चलाउन मिल्छ वा मिल्दैन ? र तत्कालिन रा.का.देवानी अदालत दोस्रोले उजूरी खारेज गर्ने ठहराई गरेको फैसलालाई सदर गरी तत्कालिन जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराई २०२१।८।१० को डिभिजन बेञ्चले गरेको निर्णय मिलेको छ वा छैन ? भन्ने प्रश्नहरूको निर्णय गर्नुपर्ने हुन आएको छ ।

      ११.    यस सम्बन्धमा डिभिजन बेञ्चको उक्त निर्णय हेर्दा सम्पूर्ण फौज्दारी मुद्दामा पुलिस कारबाई गर्ने र ठाडै बुझ्ने व्यवस्था नभई अ.बं. ४३ नं. र १७५ नं अन्तर्गत पर्न आउने मुद्दामासम्म ठाडो कारवाही गर्ने व्यवस्था भएको र ठगीको वारदात देखाई चलाएको प्रस्तुत मुद्दामा पुलिस कारवाहीद्वारा ठाडै मुद्दा चलाउने कानूनी व्यवस्था नदेखिएकोले समेत खारेज गर्ने गरेका इन्साफ मनासिव छ भन्ने उल्लेख भएको पाइन्छ ।

      १२.   यस सन्दर्भमा तत्काल प्रचलित मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको ४३ नं र १७५ नं को अध्ययन गर्दा ती नम्बरहरूमा भएका कानूनी व्यवस्था अनुसार ठगीको अपराधमा प्रहरीले ठाडो कारवाही गर्ने वा अदालतले ठाडो मुद्दा चलाउन मिल्ने देखिंदैन र यस कुरामा प्रस्तुत मुद्दामा कुनै विवाद पनि छैन । यो मुद्दामा ठाडो कारवाही गरी मुद्दा चलाउन मिल्छ वा मिल्दैन भन्ने प्रश्न केवल २००१।९।२९।६ को इन्सपेक्टरको सवालको दफा २ को आधारमा उपस्थित गराइएको छ र त्यही सवालको आधारमा यस बेञ्चले उक्त प्रश्नको निरोपण गर्नुपर्ने हुन आएको छ ।

      १३.   उक्त सवालको दफा २ हेर्दा त्यसमा त्यस जिल्लामा देहायमा लेखिएका कुरा भए गरेकोसमेत कसैलाई अन्याय भयो भने अन्याय भएकाले वा उनका वारेसले र सो भए गरेको व्यहोरा कसैले देखियो सुनियो थाहा भयो भने देखे सुने जाने गाउँमा भएको छ सो जग्गाका धनीले र गाउँ मौजा बिर्तावार सन्त महन्त जिमिदार पटवारी जिमिदारको दामकाम गर्नेले इलाका नजिकको ठानामा गई जाहेर गर्न गए पनि बिर्तावार सन्त महन्त जिमिदार पटुवारी जिमिदारको दामकाम गर्नेले नै जाहेरी उजूर सुनी पूरा व्यहोराको दर्खास्त लेखी सो जाहेर गर्ने मानिसको र आफ्नो समेत सहीछाप गरी थानामा पठायो भने पनि सो दर्खास्त बुझी लिई इन्सपेक्टर अफिस ठाना चौकीबाट जाँची बुझी अमिनीमा चलान गरी दिनेछन् भन्ने र अड्डामा गई जाहेर गर्न गएकाले इन्सपेक्टर अफिस ठाना चौकीबाट कारवाही गर्नालाई दर्खास्त चाहिने भएकोमा १ नम्बर फारामका ढाँचाबमोजिम रीत पुर्‍याई दर्खास्तसमेत लेखिदिनु लेखिदिन नसक्ने भए भएको व्यहोरा अड्डामा भन्नु र अड्डैबाट दस्तुरसमेत केही नलिई दर्खास्त लेखी दिनेछन् सो कागज पढी सुनी दुरूस्त भएकोमा सहीछाप गरी दिनु भन्नेसमेत चाहिने व्यहोराको इन्सपेक्टर अफिसबाटै पूर्जी लेखी ठाना चौकीमार्फत गाउँ मौजा बजारहरूमा सबैले देख्ने ठाउँमा टाँसी दिई सो टाँसिएको कुरा जिमिदार पटुवारी सन्त महन्तले पनि रैतीहरूलाई सम्झाई बुझाई दिनु भन्ने उर्दि पूर्जी दिई सो बमोजिम कसैले जाहेर गर्न आयो वा दर्खास्त दियो वा ठाना चौकी इन्सपेक्टर अफिसले देखे सुनेमा समेत दफादफामा लेखिएबमोजिम गर्नुपर्ने काम कारवाही तुरून्त गर्नु गर्न लाउनुभन्ने उल्लेख हुनुका साथै देहाय २४ मा ठगी समावेश भएको पाइन्छ । यसप्रकार उक्त दफा २ अनुसार ठगीको सम्बन्धमा जाहेरी परेपछि प्रहरीले अमिनीमा चलान गर्ने व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रहरीद्वारा ठाडो कारवाही गरी मुद्दा चलाएको कानून प्रतिकूल छैन भन्ने वादी निवेदकतर्फका विद्वान अभिवक्ताको भनाई छ तर उक्त दफा २ लाई राम्रोसँग विश्लेषण गरी हेरेको खण्डमा त्यसमा प्रहरीले ठाडो कारवाही चलाउने व्यवस्था भएको पाइँदैन । उक्त कानूनी व्यवस्थाले प्रहरी कर्यालयलाई सर्वसाधारणको जानकारीको लागि सबैले देख्ने ठाउँमा पुर्जी टाँस्ने, जिमिदार पटवारी इत्यादिलाई सम्झाउने बुझाउने र सो बमोजिम कसैको जाहेरी परेमा उक्त सवालका अन्य दफाहरूमा लेखिएबमोजिमको काम कारवाही गर्ने गर्नलगाउनेसम्म निर्देशन दिएको छ । पूर्जी टाँस्ने वा सम्झाउने बुझाउने कुरा बाहेकका अन्य काम कारवाही सवालका अन्य दफाहरूमा उल्लेख भएबमोजिम गर्ने गर्नलगाउने उक्त दफा २ को व्यवस्थाको सन्दर्भमा सवालका अन्य दफाहरूलाई हेर्नुपर्ने हुन आउँछ । तर सवालका अन्य दफाहरूमा चोरी, डाका, ज्यान इत्यादि अपराधका सम्बन्धमा मात्र प्रहरीले गर्नुपर्ने काम कारवाहीहरूको उल्लेख भई ठगीको अपराधको सम्बन्धमा कुनै उल्लेख भएको पाइँदैन । यस स्थितिमा उक्तदफा २ मा पूर्जिद्वारा सर्वसाधारणलाई जानकारी दिने प्रसङ्गमा उल्लेख भएको अमिनीमा चलान गरी दिनेछन् भन्ने शब्दहरूले प्रहरीलाई ठगीको अपराधका सम्बन्धमा ठाडो कारवाही गरी मुद्दा चलाउन अधिकार दिएको सम्झन मिल्दैन । प्रष्ट र किटानी व्यवस्थाको अभावमा ती शब्दहरूले मात्र तत्काल प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ४३ नं. र १७५ नं. लाई ठगीको अपराधको सम्बन्धमा संशोधन गरेको वा विस्तृत पारेको सम्झने कुनै तर्कपूर्ण आधार छैन । तसर्थ यस सम्बन्धमा वादी निवेदककातर्फबाट प्रस्तुत गरिएको जिकिर मनासिव देखिएन । रा.का.देवानी अदालत दोश्राले उजूरी खारेज गर्ने गरी गरेको फैसलालाई सदर गरी तत्कालिन काठमाडौं जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराई २०२१।८।१० को डिभिजन बेञ्चले गरेको निर्णय मनासिव छ । मुद्दा दोहर्‍याएवापत शुरूबाट केही दण्ड जरीवाना नभएको पुनरावेदन तहमा तत्कालिन काठमाडौं जिल्ला अदालतबाट रू.१।दण्ड गरेको देखिनाले अ.बं.२०४ नं.ले त्यसको दशौंद रू.।१० दश पैसा निवेदक वादी जनार्दनविक्रम राणाके जरिवाना लाग्छ । रूजु हुँदा कानून बमोजिम असूल गर्नु भनी का.जि.अ.त. मा लगत दिई मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

न्या. प्रकाशबहादुर के.सी.,

न्या. विश्वनाथ उपाध्याय,

न्या. ईश्वरीराज मिश्र,

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३३ साल श्रावण ८ गते रोज ६ शुभम् ।