June 18, 1976
Created by nepalarchives

निर्णय नं. ९६९ – जग्गा दोहरा

निर्णय नं. ९६९          ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत्...

निर्णय नं. ९६९          ने.का.प. २०३३

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३३ सालको दे.फु.नं. ८३

फैसला भएको मिति : २०३३।३।५।६

निवेदक    : मोरङ विराटनगर गहेली विराटनगर न.पं. वडा नं. ६ बस्ने श्यामप्रसाद उपाध्या

विरूद्ध

विपक्षी     : जि. सप्तरी प्र. जगदर मौजे खरसाल बस्ने जोगेन्द्रप्रसाद उपाध्या, लोकेन्द्रबहादुर श्रेष्ठ समेत

मुद्दा : जग्गा दोहरा

(१)  प्रतिपादित सिद्धान्त अनुकूल नभई तह तहबाट कारवाही किनारा हुँदै आएको कानून विपरित कारवाही तथा निर्णय बदर हुने ।

(प्र.नं. १५)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट   : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह

उल्लिखित मुद्दा : (मुनीलाल गोल्छा वि. धनचन्द्र राई समेत, जिरायत जग्गा)

फैसला

          प्र. न्या. रत्नबहादुर विष्ट

          १.   यो न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम श्री ५ महाराजाधिराज सरकारका हु.प्र.बमोजिम दोहरिएर आई निर्णयको निमित्त यस बेञ्चमा पेश हुन आएको रहेछ ।

          २.   उक्त न्यायिक सिफारिसमा शुरू मालमा दुवै पक्ष हाजिर नरहेबाट तत्कालिन प्रचलित अ.बं. २२६ नं. अनुसार डिसमिस हुने देखिएकोमा पूर्वाञ्चल उच्च अदालतका आदेशानुसार दुवै पक्ष झिकाई पैरवी गराउँदासमेत सो कुराको विचार नगरी अघि बदर भइसकेको वेरित कारवाहीहरूको आधारबाट इन्साफ गरेको र मनासिव ठहराएको सर्वोच्च अदालतको इन्साफ कानूनसङ्गत देखिएन । जहाँसम्मको सूर्यनारायणको उजूरीको प्रश्न छ निज पनि पहिले बुझिसकेको शुरू मिसिल फा.नं. १५ को बयानबाट देखिएकोले त्यसै विषयमा उसै मानिसबाट पुनः अर्को उजूरी लिई कारवाही किनारा गर्न तत्काल प्रचलित अ.बं. ९९ नं. को व्यवस्थाले पनि नमिल्ने देखिन्छ । अर्को झगडा परेको जग्गा हरिपुरकै हो भन्ने किटानी दावी लिन नसकी हरिपुर, वैजनाथ, तथा गडराहा समेत जो मौजा कायम हुन्छ कायम गराई पाउँ भन्ने वादीले बेठेगाना दावा लिएको देखियो, दर्तातर्फ तत्काल जग्गा पजनीको ३४ जग्गा मिच्नेको २१ नं. अनुसार २ वर्षभित्र नालिस परेको पनि छैन यसरी म्याद नाघी परेको उजूरीबाट कारवाही चलाई निर्णय गरेको सरासर कानूनी प्रतिकुल छ भन्नेसमेत उद्धृत भएको रहेछ ।

          ३.   प्र. खालिस मौजे हरिपुरमा बिगाहा २४ऽ२।३ कि.नं. २१९ मा र बिगाहा ५० जग्गा कि.नं. २२० मा गरी जम्मा बिगाहा ७४ऽ२।४ हामी लोकेन्द्रबहादुर श्रेष्ठ, जोगेन्द्रप्रसाद उपाध्यायका नाउँमा १९९८ सालमा हाल आवादी दर्ता भएको माणिक मगर्दैतासँग मुद्दा परी हरिपुर मौजा कायम गरी सो हाम्रो जग्गामध्ये ४ बिगाहा जग्गा निज माणिक मगर्दैतालाई दिई १९९९ सालमा मिलापत्र भएको बाँकी रहेको हाम्रो ७०ऽ२।४ बिगाहा जग्गा २००३ सालको सर्पट नापीमा हामी जोगेन्द्रप्रसादको नाउँमा ४६।२ बिगाहा लोकेन्द्रबहादुरका नाउँमा २४ऽ२।४ बिगाहा माणिक मगरदैताको नाउँमा ४ बिगाहा जग्गा दर्ता भएको २००४ सालको नापीमा हरिपुरको हाम्रा जग्गालाई वैजनाथपुर मौजाबाट नं. २ कायम गरी गुरू दिई वैश्यका नाउँमा जग्गा बिगाहा ७।।।४।३ नं. ३ कायम गरी रामशरण सिंका नाउँमा जग्गा बिगाहा ४।।।४ नं. ४ कायम गरी रामप्रसाद लोहारका नाउँमा जग्गा बिगाहा २ नं. ५ कायम गरी गोनौरीलालका नाउँमा जग्गा बिगाहा १।।४।३ नं. ६ कायम गरी रामपाल सिंह राजपुतका नाउँमा जग्गा बिगाहा ४ नं. कायम गरी छेदीलाल कायस्तका नाउँमा जग्गा बिगाहा २।।४ नं. ८ कायम गरी देवनारायण ठाकुरका नाउँमा जग्गा बिगाहा २।।१।।।१ दोहरा नपाएका र गुहर जवदी मौजाबाट नं. १ कायम गरी दुखा गडेरका नाउँमा जग्गा बिगाहा १२।३ नं २ कायम गरी राम किसुन पौदारका नाउँमा जग्गा बिगाहा ११ऽ२ऽ३ नं. ३ कायम गरी श्यामप्रसाद उपाध्यायका नाउँमा जग्गा बिगाहा २१।.।।। समेत जम्मा जग्गा बिगाहा ४४।।..।।।४ समेत दुवै मौजाको बिगाहा ७०।४।१ दोहरा पारिनै पाएछन् सो दोहरा नपाएको बदर गरी हाम्रो जग्गा कायम गरिपाउँ भन्नेसमेत लोकेन्द्रबहादुर समेत ।

     ४.   २००६ साल कार्तिकको निवेदनमा हनुमाननगर मालको यसमा बुझि ऐनबमोजिम गर्नु भन्ने सप्तरी. गो.को तोक र २००६।७।२३।३ को कागज रहेछ ।

     ५.   छेदीलालका नाउँमा दर्ता भएको जग्गा बिगाहा २।।४ हरिपुर मौजाको हैन वैजनाथपुरका जिमिदारबाट मालपोत बाँकीमा सकार गरी छेदीलालका नाउँमा दर्ता भएको हो भन्नेसमेत छेदीलालको हकदार भूपनारायणको बयान ।

     ६.   मेरा नाउँमा दर्ता भएको जग्गा बिगाहा ७।।।४.३ जग्गा वैजनाथपुर मौजाको हो हरितपुर मौजाको हैन जिमिदारबाट बन्दोवस्त गरी लिई सर्पट नापीमा मेरा नाउँमासमेत दर्ता भएको हो भन्ने गुरू दिन वैश्नको बयान ।

     ७.   वादीले हरिपुरको भनी दावी लिइएको जग्गा गडुराहा मौजाको हो । १९९९ सालको हाल वादी सार २००४ सालको नापीमा पनि हामीहरूका नाउँमा दर्ता भएको छ भन्नेसमेत दुखिडेर श्यामप्रसाद रामाकसुनसमेतको छुट्टाछुट्टै बयान ।

     ८.   वादी दावीको जग्गा हरिपुर मौजाको हैन वैजनाथपुरको हो भन्नेसमेत गनौरीलालको बयान ।

     ९.   प्रतिवादीमध्ये रामप्रसाद, रामपाल सिं, रामसरण सिंह, देवनारायाण ठाकुरले तामेल भएको म्यादै गुजारी बसेको रहेछ ।

     १०.  वादीले दावी गरेको जग्गा हरिपुर मौजाको हो हरिपुर मौजाकै मेठ बन्दीभित्र छ दोहरा पारी प्रतिवादीहरूले नपाएका हुन् भन्नेसमेत जिमिदार सूर्यनारायाण पाठकको बयान रहेछ ।

     ११.   वादी प्रतिवादीका लेखाइबाट उल्लेख भएका तिनै मौजाकोशी नदीले कटान गरी सबैमा नदी बाहिन भइपछि नदीले छोडी उकास भएको देखिएको कोशीले कटान गरी एकछत पारेबाट १९६१ सालको किल्ला सिमाना रहने अवस्था नदेखिएको बैजनापुरको ६१ सालको मेठबन्दी पत्ता लागेन भन्नेकुमारी चोकबाट जवाफ आएको ३, ४ सालको मेठबन्दीमा नक्सा भिडाई हेर्दा हरिपुरका मेठबन्दीभित्रको जग्गामध्ये नक्सामा गल्ली भन्ने जनिएको देखी पूर्वतर्फको सबै जग्गा वैजनाथपुर मौजाको मेठबन्दी किल्लाभित्रमा र सो गल्लीदेखि पश्चिमपट्टिको सबै जग्गा गहुराह, नानकार, जवही मौजाको मेठबन्दीका किल्लाभित्र पारी मेठबन्दी गरेको देखिएको यही मुद्दाका वादी र माणिक मगरदैताको यही जग्गामा मुद्दा परी ९९ साल आषाढमा नक्सा भएको सो नक्सामा यो मुद्दाका प्रतिवादी वैजनापुर बस्ने गुरूदिन वैश्यसमेत सरजमिनमा बस्नुभएको सो नक्साबाट यो मुद्दाको नक्सामा उल्लेख भएको गल्ली भएको सो गल्लीदेखि पूर्व र पश्चिमको समेत जग्गा हरिपुर मौजाको हो भनी निज गुरूदिन वैश्यसमेत २४ जनाले सरजमिन मुचुल्का गरिदिनुभएको र सो मुद्दा हरिपुर मौजा कायम गरी १९९९ सालमा हरिपुर मौजा कायम गरी वादीहरूको दर्ता भएको सो दर्तामा पूर्वतर्फको हद सिमाना वैजनाथपुर मौजा र शिवनगर मौजा समेत भएको देखिएको सो दर्ताउपर उजूर नपरेको समेत प्रमाणबाट हरिपुर मौजाको मेठबन्दीभित्रको जग्गा हरिपुरको ठहर्छ । वैजनाथपुर र गडुराहा, नानकार जवदी मौजाको मेठबन्दी कायम ठहर्दैन । सो मौजाहरूको मेठबन्दीमा हरिपुर मौजाको मेठबन्दीभित्रको वादी दावीको जग्गा घुसाएको ठहर्छ । हरिपुर मौजाको जग्गा गडुराहा, नानकार मौजाको मेठबन्दीमा र वैजनाथपुर मौजाको मेठबन्दीमा घुसाएका देखिएको समेत प्रमाणबाट वादी दावा बमोजिमको गडुराहा, नानकार, जवदी मौजातर्फ बिगाहा ४४।।३.१ र वैजनाथपुर मौजातर्फ बिगाहा २६।३।।१ जग्गा दोहरा दर्ता गराएको ठहर्छ । दुवै मौजाको गरी ७११।।२ जग्गाको लगत काटीदिनु पर्ने र सो लगत कट्टा भएको जग्गाको नेपाली नागरिकबाट तिरो कति असूल भएको छ, सो फिर्ता दिनुनपर्ने ठहर्छ भन्नेसमेत कोशी तथा सगरमाथा विशेष अदातलको फैसला ।

          उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत श्यामप्रसाद समेत जना ३ को पुनरावेदन ।

     १२.  ,४ सालअघि सरपट नापी भएको १९६१ सालको मौज्यानी मेठबन्दी पत्ता लाग्न नसकेको वादीको र माणिक मगर्दैता समेतको ९९ सालमा मुद्दा पर्दा झगडा परेको जग्गा वादीको हरिपुर मौज्याको गल्ली पूर्व, पश्चिमको भन्ने कायम भई नक्सा र मुद्दामा मिलापत्र भएको समेत प्रमाण लगाई झगडा परेको जग्गा वादीको ठहराई विशेष अदालतले फैसला गरेको देखिन्छ । ३,४ सालको सर्पट नापीमा वादी प्रतिवादीको बीच झगडा परेको हुनाले सो भन्दा अघिको श्रेस्ताबाट पुनरावेदक प्रतिवादीले आफ्नो हक पक्का भएको प्रमाण दिन नसकेको हुँदा अघि मुद्दा परि मिलापत्र भएको समेत प्रमाण लगाई जग्गा वादीको ठहराएको इन्साफ विशेष अदालतको मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ३०।३।२२।६ को फैसला ।

     १३.  निवेदक प्रतिवादी श्यामप्रसादतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले मुनिलाल गोल्छा, धनचन्द्र राईको मुद्दामा भएको फुल बेञ्चको प्रतिपादित सिद्धान्तलाई नजिर दिँदै माल गोश्वाराले कारवाही गरेको समेत कानून विरूद्ध छ, दर्ता बदर गरिपाउँ भनी जग्गा पजनीको र जग्गा मिच्नेको ऐनेको म्यादभित्रको उजूर पनि छैन खारेज हुनुपर्छ भनी बहस गर्नु भएको र विपक्षी योगेन्द्रप्रसादसमेतका तर्फबाट विद्वान अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले झगडा परेको जग्गा वादीहरूका नाउँमा २००३ सालमा नापी भइसकेपछि २००४ सालमा प्रतिवादीहरूको मौजातर्फ पनि नापी भएको दोहराले दर्ता भएको भनी कैफियत जनिएको छ । सोही जग्गामा ९९ सालमा माणिक मगर्दैतासँग मुद्दा पर्दा हरिपुरतर्फकै कायम भई मिलापत्र भएको समेतबाट झगडा परेको जग्गा वादी दर्ताको हुँदा वादी दावीबमोजिम कायम हवस भनी बहस प्रस्तुत गर्नुभएको रहेछ ।

     १४.  यसमा निवेदकतर्फको वारिस कमल मानलाई विपक्षीतर्फको वारेस दिनेश्वरप्रसादलाई रोहवरमा राखी निवेदकतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको र विपक्षीतर्फको अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा वादी योगेन्द्रप्रसाद उपाध्याय तथा लोकेन्द्रबहादुर श्रेष्ठले दिएको उजूरी निवेदन हेर्दा ९८ साल जेष्ठ २० गते माल गोश्वारा समेतबाट जग्गा बाँड्दा हामी योगेन्द्रप्रसाद, लोकेन्द्रबहादुर भन्ने साझा नामबाट एकैठाउँमा नापी गराएकोमा नम्बर २१९ मा २४ऽ२।४ नं. २२० मा ५० बिगाहा घुसी विरहको पञ्चसाला माफी खाई २००३ सालदेखि पोत लाग्ने गरी नापी भएको ९९ सालमा माणिक मगर्दैतासँग मुद्दा पर्दा हरिपुर मौजा भित्रकै कायम गरी मिलापत्र भएको २००४ सालको सर्पट नापीमा गुरूदिन वैश्यसमेतका नाउँमा वैजनाथपुरतर्फ र दुखी गडेरसमेतका नाउँमा गडराहातर्फबाट नापी गराएछन् । हामीहरूले ९८ सालमा नै दर्ता गराई ९९ सालमा झगडा परी नक्सा सरजमिन भएकोले हरिपुर नै पर्ने अवश्य नै हुँदा सबै सबूत प्रमाण बुझी सिमानाको जरियाबाट रैती रैतीको पनि झगडा पर्ने भएकाले बैजनाथपुर गडुराहातर्फ दोहरा परेको लगत काट्नलाई ठाडै बुझी दिनु भन्ने तोक प्रमांगी पाउँ भन्ने उल्लेख भएको त्यसमा बुझी ऐन सवालबमोजिम गर्नु भनी सप्तरी गोश्वाराबाट हनुमाननगर मालका नाउँमा २००६।७।१०।४ मा तोक लागी त्यसै निवदेनका आधारमा निवेदनवालालाई हनुमाननगर मालले झिकाउँदा निवदेनमा लेखिएबमोजिम दर्ता गरिदिएकोले निवेदनमा लेखिएबमोजिम श्रेस्ता सबूदसमेत जो बुझ्नु पर्छ बुझी लेखिएबमोजमको मेरो नम्बरी जग्गा हरिपुर, बैजनाथपुर, गडुराहासमेत जो मौजामा कायम हुन्छ । कायम गराई लेखिएका मानिसका नाउँमा बदर गरी लगत कटाइ मेरो कायम राखी पाउँ भनी २००६।७।२३ मा वादीले हनुमाननगर मालमा बयान गरेको रहेछ प्रतिवादीहरूको बयान हुँदा हामीहरूका नाउँमा दर्ता भएको जग्गा वैजनाथपुरको हो हरिपुर मौजाको हैन भनी गुरूदिन वैश्य समेतले र वादीले हरिपुर मौजाको भनी लेखेको जग्गा गडुराहा मौजाको हाम्रो दर्ताको हो भनी श्यामप्रसाद समेतले आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ वादी प्रतिवादीका लेख जिकिरबाट जग्गा हक बेहकको विषय उपस्थित भएको छ । त्यस्तोमा पनि उल्लिखित वादीहरूको २००६ साल कार्तिकमा निवेदन परी गोश्वाराका तोकबमोजिम मालले कारवाही चलाएको देखिन्छ र मालमा कारवाही हुँदा दुबै थरलाई ०९।९।१ को तारेख तोकिएको सो तारेख छाडी बसेको पनि देखिए यसै झगडा परेको जग्गा मध्येको १४ बिगाहा जग्गामा २००६ सालमा बालीमा धान र सन लगाई जग्गा हटक गरे भनी यसै मुद्दाका प्रतिवादी मध्येका श्यामप्रसाद, गुरूदिनका उपर २००६।६।२६।४ मा हनुमाननगर अमिनीमा यिनै वादीहरूले फिराद दायर गरेको सो मुद्दा हालसम्म किनारा नभइ दायरै देखिन पनि आएको छ ।

     १५.  प्रस्तुत मुद्दामा वादीहरूको २००६ साल कार्तिक महिनामा परेको निवेदनमा सप्तरी गोश्वारा तोकबमोजिम कारवाही चलाई त्यसै निवेदनको आधारमा हनुमाननगर मालले कारवाही निर्णय गरी गोश्वाराले पनि पुनरावेदन निर्णय गरी पुनरावेदन चल्दै जाँदा पूर्वाञ्चल उच्च अदालतबाट ०१७।१०।५।४ मा आदेश हुँदा हाम्रो नाउँमा दर्ता भई हक भोग भएको भन्ने वादी र हाम्रो हक भोगको जग्गा हो भन्ने प्रतिवादी भई हक बेहकको निर्णय गर्नुपर्ने देखिएको र मुलुकी सवाल फुटकर बारेको ४ दफाले त्यस्तो हक बेहक तेरो मेरो मुद्दा माल गोश्वारले अदालतमा पठाउनु पर्नेमा नपठाई माल गोश्वाराले नै फैसला गरेको हुँदा सो फैसलाहरू बदर हुन्छ । वादी प्रतिवादीहरूलाई झिकाई जो बुझ्नु पर्ने बुझी यसै मिसिलबाट कारवाही किनारा गर्न हनुमाननगर इलाका अदालतमा पठाई दिनु भन्ने उल्लेख भएको देखियो । वादीको निवेदन तथा बयानबाट झगडा परेको जग्गामा आफ्नो हक कायम गराउने निजको मुख्य उद्देश्य देखिएको छ माल तथा गोश्वारले गरेको इन्साफलाई बदर गरी पूर्वाञ्चल उच्च अदालतले उक्त आदेश दिए तापनि त्यस्तो आदेशबाट कारवाही चल्न सक्ने नसक्ने तथा निर्णय हुन सक्ने नसक्ने के हो त्यो नै मुख्य निर्णयको विषयवस्तु हुन आएकोछ । निवेदक प्रतिवादी श्यामप्रसादतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले आफ्नो बहसको सिलसिलामा ने.का.प. ३० भाग १५ पृष्ठ ३०२ निवेदक मुनिलाल गोल्छा, विपक्षी धनचन्द्र राईसमेतको जिरायत जग्गा मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चबाट कायम भएको सिद्धान्तले पनि माल गोश्वारमा चल्दै आएको मुद्दा अदालत तहले मान्यता दिन हुँदैन भनी जिकिर गर्नु भएकोबाट उक्त केशमा के निर्णय भएको रहेछ भनी हेर्दा अधिकार प्राप्त अदालतका समक्ष वादीको रीतपूर्वकको उजूरी नै परेको छैन त्यस्तो उजूरीको अभावमा वादी र प्रतिवादीका बीचको विवादमा अदालतले अधिकार क्षेत्र ग्रहण गरी निर्णय गरेको नमिल्ने भन्दै माथिल्लो तहको अदालले दिएको निर्देशानुसार तल्लो तहको अदालतबाट निर्णय भएको कारणले मात्र कानून विरूद्धको कारवाही र निर्णयले कानूनी मान्यता प्राप्त गर्न सक्तैन कानूनी मान्यता प्राप्त गर्नको लागि माथिल्लो तहका अदालतका निर्देशन र तदानुसार तल्लो अदालतको कारवाही निर्णयसमेत सबै कानूनसङ्गत हुनुपर्दछ त्यसको अभावमा माथिल्लो तहको निर्देशन तथा तल्लो अदालतको निर्णय बदर हुने भनी सिद्धान्त प्रतिपादित भएको देखियो । प्रस्तुत मुद्दामा हामीहरूका नाउँमा दर्ता भोग भएको जग्गा प्रतिवादीहरूले दोहरा दर्ता गराएछन् । निजहरूको दर्ता लगत काटी हाम्रो हक कायम गरिपाउँ भनी वादीहरूले सप्तरी गोश्वारमा निवेदन दिई सो गोश्वारका तोक बमोजिम हनुमाननगर मालले कारवाही किनारा गरेको र गोश्वाराले पनि पुनरावदेनको निर्णय गरेकोमा पुनरावेदन पर्दै जाँदा सो माल गोश्वाराले गरेको इन्साफ बदर गरी पुनः तहकिकात निर्णय गर्नु भनी पूर्वाञ्चल उच्च अदालतले आदेश गरी हनुमाननगर अमिनीमा पठाई कारवाही निर्णय हुँदै आएको देखिएकोले उक्त उच्च अदालतको आदेश र सो आदेशबमोजिम कारवाही किनारा गरेको नै उपरोक्त मुनिलाल गोल्छाको मुद्दामा प्रतिपादित सिद्धान्तको अनुकूल नदेखिएकोले उच्च अदालतको आदेशबमोजिम तहतहका अदालतबाट कारवाही र किनारा गर्दै आएको कानून विपरीत देखिएकाले कारवाही तथा निर्णय बदर हुने ठहर्छ ।

     १६.  मुद्दा दोहर्‍याएमा निवेदक श्यामप्रसादले रू. १५४।७३ कोर्टफी दाखिल गरेका देखिएकाले सो कोर्टफी कोर्टफी ऐन, २०१७ को दफा १५ बमोजिम वादी योगेन्द्रप्रसाद, लोकेन्द्रबहादुर भरी पाउने हुँदा ऐनका म्यादभित्र भराई पाउँ भनी दर्खास्त दिएमा भराई दिनु भनी लगत जिल्ला अदालतमा दिनु र मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३३ साल आषाढ ५ गते रोज ६ शुभम् ।