निर्णय नं. ९६७ – डाँका खुन
निर्णय नं. ९६७ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत्...
निर्णय नं. ९६७ ने.का.प. २०३३
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३१ सालको फौ. फु. नं. २०
फैसला भएको मिति : २०३३।३।२।३ मा
निवेदक : कोशी अञ्चल मोरङ सुनसरी जिल्ला कप्तानगञ्ज बस्ने केन्द्रीय कारागार काठमाडौंको बन्दी जिमीदार जोगबहादुर तुलाधर समेत
विरूद्ध
विपक्षी : ऐ. कप्तानगञ्ज बस्ने चुनी महतोको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका खुन
(१) साक्षीहरूले आफ्नै ईन्द्रीयले अथवा आँखा कानले वा इसाराले देखे सुने बुझेको कुरामात्र भन्न पाउने र वारदात गरेको हो होईन भनी ईन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएको ।
(प्र. नं. ४२)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अतिरिक्त स.अ.भैरवप्रसाद लम्साल, व.अ.कुञ्जविहारीप्रसाद सिंह
फैसला
प्रधान न्यायाधीश रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक वादीहरूले दिएको निवेदनपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यो मुद्दा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम निर्णय गरिदिनु भन्ने हुकुम बक्सेको छ भन्ने प्रमुख सचिव राजदरबारबाट ०३१।१०।२० मा लेखिआएको हुकुम प्रमाड्डीबमोजिम मुद्दा दोहोरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : ०२६।२।३० गते सुती निदाएको अवस्था राती ११,१२ बजे तिर ३०।३५ जना बन्दुक, लाठी, भाला, बन्चरो लाईट समेत लिई डाकाहरू आएछन् दरवाजामा बन्दुकको फायर गरी बन्चरोले ढोका काट्न लाग्दा मात्र थाहा पाई छोरा सुकदेव र म २ तले घरको माथिल्लो पूर्वपट्टि सुतेको हुँदा कोठाबाट बुईगलमा गई लुकी बस्यौं छोरा मेहलाल निजकी श्रीमती तिर्थकुमारी दक्षिण पट्टि बारदलीमा सुतेको ठाउँबाट कुटपीट गर्दै सुतेको कोठाको ढोका सामुन्ने ल्याई बन्दुक देखाउँदा ज्यान मत मारिय जितना रूपैयाँ लेना है लिजिए भनी मोहनले भन्दा लाओ भने, मोहनले रूपैयाँ दियो, कति हो थाहा भएन । तुम दोनो मार्ने के आए पैसा लोभ नही भनी जोगबहादुरले बन्दुक फायर गरेपछि मोहन लडे त्यसपछि तिर्थकुमारीलाई फुदनले कुनै धारिलो हतियारले पछाडि पट्टिबाट गर्दनमा काटी हड्डीसमेत छिनी काटी मारी दुवै जना एकै ठाउँमा सुताई गएको डाकामारी जल्दि करो भन्ने आवाजबाट र लाईटको झल्याक झुलुक उज्यालोबाट चिनेको जोगबहादुरको नोकर मोती यादवलाई स्पष्ट चिने अरू चिन्न सकिँन डाकाहरू तल भेला भई एक फायर गरी उत्तरपट्टि हुँदै पश्चिम दक्षिणतर्फ गइसकेपछि गाउँले भेला भई हेर्दा तल बसधारामा सुतेको साहिलो छोरा कैलु रगत पक्ष भई लडिरहेको देखी हेर्दा छातीमा गोली लागी मृत्यु भएको भन्नेसमेत चुनी महतोको जाहेरी दर्खास्त ।
३. ८।१० लाईटको उज्यालो पश्चिमदेखि बलेको देखी म र जेठा छोरा सुकदेव नाती सत्यनारायण र साला भोलासमेत हुँदा उठी हेर्यौं । सालेको मारो भन्दै घर चोक भित्र पसेपछि डाँका आएको थाहा भई म र जेठो छोरा बुईगलमा गई लुकें । सत्यनारायण र भोला तलै बसे अरू मर्नेहरू सुते बसेको कुरा दर्खास्तमा लेखेको छु । ढोकामा के हतियार हो मैले देखिंन ढोका कटाई फुटाईको छाँटले बन्चरोले काटे जस्तो लाग्छ । एकजना नोकर बसघरमा सुतेको थियो ।
४. म बुईगलमा भएकोले तखताको जोर्नीको प्वालबाट हेरेकोले राम्रो नदेखिएकोबाट के–कति जना तलामा चढे भन्न सक्तिन ।
५. मोतीयाले तिर्थकुमारीलाई कति धन ल्याएको छ ले भने, तीर्थले मैले ल्याएको छैन भनेपछि जोगबहादुरले मारो गोली भनेर फुदनले तिर्थकुमारीलाई काटे जोगबहादुरले मोहनलाई गोली हाने सो आवाजबाट सोही तखताको प्वालबाट देखे चिनेको हुँ । जोगबहादुरको हातमा बन्दुक मोतीयाको हातमा बन्चरो, फुदनको हातमा डविया खुकुरी अं. १०।१२ जना माथि चढेको थियो तिर्थकुमारीलाई के पोजीसनमा काटे भन्न सक्तिन फुदनले काटेपछि आें भनी कडा आवाजले कराई लडे निजहरू तल झर्न लाग्दा मोहनलालले कनेको आवाज गर्दा मरेको रहेनछ भनी मोतिया आई बन्चरोले मोहनालाललाई टाउकोमा एकचोटी हाने तिर्थकुमारीलाई पनि हानी तल झरेका हुन् तल २०।२५ जना डाँका थिए कैलुलाई कसले बन्दुकले हानी मारे थाहा भएन । बन्दुक माथि तलामा ३ फायर तल ५।६ फायर भए जस्तो लाग्यो भन्नेसमेत चुनी महतोको प्रहरीमा भएको कागज ।
६. ०२६ साल जेष्ठ ३० गते बिहानदेखि डिडी मडरको र लनिफ मियाको छोराको पटुवाको भन्सार विषयमा भन्सारको बहीदार र सि. रत्नबहादुरले कुरा मिलाउन काम लिई आएका बिहान ९ बजे आएबाट कुरा भई ११ बजे बहीदार सिं जानुभयो डिडी र लनिफ खाना खाई बसजाँदा २ बजेको थियो । त्यसबाद देवानगंजको चुनाउबारे मनोवर मियाँले उजूर गर्ने वकिल कहाँ गई लेखाई दिनुभयो भनेकोले भारत (लक्ष्मीपुर) गई रातको ९।। बजे वकिलको घर पुगेको हुँ उजूरी लेख्न जिम्मा दिई मनोवर र म मेरै विराटनगर ठाकुरवाडी रोडको घरमा रात ११ बजे पुगी सुत्यौं भोलिपल्ट ९ बजे खाना खाई रात ९ बजे घर कप्तानगञ्ज शंकरपुर आई सुते मनवर विराटनगर मै बसे सो ३० गते दिन रातमा उक्त ठाउँहरूमा छु ३२ गते झाडावान्ता रोगले आक्रमण गरेको हुँदा भारत फुलकहाँ डाक्टर परमधु रायको घरमा पुगी इलाज गरी भोलिपल्ट सन्चो भएकोले हिंडी आई घाम झुल्कने बखत घर आइ २ गते पनि आराम लिई बसेको यस खुन डकैतीमा मेरो कुनै हात र अपराध छैन बहिनी तिर्थकुमारी मोहनलाल कोईरीसँग सामाजिक असम्बन्धमा पोईल गएकोमा भनाभन भएको र बहिनीको नाउँमा पिताले जग्गा दर्ता गराई राखेको समेत झगडा परेको चन्दिकाप्रसाद भगतसमेतले ईवी लिई राखेकोले झुठ्ठा अभियोग लगाएको मेरो अपराध छैन भन्नेसमेत प्रहरीमा भएको जोगबहादुरको बयान ।
७. ०२६।२।३० गते अं. ४ बजे भारत ठुरी बस्ने भाइ नाता पर्ने खुसिलमहतोको सत्य नारायणको पुजा भई निमन्त्रणमा हुँदा वितर कोईरीलाई साथी लिई गई ७ बजे पुगेको सो रात त्यहीं बसी भोलिपल्ट ७।८ बजे भारत बेलिवली बस्ने बन्दे महतोको आमा बहिनी नाताको बिरामी भएकीले हिंडी बहिनीको घरमा पुग्दा दिनको ४ बजेको हुँदो हो जेष्ठ ३२ गते तक त्यहीं बसी आषाढ १ गते बिहान ९ बजे हिंडी साँझमा घर आइपुगेको घर आईपुग्दा चुनीको घरमा डाँका खुन भयो भन्ने सुनी डाँकाले बन्दुक फाएर गरी हतियारले काटी तिनै जनाले मारेको भन्ने सुनेको हुँ मैले कुनै अपराध गरेको छैन चुनी भोलासँग जग्गाको साँधको जग्गाको आली घुर काटने गर्दा झगडा परेको ईवीसमेतले पोल गरेको भन्ने प्रहरीमा भएको फुदनको बयान ।
८. जेष्ठ ३० गते जोगबहादुरको घरमै छु सो दिन ३ बजे मालीक जोगबहादुर विराटनगर जानु भयो म र पटवारी बलभलाल १ माष्टर रामनन्दन १ अमृत महत्तोसमेत हामी सो दिन घरमै बस्यौं जेष्ठ ३१ गते मालिक जोगबहादुर घर आएर रू.६०। खर्च दिएको लिई विक्रमपुर खेतीमा गए र आषाढ ७ गते घर आए चुनीको घरमा डाँका भएको ३१ गते थाहा पाएको हुँ तिनै जनालाई डाकाले मारी गए भन्ने सुनेको हुँ पोल उजूरबमोजिम डाँका खुन गरेको होइन कुनै अपराध गरेको छैन भन्नेसमेत प्रहरीमा भएको मोतिया भन्ने मोती यादवको बयान ।
९. दर्खास्तवालासमेत त्यहीं रही बसेकोले जोगबहादुर समेतले काटे मारेको भनी लेखेको सरजमिनका केही व्यक्तिले शंकासमेत गरेको हुँदा डाँका खुनको अपराधी होइन भन्न नभई कसुरमा सरिक रहेको जोगबहादुर, फुदन, मोतीया ३ जनाउपर ज्यानसम्बन्धीको १३ नं. को १ दफाले सजाय हुन र नोक्सानी बिगो रू.१४२०। भराइन समेत राय व्यक्त गरिएको छ भन्नेसमेत प्रहरी प्रतिवेदन ।
१०. जेष्ठ ३० गते अं. ३।। बजे आफ्नो घर कप्तानगञ्जबाट मनोवरको चुनावसम्बन्धी परामर्श गर्न वकिल तेजबहादुरको घर विराटनगर राती ९।। बजे पुगी परामर्श गरी १०।। बजे म र मनोवर विराटनगर ठाकुरबाडी रोडमा भएको आफ्नै घरमा गई सुत्यौं मनोवर उहीं बसे भोलिपल्ट ३१ गते ९।। बजे विराटनगरबाट भारतको बाटो गरी आई राती ९ बजे आफ्नो घर कप्तानगञ्ज आइपुगेको आषाढ १ गते झाडावान्ता लागी भारत फुलकहाँ गई त्यहाँका डाक्टर प्रसमथ रायसँग दवाई लिई सो दिन त्यहीं बसी टुन टुनिया रौनियारसमेत ५।६ जना मानिस भेट हुँदा बन्दीभक्तले तिनीहरूलाई डाँका खुनमा पोल गरेको छ भनी दिएबाट भागी आएको हो भन्यो आफ्नै नेपालमा बस्नुपर्छ भनी सम्झाई बुझाई घर पठाई आफू पनि घर आषाढ २ गते आइपुगें । त्यसो हुँदा सो डाँका खुन कसले गरे मलाई थाहा छैन बाबुले हदबन्दी भन्दा बढी जग्गा भई २४ बिगाहा जती बहिनी तिर्थकुमारीको नाममा राखेको बहिनी भारतबाट आएपछि बहिनी ज्वाईंसमेत भई दखल गर्न लागेकोले बहिनीलाई दिएको होइन भन्दा नमानेबाट झगडासमेत भएको चन्द्रभक्तको भनाइमा लागी बिक्री गर्नसमेत खोजेको चन्द्रीभक्तउपर दौडाहामा उजूर परेको म.जि.पं. को का.मु. सभापतिको हैसियतले निजको चरित्र सबै बताई दिएकोबाट थुनामा राखेको सो बदला लिन चन्द्रिभक्तसमेतले मौका पाई उचाली डाँका खुनको घटना गराइकन हो वा के हो परिपञ्च रची मलाई फसाउन झुठ्ठा पोल गरेको हो कुनै कसूर अपराध गरेको छैन भन्नेसमेत अदालतमा भएको जोगबहादुरको बयान ।
११. खुसीलाल भाइ नाता हुँदा निजको घर सत्यनारायण पुजा जेष्ठ ३० गते हुने भई ठिठर कोइरी साथ लिई घरबाट ३।४ बजे हिंडी ६।७ बजे पुगी जाहेरी ३१ गते त्यहीं खाइ अं. १० बजे बेली लिई मौजामा बन्दे महतोको आमा बहिनी बिरामी भई सूर्यास्त भएपछि मात्र बेलीमा पुगी ४।५ दिन त्यहीं बसी घर फर्की आउँदा थाहापाएँ । मैले कुनै अपराध गरेको छैन भएको व्यहोरा प्रहरीमा लेखाई सकेको छु भन्नेसमेत अदालतमा भएको फुदनको बयान ।
१२. मोहन कैलु तिर्थकुमारीलाई डाकाहरूले मारे भन्ने सुनेको हुँ जेष्ठ ३० गतेका रात कागजमा लेखिएको परिबन्दसँग जोगबहादुरको घरमा सुतेको थिएँ । डाकामा १ पटक सजाय पाइसकेको छ म जोगबहादुरको खेती काम गरी विक्रमपुर बसेको शनिवार साँँझ जोगबहादुरको घर आएँ अपराध गरेको छैन भन्नेसमेत अदालतमा भएको मोती यादवको बयान ।
१३. जोगबहादुरले उ.डौ. मा मेरो सिकायत गरे भनेको मलाई थाहा छैन वारदातको दिन म घरमै थिएँ डाँका परेको कुरा सुनें भोलिपल्ट हेर्न जाँदा मरेको देखेको हुँ मेरो व्यहोरा सरजमिनमासमेत लेखाई दिएको छु मैले कुनै अपराध गरेको छैन झुठ्ठा दोष गरेको र सरजमिनमा समेत झुठ्ठा बक्न लगाएको भन्नेसमेत चन्द्रीभक्तप्रसाद कलवारको बयान ।
१४. जेष्ठ ३० गते रातको अं. ९ बजेको हुँदो हो जोगबहादुर, मनोवरलाई साथ लिई निर्वाचन सम्बन्धमा मनोवरले ०२६।२।२० मा उजूर दिएको उजूरीसम्बन्धमा के भयो भनी कुरा गर्न आउनु भएको थियो भोलि पत्ता लगाईदिनेछु भने त्यसपछि आफ्नो घर जानु भएको हो भन्नेसमेत तेजबहादुर श्रेष्ठको बकपत्र ।
१५. चुनिको घर बिचतलाको बरण्डा लौकीमा बसिरहेको पश्चिमतर्फबाट ३०।३५ जना हुल गरिआएको हुँदा चुनी सुत्ने कोठामा गए म भित्र गई लुकें म लुकेपछि ७।८ जना तलामा चढे कोठाको ढोका तोडेपछि मलाई मोहन कहाँ गयो भनी सोध्दा मलाई थाहा छैन भनें । मोहन तिर्थकुमारी खाट मुनी लुकेको रहेछ । छोरी रोएपछि तिर्थकुमरीलाई बाबुको घरबाट के ल्यायो भनी सोधे केही ल्याएको छैन भनिन् खाट मुनीबाट तिर्थकुमारी निस्की बाहिर आइ बात हुँदा बात गर्ने मोती यादव रहेछन् र मैले अन्दाज गर्दा चिने मोतीले तिमीलाई मार्छ भनेपछि तिर्थकुमारी चुप भए खाटमुनीबाट मोहनलाई तिर्थकुमारीलाई र मलाई नमार रूपैंया पैसा लिएर आउ भनेपछि २००० रू.लिनु भनेको मैले सुने १०००० नलिई छाड्दिन नत्र मारीदिन्छु भनी तिर्थकुमारीलाई मोतीयाले घाँटीमा खुकुरीले हानी सेरी मारीदिए मैले आँखाले नै देखेको मोहन सोही ठाउँमा उभिएर बसे त्यसपछि बन्दुक पडकेको आवाज आयो मोहन लडेकाले मारे मैले देखिन मोहन पनि बन्दुकको गोलीबाट मरे रात अँध्यारो थियो लाइट बत्तीबाट चिनेको हुँ भन्नेसमेत भोला महतोको बकपत्र ।
१६. ३०।३५ जना जति डाँका आए निजहरूको हातमा बन्चरो, भाला, बन्दुक बोकेका थिए, डाकाहरू मेरो घरको पश्चिमतर्फबाट आएका थिए । त्यस समय म मस्तसँग निदाएको थिएँ । डाकाको बन्दुक आवाजले बिउँझें म बीचको तल्लाको कोठामा सुतेका थिएँ उत्तरपट्टि र दक्षिणपट्टिको कोठामा मोहन, तिर्थकुमारी र निजहरूकै १ वर्षकी छोरी सुतेको थिए । बरण्डामा मेरो जेठो छोरा सुकदेव नाति सत्यनारायण साला भोला सुतेका थिए ।
१७. डाका भर्याङ्ग चढी फायर गरी तल्लामा चढ्न थालेपछि म र छोरा सुकदेव माथिको सामान राख्ने कोठामा आयौं त्यहीं बुझी बस्यौ उक्त कोठामा जाने सिढी बाटो छैन पहिले छोरा डोरीको सहायताले गयो निजले मलाई हात समाई तान्यो ।
१८. डाकामध्ये जोगबहादुर, मोती यादव, फुदनलाई चिनें मोहन र तिर्थकुमारीलाई फुदन र मोती यादवले सुतेको कोठाबाट तानेर बरण्डामा ल्याए तिर्थले छोरी काखीमा च्यापिएका थिए फुदनले तिर्थकुमारीलाई दविया (खुकुरी) ले दायाँ गर्दनमा १ चोटी बाँया गर्दनमा १ चोटी टाउकामा हान्यो निजको छोरालाई केही चोट लागेन छोरा मोहनलाई सोही बरण्डामा उभ्याई राखेको निजलाई जोगबहादुरले टोटावाल बन्दुकले छातीमा हाने सो आवाज ३ चोटीसम्म सुनें । यी सबै घटना मैले माथिल्लो तल्लाको कोठाको (बुईगल) को छानाको प्वालबाट देखेको हुँ ।
१९. उक्त वारदातको रात अँधेरी थियो निजहरूलाई टर्चको उज्यालोबाट चिनेको हुँ भन्नेसमेत चुनी महतोको अदालतमा बयान ।
२०. पश्चिमतर्फबाट डाकाहरू आए बीच कोठाको बाहिर खुकलमा बाबु र म सुतेको थियौं डाकाहरू आएपछि बुईगलमा डोरीबाट पहिले म गएपछि बाबुलाई मैले हातमा समाएँ बाबुले डोरी समाती बैगलमा चढायौं ।
२१. बिच तलामा १०।१२ जना आइ कसैले बाकस भेटी लिन लागे कसैले ढोका फोरे त्यसपछि बाबु सुत्ने खाटमुनी मोहन, तर्थकुमारी र निजको छोरी लिई खाटमुनी लुकेका थिए मोती र फुदनले खाट मुनिबाट बरण्डामा ल्याए फुदनले तिर्थकुमारीको दाहिने घाँटीतर्फ खुकुरीले हाने निज लडे त्यसपछि मोहनले ज्यान नमारी देउ भनेपछि सालेको मारी देउ भनेपछि जोगबहादुरले फायर गरेपछि ३ फायर भयो ३ ठाउँमा गोली लागेको रहेछ मोहनको पेटमुनी १ ठाउँमा र छातीको दायाँबायाँ १।१ गोली लागेको घाउ थियो हामी लुकेको बुईगलको तखताको प्वालबाट देखेको हुँ । त्यो प्वाल ८।६ अंगुलको प्वालहरु छ रात अँध्यारो थियो डाकाहरूको लाईटबाट देखेको हुँ भन्ने सुकदेवको बकपत्र ।
२२. कैलुलाई उठाउन जाँदा अं. ११ बजे कैलु कहाँ नपुग्दै ३०।३५ जना मानिस पश्चिमतर्फबाट आई आउनेमध्ये जोगबहादुर फुदन, मोतीया चिनें अरू चिनिन जोगबहादुरको हातमा बन्दुक फुदन मोतियाको हात के थियो पैया गरिन डरले आफ्नो घर गए डाकाहरू सो घरबाट बाहिर निस्कँदा डाकाले बालेको लाईटको उज्यालोबाट चिनेको हुँ । डाँका आउँदा ५० हात फरकबाट हेरेको भन्नेसमेत छुटहरूको बकपत्र ।
२३. बीचतल्ला बार्दलीमा म एकलै सुती बसेको बखत पश्चिमतर्फबाट ३०।३५ जना लाईट बाली आयो डरले बाले सुतेको ठाउँमा म बाबु सुकदेव भोलासमेत गएँ सुकदेव बुईगलमा चढे त्यपछि बाजे पनि डोरीको सहायताले बुईगलमा चढ्दा बाबुले हात समाती बाजे पनि चढ्नुभयो । म र भोला बस्यौं बारदलीमा सुतेको मोहन, तिर्थकुमारी हामी बसेको कोठामा पसी बाजे चुनी सुतेको खाटमुनी लुकेको तिर्थकुमारीको काखमा छोरी थिईन भोला र म ढोका लगाई बसे डाँका आई ढोका काटेपछि मेरो मुखमा लाईट बालेर यही हो मार्छु भने डाकाहरूमध्ये काले मोहन होइन भनेर मलाई छाडी दिएँ बाकसहरू झिक्दै जाँदा मोहन र तिर्थकुमारीलाई देखे ३।४ जनाले समाई बार्दलीमा ल्याए मोतीयाले तिर्थकुमरीलाई घरबाट भाग्दा के लिएर आएका थियौ भनी सोधे तिर्थले केही ल्याएको छैन भनेपछि मोतीयाले तिर्थलाई खाटमुनीबाट तान्दा मैले चिनें त्यसपछि फुदनले तिर्थलाई दाहिने घाँटीमा खुकुरीले हानेपछि बायाँ घाँटीमा हाने त्यसपछि मोहन उभिएर बसेको थिए मलाई नमार भनी मोहनले रू.२०००।। दिए हाम्रो १००००।– खर्च भएको छ भनी मोहनले दिएको रूपैयाँ लिई जोगबहादुरले मोहनको दायाँ बायाँ छातीमा २ गोली हानी तल झरे मोहन आँ–आँ गरेको आवाज सुनेर मोहन मरेको छैन भनी फेरि मोतीयाले बन्चरो लिएर १ बाजी तिर्थकुमारीको टाउकोमा १ बाजी मोहनको टाउकोमा हाने र डाकाहरू भागेपछि तल आई हेर्दा कैलुको छातीमा गोली लागेर मरेको थियो कसले मारे थाहा भएन भन्ने सत्यनारायणको बकपत्र ।
२४. डाका गरी ज्यान मारी गए भन्ने हल्ला हुनासाथ म चुनीको घरतर्फ जाँदा दक्षिणतर्फ फुदन भाग्दै गएको २ हात फरकबाट देखेको हुँ र भेट भयो भन्नेसमेत पाचु महतोको बकपत्र ।
२५. दुईवर्ष भयो जेष्ठ ३० गते हो पूर्व पश्चिमको घरमा सुतेको रात पति वासुदेव र २ जना नाबालक बच्चासमेत सुती निदाइरहेको टायममा ढोका काटेको आवाजबाट निन्द्रा खुलेको लोग्ने भागीसकेको रहेछन् झ्याल खोली हेर्दा आँगनबाट बाहिर निस्कन लागेका रहेछन् डाकाले बालेको लाईटको उज्यालो बत्ती अघि जोगबहादुर त्यसपछि फुदन त्यसपछि मोतियाहरू पनि थिए अरूलाई चिनिन ३ जनालाई चिनें जोगबहादुरको हातमा बन्दुक मोतीयाको हातमा लाठी फुदनको हातमा दविया देखेको छु भन्नेसमेत आसादेवीको बकपत्र ।
२६. ०२६ साल जेष्ठ ३० गते दाजु जगदीस, आमा वदामीदेवी सुतेका थिए रात टाटुको आवाज सुनी बिउझें आमाले झ्याल खोली झ्याललाई मसमेतले हेर्दा हाम्रा घरमा डाँका पसि निस्केका रहेछन् । आगनमा उभिरहेका थिए अरूलाई चिनिन जोगबहादुरको हातमा बन्दुक फुदनको हातमा दबिया मोतियाको हातमा लाठी थियो जोगबहादुर समेतले बालेको लाईटको उज्यालोबाट चिनेको भन्नेसमेत राधाकुमारीको बकपत्र ।
२७. ०२६।२।३० को रात पश्चिम विका पूर्व मुखको घरभित्र म बहिनी राधाकुमारी आमासमेत सुतेको बासघरा दरवाजामा बन्दुकको आवाज सुनी झ्याल खोली हेर्दा आँगनमा अगाडी जोगबहादुर बन्दुक लिएका त्यसको पछाडि मोतियाको हातमा लाठी लिएको त्यसको पछाडि फुदनको हातमा दविया लिएको निजहरू उत्तर घरमाथि जान लागेको देखी डरले झ्याल बन्द गरें । डाकाहरू गएपछि काका काकीलाई कैलुलाई मरिरहेको देखें भन्नेसमेत जगदिश महतो कोईरीको बकपत्र ।
२८. साल मिति याद भएन २ वर्ष जति भयो रातमा म वर्ष १३ को छोरा जगदीश कोईरी, राधा वर्ष १ को अरू सानु बच्चि १ समेत पश्चिम घर पूर्व मुखको घरमा सुतीरहेको टायममा द्वारमा बन्दुकको आवाज आएबाट ढोका खोल्दा खुलेन झ्याल खोली हेर्दा डाकाहरू उत्रिदा आँगनमा हुँदा डाकाले बालेको लाईटको उज्यालोबाट जोगबहादुर, फुदन मोतियालाई चिनें अरूलाई चिनिन जोगबहादुरको हातमा बन्दुक थियो मोतियाको हातमा लाठी फुदनको हातमा दविया थियो भन्नेसमेत वदामीदेवीको बकपत्र ।
२९. साल याद रहेन आज २ वर्ष भयो जेष्ठ महिनामा हो गतेको याद रहेन एक दिन म र मेरो सानो बच्चा २ लिई उत्तरबरिया घरपूर्व कोठामा काठको दोकान बन्द गरी भित्र सुती निदाएकी थिइन मेरो कोठाको बन्द रहेको ढोका काटी धेरै मानिसभित्र पसी बिजुली बत्ती बाली उज्यालोबाट हेर्दा अगाडि जोगबहादुर त्यसपछि मोतिया र त्यपछि फुदनसमेत पसि जोगबहादुरले मोहन कहाँ छ भनी सोधे थाहा छैन भनी जवाफ दिए । त्यसपछि चल माथि भनी जोगबहादुरले भनेपछि जोगबहादुरसमेत बाहिर निस्के बाहिर लोग्ने कैलु मरिरहेका रहेछन् भन्नेसमेत खैकीदेवीको बकपत्र ।
३०. खास प्रमाण लाग्ने भोलाको बयान हेर्दा तिर्थकुमारीलाई मोतियाले काटी मोहनलाई समेत अन्तिम चोट हानेको देखिनाले मोहन कैलुलाई नचिनेको डाकाले बन्दूकले हानी मारेको र तिर्थकुमारीलाई मोती यादवले मारी डाकासमेत गरेको ठहर्ने जोगबहादुर फुदनको हकमा वारदातको अवस्था जोगबहादुर विराटनगरको घरमा फुदन टुटी पुजाको निम्तामा छु भन्ने अनुसार निजहरूको साक्षीसमेतले बकेको देखिनाले समेत जोगबहादुर, फुदन घटनास्थलमा गएको प्रमाण पुग्न नसक्ने हुँदा निजहरू २ जनाले सफाई पाउने ठहर्छ भन्नेसमेत सुन्सरी जि.अ. को जाहेरी फैसला ।
३१. उक्त इन्साफ चित्त बुझेन भन्ने वादी श्री ५ को सरकार प्रतिवादी मोती यादव समेतको पृथक–पृथक पुनरावेदन ।
३२. फुदन भाग्दै गरेको बास झाउड उत्तरतर्फ भेटे चिनेको भनी पाचुले जोगबहादुर, फुदन मोति यादवलाई वारदातमा प्रष्ट देखें चिनेको भनी छुतहरूले सर्जमिनमा बकेको हुँदा घटनास्थलमा हुने समस्तले देखे चिनेको भनी प्रतिवादीहरू उपर किटानी किटी दिनुभएकोले घटनास्थलमा रहने बाहेकका मानिसले शंका लाग्दैन भनी अनुमान लगाई गरेको बकपत्र भन्दा घटनास्थलमा हुनेले किटानी बकी दिनु भएको प्रमाणीक हुन आउने भई अनमेल जातियको मोहनलालसँग तिर्थकुमारीले पोहिल गई तिर्थकुमारीको नाउँमा दर्ता सारीराखेको जग्गा पोहिल गएत फर्के परिवारलाई खुवाउने गरी बिक्री गर्न लागेको समेत ईविद्वारा जोगबहादुर मुख्य भई फुदन मोती यादव अरू नचिनेका समेतको मद्दतबाट कर्तव्य गरी परिवार दत्त गरेको भेटेसम्मको रू.१४२०।– को धनमाल लगेको देखिन ठर्हन आउने हुँदा शुरूले मोति यादवाई कसुरदार ठहर गरेकै र मोति यादव, जोगबहादुरलाई सफाई दिने गरेको शुरुको मिलेन जोगबहादुर फुदनलाई सर्वस्वसमेत जन्म कैद गर्ने र रू.१४२०। दर्खास्तवालालाई भराइने समेत ठहराएको कोशी अञ्चल अदालतको जाहेरी फैसला ।
३३. उक्त इन्साफमा चित्त बुझेन भन्ने मोति यादव, जोगबहादुर, फुदन महतो कोईरीको छुट्टाछुट्टै पुनरावेदन ।
डाकाहरूले मोहन कहाँ छ भनी सोध्ने सत्यनारयणलाई यो मोहन होइन भनी छाड्ने गरेको खैकीदेवी सत्यनारायण समेतको बयानबाट देखिनाले मार्ने उद्देश्यबाटै वारदात गर्न आएको भन्ने सिद्ध हुन्छ अभियुक्तहरूले यो अपराध नगरेको भए चुनी, सुकदेव, सत्यदेवनारायणले मारेकै देखेका हुन भनी र उनीहरू, पाचु, खैकीदेवी, आसादेवी वदामीदेवी राधाकुमारी, जगदीश समेतले प्रतिवादी वारदातमा आएका हुन् देखे चिनेका हुँ भन्न किटान गर्न नपर्ने वारदारतको भोलिपल्ट प्र. जोगबहादुरका साक्षी समेतलाई जोगबहादुर, फुदन, मोतियाले मारेका भनी जाहेरवालाले भनेको भोलिपल्टै ३१ गते प्रहरीमा दिएको दर्खास्तमा समेत प्रतिवादीले अपराध गरेको भनी नाउ खुलाएको चन्द्रिका प्रसादले षडयन्त्र गरी कहाएका भन्ने जिकिर भए पनि चन्द्रिका प्रसादसँग भेट नहुँदै घटनास्थलमा वादीको साक्षी सेमेतलाई जोगबहादुर, फुदन, मोतियाले मारेको–भनी भनेको देखिनाले फसायको भन्ने जिकिर मुनासिव देखिएन बुईगलमा छापेको काठको फलेक जोर्नीको छिद्र प्वालबाट घटना घटेको ठाउँ नदेखिने भन्ने कुरा पनि उपर्युक्त देखिंदैन । सबै धनमाल खोजी गर्नेतर्फ लागेको नभई सबैभन्दा कान्छो छोरा र निजले ल्याएको स्वास्नी तिर्थकुमारीलाई नै सोध खोज गर्दै एकैसाथ रहेकोमध्ये मोहनलाललाई बन्दुक फायर गरी मार्ने तिर्थकुमारीलाई खुकुरीले ठाउँ–ठाउँ अङ्ग छिया–छिया पारी काटी मार्नु र लासलाई एक ठाउँमा जोरी सुताई छाड्नु कैलुलाई समेत मार्नु यो नियम हत्याकाण्ड धनमालको लालचाको मात्र नभई रिस इवी साधन गर्नकै मुख्य कारणले भएका हुन् भन्ने छर्लङ्ग छ आफ्ना इच्छाले अनमेल कोईरी जातको मोहनलालसँग वैवाहिक सम्बन्ध जोड्न पुगेका र माईत छँदा आफ्ना नाउँमा दर्ता भएको जग्गा पोईल गएको लोग्नेतर्फ पार्न लिखत गरे गराएको माईत नजिक बस्न डराई अन्त लुक्दै भारतर्फ समेत बसी पछि मोहनलालको घरमा आएका केही दिनकै वाद यस्तो हत्याकाण्ड भएकोले लेखिएको ईवी कारण यिनै अभियुक्त जोगबहादुरसँग परेको देखिनाले उल्लेख भएका प्रमाणबाट जोगबहादुर, फुदन, मोतिया यादवलाई सर्वश्व सहित जन्मकैद गर्ने ठहराएको कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
३४. निवेदक प्रतिवादी जोगबहादुर मोति यादवतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले मोहनलाललाई बन्दुकको २ फायर र बन्चरोले हानेको भनेको ३ चोट र तिर्थकुमारीलाई खुकुरीले ३ चोट हानेको भनेको छ मोहनलालको लासमा गोलीको २ प्वाल र हतियारको चोट ७ तिर्थकुमारीको लासमा ९ चोट र लुगा पोलिएको देखिएबाट लास प्रकृतिसँग चोटको भनाई फरक परेको छ बुईगलको तखताको सानो जोर्नीबाट तल्लो कोठाको वारदात देख्नसक्ने होइन अँध्यारोमा टर्चलाईटको उज्यालोले मानिस चिन्न पनि सकिदैंन बन्दूकको फायर चली डाँका खुन गरेको वारदातबाट भाग्ने उम्कनतिर नलागी भोला, सत्यनारायण घटनास्थलमै बसी वारदात हेरी रहने सम्भव नै छैन त्यसकारण निजहरूले प्रतीवादीलाई वारदातमा देखे चिनेको भनेको झुठ्ठा पोल हो । वारदातको समय जोगबहादुर विराटनगरमा छ भन्ने साक्षी सरजमिनले बकेकोसमेत हुँदा प्रतिवादीले अपराध गरेको देखिदैंन सफाई पाउनुपर्छ भन्नेसमेत र प्र. फुदनतर्फको विद्धान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले लासमा भएको चोट र देख्ने भनेकोले चोटको प्रकृति मिलेको छैन वारदातको समय फुदन निजको भाइको घरको पूजामा गएको साक्षीले किटानी बकेकोले फुदन वारदातमा छ भन्ने झुठ्ठा पोल गरेको हो फुदनको अपराध हैन सफाई पाउनुपर्छ भन्ने र वादी श्री ५ को सरकारकोतर्फबाट विद्धान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्सालले वारदात देख्ने चुनी, भोला समेतले भनेको चोट र लासमा परेको चोट फरक परेका कारणबाट अपराध नै नगरेको भन्न मिल्दैन मुख्य खुन डाँका गर्ने जोगबहादुर समेतको प्रतिवादीलाई चुनी, सुकदेवले बुईगलको तखताको चिराबाट र घटनास्थलमा रहने भोला सत्यनारायणले देखेको चिनेको भनी किटानीसाथ भनेको कुरा एकै मिलान भएको र मोती यादवले पुनरावेदन गर्दा सजाय चर्को भयो भन्ने जिकिर लिएबाट समेत प्रतिवादीहरूले डाँका खुन गरेको हो भन्ने प्रष्ट देखिएकैबाट अपराधी ठहराएको डिभिजन बेञ्चको सदर हुनपर्छ भन्नेसमेत र जाहेरवाला चुनीतर्फको विद्धान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले डाँका गर्न आउँदा जोगबहादुर मोतियालाई छुतहरूले देखेको डाँका गरी फर्की जाँदा पाचुले फुदनलाई देखेको बुईगलको तखताको चिराबाट डाँका खुनको वारदात गर्ने प्रतिवादीलाई चुनी सुकदेवले देखेको घटनास्थलमा रहेको भोला, सत्यनारायण समेतका ११ जवानले प्रतिवादीले डाँका खुन गरेको देखेको भनी किटानी भनेकोबाट समेत प्रतिवादीहरूले नै डाँका खुन गरेको देखिएकै छ अपराधी ठहराएको सदर हुनपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
३५. यसमा मिसिलसामेल रहेको सबै कागज पढीबुझी हेरी पक्ष विपक्षका विद्धानहरूको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यो ०२६।२।३० गते रातको अं. ११।१२ बजे भएको डाँका खुनको वारदातमा जाहेरवाला चुनी महतो कोइरीको परिवारका ३ सदस्य कर्तव्य परी मरी रहेको भन्ने कुरा प्रहरी प्रतिवेदन लास जाँच मुचुल्का मौका सरजमिन समेतबाट देखिन आएकोले यो घटना घटेको विषयमा कुनै विवाद नरहेकोले यसमा यो खुन डाकाको वारदात प्र.अभियुक्तहरूले गरेको हो वा होइन यही नै विचारणीय प्रश्न उपस्थित भएको छ ।
३६. प्रतिवादी मानिसले वा मानिसको समूहले कुनै अपराध गर्दा केही उद्देश्य वा मतलव प्राप्तिका लागि गर्दछ । किनभने मनसायले नै कुनै अपराध गर्न प्रेरणा प्रदान गरेको हुन्छ, तसर्थ यो घटनाको सम्बन्धमा कुनै निष्कर्षमा पुग्नुभन्दा अगावै के–कस्तो मनासायबाट प्रेरित भई यो वारदात घट्न गएको हो, त्यसतर्फ विवेचना गर्न आवश्यकै देखिन्छ । प्रतिवादीहरू मध्ये जोगबहादुर त्यस जिल्लाको गन्यमान्य व्यक्ति भन्ने धेरैजसो सर्जमिनले बकी लेखिदिएको र निज जोगबहादुरले समेत आफू उप–सभापति पदसम्म प्राप्त गरेको प्रशस्त जग्गा जिमिदारी भएको र साथै २ नाले बन्दुकसमेत भएको मानिस हुँ भनी आफैंले प्रहरी र अदालतमा बयान गरेको, यस्तो इज्जतदार मानिसको बहिनी तिर्थकुमारी जाहेरवाला चुनी महतोको कान्छो छोरा मोहनलाल कोईरीसँग विवाह सम्बन्ध गरेको कारणले जोगबहादुरलाई निज बहिनी ज्वाइँप्रति रिस हुनु जोगबहादुरको भनाईअनुसार स्वभाविकै देखिएको र निजका डरका मारे मोहनलाल तिर्थकुमारी काठमाडौमा केही काल छेपन गरी केही काल भारत विदेशमा बिताई निजहरूको छोरी जायजन्म भएपछि अव जोगबहादुरले केही गरोइन भन्ने अभिप्रायले आफ्नो गाउँ घरमा आई बसेको उता जोगबहादुरले निज बहिनी ज्वाँइहरूलाई बहिनी कोईरी जातसँग अनमेल विवाह हुँदा गोली हानी मार्छु भनी भन्दै हिंडेको भनी रामफल समेतको ४ जना सर्जमिनले र जाहेरवाला चुनी महतोले समेत मार्छु काट्छु भनी धम्की दिएको भनी बयान गरेको त्यतिले मात्र नभई बाबुको नाउँमा हदबन्दी भन्दा बढी जग्गा भई चानचुन २४ विगाहा जग्गामा निज मर्ने तिर्थकुमारीको नाउँमा हाम्रै हक राखी दर्तासम्म गरिराखेको सो जग्गा भने बाबु जिवित रहेसम्म निजले निज परलोक भएपछि आमाले खाएको भनी जोगबहादुरले नै बयान गरेको देखियो । त्यस्तो सम्पत्ति निज तिर्थकुमारीले अरू अरूलाई बिक्री हिनामिना गर्न लागेको जोगबहादुरले चाल पाई जिल्ला उप–सभापतिसमेत भइसकेको हैसियतले रोकथाम गर्न लगायो भन्ने पनि निजकै बयानबाट देखिएको यस्तो परिस्थितिमा समाजमा निचा देखिने र सम्पत्ति पनि हिनामिना गर्ने तिर्थकुमारी र निजसँग प्रेम विवाह गर्ने मोहनलाल कोइरीसँग डाह हुनु स्वभाविकै देखियो र निज जोगबहादुर वाहेक मर्ने तिर्थकुमारी मोहनलाल समेत चुनीका परिवारसँग बदला लिने चासो अरू कुनैलाई भएको मिसिल प्रमाणबाट नदेखिएको ।
३७. वारदात गरेमा प्रतिवादीहरू इन्कार रहेको र विशेष अधिकार सम्पन्न दौडहामा चन्द्रीप्रसाद भक्त विरूद्ध उजूर पर्दा जोगबहादुरले जिल्ला सभापतिको हैसियतले सिफारिश गरी चन्द्रीप्रसाद भक्तलाई थुन्न लगाएको हुनाले वैमनश्य भइरहेको सो साधन गर्नलाई चन्द्रीप्रसाद भक्तले जोहरवाला चुनीमहतोलाई सिकाई झुट्टापोल गर्न लगाएको हो भनी बयान गरेकोतर्फ विचार गर्दा सो वारदातको समयमा चुनीकै अर्को छोरा वासुदेव भुइँ तल्लामा सुती रहेको डाकाहरूले फायर गरेको बन्दुक र हो–हल्लाले निजको निन्द्र ब्यूझी ढोका खोलो भन्ने बहिरबाट आवाज सुन्दा डाँका आएको भनी महसूस गरी घर पछिल्तिरको ढोकाबाट भागी गाउँतर्फ गई गुहार मागेकोमा बन्दुक फाएरको र वासुदेव कोइरीले गुहार मागेको हल्ला सुनी निन्द्राबाट ब्यूँभी अरू केही गाउँले वारदात भएतर्फ आएका तर निज चन्द्रीप्रसाद भक्तले पनि सो वारदात भएको सुनेको तर मैले पोल्न लगाएको होइन भन्ने चन्दी प्रसाद भक्तको इन्कारी बयानबाट देखिएको तर वारदातमा निज आएको देखिन नआई घरमा नै बसेको देखिने र भोलिपल्ट ३१ गतेका दिन प्रहरी मौका तहकीकातमा जोगबहादुर, फुदन, मोति यादवलाई पोल गरी चुनी महतोको दर्खास्त परिसकेपछि मात्र अरू–अरू गाउँवालाका साथ निज चन्द्रीप्रसाद भक्त आएको सर्जमिन बकाईबाट देखिएकोले सो भन्दा अघि चुनी महतो कोईरी चन्दीप्रसाद भक्तको सम्पर्क रहेको कतैबाट नदेखिएको तसर्थ चन्द्रीप्रसाद भक्तले ईवी साध्नका लागि जोगबहादुर र निजको तोक र मोति यादव र फुदनलाई पोल्न लगाएको र सो अनुसार पोल गरेको भन्ने कुरा निरर्थक देखिएको ।
३८. यो खुन डकैतीको वारदात धन पैसाको लोभले भएको हो कि भन्नलाई विचार गर्दा धनपैसाको लोभले प्रेरीत भई वारदात गरेको भए घरको मुख्य मालिक चुनी महतोलाई नै डाकाहरूले पहिले तलास गर्नुपर्ने कारण निजसंगै धन र सम्पत्ति जिम्मा हुनु स्वभाविक भएको र साथै वारदात गरेको भनेको घरको मटान तलाबाहेक र त्यसमा रहेको टेंको ३।४ र छालाको २ बाकस काटी सरसामान लत्ता कपडा बाहेक अरू बुइगल तला भुइतला वा अन्यत्र घरकोठाहरूमा हमला गरेको नदेखिएको र सरसरी जुन सामान पैसा हातपर्यो सो टिपी डाकाहरू फर्की गएको भन्ने चस्मदिद गवाहा सत्यनारायण र भोलाले बकी लेखिदिएकोबाट र निज डाकाहरू मध्यका अन्दाजी ७।८ जवान मटान तलामा चढी बन्द रहेको ढोका फोरी मोहनलाल कहाँ छन् भनी खोज्दै सत्यनारायणलाई मोहन यही हो कि भनी कुनै डाकाले सोधेकोमा यो हैन भनी अर्काले जवाफ दिएपछि खुद मोहन र तिर्थकुमारी खाटमुनी लुकी रहेकोलाई तानी ल्याई मोहनलाई जोगबहादुरले बन्दुक फायर गरी मारी र तिर्थकुमारीलाई फुदनले दवियाले काटी मारेपछि मोहनलाल अँ अँ गर्दै कनी रहेकोमा अझै मरेको छैन भनी मोतियाले बञ्चरोले निज दुवैको टाउकोमा प्रहार गरी मारी लास प्रकृतिमा उल्लेख अनुसार मर्ने मोहनलालको दाहिने हात तिर्थकुमारीको आङमा पुगेको बाँया हात तिघ्रा माथी पसारिएको टाउको तिर्थकुमारीको कुइनामा माथि रहेको मरी छाडेको भन्ने देखिएबाट लोग्ने स्वास्नी भइरहेको जस्तै भान पारी गएको भन्ने देखिएकोबाट यो वारदात धनको लोभले हुन गएको नदेखिएको र मोहनलाल र तिर्थकुमारीको ज्यानै लिन जसलाई तीव्र इच्छा थियो, निजले नै यो घटना गरेको देखिन आएको र सो तिब्र आकांक्षा माथि उल्लेख गराएअनुसार जोगबहादुर तुलाधर बाहेक अरू कसैलाई प्रयोजन भएको नदेखिएको ।
३९. उपरोक्त उल्लेखबमोजिम यस्तो ठूलो अखच ईवी परिरहेको परिस्थितिमा जोगबहादुरसँग हात हतियारमा निजकै प्रहरी अदालतमा भएको बयानबाट बन्दुक थान २ खुकुरी, बन्चरो कोदालीसमेत भएको देखिने पहिले डाँका वारदातमा सजाय पाएको मोती यादव निजकै नोकरीमा बसी रहेकोले यस्तो वारदात गर्नलाई चाहिने सर समानको अभाव भएको पनि नदेखिएको जोगबहादुरकै भनाइअनुसार निजसँग २ नाल १ टोटावाला अर्को टुटुराईफल १ लाइसेन्स भएको बन्दुकहरू पनि महजुद रहेको देखिएको ।
४०. सो वारदात घटेको समयमा अर्थात् ३० गते रातको ११।१२ बजेको टायममा म मनोवर मियाँको चुनाव विषयको निवेदन लेखाउन विराटनगरमा रहेको भन्ने जोगबहादुरको प्रहरीमा गरेको बयानबाट देखिएको र निज जोगबहादुर वारदातको समय अन्यत्र विराटनगर घरमा रहेको होकी त भन्नलाई निजले अदालतमा बयान गर्दा मनोवरको चुनावबारेको निवेदनपत्र वकिल तेजबहादुर श्रेष्ठबाट लेखाउन गएको भनेको नभई निज वकिलसँग परामर्श गर्न गएको भनी बयान फरक गरेको देखिएको मनोवरले पनि प्रहरीमा कागज गर्दा निवेदन लेखाउन गएको भनेको अदालतमा आई बयान गर्दा मेरै चुनावको काममा ३ बजेतिर जोगबहादुर पनि विराटनगर गएको थियो भनी बयान गरी प्रहरीको कागजलाई पनि समर्थन गरेको पाइन्छ सत्य कुरा भए यसरी आफ्नो भनाईलाई बदल्नु पर्ने आवश्यकता हुनु नपर्ने उजूरी लेखाउन गएको भन्नेतर्फमा यस अदालतबाट सम्बन्धित कार्यालयलाई बुझ्दा उक्त निवेदनपत्र ०२६।२।२० गते नै दर्ता भइसकेको भन्ने जवाफ आएको देखिन्छ । यसबाट ०२६।२।२० गते दर्ता भइसकेका निवेदन ०२६।२।३० गते लेखाउन गएको भन्ने कुरा तथ्यबाट मिल्न आएको देखिदैन । यसको अतिरिक्त जोगबहादुर मनोवरसँग विराटनगर गएको भने तापनि वारदातको राती मनोवर र जोगबहादुर संगै साथमा रहे सुतेको भन्नेसमेत कतै कुनै साक्षी समेतले पनि भन्न सकेको देखिंदैन । तसर्थ वारदातको समय अन्यत्र थिए भन्ने कुरा प्रमाणीत गर्ने अभिभारा भएको प्रतिवादीले सो कुरा प्रमाणित गर्न सकेको देखिंदैन र आफू जोगीनको लागी अन्यत्र थिए भन्ने कुराको एउटा आधार लिन खोजेको सम्म देखिन्छ । निजले यो वारदात नगरेको भए यो झुठ्ठा आधार लिनु पर्ने अवस्था थिएन ।
४१. वारदात घटिसकेको भोलिपल्टै ३१ गते घर आई पुगी ३२ गते निज जोगबहादुर झाडाबान्ताको बेथा लागी ईलाज गर्न भारततर्फ गएको भन्ने निजकै शुरू प्रहरीमा गरेको बयानबाट देखिएको र अदालतमा बयान गर्दा इलाज गर्न आषाढ १ गते गएको भन्ने बयान गरेको र वहाँ इलाज गराएको कुनै लिखत प्रिश्कीपशन अथवा लिखत प्रमाण पेश गर्न पनि नसकेकोले त्यसबाट वारदात घटिसकेपछि पनि निज सर्जमिनमा नगइ अन्यत्र रहे भएको देखाएको र पछि आषाढ ३ गतेमात्र प्रहरीले बारेण्ट लिई गए पश्चात हिरासतमा परेको देखिएकोले निजको वारदात पछिको व्यवहार पनि आफूले गरेको अपराधबाट उम्कने प्रयासमा रहेको प्रष्ट देखिने ।
४२. निज जोगबहादुर पक्षका करिब २२९ जना सर्जमिनहरूले निज जोगबहादुर समेतलाई कसूर अपराधबाट सफाई दिने मुरादले असल मानिस हुन् । निजहरूले अपराध गरेको शड्ढा लाग्दैन भन्ने किसिमको सिफारिश गरे तापनि निजहरूले आफ्नै आँखाले देखे भएको कुनै अपराध गरेको छैन भन्ने परिबन्धसमेत पुर्याई किटानी लेख्न नसकी शड्ढा लाग्दैन भन्नेसम्म एउटा अनुमानबाट लेखेकोलाई एक त साक्षीहरूले आफ्नै इन्द्रीयले अथवा आँखा कानले वा इशाराले देखे सुने बुझेको कुरामात्र भन्न पाउने र वारदात गरेको हो होइन भनी इन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएकोले सो कुरा भनेकोबाट निज प्रतिवादीहरूलाई कुनै मद्दत गर्न सक्ने नदेखिएको त्यसको विपरीत श्री ५ को सरकारका पक्षका चुनी महतो कोइरीका परिवारका सुकदेव सत्यनारायणले र सो बाहेक परिवार बाहिरका घटनास्थलमा रहने भोलाले र अरू छुतहरू पाचुसमेतले किटानीसाथ आफुले देखे सुनेको र बुझेको कुरा बकपत्र गरी दिएकोले र निजहरूको बकपत्र मौका लास जाँच पोष्टमार्टम समेतबाट समर्थित हुन आएको छ ।
४३. प्रतिवादीहरूलाई वारदातमा पोल्ने चस्मदिद करीब १० जना गवाहामध्ये जाहेरवाला चुनी महतोकै परिवारका सदस्यको बहुमत भएको छ तापनि त्यतिकै कारणले निजहरूको लेखाई देखाई जनप्रतित हो र जोगबहादुरसँग वैमनष्यका कारणले झुट्टा पोल गरेको हुन् कि भन्नलाई नहुने किनभने वारदातका समय रातको अं. ११।१२ बजेका टायममा कुनै घरमा पनि यस्तो कुरा भएमा परिवारका सदस्य बाहेक अरूको उपस्थिति स्वाभाविक तवरले हुनै नसक्ने परिस्थिति भएकाले निजहरूले प्रतिवादीहरूलाई वारदात गर्दा आफ्नै आँखाले देखेर कानले सुनेको कुरामा शड्ढा लिनु पर्ने अवस्था देखिदैंन । उसमा पनि परिवार सदस्य बाहेक घटनास्थलमा रहने भोलाले र अरू गाउँको छुतहरू पाचुसमेतले देखें भनी किटानी समर्थन गरेकोबाट समेत प्रतिवादीले वारदात गरेको सिद्ध हुन आएकोले र डिभिजन बेञ्चको फैसलामा उल्लेख भएको बँुदा प्रमाणसमेतबाट निज जोगबहादुर, मोती यादव, फुदनसमेतलाई ०२६।२।३० गते राती अं. ११।१२ बजेको टायममा डाँका खुनको वारदात गरेको ठहराएको कोशी अञ्चल अदालतको ०२९।८।१४।४ को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३०।६।१।२ को इन्साफ मनासिव ठर्हछ । यी फैसला भएको जनाउ थुनामा रहेको निवेदकहरूलाई पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्यायाधीश धनेन्द्रबहादुर सिंह,
न्यायाधीश सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३३ साल आषाढ २ गते रोज ३ शुभम् ।