निर्णय नं. ९२९८ – परमादेश
सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।१५।२ ०६८-CI-०३१९ मुद्दा : परमादेश ।...
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।८।१५।२
०६८-CI-०३१९
मुद्दा : परमादेश ।
पुनरावेदक/विपक्षी : जिल्ला पर्सा, गा.वि.स.बगही वडा नं. २ स्थित महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयसमेत
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला पर्सा, गा.वि.स. बगही वडा नं. २ स्थित महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक अरविन्दकुमार लाल
§ एक पटक निवेदकलाई प्रदान गरेको अङ्क नमिलेको भन्नलाई कानूनले अधिकार क्षेत्र दिएको हुनुपर्ने र बदर गर्ने कार्य पनि कानूनबमोजिम नै हुनुपर्ने हुन्छ । सो नगरी जसलाई जहाँ जहिले जे गर्न मन लाग्यो सो गर्दै जाने हो भने सबै कुरा अनिश्चित हुन जान्छ जसको परिणाम भयावह हुन्छ । व्यक्तिगत सोचाई र रोजाईमा आधारित न्याय होइन पद्धति र प्रक्रियामा आधारित न्याय वाञ्छनीय हुने ।
(प्रकरण नं. ३)
पुनरावेदक/वादीको तर्फबाट :
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ शिक्षा नियमावली, २०५९ को छैठौं संशोधनको नियम ९३
सुरू पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री बमकुमार श्रेष्ठ
मा.न्या.श्री मोहनरमण भट्टराई
फैसला
न्या.गोविन्दकुमार उपाध्याय: पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।३।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार विपक्षीको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
म निवेदक नेपालको एक नागरिक भै पर्सा जिल्लाको ठोरी स्थित सरस्वती माध्यमिक विद्यालय गौतमनगर, ठोरीमा मिति २०५१।१०।१ मा अस्थायी शिक्षकको रूपमा नियुक्ति पाई सो विद्यालयमा अध्यापनको कार्य गरी आएकोमा २०५३ सालमा महानन्दप्रसाद उपाध्याय माध्यमिक विद्यालयमा सरूवा भई आएको थिएँ । अस्थायी शिक्षकको रूपमा कार्य गरी आएकोमा मिति २०६३।७।९ मा स्थायी शिक्षक भई अनवरतरूपमा हालसम्म सोही विद्यालयमा कार्यरत छु ।
उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक सेवा निवृत्त हुनुभएकोमा विद्यालयको प्रधानाध्यापक पदको नियुक्ति गर्ने विषयमा विद्यालय व्यवस्थापन समितिको मिति २०६६।३।१६ मा बसेको बैठकले म निवेदक अरविन्दकुमार लालको जम्मा अङ्क ८१ र सोही विद्यालयका अर्का शिक्षक सतीशचन्द्र झाको जम्मा ७२ अङ्क प्राप्त भएको छ । बढी अङ्क प्राप्त गर्ने म निवेदक स्नातकोत्तर भएको र आगामी वर्षदेखि विद्यालय १०+२ सञ्चालन गर्ने प्रक्रियामा रहेकाले म निवेदकलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्तिका लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिसपत्र लेखी पठाउने भनी निर्णय भएको छ । सो निर्णयबमोजिम प्रधानाध्यापक पदमा म निवेदकलाई नियुक्ति दिन विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालय, पर्सामा पत्राचार गरेको थियो । तत्पश्चात पुनः मिति २०६६।५।४ मा बसेको व्यवस्थापन समितिको बैठकले मिति २०६६।३।१६ को निर्णयलाई बदर गरी म अरविन्दकुमार लाललाई नि.प्र.अ. मा नियुक्त गर्न जिल्ला शिक्षा कार्यालय, पर्सालाई सिफारिससमेत गरेको थियो । विद्यालयको च.नं. १३१ मिति २०६६।५।१७ को पत्रानुसार जिल्ला शिक्षा कार्यालयले प्रधानाध्यापक पदमा सतीशचन्द्र झालाई तोकी पठाइसकेकाले आवश्यक निर्देशन पाउँ भनी क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल सानोठिमी, भक्तपुरलाई लेखी पठाएको थियो । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको मिति २०६६।५।२१ को पत्रमार्फत जिल्ला शिक्षा कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालय, पर्सालाई लिखित र मौखिकरूपमा म निवेदकले नियुक्तिका लागि बारम्बार अनुरोध गर्दासमेत क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको निर्देशनसमेतको वास्ता नगरी मलाई विद्यालयको प्रधानाध्यापक प्राचार्यमा नियुक्ति गरिएन । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलले पुनः मिति २०६७।७।३० मा जिल्ला शिक्षा कार्यालयलाई निर्देशन कार्यान्वयन गर्नका लागि पत्राचार गरेको थियो । उक्तपत्रमा सर्वोच्च अदालतबाट मिति २०६०।१०।१३ मा परमादेशको आदेश जारी भएबमोजिम स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्ति विद्यालयमा भएको अवस्थामा प्रधानाध्यापक प्राचार्यको हकमा विद्यालयका शिक्षकहरूमध्येबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिलाई नियुक्ति गर्ने व्यवस्था मिलाउन हुन भनी पत्राचार गरिएको थियो । सर्वोच्च अदालतको परमादेशको आदेश, उच्च माध्यमिक शिक्षा परिषद्को निर्देशन र क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको निर्देशनको पालना विपक्षीहरूले नगरी आफ्नो कर्तव्यबाट बिमुख भएका छन् । तसर्थ महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालय बगहीको एकमात्र कार्यरत स्थायी स्नातकोत्तर शिक्षक म निवेदकलाई सो विद्यालयको प्रधानाध्यापक प्राचार्य पदमा अविलम्ब नियुक्तिको सिफारिस गरी प्रधानाध्यापक प्राचार्य नियुक्ति गरी नियुक्तिपत्र दिलाउनु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने व्यहोराको निवेदनपत्र ।
निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार प्रमाण र कारण भए सोसमेत साथै राखी विपक्षीहरूलाई सूचना पठाई लिखित जवाफ पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
यस विद्यालयको प्रधानाध्यापक सतीशचन्द्र झा मिति २०६७।११।१९ मा स्नातकोत्तर परीक्षामा उत्तीर्ण भइसक्नुभएको छ । स्नातकोत्तर परीक्षा उत्तीर्ण भएको अहिलेका प्रधानाध्यापक शिक्षा नियमावली, २०५९ को छैठौं संशोधनको नियम ९३ को आधारमा योग्यता पुगेको छ । विपक्षीले उल्लेख गरेको परिषद् सम्बन्धनसम्बन्धी विनियमहरू तथा सर्वोच्च अदालतको नजिरको आधारमा समेत विपक्षीले निवेदन दिनु भन्दा पहिले नै वर्तमान प्रधानाध्यापक प्राचार्य स्नातकोत्तर हुनुभएकाले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत जना तीनको संयुक्त लिखित जवाफ ।
विपक्षी शिक्षा कार्यालयको तर्फबाट लिखित जवाफ परेको छैन ।
मिति २०६६।५।७ मा सतीशचन्द्र झालाई प्रधानाध्यापक पदमा नियुक्ति गरिएको भन्ने देखिएको तर सो मितिमा निज सतीशचन्द्र झाले स्नातकोत्तर गरेको भन्ने देखिँदैन । मिति २०६७।११।१९ मा मात्र स्नातकोत्तर गरेको भन्ने लिखित जवाफको व्यहोरासमेतबाट देखिन्छ । उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धनसमेत रहेको विद्यालयको अवस्थालाई दृष्टिगत गरी मिति २०६६।३।१६ को विद्यालय व्यवस्थापन समितिको प्रधानाध्यापकको नियुक्तिसम्बन्धी सिफारिस गर्ने निर्णयसमेतको आधारमा सो महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गर्ने विषयमा अविलम्ब आवश्यक कारवाही गर्नु भनी विपक्षी जिल्ला शिक्षा कार्यालय, पर्सासमेतको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्याई भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।३।२२ को आदेश ।
सतीशचन्द्र झा प्रधानाध्यापकमा नियुक्ति भएको मिति भन्दा पछिसमेत शिक्षा नियमावली, २०५९ को तेस्रो संशोधन कायम थियो । ऐजन नियमावलीको नियम ९३.२ बमोजिम विपक्षीले बढी अङ्क पाउने अवस्था छैन । उक्त नियम ९३ बमोजिम विपक्षीको ५८ अङ्क मात्र हुन्छ तर सतीशचन्द्र झाको ७२ अङ्कबाट घट्ने अवस्था छैन । ७० अङ्क भन्दा कम हुने हुँदा निज अरविन्दकुमार लाल प्रधानाध्यापकको लागि योग्य नभएकाले सतीशचन्द्र झालाई प्रधानाध्यापक बनाएको हो । पुनरावेदन अदालतको आदेशमा अङ्क दिने कार्य बदर भएको भनिएको छ जसको सम्बन्धमा निवेदकको माग नै भएको छैन । सतीशचन्द्र झा प्रधानाध्यापक नियुक्ति हुँदा यो विद्यालय उच्च मा.वि.मा सम्बन्धन प्राप्त भएको समेत थिएन । विपक्षीले स्नातकोत्तर गर्नुभएको विज्ञान विषय यो विद्यालयमा पढाइ हुने विषयसमेत होइन । सतीशचन्द्र झाको नेपाली विषयमा स्नातकोत्तर भएकाले योग्यता पुगेको हो । शिक्षा मन्त्रालय विद्यालय व्यवस्थापन शाखाको मिति २०६६।३।३० को निर्णय अनुसार जेष्ठ शिक्षकलाई तथा उपल्लो तह श्रेणीलाई प्रधानाध्यापक दिने अवस्था छ । सतीशचन्द्र झा मा.वि. द्वितीय तथा विपक्षी उक्त दावी गर्दा मा.वि. तृतीय श्रेणीको भई पाँच वर्ष सेवा अवधिसमेत नपुगेको अवस्थालाई समेत ध्यान नदिई भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरिपाउँ भन्ने व्यहोराको विपक्षीहरू महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालय, ऐजनका सञ्चालक समिति र ऐजनका सञ्चालक समितिका अध्यक्षको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । अब पुनरावेदन अदालत, हेटौंडाले गरेको आदेश मिले नमिलेको र पुनरावेदक विपक्षीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा निवेदक मिति २०५१।१०।१ मा अस्थायी शिक्षकको रूपमा नियुक्ति पाई २०५३ सालमा महानन्दप्रसाद उपाध्याय माध्यमिक विद्यालयमा सरूवा भई आएको र मिति २०६३।७।९ मा स्थायी शिक्षक भई हालसम्म सोही विद्यालयमा कार्यरत रहेको हो । उक्त विद्यालयको प्रधानाध्यापक पद खाली भएकोमा बढी अङ्क प्राप्त गर्ने म निवेदकको योग्यता पुगेको हुँदाहुँदै मलाई प्रधानाध्यापक प्राचार्यमा नियुक्त नगरी सतीशचन्द्र झालाई नियुक्ति गरेकाले उक्त पदमा निवेदकलाई नियुक्ति गरिपाउँ भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन र यस विद्यालयको प्रधानाध्यापक प्राचार्य सतीशचन्द्र झा निवेदक भन्दा पहिले स्नातकोत्तर हुनुभएकाले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीहरूको लिखित जवाफ रहेको देखिन्छ । महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गर्ने विषयमा अविलम्ब आवश्यक कारवाही गर्नु भनी विपक्षी जिल्ला शिक्षा कार्यालय, पर्सासमेतको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्याई भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।३।२२ को आदेशउपर विपक्षीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३. तत्सम्बन्धमा हेर्दा महानन्दप्रसाद उपाध्याय उच्च मा.वि. पर्सा, बगहीका प्रधानाध्यापक नियुक्तिको सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको मिति २०६६।३।१६ मा बसेको बैठकको निर्णयानुसार प्रत्यर्थी रिट निवेदक अरविन्दकुमार लालले शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम, कार्यसम्पादन मूल्याङ्कन, विद्यालय सुधार कार्ययोजना, नेतृत्व लिने क्षमताबापतमा जम्मा ८१ अङ्क प्राप्त गरेको र सतीशचन्द्र झाले जम्मा ७२ अङ्क प्राप्त गरेको देखिन्छ । सोही प्राप्ताङ्कको आधारमा बढी अङ्क प्राप्त गर्ने यी प्रत्यर्थी निवेदक अरविन्दकुमार लाललाई उक्त विद्यालयको प्रधानाध्यापक पदमा नियुक्तिका लागि सिफारिसपत्र लेखी पठाउने निर्णय भएको देखिन्छ । विपक्षीहरूको लिखित जवाफ र यस अदालतमा गरेको पुनरावेदनपत्रमा व्यवस्थापन समितिको मिति २०६६।३।१६ को निर्णयले रिट निवेदकलाई दिएको अङ्क नमिलेको भनी प्रश्न उठाएको देखिन्छ । तर एक पटक निवेदकलाई प्रदान गरेको अङ्क नमिलेको भन्नलाई कानूनले अधिकार क्षेत्र दिएको हुनुपर्ने र बदर गर्ने कार्य पनि कानूनबमोजिम नै हुनुपर्ने हुन्छ । सो नगरी जसलाई जहाँ जहिले जे गर्न मन लाग्यो सो गर्दै जाने हो भने सबै कुरा अनिश्चित हुन जान्छ जसको परिणाम भयावह हुन्छ । व्यक्तिगत सोचाई र रोजाईमा आधारित न्याय होइन पद्धति र प्रक्रियामा आधारित न्याय वाञ्छनीय हुन्छ । प्रत्यर्थी निवेदक अरविन्दकुमार लालले सतीशचन्द्र भन्दा बढी अङ्क पाएकोमा त्यसबाट असरपर्ने सतीशचन्द्रको उजुरी पर्यो परेन, उजुरीमा के निर्णय भयो सो निर्णयउपर पुनरावेदनको उपचार भए नभएको ती सब कुनै कुरा स्पष्ट हुन सकेको छैन । यहाँसम्म कि विपक्षी बनाइएका जिल्ला शिक्षा कार्यालयले लिखित जवाफसमेत दिन आवश्यक ठानेको पाइँदैन । यस अवस्थामा प्रत्यर्थी निवेदक अरविन्दकुमारले पाएको ८१ अङ्क गैरकानूनी र बेरीतको भएको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । अतः महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गर्ने विषयमा अविलम्ब आवश्यक कारवाही गर्नु भनी विपक्षी शिक्षा कार्यालय, पर्सासमेतका नाउँमा परमादेशको आदेश जारी गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।३।२२ को फैसला मिलेको हुँदा सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल मङ्सिर १५ गते रोज २ शुभम् ।
इजलास अधिकृत : गेहेन्द्रराज रेग्मी