निर्णय नं. ९२९२ – मोही कायम
सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।६।२७।२ ०६६-CI-०७१२ मुद्दा : मोही कायम ।...
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।६।२७।२
०६६-CI-०७१२
मुद्दा : मोही कायम ।
पुनरावेदक/वादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. २ बस्ने दशराम साहुखल
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ. ऐ. बस्ने कृष्णमाया चक्रधरको मु.स. गर्ने ऐ. को छोरा निरज चक्रधरसमेत
§ सर्जमिनको आधारबाट मात्र मोहियानी हक प्राप्त गर्न नसक्ने भए पनि यसले यथार्थमा जग्गा जोत्ने को हो भनी देखाएको वास्तविकतालाई सहज नकार्न सकिँदैन । त्यसै गरी जोत छोडपत्रको घरसारको कागजबाट मात्र पनि मोहियानी हकको प्राप्ति हुन सक्तैन । मोहियानी हक लिनुदिनु गर्दैमा एकबाट अर्कोमा स्वतः मोहियानी हक नसर्ने भएबाट कानूनबमोजिम मोहियानी हक प्राप्त गर्ने वा छोड्ने प्रक्रिया कानूनले नै निर्धारित गरेको हुँदा सोही प्रक्रियाबाट मोहियानी हक छोड्ने वा प्राप्त गर्ने अवस्था हुने ।
§ घरसारको कागजको आधारबाट मोहियानी हक छोड्ने प्रक्रियाबाट मोहियानी हक एउटाबाट सरी अर्कोमा नजाने भए पनि यस्तो व्यवहारबाट वास्तविक स्थितिको बोध गर्दैन भन्न नमिल्ने ।
(प्रकरण नं. ३)
पुनरावेदक/वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू केदार ढकाल, शंकर सुवेदी र नारायण झा
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का, बाबुराजा जोशी, वसन्तराम भण्डारी र विद्वान् अधिवक्ता विवेकराज ढुंगेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ गुठी संस्थान ऐन, २०३३ को दफा २६(१), २७
§ भूमिसम्बन्धी ऐन, २०२१
सुरू तहमा फैसला गर्ने :
भूमिसुधार अधिकारी श्री हरिप्रसाद दुलाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
मा.न्या.श्री माधवप्रसाद चालिसे
फैसला
न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादीको तर्फबाट दोहोर्याई पाउँ भनी परेको निवेदनउपर निस्सा प्रदान भै पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
भक्तपुर जिल्ला, नीलवाराही गा.वि.स. वडा नं. ३ कि.नं.१६२ को क्षे.फ.१–१०–०, ऐ कि.नं. १५३ को क्षे.फ. १–२–२–० र ऐ कि.नं. १५५ को क्षे.फ. ०–१४–०–० जग्गा श्री भादगाउँ तलेजु गुठी ज.ध.कायम भै दर्तावाला मोही विष्णुकुमारी उपाध्यायनीलाई क्षतिपूर्तिसमेत तिरेको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम खास जोताहा मोही म निवेदक भएको हुँदा मोही प्रमाणपत्र पाउँ भन्ने भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं.२ बस्ने वादी दशबहादुर साहुखलको माग दावी जिकिर र निजको मृत्युपश्चात निजका एकाघरका छोरा दशराम साहुखलले मुद्दा सकार गरेको ।
यसमा भक्तपुर जिल्ला, नीलवाराही गा.वि.स. वडा नं. ३ कि.नं.१६२ को क्षे.फ.१–१०–०, ऐ कि.नं. १५३ को क्षे.फ. १–२–२–० र ऐ कि.नं. १५५ को क्षे.फ. ०–१४–०–० जग्गा २०२१ सालमा नापी हुँदा श्यामलाल खेतमा नभएका बखत निजका ज्वाइँ दशबहादुर साहुखलले आफ्नै नाममा जोताहा लेखाई नापीसम्म गराएको भए तापनि साविकदेखि नै दर्तावाला मोहीसँग कुत कबुलियत गरी साविकको मोही शिवलालले र शिवलालको मृत्युपश्चात निजका छोरा श्यामलालले र निजको मृत्युपश्चात कि.नं.१५३ र १६२ कृष्णमाया चक्रधरले र कि.नं.१५५ सुरेन्द्र चक्रधरले जोत कमोत गरी आएको र सोही व्यहोरा गुठी तहसिल कार्यालयमा दर्तावाला मोही विष्णुकुमारी र निजका पति चन्द्रप्रसादले बयान दिएको र २०५३।१०।१७ मा दशबहादुर साहुखलको नाममा मोही कायम हुने गरी गुठी तथा तहसिल खर्च कार्यालयबाट निर्णय भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०५७।२।३१मा गुठी कार्यालयको निर्णय बदर भइसकेको हुँदा सोही फैसलाबमोजिम मोही कायम गरिपाउँ भन्ने कृष्णमाया चक्रधर र सुरेन्द्र चक्रधरको प्रतिउत्तरपत्र ।
यसमा गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) र २७ ले गुठी जग्गामा खास जोताहा किसानले मोहीयानी हक पाउनेछ भन्ने र भूमिसुधार ऐन, २०२१ को दफा २(ख) र दफा २५(१) मा यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएका व्यक्तिलाई मोही हक प्राप्त हुने भनेकोमा जोतभोग बुझ्न सर्जमिन मुचुल्का हुँदासमेत खास जोताहा मोही कृष्णमाया चक्रधर र सुरेन्द्र चक्रधर नै देखिन आई कुतसमेत बुझाएको देखिँदा कि.नं. १६२ र १५३ का जग्गामा कृष्णमाया चक्रधर र कि.नं.१५५ को जग्गामा सुरेन्द्र चक्रधरलाई मोही कायम गर्ने ठहर्छ भनी मिति ०६३।८।११ गते भूमिसुधार कार्यालय, भक्तपुरले गरेको फैसला ।
यसमा कानूनी महत्त्व नभएको मिति ०३७।११।१० को कबुलियत भरपाई र जोतभोगसम्बन्धी सर्जमिन मुचुल्कासमेतका आधारमा उचित प्रमाणको मूल्याङ्कन नगरी कि.नं. १६२ र १५३ कृष्णमाया चक्रधर र कि.नं. १५५ का जग्गा सुरेन्द्र चक्रधरका नाममा मोही कायम गर्ने गरी भूमिसुधार कार्यालय, भक्तपुरले गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने वादीको पुनरावेदनपत्र ।
विवादका जग्गाहरूको मोही देखिने कानूनबमोजिमको ठोस प्रमाण नभएको अवस्थामा सर्जमिन र घरायसी कागजसमेतको आधारबाट मोहीयानी हक कायम गर्ने गरेको सुरू भूमिसुधार कार्यालय, भक्तपुरको मिति ०६३।८।११ को निर्णय प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति ०६४।९।२३ मा भएको आदेश ।
विवादित जग्गाको सम्बन्धमा जोतभोग एकिन गर्न स्थानीय निकायबाट सर्जमिन हुँदासमेत जोताहा मोही कृष्णमाया चक्रधर र सुरेन्द्र चक्रधर नै उल्लेख भै आएबाट जग्गाको वास्तविक मोही कृष्णमाया चक्रधर र सुरेन्द्र चक्रधर कायम गरेको सुरू भूमिसुधार कार्यालय, भक्तपुरको मिति ०६३।८।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६५।५।१५ को फैसला ।
भूमिसुधार कार्यालय, भक्तपुरले मेरो पिता दशबहादुर साहुखलले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिम मोहीयानी हक प्राप्त गरेको र गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) र २७ बमोजिम दर्तावाला मोहीलाई क्षतिपूर्ति बुझाउने र फिल्डबुकका खास जोताहा किसान भएको अवस्थामा मेरो प्रमाणको मूल्याङ्कन नै नगरी प्रतिवादी कृष्णमाया चक्रधर र सुरेन्द्र चक्रधरको हदम्याद र हकदैयाविहीन अवस्थामा मोही कायम हुने ठहर गरी मिति २०६३।८।११ गतेको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।५।१५ को फैसला कानूनको प्रयोग र व्याख्यासमेतको दृष्टिकोणबाट त्रुटिपूर्ण भएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेरी वादी दावीबमोजिम मोही कायम गरिपाउँ भन्ने व्यहोराको वादी दशराम साहुखलको तर्फबाट पर्न आएको
निवेदन ।
यसमा यी निवेदकका बाबु दशबहादुर कित्ता नं. १६२, १५३ र १५५ को जग्गाको जोताहा मोही भनी फिल्डबुकमा उल्लेख हुनुको अतिरिक्त निजको नाममा १ नं. लगत र २ नं. अनुसूची कायम रहेको अवस्था छ । निजले २०३७ सालमा जोत छोडपत्र गरेको भनिएको कागज घरसारको भएको अवस्थामा सर्जमिनको आधारमा विपक्षीहरूको नाममा हक कायम गर्ने गरेको सुरू र पुनरावेदनको फैसलामा प्रमाणको मूल्याङ्कनसम्बन्धी प्रमाण ऐन, २०३१ को दफा ५४ र अ.बं १८४(क) नं. को त्रुटि तथा सर्जमिनको आधारमा मोही कायम गर्न नमिल्ने भन्ने यस अदालतबाट कायम नजिर (ने.का.प. २०५४, नि.नं ६३४९, पृष्ठ १९६) को पनि विपरीत देखिएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ। नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।१०।२२ को आदेश ।
वादी कृष्णमाया चक्रधर प्रतिवादी दशबहादुर साहुखल भएको निर्णय बदर हक कायम मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०५७।५।२० मा भएको फैसलासहितको मिसिल झिकाई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६७।६।१५ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी दशराम साहुखलको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री केदार ढकाल, श्री शंकर सुवेदी र श्री नारायण झाले १ नं लगत र २ नं. अनुसूचीमा वादी दशराम साहुखलका बाबु दशबहादुरको नाम उल्लेख भएको अवस्था छ । गुठी अधीनस्थ जग्गाको फिल्डबुकमा दशबहादुरको नाम जोताहा महलमा उल्लेख भै १ नं. लगत र २ नं. अनुसूचीमा समेत सोही नाम प्रकाशित भै मोही लगत कायम भएको र गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम खास जोताहा किसानसमेत दशबहादुर भएको स्पष्ट छ । फिल्डबुकमा गुठी जग्गा जनिएको अवस्था छ । मोहीयानी हकको प्राप्ति र समाप्ति कानूनबमोजिम मात्र हुन्छ । त्यसकारण २०३७ सालको कागजले मोहीयानी हक समाप्त हुने होइन । कानूनबमोजिम कायम हुने र समाप्त हुने मोहीयानी हकलाई भूमिसुधार कार्यालयले गरेको सर्जमिनको आधारमा मात्र समाप्त हुने होइन । घरायसी कागजको आधारमा मोहीयानी हक जान सक्तैन र जग्गा जोत्ने कमाउने खास जोताहा किसान नै वास्तविक मोही हुने हुँदा सर्जमिनको आधारमा भएको भूमिसुधार कार्यालय, भक्तपुरको सुरू फैसला र सोलाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी सुरू निवेदन मागबमोजिम वादी दशराम साहुखललाई मोही कायम गरिपाउँ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री प्रेमबहादुर खड्का, श्री बाबुराजा जोशी, श्री वसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री विवेकराज ढुंगेलले कानूनको परिधिभित्र गरिएको घरसारको कागज अन्यथा नभएसम्म मान्य हुने कुरामा विवाद छैन । विपक्षी वादीका बाबुले २०३७ सालमा मैले कमाएको छैन भनेको र जग्गा नकमाएपछि कुत बुझाउने अवस्था पनि भएन । २०२१ सालमा तयार भएको फिल्डबुक र २ नं. अनुसूचीको भरमा विपक्षी वादीको मोहीयानी हक स्थापित हुने अवस्था छैन । गुठी संस्थान ऐन, २०३३ आउनुअघि गुठी अधीनस्थ जग्गामा मोहीयानी हक लाग्ने अवस्था नहुँदा खास जोताहा किसान एकिन गर्ने क्रममा भूमिसुधार कार्यालय, भक्तपुरको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला कानूनसम्मत हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । अब सुरू भूमिसुधार कार्यालयले दावीका कि.नं १६२ र १५३ को जग्गामा प्रतिवादी कृष्णमाया चक्रधर र कि.नं.१५५ को जग्गामा सुरेन्द्र चक्रधरलाई मोही कायम गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन तथा पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यस अदालतबाट मुद्दा दोहोर्याई हेरिने निस्सा प्रदान गर्दा मूलतः फिल्डबुकमा जोताहा मोही पुनरावेदकका बाबु दशबहादुर भनी उल्लेख हुनु, १ नं. र २ नं. अनुसूची पनि निजकै नाममा हुनु, जोत छोडपत्रको घरसारको कागज तथा सर्जमिनको आधारमा विपक्षीको मोहीयानी भनिनुलाई आधार बनाएको देखिन्छ । फिल्डबुक १ नं. र २ नं. अनुसूचीको आधारमा निस्सा दिएको तर्फ विचार गर्दा दावीको १५३, १५५ र १६२ को जग्गाको ज.ध. श्री भादगाउँ तलेजु गुठी भएको देखिँदा विवादित जग्गा गुठीको भएको कुरामा विवाद छैन । गुठी संस्थान ऐन, २०२९ को दफा २६ को प्रतिबन्धात्मक वाक्यांशमा यो ऐन वा भूमिसम्बन्धी ऐन, २०२१ वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गुठी तैनाथी जग्गामा संस्थानले लिखित मञ्जुरी गरी मोहीयानी प्रदान गरेकोमा बाहेक २०३० साल चैत मसान्तसम्म त्यस्तो जग्गामा कसैले मोहीयानी हक प्राप्त गर्ने छैन भन्ने व्यवस्था रहेभएको देखिन्छ । गुठी संस्थानले पुनरावेदक वादीका बाबु दशबहादुर साहुखललाई दावीका जग्गा लिखत मञ्जुरी गरी दिएको अवस्था रहेभएको पनि देखिँदैन । यस प्रकार २०३० साल चैत मसान्तसम्म विवादित जग्गाहरू गुठीको भएकाले यसमा मोहियानी हक तत्काल कसैको पनि हुन सक्ने अवस्था भएन । वादीले पेस गरेको फिल्डबुक २०२१ सालको सर्वे नापीको आधारमा तयार भएको र सोही आधारमा भरेको १ नं लगत र २ नं. अनुसूचीसमेत बनेको हुँदा गुठीको जग्गा भएकाले २०३० सालअघिको भएको कुरा त्यसबाट मोहीयानी तत्काल पाउने अवस्था नरहेको देखियो । उक्त प्रमाणहरू सिर्जित हुँदा तत्कालको अवस्थामा कानूनी महत्त्व त्यसको केही नरहेको देखिन आयो । कानूनी महत्त्व नै नरहने लिखतले कानूनी बल प्राप्त नगर्ने हुँदा त्यस्तो लिखतको आधारबाट हक प्राप्त गर्ने स्थिति हुँदैन । तसर्थ यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान गर्दा फिल्डबुक, १ नं. तथा २ नं. अनुसूचीको आधार लिएको हदमा सहमत हुन सकिएन ।
३. जोत छोडपत्रको घरसारको कागज र सर्जमिनको आधारबाट मोही विषयमा निर्णायक भूमिका साधारणतया रहँदैन । तथापि गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) ले काठमाडौं उपत्यका र पहाड इलाकाको गुठी अधीनस्थ जग्गामा दर्तवालाको सबै हक अधिकार समाप्त भै त्यस्तो जग्गामा खास जोताहा किसानले प्रचलिन कानूनबमोजिम मोहियानी हक पाउँनेछ भन्ने र ऐ. दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानूनबमोजिम मोहीयानी हक पाउनेछ भन्ने व्यवस्था गरेको देखिन्छ । यसरी खास जोताहाले मोहियानी हक प्राप्त गर्ने कुरामा द्विविधा हुने अवस्था रहेन । यो वा त्यो मोही हो भन्ने कानूनी महत्त्व राख्ने प्रमाण नभएको अवस्थामा खास जोताहा को हो भन्ने सन्दर्भमा वास्तविक यथार्थ बुझ्न सर्जमिन भएको देखिन्छ । सर्जमिनको आधारबाट मात्र मोहियानी हक प्राप्त गर्न नसक्ने भए पनि यसले यथार्थमा जग्गा जोत्ने को हो भनी देखाएको वास्तविकतालाई सहज नकार्न सकिँदैन । त्यसैगरी जोत छोडपत्रको घरसारको कागजबाट मात्र पनि मोहियानी हकको प्राप्ति हुन सक्तैन । मोहियानी हक लिनुदिनु गर्दैमा एकबाट अर्कोमा स्वतः मोहियानी सर्दैन पनि । कानूनबमोजिम मोहियानी प्राप्त गर्ने वा छोड्ने प्रक्रिया कानूनले नै निर्धारित गरेको हुँदा सोही प्रक्रियाबाट मोहियानी छोड्ने वा प्राप्त गर्ने हुन्छ । प्रस्तुत मुद्दाको विवादको विषय कानूनबमोजिम स्थापित भएको दर्तावाल मोहिको होइन । अपितु वास्तविक मोही को हो भन्ने विवाद रहेको छ । घरसारको कागजको आधारबाट मोहियानी हक छोड्ने प्रक्रियाबाट मोहियानी हक एउटाबाट सरी अर्कोमा नजाने भए पनि यस्तो व्यवहारबाट वास्तविक स्थितिको बोध गर्दैन भन्न मिल्दैन । दशबहादुरले मोहियानी हक संशोधन गर्न गरिदिएको कागज हुनु र त्यो कागजमा दशबहादुरको छोरा दशराम साहुखल साक्षी बस्नुबाट पनि वास्तविकरूपमा श्यामलालले जग्गा जोतेको तथ्य देखिइरहेको छ । कानूनबमोजिमको दर्तावाला मोही कोही नदेखिएको यस अवस्थामा वास्तविक जग्गा जोत्ने मोही को हो भन्नेसम्मको तथ्यलाई देखाएको नै पाइयो ।
४. भूमिसुधार कार्यालय, भक्तपुरबाट मिति २०६०।६।२६ मा स्थानीय निकाय र प्रतिवादीको रोहबरमा भएको स्थलगत सर्जमिनबाट कि.नं. १५३ र १६२ का जग्गा शिवलाल, शिवलालको मृत्युपछि श्यामलालले र श्यामलालको मृत्युपछि निजको श्रीमती कृष्णमाया चक्रधरले र कि.नं १५५ को जग्गा शिवलाल, शिवलालको मृत्युपछि श्यामलाल र निजको मृत्युपछि निजको छोरा सुरेन्द्र चक्रधरले जोतभोग गरेको देखिन्छ । यसै सन्दर्भमा वादी जनकबहादुर श्रेष्ठ विरूद्ध प्रतिवादी चन्द्रमान साहु श्रेष्ठ भएको जग्गा खिचोला मुद्दामा २०३० चैत मसान्तसम्म गुठी जग्गामा मोहीयानी हक लाग्न सक्तैन भनी सिद्धान्त प्रतिपादन भएको अवस्था छ । तसर्थ वादीले पेस गरेको फिल्डबुक, १ नं. लगत र २ नं. अनुसूची तत्कालको कानूनी व्यवस्थाबाट कानूनी मान्यता नहुने हुँदा त्यसको भरमा मात्र मोही कायम हुन नसक्ने र वादीका पिताले गरेको छोडपत्रको कागज र भूमिसुधार कार्यालयको सर्जमिनको आधारमा वास्तविक जोताहा देखिएका विवादित कि.नं.१५३ र १६२ को जग्गामा प्रतिवादी कृष्णमाया चक्रधरलाई र कि.नं. १५५ को जग्गामा सुरेन्द्र चक्रधरलाई मोही कायम हुने ठहराएको सुरू भूमिसुधार कार्यालय, भक्तपुरको मिति २०६३।८।११ को फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।५।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी दशराम साहुखलको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इति संवत् २०७१ साल असोज २७ गते रोज २ शुभम् ।
इजलास अधिकृत/उपसचिव : विदुर काफ्ले