निर्णय नं. ९२६८ – हातहतियार खरखजाना
सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।२५।४ ०६८-CR-१०९९ मुद्दा : हातहतियार खरखजाना...
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।३।२५।४
०६८-CR-१०९९
मुद्दा : हातहतियार खरखजाना ।
निवेदक/प्रतिवादी : राम योगेश्वर महतोको छोरा, जिल्ला बारा, गा.वि.स उत्तर झिटकैया वडा नं. ५ जन्म घर भई हाल काठमाडौं जिल्ला कारागार कार्यालय, डिल्लीबजार काठमाडौंमा थुनामा रहेको वर्ष ३१ को प्रभातकुमार कुशवाहा
विरूद्ध
विपक्षी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार
§ फौजदारी कसुर जस्तो गम्भीर किसिमको अपराधमा तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको आधारमा मात्र कसुरदार कायम गर्नुपर्ने हुन्छ । तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको अभावमा सहअभियुक्तले पोल गर्ने र सो पुष्टि नभएको र केवल हचुवाको आधारमा अभियोग लगाउने पक्षले अभियो लगाएकै भरमा मात्र कसुदार कायम गर्नु फौजदारी न्यायको सिद्धान्तको मर्म र भावनाविपरीत हुने ।
(प्रकरण नं. ४)
निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ताहरू सुरेश चापागाईं र रामप्रसाद ढुंगेल
विपक्षी/वादी तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुस्कर सापकोटा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३ (२) , ४(२) २०(२) (क) र (ख)
सुरू तहमा फैसला गर्ने :
प्र.जि.अ.श्री लक्ष्मीप्रसाद ढकाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री एकराज आचार्य
मा.न्या.श्री प्रकाशराम मिश्र
फैसला
न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य तथा ठहर यस प्रकार छ :
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ३२, मैतीदेवी धोवीखोला स्थित डा. प्रभातकुमार कुशवाहाले करारमा लिई प्रयोग गर्दै आएको किशोरबहादुर टण्डनको घरको दोस्रो तलाको बीचको कोठामा भारतीय नागरिकहरू अभिषेक सिंह, आशुतोष यादव, प्रदिप शुक्ला र आशिष श्रीवास्तवसमेतलाई फेला पारी खानतलासी लिँदा निजहरू बसेको कोठाको टेबुलको बायाँतर्फको माथिल्लो घर्राबाट अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ELEY मेड इन यु. यस. ए. र म्याग्जिनमा ७७११ लेखिएको पेस्तोल–१ र अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ELEY मेड इन यु.यस. ए. र म्याग्जिनमा १००७ लेखिएको पेस्तोल–१समेत पेस्तोल–२ तथा सो पेस्तोलमा लाग्ने ७.६५ लेखिएको गोली राउन्ड–९ फेला परेको भन्नेसमेत मिति २०६७।६।१५ को बरामदी मुचुल्का र प्रतिवादीहरूलाई पक्राउ गरी दसीसहित पेस गरेको भन्ने प्रहरी प्रतिवेदन ।
डा. प्रभातकुमार कुशवाहाले मलाई हातहतियार छ भने ल्याएर आउनु, आतेजाते र हतियारको खर्च म दिउँला भनेकाले मैले आफूसँग रहेको १ पेस्तोल र २ राउन्ड गोली, मेरो साथी आशिष श्रीवास्तवसँग रहेको हतियार र आशुतोष यादवसँग रहेको गोलीसमेत लिई आशुतोष यादवले व्यवस्था गरेको गाडीमा पेस्तोल २ र गोली ९ लिई आई प्रभातकुमार कुशवाहाको घर डेरामा टेबुलको घर्रामा हतियार र गोलीहरू राखी बसिरहेको अवस्थामा प्रहरी आई पक्राउ गरेको हो भन्नेसमेत प्रतिवादी अभिषेक सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
डा. प्रभात कुमार कुशवाहाले हतियार लिने भनी मेरो चिनजानको साथी आशुतोष यादवसमेतले भनेको हुँदा मसँग भएको पेस्तोल–१ र गोली–२ समेत ल्याएर प्रभातकुमार कुशवाहाको घरमा डेरामा गएको बेलामा पक्राउमा परेका हो भन्नेसमेत प्रतिवादी आशिष श्रीवास्तवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो चिनजानका साथी अभिषेक सिंह र आशिष श्रीवास्तवले नेपालबाट डा. प्रभातकुमारले हतियार मगाएका छन् भनेकाले मसँग रहेको गोली ५ समेत डा. प्रभात कुशवाहाको घर डेरामा लगी गएको अवस्थामा पक्राउमा परेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी आशुतोष यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीमध्येका आशुतोष यादव मेरा चिनजानका मानिस हुन्, निजले मलाई नेपाल घुम्न जाऔँ भनेकाले घुम्न भनी नेपाल आएकोमा प्रभात कुशवाहाको घरमा डेरामा गई बसेका बेला प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत प्रतिवादी प्रदिप शुक्लाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ मा रहेको प्रज्वल के.सी. मार्फत डा. प्रभातकुमार कुशवाहालाई प्रति महिना रू.४०,०००।– भाडामा शिक्षासम्बन्धी परामर्श कार्यको लागि मात्र उपयोग गर्ने गरी मिति २०६७।५।२६ मा करारनामा कागज बनाई दिएको थिएँ । मिति २०६७।६।१५ गते राति प्रहरीले हातहतियार फेला पारी भारतीय नागरिकलाई पक्राउ गरी लिएको कुरा थाहा पाएको हुँ, सो घरको सम्पूर्ण जिम्मेवारी मैले डा. प्रभातकुमार कुशवाहालाई दिएको थिएँ । निजकै संलग्नतामा भारतीय नागरिकहरूले हातहतियार खरखजाना ल्याएको हुनसक्छ भन्नेसमेत किशोरबहादुर टण्डनले मौकामा गरेको कागज ।
मैले किशोरबहादुर टण्डनसँग सम्पर्क गरी मासिक रू.४०,०००।– भाडामा म आफैँ साक्षी बसी निजको घर डा. प्रभातकुमार कुशवाहालाई दिलाई दिएको हुँ, मिति २०६७।६।१६ गते हुने एम.बी.बी.एस. परीक्षाको प्रश्नपत्र सोही १५ गते राति विद्यार्थीलाई उपलब्ध गराउने कुरा भएकोमा सो कुरा थाहा पाएका सोही गिरोहमा संलग्न अन्य व्यक्तिहरूले डा.प्रभातकुमार कुशवाहालाई धम्क्याएको कारण आफ्नो सुरक्षाको लागि प्रभातले भारतीय नागरिकहरू अभिषेक सिंहसमेतका व्यक्तिहरूलाई हतियार सहित बोलाएको भन्ने कुरा डा. प्रभातबाट थाहा पाएका थिए, उक्त हातहतियार सुरक्षाको लागि भारतीय नागरिकहरू मार्फत डा. प्रभातकुमार कुशवाहाले नै ल्याएको हुन् भन्नेसमेत प्रज्वल के.सी.ले मौकामा गरेको कागज ।
प्रहरी प्रतिवेदन, खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवादीहरूको बयान कागज तथा बुझिएका किशोरबहादुर टण्डनसमेतका व्यक्तिहरूले गरेको कागजसमेतको आधार प्रमाणबाट प्रतिवादीहरू अभिषेक सिंह, आशिष श्रीवास्तव, आशुतोष यादव, प्रदिप शुक्ला र प्रभात कुमार कुशवाहासमेतले अवैध हातहतियार खरखजानाको कारोबार र ओसारपसारसमेत गर्ने गरेको वारदात पुष्टि हुन आएकाले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र ४(२) बमोजिम कसुर अपराध गरेको हुँदा निजहरूलाई सोही ऐनको दफा
२०(२)(क) र (ख) बमोजिम सजाय हुन र बरामद भएका हातहतियार खरखजानासमेत सोही ऐनको दफा १६ बमोजिम जफत गरिपाउँ भन्नेसमेत मिति २०६७।७।९ गतेको अभियोगपत्र ।
बरामदी मुचुल्कामा उल्लिखित व्यहोरा र प्रहरीमा गरेको बयान सुनाउँदा सुनें, सो कागजमा भएको सहिछाप मेरै हो, व्यहोरा मैले भनेबमोजिम लेखिएको होइन, म नेपाली नबुझ्ने हुँदा त्यसमा के लेखेको थियो थाहा भएन, पक्राउपर्दाका समयमा १५,१६ जना नेपालीसमेत पक्राउ गरेकोमा सबैलाई छाडेर हामीलाई मात्र फसाएको हो, हतियार र गोलीको बारेमा मलाई केही थाहा छैन, हामी नेपाल घुम्न आएको बेला इन्डियामा चुनाव हुन गइरहेको थियो, त्यसबेला नाकामा निकै कडाइ थियो, हामी गाडीमा हतियार ल्याएर नेपाल आउन सक्ने अवस्था थिएन, हतियार कोकसको हो थाहा भएन भन्नेसमेत प्रतिवादी अभिषेक सिंहले सुरू जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।
प्रतिवादी अभिषेक सिंहले सुरू जिल्ला प्रशासन कार्यालयमा गरेको बयानको मिलान प्रतिवादी आशिष श्रीवास्तव, आशुतोष यादव र प्रदिप शुक्लाले सुरू जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।
प्रतिवादी चारैजना यस कार्यालयमा आई कसुर गरेकोमा इन्कार रही बयान गरेको भए तापनि आशुतोष यादव, आशिष श्रीवास्तव र अभिषेक सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुरमा सावित रही बयान गरेको र प्रदिप शुक्ला पनि निजहरूसँगै पक्राउमा परेको अवस्था विद्यमान रहेको, एकजना प्रतिवादी फरार रही निजको बयान हुन बाँकी रहेको र वारदातस्थलबाट यी ४ जना प्रतिवादीहरू मात्र पक्राउ परेको अवस्था हुँदा अहिले नै यी प्रतिवादीहरू कसुरदार होइनन् होला भनी मान्न मिल्ने अवस्था नहुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी अभिषेक सिंह, आशिष श्रीवास्तव र आशुतोष यादवलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने र प्रतिवादी प्रदिप शुक्लाको हकमा निजलाई हतियारको बारेमा जानकारी थिएन भनी लेखाएको भए पनि निजको असंलग्नता बारेमा पुष्टि हुन बाँकी नै रहेको अवस्थामा निजलाई मुलुकी ऐन, अ.बं. ११८ (५) नं. बमोजिम रू.७५,०००।– नगदै वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु र दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत मिति २०६७।७।१२ गतेमा सुरू जिल्ला प्रशासन कार्यालयबाट भएको थुनछेक आदेश ।
हतियार बरामद भएको भनिएको कोठा डा. नविन शर्मा र डा. उज्वल के.सी. बस्ने गरेको गोप्य कोठा हो, मेरो कोठा होइन । अन्य प्रतिवादीहरू चाइना एम.बी.बी.एस. पढ्न जाने पठाउने सम्बन्धमा मसँग सल्लाह गर्न भनी आएका हुन्, मैले निजहरूबाट कुनै किसिमको हतियार मगाएको छैन, हतियारबारे मलाई केही थाहा छैन, मउपरको आरोप झुट्ठा हो, हतियार मगाएको वा राखेको भए अफिसमा आफू नभएको अवस्थामा राख्ने कुरा नै आउँदैन, म निर्दोष भएकाले नै आफूउपर झुट्ठा आरोप लागेको थाहा पाएर आफैँ हाजिर हुन आएको हुँ । हतियार बरामद भएको भनेको मिति २०६७।६।१५ गते राति म काठमाडौंमा नभई मेरी बहिनी पर्सा, पिपरा (वीरगन्ज) बस्ने इन्दु कुशवाहा प्रसूतीको बिरामी भई National Medical college, वीरगन्जमा भएकाले त्यहाँ थिएँ, म काठमाण्डौँबाट सोही १४ गते त्यता गएको हो । म एक एम.बी.बी.एस. डाक्टरको नाताले हतियार जस्तो आपराधिक कार्यको बारेमा सोच्नसमेत सक्तिन, मैले सस्तोमा एम.बी.बी.एस पढ्न पठाउने कन्सल्टेन्सी खोलेकाले रिस गरेर कसैले मलाई फसाउन यस्तो गरेको हो, हातहतियार खरखजाना र MBBS Entrance परीक्षा सम्बन्धमा मेरो कुनै संलग्नता छैन, म निर्दोष हुनाले मउपरको अभियोगपत्र मागदाबी खारेज गरी मलाई सफाइ दिलाई पाउँ भन्नेसमेत प्रतिवादी डा. प्रभातकुमार कुशवाहाले सुरू जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।
प्रतिवादी प्रभातकुमार कुशवाहा यस कार्यालयमा आई बयान गर्दा आफूले कसुर गरेकोमा इन्कारी रही बयान गरेका भए तापनि निजले भाडामा लिएको घरबाट हातहतियार बरामद भई आएको र पक्राउमा परेका अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा यिनै प्रतिवादी प्रभातकुमार कुशवाहाले हतियार मगाई आफूले ल्याएर आएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेका, हतियार परीक्षण प्रतिवेदनप्राप्त हुन बाँकी रहेको तथा प्रतिवेदकलगायतका व्यक्तिहरू बुझ्न बाँकी रहेको अवस्थामा यी प्रतिवादी अहिले नै कसुरदार होइनन् होला भनी मान्न मिल्ने नहुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४(क) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत मिति २०६७।१०।१९ गते सुरू जिल्ला प्रशासन कार्यालयबाट भएको थुनछेक आदेश ।
बरामदी पेस्तोल २ थान Factory made Pistol हुन्, यिनीहरूमध्ये एउटाको Action Mechanism पूर्णतयाः चालु अवस्थामा छ र अर्कोको चालु अवस्थामा छैन, यिनीहरूबाट फायर भएको देखिन्छ तर मिति एकिन भन्न सकिँदैन र गोली ७ थान 7.76 mm caliber pistol का जीवित र २ थान Misfired गोली हुन्, यिनीहरूप्राप्त पेस्तोलमा फिट हुन सक्छन् भन्नेसमेत मिति २०६७।६।२५ को केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको हतियार परीक्षण प्रतिवेदन ।
प्रतिवादी प्रभातकुमार कुशवाहाका साक्षी धर्मराज साह तेली र भगवानप्रसाद साहले मिति २०६७।६।१५ को घटनाबारेमा आफूलाई केही थाहा छैन, प्रभातकुमार कुशवाहा मेरै गाउँको मसँगै पढेको हुनाले निजको चरित्र ठीकै थियो, निज निर्दोष छ । आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भन्नेसमेत र साक्षी दर्शनप्रसाद कुशवाहाले मेरो बच्चा बिरामी भई म नेशनल हस्पिटल, वीरगन्जमा गएकोमा प्रभात पनि निजकी बहिनी बिरामी भई त्यँही लिएर गएका रहेछन्, त्यहीं चिनजान भएको हो, निज निर्दोष हुनाले फुर्सद दिलाई दिनुपर्छ भन्नेसमेतको सुरू जिल्ला प्रशासन कार्यालयमा भएको बकपत्र ।
प्रतिवादी प्रभातकुमार कुशवाहाले आफू नेपाली भएर पनि विदेशीहरू मार्फत नेपालमा अवैध हातहतियार खरखजाना मगाई हातहतियार खरखजाना ऐनविपरीत जघन्य कसुर गरेको र सो हातहतियार खरखजानाको गलत प्रयोग गरी एम.बी.बी.एस. को प्रवेश परीक्षामा प्रभाव पार्ने र सो विषयमा कायम भएको राष्ट्रको छविलाई नै धुमिल बनाउने बद्नियत राखेको हुनाले र प्रतिवादी अभिषेक सिंह निजको निकटको प्रमुख सहयोगी रहेको देखिनाले निजहरू जना २ लाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) ले जनही कैद वर्ष ४ (चार वर्ष) हुने र प्रतिवादी आशिष श्रीवास्तवले समेत पेस्तोल ल्याएको भन्ने देखिएकाले निजलाई समेत सोही ऐनको सोही दफाबमोजिम कैद वर्ष ३ (तीन वर्ष) हुने र अन्य २ जना प्रतिवादीहरूले गोली मात्र ल्याएको भन्ने देखिएबाट सोही ऐनको दफा २०(३) बमोजिम कसुरको मात्रा हेरी प्रतिवादी आशुतोष यादवलाई रू.६०,०००।– (साठी हजार) र प्रतिवादी प्रदिप शुक्लालाई रू.२०,०००।– (बीस हजार) जरीवाना हुने र बरामद भई आएका हातहतियार खरखजानाहरूसमेत सोही ऐनको दफा १६ बमोजिम जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंको मिति २०६८।३।१२ गतेको फैसला ।
हामी भारतीय नागरिक भएको र पशुपति दर्शनका लागि आएको अवस्थामा हामी भारतीयलाई फसाउनुपर्नेसम्मको कारण मिसिल सामेल प्रकाशित पत्रपत्रिका र बरामदी मुचुल्कालगायतका कारणबाट देखाइएको छ । हामीले आफूखुसी वा बिक्रीका लागि वा कसैले अह्राई उक्त सामान ल्याएको होइन भन्ने तथ्य परीक्षण प्रतिवेदनबाट १ थान बन्दुक काम नलाग्ने २ थान गोली पड्किएको अवस्था रहेको भन्ने देखिएको छ । हामी हतियार खरखजाना ल्याउने मुख्य भूमिका गर्ने प्रभातसँग टेलिफोन वार्ता भएको लगायतको प्रमाण वादी पक्षले दाखिल प्रमाणित गर्न नसकेकोमा हातहतियार भण्डारण गर्ने हातहतियार खरिद गर्ने मगाउने जस्ता मनोगत आधारमा आत्मनिष्ठरूपमा गरिएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी आशुतोष यादव र प्रदिप शुक्लाले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदनपत्र ।
फौजदारी मुद्दामा अभियुक्तमाथि लगाइएको आरोप वादी पक्षले शङ्कारहित रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ । प्रमाण ऐनको दफा १८ बमोजिम कुनै पनि साक्षी प्रमाणबाट हामी विरूद्धको अभियोग प्रमाणित गर्न सकेको अवस्था छैन । नेपाल सरकारको कुनै साक्षी सबुद प्रमाणबाट हाम्रो कसुर प्रमाणित गरेको अवस्था छैन । प्रमाण ऐन, २०३१ को दफा २५ को पूर्ण उपेक्षा गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी अभिषेक सिंह र आशिष श्रीवास्तवले पुनरावेदन अदालत, पाटनमा चढाएको पुनरावेदनपत्र ।
म पुनरावेदक एम.बी.बी.एस. डाक्टर हुँ । मेडिकल पढ्न चाहने विद्यार्थीहरूको लागि विभिन्न विदेशस्थित विश्वविद्यालयमा सहयोग र मद्दत गर्ने उद्देश्यबाट कन्सल्टेन्सी सञ्चालन गरी आएको हुँ । मेरो बसोवाससमेत ललितपुर जिल्लामा नै रहे भएको अवस्थामा मैले हातहतियार मगाउने खरिद गर्ने अवस्था छैन । मैले कुनै कसुर गरेको नहुँदानहुँदै पनि मलाई कसुरदार ठहर्याएको र हातहितयार परीक्षण प्रतिवेदनबाट एउटा हतियार काम नलाग्ने र २ ओटा गोली पड्किएको अवस्था छ । सहअभियुक्त अभिषेक सिंहको प्रहरीसमक्षको बयानमा ८, १० दिन पहिले फोन गरेको उल्लेख भएकोमा के कुन नं. को फोनमा कहिले फोन गरे सो उल्लेख छैन, कल डिटेलसमेत नहुँदा सहअभियुक्तको मनोगत भनाइलाई आधार लिई मलाई दोषी ठहर्याई भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी प्रभातकुमार कुशवाहाले पुनरावेदन अदालत, पाटनमा चढाएको पुनरावेदनपत्र ।
भारतदेखि हतियार बेच्ने नै उद्देश्यले नेपाल आई सो कार्य सम्पन्न गरिसकेको, निजहरूसँग हतियार राख्ने अनुमतिपत्र नरहेकोसमेतका आधार प्रमाणलाई स्वीकार गरी निजहरूले “हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३ (२) र ४ (२) बमोजिमको कसुर गरेको ठहर्छ” भनी ठहर गरिसकेपछि यी दुई जना प्रत्यर्थीहरूलाई मात्र भारतबाट खरखजाना गोली मात्र ल्याएको भन्ने हचुवा आधार लिई दफा २०(२) बमोजिम सजाय नगरी दफा २०(३) अनुसार न्यून जरिवाना मात्र गर्ने गरी भएको फैसला आफैँमा विरोधाभासपूर्ण छ । एकैसाथ एउटै कसुरमा संलग्न प्रतिवादीहरूलाई पृथकपृथक कसुर कायम गरी सजाय गर्ने फैसलामा न्यायिक मनको अभाव देखिन आएको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादी आशुतोष यादव र प्रदिप शुक्लाको हकमा उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारले पुनरावेदन अदालत, पाटनमा चढाएको पुनरावेदनपत्र ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको मिति २०६८।३।१२ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट र प्रतिवादीमध्येका प्रदिप शुक्ला र आशुतोष यादवको हकमा वादी नेपाल सरकारको तर्फबाटसमेत पुनरावेदन दर्ता भएको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ उक्त पुनरावेदनहरू परेको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय तथा प्रतिवादी प्रदिप शुक्ला र आशुतोष यादवलाई दिई नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८।७।१ गतेको आदेश ।
पुनरावेदक प्रतिवादी प्रभातकुमार वारदातका मूल योजनाकार रहेको पुष्टि भएको र निजको निर्देशन मतसल्लाहले हातहतियार जम्मा गरी पुनरावेदक प्रतिवादी आशिष श्रीवास्तवसमेतलाई हातहतियार र गोलीसहित भारतबाट नेपालसम्म ल्याउने प्रमुख भूमिका खेलेका पुनरावेदक प्रतिवादी अभिषेक सिंह देखिन आएकाले प्रभातकुमार कुशवाहा र अभिषेक सिंहलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) अनुसार कसुरको मात्रा अनुसार कैद वर्ष ४ (चार) का दरले र आफूसँग भएको पेस्तोल र गोली २ राउन्डसमेत दिई लिई अभिषेक सिंहको साथ लागी आएकाले ऐ.को दफा २०(२) अनुसार पुनरावेदक प्रतिवादी आशिष श्रीवास्तवलाई कैद वर्ष ३ (तीन) तथा पुनरावेदक प्रतिवादी आशुतोष यादवले पाँच राउन्ड गोली दिई हातहतियार साथमा लिई हिँडेको पुनरावेदक प्रतिवादी अभिषेक सिंहसमेतको साथ लागी आएकाले ऐ. को दफा २०(३) अनुसार पुनरावेदक प्रतिवादी आशुतोष यादवलाई रू.६०,०००।– (साठी हजार) र प्रदिप शुक्लालाई रू.२०,०००।– (बीस हजार) रूपैँया जरिवाना गर्ने गरेको सुरूको फैसला मनासिब देखिँदा पुनरावेदक वादी र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन भनी मिति २०६८।९।५ मा पुनरावेदन अदालत, पाटनबाट भएको सुरू सदर फैसला ।
हात हतियार बरामद भएको भनिएको घर म निवेदक रहने बस्ने ठाउँ भएको नभै कार्यालय प्रयोजनको लागि लिइएको कन्सल्टेन्सीको कार्यालय हो । बरामद भएको भनिएको कोठा डा. नविन शर्मा र डा. उज्वल के. सी. बस्ने गरेको गोप्य कोठा हो । बरामदी मुचुल्का र प्रहरी प्रतिवेदनबाट अन्य प्रतिवादीहरूलाई राति पक्राउ गरिएको देखिन्छ । बरामदी मुचुल्कामा न त घरधनी किशोर कुमार टण्डनलाई रोहबरमा राखिएको छ न त म निवेदक छु । बरामदी मुचुल्कामा घर रेखदेख गर्ने मानिस भनेर निर्मल गिरीलाई रोहबरमा राखिएको छ । तर निर्मल भन्ने मानिसको अड्डामा झिकाई बरामदीको सनाखत बकपत्रसमेत गरिएको छैन । सहअभियुक्तको पोल स्वतन्त्ररूपमा पुष्टि हुनपर्छ । प्रहरीसमक्ष सहअभियुक्तहरूले गरेको पोल मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्दैन । बरामद मिति समयमा म निवेदक प्रतिवादी बहिनी बिरामी भएको कारण वीरगन्ज National Medical College मा छु । उक्त जिकिरको पुष्टि मेरो साक्षीहरू धर्मराज साह तेली, भगवान शाह र दर्शनप्रसाद कुशवाहले अड्डामा गरेको बकपत्रबाट निर्विवाद पुष्टि हुन्छ । विपक्षी वादीबाट अड्डामा कुनै साक्षी बकपत्र नगराइएकाले मेरो साक्षी प्रमाणको बकपत्र वस्तुनिष्ठ र निर्विवादरूपमा अकाट्य छ । यसरी म निवेदकले लिएको Alibi को जिकिरलाई साक्षीको बकपत्रबाट पुष्टि भएको अवस्थामा पनि त्यसतर्फ प्रमाणको मूल्याङ्कन नै गरिएको छैन । म निवेदक प्रतिवादी आफैँ अड्डामा म्यादैभित्र हाजिर भै बयान गरेको छु । त्यो ममाथि लगाइएको झुट्ठा आरोपको खण्डन गर्ने दायित्व सम्झेर र न्याय सम्पादनमा सहयोग गर्ने उद्देश्यले गरेकाले मेरो अड्डासमक्ष गरेको बयान आफैँमा महत्वपूर्ण प्रमाण हो । तसर्थ मलाई आरोपित कसुरमा सजाय गर्ने गरी भएको सुरू तथा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरिपाउँ भनी प्रभातकुमार साहले मिति २०६८।१०।२९ मा मुद्दा दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा चढाएको निवेदनपत्र ।
यसमा निवेदक प्रतिवादी प्रभातकुमार कुशवाहा घटनास्थलमा उपस्थित नरहेको, बरामदी मुचुल्कामा बस्ने व्यक्तिहरू तथा प्रतिवेदकसमेतले सुरू मुद्दा हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंसमक्ष उपस्थित भई बकपत्र गरेको नदेखिएको र अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा यी निवेदक प्रतिवादीलाई पोल गर्ने सहप्रतिवादीहरूले अदालतसमक्ष कसुर गरेको कुरामा इन्कार रही बयान गरेको परिप्रेक्ष्यमा त्यस सम्बन्धमा
विवेचना नगरिएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।५ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, १८, ५४ तथा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको १८४ क नं. को त्रुटि विद्यमान देखिएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) अनुसार दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षीलाई झिकाई नियमानुसार गर्नु भन्ने मिति २०६८।१२।१५ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रभातकुमार साहका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ताहरू श्री सुरेश चापागाईं र रामप्रसाद ढुंगेलले प्रतिवादी प्रभातकुमार कुशवाहा हतियार बरामद भएको भनिएको स्थानमा उपस्थित छैनन् । बरामद भएको भनिएको घरको घरधनीलाई पनि बरामदी मुचुल्कामा रोहबरमा राखेको देखिँदैन । बरामदी मुचुल्कामा सहिछाप गर्ने व्यक्तिहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित भई बकपत्र गरेको अवस्था छैन । तसर्थ, प्रतिवादी प्रभातकुमार कुशवाहाले अभियोग मागदावीबाट सफाइ पाउनुपर्छ भनी बहस गर्नुभयो ।
विपक्षी वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री पुस्कर सापकोटाले पुनरावेदक प्रतिवादी प्रभातकुमार कुशवाहा आरोपित कसुरका मुख्य योजनाकार रहेको र प्रभातकुमार कुशवाहाकै डेरा कोठाबाट हातहतियार खरखजाना बरामद भएकाले अभियोग दावीबमोजिम सजाय ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
उपर्युक्त विद्वान् वरिष्ठ अधिवक्ता एवम् विद्वान् अधिवक्ताहरू र विद्वान् उपन्यायाधिवक्ताको बहससमेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दामा पुनरावेदन प्रतिवादी प्रभातकुमार कुशवाहालई अभियोग वादीबमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के हो र पुनरावेदक प्रतिवादी प्रभातकुमार कुशवाहाको पुनरावेदन जिकिर पुग्न सक्ने वा नसक्ने के हो भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने भएको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू अभिषेक सिंह, आशिष श्रीवास्तव, आशुतोष यादव, प्रदिप शुक्ला र प्रभातकुमार कुशवाहासमेत प्रतिवादी जना पाँचले अवैध हातहतियार खरखजानाको कारोबार र ओसारपसारसमेत गरेकाले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३ (२) र ४(२) बमोजिमको कसुर अपराध गरेको हुँदा निजहरूलाई सोही ऐनको दफा २०(२) (क) र (ख) बमोजिम सजाय गरी बरामद भएका हातहतियार खरखजानासमेत जफत गरी पाउन अभियोगपत्र दायर भएकोमा प्रतिवादी प्रभातकुमार कुशवाहा र अभिषेक सिंहसमेतलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) बमोजिम जनही कैद वर्ष ४(चार वर्ष), प्रतिवादी आशिष श्रीवास्तवलाई सोही दफाबमोजिम कैद वर्ष ३(तीन वर्ष) हुने र अन्य २ जना प्रतिवादीहरू आशुतोष यादवलाई रू. ६०,०००।– र प्रतिवादी प्रदिप शुक्लालाई रू.२०,०००।– जरिवाना र बरामदी हातहतियार ऐनको दफा १६ बमोजिम जफत हुने ठहर्छ भन्ने सुरू काठमाडौ जिल्ला अदालतबाट फैसला भएउपर वादी तथा प्रतिवादीहरू दुबै पक्षको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनले सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने ठहर गरेउपर प्रतिवादी प्रभातकुमार कुशवाहाको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन पर्न आएको र यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई आएको अवस्था छ । प्रतिवादी प्रभातकुमार बाहेक अन्य प्रतिवादीहरूको कुनै निवेदन परेको देखिँदैन । प्रतिवादीहरू अभिषेक सिंह, आशिष श्रीवास्तव, आशुतोष यादव र प्रदिप शुक्लाले पुनरावेदन अदालतको
फैसलाउपर कुनै उजुर बाजुर नगरी चित्त बुझाई बसेकाले र निजहरू अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा सावित रही यी पुनरावेदकको अवस्था भन्दा भिन्न रहेको समेतको कारणहरूबाट निजहरूको हकमा अब विचार गर्नुपरेन । पुनरावेदक प्रभातकुमार कुशवाहाको हकमा मात्र सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भनी विचार गर्नुपर्ने देखिन आयो ।
३. प्रतिवादी प्रभात कुशवाहा आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । निजबाट पेस्तोल वा गोली बरामद भएको पनि देखिँदैन । पेस्तोल गोलीसहित पक्राउ पर्ने प्रतिवादीहरू प्रभातले करार गरी लिएको कोठाबाट समातिएको र तिनीहरूले प्रभातलाई पोल गरेको कारणबाट निजलाई कसुरदार ठहर गरी सजाय गर्ने फैसला जिल्ला तथा पुनरावेदन अदालतबाट भएको देखिन्छ । पेस्तोल र गोलीसहित अन्य प्रतिवादीहरूलाई पक्राउ गर्दा प्रभात त्यहाँ नभएको स्थिति छ । डेरा प्रभातकुमारले लिएको भए पनि अन्य डाक्टरहरूले पनि त्यो कोठा प्रयोग गर्ने गरेको तथ्यहरू देखिएको छ । प्रभातकुमार सीधासीधै आरोपित कसुरमा संलग्न भएको अवस्था देखिँदैन । केवल सहअभियुक्तको पोल मात्र निजको विरूद्ध प्रमाण लगाइएको देखिन्छ । अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा साबित भई प्रभातकुमार लाई पोल गरे पनि सहअभियुक्तहरूले प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालयमा बयान गर्दा कसैले पनि प्रभातकुमार कुशवाहालाई पोल गर्न सकेको देखिँदैन । वारदातको समयमा प्रभातकुमार कुशवाहा वारदात स्थलमा नरही अन्यत्र रहेको जिकिर लिएका छन् र त्यो जिकिरलाई आफ्नो साक्षी द्वारा बकपत्र गराई पुष्टि भइरहेको स्थिति पनि छ ।
४. सहअभियुक्तहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट खम्बिररूपमा पुष्टि भएको हुनुपर्दछ । त्यस्तो अवस्था प्रस्तुत मुद्दाका सन्दर्भमा देखिँदैन । फौजदारी कसुर जस्तो गम्भीर किसिमको अपराधमा तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको आधारमा मात्र कसुरदार कायम गर्नुपर्ने हुन्छ । तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको अभावमा सहअभियुक्तले पोल गर्ने र सो पुष्टि नभएको र केवल हचुवाको आधारमा अभियोग लगाउने पक्षले अभियोग लगाएकै भरमा मात्र कसुदार कायम गर्नु फौजदारी न्यायको सिद्धान्तको मर्म र भावनाविपरीत हुन्छ । वारदात हुँदाको अवस्थामा वारदात स्थलमा अभियुक्त बनाएका यी प्रतिवादी प्रभात कुमार कुशवाहा नहुनु सहअभियुक्तहरूको पोललाई अधिकारीसमक्षको बयानमा पोल गर्नेहरूले इन्कार रही बयान गरेको र अन्य कुनै स्वतन्त्र प्रमाणबाट खम्बिर नभएको अवस्थासमेतको आधार र कारणहरूबाट वादी पक्षको पुनरावेदक प्रभात कुमार कुशवाहाउपरको अभियोग दावी प्रमाणबाट पुष्टि हुनसकेको देखिन आएन ।
५. तसर्थ माथि विवेचित आधार र कारणहरूबाट अभियुक्त प्रभातकुमार कुशवाहालाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३ (२) र ४ (२) बमोजिम ४ वर्ष कैद हुने ठहर्याएको फैसलालाई सदर गर्ने ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला पुनरावेदक प्रतिवादी प्रभातकुमार कुशवाहाको हकमा उल्टी भई निज प्रतिवादी प्रभातकुमार कुशवाहाले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । सो ठहरेकाले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी प्रभातकुमार कुशवाहाके माथि ठहर खण्डमा लेखिएबमोजिम अभियोग दावीबाट सफाइ पाउने ठहरेकाले निज प्रतिवादीलाई अन्य कुनै मुद्दाबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दाबाट आजै थुनामुक्त गरिदिनु भनी कारागार कार्यालय डिल्लिबजार, काठमाडौंमा लेखि पठाइदिनू ……………………………………….१
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी प्रभातकुमार कुशवाहाले अभियोग दावीबाट सफाइ पाउने ठहरी फैसला भएकाले प्रतिवादीलाई सुरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंको फैसलाको तपसिल खण्डको प्रकरण नं. १ मा कैद वर्ष ४–०–० गर्ने गरी राखिएको लगत कट्टा गर्नु भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा लेखीपठाउनू ……………………………………२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू …..३
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल असार २५ गते रोज ४ शुभम् ।
इजलास अधिकृतः रामप्रसाद बस्याल