November 25, 2014
Created by nepalarchives

निर्णय नं. ९२६३ – सरकारी छाप दस्तखत किर्ते

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री  चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।८।९।३ ०६७ – CR – ००७०...

सर्वोच्च अदाल, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री  चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।८।९।३

०६७ – CR – ००७०

 

मुद्दा : सरकारी छाप दस्तखत किर्ते ।

 

पुनरावेदक/वादी : त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुको पत्र जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला रूकुम, विजयेश्वरी गा.वि.. वडा.नं.४ नाखिरा बस्ने यदुकुमार आचार्य

 

§  विवादित Certificate प्रतिवादी आफूले लिएको नभई गाउँकै दाइ नाता पर्ने व्यक्तिले लिइदिएको भनी प्रतिवादीले इन्कारी बयान गरे तापनि अभियुक्तले गरेको त्यस्तो इन्कारी बयान तथ्ययुक्त एवम्ठोस सबुद प्रमाणबाट समर्थित हुनुपर्दछ । केवल आरोपित कसुरमा इन्कार रहेकै कारणले मात्र अभियुक्तलाई निर्दोष मान्न मिल्दैन । विवादित Certificate बाट निज प्रतिवादीलाई बाहेक अरू कसैलाई फाइदा हुने नदेखिने ।

§  आफूलाई मात्र फाइदा हुने र आफैँसँग रहने कुरा अरू कसैले किर्ते गरी दिएको भन्न मिल्ने अवस्था नदेखिँदा आरोपित कसुर निज प्रतिवादीले नगरेको एवम्नगराएको भन्ने अवस्था नहुँदा प्रतिवादीले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीतको कसुर गरेको देखिने ।

(प्रकरण नं. )

§  प्रतिवादीले पेस गरेको Certificate बाट बिगो खुल्ने अवस्था नदेखिएको र सो Certificate नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट जारी हुने Certificate भएकाले प्रतिवादीलाई उल्लिखित कानूनी ब्यवस्थाबमोजिम किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०। जरिवाना भई सरकारी कर्मचारीको दस्तखत किर्ते गरेकोमा ऐजन महलको १२ नं. बमोजिम थप १ वर्ष कैद हुने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता खेमराज भट्ट

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता मोहनमूर्ति पन्त

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, किर्ते कागजको महलको ९ र १२ नं.

 

फैसला

न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यस प्रकार छ :

            त्रि.वि. अन्तर्गतको सुर्खेत क्याम्पसका विद्यार्थी यदुकुमार आचार्यले त्रि.वि. रजिस्ट्रेसनका लागि यस कार्यालयमा पेस गरेको कागजातहरूको फोटोकपिमध्ये त्रि.वि. पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने Certificate of Equivalence मा गरिएको हस्ताक्षर प्रमाणीकरणको लागि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले लेखेको पत्रको जवाफ समानस्तर निर्धारण शाखा प्रमुख श्रीमती गीता रेग्मीको नाममा गरिएको हस्ताक्षर गलत भएको भन्ने पत्र प्राप्त हुन आएकाले गलत हस्ताक्षर गरिएको देखिएकाले सरकारी छाप दस्तखत किर्ते गर्ने जिल्ला रूकुम, चौरजहारीमा मिति इ.सं १९७३२१ मा जन्मिएका यदुकुमार आचार्यलाई आवश्यक कारवाही गरिपाउँ भन्ने त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुको मिति २०६३।९।६ को पत्र जाहेरी ।

            म दुर्गम स्थानमा बस्ने भएकाले २०५१ सालतिर आइ.एस्सी. पास गरेका कागजातहरू समानस्तर निर्धारणका लागि त्रि.वि. कीर्तिपुरमा पेस गरी घरमा गएको र पछि मेरो दाइ नाता पर्ने ऋषिराम आचार्य काठमाडौं आउने काम परेकाले निजलाई Equivalence को लागि कागजात पेस गरेको छ, Equivalence गरी ल्याई दिन भनी पठाएकोमा २०५४ सालमा उक्त Certificate of Equivalence निज दाइले के कसरी ल्याइदिनुभयो थाहा भएन । तर उक्त सर्टिफिकेटमा भएको हस्ताक्षर भने मेरो नै हो । सोही सर्टिफिकेटबाटै सुर्खेत क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ भर्ना भई बि.एड. क्लियर गरी रजिस्ट्रेसन रोकिएको कारण म २०६३ सालमा काठमाडौं आउँदा बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई रजिस्ट्रेसन लिने क्रममा सम्बन्धित शाखाबाट मेरो कारवाही प्रक्रियामा रहेको, कारवाही प्रक्रिया पूरा भएपछि शिक्षा क्याम्पस सुर्खेतमा नै पठाइदिने मौखिक जानकारी पाएपछि म आफ्नो घर रूकुम फर्की बसिरहेको समयमा चौरजहारी स्थित घरमा स्थानीय प्रहरीद्वारा मलाई काठमाडौं स्थित महानगरीय प्रहरी वृत्त कालिमाटी हाजिर हुन जाने भन्ने जानकारी पाएपछि म प्रहरीको साथ लागी यस कार्यालयमा आउँदा हाल उक्त सर्टिफिकेट गलत भएको भन्ने थाहा पाएको हुँ । उक्त सर्टिफिकेट हाल यसै कार्यालयको प्रहरी सुरक्षा गार्ड कोठामा राखेकोमा प्रहरीद्वारा बरामदसमेत भइसकेको छ भन्नेसमेत व्यहोराको प्रतिवादी यदुकुमार आचार्यले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            यसै कार्यालयमा प्रतिवादी यदुकुमार आचार्यको झोला राखिएकोमा सो झोला खानतलासी गर्दा Tribhuvan University Office of The Rector Curriculum Development Centre Certificate of Equivalence प्रमाणपत्र थान १ बरामद गरिएको भन्नेसमेत व्यहोराको मिति २०६४।९।२ को बरामदी मुचुल्का ।

करिब २०।२१ वर्षदेखि यस त्रि.वि. को समानस्तर निर्धारण शाखामा शाखा प्रमुखको रूपमा कार्यरत छु । विभिन्न मुलुकका सर्टिफिकेटहरूलाई स्तर निर्धारण गर्ने क्रममा निवेदनसहितको प्रमाणपत्रहरू लिने र मान्यता दिन मिल्ने नमिल्ने सम्बन्धमा विश्वविद्यालयको रेकर्ड हेरी Equivalence गर्ने गरिन्छ । मलाई देखाइएको नं. S.N.७०२३९ भएको Certificate of Equivalence को Curriculum Development Centre को महलमा भएको सहिछापसमेत कुनै पनि हस्तलिपि मैले गरेको होइन, को कसले उक्त प्रमाणपत्रमा उल्लिखित कुराहरू लेखे र मेरो पनि हस्तलिपि गरे मलाई थाहा भएन । उक्त प्रमाण पत्रमा मैले सही गर्ने गरेको भए पनि उक्त मेरै नामको नक्कली सहिछाप भएको प्रमाणपत्र को कसबाट जारी भयो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको बुझिएको गीता रेग्मीले गरेको मिति २०६४।९।२ को कागज ।

            प्रतिवादी यदुकुमार आचार्यले प्राप्त गरेको Certificate of Equivalence को सक्कलै प्रमाणपत्र परीक्षणार्थ पठाइएको भन्नेसमेत व्यहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगन्ज, काठमाडौंलाई लेखेको मिति २०६४।९।३ को पत्र ।

            करिब ७ वर्षदेखि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुको प्रशासन शाखामा सहपरीक्षा नियन्त्रक पदमा कार्यरत रहेको छु । त्रि.वि. मा रजिस्ट्रेसन गर्ने सिलसिलामा रजिस्ट्रेसन शाखामा यदुकुमार आचार्यले पेस गरेको Certificate of Equivalence मा हस्ताक्षर गर्ने गीता रेग्मीको हस्ताक्षरमा सम्बन्धित शाखाले शङ्का गरेको हुँदा प्रमाणीकरणको लागि पाठ्यक्रम विकास केन्द्रमा सोधी पठाएको र उक्त कार्यालयबाट सम्बन्धित व्यक्तिको हस्ताक्षर गलत भएको भन्ने पत्रद्वारा जानकारी गराएको हुँदा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा पठाइएको हो भन्नेसमेत व्यहोराको परीक्षा नियन्त्रण कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालेका सहपरीक्षा नियन्त्रक विपिनध्वज कार्कीसमेतको मिति २०६४।९।४ गतेको कागज ।

            प्रतिवादी यदुकुमार आचार्यले त्रिभुवन विश्वविद्यालयमा रजिस्ट्रेसन नम्बर रजिस्ट्रेसनको लागि त्रिभुवन विश्वविद्यालय समान स्तर निर्धारण शाखामा सोही कार्यालयका कर्मचारी गीता रेग्मीको नाममा नक्कली दस्तखत किर्ते गरी Certificate of Equivalence नक्कली बनाएको हुँदा प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. मा परिभाषित ऐ. ९ र १२ नं. बमोजिम कसुर गरेको हुँदा प्रतिवादी यदुकुमार आचार्यलाई सोही महलको ९ र १२ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगपत्र ।

            यसमा Certificate of Equivalence को लागि फर्म भरी दाइ ऋषीराम आचार्यलाई ल्याइदिनु भनेकोमा निजले निकाली ल्याई दिएपछि मैले शिक्षा क्याम्पस, सुर्खेतबाट बि.एड. उत्तीर्ण गरेको र ट्रान्सक्रिप्ट निकाल्ने प्रयोजनको लागि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सो Certificate of Equivalence को प्रतिलिपिसमेत पेस गर्दा समानस्तर निर्धारण शाखा प्रमुख श्रीमती गीता रेग्मीको नाउँमा गरिएको हस्ताक्षरसमेत गलत भनी ट्रान्सक्रिप्ट नदिई आवश्यक कारवाहीको लागि प्रहरीमा पठाएको हो । मेरो सर्टिफिकेटमा भएको मेरो नाउँको हस्ताक्षर मैले गरेको हुँ । गीता रेग्मीको नाउँको हस्ताक्षर मैले गरेको होइन । को कसले हस्ताक्षर गरेको हो थाहा भएन । मौकाको बयानको व्यहोरा र सहिछाप मेरै हो । मेरो नाउँको हस्ताक्षर मैले किर्ते नगरेको, मैले सरकारी छाप दस्तखत किर्तेसमेत नगरेको हुँदा मलाई सजाय हुने होइन, सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी यदुकुमार आचार्यले अदालतमा गरेको बयान ।

            विवादित Certificate of Equivalence को कागजसमेत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट परीक्षण भई प्राप्त भएको प्रतिवेदन मिसिल सामेल रहेको छ ।

            प्रतिवादी यदुकुमार आचार्यले अभियोग दावीबमोजिमको कसुर गरेको देखिएकाले निजलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ र १२ नं. बमोजिम एक वर्ष कैद र रू.५०।जरिवाना हुने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।५।३ को फैसला ।

            मेरो नाउँमा जारी भएको सर्टिफिकेट तथा त्यसमा लागेको त्रि.वि. को छाप आदि सम्पूर्ण नै किर्ते हो भनी वादी पक्षले अभियोग लगाउन र स्वयम्काठमाडौं जिल्ला अदालतले पनि ठहराउन नसकी उक्त प्रमाणपत्र र छाप सक्कलै भएको कुरा पुष्टि भइरहेको अवस्थामा त्रि.वि. को कर्मचारी गीता रेग्मीको दस्तखत मैले किर्ते गर्न सक्ने अवस्था पनि नहुँदा अनुमानको भरमा सुरू अदालतले मलाई कसुरदार कायम गरेको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी यदुकुमार आचार्यको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन ।

            प्रमाण ऐन, २०३१ को दफा ५२ को प्रयोजनार्थ विशेषज्ञलाई पक्षहरूबाट जिरह गर्ने अवसर नदिई सुरूबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।१।२० को आदेश ।

            विवादित सर्टिफिकेटसमेतका कागजात तयार गर्ने गराउने व्यक्ति एकिन नभए तापनि मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. अनुसार सो लिखत कागजबाट फाइदा पाउने व्यक्ति यी पुनरावेदक प्रतिवादी यदुकुमार आचार्य देखिन्छन् । मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. ले किर्ते गरेकोमा बिगो नखुलेको हकमा रू.५०।सम्म जरिवाना गर्नुपर्ने भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दामा पनि बिगो खुलेको नदेखिँदा निज प्रतिवादी यदुकुमार आचार्यलाई ऐ. ९ नं. बमोजिम रू. ५०।जरिवाना हुने ठहर्छ । निज प्रतिवादीलाई मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. बमोजिम एक वर्ष कैद गर्ने गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।५।३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२५ को  फैसला ।

            परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत समानस्तर निर्धारण गर्ने कार्यालय नेपाल सरकार भएको र त्यहाँ कार्यरतकर्मचारी नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत रहने कुरामा विवाद नभएको र त्यस्तो सरकारी कर्मचारीको दस्तखत किर्ते भएको पुष्टि भइरहेको अवस्थामा किर्ते कागजको १२ नं. बमोजिम प्रतिवादीलाई थप सजायसमेत गर्नुपर्नेमा सो नगरेको हदसम्मको पुनरावेदन अदालतको उक्त फैसला त्रुटिपूर्ण रहेकाले बदर उल्टी गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

            किर्ते कागजको ९ र १२ नं. को अवस्था स्वीकार गरी कागजलाई किर्ते मान्दामान्दै पनि सुरू काठमाडौं जिल्ला अदालतले सो अनुसार गरेको कैद वर्ष १ को फैसला खण्डलाई उल्टाएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।२५ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने यस अदालतको मिति २०७०।९।७ को आदेश ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फका विद्वान् सरकारी उपन्यायाधिवक्ता श्री खेमराज भट्ट तथा प्रत्यर्थी प्रतिवादीतर्फका विद्वान् अधिवक्ता श्री मोहनमूर्ति पन्तले गर्नुभएको बहससमेत सुनियो ।

            यसमा प्रतिवादी यदुकुमार आचार्यले त्रि.वि. रजिस्ट्रेसनका लागि त्रिभुवन विश्वविद्यालय, समान स्तर निर्धारण शाखाका शाखा प्रमुख गीता रेग्मीको नामको नक्कली दस्तखत भएको Certificate of Equivalence पेस गरेको हुँदा निजलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ र १२ नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोगपत्र पेस भएकोमा अभियोग दाबीबमोजिम प्रतिवादीलाई एक वर्ष कैद र रू.५०।जरिवाना हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०।जरिवाना हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी पक्षको प्रस्तुत पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।

            अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भएको छ ।

. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी यदुकुमार आचार्यलाई किर्ते कागजको महलको ९ नं. अनुसार जरिवाना हुने ठहर भएको पुनरावेदन अदालतको फैसलाउपर निज प्रतिवादीको पुनरावेदन परेको नदेखिँदा त्यसतर्फ केही विचार गरिरहन परेन ।

. अब निज प्रतिवादीलाई किर्ते कागजको महलको १२ नं. बमोजिम थप सजायसमेत गर्नुपर्नेमा सो नगरेको हदसम्मको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, प्रतिवादी यदुकुमार आचार्यले पेस गरेको Certificate of Equivalence को हस्ताक्षरमा शङ्का लागेकाले सोको प्रमाणीकरण गरी पठाइदिनुहुन भनी त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पाठ्यक्रम विकास केन्द्रलाई मिति २०६३।९।३ मा लेखेको पत्र, उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर यस केन्द्रको समानस्तर निर्धारण शाखाको शाखा प्रमुख गीता रेग्मीको नभएको भन्ने त्रि.वि. शिक्षाध्यक्ष कार्यालयको जवाफ, उक्त Certificate मा भएको सहिछापसमेतका कुनै पनि हस्तलिपि आफूले नगरेको भनी गीता रेग्मीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, विवादित Certificate मा भएको सहिछाप गीता रेग्मीको नभएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन तथा उक्त Certificate मा गीता रेग्मीको नाउँबाट भएको दस्तखत किर्ते भएको भन्ने कुरा हाल थाहा भएको भनी प्रतिवादी यदुकुमार आचार्यले गरिदिएको बयानसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी यदुकुमार आचार्यले त्रि.वि. रजिस्ट्रेसनका लागि पेस गरेको Certificate of Equivalence मा त्रि.वि. समानस्तर निर्धारण शाखाकी शाखा प्रमुख गीता रेग्मीको नामको नक्कली दस्तखत भएको किर्ते Certificate पेस भएको भन्ने कुरामा विवाद भएन ।

. अब उक्त Certificate किर्ते गर्ने कार्यमा यी प्रतिवादी यदुकुमार आचार्यको संलग्नता रहे नरहेको के रहेछ भन्ने सम्बन्धमा विचार गर्दा, विवादित Certificate प्रतिवादी आफूले लिएको नभई गाउँकै दाइ नाता पर्ने व्यक्तिले लिइदिएको भनी प्रतिवादीले इन्कारी बयान गरेको देखिन्छ । तर अभियुक्तले गरेको त्यस्तो इन्कारी बयान तथ्ययुक्त एवम्ठोस सबुद प्रमाणबाट समर्थित हुनुपर्दछ । केवल आरोपित कसुरमा इन्कार रहेकै कारणले मात्र अभियुक्तलाई निर्दोष मान्न मिल्दैन । प्रस्तुत मुद्दामा विवादित Certificate बाट निज प्रतिवादीलाई बाहेक अरू कसैलाई फाइदा हुने देखिँदैन । यसरी आफूलाई मात्र फाइदा हुने र आफैँसँग रहने कुरा अरू कसैले किर्ते गरी दिएको भन्न मिल्ने अवस्था नदेखिँदा आरोपित कसुर निज प्रतिवादीले नगरेको एवम्नगराएको भन्ने अवस्था भएन । त्यसकारण प्रतिवादी यदुकुमार आचार्यले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीतको कसुर गरेको देखिन आयो ।

. अब प्रतिवादी यदुकुमार आचार्यलाई के कति सजाय हुने रहेछ भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. मा बिगो नखुलेको मुद्दामा ५०।रूपैयाँसम्म जरिवाना गर्नुपर्छ भन्ने उल्लेख भई ऐजन महलको १२ नं. मा सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई थप १ वर्ष कैद गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीले पेस गरेको Certificate बाट बिगो खुल्ने अवस्था नदेखिएको र सो Certificate नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट जारी हुने Certificate भएकाले प्रतिवादीलाई उल्लिखित कानूनी व्यवस्थाबमोजिम किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०। जरिवाना भई सरकारी कर्मचारीको दस्तखत किर्ते गरेकोमा ऐजन महलको १२ नं. बमोजिम थप १ वर्ष कैद हुने देखियो । त्यसकारण प्रतिवादीलाई किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०। जरिवाना गरी ऐ. को १२ नं. अनुसार थप १ वर्ष कैद सजायसमेत गर्नुपर्नेमा सो नगरेको हदसम्मको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन ।

. अत:एव, प्रतिवादी यदुकुमार आचार्यलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ र १२ नं. बमोजिम एक वर्ष कैद र रू.५०।जरिवाना हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी निज प्रतिवादीलाई किर्ते कागजको महलको ९ नं. बमोजिम जरिवानामात्र गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२५ को  फैसला मिलेको नदेखिँदा केही उल्टी भै निज प्रतिवादी यदुकुमार आचार्यलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. बमोजिम रू.५०।जरिवाना र ऐ. १२ नं. बमोजिम एक वर्ष कैद हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।५।३ को फैसला सदर हुने ठहर्छ । सो ठहर्नाले अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी यदुकुमार आचार्यलाई मुलुकी ऐन, किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०।जरिवाना हुने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२५ को  फैसला केही उल्टी भै निज प्रतिवादीलाई किर्ते कागजको महलको ९ र १२ नं. बमोजिम रू.५०।जरिवाना र एक वर्ष कैदसमेत हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।५।३ को फैसला सदर हुने ठहरेकाले सुरूले राखेको लगत कायमै रहने हुँदा सोहीबमोजिम गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखिपठाउनू ————

सरोकारवालाले नक्कल मागे नियमानुसार दिनू —-

दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ————————-

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज..रा.

 

इति संवत् २०७१ साल मङ्सिर ९ गते रोज ३ शुभम् ।

इजलास अधिकृत : फणिन्द्र पराजुली