October 28, 1975
Created by nepalarchives

निर्णय नं. ९२१ – जग्गाबाली लुटपिट

निर्णय नं. ९२१                  ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...

निर्णय नं. ९२१                  ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३० सालको फौ.फु. नं. २४

फैसला भएको मिति : २०३२।७।११।३

निवेदक : चितवन शान्तिपुर बस्ने नारायण खड्गी

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने थमनबहादुर थापा क्षेत्री

मुद्दा : जग्गाबाली लुटपिट

(१)   चलनी पुर्जि पाएपछि जग्गा कब्जामा रहन गई आवाद गरेको प्रमाणित हुने ।

(प्र.नं. ११)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट      : अधिवक्ता ठाकुरप्रसाद खरेल

फैसला

            प्र.न्या. रत्नबहादुर बिष्ट

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिजाबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : चितवन शान्तिपुरको कि.नं.३८ को प्लटको जमीन ०१६ सालमा विपक्षी नारायण खड्गीले पाएको आवाद नगरी पर्ति राखेकोबाट ०१८।१२।२९ मा राप्तीदुन भूमि वितरण कमिटिबाट मलाई स्थायी पुर्जिसमेत दिएको जग्गा बिगाहा ४ कठ्ठा १८ मेरो नाउँमा दर्ता भएको जग्गामा मेरो २२ भारी पराल र ४ गाडा काठ लुटपिट गरी लगेको जम्मा बिगो रु.५१। भराई सो जग्गाको मोल बिगो ४५००। मोलिने जग्गा मेरो सदर कायम गरी हक नपुग्ने जमीन खिचोला गरेमा सजाय गरिपाउँ भन्नेसमेत वादी ।

            ३.    राप्तीदुन विकासबाट पुर्जि दिएको कि.नं. ३८ को प्लट नं. ३८ को बिगाहा ४ जमीन म नारायण खड्गीले पाई आवाद गुलजार गरिआएको आधारमा ०१८।२।१६।२ मा राप्तीदुन भूमि विकास विभाग भूमि वितरण कमिटिबाट स्थायी बहाली पुर्जि पाई आजसम्म भोग गरिआएको छु । उक्त जग्गाको ०१९ सालको धानबाली लुटपिट गरेकोले मेरो नालिस परेकोमा त्यसबाट बचतको लागि झुट्टा उजूर गरेको हो लुटपिट खिचोला गरेको समेत छैन भन्नेसमेत प्रतिवादी ।

            ४.    नारायण खड्गीबाट प्लट झिकी थामनबहादुरलाई दिनेबारे राप्तीदुन भूमि वितरण कमिटिबाट पर्चा भइसकेको देखिएकोले प्र.नारायाण खड्गीले आफ्नो हक नपुग्ने जग्गामा खिचोला गरी वादी दावी बमोजिम लुटपिट गरेकै ठहर्छ भन्नेसमेत चितवन जिल्ला अदालतको फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ६.    राप्तीदुन विकास विभागबाट भएको निर्णय पर्चाले प्रतिवादीको हक छिनिसकेको देखिएकोले अरू सुरु बुँदासमेतबाट इन्साफ सुरुको मुनासिव छ भन्ने नारायणी अञ्चल अदालतको ०२३।१२।१।३ को फैसला ।

            ७.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा मोल बिगोबाट हदमुनी हुँदा पुनरावेदन नलाग्ने भनी डिभिजन बेञ्चबाट पुनरावेदन खारेज भएकोमा इन्साफ जाँच गरीदिनु भन्ने प्रमांगी बक्स गरिपाउँ भन्ने प्रतिवादीले चढाएको निवेदनपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भएको यो मुद्दा र वादी नारायण खड्गी प्रतिवादी चित्रबहादुरसमेत भएको बाली लुटपिट मुद्दासाथ पेश भएकोमा ०२९।१०।५।५ को डिभिजन बेञ्चबाट भएको निर्णयको ठहर यो मुद्दाको उक्त वादी नारायण खड्गी भएको मुद्दामा र वादी नारायण खड्गी भएको मुद्दाको ठहर यस मुद्दाको फैसलामा लेखिएको देखिएकोले उक्त वादी नारायण खड्गी भएको मुद्दाको फैसलामा लेखिन गएको यो मुद्दाको निर्णय ठहरमा नारायण खड्गीको नाउँमा प्लट नं.३८ कि.नं.३८ को अस्थायी पुर्जा ०१७।७।८ मा र ०१८।२।१६।२ मा राप्तीदुन विकास विभाग भूमि वितरण कमिटिले स्थायी पुर्जा दिएको र थमनबहादुरलाई कि.नं.३८ को बिगाहा ४ कठ्ठा १८ जमीन राप्तीदुन भूमि वितरण कमिटिले ०१८।१२।२९ मा पुर्जि दिएको देखिन्छ । राप्तीदुन विकास विभाग भरतपुरबाट ०२९।७।२४।६ मा भएको पर्चामा थमनबहादुरले जमीन पाएकोमा नारायण खड्गीले निवेदन चढाएको सिलसिलामा कारवाई हुँदा बसोबास नगरी वा त्यसप्रति बाँझो राख्न नहुने नियमको खिलाप प्रति बाँझो राखेको देखी समितिले गरी पठाएको सम्पत्तिको आधारमा उक्त प्लट साविक यस डि.वालाले गरेका निर्णयलाई सदरै राखी पर्चा गरेकोलाई गैरकानूनी देखिएन, उक्त पर्चा बदर गराएको सबूत नआएकोले सदर बदर के हुने हो भनी फेरि विचार गरी रहनुभएन । थमनबहादुरको उक्त जग्गाको हक पक्का भइराखेकोमा खिचोला गरेको भन्ने वादी थमनबहादुरको उजूरी मुनासिव देखिएकोले प्रतिवादीले खिचोला गरेको ठहराईएको चितवन जि.अ.र नारायणी अञ्चल अदालतको इन्साफ मनासिव छ खिचोला गर्ने नारायण खड्गीले जग्गा नपाउने भएकोले त्यस्तो खिचोला गरेको बखतमा पराल काठ हिनामिना भएको भनी बिगोमा वादीले झुट्टा दावी गरेको ठहराउनु पर्नेमा नठहराएको जिल्ला र अञ्चल अदालतको इन्साफ मिलेको नदेखिएको भन्नेसमेत ०२९।१०।५ को डिभिजन बेञ्चको फैसला ।

            ८.    यस बेञ्च समक्ष निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले मेरो पक्षले पुर्जि पाएको ३ वर्ष नपुग्दै जग्गा आवाद नगरेको भन्ने दोष लगाई झिकी थमनबहादुरलाई दिएको कानूनी छैन नियमको उल्लंघन गरेकोमा समितिको सिफारिशमा माल अड्डाले जग्गा झिक्न सक्ने व्यवस्था छ कमिसनले जग्गा झिकेको गैह्र कानूनी छ मेरो पक्षले अगाडी पुर्जि पाएको जग्गा मेरो पक्षले हक कायम हुनुपर्छ भन्नेसमेत र वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले माल अड्डाको हाकिमसमेत बसेको समितिबाट जग्गा जफत गरेको छ । थमनबहादुरले पाएको चलनी पुर्जि बदर गरिपाउँ भनी वादीले ऐनको म्यादभित्र नालिस गर्न सकेको छैन । दर्ता मेरो पक्ष थमनबहादुरको नाउँमा छ जग्गा पनि मेरै पक्षले आवाद गरेकोसमेत हुँदा मेरो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

            ९.    यसमा झगडा परेको चितवन शान्तिपुरको कि.नं.३८ प्लटको जग्गा बिगाहा ४।।।३ पहिले प्रतिवादी नारायण खड्गीले पाएको आवाद नगरी प्रति बाँझो राखेबाट ०१८।१२।२९ मा राप्तीदुन भूमिवितरण कमिटिले मलाई स्थायी पुर्जि दिई मैले आवाद बसोबास गरेको मेरो हकको भन्ने वादीको दावी र राप्तीदुन विकास विभागले ०१७।७।८।२ मा अस्थायी र ०१८।२।१६ मा स्थायी पुर्जि गरिदिएको मेरो हकको भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको रहेछ । सो जग्गा वादी वा प्रतिवादी कसको हक पुग्ने हो ? सो कुराको यस बेञ्चबाट निर्णय दिनु परेको छ ।

            १०.    सो जग्गा पहिले प्रतिवादी नारायण खड्गीले ०१७।७।८।२ मा अस्थायी र ०१८।२।१६ मा स्थायी चलनी पुर्जि पाई निजको हक भएकोमा सो पछि भूमि वितरण कमिटिको निर्णयानुसार भनी वादी थमनबहादुरलाई ०१८।१२।२९ मा चलनी पुर्जि दिएको उक्त चलानी पुर्जिको नक्कलहरू दुबै पक्षबाट पेश भइराखेको र दर्ता बुझिएकोमा प्लट नं.३८ बाट ०१८।१२।२९ मा जग्गा विगाहा ४।।।३ थमनबहादुरले पाएको लगत किताबबाट देखिन्छ भनी चितवन मालले जवाफ दिएको समेत पाइन्छ । पहिले मैले चलनी पाएको जमीन चित्रबहादुरलाई दिएकोले थामी पाउँ भनी प्रतिवादी नारायण खड्गीले उजूर गरेकोमा राप्तीदुन विकास विभाग भरतपुरले कारवाई गरी आखिर नारायण खड्गीले आवाद नगरी खालि रहेको चित्रबहादुरको छोरा थमनबहादुरले पाई सरकारी ट्र्याक्टरद्वारा जोतनी गरी बाली लगाएको भन्ने सरजमिन मुचुल्का भर्ई आएको थमनबहादुरसमेत बसोबास देखिएको भन्नेसमेत आधारमा थमनबहादुरले पाएको कायम राखी उक्त राप्तीदुन विकास विभागले ०१९।७।२४।६ मा निर्णय गरेकोसमेत देखिन्छ ।

            ११.    सो जग्गा मैले पहिले चलनी पुर्जि पाउने प्रतिवादी नारायण खड्गीले आवाद बसोबास गरेको भनी निजबाट झिकी वादी थमनबहादुरलाई चलनी पुर्जि गरिदिएपछि जग्गा मलाई नै थामिपाउँ भनी उजूर गरेकोबाट जग्गा निज प्रतिवादीको कब्जामा रहेको देखिन नआउने र थमनबहादुरले पाएको कायम राखी राप्ती दुन विकास विभागले ०१९।७।२४।६ मा निर्णय गरेपछि जग्गा प्रतिवादीको कब्जामा रहन जाने स्थिति नरहेकोले वादी थमनबहादुरले ०१८।१२।२९ मा चलनी पुर्जि पाएपछि जग्गा निज वादीकै कब्जामा रहन गई निज वादीले नै आवाद गरेको प्रमाणित हुन्छ । पहिले आफूले पाई आफ्नो हक भएको जग्गा आफ्नो हकको समाप्ति गरी थमनबहादुरलाई दिई निजले आवाद गरी सो जग्गाको प्रति मूल्य र मालपोतसमेत तिरी भोगचलन गरेकोमा तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं. को म्याद २ वर्षभित्र अदालतमा नालेश उजूर गरी वादी थमनबहादुरले चलनी पाएकोसमेत बदर गराई जग्गामा पुनः आफ्नो हक स्थापित गराउन समेत प्रतिवादी नारायण खड्गीले सकेको नदेखिएको र ऐनको म्यादभित्रको कानूनबमोजिम दावीको नालेश उजूर बेगर हाल यो मुद्दाको प्रतिवादी र बहस समेतमा उठाएको जिकिरसम्मबाट वादी थमनबहादुरले पाएको चलनी पुर्जि समेतको औचित्यमा विचार गर्न नमिल्नेसमेत हुनाले वादी थमनबहादुरले चलनी पुर्जि पाई निजले आवाद भोगचलन गरेको जग्गामा प्रतिवादी नारायण खड्गीको हक पुग्न सक्ने देखिएन ।

            १२.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट जग्गामा वादी थमनबहादुरको हक कायम राखी वादीको जग्गामा प्रतिवादी नारायण खड्गीले खिचोला गरेको र लुटपिटतर्फ वादीको दावी पुग्न नसक्नेसमेत ठहराइएकोसम्म ०२९।१०।५।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. प्रकाशबहादुर के.सी.

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३२ साल कार्तिक ११ गते रोज ३ शुभम् ।