निर्णय नं. ९१८ – जग्गा खिचोला
निर्णय नं. ९१८ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री...
निर्णय नं. ९१८ ने.का.प. २०३२
फुल बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३० सालको दे.फु.नं. १११
फैसला भएको मिति : २०३२।७।११।३
निवेदीका : काभ्रे. जि. बनेपा गाउँ पञ्चायत वडा नं.७ बस्ने धनमाया बाडे श्रेष्ठनी
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने अष्टनारायण मानन्धर
मुद्दा : जग्गा खिचोला
(१) ऐनबमोजिम बन्धकीको दोहरी समेतको लिखित सबूतको अभावमा भोगबन्धकीमा दिएको भन्ने जिकिर कायम मान्न नमिल्ने ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
न्या. विश्वनाथ उपाध्याय
१. प्रस्तुत मुद्दा ०२९।८।९।४ को फुल बेञ्चबाट छिनिएकोमा दोहराई पाउँ भन्ने धनमायाको निवेदन परेकोमा एक पटक फुल बेञ्चबाट दोहर्याई कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरवार मार्फत ०३०।९।२५ को हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : हर्षमाया मानन्धरबाट मेरो बाबु बिसनारानले राजीनामा गरी लिई १९८३ साल माघ ४ गते रोज २ मा बनेपा अ.मालबाट बहाली पुर्जि लिई बाबु छउन्जेल बाबुले शेषपछि मैले भोगचलन तिरो भोग गरिआएको बहिबु खेत कित्ता २ को मुरी ।९।१० के फ.ना.१।१५।५ गहुँ ।४।६ धान ।९।२ चारदाम ।५ बुझाउनु पर्र्ने सो जग्गामध्ये पूर्व बाटो पश्चिम भालालको खेत उत्तर जहरमानको छोरी न्हुछेमायाको खेत दक्षिण जोगराम कर्मीको खेत हाल राजमार्ग यति ४ किल्ला भित्रको माटो मुरी ।४ को जग्गामा ०२३ साल माघ ३ गते प्रतिवादीहरूले जबर्जस्ती कब्जा गरी सो घर बनाएकोले ऐनबमोजिम सजाय गरी सो घर निजहरूले उठाई लैजाने र मेरो जग्गामा मेरो हक सदर थामी पाउँ भन्नेसमेत वादी ।
३. भालालको खेतदेखि पूर्वको मट्टितेल पेट्रोल मोबिल डिजेल वितरण गर्न घर दोकान बनाएको माटो ।५।१० को कित्ता १ र भालालको खेतदेखि पश्चिमको माटोमुरी ।४ समेत बहिबु खेत ।९।१० र अरू खेत खला ३ समेत म जगतमानकी श्रीमती म केदार सिंकी आमा धनमायाँ मानन्धरनीलाई निजकी आमा हर्षमायाँले १९८२ साल जेष्ठ १७ गते दाईजो पत्र गरिदिएकी वादीको आमा पञ्चलक्ष्मी बाबु विसनारान धनमायाँकी सानीआमा सानो बाबु भएकोले १९८२ सालमा रु.१५०। मा भोगबन्धकी दिएकी अरू खेत खला ३ र घर आधी रजिष्ट्रेशन पास गरी वितरण गरिसकेकी बन्धकीमा भोग गरेकोमा भूमिसुधारमा उजूर गर्ने हो कि सल्लाहबाट छाडिदिन्छौं भन्दा भालालको खेत देखि पूर्वको १ कित्तामा घर बनाउन ठाउँ पुग्छ बनाउ अरू जग्गा गहुँ बाली काटेपछि चाहिए छाडि दिउँला भनेकोले पूर्वपट्टिको जग्गामा घर दोकान बनाई बसेको हो । अ.बं.८२ नं. समेतले वादीको उजूर नलाग्ने हुँदा वादी खारेज गरिपाउँ भन्नेसमेत जगतमान, केदारमानको प्रतिवादी ।
४. वादीमा हामीहरूको कसूर उल्लेख छैन वादी दावीको जग्गा हर्षमायाले छोरी धनमायाँलाई दाइजो पत्र गरिदिएकी हो वादीको बाबुलाई राजीनामा गरिदिएको होइन भन्नेसमेत बाबु काजी, हरिलाल दानकाजीसमेतको प्रतिवादी ।
५. वादीले अ.मालबाट पाएको भनेको बहाली पुर्जिको हकमा सो कुनै सरकारी अड्डा नभएको जिम्मावालसँग मिल्न सके जहिले जुन मितिको पनि गरिदिने भएकोले प्रमाण लाग्न नसक्ने र वादीले राजीनामाबाट हक भएको भनेकोमा राजीनामामा देख्न सुन्न पाउँ हर्षमायाले राजीनामा गरिदिएकै होइन भन्नेसमेत धनमायाँको बयान ।
६. पेट्रोलको पम्प राख्न नपाउने गराउन लागू नहुने नालिस लागू गरी जाल परिपञ्च मिलाई नालिस माथि नालिस पारी राखेको समेत हुँदा खारेज गरी पेट्रोल पम्प राख्न पाउँ भनी प्रतिवादी केदारमानले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो भए यस विषयमा माल कार्यालय र जिल्ला अदालतमा परेको मुद्दा सर्वोच्च अदालते खिची बाँकी प्रमाणहरू तुरुन्त बुझी ३५ दिन भित्र ऐनबमोजिम निर्णय गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको ।
७. प्रतिवादीबाट पेश भएको १९८२।२।१७।७ को हर्षमायाँले धनमायाँलाई गरिदिएको दाइजोपत्र सक्कल देखे सुनें सो बहिबु खेत हर्षमायाँले राजीनामा गरिदिई भोगचलन भइराखेको जग्गा हुँदा हर्षमायाँले धनमायाँलाई दाईजोपत्र गरिदिएकी होइन सहीछाप भिडे जालसाजी नभिडे कीर्ते हो भन्नेसमेत वादी अष्टनारानका वा.रामकृष्णको र वादीले पेश गरेको बहाली पुर्जि सद्दे होइन बहाली पुर्जि रसिदसमेत जालसाजी कीर्ते हो भन्ने धनमायाँको वारेस केदारमानको बाहाली पुर्जि रसिदहरू सद्देनै हो भन्ने अष्टनारानको वारेस रामकृष्णको बयान ।
८. वादीबाट राजीनामा चोरी भयो भनी दाखिल हुन नसकेको प्रतिवादीले दाखिल गरेको १९८२।२।१७ को दाईजोपत्रलाई हर्षमायाँको सहीछाप मिले जालसाजी सहीछाप नमिले कीर्ते हो भन्ने वादीको बयान जिकिर भएको हर्षमायाँको सहीछाप भिडाउन अर्को लिखत प्राप्त हुन नसकेको । वादीको अनिश्चित बयानको आधारले उक्त दाइजोपत्रलाई जालसाजी वा कीर्ते भन्न नमिल्ने । त्यस दाइजोपत्रमा लेखिएको अरू घर जग्गा दाइजोपत्रले हक भोग भई कान्छा पलाञ्चोके समेतलाई बिक्री गरेको त्यस लिखतले अरू घर जग्गा हक भोग भएको देखिन्छ भने त्यसमा लेखिएको झगडा परेको जग्गाको कुरा नकडा हो भन्न नमिल्ने । प्रतिवादीले भूमिसुधार ७ नं.फराममा नलेखाएको भन्नेमा त्यसतर्फ कानूनबमोजिम हुने बाहेक त्यस कारणले नै वादीको राजीनामा कायम नहुने । दाइजोपत्र कीर्ते जालसाजी भन्ने सबूत नभएकोले त्यसलाई प्रमाणयोग्य मान्नु परेको । वादीको राजीनामा पेश दाखिल हुन नआई ०६ सालमा चोरी भएकोले पूर्व १ नं.गोश्वारामा दर्खास्त दिएको छु भनेको यस मितिमा यति रुपैयाँ राजीनामा लिएको छु भन्न नसकेको चोरी भएको भए अर्को गराई लिन सक्नुपर्ने नसकेकोलाई प्रमाणबाट कायम नहुने राजीनामा नभएकै सिद्ध हुने । राजीनामा हो भन्ने अरू प्रमाणतर्फ कानूनको रीत पुगेको दर्ता श्रेस्ता कुनै प्राप्त नभएका, भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीको जिकिर भएको भोगबन्धकीमा भोग गर्नेले तिरो बुझाई रसिद लिनु स्वभाविक हुँदा वादीका भनाई बमोजिम राजीनामा हो भन्न कुनै प्रमाण नदेखिएकोले झगडा परेको जग्गामा प्रतिवादीको भोग नभई वादीको भोग देखिएकोलाई उपरोक्त उल्लेख गरे बमोजिम दाइजो दिएको कायम देखिन आएको अवस्थामा त्यसलाई खण्डन गर्ने अर्को लिखत नभएकोले दाइजो पाउनेबाट बन्धकी लिएको सिद्ध हुने । भोगबन्धकवाला साहुले भोग तिरो चलाउनु स्वभाविक देखिने हुँदा भोगको प्रमाणले वादीको राजीनामा हक भन्न नमिल्नेसमेत हुँदा धनमायाले पाएको दाइजोपत्र उपर निश्चित दावी नभएको कारणले लिखतहरूलाई सद्दे वा नकडा छुट्याई निर्णय गर्न नपर्ने । जग्गाको हकमा वादीले राजीनामा पाएको नभई दाइजो पाउने धनमायाँबाट बन्धक लिएको देखिएकोले वादी दावी नपुग्ने ठहर्छ भन्ने ०२६।२।९।५ को डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत विवादको झगडा परेको जग्गा विर्ताको लगतमा कसको नाममा दर्ता रहेछ भन्नेतर्फ पटक पटक फुल बेञ्चका आदेश बमोजिम झिकाई आएको मे.ज.सुर शमशेर ज.ब.रा.हरूको सजिया बनेपा विर्ताको ९६ सालको दर्ता लगत हेर्दा झगडा परेको बहिबु खेत मुरी ९।१० प्रतिवादी धनमायाँको नाममा दर्ता भएको देखिन नआई वादीको बाबु विसनारानको नाममा दर्ता भएको देखिन आएको र ८३ साल देखिको भोग तिरोको रसिद वादीतर्फबाटै प्रमाणमा पेश भइराखेको पाइन्छ । १९८३ सालमा धनमायाँले वादीको बाबु विसनारानलाई रु.१५०। मा भोगबन्धकीमा दिएकीले निजले भोग तिरो गरिआएको भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा बन्धकी हो भन्ने कुरालाई समर्थन गर्ने बन्धकीको दोहरीसमेत कुनै पनि लिखत सबूत प्रतिवादीहरूले दिन गुजार्न सकेका छैनन् । जग्गा वादीको बाबु विसनारानकै नाममा दर्ता भएको कुरामा हाल बहस समेतमा प्रतिवादीतर्फबाट तथ्ययुक्त कुनै विरोध आउन पनि सकेन । विर्ता उन्मूलन भएपछि यो झगडा परेको जग्गा आफ्नो नाममा रैकरमा परिणत दर्ता गरिपाउँ भनी वादी र धनमायाँ दुबैले छुट्टाछुट्टै विवरण दिई धनमायाँको विवरण बमोजिम निजको नाममा दर्ता गरिदिने ०२४।३।२२।५ मा पर्चा वा वादीको विवरण बमोजिम निजको नाममा दर्ता गरिदिने गरी विवरणको शिरमा ०२४।४।२३।२ मा तोक भएको भन्ने काभ्रेपलाञ्चोक माल कार्यालयले दिएको ०२९।३।१९।१ को जवाफ समेतबाट देखिन्छ । धनमायाँले आफ्नो नाममा विवरण दर्ता गराएको बदर गरिपाउँ भन्ने वादी अष्टनारानले छुट्टै नालिस दिएको मुद्दा यसैसाथ पेश हुन आएको छ, तर वादी अष्टनारानले आफ्नो नाममा दर्ता गराउन दिएको विवरणसमेत बदर गरिपाउँ भन्नेतर्फ प्रतिवादी धनमायाँको नालिस उजूर परेको देखिन आएन । मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारानको नाउँमा दर्ता भएको सो बदर गरिपाउँ भन्नेतर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं. को म्याद २ वर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाँले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकाले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नुपर्ने यस स्थितिमा सबूत प्रमाण रहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट झगडा परेको बहिबु खेत मुरी ।९।१० वादीकै दर्ता हक भोगको देखिन आएकोले वादीको हक भोगको जग्गामा प्रतिवादीहरूले खिचोला गरी जवर्जस्ती घर बनाएको समेत ठहर्छ । सो जग्गामा धनमायाँको हक कायम गरी धनमायाँबाट वादीको बाबुले बन्धकी लिएको समेत ठहराई वादीको दावी नपुग्नेसमेत भनी ०२६।२।९।५ को डि.बे.ले छिनेको इन्साफ मिलेको देखिएन भन्ने २०२९।८।९।६ को फुल बेञ्चको फैसला ।
१०. यस बेञ्चसमक्ष निवेदक प्रतिवादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले वादीको नाउँमा विर्ताको लगतमा दर्ता भएको भन्ने जुन आधार लिएको छ सो दर्ता श्रेस्ता नभई बाली तहसील गर्ने एउटा लगतसम्म हो त्यसलाई दर्ता मान्नु मिल्दैन । वादीले राजीनामा पेश गर्न नसकेकोबाट निजको जग्गामा हक पुग्न नसक्ने समेत हुँदा मेरो पक्षले पाएको दाइजोको लिखत बमोजिम जग्गा मेरो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले राजीनामा जनाई विर्ताको अमालबाट मेरो पक्षलाई ८२ सालमै बहाली दिएकोछ ९६ सालको विर्ताको लगतमा मेरो पक्षको नाम लेखिएको त्यसलाई दर्ता श्रेस्ता नै मान्नुपर्छ । मेरो पक्षको भोग तिरो भएको बन्धकीको प्रमाण पुर्याउन प्रतिवादीले नसकेकोले जग्गामा मेरो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो।
११. यसमा हार्षमायाँबाट मेरो बाबु विसनारानाले राजीनामा लिई हक भोग गरिआएको मेरो हकको भन्ने वादीको दावी र आमा हर्षमायाँबाट दाइजोपत्र लिखत गरी पाई धनमायाँको हक भएको वादीको बाबु विसनारानलाई भोगबन्धकीसम्म दिएको भन्ने प्रतिवादीहरूको जिकिर भई विवाद उठेको बहिबु खेत मुरी ।९।१० वादी अष्टनारायण वा प्रतिवादी धनमायाँ कसको हक पुग्ने हो ? प्रतिवादीहरूले खिचोला गरी घर बनाएको हो होइन ? यी कुराहरूको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. उक्त जग्गाको हर्षमायाँले गरिदिएको भनेको राजीनामा चोरी भएको भनी वादीले पेश दाखिल गर्न नसकेको र १९८३ सालदेखि जग्गा आफूले भोग तिरो गरेको रसिद भने वादीबाटै पेश दाखिल हुन आएको रहेछ । जग्गा वादीकै भोग तिरोमा रहेको भन्ने कुरा प्रतिवादीहरूले पनि मानि राखेको पाइन्छ । वादीको बाबु विसनारायणलाई रु.१५०। मा १९८२ सालमा भोगबन्धकीमा दिएकोबाट वादीको बाबु र वादीसमेतको भोग तिरो हुन गएको भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा भोगबन्धकी भन्ने कुरालाई समर्थन गर्ने बन्धकीको दोहरीसमेतको कुनै पनि लिखत सबूत प्रतिवादीहरूले पेश दाखिल गर्न सकेको देखिन आएन ।
१३. दर्ता कसको नाममा रहेछ भन्नेतर्फ हेर्दा विर्ता उन्मूलन ऐन, २०१६ लागू हुनुभन्दा अगाडि श्री ज.सुर शमशेरको विर्ताको जग्गा भएकोले मालको श्रेस्तामा दर्ता हुने अवस्था नभएको र १९९६ सालको विर्ताको लगतमा उक्त जग्गाको मोहीमा वादीको बाबु विसनारानकै नाम लेखि दर्ता भएको रहेछ । बाली भराई पाउँ भनी विर्तावार श्री ज.शुरशमशेरले २०१० सालमा उजूर गर्दा उक्त जग्गाको मोही वादीको बाबु विसनारानलाई नै देखाई उजूर गरेको समेत देखिन्छ ।
१४. आमा हर्षमायाँबाट धनमायाँले दाइजोपत्रको लिखत गरी पाएको भन्ने जिकिरको हकमा १९८२।२।१७।१ को घरायसको दाईजोपत्र भनेको लिखत पेश दाखिल गरेको भए पनि उक्त लिखत अनुसार झगडा परेको बहिबु खेत मुरी ।९।१० तत्कालिन विर्ताको लगतमा आफ्नो नाममा दाखिल दर्ता गराई जग्गा आफूले भोग तिरो गरी उक्त दाइजोको लिखतलाई कार्यान्वित गराएको कुनै पनि लिखत सबूत प्रतिवादी धनमायाँले दिन गुजार्न सकेकी छैनन । सोही दाइजोको लिखतमा लेखिएको माल दर्ता पट्टिको अरू जग्गा आफ्नो नाममा दर्ता गराई अरू अरूलाई बेची राजीनामा लिखत रजिष्ट्रेशन पाससमेत भएको छ भन्ने भनाई भएकोमा मालबाट झिकाई आएको ती अरू अरू कित्ताको दर्ता उतार र राजीनामा लिखतका नक्कलहरू हेर्दा कुनैमा पनि उक्त १९८२।२।१७।१ को दाईजोपत्र लिखतबाट धनमायाँको हक भएको भन्ने जनाएको पाईँदैन । ऐनबमोजिम बन्धकीको दोहरीसमेतको लिखत सबूतको अभावमा वादीको बाबु विसनारानलाई भोगबन्धकीमा दिएको भन्ने प्रतिवादी जिकिर कायम मान्न नमिल्ने र १९८३ साल देखि जग्गामा भोग तिरो वादी पक्षको भएको, १९९६ सालको विर्ताको लगतमा उक्त जग्गाको मोहीमा वादीकै बाबुको नाम लेखी दर्ता भएकोमा उक्त दाईजोपत्रको लिखत देखार्ई ऐनको म्यादभित्र नालिस उजूर गरी जग्गामा आफ्नो हक कायम गराउन प्रतिवादी धनमायाँले नसकेकी समेत हुँदा आमा छोरीको बीचमा जहिले पनि खडा हुन गर्न सकिने अवस्थाको उक्त दाईजोपत्र लिखतलाई वादीको विरुद्ध प्रमाणिक मान्न र उक्त लिखतसम्मको आधारमा जग्गामा प्रतिवादी धनमायाको हक कायम गर्न मिल्ने देखिएन । १९९६ सालको विर्ताको लगतमा भएको दर्ता र १९८३ साल देखिको अविच्छिन्न भोग तिरोबाटै जग्गामा वादीको हक रहेको देखिन आउँछ ।
१५. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट झगडा परेको बहिबु खेत मुरी ।९।१० मेरो हकको भन्नेसमेत निवदेक प्रतिवादी धनमायाँको जिकिर पुग्न सक्दैन । सो जग्गामा वादीको हक कायम गरी प्रतिवादीहरूले खिचोला गरी घर बनाएको समेत ठहराई ०२९।८।९।६ को फुल बेञ्चले छिनेको मुनासिव ठहर्छ, अरू तपसील बमोजिम गर्नु ।
तपसील
निवदेक प्रतिवादी धनमायाँ बाडे श्रेष्ठके कोर्टफी राखेको हुँदा मुद्दा दोहर्याएमा अरू सजाय केही गर्नु परेन………….१
०२९।८।९।६ को फुल बेञ्चको फैसलाले वादी अष्टनारानलाई प्रतिवादीहरूबाट भराई दिने गरेको कोर्टफी रु.१५४। मध्ये दामासाहीबाट जगतमान बाडे श्रेष्ठ, केदारमान बाडे श्रेष्ठ २ जनाको हकमा पर्न आउने रु.६१।६० मिति ०३०।११।१६।४ मा सर्वोच्च अदालतमा दाखिल गरी धरौटीमा आम्दानी बाँधिएको देखिएकोले उक्त कोर्टफी भराई पाउँ भन्ने वादीको दर्खास्त परेमा जगतमान, केदारमान २ जनाबाट भरिपाउने रु.६१।६० उक्त धरौट रहेकोबाट भराई दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु …………………२
नियमबमोजिम मिलिस बुझाई दिनु…………………….३
हामीहरूको सहमत छ ।
न्या. हेरम्बराज,
न्या. ईश्वरीराज मिश्र र
न्या. सुरेन्द्रप्रसाद सिंह
न्या. प्रकाशबहादुर के.सी.को राय
यसमा झगडा परेको बहिबु खेत मुरी ।९।१० हर्षमायाँबाट राजीनामा गराई लिई मेरो हक भोग भएकै भन्ने वादीकै मुख्य दावी भएकोमा उक्त राजीनामा लिखत पेश दाखिल गर्न सकेको पाइएन, चोरी भएको भनी हुलिया दर्खास्तसम्म दिएको भए पनि तत्काल प्रचलित साहु असामीको १ नं.बमोजिम गरी अर्को गराई लिन सकेको देखिन आएन । प्रतिवादी धनमायाँलाई हर्षमायाँले गरिदिएको भनेको १९८२।२।१७।१ को दाइजोपत्रको लिखत प्रतिवादी धनमायाँबाट पेश दाखिल हुन आएको उक्त लिखत कीर्ते जालसाजी भन्ने कुराको सबूत पुर्याउन वा वादी पक्षले नसकेकोले उक्त लिखतलाई कायम मान्नुपर्ने यस स्थितिमा राजीनामा लिखतको अभावमा जग्गा वादीका हक ठहर्याउन मिल्ने देखिएन । जग्गा वादीले भोग तिरो गरेको रसिदहरू पेश दाखिल गरेको हकमा भोगबन्धकी लिएको कारणबाट पनि वादीको भोग तिरो हुन सक्छ । बन्धीकीको दोहरी पेश गर्न नसकेको हुँदैमा बन्धकी कायम हुन नसक्ने कानूनी व्यवस्था नभएको र मुख्य राजीनामा लिखत पेश दाखिल गर्न नसकेको भएपछि प्रतिवादी जिकिरअनुसार वादीले भोगबन्धकीमा नै भोग तिरो गरेको कायम हुनेसमेत हुँदा जग्गामा वादीको हक नपुग्ने ठहराएको समेत ०२६।२।९।५ को डिभिजन बेञ्चको इन्साफ मुनासिव ठहर्छ । जग्गा वादीको हकको ठहराएको ०२९।८।९।६ को फुल बेञ्चको राय सदर गर्नुभएको यस बेञ्चको सहयोगी मा.न्या.हरूको रायसँग म सहमत नभएकोले आफ्नो राय छुट्टै व्यक्त गरेको छु । नियमले बहुमतको राय सदर हुने हुँदा सो अनुसार गर्नु ।
इति सम्वत् २०३२ साल कार्तिक ११ गते रोज ३ शुभम् ।