निर्णय नं. ९१४ – ज्यान, हाडनाता करणी
निर्णय नं. ९१४ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३० सालको फौ.पु.नं. ७८५, ७५४ फैसलाभएको...
निर्णय नं. ९१४ ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३० सालको फौ.पु.नं. ७८५, ७५४
फैसलाभएको मिति : ०३१।८।१६।१ मा
पुनरावेदक : श्री ५ को सरकार
विरुद्ध
पुनरावेदक, प्रतिवादी : जि. कास्की चापाकोट गा.पं.वडा नं.७ बस्ने देवीरमण पाध्या
मुद्दा : ज्यान, हाडनाता करणी
(१) साविती बयानलाई असंगत तुल्याउने मिसिलमा अन्य प्रमाण नभए कर्तव्य गरी मारेको भन्ने देखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ
असमर्थक तर्फबाट : अधिवक्ता किशोरकुमार
पुनरावेदक वादी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय
फैसला
न्या. धनेन्द्रबहादुर सिंह
१. श्री ५ को सरकार र देवीरमण पाध्याको गण्डकी अञ्चल अदालतको फैसला उपर पुनरावेदन परी यो मुद्दा आज डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छन् : चापाकोट गा.पं. बलभद्रकी विवाहिता श्रीमती लक्ष्मीमाले गर्भ बोकी छन् निजको लोग्ने १८ सालमै परलोक भएको हुँदा गर्भ निजको नभएकोले सो गर्भलाई फालिछन् । निजको भनाई अनुसार सो गर्भ देवीरमण पाध्याको हो तर देवीरमण पाध्या समाजमा नआएकोले हामीमा शंका लाग्छ उक्त गर्भ ५ महिनाको हो वा १० महिनाको हो भवितव्यले मरेको हो वा कर्तव्यले मरेको हो तुरुन्त जाँच गराई पाउँ भन्ने प्र.पं.बज्रमोहन तथा सदस्य खिमलालको ०५२।१२।२५।२ को जाहेरी दरर्खास्त रहेछ ।
३. म भैंसी दुहन गएको बेला देवीरमणले मलाई जवरजस्ती करणी गर्यो । त्यसदिन म रजस्वला भएको १२ दिन भएको जस्तो लाग्छ त्यसको ३ महिना पछि मात्र मलाई गर्भ रहेको थाहा भयो गत चैत्र १३ गते बिहान उज्यालो नहुँदै घरको आगनमा बालक पैदा भयो घरमा छोरीसँग पानी मागी खान आउन लाग्दा मलाई देवीरमणले च्याप्प समाती बच्चा लिएर बारीतिर गयो घर आगनबाट बच्चा च्यापी लाँदा च्याँ गरेर कराएको थियो र बच्चा गाड्ने खाल्टो खन्न लाग्यो बच्चा घरबाट लाँदा र गाड्दा कराएन बाटामा मर्यो वा के गर्यो बालक महिना पुगेको छोरा रहेछ भन्नेसमेत लक्ष्मीमाको कागज ।
४. सङ्कलित सबूत प्रमाणबाट मनाई गर्दागर्दै पनि नमानी देवीरमणले बालख च्यापी लिएर गए कर्तव्य गरी मारी कोल्टो पारी बारीको डिलमुनी गाडेको कुरा बुझिएसम्मबाट तथ्य हुन आएको र ।
५. गाउँ कचहरी देखि निज देवीरमण चापागाईँ जोशी भागी बेपत्ता भएको देखिएकोले निज देवीरमणका उपर ज्यानसम्बन्धीको महलको १३ नं. को दफा ३ अनुसार र लक्ष्मीमाले आफूले जन्माएको छोरालाई देवीरमणले मारी गाडी रहेको अवस्था मौजुद रहेको देखिन आएकोले निजका उपर ज्यानसम्बन्धीको महलको १७ नं.को दफा ३ अनुसार सजाय हुन लक्ष्मीमा चापागाईँलाई पेश गरेका छौं भन्नेसमेत प्रहरी प्रतिवेदन ।
६. ७ पुस्ता माथिको छोरा नाता पर्ने देवीरमणसँग बिग्री गर्भ रहन गएको थियो सो गर्भबाट महिना पुरा भई बालक पैदा हुँदा बिहान पख देवीरमण आई हामी दुबै बच्नुपर्छ भनी सो बालकलाई लिएर गयो म पनि पछि–पछि जाँदा र निजले खाल्टो खन्न लाग्दा म फर्की आएँ भन्नेसमेत लक्ष्मीमा चापागाईँको अदालतमा बयान ।
७. निज लक्ष्मीमा मेरो नौ पुस्ता भित्रको आमा नाता पर्ने हो निज विधवा भएकी र निजले पेट बोकेको कुरा थाहा भएको तर गाउँघरमा त्यो विषयमा कुनै कुरा भएको थिएन । म यही ०२५।१२।१० गते जागिर खान्छु भनी खेमलाल पाध्या पौडेलको साथ लगी बनारस गई हरिहर संस्कृत पाठशालामा शिक्षक भई बसेको थिएँ । मैले निज लक्ष्मीमालाई करणी गरेको छैन जातक मैले फालेको पनि छैन भन्नेसमेत देवीरमण उपाध्यायको अदालतमा बयान ।
८. लक्ष्मीमाबाट जन्मेको बालक निजै लक्ष्मीमाले नै कर्तव्य गरी मारेको मिसिल प्रमाणबाट देखिन आएकोले निज लक्ष्मीमालाई ज्यान सम्बन्धीको १३ नं. को दफा ३ अनुसार सर्वस्व सहित जन्म कैद हुन्छ लक्ष्मीमाकै कर्तव्यबाट बालकको मृत्यु भएको भन्ने किटानी कुनै मिसिलबाट नदेखिएकोले ज्यान सम्बन्धीको १३ नं. को ३ दफा अनुसार सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले सजाय घटाउन पर्ने देखिंदा अ.बं.१८८ नं.बमोजिम राय व्यक्त गरेको छु । लक्ष्मीमा र देवीरमणको बीच करणी लिनुदिनु भएको देखिन आएकोले लक्ष्मीमाको करणी गर्भ देवीरमणको ठहर्छ हाडनाता करणी गर्नेको देहाय दफा १ अनुसार ७ पुस्ता भित्रको नदेखिंदा सजाय गर्न नपर्ने भन्नेसमेत कास्की जिल्ला अदालतको फैसला भएकोमा मिसिल प्रमाणबाट दावी गरेको समर्थन हुन नआई गर्भ पतन गरी जातक गाडेको देखिन आएकोले कर्तव्यको दावी पुग्न नसकी लक्ष्मीमाले गर्भ पतन गरी आफैले गाडेको कुरा देखिन्छ । लक्ष्मीमाको बयानमा बिहान पख देवीरमण आई सो बालकलाई हामी दुबै जना बच्नुपर्छ भनी लिई गयो मैले बालक गाडे फयल नगर्नु भनेबाट चुप लागी बसेको थिएं र हाडनाता करणी गरेकोले अपराधबाट बच्न निज लक्ष्मीमालाई सहयोग गरेको सम्झनु पर्ने हुँदा निजहरू दुबै जनाको सहमतिबाट गर्भ पतन गराएको देखिंदा सुरुले लक्ष्मीमालाई ज्यान सम्बन्धीको १३ नं. को दफा ३ अनुसार सर्वस्व सहित जन्मकैद गर्ने गरेको र देवीरमणलाई कर्तव्यमा सफाई दिएको मुनासिव देखिएन भनी गण्डकी अञ्चल अदालतको जाहेरी फैसला रहेछ ।
९. कारणी स्वयं सावित भएको र सबूत प्रमाणबाट सो कुराको पुष्टि भइराखेको त्यस्तो कसूरदारलाई ठहर्दैन भनी र कारणी इन्कार भएको सबूत प्रमाणको आधारसमेत नभएको गर्भ पतनको कसूर गरेको ठहर्छ भन्ने गरेको इन्साफ न्यायको सिद्धान्तमा विलकुलै मेल नखाने हुन गएको छ र देवीरमणको कसूर ठहराउन नमिल्ने सम्झँदा लक्ष्मीमाले कर्तव्य नगरेको भन्ने मिल्दैन र प्राप्त सबूत प्रमाणबाट देवीरमणलाई ज्यानमाराको कसूरबाट रिहाई दिन मिल्दैन अतः उपरोक्त बुँदा प्रमाणको आधारमा हक इन्साफ भई सुरु र अञ्चल अदालतको इन्साफ बदर गरी अभियुक्तहरूलाई सुरु प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुन सम्मानित अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन रहेछ ।
१०. विपक्षी लक्ष्मीमाले मलाई पोलेको बाहेक अरू सबूत प्रमाण केही छैन । सबूत प्रमाणको अभावमा निर्दोषी मानिसलाई दोषीको ठहर गरी यस्तो घोर अन्याय गरी फैसला भएकोलाई बदर गरी मेरो पुनरावेदन जिकिर बयान बमोजिम गरिपाउँ भन्नेसमेत देवीरमण पाध्याको पुनरावेदन रहेछ ।
११. उक्त अञ्चल अदालतको इन्साफ मुनासिव बेमुनासिव के छ भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. देवीरमण पाध्याको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठले बच्चालाई कर्तव्य गरी ज्यान मारेको छ भन्ने कुरा कहींबाट स्पष्ट हुन सकेको छैन मात्र सह–अभियुक्तको बकाईलार्ई आधार मानी कसैलाई दोषी ठहराउन मिल्दैन भनी फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भइसकेकोछ भन्नेसमेत र असमर्थ पक्षतर्फबाट विद्वान अधिवक्ता किशोरकुमारले बच्चा जन्मेपछि देवीरमणले बच्चालाई च्यापी लग्न लागेको बेलामा लक्ष्मीमाले नलैजा भनेर मनाही गरिन तर देवीरमणले विधवा र असमर्थ लक्ष्मीमाको कुरा सुन्दै नसुनी बच्चालाई मारी खाडल खनी माटाले पुर्यो भनी र श्री ५ को सरकारतर्फबाट विद्वान अधिवक्ता सरकारी अधिवक्ता शोभाकर उपाध्यायले यसमा गर्भ पतन भएको छैन देवीरमण र लक्ष्मीमाले मेल मिलाप गरी बच्चा जन्मेपछि कर्तव्य गरी मारेको छ भन्नेसमेत बहस गर्नुभयो ।
१३. यसमा देवीरमण उपाध्यायले कर्तव्य गरी बालक मारेमा इन्कार गरेको र सह–अभियुक्त लक्ष्मीमाले पनि निजले यस किसिमबाट मारेको भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा अन्य प्रमाणको अभावमा केवल सह–अभियुक्तको भनाईको आधारमा मात्र देवीरमण उपाध्यायलाई ज्यानतर्फ कसूरदार ठहराउन न्याय संगत देखिँदैन । तसर्थ ७ पुस्ता माथिको कान्छी आमा भतिजो नातामा करणी लिनुदिनु गरेको ठहराएको जि.अ.को मुनासिव छ निज देवीरमणसमेत भई गर्भ पतन गराएको भनी निजलाई कसूदार ठहराएको अञ्चल अदालतको इन्साफ मिलेको देखिएन ।
१४. लक्ष्मीमाले प्रहरीमा र अदालतमासमेत ७ पुस्ता माथिको छोरा नाता पर्ने देवीरमणसँग बिग्री गर्भ रहन गएको थियो सो गर्भबाट महिना पुरा भई बालक पैदा हुँदा बिहान पख देवीरमण आई सो बालकलाई हामी दुबै बच्नुपर्छ भनी लिई गयो, म पनि पछि–पछि जाँदा र निजले खाल्टो खन्न लाग्दा म फर्की आएँ निजले पनि पेट लागेको छ भनी सुती रहु भनी सिकाएको थिए मैले बालकलाई गाडें, फयल नगर्नु भनी भनेका हुँदा दुबैजना बच्न चुप लागी बसेको थिएँ भनी बयान गरेको देखिएबाट निजको साविति बयानलाई असंगत तुल्याउने मिसिलमा अन्य प्रमाण नभएबाट निजले कर्तव्य गरी मारेको भन्ने देखिन आउँछ । गर्भपतन गरेको ठहराएको अञ्चल अदालतको इन्साफ मिलेको देखिँदैन । तसर्थ ज्यानसम्बन्धीको १३ (३) अन्तर्गत निजलाई सजाय गर्ने भन्ने जि.अ.को इन्साफ मुनासिव छ ।
१५. तर निजको बयान र अन्य प्रमाणबाट बच्चालाई के कस्तो व्यहोराबाट मारेको हो सो खुल्न नआएको र लुकी छिपी बच्चा जन्माएको भन्ने देखिएको र यो व्यहोराबाट मारेको भन्ने नदेखिएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्न चर्को पर्ने भएकोले अ.बं.१८७ नं.बमोजिम निजलाई १० वर्षमात्र कैद गर्नु न्यायको दृष्टिमा प्रर्याप्त देखिन्छ । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
कास्की कारागारमा थुनामा रहेकी लक्ष्मीमा के माथि इन्साफ खण्डमा लेखिए बमोजिम भएकोले सुरु कास्की जिल्ला अदालतको ०२८।११।१० को फैसलामा सर्वस्व सहित जन्मकैद हुन्छ । लगत कसी राख्ने भन्ने र गण्डकी अञ्चल अदालतको ०२९।९।१९ को फैसलामा कैद वर्ष १।६ हुन्छ भनी लेखेकोमा सो बमोजिम गर्नु पर्दैन । व्यहोरा जनाई लगत कसिएको भए काटी कैद वर्ष १० दशको लगत कसी कानूनबमोजिम असुल उपर गर्नुभनी लगत दिनु……………………१
कास्की चापाकोट बस्ने रमण उपाध्यायके माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले गण्डकी अञ्चल अदालतको ऐ.मितिको फैसलामा कैदवर्ष १।६ हुन्छ भनी लेखिएकोमा सो बमोजिम गर्नुपर्दैन व्यहोरा जनाई लगत काटिदिनु भनी ऐ.ऐ………………………२
केही उल्टीमा गण्डकी अञ्चल अदालतको अञ्चल न्यायाधीश श्री षडानन्दप्रसादको रेकर्ड राख्न स.अ. जनरल विभागमा लेखी पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु……………………..३
म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् ०३१ साल मार्ग १६ गते रोज १ शुभम् ।