September 3, 1974
Created by nepalarchives

निर्णय नं. ९०९ – ज्यान

निर्णय नं. ९०९            ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको फौ.फु. नं. ५२५, ६३६,...

निर्णय नं. ९०९            ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३० सालको फौ.फु. नं. ५२५, ६३६, ६३८, ८०१, ८०२

फैसला भएको मिति :      २०३१।५।१८।३

प्रतिवादी : दिलबहादुर लिम्बु समेत

विरुद्ध

विपक्षी : नरशेरकुमार लिम्बुको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   वारदातमा सरिक रहेका अन्य अभियुक्तहरूले आपसमा पोलापोल गरेकोमा पनि वारदातमा थियो भनी पोल्न नसकेको, बयान गर्दा पनि इन्कारी देखिए वारदातमा नभए नरहेको सिद्ध हुन आउने यस्तोमा ज्यान सम्बन्धीको १३ (३) नं.लगाई जन्म कैदको सजाय गरेको नमिल्ने ।

(प्रकरण नं. ६)

पुनरावेदकहरू तर्फबाट : वरिष्ठ अ.सर्वज्ञ रत्नतुलाधर, अधिवक्ता गङ्गाप्रसाद उप्रेती, अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी, वैतनिक अधिवक्ता कुलराज गुरुघराना

विपक्षी तर्फबाट      : वरिष्ठ सरकारी अधिवक्ता जोगेन्द्रप्रसाद श्रीवास्तव

फैसला

     न्या. वासुदेव शर्मा

      १.     निज नरशेरबहादुर लिम्बुको जाहेरीबाट कार्यावाही चली सुरु झापा जिल्ला अदालतबाट प्रतिवादी करुणकुमार, दिलबहादुर, डम्बरबहादुर, चन्द्रबहादुर प्रशुराम, पूर्णबहादुर, गोपालचन्द्र, समेतलाई जन्म कैद र भिमप्रसाद अर्कोलिया, हर्कबहादुर, कृष्णप्रसाद, नरबहादुर, मदनकुमार समेतलाई ३ वर्ष कैद र नरेश लिम्बुको कसूर मनासिव नपर्ने र खेमराज, नारायणप्रसाद आलो किसानको हकमा म्याद गुजारी बसेको हुँदा अ.बं.९६ नं.बमोजिम गर्ने ठहराएको सुरु इन्साफ मनासिव ठहराई मेची अञ्चल अदालतबाट मिति ०३०।१।१८।२ मा भएको इन्साफमा चित्त बुझेन भनी प्रतिवादी कृष्णप्रसाद समेतको पुनरावेदन परी आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

१.     ०२६।८।२६ गतेका दिन हरिराजका घरदेखि पूर्वपट्टिमा निजको जग्गामा विपक्षीहरू हुल भई धमाधम धान काट्ने गर्दा र निज हरिराजलाई यो खेतमा आईज तलाई खतम गर्छौ भन्दै घरतर्फ खुकुरी लाठा लिई आउन लाग्दा किन यसो गर्छौं भन्दै घरबाट निस्कनासाथ जम्मै धुइरी कसैले हात खुट्टामा समाउने र विपक्षी मध्ये पूर्णबहादुरले कुटपिट गर्न थाले छुट्याउन लाग्दा अमृतबहादुर लिम्बु समेतलाई कुटपिट गरी हरिराजको बन्दुक झिक भनी नचिनेकाले बन्दुक ल्याई बन्दुकका कुन्जा, लाठा खुकुरीले कुटपिट गरी बन्दुक फायर समेत गरी ६५।७० जनाको हुल हुज्जत हुँदा प्रहरी चौकी धुलावारी लानुपर्छ भनी गाडामा हरिराजलाई हाली ल्याउँदा आई नपुग्दै बीचबाटैमा हरिराजको मृत्यु भएकोले विपक्षीहरूलाई पक्राउसमेत गरेको छु मृत लास पोष्ट मार्टम गरी हामीलाई केश फाराम समेत गराई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत ०२६।८।१७।३। को नरशेर लिम्बुको जाहेरी ।

२.    आमाले हरिराजलाई दिएको जग्गा पास गरेको थिएन २०२६ सालमा खेत रोप्न दिएन, झाक्रीलाई रोप्न दिए म नभएको मौका आमाले २ कठ्ठा जग्गाको आफ्नो खेतको भनेर धान काटी घरमा राखेको हरिराजले थाहा पाई घरबाट उठाई लगेछ । ३ नं.वडा सदस्य समेतको मिटिंगले मेरो धान कटाउने निश्चय भएछ १५ गते म आई १६ गते सो खेतमा हर्कबहादुर समेत भई धान काट्दै थियौं हरिराजले १५।२० जना लाठा खुकुरी लिएका मान्छे लिई हरिराजले बन्दुक फायर गरे मेरो दूध मुनी छर्राले लाग्यो अर्काे फायर गरे लागेन दिलबहादुर बन्दुक खोस्न गयो त्यसै बीचमा धान काट्न आएका र हरिराजसँग आएकाको मुडभेड भई मैले दुई पल्ट लाठीले हरिराजलाई हिर्काएँ नारायणप्रसादकी आमा भागी गएकोले ती बाहेक अरू सबैले रिसको झोकमा १।२ पल्ट अवश्य हिर्काएको हुनुपर्छ कति हरिराजकै हो हरिराजका मानिस भागे चौकीमा लानुपर्छ भनी गाडामा हाली ल्याउँदा बीच बाटामा मरे लेखिए बमोजिम कुटपिटकै कारणबाट निजको मृत्यु भएको हो कसको चोटबाट मुत्यु भयो खुलाउन सकिन भन्नेसमेत प्र.करुणकुमार लिम्बुको प्रहरीमा भएको ठाडो कागज र सोही मिलान गरी जिल्ला अदालतमा समेत बयान भएको रहेछ ।

३.    धान काट्दै गरेको अवस्था हरिराजले बन्दुकको १ फायर चलाए करुणकुमारलाई छिटा लाग्यो, म लुक्तै गई बन्दुक समाई खोसेर दुईपल्ट कान पछाडी घुस्याले हिर्काएँ र पछि लौराले हानें अनि ककसले कुटे धान काट्ने सबै मानिस धुरीई कुटपिट कारणले निजको मृत्यु भएको हो यो यसको चोटले मृत्यु भएको भन्न सकिन भन्ने समेत प्रहरीमा र धान काट्न लागेकोमा बन्दुकको फायर गरेबाट सबैले रिसले कुटेका हुन ज्यान मार्ने नियतले कुटपिट गरेको होइन रिसको आवेशमा निजलाई कुटेकै कारणबाट मरेको हुन भन्नेसमेत दिलबहादुरले अदालतमा गरेको बयान ।

४.    ६०।७० जना मध्ये मैले चिनेको गोपालचन्द्र दिलबहादुरसमेत भई धान काट्न लाग्दा हरिराजले हामीतर्फ बन्दुक देखाई फायर गरे करुणकुमारलाई छर्राले भेटेछ, दिलबहादुर करुणकुमार हरिराजपट्टि झम्टी दिलबहादुरले बन्दुक खोसेर हिर्काउन थाले मैले ३ तीन पटक डंडाले हरिराजलाई हिर्काएको धान काट्न आउने जति सबैले लात मुक्का समेतले हिर्काएको कारणबाट हरिराजको मृत्यु भएको हो भन्नेसमेत प्रहरीमा र सबैले हरिराजलाई हिर्काएकोले कसको चोटबाट मरेको हो भन्नेसमेत डम्बरबहादुरले अदालतमा गरेको बयान रहेछ ।

५.    दिलबहादुर, हर्कबहादुर र अरू नचिनेका ६०।७० जना भई धान काट्न लाग्दा हरिराजले आई फायर गरे करुणकुमार दिलबहादुरले गई बन्दुक खोसी कुन्जाले हिर्काए हरिराजतर्फका मानिसले म उपर कटि प्रहार गर्दा छेके मेरो नारीमा लाग्यो मैले पनि हरिराजलाई २।३ पटक कुटें, धान काट्न आउनेले पनि कुट्थे यो यसले यस ठाउँमा कुटे भनी खुलाउन सक्तिन, गोपालचन्द्रले कुटे नकुटेको थाहा छैन, पूर्णबहादुर त्यहाँ थिएन, हरिराज दोसाँध भएपछि सबै भागे कुटपिटका चोटबाट हरिराजको मृत्यु भएको हो भन्नेसमेत प्रहरीमा र सोही मिलान जिल्ला अदालतमा समेत चन्द्रबहादुरले गरेको बयान ।

६.    हरिराजले पहिले २ फायर गरेपछि दिलबहादुर करुणकुमारले बन्दुक खोसे दुबैतर्फबाट हातपात कुटपिट भएको हो त्यस्तो घटना हुन्छ भन्ने थाहा नभई धान काट्ने मद्दत मागेकोले गएको हुँ बन्दुक कत्ति घाईते समेत पञ्चायतमा लानुपर्छ भनी मैले भनेपछि लिई हिंडेको बाटामा प्रहरी फेला परे बाटामा नै हरिराजको प्राण गयो भन्ने कुरा चौकीमा सुनेको हुँ भन्नेसमेत प्रहरीमा र धान काट्तै गर्दा हरिराजले करुणकुमारलाई ताकी एक फायर हानेपछि मलाई हाने मिस गयो करुणकुमार र दिलबहादुरले बन्दुक खोसी हिर्काए त्यसपछि सबैले कुट्न थाले बन्दुक मैले र कत्ति दिलबहादुरले बोकेको मैले कुटपिट समेत गरेको होइन भन्ने समेत गोपालचन्द्रले अदालतमा गरेको बयान ।

७.    धान काट्न गएको हरिराजले फायर गर्न थाले म भागें करुणकुमार, चन्द्रबहादुर, दिलबहादुर, डम्बरबहादुर र अरू नचिनेका मानिस करुणकुमारसँग कुस्ति खेल्दै थिए पछाडी डम्बरबहादुरले हरिराजलाई कतिले प्रहार गरे जस्तो लाग्छ मलाई हरिराजको खुट्टा बाँध भनी करुणकुमारले अर्‍याए डरले मानिन दिलबहादुले हरिराजको भुँडीमा लात्तले हानेपछि ज्यान मर्ला भनी जगतप्रसादले भनेपछि कुटपिट बन्द भयो, मैले कुटिन गोपालचन्द्रले किन पोल गरे थाहा छैन भन्नेसमेत प्रहरीमा र मैले रामप्रसादको घरसम्म गाडा हाँके अनि रामप्रसादले नै हाँके २।३ दिनपछि हरिराजको मृत्यु भयो भन्नेसमेत मदनकुमारको अदालतमा बयान ।

८.    धान काट्दा हरिराजले फायर गर्छु भनेबाट म भागी निकै टाढा माथि गएकोले कति जनाले के कस्तो हतियारले कुटे निजलाई धुलावाडी ल्याएपछि म घर गएँ, कुटपिटको चोटबाट मरेको हो भन्नेसमेत प्रहरीमा र सो ठाउँमा ४०।५० जना मानिस थिए कुट्न मनाहि पनि गरिन भन्नेसमेत अदालतमा कृष्णप्रसाद सुवेदीले गरेको बयान ।

९.    धान काट्न गएको बन्दुक फायर भएपछि भागें फर्कि हेर्दा हरिराजलाई खेत मुनी पुर्‍याएको रहेछ को कसेले कसरी कुटपिट गरे भन्न सक्तिन घटनास्थलमा आउँदा खुट्टामा समेत कपडाले बाँधी राखेको थियो, म धान काट्नसम्म गएको हुँ कुटपिटमा हात छैन, कुटपिटका चोटबाट निज हरिराजको मृत्यु भएको हो भन्नेसमेत प्रहरीमा २ बन्दुक देखाएपछि भागी घर गए अरू कुरा थाहा छैन भन्नेसमेत अदालतमा भिमप्रसाद अर्कोलियाले गरेको बयान ।

१०.    १५ गते धानको ढिकुरी सम्बन्धमा मिटिङ्ग भएको हो करुणकुमारको धान काट्ने मिटिङ्ग भएको थिएन । १६ गते म ज्यामिरगढीबाट घर जाँदा हरिराजको र करुणकुमारको कुटपिट भएर हरिराज मरे भन्ने सुनें दिलबहादुर समेतको कुटपिटको चोटबाट मृत्यु भएको हो भन्नेसमेत प्रहरीमा कृष्णप्रसाद कडवालले गरेको बयान ।

११.    म आफ्नो खेतमा धान काटिरहेको थिएँ, कुटपिटको हल्ला सुनी जाँदा हरिराजलाई धुलावाडीतर्फ लगे म सरीक भई कुटपिट गरेको छैन पक्राउ परेका मानिसका कुटपिटका कारणबाट मृत्यु भएको मलाई विश्वास लाग्छ भन्नेसमेत प्रहरीमा र निजको खेतमा धान काट्न म नगएको हुँदा को को भई कुटे थाहा छैन भन्नेसमेत अदालतमा नरबहादुरले गरेको बयान ।

१२.   हामी आफ्नो घरमा छौं हामीले कुटेको छैन हरिराजलाई कसले मारे थाहा छैन म समेतले कुटेमारेको छैन भन्नेसमेत धनबहादुर श्याम सिंहको एकै व्यहोराको पृथकपृथक बयान रहेछ ।

१३.   धान काट्न सुरु गरी २ बजे देखि मलाई धान ओसार्न लगाए बालकृष्णको घरमा धान पुराएपछि खेतमा हल्ला सुनी घरतर्फ गएपछि खेतमा जाँदा गोपालचन्द्र करुणकुमार, मदनकुमार, डम्बरबहादुर र नारायणप्रसाद दिलबहादुर समेत र अरू २ जना लिम्बुसमेत रहेछन् २ जना लिम्बु र म घरतर्फ गयौं १७ गते प्रहरीले पक्राउ गर्दा हरिराजको मृत्यु भएको थाहा भयो मैले कुटपिट गरेको होइन पक्राउ परेको २ जना समेत भई कुट्नु र काट्नु गरेको चोटबाट मृत्यु भएको विश्वास लाग्छ मैले कुटपिट गरेको होइन भन्नेसमेत प्रहरीमा र वारदात हुँदा म छैन पछि जाँदा हरिराज घा खतपरी लडी रहेका थिए भन्नेसमेत हर्कबहादुर तामाङ्गले अदालतमा गरेको बयान ।

१४.   वारदात मिति मार्ग १६ गते विरामी भई म घरैमा सुती बसेकाले म समेतले बन्दुक झिकी ल्याई कुटपिट गरी हरिराजलाई मारेको होइन वारदातमा म गएकै छैन अरू प्रतिवादीहरूले कुटपिट गरी मारे नमारेको समेत मलाई थाहा नहुँदा म जान्दिन जाहेरवाला नरशेर इवीदार मानिस हुँदा नभएको पोल दिएको हुन मर्ने हरिराजले हद बन्दी जग्गा लुकाएको डिमारकेशन भित्रको जग्गा आवाद गरेको समेत कुरामा मैले उजूर दिएको इवीले मर्नेको स्वास्नी भाइले अरूलाई समेत सिकाई म उपर पोल गरेका हुन मैले हरिराजको घरबाट बन्दुक झिकी कुटमार भन्ने बचन दिई कुटेको मारेको समेत होइन सर्जमिनले झुट्टा पोल गरेका हुन् भन्नेसमेत पूर्णबहादुर लाउती लिम्बुको बयान ।

      २.    करुणकुमार, दिलबहादुर, डम्बरबहादुर, चन्द्रबहादुर, पर्सुराम, खेमराज, नारायणप्रसाद, पूर्णबहादुर, गोपालचन्द्र उपर ज्यान सम्बन्धीका १३(३) र भिमप्रसाद, कृष्णप्रसाद र नरबहादुर मदनकुमार, हर्षबहादुर कुटपिट गरेमा इन्कारी करुणकुमार, गोपालचन्द्रले पोल गरेको दिलबहादुर, डम्बरबहादुर, चन्द्रबहादुरले कुटपिट गरेको भनी पोल गरेको सर्जमिनमा एकरुपता नभएको हुँदा वारदातमा उपस्थित भई मतलबमा पसेको हुँदा ज्यानसम्बन्धीको १७(३) ले आलो किसानतिर धनुलिई बसेको प्रयोग गरेको नदेखिंदा ऐ.को २ दफाअनुसार सजाय हुने र कृष्णप्रसाद, हरिलाल मनोरथ उपर मुद्दा चल्न सक्ने भन्नेसमेत प्रहरी प्रतिवेदन भएकोमा सुरु तथा अञ्चल अदालतबाट निम्न लेखिएअनुसार फैसला भएको रहेछ ।

१.     बुझिएसम्मको प्रमाणबाट करुणकुमार, डम्बरबहादुर, चन्द्रबहादुर समेतले लात मुक्का रोल डण्डा खुकुरी कत्ति समेतको हतियार प्रहार गरी पछिबाट डोरी खुट्टामा लगाई तानी घिसारेकै कारणबाट निज हरिराज निर्मम हत्या कर्तव्य गरी मरेकै कुरा प्रमाणित ठहर हुन आएकोबाट ज्यानसम्बन्धीको १३(३) बमोजिम प्र.करुणकुमार, दिलबहादुर, डम्बरबहादुर, चन्द्रबहादुर समेत ४ जनालाई जन्म कैद हुन्छ, पर्शुराम थपलियाको हकमा प्र.मध्ये करुणकुमार समेत र सर्जमिन समेतले पर्शुरामले पनि मर्ने हरिराजलाई लाठा डण्डाले कुटेको हुन भनी भनेको र साक्षीहरूले हरिराजलाई कुटेको होइन भनी किटानसाथ भन्न नसकेकोले समेत वारदातमा सरिक छैन भन्न सबूत प्रमाणको अभावमा मनासिव नपर्ने हुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्म कैद हुन्छ । पूर्णबहादुरको हकमा हुल उठी मारकाट भनी बचन दिई आफू समेत भई कुटपिट गरेकै कारणबाट हरिराज मरेको कुरा प्रमाणित हुन आएकोले ज्यान सम्बन्धीको १३ (३) बमोजिम जन्द कैद र भिमप्रसाद, हर्षबहादुरको हकमा हुल हुज्जतमा सरिक भएको बुझिएबाट ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम ३ वर्ष कैद हुन्छ कृष्णप्रसाद सुवेदीको हकमा पनि हातमा हँसिया लिई धान काट्न गएमा सावितै हुँदा ज्यानसम्बन्धका १७(३) नं.बमोजिम ३ वर्ष कैद र प्र.नरबहादुर, मदनबहादुरको हकमा पनि ज्यानसम्बन्धीको १७(३) नं. ले ३ वर्ष कैद र प्र.गोपालचन्द्र सिवाकोटीका हकमा निज समेत भई कुटपिट गरेकै कारणबाट हरिराजको मृत्यु हुन गएको कुरा प्रमाणित ठहर हुन आएकोले समेत ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम जन्म कैद हुन्छ, प्र.धनबहादुर श्याम सिं समेतको हकमा जाहेरी दर्खास्त र प्रहरी प्रतिवेदनमा समेत निजहरूले अपराध गरेको भन्ने कुरा उल्लेख नभएको र इन्कारी बयान समेत हुँदा कसूरदार हो भन्न मनासिव नपर्ने हुँदा सफाई पाउने ठहर्छ, प्र.खेमराज, नारायणप्रसाद र आलो किसानाका हकमा म्याद गुजारी बसेको हुँदा अ.व.९६ नं.बमोजिम अंश रोक्का गर्ने समेत ठहराई सुरु झापा जिल्ला अदालतबाट मिति २०२९।५।१४।३ मा फैसला भएको रहेछ ।

२.    उक्त इन्साफमा चित्त बुझेन सुरुको इन्साफ उल्टाई पाउँ भन्ने समेत प्र.पूर्णबहादुर, डम्बरबहादुर, दिलबहादुर, करुणकुमार, गोपालचन्द्र, कृष्णप्रसाद, भिमप्रसाद, नरबहादुर समेतको पुनरावेदन परेकोमा प्र.हरू वारदातमा सम्मिलित भई हरिराजलाई कुटपिट गरेमा सावित सो कुरा सर्जमिन समेतले पुष्टाई गरेको र अरू सुरुको राय बुँदा प्रमाण समेतले प्र.हरू आफू निर्दोष छन् भन्ने सबूत प्रमाण गुजार्न नसकेकोले इन्साफ सुरुको मनासिव ठहर्छ भन्नेसमेत मेची अञ्चल अदालतबाट भएको मिति २०३०।१।१८।२ को फैसला ।

३.    उक्त इन्साफमा चित्त बुझेन जन्म कैदको सजाय गर्ने गरेको सुरुको सदर गरेको अञ्चल अदालतको इन्साफ उल्टाई पाउँ भन्नेसमेत प्रतिवादी कृष्णप्रसाद सुवेदी, दिलबहादुर लिम्बु, डम्बरबहादुर लिम्बु, चन्द्रबहादुर लिम्बु, पूर्णबहादुर लावती लिम्बु, गोपालचन्द्र सिवाकोटी र करुणकुमार लिम्बु समेतको पुनरावेदन जिकिर रहेछ ।

४.    मृतकले हरिराजको लास पोष्टमार्टम हुँदा मृत्युको कारण धार भएको हतियारको प्रहारले काटिएको हो भनी लेखिएकोले पोल परेका अभियुक्तहरूमध्ये हात छोड्नेमा अपराधीसँग कसकसको हातमा केके थियो भनी पत्ता लगाउन परेको हुनाले निजहरूको बयान पढी हेर्दा डम्बरबहादुरले लात्तिले हानेको पूर्णबहादुरको छोरा दिलबहादुरले लाठाले हानेको दिलबहादुर, चन्द्रबहादुरले हातमा डण्डा लिएको भनी बयान गरेको देखिएकोले अरू हतियारले हानेको भनी ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्म कैद गरेको इन्साफ मिलेको देखिएन अ.बं.२०२ नं.बमोजिम छलफलमा सरकारी अधिवक्ता झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३१।३।९।१ को आदेश ।

५.    यसमा प्रतिवादी पुनरावेदक थुनुवा दिलबहादुरसमेतलाई थुनाबाट उपस्थित गराई रोहवरमा राखी प्रतिवादी करुणकुमार, पूर्णबहादुर, दिलबहादुरतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा प्र.कृष्णप्रसाद सुवेदीतर्फका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती र प्र.गोपालचन्द्र सिवाकोटीतर्फका विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदीको र थुनुवा डम्बरबहादुरतर्फबाट खटिई उपस्थित हुनभएका विद्वान वैतनिक अधिवक्ता श्री कुलराज गुरुघरानाको र उक्त आदेशानुसार खटिई उपस्थित हुनुभएको विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री जोगेन्द्रप्रसाद श्रीवास्तव समेतको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा सुरु तथा अञ्चल अदालतबाट भएको फैसला मनासिव या गल्ती के हो ? निर्णय दिनुपर्ने देखियो ।

६.    प्रतिवादी पूर्णबहादुरको हकमा जाहेरवाला नरशेरकुमार लिम्बुले निज उपर किटानी साथ उजूर गरेको सर्जमिनका अमृतबहादुर समतेका व्यक्तिले हातमा खुकुरी लिई आई कुटपिट गर्न थालेको देखेको हुँ भनी किटानीसाथ बकेको देखिन्छ तापनि मर्ने हरिराज उपर हदबन्दी भन्दा बढी जग्गा लुकाएको र डिमारकेशन भित्रको जग्गा आवाद गरेमा मैले उजूर गरेको थिएँ रिसइवीबाट निजको भाइ स्वास्नी समेतले सिकाई पोल्न लगाएका हुन् भन्ने समेतको निजको बयान भएको र निज प्रतिवादी पूर्णबहादुर बिरामी भई आफ्नै घरमा बसेको थियो भन्ने कुरालाई निजका साक्षी ईन्द्रबहादुर कामीले समर्थन गरेको, वारदातमा सरिक रहेका अन्य अभियुक्तहरूले आपसमा पोलापोल गरेकोमा निज पूर्णबहादुर पनि वारदातमा थियो भन्ने पोल्न नसकेको र निज प्रतिवादी पूर्णबहादुरले बयान गर्दा ईन्कारी देखिएको समेतबाट सो वारदातमा निज नभए नरहेको सिद्ध हुन आएकोले सुरु अञ्चल अदालतका फैसालाले ज्यान सम्बन्धीको १३(३) लगाई जन्म कैदको सजाय गरेको मिलेन सफाइ पाउने ठहर्छ ।

७.    प्र.कृष्णप्रसादको हकमा जाहेरवाला नरशेरकुमारको जाहेरी दरर्खास्तमा पोल नभएको प्रतिवादी करुणकुमार बाहेक अभियुक्तले वारदातमा सम्मिलित थियो भन्न नसकेकोले अरू मिसिल प्रमाण समेतबाट निजले हरिराजको ज्यान मार्ने मतलवमा परेको समेत नदेखिएकोले सुरुको सदर गरी अञ्चल अदालतले ज्यानसम्बन्धीको १७(३) नं.लगाई सजाय गरेको मिलेन सफाई पाउने ठहर्छ ।

८.    प्रतिवादी करुणकुमार, दिलबहादुर, चन्द्रबहादुर तथा गोपालचन्द्रका हकमा सुरु तथा अञ्चल अदालतले परिस्थितिअनुसार लाग्ने अरू कुनै ऐन नदेखिएकोले ज्यानसम्बन्धीको १३(३) नं.लगाएको बेमनासिव भन्न मिलेन । तर अपराधको अवस्था विचार गर्दा मर्ने हरिराजले पहिले बन्दुकको फायर गरी खास वारदात सुरु हुन गएको र त्यही कारणबाट तत्काल रीस उठी दुबै पक्षको मानिसमा भिडन्त हुँदा हरिराज मर्न गएको र दुबैतर्फका मानिसलाई घा चोट लागेको समेत मिसिलबाट देखिएकाले सबै प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने देखिन आएको र सबैले एकै किसिमसँग वारदातमा भाग लिएकोसमेत नदेखिएकोले लेखिए बमोजिम सबै प्रतिवादीहरूलाई एकै किसिमका सजाय गर्दा पनि न्याय पर्ने नदेखिंदा मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं.बमोजिम राय लगाई तपसीलबमोजिम सजाय घटाइएको छ । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

प्रतिवादी पूर्णबहादुर लाउती लिम्बु के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले सफाई पाउने ठहरेकोले सुरु झापा जिल्ला अदालतमा मिति २०२९।५।१४।३ का फैसलाले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्व सहित जन्म कैद गर्ने ठहराएको इन्साफ सदर गरी मेची अञ्चल अदालतबाट मिति ०३०।१।१८।२ मा भएको फैसलाबमोजिम सजाय गर्नुपरेन उक्त फैसलाअनुसारको लगत काट्ने गरी यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा परेकोभए थुनाबाट तुरुन्त छाडीदिनु भनी आजै छुट्टै आदेशसमेत भएकोले लेखिएअनुसार लगतकट्टा गर्ने र निज लाई थुनाबाटसमेत मुक्त गर्न झापा जि.अ.लाई पत्रलेखि पठाउन का.जि.तहसिलमा तहसिलमा लगत दिनु…………….१

प्रतिवादी कृष्णप्रसाद सुवेदीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले सुरु झापा जिल्ला अदालतमा मिति २०२९।५।१४।३ का फैसलाले ज्यानसम्बन्धीको १७(३) बमोजिम कैद गर्ने गरेको सजायमा मेची अञ्चल अदालतबाट इन्साफ सदर गरेकोले अब देहायबमोजिम गर्नु भनी ऐ.ऐ…………………२

शुरु झापा जिल्ला अदालतका ०२९।५।१४।३ का फैसलाले गर्ने गरेको कैद वर्ष ३ को लगत र मेची अञ्चल अदालतका ०३०।१।१८।२ का फैसला बमोजिम थप कैद ३।१८। समेतको लगत कायम गरी राख्न पर्दैन व्यहोरा जनाई उक्त दुबै कलमको लगत कट्टा गर्ने १ निजले कैद वापत सुरु झापा जिल्ला अदालतमा २०२७।९।२२ मा राखेको धरौटी रु.२००। र मेची अञ्चल अदालतमा पुनरावेदन गर्दा मिति ०२९।१०।२ मा राखेको धरौटी रु.१०४८।५० तथा मिति ०३०।१।१९।३ मा इलाम जिल्ला अदालतमा राखेको धरौट रु.१६२। समेत जम्मा कैद वापतको धरौटी रु.१४१०।५० नलाग्ने हुँदा सो कानूनको रीतपुर्‍याई फिर्ता दिने २

देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निज सुरु झापा जिल्ला अदालतको फैसला सदर गरी मेची अञ्चल अदालतबाट भएको फैसला बमोजिम गर्दा सजाय चर्को पर्ने देखि अ.बं.१८८ नं.बमोजिम राय लगाईएकोले देहायका प्रतिवादीहरूका हकमा देहायबमोजिमका दरले मात्र सजाय हुने हुँदा उक्त सुरु झापा जिल्ला अदालतबाट जन्मकैद र मेची अञ्चल अदालतका फैसलामा सर्वस्व सहित जन्मकैद गरी इन्साफ सुरुको सदर गरेको सो बमोजिम गर्नुपरेन । व्यहोरा जनाइ उक्त दुबै तहको फैसला बमोजिम लगत कट्टा गरी निज प्रतिवादीहरूलाई थुनिएको मितिले अब देहायबमोजिमको कैदको लगत कायम गरी कैद सजाय गर्नु भनी ऐ.ऐ…..३

वारदात गरेमा साविति हुने जोखिमी कत्तिले मर्ने हरिराजलाई हान्ने भनेको प्रतिवादी डम्बरबहादुर लिम्बुलाई कैद वर्ष १० दश, मर्ने हरिराजसँग बन्दुक खोस्ने र फलामको डण्डा प्रहार गर्ने भनेको प्रतिवादी दिलबहादुर लिम्बुलाई कैद वर्ष ७ सात, मर्ने हरिराजलाई लठ्ठले हान्ने भनेको चन्द्रबहादुर लिम्बुलाई कैद वर्ष ५ पाँच, इन्कार भएतापनि वारदात सुरुदेखि अन्त्यसम्ममा सरिक हुने देखिएका प्रतिवादी गोपालचन्द्र सिवाकोटीलाई कैद वर्ष ५ पाँच, मर्ने हरिराजलाई लात मुक्का र डण्डाले हान्ने भनेको प्रतिवादी करुणकुमार लिम्बुलाई कैद वर्ष ५ पाँच

 

प्रतिवादी पूर्णकुमार लिम्बुको साक्षी नक्कल बन्दा गा.पं.वडा नं.७ बस्ने ईन्द्रबहादुर कामी कै निजले केही झुट्टा कुरा बकेको भनी सुरु झापा जिल्ला अदालतका ०२९।५।१४।३ का फैसलाले गर्ने गरेको जरिवाना रु.२५। नलाग्ने हुँदा असुल भए फिर्ता र नभए व्यहोरा जनाई लगत कट्टा गर्नु भनी ऐ.ऐ…………………..४

इन्साफ केही उल्टी भएको हुँदा देहायका न्यायाधीशहरूको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु १ मेची अञ्चल अदालतका तत्काल अञ्चल न्यायधीस श्री महेशरामभक्त माथेमा १, झापा जिल्ला अदालतका तत्काल जि.न्या.श्री गोविन्दप्रसाद घिमिरे १

 

उक्त रायमा म सहमत छु । 

 

न्या. ईश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३१ साल भाद्र १८ गते रोज ३ शुभम् ।