निर्णय नं. ९०६ – मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ
निर्णय नं. ९०६ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ९०६ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् ०३१ सालको दे.फु.नं. ८४
फैसला भएको मिति : ०३२।५।१७।३ मा
निवेदक : जि.पाल्पा, बन्दी पोखरा गा.पं.वा.नं.१ बस्ने गोविन्दबहादुर रावल
विरुद्ध
विपक्षी : जि. बुटवल खस्यौली न.पं. बस्ने रामबहादुर रावल क्षेत्री समेत
मुद्दा : मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ
(१) मिलापत्रबाट बण्डा लिई पाएको भएमात्र मिलापत्रबमोजिम सम्पत्ति दिएन दिलाई पाउँ भन्ने नालिस दावी लाग्न सक्ने, लिई पाई हक भएकै नदेखिएकोमा मेरो हक सदर थामी बाली बिगो भराई पाउँ भन्ने वादीको नालिस दावी लाग्न नसक्ने ।
(प्रकरण नं. १४)
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०२७।५।९ गते निर्णय भएको दोहर्याई पाउँ भन्ने निवेदक वादी गोविन्दबहादुरले चढाएको निवेदनमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएको यसमा लेखिएको मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनि दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी विशेष जाहेरी विभाग सवारी सिविर धनकुटाबाट लेखि आएको प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : ७० सालमा बण्डापत्र हुँदा चेरथरी ।। मध्ये । बाबु जोगबहादुर समेतका बण्डामा परी सगोलमा रहेको चक्रबहादुरको बण्डा पनि बाबुले राजीनामा लिई ७८ सालमा बाबुको नाउँमा नाउँसारी भएको अवस्था चक्रबहादुरको चेरथरी मौजा बढाबढ गर्नु भन्ने ८२ सालमा खड्गनिशाना भई बढाबढी भएपछि ८७ सालमा सो बदर भई चक्रबहादुरले भोगचलन गरिआएको ९१ सालमा अंश मुद्दा पर्दा आमा जौंकुमारी र विपक्षीका बाबु डि.चक्रबहादुर समेतको मिलापत्र गरेछन् । सो ९१ सालको मिलापत्र समेतले हक भोग हुन आएको मधेसको चेथरी । आना म नाबालख आमा विधवा भएको अवस्था ९५ सालदेखि चक्रबहादुरले भोग गरी साल–साल आयस्ता दिने गरिआएको १५ सालदेखि आयस्ता पनि नदिने जग्गा पनि चलन गर्न नदिने गरेकोले अंश छुट्याई पाउँ भनी मेरो उजूर परेकोमा मिलापत्रबमोजिमको सम्पत्ति दिलाई पाउँ भन्ने उजूर परेमा ठहरे बमोजिम हुने भनी स.अ.डिभिजन बेञ्चबाट खारेजी फैसला भएको ७० सालको बण्डापत्र कायम राखी ९१ सालको मिलापत्रले हक भएको चेरथरी । जिमिदारीमा खिचोला मेटाई मेरो हक सदर थामी उक्त जग्गाको मैले पाउने साल ३ को आयस्ता रु.२७३४३।६ दिलाई पाउँ भन्नेसमेत वादी गोविन्दबहादुरको फिराद ।
३. मधेशको चेरथरी ।। आठ आना ८२ सालमा लिलाम भई चन्द्रवीरले लिएकोमा बाबु चक्रबहादुरको उजूर पर्दा लिलाम बदर भई मौजा छाड्न मन्जुर गरे मालबाट लिई फिर्ता गराई मौजा चक्रबहादुरलाई थामी दिनु छाड्न मन्जुर नगरे लिलाममा लिएको थैली र जफत भएको आयस्ता चक्रबहादुलाई फिर्ता दिनु भन्नेसमेत ८७।४।१२ मा खड्गनिशाना भई चन्द्रवीरले रुपैयाँ बुझी छाडि दिएबाट मालबाट बाबा चक्रबहादुरले वहालीसमेत पाई दर्ता दाखिल खारेज भई आफ्नो भोगचलन भई आएको ९१ सालको मिलापत्रले वादीको हकनै छैन, मालपोत समेत हामीले नै तिरी भोग गरेको १६ सालमा हामी दाजु भिन्द हुँदा सो जिमिदारी म रामबहादुरको बण्डामा परि दर्ता वहाली गर्न ३५ दिने म्याद टांसिएकोमा समेत मेरो हक भनी वादीको बाबुले उजूर गर्न नसकेको समेत कारणबाट हामीलाई आयस्ता लिनेगरी दिएको र आयस्ता लिइएको समेत कुनै होइन झुट्टा उजूर गर्ने वादीलाई सजाय गरी पाँउ भन्ने समेत रामबहादुर रावल १ नारायणबहादुर रावल १ को प्रतिउŒारपत्र ।
४. चेरथरी ।। जिमिदारी चक्रबहादुरको हकै नहुनाले लिलाम बदर गरिपाउँ भन्ने वादीको बाबुको उजूर परेकोमा अपील नलाग्ने भई पछि चक्रबहादुरले उजूर गर्दा फिर्ता गरिदिनु भने ८७।४।१२ मा खड्गनिशान भई चक्रबहादुरले ०८७।१२।१६ मा बहाली लिई लिलाममा दिने चन्द्रवीरको रुपैयाँ फिर्ता भएको पछि रामबहादुरको दाजुभाइ छुट्टि रामबहादुरको नाममा दर्ता भएको देखिन आएको यसै चेरथरी समेतको अंश पाउँ भनी यिनै वादीले १७ सालमा गरेको उजूरीमा ९१ सालको मिलापत्रबाट चेरथरी वादीको नदेखिने व्यहोरा लेखी ०१८।६।१८ मा यस अदालतबाट खारेज भएकोमा सदर गरी जि.अ.पाल्पाबाट मिलापत्रबमोजिमका जग्गा पाउँ भन्ने उजूर परे उसै बखत ठहरे बमोजिम हुने हुँदा इन्साफ पाल्पा जि.अ.को सदर भनी स.अ.डिभिजन बेञ्चबाट फैसला भएको देखिएको ९१ सालको मिलापत्र हेर्दा चेरथरी मेरो एकलौटी भन्ने डि.चक्रबहादुरको बयान भएकोमा जेठाजुको बयान बमोजिम भए गरेको हुँदा वादी दावी बमोजिम गराई नमान्ने गरी सो दावी छाडी खसमको अंश र खरिदिसमेत हाम्रो हक चलनको साविक बमोजिम भोगचलन गरी आएको अम्बोटे समेतको जग्गा लिने भनी लेखिएको सो मिलापत्रबाट देखिएकोले सोबाट के देखिने भनी चेरथरी दावी छाडी वादीको बाबुको अंश भोग गरेको मिलापत्रमा लेखिएको साविकको आफैले भोग गरिआएको जग्गा र खरिदी जग्गासमेत वादीको हक भएको प्रष्ट हुन आएको १६ सालको बण्डासमेत उपर उजूर दिएको नदेखिनाले ९१ सालको मिलापत्रबाट चेरथरी मौजा वादीको हकै नभई प्रतिवादीको हक भएकोमा हकै नभएको जग्गा बाली पाउँ भनी दिएको उजूर अ.बं.८२ नं. ले लाग्ने नसक्ने भई खारेज हुने ठहर्छ भन्नेसमेत तत्कालिन पाल्पा ई.अ.को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने गोविन्दबहादुरको पुनरावदेन ।
६. अंश मुद्दा परी डिभिजन बेञ्चबाट ०१०।५।२४ मा फैसला हुँदा अंशको दावा खारेज हुन्छ, मिलापत्रबमोजिमको सम्पत्ति नपाएको भए त्यसतर्फ उजूर परेको बखत ठहरे बमोजिम हुने भन्ने उल्लेख भएबमोजिम वादी दावी पर्न आएको भएपछि दावी ठहर्ने नठहर्ने के हो ? निर्णय दिनुपर्नेमा नदिई खारेज गरेको उचित नदेखिंदा २ थर राखी कानूनबमोजिम निर्णय दिनु भनी तारेख तोकी सुरुमा पठाई दिन भन्नेसमेत लुम्बिनी अञ्चल अदातलको आदेश ।
७. उक्त आदेशमा चित्त बुझेन भन्ने प्र. रामबहादुर, नारानबहादुरको पुनरावेदन ।
८. मिलापत्रबाट चेथरी मौजा चक्रबहादुरकै जिकिर मुताविक भए गरेको कुरामा कायम मानी चक्रबहादुरलाई नै छोडी दिएको देखिन आयो किनभने मिलापत्रको तलको व्यहोराबाट पनि र रामपुरा सम्म ३ साल ठेक्का दिई पछि फिर्ता लिने व्यहोरा परेको देखिन आउँछ चेथरी मौजा नछाडेको भए प्रतिवादीको कुरामा मन्जुरी गरी आफ्नो दावी छोडी मिलापत्र हुनु गर्नु नपर्ने र वादी सरहका अंशियार सालिकराम तर्फका हकदारबाट पनि सोही मिलापत्रले नै छोडी दिएको देखिन आउने सालिकरामले जौकुमारी गोविन्दबहादुरसँग नछुट्टिदै अघि नै चक्रबहादुरकै हकको हो भनी तमसुक मन्जुर गरी दिएको देखिन आउने सो भन्दा अघि डाँका पाल्यो भन्ने चक्रबहादुर उपरको मुद्दामा मौजा चक्रबहादुरको भनी लिलाम बिक्री गर्न लागेको टायममा यिनै अंशियारतर्फबाट उजूर पर्दा चक्रबहादुरको हक ठहरी लिलाम बिक्री भएको देखिएबाट वादीले अघि नै हारी सकेको देखिन आउँछ । चक्रबहादुरको उजूरीबाट लिलाम भएको जग्गा चक्रबहादुरको ठहरी चक्रबहादुरले नै फिर्ता पाएको देखिन आएको त्यसपछि चक्रबहादुरको नाउँमा र पछि छोरा रामबहादुर समेतका नाउँमा जिमिदारी दाखिल खारेज टाँस समेत भई अरुको हक भए उजूर गर्न पाउने अड्डाले मौका दिने र सो म्याद मित्र समेत यिनीहरु कसैको उजूर नपरी चक्रबहादुरको छोराले समेत यो जग्गा मालमा दाखिल खारेज गराई तिरो भरी चलाई भोगचलन गरी आएको देखिन आउँछ ऐनका म्याद भित्र कसैको उजूर बाजूर परी बदर गराएको नदेखिएको र लेखेसम्म भोगचलन गरेको पक्का सबूद प्रमाण बेगर वादीका भनाईका भरमा आयस्ता खाई राखेको भन्ने उजूरी प्रमाणिक भन्न ठहर्याउन नहुने नदेखिएकोले वादीको उजूरी मनासिव ठहर्दैन झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत स.अ. डिभिजन बेञ्चबाट ०२७।५।९ मा निर्णय भएको रहेछ ।
९. ७० साल चैत्र १७ गते रोज २ को बण्डापत्र लिखित सबैले दाखिल गर्न ल्याउनु भनी वादीलाई तारेख तोकी दाखिल गराई प्रतिवादीलाई देखाउन सुनाउन पेश गर्नु भन्ने ०३२।१२।८।९ को फुल बेञ्चको आदेशानुसारको बण्डापत्र सक्कल म सँग छैन भन्ने निवेदन दिई दाखिल गर्न नसकेको समेत रहेछ ।
१०. यस बेञ्च समक्ष निवेदक वादी गोविन्दबहादुर आफैले ९१ सालको मिलापत्रमा खसमको अंश र खरिदि समेत भोग गरी आएको भन्ने बोल उल्लेख गरी खसमको अंश कुन कुन हो भन्ने कुरालाई ७० सालको बण्डापत्रलाई कायम राखेको छ । ७० सालको बण्डापत्र ९१ सालको मिलापत्रले चेथरी मौजा । आनामा दावी बमोजिम मेरो हक भएको प्रष्टै देखिन्छ सो आना जिमिदारीमा मेरो हक कायम हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले ९१ सालको मिलापत्रमा खसमको अंश र खरिदी समेत भनी जग्गाको फाँट खुलाई उल्लेख गरेको जे जति छ त्यति सम्म वादीका आमा समेतले लिई पाई अरुमा दावी छाडी उक्त मिलापत्र भए गरेकोले ७० सालको बण्डपत्र कायम राखिएको भन्ने प्रश्नै आउँदैन । उक्त बण्डापत्र सक्कल वादीले पेश दाखिल गर्न सकेको पनि छैन । ९१ सालको मिलापत्रबाट चेथरी मौजामा वादीको आमा समेतले पाएको नहुँदा सो मौजा दिलाई पाउँ भन्ने वादीको नालेस लाग्न सक्ने अवस्थै छैन आधारहिन वादीको नालेस खारेज हुनुपर्छ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भयो ।
११. यसमा ७० सालमा बण्डापत्र हुँदा चेथरी ।। आना मध्ये । जिमिदारी मेरो बाबु जोगबहादुर समेतका बण्डामा परी ९१ सालमा अंश मुद्दा पर्दा भएको मिलापत्र समेतबाट हक भएको विपक्षीको बाबु डि.चत्रबहादुरको भोगचलन गरी साल साल आयस्ता दिने गरी आएकोमा ०१५ साल देखि आयस्ता पनि नदिने जग्गा चलन गर्न पनि नदिने गरेकोले अंश छुट्टयाई पाउँ भनी उजूर गर्दा मिलापत्रबमोजिम सम्पत्ति नपाएको भए त्यसतर्फ उजूर गरेको बखत ठहरेबमोजिम हुन अंश छुट्याई पाउँ भन्ने दावी नलाग्ने गरी ०१९।५।२४।१ को डिभिजन बेञ्चबाट फैसला भएकोले मिलापत्र समेतले हक भएको चेथरी ।। आना मध्ये मेरो हकको । जिमिदारीमा खिचोला मेटाई मेरो हक सदर थामी ३ वर्षको बाली विगो रु.२७३४।३६ भराई पाउँ भन्ने वादीको मुख्य दावी र सो चेथरी जिमिदारी वादीको आमा जौकुमारी समेतले उजूर गरेकी अंश मुद्दामा भएको ९१ सालको मिलापत्र समेतबाट वादीको हक नभएकोले वादीको दावी लाग्न नसक्ने भन्ने समेत प्रतिवादीहरुको जिकिर रहेछ । वादी प्रतिवादीहरुको दावी जिकिर तथा दुवै पक्षको बहस जिकिर समेतलाई ध्यानमा राखी हेर्दा वादीले मुख्य आधार लिएको ७० सालको बण्डापत्र भनेको कागजको के स्थिति छ ? ९१ सालमा भएको भनेको मिलापत्रबाट चेथरी जिमिदारीमा वादीको हक पुगेको छ छैन ? सो जिमिदारीमा वादीको दावी लाग्न सक्ने नसक्ने के हो ? यी प्रश्नहरु निर्णयात्मक देखिन आएको छ ।
१२. सर्वप्रथम ७० सालको बण्डापत्र भनेको कागजको सम्बन्धमा हेर्दा १९७० साल चैत्र १७ गते रोज २ मितिको उक्त बण्डापत्र लिखतको नक्कल सम्म मिसिलमा पेश भइराखेको त्यसमा चेथरी ।।। आना मध्ये ।। आना वादीको बाबु जोगबहादुर समेतका बण्डामा लेखिएको भए पनि प्रतिवादीहरुको बाबु डि.चक्रबहादुरलाई डाँका पाल्यो भन्ने अभियोग लागी सो चेथरी ।। आना पुरै जिमिदारी लिलाम भएकोमा हाम्रो बण्डा लिलाम हुनु पर्ने होइन भनी वादीको बाबु जोगबहादुरसमेतको उजूर परेकोमा निजहरुको उजूर पुग्न नसक्ने तोक सदर भएको र अन्यायमा परें भनी चत्रबहादुरले बिन्ति चढाउँदा सो मौजा निजलाई नै फिर्ता गरी दिने समेत ८७।४।१२ मा खड्गनिशाना भई निज चक्रबहादुरले थामी पाई माझ खण्ड मालबाट ८७।१२।१६ मा बहाली पाएको सो उपर वादीको बाबु समेतको उजूर नपरी प्रतिवादीहरुतर्फबाट भोगचलन भइराखेको तथ्य प्रष्ट हुन आएकोछ । वादीको बाबुहरुबाट ७० साल चैत्र महिनामा अंश बुझी हाम्रो बाबु डि.चक्रबहादुरको हस्ताले भरपाई लेखिदिएको ९१ सालको मिलापत्रमा बोली परेको छ वादीले नक्कल पेश गरेको उक्त ७०।१२।१७।२ को बण्डापत्रमा जोगबहादुर लेखक भएकोले सक्कल देख्न सुन्न पाउनु पर्छ भन्ने प्रतिवादी पक्षको जिकिर भएकोले विवादास्पद उक्त ७०।१२।१७।२ को बण्डापत्र लिखत सक्कलै दाखिल गर्न ल्याउनु भनी वादीलाई तारेख तोकी दाखिल गराई प्र.हरुलाई देखाउन सुनाउन पेश गर्नु भन्ने ०३१।१२।८।६ को फुल बेञ्चबाट आदेश भई वादीपक्षलाई तारेख तोकिएकोमा सक्कल आफूसँग छैन भनी दाखिल गर्नसकेको देखिएन ।
१३. ९१ सालमा भएको भनेको मिलापत्रको सम्बन्धमा हेर्दा, वादीको आमा जौकुमारी जेठी आमा वामकान्ताले अंश दिलाई पाउँ भनी प्रतिवादीहरुको बाबु डि.चक्रबहादुर उपर उजूर गरेकोमा चेथरी ।। आना मौजामा वादीहरुको लोग्नेको उजूर नपुगी हुकूम लगायतबाट सदर भएको सोही कुरामा वादीको उजूर पुग्न नसक्ने मैले अंश दिनु नपर्ने भन्ने समेत डि.चक्रबहादुरको प्रतिवादी सदर बयान भएको उल्लेख गर्दै मिसिल आएको व्यहोरामा डि. चक्रबहादुरको बयान जिकिर मुताविक भए गरेको हुँदा हामीहरुको दावी उजूरी बमोजिम गराई माग्ने भई हामी वादीको खसमको अंश र खरिदि समेत हाम्रो भोगचलनको साविकबमोजिम भोगचलन गरी आएको पाल्पा जोगे पानी बासटारी बाटा माथिको माफिकि १६ आना घरबारी १ आमबोटे १६ आना रैकर बारी १ बियाँखोला १ संसाँध जोडिएको रैकर खेत १ आठ मुरे भन्ने रैकर खेत १ र तप्पे मौजे रामपुरा १६ आना मौजा भोगबन्धकी लिई सो समेत भोगचलन गरी आएको रामपुरा १६ आना डि. चक्रबहादुरलाई साल ३ लाई ठेक्कामा दिने साविक बमोजिम माथि लेखिएको घरबारी खेतहरु भोगचलन गरी रहने बस्ने गरी मिली जानामा चित्त बुझेको भन्ने समेत व्यहोरा पारी वादीको आमा जेठी आमाहरुले खसमको अंश र खरिदि समेत भनी फाँट खुलाएको उपरोक्त जग्गाहरु सम्म लिई अरुमा दावी छाडी ९१।९।२३।२ मा पाल्पा गौंडामा मिलापत्र भए गरेको देखिन्छ । उक्त मिलापत्रमा हाल वादीले नक्कल पेश गरेको ७०।१२।१७।२ को बण्डापत्रको उल्लेख गरी त्यसलाई कायमै राखेको र चेथरी मौजा वादीको आमा समेतले बण्डा लिई पाई हक भएको देखिन आएन ।
१४. वादीको आमा जौकुमारी यिनै वादी गोविन्दबहादुर समेतले २०१७ सालमा दिएको अंश मुद्दामा पनि चेथरी मौजा समेतमा विवाद उठाएकोमा पाल्पा इलाका अदालतबाट ०१८।६।१८।४ मा फैसला हुँदा ७० सालको बण्डापत्रमा लेखिए मध्येकै केही जग्गा र अरु खरिदि जग्गा समेत फाँट खोली लिई ९१।९।२३।२ मा मिलापत्र गरेके चेथरी आठआना सो मिलापत्र पछि पनि प्रतिवादीकै तिरो भोगचलनमा देखिएको सो जग्गा पनि आफ्नो हकको भए सो तर्फ पनि मौकैमा ऐनको म्याद भित्र र मिलापत्रबमोजिम अंशमा चित्त नबुझेको भए अंशबण्डाको ५१ नं. को म्याद भित्रको उजूर हुन पथ्र्यो मिलापत्र भएको कुरामा मिलापत्रबमोजिम गरी दिएन गरी पाउँ भन्ने बाहेक मिलापत्रमा चित्त बुझेन भन्ने उजूर लाग्न नसक्ने अ.बं.२२९ नं.मा उल्लेख भएको समेतबाट कारवाई चल्न नसक्ने भनी ९१ सालको मिलापत्रलाई कायम राखी वादीहरुको उजूर खारेज गरेको र ०१९।५।२४।१ को डिभिजन बेञ्चबाट पनि सोही सदर गरी फैसला भएको समेत भई हाल यो मुद्दामा उठाई राखेको चेथरी मौजा समेतको विवाद उसैबेला उक्त फैसलाहरुबाटै टुड्डो लागी वादीहरुको हक नपुग्ने देखिन्छ । उक्त ०१९।५।२४।१ को डिभिजन बेञ्चको फैसलामा मिलापत्रबमोजिम सम्पत्ति नपाएको भए त्यसतर्फ उजूर गरेका बखत ठहरेबमोजिम हुने भन्ने उल्लेख भएको आधारमा यो नालेस पर्न आएको रहेछ । उक्त डिभिजन बेञ्चको फैसला अनुसार ९१।९।२३।२ को मिलापत्रबाट चेथरी मौजा समेत वादीको आमाहरुले बण्डा लिए पाएकी भएमात्र मिलापत्रबमोजिम सम्पत्ति दिएन दिलाई पाउँ भन्ने नालिस दावी लाग्न सक्ने हो उक्त ९१।९।२३।२ को मिलापत्रबाट चेथरी मौजा वादीकी आमा समेतले लिई पाई हक भएकै नदेखिएकोले मिलापत्रबमोजिम सो चेथरी मौजा आनामा मेरो हक सदर थामी बाली बिगो भराई पाउँ भन्ने वादीको यो नालिस दावी लाग्न सक्ने देखिएन ।
१४. तसर्थ उपरोक्त लेखिएका कारणहरूबाट वादीको यो नालिस खारेज हुने हुँदा खारेज गर्ने गरेको सुरुको मुनासिव ठहर्छ, ०२७।५।९।३ को डिभिजन बेञ्चले इन्साफ ठहर गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी रामबहादुर रावल क्षेत्री १ नारायणबहादुर रावल क्षेत्री १ जना २ ले लुम्बिनी अञ्चल अदालत मार्फत सर्वोच्च अदालतमा पुनरावदेन गर्दा लुम्बिनी अञ्चल अदालतमा ०२५।७।८।५ मा दाखिल गरेको कोर्टफी रु.२४१०।११ नालिसै खारेज भएकोले नलाग्ने हुँदा ०२७।५।९।३ को डिभिजन बेञ्चको फैसलाले वादी गोविन्दबहादुरबाट भराई दिने गरेकोले लगत काटी दिनु सो रु.२४१०।११ ऐनका म्यादभित्र फिर्ता लिन आएमा प्रतिवादी रामबहादुर नारायणबहादुरलाई नै कानूनबमोजिम फिर्ता दिनु भनी लुम्बिनी अञ्चल अदालतलाई लेखी पठाउने गरी लगत कस्नु भनी का.जि.अ.तहसीलमा लगत दिनु ………………….१
लुम्बिनी अञ्चल अदालतको ०२५।३।३१।१ को फैसला र डिभिजन बेञ्चको २७।५।९।३ को फैसलाले तत्कालिन पाल्पा ई.अ.का न्या.चिरन्जीवीप्रसाद उपाध्यायको खारेज गर्न नहुने मुद्दा खारेज गरेको रेकर्ड राखेकोमा मुद्दा खारेज हुने ठहरेकोले उक्त रेकर्ड राख्नु पर्दैन भनी लुम्बिनी अञ्चल अदालत र सर्वोच्च अदालत प्रशासन शाखालाई सुचना दिनु……………………२
डिभिजन बेञ्चले इन्साफ ठहर गरेको बदर भई मुद्दा खारेज हुने ठहरेकोले मुद्दा दोहर्याए वापत निवेदक वादीलाई केही गर्नु पर्दैन । …………………….३
नियमबमोजिम मिसिल बुझाई दिनु ………………….४
हामीहरूको सहमती छ । न्यायाधीश विश्वनाथ उपाध्याय, न्यायाधीश वासुदेव शर्मा
इति सम्वत् ०३२ साल भाद्र १७ गते रोज ३ शुभम् ।