निर्णय नं. ९०४ – जालसाजी
निर्णय नं. ९०४ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ९०४ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् ०२९ सालको फौ फु.नं. ४४
फैसला भएको मिति : ०३२।५।१७।३
निवेदक : पाल्पा जोगे पानी वालटारी बस्ने रामबहादुर रावल क्षेत्री समेत
विरुद्ध
विपक्षी : ऐ. बस्ने गोविन्दबहादुर रावल समेत
मुद्दा : जालसाजी
(१) हक नभएको जग्गा राजीनामा गरी दिएलिएको कायम नहुने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता लबदेव भट्ट
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०२७।५।९।३ मा भएको निर्णय दोहोर्याई पाउँ भन्ने निवेदक वादीहरूले चढाएको निवेदनमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट ०२८।९।२० मा लेखी आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिई पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : हाम्रा बाबु ससुराका अंश भागमा परी भोगचलन गरी ०१६ सालमा भिन्न हुँदा म नारानबहादुरका अंश भागमा परेको लामी चिडियार भन्ने खेत मुरी ५। नं.२३४ लामी चिडियार अल्केटारी खलुबोटे भन्ने खेत १।३।३ मा हामीले खिचोला गरे भन्ने गाविन्दबहादुरले र म नारानबहादुरले टिकारामलाई बिक्री गरेको चालिसे भन्ने खेत मुरी २४।१२।२ मध्ये १२।४।२ को कित्ता १ र म रामबहादुरको परिवार १९ सालमा छुट्टि भिन्न हुँदा क्षेत्रकुमारीका अंशमा परेको विमिर्या खर्क भन्ने पाखो घरबारी कित्ता १ समेतको खेत पाखो घर समेतको जग्गा रु.१००००। मा गोविन्दबहादुरसँग राजीनामा गरी लिएकोमा खिचोला गरे भनी रामहरिले र हामीले जालसाजीबाट बण्डापत्र बहाली पुर्जि गरे भन्ने गोविन्दबहादुरले हामी उपर नालिस गरेकोमा जालसाज गरेको होइन भन्ने प्रतिवादी दिएको मुद्दामा इन्साफ पाउने छौं, हाम्रो हक भोगको जग्गामा हकै नपुग्ने गोविन्दबहादुरले दोहरा पारी रसिद गरिदिएकोमा जि.खड्गबहादुर मु.जितबहादुरलाई र हकै नपुग्ने जग्गा जालसाजीबाट बेदामे रु.१००००। को राजीनामामा लेनदेन गरेमा गोविन्दबहादुर रामहरिलाई त्यस्तो जालसाजी भनी जानी जानी राजीनामामा साक्षी बसेको खेमराज, विष्णुप्रसाद, शारदाप्रसाद, टिकाराम दिनामणीहरूलाई सजाय गरी रसिद राजीनामाहरू बदर गरी गोविन्दबहादुर वा रामहरिका नाउँमा दाखिल खारेज दर्ता गरेको भए सो समेत बदर गरिपाउँ भन्ने रामबहादुर नारानबहादुर क्षेत्रकुमारीको फिराद ।
३. नं. २६३ को लामी चिडियार भन्ने खेत मुरी ।५ नं.२३४ को लामी चिडियार अलगेटारी खल्टुबोट भन्ने खेत १।३।३ चालिसे भन्ने १२।४।२ समेत चक्रबहादुरको अंश भई निजपछि रामहादुरले भोगचलन गरिआएको भई रामबहादुरसँग तिरो बुझी रसिद दिने गरिआएको १६ सालमा छुट्टि भिन्न हुँदा नारानबहादुरको भागमा परेको भई निजसँग तिरो बुझी रसिद दिने गरिआएको छु । ०२० सालमा नारानबहादुरकै नाउँमा दाखिल खारेज भएको छ । वादी लेख बमोजिम गोविन्दबहादुरसँग तिरो बुझी लिएको रसिद दिएको समेत नहुँदा जालसाजी गरी रहनुको कुनै अवस्था कारण नपरेको हुँदा झुट्टा दावीबाट फुर्सत गरिपाउँ भन्ने समेत खड्गबहादुर रावलको प्रतिउत्तर ।
४. वादीले दावा गरेको चालिसे भन्ने खेत र मूल घरबारी भन्ने विमिर्या खर्क जग्गा ७० सालको बण्डापत्रबाट बाबु जोगबहादुरको बण्डामा परी बाबु र आमाका शेषपछि म गोविन्दबहादुरको हक भोग तिरो दर्ता भएकोमा गोविन्दबहादुरले म रामहरिसँग रु.१००००। बुझी लिई सद्दे साँचो राजीनामा लेनदेन भए गरेको हो वादीहरूले खिचोला परेकोमा हामीहरूले नालिस दिएकोबाट इन्साफ पाउने नै छौं, राजीनामा रसिद जालसाजी गरे भन्नेतर्फ यो मितिमा यस ठाउँमा गरेकोमा दुई वर्ष भित्र नालिस गरेको छौं भनी लेख्न नसकेकोले कीर्ते कागजको १८ नं.अ.बं.८२ नं. ले दायर हुन नसक्ने नालिस हुँदा खारेज गरिपाउँ ९५।९६।९७ सालमा जिम.वामकान्ता र ९८,९९,०१९,०२० र ०२१ सालको जि.खड्गबहादुरको रसिद महजुदै भएकोमा ०२१ सालको मात्र जालसाज गरेको भन्ने उजूर झुट्टा हो भन्नेसमेत गोविन्दबहादुर रामहरि समेतको प्रतिउत्तर ।
५. विमिर्या खर्क क्षेत्रकुमारीको अंश भोगको भई गोविन्दबहादुरको हक दावा नपुग्ने हुँदा रामहरिलाई बिक्री गर्ने गराउने समेत मैले कुनै कुराको जालसाज गरेको छैन भन्नेसमेत मु.जितबहादुरको प्रतिवादी ।
६. काम विशेषले गोविन्दबहादुरको घरमा गएको बखत गोविन्दबहादुरले रु.१००००। रामहरिसँग बुझी लिनु दिनु गरेको देखेकोले मलाईसमेत साक्षी राखेकोले राखेको हुन् सद्दे साँचो राजीनामा हो बेदामे जालासाजी भन्ने झुट्टा हो भन्नेसमेत खेमराजको प्रतिवादी ।
७. मिलापत्रको सम्पत्ति दिलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालतमा छ, अरू जग्गा खिचोला जालसाजी, बण्डापत्र जालसाजी मुद्दासमेत सर्वोच्च अदालतबाटै छिनी दिनु भन्ने हुकूम प्रमांगी पाउँ भनी गोविन्दबहादुरले चढाएको निवेदनपत्रमा जिल्लामा परेका यस सम्बन्धका मुद्दासमेत सर्वोच्च अदालतबाट खिचि किनारा गरी नतिजा जाहेर गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई आएको ।
८. मि.नं.३९५ को वादी गोविन्दबहादुर प्र.रामबहादुरसमेत भएको जग्गा खिचोला मुद्दामा आजै यस बेञ्चबाट भएको निर्णयमा ७० सालको बण्डापत्र र ९१ सालको मिलापत्रबाट समेत प्र.रामबहादुरसमेतका अंश भाग बण्डामा नपरेको गोविन्दबहादुरका बाबु जोगबहादुर बजै मनकुमारी सालिकराम समेतको अंश भागतर्फ परेको लामी चिडियार खेत, अलकेटारी खेतसमेत निज गोविन्दबहादुरतर्फकै देखिएको रामबहादुर नारायणबहादुर क्षेत्रकुमारीको पिता ससुराका अंश भाग भित्रको बिमिर्या खर्क घरबारी भन्ने बण्डापत्र समेतमा परेको देखिन नआएपछि अंशबण्डा भएपछि आर्जेको भन्ने पनि जिकिर देखिन नआएकोले निज रामबहादुरको दावी नपुग्ने ठहरी उस मुद्दामा फैसला भएको हुँदा प्रस्तुत मुद्दामा बादीवालाहरूको अंशबण्डा मिलापत्र समेतबाट कुनै हक नदेखिएको चालिसे खेत र विमिर्या खर्क घरबारी जालसाजी गरी लिए दिए भन्ने वादीको उजूर मुनासिव देखिन आएन । यस मुद्दामा राजीनामा र रसिद जालसाजी गरे भन्ने वादीको उजूर पुग्न सक्तैन झुट्टा उजूर गरेको ठहर्छ भन्नेसमेत डि.बेञ्चबाट ०२७।५।९।३ मा निर्णय भएको रहेछ ।
९. यस बेञ्च समक्ष निवेदक वादीहरूतर्फको विद्वान अधिवक्ता श्री लबदेव भट्टले ९१ सालको मिलापत्रले ७० सालको बण्डापत्र भनेको लिखतलाई कायम नराखेको र ९१ सालको मिलापत्रबाट प्रतिवादी गोविन्दबहादुरको आमा समेतले पाई हक भएको भित्र नपरेको जग्गा राजीनामा लिनु दिनु गरेको समेत व्यवहार जालसाज हुँदा दावी बमोजिम जालसाजी कायम हुनुपर्छ भन्नेसमेत र प्रतिवादी गोविन्दबहादुर आफैले ९१ सालको मिलापत्रले ७० सालको बण्डापत्रलाई कायमै राखेकोबाट खुदै मेरो हक भएको जग्गा राजीनामा लिनु दिनु गरेको प्रष्टै देखिन्छ, डिभिजन बेञ्चले वादी झुट्टा ठहराएकोले कायम हुनुपर्छ भन्नेसमेत बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१०. यसमा म नारानबहादुरको अंशमा परी भोग गरिआएको चालिसे भन्ने खेत मुरी २४।१२।४ मध्ये आधी खेत मुरी १२।४।२ को कित्ता १ र रामबहादुरको परिवार छुट्टि भिन्न हुँदा म क्षेत्रकुमारीको अंशमा परेको विमिर्या खर्क पाखो घरबारी कित्ता १ समेत गोविन्दबहादुरले र रामहरिलाई ०२१।६।१७।१ मा पास गरिदिएको रु.१००००। को राजीनामा लिखत र जि.खड्गबहादुर मु.जितबहादुरले दोहरो गरी दिएको रसिद जालसाजी हुँदा बदर गरिपाउँ भन्ने वादीको दावी र ७० सालको बण्डापत्र ९१ सालको मिलापत्र समेत बाट हक भएको जग्गा म गोबिन्दबहादुरले रामहरिलाई राजीनामा गरिदिएको हुँदा राजीनामामा रसिदसमेत सद्दे हो भन्ने प्रतिवादीको जिकिर रहेछ, गोविन्दबहादुरले रामहरिलाई आफ्नो हक पुग्ने जग्गा राजीनामा दिएको हो होइन ? राजीनामा रसिदहरू दावी बमोजिम जालसाजी कायम हुने नहुने के हो ? यी प्रश्नहरूको यस मुद्दा निर्णय दिनुपर्ने देखिन्छ ।
११. उक्त राजीनामा लिनु दिनु गरेको जग्गा ७० सालको बण्डापत्र ९१ सालको मिलापत्रबाट पाई हक भएको भनी प्रतिवादी गोविन्दबहादुरले उक्त दुई लिखतलाई मुख्य आधार देखाएकोमा निज गोविन्दबहादुरकी आमा जोगकुमारी जेठी आमा वामकान्ताहरूले डि.चक्रबहादुर उपर दिएको अंश मुद्दामा ९१।९।२३ मा पाल्पा गौंडामा मिलापत्र गर्दा खसमको अंश र खरिदीसमेत साबिक बमोजिम भोगचलन गरिआएको यो यो भनी जग्गाको फाँट खुलाई त्यतिसम्म साबिक बमोजिम भोगचलन गरी रहने बस्ने गरी अरूमा दावी छाडि मिलापत्र गरेको उक्त मिलापत्रमा हाल वादीले नक्कल पेश गरेको ७०।१२।१७।२ को बण्डापत्रको उल्लेख गरी त्यसलाई कायमै राखेको नदेखिएकोले ७० सालको बण्डापत्रबाट हक भएको भन्ने प्रतिवादी जिकिर समर्थित हुन आएन ।
१२. ९१ सालको मिलापत्रबाट पाई प्रतिवादी गोविन्दबहादुरको हक हुन आएको रहेछ कि भन्नेतर्फ ०९१।९।२३ को मिलापत्र हेर्दा उक्त मिलापत्रमा खसमको अंश र खरिदीसमेत भनी फाँट खुलाई प्रतिवादी गोविन्दबहादुरकी आमा जौं कुमारी समेतले जे जति जग्गा लिई पाई हक भएको छ, त्यसभित्र विमिर्या खर्क भनिएको पाल्पा जोगै पानी बासटारीको बाटा माथिको माफिकी १६ आना घरबारी १ कित्ता परेको देखिन आएको भए पनि यिनै गोविन्दबहादुर वादी रामबहादुरसमेत प्रतिवादी भएको जग्गा खिचोला मुद्दाबाट बाटा माथिको सो घरबारी कित्ता छुट्टै भएको र त्यसलाई प्रतिवादी गोविन्दबहादुरकै हो भनी यो मुद्दाका वादी रामबहादुर नारायणबहादुरले मानी राखेकै पाईन्छ, सो बाहेक अर्को कित्ता विमिर्या खर्क घरबारी जसलाई बाटा मुनीको हाम्रो भनी वादीले दावी लिएको र नं.१८५६ मा वादी रामबहादुरको नाममा दर्ता भइराखेको पनि देखिन्छ सो र चालिसे खेत समेत यसमुद्दाको विवादको दुबै कित्ता उक्त ९१।९।२३ को मिलापत्रबाट प्रतिवादी गोविन्द बहादुरकी आमा जांैकुमारीसमेतले पाई प्र.गोविन्दबहादुरको हक भएको देखिन आएन ।
१३. बिर्ता उन्मुलन भएपछि प्रतिवादी गोविन्दबहादुरले विमिर्याखर्क पाखो घरबारी २ कित्ताको लगत दिई २ कित्ता दर्ता गराएको भए पनि हक पुगेको अन्य लिखत सबूतको अभावमा अर्काको जग्गालाई मेरो भनी गोविन्दबहादुर आफैले दिएको लगतसम्मको आधारमा दर्ता गराएको हुँँदा त्यस्तो दर्तासम्मको नाताले हक पुग्न सक्ने स्थिति आउँदैन । अतः प्रतिवादी गोविन्दबहादुरले रामहरिलाई राजीनामा गरिदिएको चालिसे भन्ने खेत र विमिर्या पाखो घरबारी समेत वादीहरूकै हो भनी मु.जितबहादुर र यो मुद्दाको प्रतिवादीमा जिम.खड्गबहादुरले लेखेको गोविन्दबहादुरको प्रतिवादी जिकिर बमोजिम निजको हक भएको प्रमाण पुग्न नआएकोले दावी बमोजिम वादीहरूको जग्गालाई मेरो भनी गोविन्दबहादुरले रामहरिलाई राजीनामा गरिदिए लिएको प्रष्ट हुन आएको छ ।
१४. उक्त राजीनामा जालसाजी कायम हुने नहुने के होे भन्ने हकमा जालसाजीको परिभाषा दिईएको कीर्ते कागजको ३ नं.मा सहीछाप गरिदिने लिने दुबै थरमिली कागज लेखि सहीछाप गरी दिनेलिने जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएकोले उक्त ऐन अनुसार जालासाजीको कसूर ठहराउनलाई उक्त ऐनको अवस्था विद्यमान हुनुपर्ने, फौं फु.नं. २६ खेचरबहादुर बिष्ट दोलबहादुर बिष्टहरूको जालासाजी मुद्दामा ०३२।४।२०।३ को फैसलाबाट सिद्धान्त प्रतिपादित भएको छ । उक्त दुबै कित्ताको जिमावाल मुखियाले तिरो बुझी गरी दिएको रसिद देखाई उक्त राजीनामा दिनु लिनु गरेको देखिन आएको प्रतिवादी गोविन्दबहादुरको हक नपुग्ने जानी–जानी रामहरिसमेत मिली बेदामे राजीनामा लिएको भन्ने कुराको तथ्य सबूत नभएकोले कीर्ते कागजको ३ नं. को अवस्था विद्यमान नदेखिंँदा उक्त राजीनामा लिखतलाई जालसाजी कायम हुने भन्ने मिलेन जग्गा कच्चा ठहर्न आएकोले उक्त लिखत राजीनामा कै रुपमा कायम रहन नसक्ने भए पनि लेनदेन व्यबहारको २३ नं. अनुसार कपालीको रुपमा कायम रहन सक्ने देखिन्छ ।
१५. रसिद जालासाजी भन्ने दावीतर्फ विमिर्या खर्क पाखो घरबारीको हकमा बिर्ता उन्मुलन भएपछि गोविन्दबहादुरले लगत दिई दर्ता गराएको त्यस्तो जग्गाको मु.जितबहादुरले तिरो बुझी निज गोविन्दबहादुरलाई रसिद गरिदिएको भन्ने देखिन आएकोछ । चालिसे खेत २४।१२।४ मध्ये १२।४।२ को हकमा अर्काको व्यवहारको यथार्थता थाहा नहुन पनि सक्ने औ खड्गबहादुरलाई ७० सालको बण्डापत्रको आधार देखाई तिरो बुझाई रसिद लिन सक्नेसमेत अवस्था पर्न पनि सक्छ । खास गरी प्रतिवादी मु.जितबहादुरको हकमा पनि कीर्ते कागजको ३ नं. को अवस्था विद्यमान रहेको भन्ने मिल्ने नदेखिएकोले गोविन्दबहादुरको हक नभएको जग्गाको रसिद दिए लिएको सदर हुन नसक्ने भए पनि उक्त कीर्ते कागजको ३ नं. को अवस्थाका अवधिमा जालसाजी भन्न ठहराउन मिलेन ।
१६. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट प्रतिवादी गोविन्दबहादुरको हक नभएको जग्गा प्रतिवादी रामहरिलाई राजीनामा गरी दिएलिएको कायम नहुने र राजीनामामा रसिदहरू जालसाजीट भन्ने वादी दावी पुग्न नसक्नेसमेत ठहर्छ । उक्त राजीनामा जालसाजी ठहराएकोसम्म ०२७।५।९।३ को डिभिजन बेञ्चको मुनासिव छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी देहायका मानिसले जालसाजीमा झुट्टा उजूर गरेवापत भनी डिभिजन बेञ्चको ०२७।५।९।३ को फैसलाले देहायबमोजिम जरीवाना गरेकोमा यस फैसलाबाट जालसाजी भन्ने वादी दावी पुग्न नसक्ने नै ठहरेको भए पनि वादीहरूको हकको जग्गा राजीनामा लिनु दिनु गरेको तथ्य भएर नै जालसाजीमा नालिस गरेको देखिन आएकोले दण्ड सजायको १८ नं. अनुसार उक्त जरिवाना नलाग्ने हुँदा ०२९।१।२।३ मा सर्वोच्च अदालतमा दाखिल गरेको कानूनबमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु …………………….१
रामबहादुर रावल के रु.४१६।६७, नारायणबहादुर रावल के रु.४१६।६७, क्षेत्रकुमारी सावल के रु.४१६।६७
डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले मुद्दा दोहर्याएमा निवेदक वादीहरूलाई सजाय लाग्दैन ………..२
नियमबमोजिम मिसिल बुझाई दिनु ………………………….३
हामीहरूको सहमती छ ।
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
न्यायाधीश वासुदेव शर्मा
इति सम्वत् ०३२ साल भाद्र १७ गते रोज ३ शुभम् ।