निर्णय नं. ८९७ – जग्गा नामसारी गरिपाउँ
निर्णय नं. ८९७ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत्...
निर्णय नं. ८९७ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०२९ सालको दे.फु.नं. १४८
फैसला भएको मिति : २०३१।१०।२८।६
निवेदक : बैतडी जिल्ला श्रीकोट भवनकोट बस्ने नन्दराम जोशी समेत
विरुद्ध
विपक्षी : ऐ. श्रीकोट बस्ने मु.महानन्द जोशी समेत
मुद्दा : जग्गा नामसारी गरिपाउँ
(१) प्रमाण अनुसारको दावी नमिलेको तत्काल जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हदको व्यहोरा देखाउन नसकेको भनी फिराद नै खारेज गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहोरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : डोटी जिल्लामा एक मोहीको नाम दर्ता जग्गा राखी सबै अंशियारले भोगी आउने चलन अनुसार परमानन्दका नाउँमा दर्ता राखी भोग गरिआएको ९५ सालको नापिमा मानदेवका सन्तान नाती हामीहरू समेतको अंशको जग्गा परमानन्दको नाती अंश अन्यायवाला ४ भाइका नाउँमा दर्ता भइराखेको जग्गा खोस–मोस गर्ने छैन भन्ने समेत व्यहोराको निज ४ भाइले ९६।१०।२ मा कागज गरी दिएकोले निजहरूको नामबाट भोगी आएको हाम्रा नाउँमा दर्ता नामसारी नगरी दिँदा श्री ३ को सवारीमा निवेदन दिँदा तोक लागि बैतडी गौंडामा आएको गौंडाबाट अदालतमा जाँदा जग्गातर्फको एकै मुद्दाबाट कारवाही नहुने भन्ने फैसला भई तह चढ्दै जाँदा फिराद गर्न पाउने भए छुट्टै फिराद गरेपनि हुने भन्नेसमेत स.अ.बाट फैसला भएको सो मुद्दामा हाम्रो हक नदेखाई बयान गरेको साक्षी प्रमाण बुझी निज माहानन्द समेतको नाममा दर्ता भएको कि.नं.६ पोत रु.।१।८० मध्ये रु.।४५ को मुद्दा खेतसमेत लेखिए बमोजिम खेत पाखा जग्गा न्याय मु.महानन्दसमेत ४ भाइको नाम कट्टा गरी हामी नन्दराम, इश्वरीदत्त, पुने, गौरीशंकरको बाबुहरीलाई थामी नामसारी गरिपाउँ भन्नेसमेत फिरादपत्र ।
३. हकै नपुग्ने जग्गामा मानदेवपट्टिका सन्तानले हाम्रो अंशबण्डाको जग्गा नामसारी गरिपाउँ भन्ने झुट्टा उजूर गरेको हो भन्ने समेत मु.महानन्द जोशी १, जयानन्द जोशी १, पूर्णानन्द जोशी १, समेतको प्रतिवादी ।
४. ९५ सालको सर्पट जाँचमा कृष्णानन्दको नाममा दर्ता भएको एकै बाबुको सन्तान भएकोले दाजु महानन्दले उजूर गरे हुने बाबु बाजेले हारीसकेको जग्गामा छोरा नातिको हक नपुग्ने एकपटक हारिसकेकोमा उजूर दायरै नहुने हक लाग्छ भनी झुट्टा फिराद गरेमा ९५ सालको सर्पट जाँचमा गोपाल विष्णुभक्त नन्दीकेशर कृष्णनन्दको साझा दर्ताको जग्गा मलाई नै थामी पाउँभन्ने समेत कृष्णनन्दको प्रतिवादी ।
५. परमानन्द, महानन्दले गरी दिएको बन्धकी परमानन्दलाई गरी दिएको दोहरीसमेत जालसाजी हुन भन्नेसमेत वादी वा समेत नन्दरामको बयान र जालसाजी होइन सद्दे साँचो हो भन्ने प्र.कृष्णानन्दको र प्र.महानन्दको बयान र सुन्ने धर्नोस साक्षी बसी भएको सद्दे साँचो हो भन्ने सुने, धन सिं समेतको वा पूर्णानन्दको बयान रहेछ ।
६. म समेतले गरिदिएको भनेको ९६।१।२ को कागज जालसाजी गर्ने कीर्ते हुन भन्ने कृष्णनन्द, सद्दे हो भन्नेसमेत वादी वा समेत नन्दरामको बयान ।
७. भोग तिरोको दर्ताको सबूत वादीबाट नआएको प्र.का जिकिर बमोजिम बाबु बाजेले हारीसकेको भन्ने जिकिर भई फैसला जितापत्रको नक्कल पेश भएकोले समेत नामसारी गरिदिए नामसारी गरिपाउँ भन्ने र प्रतिवादीबाट पेश भएको लिखित जालसाजी भन्ने झुट्टै उजूर गरेको ठहर्छ भन्ने बैतडी जिल्ला अदालतको फैसला ।
८. चित्त बुझेन भन्नेसमेत पुने जोशी समेतको पुनरावदेन ।
९. गजाधर, गंगादत्तका नाउँसारी भइसकेको तिरो रु.।.।५ को घोचाखालि खेत तिरो रु.।१।३ को सुनखोला गडो तिरो रु.।३। को बेस बागडो बाहेक वादीहरूको हक लाग्ने ठहर्छ र प्रतिवादीहरूबाट पेश गरेको बन्धकी र दोहरी र शर्तनामाको कागज जालसाजी ठहर्छ भन्नेसमेत महाकाली अञ्चल अदालतको फैसला ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत प्र.महानन्द जोशीको पुनरावेदन ।
११. २ वर्ष भित्र उजूर गर्नुपर्ने जग्गा विषयका कुरामा २ वर्ष नाघी यो मुद्दा दायर भएको देखिएको छ, ९६ साल बैशाख २ गतेको महानन्दसमेत आगे भएको कागज हेर्दा तिम्रा हकको जग्गा हाम्रा नामका दर्ता राख्ने हाम्रा दर्ता भित्र तिमीले आफ्ना भोगचलन गरी खानु भन्नेसमेत बोली परेको देखिएकोले भोगचलनसम्म गर्ने बन्देजमा रहेको देखिएकोले जग्गावाला हक श्रृजना गरेको देखिन आएन, उक्त लिखत बमोजिमको हक गराई पाउँ भनी यो दावी परेको नदेखिएको हुँदा उक्त कागज सद्दे वा कीर्ते के हो ? निर्णय गर्न आवश्यक देखिएन, ९६ सालको लिखत प्रमाणले भोगचलनसम्म गर्न पाउने हुन सक्छ, भोगचलनमा खिचोला परेको र चलन चलाई पाउँ भन्ने फिरादपत्र देखिँदैन, नामसारी गरिपाउँ भनी दावी गरेको यस्तो फिरादको दावी पुग्नलाई आफ्ना नाममा दर्ता गरी तिरो गर्न पाउने प्रमाण पुर्याउनुपर्छ, नामसारी गरिपाउँ भनी फिराद दावी गरेकोमा प्रमाण भने जग्गामा भोगचलन गर्न पाउने लिखत पेश गरेकोबाट दावी पुरा गराउन नसक्ने प्रमाण पेश गरेकोबाट लिखत भन्दा बढी गरी हक थामी नामसारी गरिपाउँ भन्ने गरेको दावी मनासिव हुँदैन, प्रमाण र दावी मिलेको छैन भने त्यस्तो कथन असिद्ध हुन्छ । वैतडी नापीमा भएको सरकारी बन्दोबस्तबाट आफ्नो जग्गा आफै नाममा दर्ता गराउनु पर्ने भएकोमा त्यसको विपरीत भएको छ भनी दावी गरेको पत्यार लायक देखिँदैन । जग्गा हक गराई पाउँ भन्ने बारेमा तत्काल जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हकको व्यहोरा देखाउन नसकेको यस्तो सो बमोजिम नगरेको बैतडी जिल्ला अदालत र महाकाली अं.अ.को फैसला उल्टी हुन्छ फिराद दायर रहन सक्दैन खारेज हुन्छ त्यसको दावी पूरा गर्नलाई र दावीको विरोध गर्नलाई पेश भएको वादी प्रतिवादीका प्रमाण सद्दे कीर्तेमा चलाई रहनु नै नपर्ने भन्ने समेत डिभिजन बेञ्चबाट ०२८।१२।४।६ मा निर्णय भएको रहेछ ।
१२. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा दोहर्याउने सिफारिश गर्ने ठहराई आजै निर्णय भएको न्या.स.द.गो.नि.नं.१०७९ को निवेदनमा उल्लेख भएको मुद्दासँग प्रस्तुत मुद्दा सम्बन्धित देखिएकोले सँगसँगै विचार गर्नुपर्ने देखिन आएको हुँदा प्रस्तुत मुद्दामा पनि अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्नेसमेत उल्लेख रहेछ ।
१३. निवेदक तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले निवेदक वादीलाई आफ्नो हकको जग्गा भोग गरी खानु भनी ९६ सालमा प्रतिवादीले गरी दिएको लिखतबाट वादीको हक कायम रहेको त्यस्तो लिखत पास गर्नु नपर्ने हुनाले हक कायम रहेको भएपछि नामसारी गरिपाउँ भन्ने फिराद दावी गर्न नपाउने भनी खारेज गर्न नमिल्ने इन्साफ हुनुपर्छ भन्ने समेत र विपक्षी प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले ९६ सालको कागजमा जग्गा भोग गर्न दिनेसम्मको कागज भएको नामसारी गरी दिने भन्ने नहुनाले हक श्रृजना हुन नसक्ने, त्यस्तो लिखत पास पनि हुनु पर्ने नभएकोले प्रमाण अनुसारको फिराद नभएको भनी खारेज गरेको सदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
१४. निर्णयतर्फ विचार गर्दा वादीले पेश गरेको ९६।१।२ को बन्देजको लिखत जग्गा भोगचलनसम्म गर्न दिने बन्देज रहेको देखिएकोले लिखत भन्दा बढी गरी जग्गाको हक थामी नाउँसारी गरिपाउँ भनी गरेको दावी मुनासिव हुँदैन, प्रमाण मिलानको दावी हुनु प्रमाण र दावी मिलेको छैन भने त्यसको कथन असिद्ध हुन्छ, जग्गाको हक गराई पाउँ भन्ने बारेमा तत्कालीन प्रचलित जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हदको व्यहोरा देखाउन नसकेकोले फिराद दायर रहन सक्तैन भनी डिभिजन बेञ्चबाट मुद्दा खारेज गरेको देखिएकोले प्रस्तुत मुद्दामा सर्वप्रथमतः वादीको फिराद दावी लाग्ने नलाग्ने के हो ? त्यस कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।
१५. वादीको फिराद दावी हेर्दा हाम्रा अंशको जग्गा दर्ता गरिदेउ भनी अन्यायी प्रतिवादीसँग भन्दा तिम्रा अंशको जग्गा खोस मोस गर्ने छैन भन्नेसमेत व्यहोराको कागज गरिदिन्छु भनी अन्यायवाला प्रतिवादीहरूले ९६।१।२ गते कागज गरी दिएकोले जग्गा थामी अन्यायवाला प्रतिवादीका नाउँ दर्ताबाट कट्टा गरी हाम्रा नाउँमा नामसारी गरिपाउँ भन्ने जिकिर लिई ९६।१।२ को लिखतलाई नै आधार बनाई हक थामी नामसारी गरिपाउँ भन्ने दावी लिई फिराद गरेको देखिएको त्यस्तो लिखतको आधार लिई हाम्रो अंश हकको जग्गा थामी नामसारी गरिपाउँ भनी दावी गरी पक्षले फिराद गर्छ भने फिराद गर्ने वादीको दावीको जग्गा वादीको हकको हो होइन, नामसारी गरी पाउने नपाउने के हो ? सबूत प्रमाणको मूल्यांकन गरी निर्णय ठहर गरी दिनुपर्ने हुन आउँछ । यस स्थितिमा प्रमाण अनुसारको दावी नमिलेको तत्काल जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हदको व्यहोरा देखाउन नसकेको भनी फिराद नै खारेज गर्न मिल्ने देखिँदैन । फिराद दायर हुन सक्तैन भनी मुद्दै खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । तसर्थ डिभिजन बेञ्चको ०२८।१२।४ को फैसला बदर गरी दिएको छ, अञ्चल अदालत उपर परेको प्रतिवादीको पुनरावेदनमा कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी निर्णय गरी दिनु भनी तपसीलको कलममा तपसील बमोजिम गरी तारेखमा रहेको वादी प्रतिवादी दुबैपक्षलाई तारेख तोकी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ अनुसार सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत नेपालगन्जमा मिसिल नियमबमोजिम पठाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भएकोले सर्वोच्च अदातल डिभिजन बेञ्चको २८।१२।४ को फैसलाले देहाएको कलममा देहायबमोजिम गर्ने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई लगत काटी दिनु भनी बैतडी जि.अ.मा लेखी पठाउन काठमाडौं श्रे.अ.त.मा लगत दिने …………………१
प्र.माहानन्द जोशी, कृष्णानन्द जोशी, पूर्णानन्द जोशीले पुनरावेदन गर्दा कोर्टफी रु.३३।९४ महाकाली अं.अ.मा दाखिल गरेको देहायको वादीहरूबाट बराबरका दरले भराई दिन गरेको कलम……………………१
नन्दराम जोशी १, पुने जोशी १, इश्वरीदत्त जोशी १, गौरीशंकर जोशी १,
महाकाली अं.अ.को ०२६।९।११ को फैसला बमोजिम देहायको मानिसलाई लाग्ने गरेको जरिवाना नलाग्ने हुँदा ०२६।१०।८।४ मा महाकाली अं.अ.मा दाखिल गरेको रु.३८५। र कृष्णानन्दले दाखिल गरेको रु १००। समेत जम्मा रु.४८५। देहायबमोजिम फिर्ता दिने गरेको कलम…………………….२
कृष्णानन्द जोशी के रु.१००।, महानन्द जोशी के रु १००।, पूर्णानन्द जोशी के रु.१००।, जयानन्द जोशी के रु.१००।, सुनिया भण्डारी के रु.३५।, धन सिं भण्डारी के रु.५०।
महाकाली अं.अ.बाट प्रतिवादी कृष्णानन्द समेत ४ जनाबाट वादीहरूले कोर्टफी रु.३३।९४ भरी पाउने गरेको लगत काटी दिने भन्ने कलम………………………..३
वादी नन्दराम जोशी १ पुने जोशी १ ईश्वरीदत्त जोशी १ गौरी शंकर जोशी १ समेत देहायको कलममा देहायबमोजिम गर्नु भनी बैतडी जि.अ.मा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिने………………………….२
मुद्दा दोहर्याए बापत लाग्ने निज वादीले दाखिल गरेको कोर्टफी रु.२२।६२ देहायको प्रतिवादीबाट वादीले भरी पाउने हुँदा भराई पाउँ भनी नेपाल कार्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र प्रतिवादीको जायजात देखाई वादीको दर्खास्त परे देहायका प्रतिवादीबाट बराबरका दरले निज वादीहरूलाई बराबरका दरले भराई दिने…………….१
महानन्दको मु.स.गर्ने बिजुलीदेवी १, कृष्णानन्द जोशी १, जयानन्द जोशी १, पूर्णानन्द जोशी १
सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२८।१२।४ फैसलाले प्रतिवादीलाई भराई दिने गरेको कोर्टफी रु.३३।९४ स.अ.ल.नं.शाखामा ०२९।१२।१।४ मा वादीले धरौटदाखिल गरेको कार्टफी हाल नलाग्ने भई वादीले फिर्ता पाउने हुँदा कानूनको म्याद भित्र फिर्ता लिन आए कानूनको रीतपुर्याई देहायको वादीलाई देहाएबमोजिम फिर्ता दिने…२
नन्दराम जोशी के ११।३१, पुने जोशी के ११।३१, ईश्वरीदत्त जोशी के ६।१६, गौरीशंकर जोशी के ५।१६
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिं
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३१ साल मार्ग २८ गते राज ६ शुभम् ।