निर्णय नं. ८९४ – ज्यान
निर्णय नं. ८९४ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ८९४ ने.का.प. २०३२
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् ०३१ सालको फौ.फु. नं. १६
फैसला भएको मिति : २०३२।१।९।३
निवेदक : श्री ५ को सरकार
विरुद्ध
विपक्षी : गोपीलाल कठायत समेत
मुद्दा : ज्यान
(१) धेरै व्यक्तिले एकसाथ कसैलाई कुटपिट गरेकोमा एक जनाले प्रहार गरेको चोटमात्र सांघातिक रुपको रहेछ र त्यसको कारणले ज्यान मरेको रहेछ भने ज्यान मार्नमा कुनै किसिमको सहायता नपुर्याउने कुटपिटका लागि अरूलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजाय हुन नसक्ने ।
(प्रकरण नं. १४)
श्री ५ को सरकार तर्फबाट : महान्यायाधीवक्ता रमानन्दप्रसाद सिंह
फैसला
न्या. विश्वनाथ उपाध्याय
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दाहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
तथ्य यसप्रकार छ : महेन्द्रनगर जान भनी गएको २६ साल कात्र्तिक १९ गते माडे बगरमा पुगेको ऐ.२० गते बिहान कृष्णबहादुर हामी बसेको ठाउँमा आई मैले जम्मा गरी राखेको दाउरा किन बाली नोक्सान गर्यौ भनी हाम्रो नूनको करवरेज उठाई लैजान लाग्दा हामीले तिम्रो नोक्सान गरेको छैन भन्दा बदनियत कुरा गर्ने यसलाई कुट्नु पर्छ भनी लाठा ढुङ्गा हंसिया समेत प्रहार गरी दाई मानबहादुरलाई कुटी हाम्रो रु.७०० को पाखीसमेत लिई भागी गएका दाई मानबहादुर ऐ.कात्र्तिक २१ गते सो चोटबाट मर्न गएकोले कानूनबमोजिम गरिपाउँ भन्ने रुपसिं तामाङको जाहेरी दर्खास्त ।
२. मेरो लोग्नेलाई कृष्णबहादुरले बञ्चराको पासाले छातीमा र पिठ्यूमा गरी दुई चोट हानेको अनि गोपीलालसमेत ३ जनाले कुटेको हुन भन्ने ठर्चोमाको बयान ।
३. कृष्णबहादुरले बञ्चरोले मानबहादुरलाई कुटेको हो मैले घारीको लठ्ठीले मर्नेको पिंठ्यूमा एकचोट हानेको हुँ । पछिल्लो मेरो चोट भए पनि चोटले मरेको होइन भन्ने गोपीलाल कठायतको बयान ।
४. पछिबाट चोट छोड्ने बक्ते र गोपीलालको चोटबाट मरेको भनी स्पष्ट छुट्याउन नसकी अभियुक्त कृष्णबहादुर, गोपीलाल बक्ते ३ जनाले चोट छोडी कुटपिट गरेकोबाट मानबहादुर ऐनका म्यादभित्र मर्न गएको देखिन आएबाट ती तीनैजनालाई ज्यान सम्बन्धीको ८।१३ नं. को अभियोगमा ऐ.१३ नं.३ दफा बमोजिम जन्म कैदको सजाय र गोपी भण्डारी समतेको ९ जना उपर ऐ.२२ नं.बमोजिम दबाहाको अभियोगमा कारवाही सजाय हुनुपर्ने भन्नेसमेत दावी लिएको प्रहरी प्रतिवेदन ।
५. मानबहादुरको कुकुरले बहिनीलाई टोकेको त्यसै रिसले मानबहादुरलाई एकचोट हिर्काएको हुँ, मार्ने सल्लाह र इच्छा थिएन भन्ने प्रतिवादी गोपीलालको अदालतमा बयान ।
६. दबाहामा उजूर दावी लिइएका प्रतिवादी दिलबहादुर बिर्खु अतित तनजुन, करविर, चक्रबहादुर काल्चो अफिलाल, गोपी भण्डारी समेतको अदालतमा इन्कार बयान ।
७. कृष्णे कठायत बल्के कठायतका हकमा फरार रहेकोले अ.बं.१९० नं.बमोजिम मुलतबी राख्ने दिलबहादुर बिर्खु, तनजुन करविर, चक्रबहादुर कालचे, अफिलाल, गोपी भण्डारी ९ जनाले सफाई पाउने र पहिलो मानबहादुरलाई कृष्णेले त्यसपछि वक्तेले त्यसपछि गोपीलालले हानेको र गोपीलालको र मानबहादुरको ज्यान लिनुपर्ने सम्मको इवी, उजूर तथा सर्जमिनसमेतबाट नदेखिएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम गोपीलाललाई १० वर्ष कैद गर्ने भन्ने समेत बझाङ्ग जिल्ला अदालतको ०२९।४।३१।३ को जाहेरी फैसला ।
८. सो इन्साफमा चित्त बुझेन भन्ने गोपीलालको पुनरावेदन ।
९. मैले पहिले चोट छाडेको भनी गोपीलालले बयानमा लेखाएको मात्र नभई घटनास्थलमा रहने देख्ने मानिस र मौकामा बुझिएका सर्जमिनका मानिसको बकाईमा गोपीलालले पनि चोट छाडेको भनी लेखेलेखाएको मर्नेले चोट छाडी ज्यान खतम गर्ने अवस्था पारेको भनी विवरण खुलाउन र घाउ चोट परेको यो हो भनी जँचाउन समेत नसकेकोले आफ्नो ज्यान बचाउन चोट छाडेकोले ज्यानसम्बन्धीको ७ नं.सजाय हुनु नपर्ने भन्ने गोपीलालको जिकिर पुग्न सक्दैन । ज्याननै लिनुपर्ने अवस्थाको इवी अडावत परी हाने कुटेको नभई तत्काल उठेको कलझगडा इवीको रीस थाम्न नसकी साधारण लाठाले चोट छाडी कुटेको चोट पिरबाट मानबहादुर मरेको समेत भनी सुरुले गरेको इन्साफ सजाय मुनासिव ठहर्छ भन्ने सेती अञ्चल अदालतको ०३०।१।६।४ को फैसला ।
१०. सो इन्साफ उपर पनि चित्त बुझेन भन्ने गोपीलालको पुनरावेदन ।
११. बञ्चराको पासाले पहिला चोट कृष्णेले र त्यसपछि बक्तेले लाठीले हानेको त्यसपछि गोपीलालले हानेको भन्ने देखिनाले गोपीलाकै कुटपिटले मरेको भन्न नमिली कृष्णे वक्तेले हानी थला परेपछि गोपीलालले हानेको भन्ने सुरु बझाङ्ग जिल्ला अदालतल ठहर गरेको र सो ठहर सेती अञ्चल अदालते पनि सदर गरेको छ । त्यसको विरुद्ध वादीतर्फबाट पुनरावेदन परेको देखिँदैन आफैले मर्ने मानबहादुरको पिठ््यूमा लाठीले हानेको हुँ भनी गोपीलाल सावित भएको र गोपीलालले पछिबाट मर्नेको पिठ््यूमा कुटेको हो भनी छिराङ थापासमेतले सर्जमिनमा उल्लेख गरेको देखिन्छ । लाश जाँच गरेको मुचुल्काबाट गोपीलालले कुटेको भनेको ठाउँ मर्नेको पिठ््यूमा कुनै दाग चोट देखिँदैन छाला खुइलिएको भन्ने जनिएको छ भित्री अङ्गमा कुनै भाँचीए छिनालिएको भन्ने उल्लेख देखिँदैन, त्यसकारण गोपीलालको कुटाइको चोटले ज्यान मरेको होइन भन्ने कुरा सुरु र अञ्चल अदालतले ठहर गरेकोलाई मिसिलको तथ्यले समर्थन गरेको देखिन्छ । कुटपिटबाट ज्यान मरेकोमा ज्यान सम्बन्धीको ११ नं. ले अघिबाट अर्काले कुटी थलिएको मानिसलाई पछिबाट कुटेछ भने पछिबाट कुट्नेको चोटले मरेको ठहर्ने व्यवस्था गरेको देखिन्छ । सो अनुसार यस मुद्दामा २ पटक वारदात भएको छैन एकैपटक धेरै जना भई कुटपिट गरेकोमा सबूत प्रमाणबाट यसै व्यक्तिको चोटले ज्यान मरेको भन्ने ठहर्न आएमा सोही नै मुख्य ज्यानमारा ठहर्ने ज्यान सम्बन्धीको १३ नं.३ दफाले व्यवस्था गरेको छ । कृष्णे र वक्ते फरार रहेकाले निजहरूका हकमा मुलतवी र गोपीलालका हकमा मात्र फैसला भएको देखिन्छ । ज्यानसम्बन्धीको १४ नं. ले सजाय हुने अवस्थाको मुद्दामा सजाय तोक्दा सो ऐनमा लेखिएको सजायको वाक्यांश अर्थात साधारण लाठा, ढुङ्गा लाती मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र मरेछ भने १० वर्ष कैद गर्नु भन्ने लेखिएको हुनाले जुन चोटपीरले ज्यान मरेको हो सो चोट पार्ने कसूरदारलाई सजाय हुने कानूनको निर्देशन देखिन्छ । गोपीलालको चोटले मरेको नठहरेपछि निजलाई १० वर्ष कैद गर्न उक्त १४ नं. को निर्देशनले मिल्न आउने देखिँदैन । गोपीलाललाई सजाय गर्ने ठहर्याएको सुरु र अञ्चल अदालतको मिलेको देखिएन । ज्यानसम्बन्धीको ११।१२ नं. ले कुटपिटतर्फ पनि सजाय दिने व्यवस्था भएको हकलाई गोपीलालको कुटाईबाट कुनै चोट पटक लागेको देखिँदैन । त्यस्तो साधारण कुटपिटमा पुर्पक्षमा थुनामा रही ४ वर्षभन्दा बढी थुनामा रही सकेको देखिनाले कुटपिटतर्फ पनि अरू केही विचार गर्नुपर्ने अवस्था देखिएन भन्ने ०३१।२।३।१ को डिभिजन बेञ्चको फैसला ।
१२. प्रस्तुत मुद्दा दोहर्याउन सिफारिस गर्ने बारे न्यायिक समितिको पर्चा व्यहोरामा मानबहादुरलाई कृष्णेले बञ्चराको पासाले वक्तेले लठ्ठीले टाउकोमा हानेका र त्यसमाथि गोपीलालले घङारुको लठ्ठीले हानेको देखिन आउँछ । मैले लठ्ठीले हानेको भन्ने कुरामा गोपीलाल सावित छ । ती व्यक्तिको संयुक्त रुपको कार्यबाट मानबहादुर मर्न गएको छ । गोपीलाल एक्लैले हानेको त्यति सानो लठ्ठीको प्रहारले मानबहादुर मर्न नसक्ने होला तर गोपीलालको लठ्ठीको प्रहार कृष्णे वक्तेको चोटबाट मानबहादुर भूइँमा ढलेपछि मरेको हो भन्ने कुरा बिर्सनु हुन्न । कृष्णे वक्ते फरार भए पनि निजहरूको चोटपछि गोपीलालले चोट छाडेको कुरामा स्वयं सावित भएको भएपछि निजको चोटबाट मानबहादुर मर्न सक्तैन भन्ने डिभिजन बेञ्चको भनाई ठीक हुन आएन ज्यान मार्नमा सरिक रहेको गोपीलाललाई छाडी दिँदा सबूतको गलत मूल्याङ्कन हुन गई न्याय परेको देखिएन भन्नेसमेत उल्लेख भएको छ ।
१३. यसमा डिभिजन बेञ्चको फैसलाले एउटा गलत नजिर र सिद्धान्त बसाल्ने भएकोले श्री ५ को सरकारले नेपालको संविधानको धारा ७२ अन्तर्गत यो मुद्दा दोहर्याउन निवेदन गर्नु परेको हो भन्नु हुँदै विद्वान महान्यायाधीवक्ता रमानन्दप्रसाद सिंहले डिभिजन बेञ्चको फैसलामा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतको आपराधमा कुन कुन तत्त्वहरू हुन्छन् भन्ने कुराको विश्लेषण भएको छैन । उक्त महल अन्तर्गत मुख्य ज्यान मार्ने व्यक्ति मात्र सजाय भागी नभई ज्यान मार्ने अपराधीक षडयन्त्रमा पसी मर्ने व्यक्तिको जीउ समाउने बाटो छेक्ने इत्यादि काम गर्ने व्यक्तिको पनि उत्तिकै अपराधिक दायित्व हुन्छ भने प्रस्तुत मुद्दामा मर्ने मानबहादुरलाई कृष्णबहादुर वक्ते र गोपीलाल समेत तीन जनाले कुटपिट गरेका छन् । कुटपिटबाट ज्यान मरेको छ तथा आफूले लठ्ठीले कुटेकोमा अभियुक्त गोपीलाल स्वयं आफू अदालतमा सावित भएको छँदाछँदै निजलाई कसूरबाट सफाई दिने गरी डिभिजन बेञ्चबाट फैसला हुनु कानून सङ्गत भन्न मिल्दैन भन्ने बहस प्रस्तुत गर्नुभएको छ ।
१४. मिसिलको अध्ययन गर्दा जिल्ला अदालत तथा अञ्चल अदालतले अभियुक्त गोपीलाललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत अपराधमा सजाय गरे उपर श्री ५ को सरकारको पुनरावेदन नपरेको र डिभिजन बेञ्चबाट फैसला भएपछि मुद्दा दोहरिई पेश हुँदा पनि अभियुक्त गोपीलाललाई उक्त १४ नं. अन्तर्गत सजाय हुनुपर्छ भन्ने नै विद्वान महान्यायाधीवक्ताले माग गर्नु भएकोले अभियुक्तले उक्त १४ नं. अन्तर्गतको अपराध गरेको हो वा होइन भन्ने नै निर्णय गर्नुपर्ने मुख्य प्रश्न हुन आएको छ । यस सन्दर्भमा उक्त १४ नं.लाई हेर्दा ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष ख्वाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था भएको देखिन्छ । ज्यान मार्ने मनसाय वा ज्यान मार्नेसम्मको इवी नभई तत्काल उठेको रिसको आवेशमा साधारण लाठा ढुङ्गा लात मुक्का जस्ता साधनको प्रयोग गरेर हाकाहाकी चोट छोड्दा मानिसको ज्यान मरेमा उक्त १४ नं. अन्तर्गत सजाय हुने कुरा स्पष्ट छ । सो व्यवस्था तत्काल उठेको रिसको आवेशमा भएको घटनाका सम्बन्धमा मात्र लागू हुने र योजना बनाएर वा सल्लाह मिलाएर गरिएको अपराधका सम्बन्धमा सो व्यवस्था आकर्षित नहुने हुनाले ज्यानसम्बन्धीको महलको १३ नं. अन्तर्गतको अपराधको अपराधिक षड्यन्त्रमा पसी मर्ने व्यक्तिको जीउ समाउने बाटो छेक्ने व्यक्ति जस्ता मतियार मतलवीहरू १४ नं. अन्तर्गतको अपराधका हकमा हुँदैनन् । १४ नं. अन्तर्गतको अपराधको मतियार मतलबी हुँदैन । धेरै जनाले कुनै व्यक्तिलाई कुटपिट गरेका रहेछन् र कुटपिटबाट सो व्यक्तिको ज्यान मरेको रहेछ भने पनि जुन व्यक्तिको चोटको कारणबाट ज्यान मरेको छ सो व्यक्तिलाई मात्र उक्त १४ नं. अन्तर्गत सजाय हुन सक्दछ धेरै व्यक्तिले एकसाथ कसैलाई कुटपिट गरेकोमा एक जनाले प्रहार गरेको चोटमात्र सांघातिक रुपको रहेछ र त्यसको कारणले ज्यान मरेको रहेछ भने ज्यान मार्नको कुनै प्रकारको सहायता नपुर्याउने कुटपिटका लागि अरूलाई १४ नं. अन्तर्गत सजाय हुन सक्तैन । यदि सबैको कुटपिट उस्तै प्रकृतिको छ र कसको चोटबाट मानिसको ज्यान मरेको हो भनी छुट्याउन सकिने अवस्था छैन वा सबको कुटपिटको समष्टीगत परिणाम स्वरुप मृत्यु भएको हो भनेमात्र कुटपिट गर्ने सबैलाई १४ नं. अन्तर्गत सजाय हुन सक्तछ । तसर्थ कृष्णबहादुर र वक्तेका साथै गोपीलालले समेत कुटपिट गरेको कारणलेमात्र गोपीलाललाई १४ नं. अन्तर्गत सजाय हुनपर्छ भन्ने विद्वान महान्यायाधीवक्ताको बहस जिकिरसँग सहमत हुन सकिन्न । उक्त १४ नं. अन्तर्गत गोपीलाललाई सजाय हुनलाई निजले लठ्ठीले छोडेको चोट र मानबहादुरको मृत्युमा कारण र परिणामको सम्बन्ध हुनुपर्छ । प्रस्तुत मुद्दामा पहिले चोट छाडिने कृष्णबहादुरले बञ्चरोको पासोले हानेको भन्ने भनाई छ । सो चोट नै सांघातिक भएको हुन सक्दछ । गोपीलालले लठ्ठीले मानबहादुरको पिठ्युँमा छोडेको चोटले मानबहादुरको मृत्यु गराएको वा त्यसबाट मानबहादुरको मृत्युमा कुनै प्रकारको सघाउ पुगेको छ भन्ने कुरा वादीतर्फबाट प्रमाणित हुन सकेको छैन । लास जाँचबाट पिठ्युँको छालासम्म केही खुइलिएको भन्ने देखिन्छ । अघिबाट कृष्णबहादुरले बञ्चरोको पासो जस्तो गह्रौं वस्तुले छाती र पिठ्युँमा र वक्तेले लठ्ठीले टाउकोमा प्रहार गरी भूइँमा लडिसकेको सन्दर्भमा पछिबाट गोपीलालले प्रहार गरेको चोेटले मानबहादुरको मृत्यु गराएको र मृत्युमा सघाउ पुर्याएको थियो थिएन भन्ने कुरा नै शंकास्पद हुन गएको र गोपीलालले प्रहार गरेको चोट र मानबहादुरको मृत्युमा कारण र परिमाण सम्बन्ध स्पष्ट रुपमा स्थापित हुन नसकेकाले सिर्फ शंकाको भरमा गोपीलाललाई ज्यान सम्बन्धीको १४ नं. अन्तर्गत सजाय गर्न मिल्ने देखिएन । उक्त १४ नं. अन्तर्गत गोपीलाललाई सजाय गर्न नमिल्ने भन्नेसम्म डिभिजन बेञ्चको राय मुनासिव छ । तर गोपीलालले मानबहादुरलाई लठ्ठीले चोट छाडेकोमा गोपीलाललाई आफै सावित भएकोमा निजलाई उक्त १४ नं.बमोजिम सजाय नहुने भएपछि सरकारी मुद्दासम्बन्धी ऐन, २०१८ को दफा ७ क. अनुसार सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेकोमा वादी पक्ष कायम गरी यही मुद्दाको मिसिलबाट कुटपिटको अभियोगमा प्रतिवादी गोपीलाल कठायत उपर प्रचलित नेपाल कानूनबमोजिम कारवाई किनारा गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सो बमोजिम गर्नु भनी सुरु मिसिल बझाङ्ग जिल्ला अदालतमा पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
प्र.न्या. रत्नबहादुर बिष्ट,
न्या. प्रकाशबहादुर के.सी.
इति सम्वत् २०३२ साल वैशाख ९ गते रोज ३ शुभम् ।