December 17, 1974
Created by nepalarchives

निर्णय नं. ८८२ – घरबाट उठाई पाउँ

निर्णय नं ८८२       ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत्...

निर्णय नं ८८२       ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र

सम्वत् २०२८ सालको दे.फु.नं. १२०

फैसला भएको मिति  : २०३१।९।२।३

निवेदक      : ल.पु.विसंखु कमेरे राउटार बस्ने गडुलध्वज बुढाथोकी

विरुद्ध

विपक्षी : ल.पु.जि. लुभु विसनडोल बस्ने कृष्णबहादुर खत्री

मुद्दा : घरबाट उठाई पाउँ

(१)   राजीनामा बमोजिमका घरबाट उठाइपाउँ भन्ने कुरा जग्गा र बाली साँवा र ब्याज जस्तै एकैपटक नालेश दिनुपर्ने अवस्थाको एक अर्कोसँग आश्रित विषय नहुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : अधिवक्ता होराप्रसाद जोशी

विपक्षी तर्फबाट      : अधिवक्ता गङ्गाप्रसाद उप्रेती

फैसला

      प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : मसँग रु.९००१ कर्जा लिई निजका हक भोगको ल.पु.पहिला मालमा सालको धान १।१५।४ गहुँ ।७।५।७।। घ्यू ।३०।१ पराल कल्ली २० बुझाउन पर्ने चारैतर्फ रैकर भएको सि.नं.२८१९ को खेतमुरी ।६।१० को खला र मैले ल.पु.९६ सा.नं. खेत ।२२।१० भन्ने रसिदमा जनिएको तिरो धान ।१२।४ गहुँ ।।४ घ्यू ।४ बुझाउनुपर्ने पूर्व दक्षिण रैकर पश्चिम गुठी उत्तरबाटो भएको रै.नं.१४८८ को जग्गा र सो जग्गामा बनेको ९।१३ को २ तले पराले घर समेत ०१८।४।२३।२ मा राजीनामा पास गरी दिएको २०१८ सालको बली विपक्षीले लगाई राखेकोले मोही बटि र घरको बहाल समेत मकै मुरी २। बुझाई २०१९ सालका वादी देखि जग्गा र घर समेत छाडी दिने जमान गरी २०१८ साल १ वर्षलाई विपक्षीबाट कमाउन दिएकोमा सो बाली समेत नदिई घर जग्गा पनि छाडी नदिएको हुँदा २०१८।१९ सालको बालीको हकमा पछि अर्को नालिस गर्ने छु उक्त ४ किल्ला भित्रको घरबाट निज गडुलध्वज बुढाथोकीलाई उठाई पाउँ भन्ने समेत वादी ।

      ३.    प्रतिवादी गडुलध्वजले प्रतिवादी नदिएको वादीबाट लिखतको नक्कल पेश भएको वादी दावीकै घर राजीनामाबाट वादीको देखिंदा वादी दावी बमोजिम घरबाट उठाउन पाउँछ भन्ने समेत ईलाका अदालत ललितपुरको फैसला ।

      ४.    प्रतिवादीको म्याद थामिई प्रतिवादी सरहको पुनरावेन दिएकोमा वादी कृष्णबहादुर भानिज हुन मलाई हेरचाह गरेको थिए शेषपछिको बकसपत्र भनी अड्डामा लगी झुक्याई राजीनामा पास गराई लिएछन् । झुक्याई राजीनामा गराएको हुँदा घर छाडी दिनु नपर्ने भन्ने समेत जिकिर लिएको ।

      ५.    वादी दावी बमोजिमको घर प्रतिवादी पुनरावेदकले वादीलाई राजीनामा लिखत रजिष्ट्रेशन पास गरी दिएको देखिन आयो । सो राजीनामा लिखत सदर भएसम्मलाई हक छाडी लिखत गरी दिएको घर प्रतिवादी पुनरावेदकले छाडीदिनुपर्ने देखिनाले पुनरावेदन जिकिर मनासिव देखिन आएन । इन्साफ सुरुको मनासिव छ भन्ने समेत बागमती अञ्चल अदालतेको फैसला ।

      ६.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

      ७.    वादी कृष्णबहादुर खत्री मेरो भान्जा नाताका भएकाले शेषपछिलाई बकस दिने सल्लाह भई शेष पछिको बकसपत्र भनी झुक्याई राजीनामा लिखत गराएको हुन मन्जुरीले राजीनामा गरिदिएको होइन । घर मेरै हुनाले छोड्न नपर्ने भन्ने समेत पुनरावेदकको जिकिर भए पनि उक्त राजीनामामा उपर उजूर परेको नदेखिएको राजीनामा लिखत कायमै रहेको रजिष्ट्रेशन पास भएको उक्त राजीनामाबाट पुनरावेदक गडुलध्वजको सो घरमा हक छुटिसकेको देखिनाले पुनरावेदन जिकिर मनासिव देखिएन घरबाट उठ्नुपर्ने ठहराई फैसला गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत २०२७।११।२५।३ को डिभिजन बेञ्चको फैसला ।

      ८.    प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा वादीको फिराद जग्गा बाली घर बहाल सम्बन्धी कुरामा तत्कालीन अदालती बन्दोबस्तको ९९ नं. को प्रतिकूल छ । कारण घर जग्गा प्रतिवादीले भोगेको देखिनु फिरादपत्रमा ०१८।०१९ सालको बालीमा अर्को नालिस गरी भराई लिन पाउने भएको भन्ने उल्लेख गर्नु त्यसको अतिरिक्त जग्गा घरमा विपक्षीले बाली लगाई राखेकोले दुबै खलाको तलसिं बोटी तिरो तिर्ने गरी मोही बोटी र घर बहाल वापत मकै मुरी २। बाली पाकेपछि बुझाई १९ सालका बालीदेखि जग्गा घर समेत मलाई छाडीदिने गरी मुखबोल जम्मा नगरी सो घर जग्गा ०१८ साल बर्ष १ लाई मगनी बहालमा कमाउन समेत दिएको बाली बुझाउन नल्याएको भन्ने पनि सोही फिरादमा उल्लेख गर्नु ०१९ सालको बलीमा पनि नालिस दिने कुरा लेख्नु यी सब कुराबाट वादीलाई निजको लेखाई अनुसार सबै कुरामा अन्याय भएको कुरा मानेको पाइन्छ । यस किसिम अन्याय मानेपछि तत्कालीन सो अदालती बन्दोबस्तको ९९ नं.मा अन्याय भएको कलम जतिमा एकैपटक नालिस दिनु पर्छ । सो बमोजिम नगरी पहिले दिएको नालिसको रुप विचार गरी मात्र सो मुद्दाको सो रुपले अरू कुरामा पछि नालिस दिने नियत लिई यति कुरामा मात्र यस नालिसबाट दिलाई भराई सजाय गरिपाउँ भनी अर्थात जग्गा र बालीको समेत नालिस दिनुपर्नेले पहिले जग्गाको मात्र वा बालीको मात्र नालिस गरी र साँवा र ब्याजसमेतको नालिस दिनुपर्नेले साँवामा मात्र वा ब्याजमा मात्र नालिस गरी अरू कुरामा पछि नालिस दिउँला भन्ने इत्यादि किसिमको वादी दिन र सो वादीमा छुटेको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने वाक्यांश भित्र पर्ने हुँदा सो ऐनले प्रस्तुत मुद्दाको नालिस खारेज हुने प्रष्ट देखिन्छ । तसर्थ इन्साफ गरी घरबाट उठ्नु पर्ने हुँदा सो ऐनले प्रस्तुत मुद्दाको नालिस खारेज हुने प्रष्ट देखिन्छ । तसर्थ इन्साफ गरी घरबाट उठ्नु पर्ने ठहराएको स.अ.को निर्णय मिलेको देखिएन भन्ने समेत उल्लेख भएको ।

      ९.    निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले मेरो पक्षले त्यतिको रुपैयाँ लिई वृद्धावस्थामा आफ्नो बसोबासको घर समेत राजीनामा गरिदिनुपर्ने अवस्था छैन । वादी भानिज नाताको भएकोले बकसपत्र भनी झुक्याई राजीनामा गराएको हो राजीनामा भनी मेरो पक्षले जानी बुझी लिखत गरिदिएको भए घरमा मेरो पक्षलाई बसी रहनु दिनु पर्ने थिएन । झुक्याई गराएको राजीनामा हुँदा घर छाडी दिनु नपर्ने भन्ने समेत र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले रजिष्ट्रेशन अड्डाबाटै पास भएको लिखत झुक्याई गराएको भन्ने कुरा साँचो होइन जानी बुझी र राजीनामा गरिदिएको घर छाडी नदिएको हुँदा डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

      १०.    यसमा प्रतिवादी गडुलध्वजले ०१८।४।२३।२ मा पास गरी दिएको राजीनामा बमोजिमको घर छोडी दिएन घरबाट उठाई पाउँ भन्ने वादीको दावी भएको शेषपछिको बकसपत्र भनी अड्डामा लगी झुक्याई राजीनामा पास गराई लिएछ । खुशीराजीले राजीनामा गरिदिएको नहुनाले घर छोडी दिनु नपर्ने भनी प्रतिवादीले विवाद उठाएको रहेछ । वादी दावीको उक्त राजीनामा लिखत २०१८।४।२३।२ मा ललितपुर रजिष्ट्रेशन अड्डाबाट पास भएको देखिन्छ । रजिष्ट्रेशन पास गर्दा तत्काल प्रचलित रजिष्ट्रेशनको २३ नं. अनुसार रजिष्ट्रेशन अड्डाले लिने दिने दुबै थरलाई कागज स्पष्ट गरी सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलबसमेत सम्झई मात्र ऐनबमोजिम सहीछाप गराई पास गराई दिने कानूनी व्यवस्था भएको पाइन्छ । त्यसरी रजिष्ट्रेशन अड्डाबाट पास भएको राजीनामामा वादीले मात्र झुक्याई सही गराउन सक्ने अवस्था नभएको र रजिष्ट्रेशन अड्डाका कर्मचारीसमेत मिली झुक्याई सही गराए भनी कानूनबमोजिम उजूर गरी उक्त लिखत बदर गराउन सकेको नदेखिएकोले रजिष्ट्रेशन पास भइराखेको उक्त लिखतको सम्बन्धमा अरू कल्पना गर्न मिल्ने देखिएन । फिरादपत्रमा १८ साल वर्ष १ लाई मगनी बहालमा कमाउन दिएको बाली बुझाउन नल्याएको भन्ने उल्लेख गरेको र १९ सालको बालीमा पनि नालिस दिने कुरा लेखेको तत्काल प्रचलित अ.बं.९९ नं. ले अन्याय भए जति कलममा एकैपटक नालिस दिनुपर्ने हुँदा घरबाट उठाई पाँउ भन्ने कुरामा मात्र दावी लिएको नालिस खारेजी हुनुपर्ने भन्ने तर्क उठाइएको हकमा जग्गाको बाली भराई पाउँ भन्ने र राजीनामा बमोजिमको घरबाट उठाई पाउँ भन्ने कुराहरू उक्त अ.बं.९९ नं.मा उल्लेख भएबमोजिम जग्गा र बाली साँवा र ब्याज जस्तै एकैपटक नालिस दिनुपर्ने अवस्थाको एक अर्कोसँग आश्रित विषय होइन । त्यसकारण उक्त तर्कमा सहमत हुन पनि मिलेन । आफूले राजीनामा पास गरी दिइसकेको घर प्रतिवादीले छाडी दिनुपर्ने नै हुनाले घरबाट उठ्नु पर्ने ठहराएको बागमती अञ्चल अदालतको सदर गरी ०२७।११।२५।३ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले दोहराएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. इश्वरीराज मिश्र

 

इति सम्वत् २०३१ साल पौष २ गते रोज ३ शुभम् ।