February 27, 1961
Created by nepalarchives

निर्णय नं. ८८ – जबरजस्ती चोरीको रीट

निर्णय नं. ८८       ने.का.प. २०१७ सिंगल बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह ठा. न. १५ निवेदक      : रघुनाथ सिवार विरुद्ध विपक्षी :...

निर्णय नं. ८८       ने.का.प. २०१७

सिंगल बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

ठा. न. १५

निवेदक      : रघुनाथ सिवार

विरुद्ध

विपक्षी : संगरत्न शाक्य

मुद्दा : जबरजस्ती चोरीको रीट

(१)   बेरीतबाट परेको रीट खारेज हुने । रीटको निवेदनपत्र सर्वोच्च अदालत नियमावलीको ४४ बमोजिम रजिष्ट्रार मार्फत दर्ता गराउनु पर्ने ।

     यसमा पेश हुन आएको रीटको निवेदनपत्र समेतको व्यहोरा बुझि विचार गर्दा यो निवेदनपत्र सर्वोच्च अदालत नियमावली ४४ बमोजिम रीत पुर्‍याई रजिष्ट्रार मार्फत दर्ता नभई सोझै विरगञ्ज जेलमा ५०/रू. धरौट राखी निवेदनपत्र दिएको देखिनाले बेरीतबाट यो रीट निमित्त निवेदन परेकोले खारेज हुने ठहर्छ ।

(प्रकरण नं. ३)

फैसला

      १.     यसमा विपक्षीसंगको जबरजस्ती चोरी मुद्दामा मलाई नलाग्ने धेरै सजाय लगाई फैसला गरेकोमा अपील दिनु पर्नेमा गुज्रेका मितिले म्याद थाम्न निमित्त ८० दिन भित्र निवेदन दिंदा थामी नआएकोले सर्वोच्च अदालत ऐनको ११ दफा अन्तर्गत सर्वोच्च अदालत नियम ४४ बमोजिम रू. ५०/ धरौट राखी रीट निमित्त निवेदन गर्न आएको छु । उक्त गुज्रेको म्याद थामी अपील दिनु भन्ने कटरबन अपीलका नाउमा आदेश गरी पाउभन्ने रघुनाथको निवेदनपत्र विरगञ्ज जेलको चलानी साथ आएको ।

      २.    बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश र आजसम्म केही निकासा नआएकोले अपील दिन मन्जुर छैन भन्ने समेत रघुनाथको दरखास्त ।

      ३.    यसमा पेश हुन आएको रीटको निवेदनपत्र समेतको व्यहोरा बुझी विचार गर्दा यो निवेदनपत्र सर्वोच्च अदालत नियमावली ४४ बमोजिमको रीत पुर्‍याई रजिष्ट्रार मार्फत दर्ता नभई सोझै विरगञ्ज जेलमा पचास ५०/रू. धरौट राखी निवेदनपत्र दिएको देखिनाले बेरीतबाट यो रीट निमित्त निवेदन परेकोले खारेज हुने ठहर्छ । सो ठहर्नाले निवेदक विरगञ्ज जेलमा थुनिएको रघुनाथ शाहके निजले उक्त जेलमा १५/१०/१९/१ मा धरौट राखेको भा. रू. ५० पचास ऐन सवालको रीत पुर्‍याई फिर्ता दिनु भनी विरगञ्ज अमिनीलाई लेखि पठाउनु भनी अ. त. फौ. मा लगत दिने । मिसिल नियम बमोजिम गर्नु ।

 

इति सम्वत् २०१७ साल फाल्गुण १६ गते १ रोज शुभम् ।