August 30, 1973
Created by nepalarchives

निर्णय नं. ८७९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ८७९            ने.का.प. २०३२ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायधीश श्री वासुदेव शर्मा सम्वत् २०२९ सालको रिट नम्बर १०८५...

निर्णय नं. ८७९            ने.का.प. २०३२

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायधीश श्री वासुदेव शर्मा

सम्वत् २०२९ सालको रिट नम्बर १०८५

आदेश भएको मिति : २०३०।५।१४।५

निवेदक      : कैलाली जिल्ला धनगढी घर भई हाल का.जि.डिल्लीबजार कालिकास्थान डेरा गरी बस्ने हरिहरप्रसाद भण्डारी

विरुद्ध

विपक्षी : सञ्चालक समिति कृषि विकास बैङ्क काठमाडौं नेपाल

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   परीक्षणकाल समाप्त भएपछि स्थायी नियुक्तिको छुट्टै अर्को नियुक्ति पाउने भन्ने नभई नियुक्ति पाउने छ भन्ने वाक्यांशबाट परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी नियुक्ति पाएको सम्झनु पर्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेवप्रसाद ढुङ्गाना

प्रतिपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता मधुप्रसाद शर्मा

आदेश

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    तथ्य यसप्रकार छ : तपाईंलाई यस कार्यालयको प.सं.१:७४ (५) मिति ११।९।०२८ को पत्रअनुसार ६ महिनाको लागि यस बैङ्कको ऋण अधिकारी पदमा परीक्षणकालमा भर्ना गरी काम गरिआएकोमा तपाईंको काम सन्तोषजनक नभएबाट सेवाबाट अवकाश दिइएको छ भन्ने कृषि विकास बैङ्क प्रशासन विभाग कर्मचारी प्रशासन शाखाबाट ०२९।१।६ मा र मिति ०२९।२।११।४ मा तपाईंले दिएको पुनरावेदनको सम्बन्धमा यस बैङ्कबाट मिति ०२८।१२।३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार तपाईंलाई अवकाश दिएको कुरा नै उचित भएको हुँदा आदेशानुसार सूचित गरिन्छ भन्ने कृषि विकास बैङ्क प्रशासन शाखाबाट मिति ०२९।५।१३ मा निवेदकलाई पत्र दिएको रहेछ ।

      ३.    कृषि विकास बैङ्कको ऋण अधिकारीको पदमा ६ महिनाको परीक्षणकालमा रहने गरी नियुक्ति पाई कामकाज गरिरहेको बखत काम सन्तोषजनक नभएबाट सेवाबाट अवकाश दिएको छ भनी प्रमुख व्यवस्थापकज्यूको पत्र पाई उपरोक्त निर्णय उपर सञ्चालक समितिमा पुनरावेदन गरेको ०२८।१२।३० मा बसेको सञ्चालक समितिको निर्णयअनुसार अवकाश दिएको कुरा नै उचित भएको हुँदा सूचति गरिन्छ भन्ने पत्र प्राप्त भयो कृषि विकास बैङ्क कर्मचारी व्यवस्था नियम ०२४ को परिच्छेद २ नियम (३) को व्यवस्थाअनुसार मेरो तह अर्थात तृतीय श्रेणीको नियुक्ति गर्ने अधिकारी सञ्चालक समिति भएको नियुक्त गर्ने अधिकारीले मात्र बर्खास्त अवकाश वा सेवाबाट हटाउन सक्ने व्यवस्था भएको सञ्चालक समितिको निर्णयले मलाई हटाएको भए पहिलेकै पत्रमा समेत सञ्चालक समितिको निर्णय भएको देखिनुपर्ने नभएकोबाट पुनरावेदनमा जिकीर लिएपछि गैरकानूनी निर्णयलाई कानूनसङ्गत बनाउन पछि मात्र निर्णय गरेको स्वतः देखिने परीक्षणकालमा रहेको कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्थासम्म देखिन्छ । अवकाश दिनसकिने होइन, परीक्षणकालको अवधि २०२८।१२।३० मै पुरा भएको हुँदा सो मिति पछि अवकाश दिएको कुरा गैरकानूनी र अवकाश दिनु भन्दा अघि मलाई प्रतिवादी पेश गर्ने मौका दिनुपर्नेमा सो समेत नदिएको, यसप्रकार गैरकानूनी निर्णय बदर गरी पाउन सञ्चालक समिति छेउ पुनरावेदन चढाएकोमा निष्पक्ष रुपमा अध्ययन विचार नभई पहिले नदेखाएको ०२८।१२।३० को सञ्चालक समितिको निर्णय अनुसार अवकाश दिएको उचित भएको भनी ठाडै तामेलीमा राखी दिएको प्राकृतिक न्यायको सिद्धान्त र कानून विपरीतसमेत भएको र विपक्षीले गैरकानूनी र अनाधिकार कार्य गरेको हुँदा उत्प्रेषणको आदेश जारी गरी विपक्षीहरूको मिति ०२८।१२।३० को निर्णय र ०२९।१।६ तथा मिति २०२९।५।१३ को सूचनामा लिखित आदेशहरू बदर गरी मेरो नोकरी सेवा यथावत राखी पाउँ भन्ने समेत निवेदक हरिहरप्रसाद भण्डारीको रिट निवेदन जिकीर रहेछ ।

      ४.    निवेदकको नियुक्ति अस्थायी भन्ने निर्विवाद छ । स्थायी पद ग्रहण नगरेसम्म बैङ्कको ऐन, नियम तथा विनियमले अस्थायी पदमा रहिरहनेको लागि कुनै हक प्रदान गर्दैन यस स्थितिमा त्यस्तो सेवालाई कानूनी हक भन्न मिल्दैन । कुनै कानूनी हक प्राप्त भएको छैन भने रिट आवेदन खारेज गरी पाउन जिकिर गर्दछौं । निवेदकको नियुक्ति प्रमुख व्यवस्थापकले दिएको र त्यस्तो नियुक्ति गर्न पाउने अधिकार निजलाई नियमले प्राप्त छ । कृषि विकास बैङ्क कर्मचारी व्यवस्था प्रथम संशोधन नियमले मुल नियम परिच्छेद २ को नियम ३ लाई संशोधन गरी तृतीय श्रेणी देखि तलका पदमा प्रमुख व्यवस्थापकले नियुक्ति गर्ने भन्ने शब्दहरू राखिएको छ । यस नियमले प्रमुख व्यवस्थापकलाई तृतीय श्रेणीको कर्मचारी नियुक्ति गर्न पाउने अधिकार प्रदान गरेको छ । नियुक्ति गर्ने अधिकारीको तजविजमा परीक्षण समाप्त भएपछि वा समाप्त नहुँदै पनि हटाउन सक्ने परिच्छेद २ को नियम ४ को उपनियम ३ ले नियुक्ति गर्ने अधिकारीलाई अधिकार प्राप्त छ । सोही क्षेत्राधिकारको परिधिमा रही प्रमुख व्यवस्थापकले नियुक्ति गरेको हुँदा सोही अनुसार निजलाई सेवाबाट हटाइएको हो नियमानुसार सेवाबाट हटाएको हुँदा रिट आवेदनपत्र खारेज गरिपाउँ भन्नेसमेत प्रतिपक्षी सञ्चालक समिति कृषि विकास बैङ्क काठमाडौंको अध्यक्ष तथा महाप्रबन्धक दीर्घराज कोईरालाको लिखित जवाफ ।

      ५.    निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले आफ्नो बहसमा कृषि विकास बैङ्क कर्मचारी व्यवस्था नियममा परीक्षणकालमा रहेको कर्मचारीको काम सन्तोषजनक हुँदैन भने परीक्षणकाल पुग्नु भन्दा अगावै अथवा अवधि पुग्नेबित्तिकै हटाउन सकिने र परीक्षणकाल भुक्तान भएपछि अवधि थप गर्न सकिने व्यवस्था भएको निवेदक ६ महिनाको परीक्षणकालमा नियुक्ति भई परीक्षणकालको अवधि नाघिसकेपछि अवधि पनि थप नगरेको तत्काल हटाएको पनि नभए पछि स्वतः स्थायी भएको कर्मचारीलाई ६ महिना १५ दिनपछि नोकरीबाट अवकाश दिएको त्यस्तो स्थायी कर्मचारीलाई अवकाश दिन सफाईको मौका दिनुपर्ने नदिई हटाएको गैरकानूनी हुँदा बदर हुनुपर्छ भन्ने समेत र प्रतिपक्षीतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्माले लोकसेवाबाट सिफारिश हुने सिलसिलामा सो विधि समाप्त नभएसम्म निवेदकलाई ०२८।६।२१ मा अस्थायी नियुक्ति गरी लोकसेवाबाट सिफारिस गर्ने विधि समाप्त भएपछि ६ महिनाको परीक्षणकालमा ०२९।९।११ मा नियुक्ति गरिएको हुँदा निवेदकको नियुक्ति ०२८।६।२१ को भन्न मिल्दैन नियुक्ति गर्ने अधिकृतबाट स्थायीको नियुक्ति पत्र पाउनु पर्ने नियममा व्यवस्था हुँदा परीक्षणकालको अवधि भुक्तान भएपछि स्वतः स्थायी हुने होइन परीक्षणकाल भित्रै निवेदकलाई अवकाश दिएको हो । परीक्षणकालको नियुक्ति भएकोलाई अवकाश दिन कुनै कार्यविधि अपनाउनु नपर्ने हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भएको छ ।

      ६.    निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा निवेदकलाई कृषि विकास बैङ्कले हटाइएको निर्णय बदर हुने नहुने के रहेछ मुख्य त्यस कुराको निर्णय दिनुपर्ने विषय हुन आएको छ ।

      ७.    निवेदकको नियुक्तितर्फ हेर्दा निवेदकलाई ०२८।६।२१ मा दिएको नियुक्ति पत्रमा लोकसेवाबाट नियुक्तिको लागि सिफारिश हुने सिलसिलामा पुर्‍याउनु पर्ने विधिहरू समाप्त नहुनुन्जेल सम्मका लागि आजका मितिमा अस्थायी नियुक्ति दिएको छ भन्ने र ०२८।९।११ मा दिएको नियुक्ति पत्रमा ०२८।६।२१ देखि नै ऋण अधिकारी पदमा ६ महिनाको परीक्षणकालमा नियुक्ति दिएको भन्ने उल्लेख भएकोले ०२८।९।११ को नियुक्ति पत्रबाट ०२८।६।२१ देखि नै निवेदकलाई ६ महिनाको परीक्षणकालमा अस्थायी नियुक्ति गरेको समर्थन गरेको समेत हुँदा निवेदक ०२८।६।२१ देखि परीक्षणकालमा नियुक्ति भएको प्रष्ट देखिएकोले ०२८।९।११ देखि मात्र परीक्षणकालमा नियुक्ति भएको भन्न मिल्ने देखिएन ।

      ८.    त्यसरी ०२८।६।२१ देखि नियुक्ति भई ६ महिनाको परीक्षणकालमा रहेको निवेदकलाई परीक्षणकालको अवधि ०२८।१२।११ देखि भुक्तान भई १५ दिन पछि मात्र ०२९।१।६ मा पत्र दिई हटाएको देखिएको छ । कृषि विकास बैङ्क कर्मचारी व्यवस्था नियम परिच्छेद २ को नियम ४ (४) मा कर्मचारीको परीक्षणकाल समाप्त भएपछि नियुक्ति गर्ने अधिकारीबाट निजले स्थायी नियुक्ति पाउने छ भन्ने व्यवस्था भएको सो व्यवस्थाबाट परीक्षणकालमा रहेको कर्मचारीले परीक्षणकाल समाप्त भएपछि नियुक्ति गर्ने अधिकारीबाट निजले स्थायी नियुक्ति पाउने छ भन्ने व्यवस्था भएको सो व्यवस्थाबाट परीक्षणकालमा रहेको कर्मचारीले परीक्षणकाल समाप्त भएपछि स्थायी नियुक्तिको छुट्टै अर्को नियुक्ति पत्र पाउने भन्ने नभई नियुक्ति पाउने छ भन्ने वाक्यांशबाट परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी नियुक्ति पाएको सम्झनु पर्ने र निवेदकलाई हटाएको पत्र दिएको मिति ०२९।१।६ सम्ममा निवेदकको परीक्षणकालको ६ महिनाको अवधि मिति ०२८।१२।२१ बाट भुक्तान भएको मितिबाट १५ दिनसम्म पनि कृषि विकास बैङ्कको कर्मचारी भई कामकाज गरिरहेकोबाट निवेदक परीक्षणकाल भुक्तान भएको मितिदेखि उक्त नियम ४ (४) बमोजिम स्वतः स्थायी नियुक्ति पाएको कायम हुन गई स्थायी कर्मचारी हुन आएको प्रष्ट छ । त्यस्तो स्थायी भएको कर्मचारीलाई हटाउन उक्त नियम परिच्छेद ७ को नियम ६ मा उल्लेख भएअनुसार नसिहत र अस्थायी रुपले तलब भत्ता रोक्का गर्ने बाहेक अरू सजाय गर्ने निर्णय गर्नुभन्दा अगाडि लिखित प्रतिवाद १५ दिनभित्र पेश गर्ने मौका दिनुपर्नेमा निवेदकलाई प्रतिवाद गर्ने मौका दिई सजायसम्बन्धी कार्यविधि अपनाई हटाएको नदेखिएकोले प्रतिवाद गर्ने मौकै नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरी हटाएको देखिएको हुँदा प्रतिपक्षीतर्फको विद्वान वरिष्ठ अधिवक्ताको बहस युक्तिसङ्गत भएन ।

      ९.    तसर्थ उपरोक्त उल्लेखित कारणको आधारमा प्रतिपक्षी कृषि विकास बैङ्कले निवेदकलाई नोकरीबाट हटाउने गरेको र पुनरावेदन परेकोमा सो हटाइने गरेको निर्णय सदर गरेको निर्णय समेत गैरकानूनी हुँदा उत्प्रेषणको आदेश जारी भई बदर हुने ठहर्छ, फाईल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा सहमती छ ।

 

न्या. वासुदेव शर्मा

 

इति सम्वत् २०३० साल भाद्र १४ गते रोज ५ शुभम् ।