निर्णय नं. ८५०२ – कर्तव्य ज्यान
निर्णय नं. ८५०२ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६६ सालको...
निर्णय नं. ८५०२ ने.का.प. २०६७ अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री रणबहादुर बम
संवत् २०६६ सालको स.फौ.पु.नं …..५८९
फैसला मितिः २०६७।८।८।४
मुद्दाः— कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर, आमभञ्याङ्ग गा.वि.स. वडा नं. ३ घर भई हाल कारागार कार्यालय पर्सामा थुनामा रहेकी कमला वि.क.
विरुद्ध
प्रत्यर्थी वादीः खड्गबहादुर वि.क.को जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या. श्री बालचन्द्र शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी
मा.न्या. श्री गिरीराज पौड्याल
§ भवितव्यको वारदात हुँदा कर्तव्य गर्ने व्यक्तिले गम्भीर परिणामको सम्भावना देखेको हुँदैन । कुनै मनसाय, इविलाग नभएको र पूर्व परिणामको सम्भावना नरहेको स्थितिमा भए गरेको कार्यबाट नदेखिएको वा नसोचिएको तर कानूनले निषेध गरेको कुनै परिणाम आउँछ भने त्यस स्थितिमा भवितव्यको घटना हुनजाने ।
(प्रकरण नं.२)
§ पीडितले औषधि गरेनन् वा ठूलो अस्पताल र विदेशमा गै उपचार गर्नुपर्ने, नगरेको कारण मृत्य भयो भन्ने आधारमा पीडितलाई नै दोष दिई अभियुक्तलाई छूट दिने हो भने पीडित पक्षलाई अझ बढी अन्याय हुन जान्छ । आफूले गरेको अपराधमा पीडितले नै औषधि उपचार नगरेको भन्ने आधारमा अभियुक्तले छूट पाउन नसक्ने ।
§ कुटपीटको वारदातलाई क्रम भङ्ग गर्ने प्रकृतिको मृतकउपर अर्को घटना घटेको पुष्टि नभएको स्थितिमा, अर्को कारणले मृतकको मृत्यु भएको भन्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ ज्यान सम्बन्धी महलको ५ र १० नं.
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन अदालत हेटौंडाको २०६६।७।१७ को फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
मेरो छोरा राजु वि.क. मिति २०६४।१२।१४ गते विहान जिल्ला मकवानपुर भैंसे गा.वि.स. वडा नं. ७ स्थित ज्ञानबहादुर वि.क. को घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाई म समेत घटनास्थलमा गै हेर्दा छोराको मृत्यु भएको देखी के कसरी मृत्यु भएको हो भन्ने सम्बन्धमा बुझ्दा वुहारी कमला वि.क.ले छोरालाई टाउकोमा लठ्ठीले प्रहार गरी केही दिन अगाडि घाईते बनाई दिएकी रहिछे । टाउकोमा गम्भीर चोट समेत भएको र नाति रन्दिप वि.क. को भनाइअनुसार पनि कमलाले नै टाउकोमा दाउराले कुटपीट गरेको भनी बताएको हुँदा कानूनबमोजिम गरी लाश सतगतको लागि जिम्मा पाऊँ भन्ने समेत व्यहोराको मृतक राजु वि.क. को बुबा खड्गबहादुर वि.क. को जाहेरी दरखास्त ।
मृतक राजु वि.क.को कपाल लामो, टाउकोमा केही पुरानो घा खत भएको, सो घाउको लम्बाई साढे दुई इञ्च, चौडाई २ इञ्च र गहिराई २ इञ्च भएको, सो घाउवाट रगत, पीप एवं गिदी जस्तो पदार्थ निस्की वगेको, पछाडि ढाडमा ३ ठाउँमा र दायाँ गोडाको नलीखुट्टामा १ ठाउँमा घाउ रहेको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का ।
कुटपीटबाट टाउकोमा गम्भीर चोट लागी मृत्यु भएको भन्ने समेत व्यहोराको मृतक राजु वि.क.को लाश परीक्षण प्रतिवेदन ।
दिउसो करिव १० वजेतिर बुबा राजु वि.क. र आमा कमला वि.क.कुस्ताकुस्ती गरिरहेको थिए । त्यस्तैमा वुवाले ए रन्दिप यहाँ आइज भनेपछि म दगुर्दै घर आगनमा आउदा ममी कमला वि.क.हातमा दाउरा (लाठी) लिई आँगनवाट पाखोतर्फ भाग्दै गरेको र वुवाले चाहीँ माटोको डल्लाले हान्दै गरेको देखे । त्यसपछि बुबाको टाउको निधारमा रगत बगेको देखी मैले र बुबा समेत भै धारामा गै रगत पखाली मैले उपचारको लागि वुवालाई डोर्याई हेल्थ पोष्ट लैजाँदा, हेल्थपोष्ट बन्द भएकोले फर्की आएका थियौं । सानी आमा कमला वि.क.ले टाउकोमा प्रहार गरी कुटपीट गरेको कारण बुबा राजु वि.क.को मृत्यु भएको हो भन्ने समेत व्यहोराको रन्दिप वि.क.को कागज ।
मेरो पति राजु वि.क.ले मिति २०६४।१२।१गते छिमेकिको घरमा पुजामा गएको अवस्थामा,मलाई रु.२००।– नगद तैले झिकिस भनी आरोप लगाएको र घरमा आएपछि पनि मिति २०६४।१२।२ गते तँ यहाँ नवस् भनी कपडाहरू फाली दिएकाले आपसमा झगडा भै पतिले मलाई कुटपीट गर्न थालेपछि मलाई एक्कासी रिस उठी निज पतिले लिएको दाउराले एकपटक निज पतिको टाउकोमा प्रहार गरेको थिएँ, उपचार गर्न भन्दा नमानी जाँड रक्सी खाई बसेका थिए । पछि निज पतिको मामाघरमा गै मृत्यु भएको रहेछ । मैले मार्ने नियतले हिर्काएको होइन, अचानक लागेको हो भन्ने समेत व्यहोराको प्रतिवादी कमला वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६४।१२।१४ गते विहानपख राजु वि.क.मेरो घरमा आई हजुरबुबा खै भनी सोधेको र हेटौंडा जानु भएको कुरा वताएपछि निज राजु वि.क. छटपटाउने बरबराउने मामालाई फोन गर्नुप¥यो भन्ने जस्ता कार्य गरिरहेको थियो । म जंगल जानु छ भनेकाले निजले गुन्द्री बाहिर ल्याई सुतेको थियो । म जंगलबाट आउँदा निजको मृत्यु भै सकेको रहेछ । निजको टाउकोमा केही पुरानो चोट समेत भएकोमा उक्त चोट कसरी लाग्यो भन्दा निजकै श्रीमती कमला वि.क.ले टाउकोमा हिर्काएको भन्ने मृतकको छोराले भनेको सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको कान्छी वि.क.को कागज ।
मिति २०६४।१२।२ गते विहान हेटौंडा बजार गएको थिएँ । छोरा राजु वि.क. ऐ. १ गते राति छिमेकीको घरमा सत्यनारायण पुजामा गएको अवस्थामा बुहारीले अर्को केटासँग गीत गाएको विषयमा मेरो छोराले यसरी म पति हुँदाहुँदै अरुसँग गीत भन्दै नहिड्नु भनेको मा नमानी रिस राखी घरमा आएपछि निज बुहारी कमला वि.क.ले टाउकोमा दाउराले प्रहार गरी गम्भीर घाइते बनाएकी रहिछे । मैले निजको घाउमा घरमा भएको मलम लगाई दिएँ । निज मेरो घरमा नै रहे बसेको र उपचार गर्न पैसा खोज्न हिड्दा निज मावली गाउँमा गएको अवस्थामा मृत्यु भएको हो भन्ने समेत व्यहोराको मृतकको आमा मनरुपा वि.क.को कागज ।
म र पति राजु वि.क.बीच २०६४।१२।२ गते दिउसो १० वजे आपसमा झगडा भई मैले पतिको टाउकोमा दाउराले प्रहार गरी घाइते बनाएको वास्तविकता हो, २०६५।१।७ मा वयान गर्दा वारदात मिति झुक्किएर २०६४।१२।३ गते भनेछु भन्ने समेत व्यहोराको प्रतिवादी कमला वि.क.को मिति २०६५।१।२० गतेको ततिम्बा बयान ।
मिति २०६४।१२।१४गते विहान जि.म., भैसे ७ स्थित ज्ञानबहादुर वि.क.को वाहिरी पिँडीमा जि.म.आमभञ्जाङ्ग बस्ने राजु वि.क.को मृत्यु भएको, निज मृतकको टाउकोमा चोट भै केही पुरानो जस्तो देखिएकोमा निजलाई उक्त चोट के कसरी कहिले लागेको हो भनी बुझ्दा मिति २०६४।१२।२ गते आफ्नै श्रीमती कमला वि.क.सँग आपसमा विवाद भै कमला वि.क.ले दाउराले टाउकोमा प्रहार गरेकीमा उपचार नै नगराई र रक्सी बढी मात्रामा खाई बसेको कारण निजको उपचार हुन नपाई सोही चोट पीडाको कारण मृत्यु भएको हो भन्ने समेत व्यहोराको मैना वि.क. समेतले खुलाई लेखाई दिएको कागज ।
प्रतिवादी कमला वि.क. र मृतक राजु वि.क.का वीच झगडा वादविवाद भनाभन भै मृतकले यी प्रतिवादी कमला वि.क.लाई गाली गर्दै निस्केर जा भनी वाहिर कपडा फाली कुटपीट गर्न खोजेकोले रिस थाम्न नसकी मृतकको हातमा भएको दाउरा खोसी टाउकोमा प्रहार गरी घाउ चोट पुर्याई सोही चोट पीडाको कारण मृतकको मृत्यु भएको देखिएकोले प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई दाउराले टाउकोमा कुटपीट गर्दा सोही कारणबाट मिति २०६४।१२।१४ गते ऐनको म्याद भित्रै मृतकको मृत्यु हुन गएको हुँदा प्रतिवादीले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. र १४ नं. बमोजिमको कसूर अपराध गरेकोले निज प्रतिवादी कमला वि.क. उपर सोही महलको १४ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
मेरो र पति राजु वि.क. बीच २०६४ भदौ महिनामा प्रेम विवाह भएको हो । मेरो पतिको जेठी श्रीमती तर्फबाट १ छोराको जन्म भएको छ । निज पति र म सासू ससुरासँग भिन्न भई बसेको पुस महिनाबाट हो । मिति २०६४।१२।२ गते मेरो श्रीमानले मलाई रु.२००।– मेरो पाईन्टमा थियो, तैले लिईस् भनी मलाई दोष लगाए । मैले होइन भन्दा तैले नै लिएको हो भनी मलाई घरबाट निस्केर जा भनी मेरो लुगाफाटा समेत वाहिर फाली मलाई लौरोले पिटेर लछार पछार पारेको कारण मलाई रिस उठी थाम्न नसकी निज पतिले मलाई पिट्न ल्याएको लठ्ठी खोसी निजकै टाउकोमा हिर्काउँदा टाउकोको बीच भागमा लाग्न गै घाउ भएको थियो । निज पतिले हमेसा रक्सी सेवन गरी रहनु हुन्थ्यो । मैले लठ्ठी खोस्न जाँदा लठ्ठी छाडी दिएको कारण सोही लठ्ठीले मृतक पतिलाई प्रहार गरेको हुँ । त्यसपछि म घरमा नै वसी रहे, मेरो श्रीमान निजको आमा बुबाकहाँ गइ वस्नुभयो । मैले रु.४००।– दिएर उपचार गर्न जानु भन्दा पनि उक्त रकमको पनि रक्सी खानुभयो । २०६४।१२।१३ गते पल्लो गाउँका काकासँग पैसा मागी ल्याउँछु भनी घरबाट निस्की हिडेको र सो दिन फर्की नआएको, पति २०६४।१२।१४ गते रातोमाटे मामा घरमा गई मरेको रहेछ, हामीले लाश जलाई आएको हो भनी भन्न आएपछि मात्र पतिको मृत्यु भएको भन्ने कुरा थाहा भएको हो । पतिको मृत्यु मैले पिटेको चोटबाट नभई धेरै रक्सी सेवन गरेवाट र एकवर्ष अगाडिको जण्डिस रोग वल्झिन गई भएको जस्तो लाग्छ । मैले पिटेको चोटबाट मरेको जस्तो लाग्दैन । मैले पिटेको चोटको कारण श्रीमानको मृत्यु भएको भए मलाई सजाय हुनुपर्छ । अरु नै कारणले मृत्यु भएको भए सजाय हुनुपर्ने होइन । मैले मेरो पतिलाई मार्ने नियतले लठ्ठीले प्रहार गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कमला वि.क. ले शुरु अदालतमा गरेको बयान ।
जाहेरवाला खड्गबहादुर वि.क.,वुझिएका मानिस विष्णुमाया वि.क.,भक्तबहादुर वि.क.,मैना विश्वकर्मा, विष्णु दंगाल, राजकुमार रसाईली, रन्दिप वि.क. र मनरुपा विश्वकर्मा समेतले शुरु अदालतमा गरेको पृथक–पृथक बकपत्र ।
प्रतिवादीको आपराधिक कार्यको सन्दर्भमा लिईएको अभियोग दावी मिलेकै देखिदा प्रतिवादीलाई अभियोग दावीबमोजिम ज्यान सम्बन्धीको १४ नं. ले १० वर्ष कैद हुने ठहर्छ भन्ने मकवानपुर जिल्ला अदालतको मिति २०६५।१२।३१।२ को फैसला ।
मृतक राजु वि.क.नियमित रुपमा रक्सी सेवन गरी हिड्ने व्यक्ति भएको कुरा मिसिलबाट प्रमाणित छ । लामो समयसम्म रक्सी सेवनबाट स्वास्थ्य विग्रिएको अवस्था छ । मलाई मृतकले कुटपीट, गाली गलौज गर्ने र मेरो लगाउने कपडाहरू फाली घरबाट निस्कीजा नत्र मारी दिन्छु भनी धाकधम्की समेत दिई कुटपीट गरेको अवस्थामा मलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय गर्ने गरी गरेको फैसला मिलेको छैन । यो घटना भवितव्य परी घट्न गएको हुँदा प्रतिपादित नजीर समेतका आधारमा शुरु फैसला उल्टी गरी भवितव्यमा सजाय गरिपाऊँ भन्ने प्रतिवादी कमला वि.क. को पुनरावेदन पत्र ।
प्रतिवादीले मृतकलाई मरणासन्न हुने गरी कुटपीट गरेको कुरा मृतकको शव परीक्षण प्रतिवेदनमा उल्लिखित घाउ चोटहरूबाट देखिन्छ । मृतक र प्रतिवादीबीच पूर्व रिसइवी भएको नदेखिएको र दुई जनाबीच झै झगडा भै तत्काल उठेको रिसबाट प्रतिवादीले मृतकलाई दाउराले मिति २०६४।१२।२ मा कुटपीट गरेको कारणबाट मिति २०६४।१२।१४ मा मृत्यु भएको देखिनाले प्रतिवादीले मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १४ नं. को कसूर गरेको देखिन आयो । तसर्थ शुरु मकवानपुर जिल्ला अदालतबाट प्रतिवादीलाई अभियोग दावीबमोजिम ज्यान सम्बन्धीको १४ नं .बमोजिम १०(दश) वर्ष कैद हुने ठहराई मिति २०६५।१२।३१ मा भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।७।१७ को फैसला ।
गाउँको रमेशको घरमा २०६४।१२।१ मा पुजा भएको हुँदा मृतक पति सो पुजामा गै आएका थिए । भोलिपल्ट पनि पतिले रु.२००।– मैले झिकेको भनी निहुँ खोज्नु भएको र म घाँस काटी फर्कदासम्म पनि मलाई गाली गर्र्दै रहेकोमा म आएपछि मेरो कपडाहरू फाली दिएको र मलाई घरबाट निस्कीजा भनी लौराले हिर्काउने लडाउने गरेकोले एक्कासी रिसउठी दाउरा खोसी टाउकोमा हाने, पतिले डल्लाले लखेटे । एक्कासी रिस उठी एकपटक मात्र प्रहार गरेको हो । मैले पिटेको चोट निको भैसकेको थियो । त्यही कारणले मृत्यु भएको होइन । मृतकको बाबुले छोराको रक्सी पिउने आदत थियो भन्ने र छोरा रन्दिप वि.क.ले मार्ने उद्देश्यले हानेको होइन भनेका छन् । मनरुपाले पनि मौका र अदालतमा बयान गर्दा मार्ने मनसाय थिएन भनी बकपत्र गरेकी छिन् । रक्सी सेवन गरी लड्दै घाउ बल्झिन गएको र निज जण्डिसको विरामी समेत हुँदा रोग बल्झी मृत्यु भएको हो । मेरो मनसाय र इवि नभएकोमा भवितव्यबाट चोट लागेको हुँदा १० वर्ष कैद गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी ज्यान सम्बन्धीको ५ नं. अनुसार भवितव्यमा मात्र सजाय गरिपाऊँ भन्ने प्रतिवादी कमला वि.क. को पुनरावदेन पत्र ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको अध्ययन गरी पुनरावेदक प्रतिवादी कमला वि.क.को तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यमुना भट्टराईले प्रतिवादीले जानीबुझी इवि राखी मार्ने उद्देश्यले पति राजु वि.क.लाई लठ्ठीले हानेकी होइनन,घरबाट निस्की भनी कपडा वाहिर फालिरहेको समयमा मेरो पक्ष घर भित्रवाट बाहिर आएकीमा लोग्नेले लठ्ठीले हानेकाले सो लठ्ठी खोसी चेतावनीका लागि शरिरमा हान्दा मृतक घोप्टे पर्दा टाउकोमा लाग्न गएको हो । भवितव्य परी घटना भएको कारण भवितव्यमा सजाय गर्नुपर्नेमा आवेश प्रेरितमा सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी भवितव्यमा मात्र सजाय हुनुपर्छ भनी गर्नु भएको वहस सुनियो ।
निर्णयतर्फ विचार गर्दा प्रतिवादी कमला वि.क.ले राजु वि.क.को पाइण्टवाट रु.२००। झिकेको र पुजामा अन्य व्यक्तिसँग दोहोरी गाएको विवादमा मृतक राजु वि.क. र प्रतिवादी कमला वि.क. (लोग्नेस्वास्नी) वीच विवाद झगडा भै लोग्ने राजु वि.क.ले प्रतिवादीलाई घरबाट निस्कीजा भनी निजको कपडा घर बाहिर फाली दिएकोमा प्रतिवादी भान्साबाट बाहिर निस्कीदा मृतकले दाउराले हान्दा प्रतिवादीलाई निकै रिस उठी आवेशमा आई सोही दाउरा खोसी लोग्ने राजु वि.क.लाई हान्दा टाउकोमा चोट लागी सोही चोटको कारण राजु वि.क.को मृत्यु भएको हुँदा प्रतिवादी कमला वि.क.लाई ज्यान सम्बन्धीको महलको १४ नं. बमोजिम आवेश पे्ररित हत्यामा सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी र मैले ईविलाग र मनसाय राखी हानेको होइन, मेरो कपडा फाली दिई घरबाट निस्किजा भनेकोमा म घरभान्सावाट बाहिर निस्केकीमा पतिले मलाई दाउराले हान्न थालेकोले निकै रिस उठी सो दाउरा खोसी निजलाई हान्दा टाउकोमा लाग्न गएको हो । घाउ निको भैसकेको थियो । सो कारणले नभै जण्डिस र रक्सी पिएको कारण मृत्यु भएको हो भन्ने प्रतिवादीको बयान भएको प्रस्तुत मुद्दामा जिल्ला अदालतले आवेश प्रेरित हत्या गरेको ठहर गरेको फैसला पुनरावेदन अदालतबाट सदर गरेउपर प्रतिवादीले आवेश प्रेरित नभै भवितव्यको वारदात हो भनी पुनरावदेन गर्न आएको देखिन्छ । राजु वि.क.को हत्या आवेशमा भएको हो वा भवितव्यमा भएको हो ? मृतकको मृत्यु प्रतिवादीको चोटको कारणले भएको हो, वा होइन ? भन्ने विषयमा विवेचना गरी पुनरावेदन अदालत हेटौंडाको फैसला मुनासिब वेमुनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।
२. भवितव्यको वारदात हुँदा कर्तव्य गर्ने व्यक्तिले गम्भीर परिणामको सम्भावना देखेको हुँदैन । कुनै मनसाय, इविलाग नभएको र पूर्व परिणामको सम्भावना नरहेको स्थितिमा भए गरेको कार्यबाट नदेखिएको वा नसोचिएको तर कानूनले निषेध गरेको कुनै परिणाम आउँछ भने त्यस स्थितिमा भवितव्यको घटना हुन जान्छ । मुलुकी ऐन ज्यान सम्बन्धीको महलको ५ नं. मा “ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत वारदातमा मृतक र प्रतिवादीबीच पुजाको दिनदेखि नै विवाद उठेको देखिन्छ । मृतकको पाइण्टवाट रकम झिकेको र अन्य केटाहरूसँग दोहरी गाएको सम्बन्धमा विवाद वढदै गै भोलिपल्ट अर्थात २०६४।१२।२ गते दिउँसो १० वजेको हाराहारीमा विवाद उत्कर्समा पुगी झै झगडा र हानाहानसम्म भएको देखिन्छ । प्रतिवादीले एक पटक हान्दा टाउकोमा चोट लागी भवितव्य परेको भनी पुनरावेदन पत्रमा जिकीर लिए पनि निजले मौकामा बयान गर्दा र अदालतमा बयान गर्दा भवितव्य परेको भन्न सकेकी छैनन् । मृतक राजु वि.क र आफूबीच झै झगडा भै निजले आफूलाई दाउराले हानेकोले रिस थाम्न नसकि दाउरा खोसी त्यसैले एकपटक मात्र टाउकोमा हानेको भनेकी छिन् । टाउकोमा चोट लागेपछि लडाईकै क्रममा मृतकले छोरा रन्दिपलाई बोलाएका छन् । छोराले वावुको टाउको निधारमा रगत आएको देखी धारामा लगी धोई पखाली गरेका छन् । टाउको जस्तो संवेदनशील स्थानमा दाउराले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने तथ्य सामान्य समझ भएको व्यक्तिले पनि जान्ने कुरा हो । हाल पुनरावेदन गर्दा शरीरमा हान्दा मृतक निहुरेको कारण टाउकोमा लागेको भनी जिकीर लिएपनि सो तथ्य मिसिल संलग्न कागजात बाट पुष्टि हुन आएको देखिदैन । प्रतिवादीले मृतकको टाउकोमा एक पटकमात्र प्रहार गरेको भनेपनि मृतकको लाश प्रकृति मुचुल्का हेर्दा टाउकोमा एउटा मात्र चोट घाउ नभै टाउको तालुमा एउटा घाउ, तालु भन्दा पछाडि २.१/२ चौडाई, २ इञ्च गहिरो र २ इञ्च लामो पुरानो घाउ र गिदी जस्तो पदार्थ निस्केको देखिएको र दाइने गोडाको नलीखुट्टामा समेत चोट घाउ भएको भन्ने उल्लेख भएको कारण चोट एकपटक मात्र छाडेको नभै पटक–पटक छाडेको भन्ने देखिन्छ । गिदी निस्कनेसम्मको चोट छाडेको अवस्थामा प्रतिवादीले लोग्नेलाई सचेत गर्न सामान्य हानेको हो भन्न मिलेन । तसर्थ प्रतिवादीले मृतकलाई गरेको प्रहार भवितव्यको स्थितिको हो भन्न मिल्ने देखिएन । त्यसकारण शरिरमा हानेको सामान्य चोट पनि मृतक निहुरिएको कारण टाउकोमा लाग्न गै भवितव्य पर्न गएको हो । यस्तो परिस्थितिमा भएको घटना भवितव्य हुनुपर्छ भन्ने प्रतिवादीको कानून व्यसायीको वहस जिकीरसँग इजलास सहमत हुन सकेन ।
३. मृत्युको कारण मेरो प्रहार होइन, चोट निको भै सकेको थियो । अत्यधीक रक्सीसेवन र जण्डिस रोगको कारण मृतकको मृत्यु भएको हो भनी प्रतिवादीले लिएको अर्को जिकीरतर्फ विचार गर्र्दा मृत्युको कारण रक्सी सेवन वा जण्डिस हो वा प्रतिवादीको पिटाई हो भनी हेर्नुपर्ने हुन आएको छ । मृतकको रक्सी सेवन गर्ने वानि भएको तथ्य निजको बाबु, आमा, छोरा स्वास्नी सबैले भनेको हुँदा मृतकको रक्सी सेवन गर्ने आदत भएको र सो दिन पनि निजले रक्सी सेवन गरेको तथ्यमा कुनै विवाद छैन । तर सो रक्सी सेवनको कारणलेनै मृतकको मृत्यु भएको तथ्य कतैबाट पुष्टि भएको देखिँदैन । मृतकलाई जण्डिस थियो, सो कारण पनि मृत्यु हुन सक्छ भनी जिकीर लिएको देखिए पनि सो कुरा प्रतिवादीले उल्लेख गरेदेखि बाहेक अन्य कुनै प्रमाण पेश हुन सकेको छैन । नत जण्डिस रोगको उपचार गरेको कुनै कागजपत्र प्रस्तुत हुन सकेको नै छ । अर्कातर्फ प्रतिवादीले मृतकले घरबाट निस्की भनी कपडा समेत फाली दिएको हुँदा घर बाहिर निस्कदा मृतकले मलाई दाउराले पिट्न थालेको कारण साह्रै रिस उठी लाठी (दाउरा) खोसी त्यसैले एक पटक मृतकको टाउकोमा हिर्र्काएको भनी यी प्रतिवादीले मौका र अदालतमा बयान गरेको देखिन्छ । प्रतिवादीले दाउराले प्रहार गरेको कारण मृतकले छोरा रन्दिपलाई बोलाएका छन् र रन्दिपले धोई पखाली गरेका छन् । वावुआमा लडन लागेको देखेको र वुवालाई धेरै चोट लागेको भनी रन्दिपले बकपत्र गरेको र मलाई तेरी सानी आमाले दाउराले हानी भनी मृतकले छोरा रन्दिपलाई भनेको कारण कमला वि.क.ले नै मृतकलाई गम्भीर प्रहार गरेको पुष्टि हुन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारण नशा सम्बन्धी आघात (Neurological Sock) भनी उल्लेख भएको र मृतकले मृत्यु हुनुपूर्व यी प्रतिवादीलाई नशा फुल्छ म बाँच्दिन भनी आफनो वेदना व्यक्त गरेबाट मृतकको मृत्युको कारण नशासम्बन्धी आघात हो भन्ने पुष्टि हुन आउँछ । यस्तो नशासम्बन्धी आघात प्रतिवादीले मृतकको टाउकोमा प्रहार गरेपछि देखिएको र गिदी समेत वाहिर निस्की वगिरहेको अवस्था हुFदा मृत्युको कारण प्रतिवादीले भने जस्तो रक्सिसेवन र जण्डिस नभै शव परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिम यी प्रतिवादीले टाउकोमा गरेको प्रहारवाट नशामा पर्न गएको आघातले नै हो भन्ने देखिन आयो ।
४. माथि गरिएको विवेचनाबाट मृत्युको सभ्भावित कारण रक्सीसेवन र जण्डिस हो भन्ने तथ्य कतैबाट खुल्न नआएको अवस्थामा शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण Neurological Sock देखाइएको वास्तवितालाई घटनाको तथ्यगत विवरणले समेत पुष्टि गरेको देखिदा मृतकको मृत्यु प्रतिवादीले आवेशमा प्रहार गरेको चोटको कारणले भएको हो भन्ने पुष्टि हुन आएको स्थितिमा औषधि उपचार गरेको भए ठीक हुने थियो । औषधि गरेनन त्यसकारण मृत्यु भयो त्यसको दोष ममाथि राख्न मिल्दैन भन्ने प्रतिवादीले लिएको अर्को जिकीरका सम्बन्धमा विचार गर्दा पीडितले औषधि गरेनन् वा ठुलो अस्पताल र विदेशमागै उपचार गर्नुपर्ने, नगरेको कारण मृत्यु भयो भन्ने आधारमा पीडितलाईनै दोष दिई अभियुक्तलाई छूट दिने हो भने पीडित पक्षलाई अझ बढी अंन्याय हुन जान्छ । आफूले गरेको अपराधमा पीडितले नै औषधि उपचार नगरेको भन्ने आधारमा अभियुक्तले छूट पाउन सक्दैनन् । त्यसैगरी घा खत निको भै हामीसंगै बसेका थियौ । लामो समयपछि मृत्यु भएको छ, मेरो चोटको कारण मृत्यु भएको होइन भन्ने प्रतिवादीको अर्को जिकीरका सम्बन्धमा विचार गर्दा प्रतिवादीले देखाएका अन्य कारणका सम्बन्धमा माथि विवेचना गरी रक्सीसेवन र जण्डिस रोगको कारण मृतकको मृत्यु भएको होइन भन्ने निस्कर्षमा पुगिसकेको र यो कुटपीटको वारदातलाई क्रम भङ्ग गर्ने प्रकृतिको मृतकउपर अर्को घटना घटेको पुष्टि नभएको स्थितिमा, अर्को कारणले मृतकको मृत्यु भएको भन्न मिल्ने देखिँदैन । घा चोटको कारण तत्काल वा केही समय पछि व्यक्तिको मृत्यु हुन सक्छ । मामा घर गएका मृतकले मामालाई खोज्ने, फोन गर्नु पर्यो भन्ने छटपटाउने क्रिया गरेको हजुरआमाको भनाईबाट पनि दिमागको चोटको प्रतिक्रिया वाहिर निस्केको देखिन्छ । कुनै चोटको कारण तत्काल मृत्यु हुने र कुनै अवस्थामा लामो समय पनि लाग्न सक्छ । त्यसैकारण कुनै चोटको कारण कति समय सम्ममा मृत्यु भएमा सोहि चोटको कारण मृत्यु भएको मान्नुपर्ने भनी कानूनले निश्चित समयावधि निर्धारण गरी विवाद समाधानको आाधार तोकेको हुन्छ । मुलुकि ऐन, २०२० को दफा १० नं. मा “…भवितव्य ठहर्ने बाहेक…सन्धि कुठाउँमा हातले हान्दा त्यसै पीरले उठन नसकी थलापरी ७ दिनभित्र मर्यो वा …वा जेसुकै कुरा गर्दा सोही चोट पीरको घाउ डाम पाकी त्यसै पीरले उठ्न नसकी थलापरि २१ दिनभित्र मर्यो भने त्यसैको कर्तव्यले ज्यान मरेको ठहर्छ” भन्ने व्यवस्था गरेको सन्दर्भमा यो वारदात भएपछि मृतकउपर यो वारदात समय र मृत्यु भएको समयको बीचमा अन्य आक्रमण भएको वा कुटपीट भएको नदेखिएको स्थितिमा प्रतिवादीको कुटपीटको निरन्तरता समाप्तभै क्रमभंङ्ग भएको देखिदैन । यी प्रतिवादीको कुटपीटको प्रहारवाट मृतक भौतारिदै हिडि औषधि उपचार गर्ने रकम सापट खोज्न र मद्दतका लागि मामा घर गएको समयमा ऐनको म्यादभित्र अर्थात् वारदात भएको मितिले १३ दिनभित्र नै मृतकको मृत्यु भएको देखिँदा, प्रतिवादीको प्रहारको कारणले नै मृतक राजु वि.क.को मृत्यु भएको देखिन आयो । अतः प्रतिवादीको चोटको कारण कानूनले निर्धारण गरेको समयभित्र नै राजु वि.क.को मृत्यु भएको देखिँदा यति लामो समयपछि मरेको हुँदा मेरो चोटको कारणले मरेको होइन भन्ने पुनरावेदक प्रतिवादीको जिकीर कानूनमा आधारित भएको देखिन आएन ।
५. तसर्थ उपरोक्त उल्लिखित कानूनी व्यवस्था र तथ्यको विश्लेषणबाट लोग्नेले रकम झिकेको आरोप लगाई घरबाट निस्की भनी लत्ता कपडा बाहिर फालिदिई पिटेको कारण आवेशमा आई यी प्रतिवादीले लोग्नेले लिइराखेको दाउरा (लाठी) खोसी सोही दाउराले मृतक पतिको टाउकोमा प्रहार गरेको र सोही प्रहारको कारण मृतकको ऐनका म्यादभित्र मृत्यु भएको देखिदा प्रतिवादी कमला वि.क.लाई अभियोग दावीबमोजिम ज्यान सम्बन्धीको १४ नं. बमोजिम १०(दश) वर्ष कैद गरेको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।७।१७ को फैसला मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको भवितव्य कायम गरिपाऊँ भन्ने पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रणबहादुर बम
इति संवत् २०६७ साल मंसिर ८ गते रोज ४ शुभम्
इजलास अधिकृतः—लीलाराज अधिकारी