निर्णय नं. ८४२४ – लेनदेन
निर्णय नं.८४२४ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर वम माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको दे.पु.नं...
निर्णय नं.८४२४ ने.का.प २०६७ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रणबहादुर वम
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६२ सालको दे.पु.नं ९६९५
संवत् २०६२ सालको दे.पु.नं.७७७४
फैसला मितिः २०६७।४।२४।२
मुद्दाः– लेनदेन ।
पुनरावेदक प्रतिवादी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.३ वस्ने स्व.स्वस्ती खड्काको मु.स.गर्ने र आफ्नो हकमा समेत प्रेमकुमारी खड्का
विरुद्ध
काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं.१४ वस्ने सम्पूर्ण नारायण भारी
काठमाडौँ जिल्ला का.म.न.पा.१४ वस्ने सम्पूर्ण नारायण भारी
विरुद्ध
बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.३ वस्ने स्व.स्वस्ती खड्काको मु.स.र आफ्नो हकमा समेत पे्रमकुमारी खड्का
शुरू फैसला गर्नेः
मा.जि.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री नन्दराज अधिकारी
मा.न्या.श्री गोविन्दकुमार उपाध्याय
§ कपाली तमसुकको लिखत कीर्ते जालसाजी भनी अ.बं.७८ नं. बमोजिम अदालतमा वयान गरेको भए तापनि प्रतिवादीको मृत्यु भइसकेकोले कपाली तमसुकको सहिछापसँग भिडाउन उल्लेख भएको मितिसँग समकालीन कुनै लिखतमा निजको सहिछाप परेको भए सो पेश गर्न आदेश भएकोमा निजले सो समकालीन कुनै लिखत पेश गरी कपाली तमसुकको सहिछाप मृतकको होइन भन्न नसकेसमेतवाट उक्त कपाली तमसुकमा भएको सहिछाप मृतकको होइन भन्न नमिल्ने ।
§ कानूनबमोजिम लिखत गर्न सक्षम व्यक्तिले गरेको कपाली तमसुकउपर करकापमा फिराद नपरेको र करकापवाट लिखत गरेको भन्ने र लिखत कीर्ते जालसाजीबाट खडा गरेको भन्ने जिकीर लिनेले सोको प्रमाण पुर्याउन नसकेको अवस्थामा पेश गरेको कपाली तमसुक रीतपूर्वकको र सद्दे व्यहोराबाट खडा भएको मान्नुपर्ने ।
(प्रकरण नं.२)
§ घरको मूली बाहेक अन्य व्यक्तिले कुनै ऋण लिनुदिनु गरेमा सो कारोवारलाई घर व्यवहार मिलाउन लिएको भन्न सकिने अवस्था नरहने ।
§ मृतकले कपाली तमसुक गरेको समयमा घरको मूली रहेको नदेखिएको र कपाली तमसुकमा सहिछाप गरेको समेत नदेखिएकोले उक्त ऋणको दायित्व निजमाथि पर्ने भन्ने नदेखिने ।
§ मृतकलाई सम्पत्ति प्राप्त हुने भनी कुनै किसिमको किटान नभएको र अपुताली पर्नको लागि मर्नेको स्पष्ट सम्पत्तिको अधिपत्य नभएका मृतकको अपुताली के हुने भन्ने नै स्पष्ट नभएको एवं मृतकको नाउँको यो यस्तो सम्पत्ति अपुताली खाएको भनी दावी लिन र किटान गरी सम्पत्ति देखाउन नसकेको अवस्थामा अपुताली पाउने भन्ने अवस्था नै नरहने ।
(प्रकरण नं.३)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री नरबहादुर थापा
प्रत्यर्थी वादी तर्फबाटःविद्वान अधिवक्ता श्री अर्जुनप्रसाद कणेल
अवलम्वि नजीरः
सम्वद्ध कानूनः
§ मुलुकी ऐन लेनदेन व्यवहारको ८ र ९ नं.
फैसला
न्या.रणबहादुर वमः पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
प्रतिवादीमध्येका स्वस्ती खड्का र प्रेमकुमारी खड्काले काठमाडौँमा रही व्यवसाय र व्यवहार चलाउने क्रममा मसँग २०५७।५।२७ गते रु.११,००,०००।– एघार लाख लिई स्वस्ती खड्काले कपाली तमसुक गरी दिएकोमा भाखाभित्र साँवा व्याज नवुझाएकोले सावा रु.११,००,०००।– लाख र सो को फिराद गर्ने समयसम्मको व्याज रु,१,०५,४७९।– गरी जम्मा रु,१२,०५,४७९।– विगो भरी भराई पाऊँ भन्ने व्यहोराको सम्पूर्ण नारायण भारीको फिराद दावी ।
मिति २०३९।१।१५ गते प्रेमकुमारी खड्का र छोरीहरू काठमाण्डौमा होटेल व्यवसाय गरी मानो वेगल गरी वसेका छन् । स्वस्ती खडकाले वादीसँग के कति रकम लिइन् र कसरी खर्च गरिन् मलाइ थाहा छैन । मसँग मञ्जूरी लिएको र मलाई साक्षी राख्ने काम गरेको छैन । मलाइ थाहा जानकारी नभएकोले सो रकम मैले तिर्न पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ववुर खडकाको प्रतिउत्तर पत्र ।
स्वस्ती खडकाले ऋण लिई तमसुक गरी दिएको मलाइ थाहा छैन । कपाली तमसुक देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भन्ने समेत व्यहोराको प्रतिवादी स्वस्ती खडका मरी निजको मु.स. गरी आफ्नो हकमा समेत प्रतिवादी प्रेमकुमारी खड्काको प्रतिउत्तर पत्र ।
फिरादीले फिराद पत्रमा उल्लेख गरेको कपाली तमसुक निजहरूले कीर्ते जालसाजीपूर्वक लिखत खडा गरी स्वस्ती खड्कालाई जबरजस्ती सहिछाप गराएका हुन भन्नेसमेत प्रतिवादी ववुर खड्काका वारेस प्रेमकुमार अधिकारीले अ.वं. ७८ नं. बमोजिम गरेको बयान ।
कपाली तमसुक जालसाजीपूर्वक तयार पारिएको होइन । प्रतिवादीले रकम लिई सो बापत कपाली तमसुक तयार गरी सहिछाप गरी दिएको हो भन्नेसमेत वादीको वारेस श्रीराम पाण्डेले गरेको बयान ।
वादी सम्पूर्ण नारायण भारीसँग प्रतिवादी स्वस्ति खड्काले मिति २०५७।५।२७ मा रु. ११,००,०००।– लिएको हो । व्यापारिक कारोवारको सिलसिलामा वादीको घरमा जाँदा लेनदेन गरेको देखेको हो । कागजमा कसले सहिछाप ग–यो मलाई थाहा जानकारी भएन भन्नेसमेत व्यहोराको वादीका साक्षी निर्मल कुमार श्रेष्ठले गरेको वकपत्र ।
प्रतिवादी स्वस्ती खड्काको मृत्यु हुनुभन्दा अगाडि लेनदेन भएको मलाइ थाहा भएन । निजको मृत्यु भएपछि मात्र लेनदेन भएको भन्ने थाहा पाएको हुँ । आर्थिक कारोवार गर्ने सम्बन्धमा मलाई थाहा जानकारी भएन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी दीपक श्रेष्ठको वकपत्र ।
कीर्ते जालसाजीपूर्वक लिखत खडागरी जवर्जस्तीपूर्वक सहिछाप गराएका हुन भन्ने प्रतिवादीले जिकीर लिएतापनि वादी दावीको लिखतमा प्रेमकुमारी खड्कालाई जबरजस्तीपूर्वक कागज गराएको भन्ने लेखाएकोमा वादी दावीको लिखतमा प्रेमकुमारीको सहिछाप नै नभएको र जवर्जस्तीपूर्वक सहिछाप गराएकोमा करकापतर्फ उजूर समेत नहुँदा वादी दावीको लिखत रीतपूर्वकको भई हदम्याद भित्रको सद्दे लिखत हुँदा प्रतिवादी स्वस्ती खड्काबाट वादी दावीबमोजिमको साँवा र कानूनबमोजिमको व्याज समेत भरी पाउने ठहर्छ । अन्य प्रतिवादीहरूको हकमा वादी दावी पुग्न सक्दैन । प्रतिवादी स्वस्ती खड्कावाट वादीले सावा व्याज भरी पाउने गरी फैसला भएकोमा निज परलोक भई निजको हक खाने हकदार प्रतिवादी प्रेमकुमारी खड्का देखिदा वादी दावीबमोजिमको प्रतिवादी स्वस्ती खड्काले बुझाउनु पर्ने सावा रु, ११,००,०००।– र कानूनबमोजिमको ब्याज मुलुकी ऐन, दण्डसजायको महलको ३ नं. मा भएको व्यवस्थाको अधीनमा रही प्रतिवादी प्रेमकुमारी खड्कावाट भरिपाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०५९।६।३ को फैसला ।
एकै ऋणी र एकै धनी भई विभिन्न मितिमा भएका पृथक–पृथक लिखत भएको कुरा फिराद पत्रमा उल्लेख हुँदा हुँदै पृथक लिखत हुनु के कारण र के अवस्था पर्यो भनी बिश्लेषण नगरेको र यिनै वादीले दावी लिएका स्वस्ती खड्काका नाममा दर्ता कायम रहेको NIDC Capital market ले लिलाम गर्दा यिनै वादीका बाबु द्धारिका नारायण भारीले स्वीकार गरे पनि विपक्षी असल नियत राखी अदालतमा प्रवेश नगरेको प्रष्ट हुन्छ । छोरी स्वस्ती जीवित हुँदाका अवस्थामा फिराद दर्ता नगरेको आदी रहस्य पूर्ण भएको कुरालाई समेत विचार नगरी अपुताली खानेको सम्पत्तिबाट भराई पाउने ठहराएको शुरुको फैसला मिलेको छैन । वादीले दावी लिएको लिखतलाई अ.वं.७८ नं.को प्रक्रिया पुर्याउनु पर्ने अनिवार्य कानूनी प्रावधान भएकोमा अ.वं.७८ नं.को प्रक्रियालाई पूरा नगरी गरेको शुरुको फैसला मुलुकी ऐन, अ.वं.१८४ (क) नं. प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा काठमाडौँ जिल्ला अदालतको सो फैसला बदर गरी पुनरावेदन जिकीर बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फवाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा विवादित तमसुक लिखत कीर्ते जालसाजीपूर्वक खडा गरेको हो भनी प्रतिवादी तर्फवाट अ.वं.७८ नं.बमोजिम अदालतमा बयान गरेको देखिएको अवस्थामा त्यसतर्फ निरोपण नै नगरी साँवा व्याज भराई पाउने ठहराएको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थीलाई छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६०।८।१२ को आदेश ।
वादी दावीको लिखत सद्दे साँचो व्यहोराकै देखिन आएकोले उक्त लिखतको दायित्ववाट कारणी स्वस्ती खड्काले उन्मुक्ति पाउने अवस्था रहेन । निज स्वस्ती खड्का मिति २०५८।३।४मा फिराद पर्नुभन्दा अगावै मृत्यु भई सकेको र उक्त लिखतमा निजको एका घर सगोलको मुख्य व्यक्ति समेत साक्षी रहेको नदेखिदा प्रतिवादी स्वस्ती खड्काको स्वामित्व दर्ता हक भोगको चल अचल सम्पत्तिवाट मात्र वादी दावीबमोजिमको साँवा व्याज भरिपाउने हुँदा प्रतिवादी प्रेमकुमारीको सम्पतिवाट भरी पाउने ठहर्याएको हदसम्मको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला मिलेको नदेखिदा केही उल्टी भई वादीले कारणी स्वस्ती खड्काको सम्पत्तिबाट मात्र निजको दावीबमोजिमको साँवा व्याज भरी पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, पाटनको मिति २०६१।१०।५ को फैसला ।
विपक्षी सम्पूर्ण नारायण भारीसँग स्वस्ती खड्काले कुनै रकम नलिएको र रकम लिएको भन्ने कुरा समेत परिवारका अन्य सदस्यलाई जानकारी नभएको अवस्थामा लिखत सत्य साँचो नभई कीर्ते जालसाजीवाट खडा भएको भनी बयान गरेको र सो बयान अनुसार अ.बं.७८ नं.बमोजिम म स्वयंलाई अदालतले बुझ्नु पर्नेमा नवुझी अ.बं.७८ नं.को प्रक्रिया पुर्याउनु पर्ने अनिवार्य कानूनी व्यवस्था रहेकोमा सो प्रक्रिया पूरा नगरी गरेको काठमाडौँ जिल्ला अदालत र पुनरावेदन अदालत, पाटनको फैसला बदरभागी छ । प्रतिवादी ववुर खड्कासँग वादीले साँवा व्याज भराई पाउने गरी भएको फैसलाउपर पुनरावेदन नपरेको स्वस्ती खड्का लेनदेन व्यवहारको ८ र ९ नं.मा भएको व्यवस्थाअनुसारको घरको मुख्य मानिस नभएकोवाट लिखत शंकास्पद देखिएको अवस्थामा मुलुकी ऐन, अ.बं.१८४(क) नं. को प्रतिकूल हुने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी प्रतिवादी जिकीरबमोजिम गर्नु पर्नेमा शुरुको फैसला केही उल्टी गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसलाले स्वस्तीले खाएको ऋण म वाट दिलाई भराई दिन नमिल्ने भनी गरेको हदसम्मको फैसला कायमै राखी स्वस्ती खड्काको सम्पत्तिवाट वादीले भराई पाउने ठहर गरेको हदतर्फ बदर गरी पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमकुमारी खड्काको यस अदालतमा परेको पुनरावेदन पत्र ।
स्वस्ती खड्काको आमा विपक्षी प्रेमकुमारी भएको र स्वस्तीले ऋण लिँदा समेत आमा छोरी सगोलमा रही संयुक्त तथा सगोलमा हुँदा मबाट लिएको ऋणले आफ्नो गर्जो व्यवहार टारिसकेपछि लिएको खाएको ऋण विपक्षीले तिर्दिन भन्न पाउने होइन । स्वस्ती खड्काको निधनपश्चात् नै विपक्षी प्रेमकुमारी खड्काले शुरुदेखि प्रस्तुत मुद्दा सकार गरेबाट नै विपक्षी प्रेमकुमारीमा स्वस्तीको अपुताली जाने प्रष्ट छ । अपुताली खानेले ऋण तिर्दिन भन्न पाउदैन । पुनरावेदन अदालतको फैसला लेनदेन व्यवहारको २२ नं. समेतको प्रतिकूल छ । वादी दावीबमोजिमको साँवा व्याज रकम विपक्षी प्रतिवादी प्रेमकुमारी खड्काको सम्पतिवाट वादीले भरी नपाउने हदसम्मको पुनरावेदन अदालत, पाटनवाट मिति २०६१।१०।५ मा भएको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्मको उक्त फैसला उल्ट्याई बदर गरी काठमाडौँ जिल्ला अदालतको फैसला सदर कायम गरी वादी दावीबमोजिमको साँवा व्याज रकम विपक्षी प्रेमकुमारी खड्काबाट भराउने ठहर्याई पाऊँ भन्नेसमेत व्यहोराको वादी सम्पूर्ण नारायण भारीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा यसै लगाउको दे.पु.नं.९६९६ को लेनदेन मुद्दामा आजै यसै इजलासवाट प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दा समेत सोही मुद्दासँग लगाउको हुँदा साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।२।१७ को आदेश ।
यसमा वादी दावीको लिखतमा लागेको कारणी स्वस्ती खड्काको सहिछाप कीर्ते जालसाजी हो भनी अ.बं.७८ नं.को रोहमा बयान भएको देखिएको तर सो सहिछाप निजको अन्य कुनै समकालीन लिखतमा भएको सहिछापसँग भिडाई सद्दे वा कीर्ते हो हाइन ? भनी निष्कर्षमा पुग्नु पर्नेमा सो कारवाही नगरी तल्लो अदालतले फैसला गरेको देखिएकोले निज कारणी स्वस्ती खड्काको निधन भइसकेको मिसिलबाट देखिदा निजको हस्ताक्षर र सहिछाप परेको कुनै अड्डाखानामा रहेको समकालीन लिखत पुनरावेदन प्रतिवादीले दाखिल गर्न सक्छ सक्दैन ? भनी अ.बं.१३३ नं. बमोजिम कागज गराई दाखिल गरे सो समकालीन लिखत दाखिल गराई वादीले पेश गरेको मिति २०५७।५।२७ को सक्कल तमसुकमा परेको निज स्वस्ती खड्काको हस्ताक्षर र ल्याप्चेसँग मिल्छ मिल्दैन ? भिड्छ भिड्दैन भन्ने सम्बन्धमा लिखत जाँच गराउन लाग्ने दस्तूर पुनरावेदन प्रतिवादीबाट लिई रेखा तथा लेखा विशेषज्ञ जाँच गराई प्रतिवेदन प्राप्त भएपछि लगाउको मुद्दा साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।१।२४ को आदेश ।
स्वर्गीय छोरी स्वस्ती खड्का जीवित रहे देखि मेरो सोधपुछ विना आफ्ना तरिकाले आफ्नो व्यवहार गरेकीले र म लेखपढ गर्न समेत नजान्ने मानिसले निजले के काहाँ, कहिले ? तत्कालीन समयमा लिखत गरेकी छन् सो खोजतलास गर्दा फेला नपरेकाले आदेशानुसार समकालीन लिखत हाल दाखिल गर्न सक्दिन । फेला परेपछि दाखिल गर्ने छु । नमूना ल्याप्चे छापको लागि पुनरावेदक प्रेमकुमारी खड्कालाई समेत उपस्थित गराएको छु भन्ने समेत व्यहोराको प्रतिवादीका वारेश मात्रिका थापाले अ.बं.१३३ नं.बमोजिम गरेको कागज ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रेमकुमारी खड्काका तर्फका विद्वान अधिवक्ता श्री नरबहादुर थापाले मृतक स्वस्ती खड्काले के कससँग के कस्तो आर्थिक कारोवार गरेको थियो भन्ने मेरो पक्षलाई थाहा जानकारी भएको थिएन । त्यस्तै स्वस्ती खड्का घरको मूली मानिस पनि नभएकोले निजले गरेको आर्थिक कारोवारको भार घरको सगोलको सम्पत्तिमाथि नपर्ने हुँदा सो कारोवारको सम्पूर्ण जिम्मेवारी उनी आफै हुने भएकोले निजले गरेको कारोवारको दायित्व मेरो पक्षले व्यहोर्नु पर्ने होइन । लेनदेन व्यबहारको ८ र ९ नं.मा व्यवस्था भएबमोजिमको घरको मुख्य व्यक्ति नभएका व्यक्तिको कारोवारको दायित्व एकाघर सगोलको अन्य सम्पत्तिमा सर्ने होइन भनी बहस गर्नुभयो ।
त्यस्तै पुनरावेदक/वादी सम्पूर्ण नारायण भारी तर्फका विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद कणेलले मृतक स्वस्ती खड्का प्रतिवादी प्रेमकुमारी खड्कासँगै एकाघर सगोलमा छदै कारोवार भएको छ । स्वस्ती खड्काको अपुताली खाने नजिकको हकदार आफै भएको कुरा प्रतिवादी प्रेमकुमारी खड्काले स्वस्ती खड्काको मु.स.गरेर स्वीकारी सकेको अवस्थामा निजले सो आर्थिक दायित्व वहन गर्नु पर्ने होइन भन्ने पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुनु पर्छ भनी बहस गर्नुभयो ।
निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू प्रेमकुमारी खड्का र स्वस्ती खड्का दुवै जना मेरो घरमा आई व्यापार सञ्चालन गर्न र घर ब्यवहार सञ्चालन गर्नको लागि भनी मसँग प्रतिवादीहरूले रु,११०००००।– लिई स्वस्ती खड्काले कपाली तमसुक गरिदिएको र रकम फिर्ता दिने समय भएपछि रकम फिर्ता माग्दा आज दिन्छु भोली दिन्छु भनी प्रतिवादी प्रेमकुमारी खड्का समेतले भनी रकम नदिएकोले सो रकम र फिराद गरेको मिति सम्मको ब्याजसमेत दिलाई भराई पाऊँ भन्ने वादी दावी भएकोमा कपाली तमसुकमा सहिछाप गर्र्ने स्वस्ती खड्काको मिति २०५८।३।४ मा निधन भई निजको हकमा समेत प्रतिवादी प्रेमकुमारी खड्का समेतले उक्त दाबीमा इन्कार रही प्रतिउत्तर पेश गरेकोमा वादी दावीबमोजिमको विगो प्रतिवादी प्रेमकुमारी खड्कावाट भराई पाउने ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसला उपर प्रतिवादी प्रेमकुमारी खड्काको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेको र सो अदालतवाट स्वस्ती खड्काको भाग हिस्सामा पर्ने सम्पत्तिबाटमात्र वादीले विगो भराई पाउने ठहर गरेको फैसलामा वादी प्रतिवादी दुवैको चित्त नबुझी यस अदालतमा पुनरावेदन परेको देखियो ।
विद्वान अधिवक्ताहरूको बहस, वादी प्रतिवादीहरूका तर्फवाट परेको पुनरावेदन तथा मिसिल संलग्न कागजातहरूको अध्ययनवाट प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरोपण गर्नुपर्ने देखिनआयो ।
(१) प्रतिवादी स्वस्ती खड्काले मिति २०५७।५।२७ मा सम्पूर्ण नारायण भारीलाई गरिदिएको कपाली तमसुक रीतपूर्वकको छ छैन ? सद्दे कीर्ते के हो?
(२) छोरीको अपुताली खाने आमा प्रेमकुमारी खड्काको सम्पत्तिबाट वादीको दावीको रकम भराई दिन मिल्ने नमिल्ने के हो ?
(३) पुनरावेदन अदालत, पाटनको मिति २०६१।१०।५ को फैसला मिलेको छ छैन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी मृतक स्वस्ती खड्का विवाह नहुदै निजले यी वादी सम्पूर्ण नारायण भारीसँग मिति २०५७।५।२७ गते कपाली तमसुक गरी रु,११,००,०००।–अक्षेरेपी (एघार लाख) नगद लिएको कपाली तमसुकवाट देखिएको छ । उक्त कपाली तमसुक कानूनको रीत पुर्याई तयार भएको देखिन्छ । प्रतिवादी प्रेमकुमारी खड्काले प्रतिउत्तरपत्र दर्ता गर्दा उक्त कपाली तमसुकमा लागेको सहिछाप आफ्नो छोरीको होइन भन्न सकेको छैन । करकापवाट कागज गराएको भनी प्रतिवादीले प्रतिउत्तर पत्रमा जिकीर लिए तापनि सो करकाप गरेको भए को को भई कहिले कसरी करकाप गराएको हो भनी अन्य ब्यहोरा उल्लेख गरेको छैन । त्यस्तै सो कपाली करकापवाट तयार भएको भए प्रतिवादी स्वस्ती खड्काले सो कपाली लिखत बदर गराउनको लागि करकापमा मुद्दा दायर गरेको भन्ने देखिएको छैन । प्रतिवादी प्रेमकुमारी खड्काले करकापवाट तयार भएको कागज भनी उल्लेख गरेतापनि सो कागजमा निजको सहिछाप परेको नदेखिएकोले करकापवाट भएको भन्ने प्रतिवादीको जिकीर पुष्टि हुन सकेको देखिदैन । सो कपाली तमसुकको लिखत कीर्ते जालसाजी भनी प्रतिवादी पक्षले अ.बं.७८ नं. बमोजिम अदालतमा वयान गरेको भए तापनि प्रतिवादी स्वस्ती खड्काको मृत्यु भइसकेकोले कपाली तमसुकको सहिछापसँग भिडाउन उल्लेख भएको मितिसँग समकालीन कुनै लिखतमा निजको सहिछाप परेको भए सो पेश गर्न भनी प्रतिवादी प्रेमकुमारी खड्कालाई आदेश भएकोमा निजले सो समकालीन कुनै लिखत पेश गरी कपाली तमसुकको सहिछाप स्वस्ती खड्काको होइन भन्न नसकेसमेतवाट उक्त कपाली तमसुकमा भएको सहिछाप मृतक स्वस्ती खड्काको होइन भन्न सक्ने अवस्था देखिँदैन । कानूनबमोजिम लिखत गर्न सक्षम व्यक्तिले गरेको कपाली तमसुकउपर करकापमा फिराद नपरेको र करकापवाट लिखत गरेको भन्ने र लिखत कीर्ते जालसाजीबाट खडा गरेको भन्ने जिकीर लिने प्रतिवादी प्रेमकुमारी खड्काले सो को प्रमाण पुर्याउन नसकेको अवस्थामा वादीले पेश गरेको कपाली तमसुक रीतपूर्वकको र सद्दे व्यहोराबाट खडा भएको देखियो ।
३. त्यस्तै दोस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी प्रेमकुमारी खड्का र मृतक स्वस्ती खड्का आमा छोरी नाताको हो भन्ने कुरामा विवाद छैन । स्वस्ती खड्कालाई प्रतिवादी बनाई वादीले फिराद दायर गरेपछि स्वस्ती खड्काको मिति २०५८।३।४ मा मृत्यु भइसकेकोले निजको हकमा प्रतिवादी प्रेमकुमारी खड्काले मुद्दा सकार गरी प्रतिउत्तर पत्र दर्ता गरेको देखिन्छ । जहा सम्म वादीले फिरादमा अपुताली खाने व्यक्तिले मृत्यु भएका व्यक्तिको ऋण धन सवै व्यहोर्नु पर्ने भन्ने जिकीर लिएका छन् त्यस सम्बन्धमा मृतक स्वस्ती खड्का निजकी आमा प्रेमकुमारी खड्कासँगै बसेको भन्नेसम्म देखिएको छ । स्वस्ती खड्का अविवाहित नै रहेको र आफूले लिएको ऋणका सम्बन्धमा गरेको कपाली तमसुकमा एकाघर सगोलका अन्य व्यक्तिहरूलाई साक्षी राखेको देखिदैन । घर व्यवहार चलाउने कार्यमा स्वस्ती खड्का घरको मूली भई काम गरेको भन्ने समेत देखिएको छैन । आमा प्रेमकुमारी खड्का घरमूली भई घर व्यवहार चलाएको भन्ने देखिएको छ । घरको मुली बाहेक अन्य व्यक्तिले कुनै ऋण लिनु दिनु गरेमा सो कारोवारलाई घर व्यवहार मिलाउन लिएको भन्न सकिने अवस्था रहदैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ८ नं.ले घरको मुख्य भई काम काज गर्ने व्यक्तिलाई मुख्य व्यक्ति ठहर्छ भन्ने उल्लेख गरी घरको उमेर पुगेका अरुले गरेका काममा मुख्य जानकारको पनि सहिछाप वा लिखत भएको व्यवहारमात्र गोश्वारा धनवाट चल्छ भन्ने उल्लेख गरेको छ । त्यस्तै ऐ.९ नं.ले घरको मुख्य भई काम गर्ने व्यक्ति वाहेकका विवाह नगरेकी छोरी समेतका अन्यले गरेको व्यवहारमा आफूखुशी गर्न पाउने सम्पत्ति वाहेक अन्य सम्पतिवाट साहुले भराई लिन पाउदैन भन्ने उल्लेख गरेको पाइन्छ । यसवाट मृतक स्वस्ती खड्काले वादीलाई कपाली तमसुक गरेको समयमा घरको मुली रहेको नदेखिएको र प्रतिवादी प्रेमकुमारी खड्काले सो कपाली तमसुकमा सहिछाप गरेको समेत नदेखिएकोले उक्त ऋणको दायित्व निजमाथि पर्ने भन्ने देखिएन । त्यस्तै स्वस्ती खड्काको अपुताली खाने प्रतिवादी प्रेमकुमारी खड्काको सम्पतिवाट वादिले भराई पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको जिकीरको सम्बन्धमा हेर्दा स्वस्ती खड्कालाई यो सम्पत्ति प्राप्त हुने भनी कुनै किसिमको किटान नभएको र अपुताली पर्नको लागि मर्नेको स्पष्ट सम्पत्तिको अधिपत्य नभएका मृतकको अपुताली के हुने भन्ने नै स्पष्ट नभएको एवं स्वस्ती खड्काको नाउँको यो यस्तो सम्पत्ति प्रतिवादी प्रेमकुमारी खड्काले अपुताली खाएको भनी वादीले फिरादपत्रमा दावी लिन र किटान गरी सम्पत्ति देखाउन सकेको नदेखिएको अवस्थामा प्रतिवादी प्रेमकुमारी खड्काले अपुताली पाउने भन्ने अवस्था नै नरहने हुँदा वादी पक्षका विद्वान अधिवक्ताको जिकीरसँग सहमत हुन सकिएन ।
४. तेस्रो प्रश्नतर्फ विचार गर्दा वादीले मृतक स्वस्ती खड्कासँग आर्थिक कारोवार गरेको भन्ने कुरामा विवाद देखिएन । स्वस्ती खड्कालाइ वादीले रकम दिंदा घर व्यवहार चलाउनको लागि घरको मुख्य व्यक्ति भनी नदिएको र स्वस्ती खड्का घरको मुख्य व्यक्ति पनि नभएको र आफ्नो नाममा रहेको सम्पत्ति वाहेकका सगोलको सम्पत्तिमा पूर्ण अधिकार रहेको देखिएको छैन । लेनदेन व्यवहारको ८ र ९ नं. ले घरको मुख्य व्यक्ति वाहेक अरुले गरेको कारोवारमा सगोलको सम्पत्तिवाट दायित्व व्यहोर्नु नपर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था भएको अवस्थामा वादीलाइ स्वस्ती खड्काको स्वामित्वमा आउने सम्पत्तिवाट विगो असूलउपर गरी लिन पाउने तर प्रतिवादी प्रेमकुमारी खड्काको सम्पत्तिवाट भने भरी लिन नपाउने गरी पुनरावेदन अदालत, पाटनवाट मिति २०६१।१०।५ गते भएको फैसला न्यायको रोहमा मिलेकै देखियो ।
५. अतः माथि उल्लिखित आधार प्रमाणहरूवाट वादी दावीको स्वस्ती खड्काले कपाली तमसुक गरी लिएको रु,११,००,०००।– अक्षरेपी (एघार लाख) र कानूनबमोजिम पाउने व्याज समेत प्रतिवादी प्रेमकुमारी खड्का समेतको सम्पत्तिवाट दिलाइ भराइ पाउने गरी काठमाण्डौं जिल्ला अदालतवाट मिति २०५९।६।३ मा भएको फैसलालाई केही उल्टी गरी वादीले स्वस्ती खड्काको हकको सम्पत्तिवाटमात्र विगो भरी पाउने र प्रतिवादी प्रेमकुमारी खड्काको सम्पत्तिवाट विगो भरी लिन नपाउने गरी पुनरावेदन अदालत, पाटनवाट मिति २०६१।१०।५ मा भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् २०६७ साल साउन २४ गते रोज २ शुभम–
इजलास अधिकृतः अम्बिका निरौला