निर्णय नं. ८३५९ – अंश चलन ।
निर्णय नं. ८३५९ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५७– CI–६३०४,...
निर्णय नं. ८३५९ ने.का.प २०६७ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०५७– CI–६३०४, ६५२७
फैसला मितिः २०६६।११।४।३
मुद्दाः अंश चलन ।
पुनरावेदक प्रतिवादीः धवलागिरी अञ्चल, मुस्ताङ जिल्ला, लोमन्थाङ गा.वि.स.वडा नं. १ बस्ने झिग्मी पलवर विष्ट समेत
विरुद्ध
विपक्षी वादीः ऐ.ऐ. घर भई हाल वाग्मती अञ्चल, काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. २ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लावाङ
पुनरावेदक वादीः पुनरावेदक वादीः धवलागिरी अञ्चल, मुस्ताङ जिल्ला, लोमन्थाङ गा.वि.स. वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. २ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लावाङ
विरुद्ध
विपक्षी प्रतिवादीः ऐ.ऐ. घर भई हाल काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. ७ बौद्ध चुच्चेपाटी बस्ने झिग्मी पलवर विष्ट समेत
शुरु फैसला गर्नेः
मा.न्या.श्री बद्रीकुमार बस्नेत
§ कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्र्यौल गर्नु पर्दा अदालत अति संवेदनशील हुनु पर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशवण्डाको ३० नं. प्रयोग गरी वण्डा भइसकेको निष्कर्ष निकाल्न नमिल्ने ।
(प्रकरण नं.४)
§ घर व्यवहारबाट छुट्टिभिन्न भएको स्थापित हुन लिखतबमोजिम वण्डामा परेको सम्पत्ति वण्डा पाउने व्यक्तिहरूका नाउँमा नरम–गरम मिलेको हुनुका अतिरिक्त नामसारी दाखिल खारेज विक्रीव्यवहार भएको हुनुपर्ने ।
(प्रकरण नं.५)
§ आफूबाहेक अरु हकवालाको साम्पत्तिक हकलाई निजहरूको मञ्जूरीविना तिलाञ्जलि दिने अधिकार परिवारको मुख्यलाई पनि हुँदैन । मुख्यले नै सम्पत्ति छाडेपछि निजको हकवालाको पनि हक गएको अर्थ निकाल्न न्यायोचित नहुने ।
(प्रकरण नं.१०)
§ धार्मिकस्थलको विभाजन सो स्थलको समाप्तिको कडी भएकाले यस्ता धार्मिकस्थल वण्डा गर्न नमिल्ने ।
(प्रकरण नं.१२)
§ गुम्बा धार्मिकस्थल भएको कारणले सोको सार्वजनिक रुपमा प्रयोग हुन्छ । धार्मिक आस्थाअनुरूप त्यहाँ जो कोहीले धार्मिक उपासना गर्न पाउने हुन्छ । यस्तो मानवमात्रको आस्थाको केन्द्रको रुपमा रहेको गुम्बालाई विभाजित गरी धर्म र संस्कृतिमा आँच पुर्याउनु न्यायोचित नहुने ।
(प्रकरण नं.१३)
§ निजी नाममा दर्ता सम्पत्तिलाई स्वआर्जन प्रमाणित भएको अवस्थामा बाहेक दरवार भन्ने संज्ञा पाउँदैमा कुनै कानूनले विशेष सम्पत्ति नमानेकाले सम्पत्तिमा हक छाडेको अर्थ नलाग्ने ।
§ ऐतिहासिक भवन भन्दैमा बासस्थानको रुपमा प्रयोग भइआएको सम्पत्ति वण्डा नलाग्ने भन्न नमिल्ने ।
§ नेपाली नागरिकभन्दा छुट्टै विशिष्ट स्थान प्राप्त गरी व्यक्तिगत नाममा दर्ता रहेको पैतृक सम्पत्तिका सम्बन्धमा निजले विशेषाधिकार प्राप्त गर्ने भन्ने कुरा संविधान र कानूनतः नमिल्ने ।
§ दरवारको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक स्वरुप प्रचलित नेपाल कानूनका अधिनमा रही यथावत् कायम गर्ने गरी सम्पत्ति अंशवण्डा हुनुपर्ने ।
(प्रकरण नं.१५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा र शम्भु थापा
पुनरावेदक वादी तर्फवाटः वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, अधिवक्ताहरू श्री मातृका निरौला
अवलम्वित नजीरः
· मुलुकी ऐन अंशबण्डाको ३० नं.
· प्रमाण ऐन, २०३१ को दफा २७(२)
· राज्य रजौटा ऐन, २०१७ को दफा ४ र ६
सम्बद्ध कानूनः
· नेकाप २०४२, नि.नं. २२९५, पृष्ठ २४३
· नेकाप २०६०, नि.नं. ७२०५, पृष्ठ २९५
· नेकाप २०६६, नि.नं. ८२२७, पृष्ठ १२२५
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत वाग्लुङको मिति २०५७।१।१८को फैसलाउपर वादी र प्रतिवादीहरूको तर्फबाट पर्न आएका पुनरावेदनहरू न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतको क्षेत्राधिकारभित्र पर्ने हुँदा मुद्दाको संक्षिप्त टिपोट र ठहर यस प्रकार छ :–
मेरा स्व. ससुरा तत्कालीन मुस्ताङ्गी राजा ओङगल जिम्बा पलवरका तीन भाई छोराहरूमा जेठा तत्कालीन मुस्ताङ्गी राजा आङगुन बाङ्दी न्याङबो पलवर (मेरा श्रीमान), माहिला चाराङ स्याप्टुङ विष्ट औतारी लामा र कान्छा वर्तमान मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट हुनुहुन्छ । म फिरादी जेठा (तत्कालीन राजा) की श्रीमती हुँ । मेरा पति २०१५ सालमा परलोक हुनु भएको, माहिला देवर बौद्ध धर्मअनुसार गृहस्थी जीवन त्याग गरी चाराङ गुम्बा सम्हाली बस्दै आउनु भएको छ । उहाँ अब गृहस्थ जीवनमा आउन सक्नुहुन्न । कान्छा देवर विपक्षी मुस्ताङ्गी राजा जिग्मी पलवर विष्टले बिधवा अवला नारी र मेरा दुई छोरीहरू छिमी डोलकर र कर्साङ लावाङ समेतलाई मुस्ताङ दरवारबाट निकाला गर्नुभयो । तपाई राजा हुनु भएकोले दरबारमा बस्नुहोस । तर, हामीलाई पनि खाने बस्ने व्यवस्था हुने गरी घर जग्गा दिनुहोस् भन्दा तिमीलाई केही दिन्न भनी जो भएको सम्पत्ति मैले मेरी श्रीमती व्हिटुल पलवर विष्ट तथा मेरो धर्मपुत्र झिग्मी सिङगी पलवर विष्टसमेतका नाममा बनाइसको । तिम्रो सम्पत्ति केही छैन भनेकाले वाध्य भै फिराद दायर गर्न आएकी छु । अंशियारहरू मध्ये म जेठाको हक पाउने एक अंशियार हुँ । माहिला गृहस्थ जीवन त्याग गर्नु भएकोले मुलुकी ऐन अंशवण्डाको ९ नं. अनुसार अंश नपाउने, कान्छा मुस्ताङ्गे राजा हुँदा म फिरादी र विपक्षी कान्छा गरी दुई अंशियारा भएकोले मैले पाउने सम्पत्ति विपक्षी व्हिटुल पलवर विष्ट तथा झिग्मी सिङ्गी पलवर विष्ट समेतका नाममा राखेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिको दुई भागको एक भाग अंश छुट्टयाई चलन चलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५२।३।१२।२ को वादीको फिरादपत्र ।
विपक्षी वादीका पति २०१५ सालमा परलोक हुनु भएपश्चात् म झिग्मी पलवर विष्ट र विपक्षीका बीचमा घरसारको वण्डापत्र खडा गराई अंश भाग वण्डा भई म र विपक्षी छुट्टी भिन्न भइसकेका छौँ । सो वण्डापत्रबमोजिम प्राप्त गरेको सम्पत्ति आ–आफूले दर्ता समेत गराई छुट्टाछुट्टै भोग विक्री व्यवहार समेत गरिआएका छौँ । विपक्षीको भागको जग्गाहरू मध्ये कतिपय जग्गा दर्ता गरी हक हस्तान्तरण गरी सक्नु भएको छ भने कतिपय जग्गाहरू विपक्षीको दुई छोरीहरू छिमी डोल्कर र कर्साङ लवाङ्गको नाउँमा दर्ता गराई सक्नुभएको छ । उक्त कुरा विपक्षको ७ नं. फाँटवारी हेरिएमा पनि प्रष्ट हुन्छ । यस स्थितिमा अंशवण्डाको ३० नं. बमोजिम उक्त घरसारको वण्डापत्र कानूनी मान्यता प्राप्त छ । विपक्षीको वास्तविक नाम धिकिल्हा भए तापनि फिरादमा आफ्नो नाउँ डिकी डोल्कर लेखिएको वदनियत छ । विपक्षीका पति कहिल्यै मुस्ताङ्गी राजा हुनु भएन । विपक्षीका माहिलो देवरको नाउँ थुकदेन ग्याचो विष्ट हो । निजले मुडिई विजया होम गर्नु भएको छैन । मिति २०३४।९।२७ पूर्व घरसारमा नरम गरम मिलाई वण्डापत्र गरी वण्डापत्रबमोजिम आफ्नो भाग लिई दाखिल खारेजसमेत गराई सकेको र भोग विक्री व्यवहार गरेमा वण्डा भएको ठहर्छ भन्ने कानूनी सिद्धान्त सर्वोच्च अदालतबाट विभिन्न मितिमा प्रकाशित भएका छन् । तसर्थ विपक्षीको झूठ्ठा फिराद दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको मिति २०५२।०५।२७ को संयुक्त प्रतिउत्तर पत्र ।
यसमा वादी प्रतिवादीहरूले प्रमाणमा उल्लेख गरेका वादी डिकी डोल्कर पलवर र निजका छोरीहरू छिमी डोलकर, केसाङ लवाङ्ग तथा प्रतिवादी मुस्ताङ्गी राजा जिग्मी पलवर विष्ट समेतका नाउँको ७ नं. फाँटवारीहरू मालपोत कार्यालयबाट झिकाउने, प्रतिउत्तरपत्रमा उल्लिखित २०१७।९।१०।७ को घरसारको अंशवण्डा लिखत सक्कलै प्रतिवादीबाट दाखिल गराई अ.वं. ७८ नं. बमोजिम वादीलाई सनाखत गराउने र फिराद प्रतिउत्तरपत्रको पेटवोलीमा उल्लिखित माईला छोरा चराङ स्यान्टुङ लामालाई अ.वं. १३९ नं. बमोजिम बुझ्नु पर्ने हुँदा निजलाई झिकाउनु भन्ने आदेश ।
हामीहरू तीन भाई हौँ । जेठा दाजुको राजा नहुँदै स्वर्गवास भयो । माईलो म चाराङ गुम्बामा पूजा गरी सोही गुम्बाको गुठी जग्गामा बसिआएको छु । कान्छा भाई मुस्ताङ्गी राजा छन् । दाजुको मृत्युपछि प्रस्तुत मुद्दाकी वादी र प्रतिवादी मुस्ताङ्गी राजा समेतका बीचमा पैत्रिक सम्पत्तिलगायत वण्डा गरिएको हो । मैले धर्मकर्म गर्ने सामान र पाठपूजा गर्न चाराङको ढावको खेत पाएको छु । म लामा भएकोले अँश चाहिँदैन । म लामा हुँ जोगी होइन । मेरी जेठी श्रीमती तर्फबाट एक छोरा र कान्छीतर्फबाट एक छोरी छन् मैले जो पाउने पाइसकेको छु । अव पाउनु पर्ने छैन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम वुझिएका चाराङ स्याङटुङ लामा भन्ने थुक्देन ग्याचो विष्टको मिति २०५२।९।१६ मा भएको वयान ।
वादीले अंश लिई छुट्टिएर बसेको हो मिति थाहा भएन । वादी लोमन्थाङमा र प्रतिवादी ठिंगरमा बस्नु भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी कर्म वाङदी गुरुङले मिति २०५३।६।११ मा गरेको वकपत्र ।
२०१७।९।१० गते अंशको कागज मैले लेखेको हुँ । वादी प्रतिवादीबीच अंशवण्डा भै छुट्टिभिन्न भएका हुन् । वण्डापत्रमा वादीको ऋण राजाले तिर्ने र सोबापत जग्गा राजाले लिने गरिएको हो भन्ने समेत व्यहोराको चक्रबहादुर भट्टचनको मिति २०५३।६।११ को वकपत्र ।
वादीले अंश पाउनुपर्छ । अंश दिएको भन्ने झूठ्ठा हो । वादीको नाउँमा घर जग्गा खेत छैन । अंश बेचेको छैन र किनेको पनि छैन । २०१७ सालमा वण्डा भएको छैन भन्ने समते व्यहोराको मिति २०५३।६।११ मा सुर्वणकुमार विष्टले गरेको वकपत्र ।
वादीले अंश पाउनु पर्छ । निजले अहिलेसम्म अंश पाएकी छैनन् । प्रतिवादीले अंश दिएका छैनन् । २०१७ सालमा अंश दिएको होइन । वादीले घर जग्गा पाएको छैन भन्ने समेत व्यहोराको मिति २०५३।६।११ मा पेमा रिन्जिङ विष्टले गरेको वकपत्र ।
यसमा चाराङ स्यान्टुङ लामा भन्ने थुक्देन ग्याचो विष्ट कारणी सरह देखिँदा तारेखमा राख्नु भन्ने २०५२।९।१६ को आदेश ।
वादी डिकी डोलकर पलवर वादीको अंशियार हुन् भन्ने कुरामा कुनै विवाद नदेखिएको, अंश नपाएको अंश पाऊँ भनी डिकी डोल्कर पलवरले फिराद दिएकोमा प्रतिवादीले अंश पाइसकेको र घरसारको कागज समेत गरेको भनी फोटोकपी पेश गरेकोमा उक्त कागजको सक्कल दाखिला गराई अ. वं. ७८ नं. बमोजिमको प्रक्रिया पूरा गर्ने आदेश भएकोमा प्रतिवादीले उक्त सक्कल लिखत हालसम्म फेला नपरेको भनी दाखिला गर्न नसकेको र अन्य दर्ता स्रेस्ता, दाखिल खारेज नामासारीसमेत व्यवहार प्रमाणबाट हालसम्म वादीले अंश पाएको हो भन्ने कुनै यकीन प्रमाण नदेखिँदा वादी प्रतिवादीहरूका बीच फिराद दायर भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादी सवै अंशियाराबाट मुलुकी ऐन अंशवण्डाको महलको २०, २१,२२,२३ नं. बमोजिम आ–आफू जिम्माको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी लिनु भन्ने मिति २०५४।३।२२ को आदेश ।
वादी म डिकी डोल्करका नाममा कुनै पनि चल अचल सम्पत्ति नभएको, कुनै सम्पत्ति दवाए छिपाएको समेत छैन भन्ने तायदाती फाँटवारी । विपक्षीको जिम्मा रहेका चल अचल श्रीसम्पत्तिको थप तायदाती पेश गरेको छु भन्ने वादीको वारेशले हुलाकबाट पठाएको तायदाती फाँटवारी र प्रतिवादीहरूले तायदाती फाँटवारी पेश गरेको देखिन्छ ।
यसमा प्रतिवादीबाट पेश भएका २०५५।३।२१ का आदेशानुसार नेपाली भाषामा अनुवाद भै आएका लिखत कागजमा उल्लेख भएको मराङ दरवारकी रानी महोदय, छयामा ढेकी ढोलकर, छोरी कलसाङ ल्हावाङ तथा ज्वाई कलसाङ र छोरी छिमे डोलाकार भनेका व्यक्तिहरू को को हुन् र के के नाताका हुन् खुलाई प्रतिवादीको अ.वं. १३३ नं. बमोजिम कागज गराई पेश गर्नु भन्ने मिति २०५६।५।६ को आदेश ।
मराङ दरवारको रानी महोदय भनेको विपक्षी बादी डिकी डोल्कर पलवर हो । छयामा ढेकी ढोलकर भनेको पनि विपक्षी नै हुन् । छोरी कलसाङ ल्हावाङ भनेको विपक्षी वादीको कान्छी छोरी हुन् । ज्वाई कलसाङ्ग भनेको निज कान्छी छोरीको श्रीमान प्रचलित नाम केसाङ नमग्याल हो । छिमे डोलाकार भनेको वादीको जेठी छोरी हुन् । निज विपक्षीबाट जग्गा प्राप्त गर्ने व्यक्तिहरू मध्ये मराङ वाङदी राप्केलगायत केही जीवित छन् भन्ने समेत व्यहोराको प्रतिवादीका वारेशले अ. वं. १३३ नं. बमोजिम २०५६।०६।०९ मा गरेको कागज ।
मुस्ताङ जिल्ला अदालतमा दायर रहेको प्रस्तुत मुद्दाको कारवाही किनारा गर्न पुनरावेदन अदालतलाई तोक्न सकिने व्यवस्था पनि भएकोले मुस्ताङ जिल्ला अदालतमा दायर रही आएको वादी डिकी डोलवर पलवर विष्ट प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टसमेत भएको अंश मुद्दा मुस्ताङ जिल्ला अदालतबाट झिकाई आफैले हेरी बाँकी शुरु काम कारवाई गर्नु भनी आदेशको प्रतिलिपि समेत राखी पुनरावेदन अदालत बागलुङलाई लेखी पठाइदिनु भन्ने समेत व्यहोराको सर्वोच्च अदालतको मिति २०५६।७।१२ को आदेशको प्रतिलिपि ।
यसमा सर्वोच्च अदालतको मिति २०५६।७।१२ का आदेशले यस अदालतमा दायर रही आएको वादी डिकी डोलकर पलवर विष्ट, प्रतिवादी मुस्ताङ्गी राजा झिम्मी पलवर विष्ट भएको प्रस्तुत मुद्दा मुस्ताङ जिल्ला अदालतबाट झिकाई पुनरावेदन अदालत बाग्लुङबाट हेरी वाँकी शुरु काम कारवाही गर्नु भनी फोटोकपी आदेशको प्रतिलिपिसहितको प. सं. २०५६।५७ चं. नं. ६९१ मिति २०५६।८।१ को पुनरावेदन अदालत बागलुङको पत्र प्राप्त हुन आएकोले प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी रुजू तारेखमा हाजिर रहेका वादी प्रतिवादीलाई पुनरावेदन अदालत बागलुङको तारेख तोकी बाँकी काम कारवाहीको लागि प्रस्तुत मुद्दाको मिसिल समेत श्री पुनरावेदन अदालत बागलुङमा पठाइदिनू भन्ने २०५६।८।६।२ को मुस्ताङ जिल्ला अदालतको आदेश ।
यसमा वादीकी छोरी दुईमध्ये छिमी डोल्कर विष्ट र केसाङ लवाङ समेत हुन् भन्ने कुरामा विवाद नभएको, २०१७।९।१० को वण्डापत्र भनेको लिखतको फोटोकपीमा वादी र वादीकी छोरीका भागमा परेको घर जग्गा भन्ने उल्लेख भएको र ७ नं. फाँटवारी भर्दा छिमी डोल्कर र कर्साङ लवाङबाट भरिएको भन्ने मालपोत कार्यालयको पत्रबाट प्राप्त ७ नं. फाँटवारीबाट देखिएको र मुस्ताङ मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपिबाट छिमी डोल्कर विष्टको पाना नं. ९३५ को व्यहोरामा यस कार्यालयको मिति २०३८।८।११ को निर्णयअनुसार कि. नं. ५ को क्षेत्रफल ११५–८–०–३ मध्ये हदवन्दी कायम गरी ९६–०–० भै कि. नं. ७८ को १९–८–० निजका छोरा नाङचुङ विष्टका नाममा कायम भै यसमा खारेज भन्ने उल्लेख भएको र प्रमाण संकेतमा जि. जिग्मे परवला विष्ट भन्ने उल्लेख हुँदै कुनै जग्गा करसाङ लवाङ, लावाङ थर्चिन विष्ट समेतका नाममा पाना नं. ७१।२ पाना नं. १३६ र नाङचुङ विष्ट समेतका नाममा कायम भएको र तमसुकका आधारमा विभिन्न व्यक्तिका नाममा विक्री पनि भएको देखिएकाले २०३८।८।११ मा भएको निर्णय र यी छिमी डोल्कर विष्ट समेतका नाममा नापी दर्ता हुँदा के व्यहोराबाट दर्ता प्रमाणित भएको छ निर्णयसहित दर्ताको आधार समेत पठाइदिनु भनी मालपोत कार्यालय मुस्ताङलाई लेखी जवाफ आएपछि र हुकम प्रमाङ्गीबाट जग्गा प्राप्त गरेको भन्ने प्रमाण प्रतिवादी पक्षबाट दाखिल गराई पेश गर्नु भन्ने मिति २०५६।११।२२ को पुनरावेदन अदालत बागलुङको आदेश ।
अंशियाराका सम्बन्धमा हाल जीवित अंशियार तीन जना भएको र वादीले मुस्ताङ्गी राजा एक र आफू एक अंशियारा भएको माहिलो भाई चाराङ स्यान्टुङ लामा बौद्ध लामा भएको हुनाले अंश नपाउने भन्ने फिराद दावी रहेको देखिन्छ । अदालतबाट मुलुकी ऐन, अ.वं. १३९ नं. बमोजिम बुझ्दा चराङ स्यान्टुङले वादी भाउजूले पनि अंश पाइसकेको र आफूले पनि केही जग्गा र पूजाको सामान पाइसकेकोले अंशमा दावी गर्दिन भन्ने वयान गरे तापनि निजका स्वास्नी छोरा छोरी रहेको देखिन्छ । बाबुले अंशमा दावी छोडे पनि स्वास्नी र छोराछोरी सम्बन्धमा यस मिसिलबाट बोल्न नमिल्ने हुँदा उनीहरूको दावी परेको खण्डमा मात्र अदालतले बोल्ने भएकोले हाल चाराङ स्याटुङ लामा भन्ने थुक्देन ग्याचो विष्ट बाहेक वादी र मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट मात्र दुई अंशियारा कायम हुने देखियो । वादी र झिग्मी पलवर विष्टका बीचमा कानूनबमोजिमको वण्डापत्र र व्यवहार प्रमाणबाट वण्डा भएको नदेखिएको अवस्था देखिँदा प्रतिवादीबाट वादीले दुई खण्डको एक खण्ड अंश पाउने देखियो । प्रतिवादी मुस्ताङ्गी राजाको २०५४।११।२५ को तायदातीमा उल्लेख भएको लोमान्थाङ्ग गा.वि.स. वडा नं. १(घ) कि.नं. ३ को जग्गामा बनेको मुस्ताङ दरवार र सोही गा.वि.स.को कि.नं १८ मा बनेको घरका सम्बन्धमा वादी स्वयंले फिरादमा दरवारमा तिमी राजा भएकोले बस बाँकी हामीलाई खान बस्न देऊ भनेकोले दरवार र त्यसले चर्चेको घर जग्गा ऐतिहासिक महत्वको भएकोले वण्डा गर्न उचित नहुने । काठमाडौँ महानगरपालिका वडा नं. ७ कि.नं.. ७ को जग्गा र त्यसमा बनेको घर वकसपत्रबाट शर्त वन्देजसहित मुस्ताङ्गी राजाले प्राप्त गरेको देखिँदा सो पनि वण्डा गर्न मिलेन । त्यस्तै प्रतिवादीमध्येकै झिग्मी सिङगी पलवर विष्टले दिएको तायदातीमा चाराङ गा.वि.स. वडा नं. १ (ख) कि. नं. ५९१ को जग्गामा बनेको गुम्बा घर धार्मिकस्थल भएको राज्य रजौटा ऐन, २०१७ को दफा ६ को कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा वण्डा नलाग्ने देखियो । अतः माथि उल्लिखित वाहेक अरुमा तायदातीमा उल्लेख भएका घर जग्गामध्येबाट दुई खण्डको एक खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत बागलुङको मिति २०५७।१।१८ को शुरु फैसला ।
विपक्षीका छोरीहरू छिमी डोलकर र कर्साङ लावाङले भूमिसुधार लागू भएपछि २०२४ सालमा ७ नं. फाँटवारीहरू भरी दाखेल गरेका छन् । उक्त सम्पत्तिहरू विपक्षीको अंश भागका पैतृक सम्पत्तिहरू हुन् । विपक्षीकी कान्छी छोरीले लोप्साङ्ग विष्ट भन्ने व्यक्तिलाई २०३९।५।१८।६ मा वारेसनामा दिँदा यो वारेसनामा मेरो नाउँमा रहेको आमा धिकिल्हाको जग्गा भनी उल्लेख भएको छ । यो तथ्य हामीले हालै थाहा पाएका हौँ, प्रमाण लगाई पाऊँ । ७ नं. फाँटवारीमा उल्लिखित जग्गाहरू विपक्षीका छोरीहरूको नाउँमा नाप जाँच भयो । कि. नं. ५ ज. रो. ११५–८–०–३ मध्ये १९–८–०३ छिमी डोलकरको छोरा नाङचुङ्ग विष्टका नाउँमा कायम भएको देखिन्छ । यस्ता दर्तावालाहरूलाई बुझी चल अचल सम्पत्तिको स्रोत खुलाउन लगाई पाऊँ । पुनरावेदन अदालत बागलुङबाट दर्ता प्रमाणित मगाउने आदेश भएकोमा सो जवाफ प्राप्त नहुँदै फैसला भएको छ । मिति २०१७।९।१० को वण्डापत्र हेरिएमा विपक्षी र विपक्षीका दुई छोरीहरूको भाग भनी उल्लेख भएको छ विपक्षीका ज्वाइहरूको नेपालमा कुनै पैतृक सम्पत्ति नभएको अवस्थामा विपक्षीका छोरीहरूको पतिको सम्पत्ति भन्ने प्रश्न पनि उठ्दैन । मुख्यतः ती जग्गाधनी दर्ता स्रेस्ताहरूमा उल्लिखित अचल सम्पत्तिहरूको दर्ताको स्रोत यकीन गरिएमा वास्तविक तथ्य खुल्ने प्रष्ट छ । २०१७।९।१० को वण्डापत्र विन्तिपत्र चढाउँदा राजदरवारमा चढाएकोले राजदरवारबाट फोटोकपी झिकाई पाऊँ । अ. वं. १३९ नं. बमोजिम वुझी तारेखमा रहेका थुक्देन ग्याचोले तायदाती पेश गर्नु भएको छैन । यस स्थितिमा अंशवण्डाको २०,२१,२२ नं. बमोजिमको कार्यविधि नअपनाई फैसला भएको छ । निज थुक्देन ग्याचोलाई अंशियाराबाट बाहेक गर्न मिल्दैन । निजले अंशमा दावा नगर्दैमा निजको परिवार अंशविहीन हुनुपर्ने होइन । पुनरावेदन अदालतबाट भएको फैसलामा“बाबुले अंशमा दावी छोडे पनि” भन्ने वाक्यांश कानूनविपरीत छ । निजले वास्तवमा अंश पाएको छ, छैन भन्ने तर्फ फैसला मौन छ । विपक्षीले आफ्नो अंश प्राप्त गरी भोग, विक्री, व्यवहार समेत गरेको भन्ने तथ्य पुष्टयाई गर्न हामीहरूले तिवेटन भाषामा लेखिएको २८ थान लिखतहरू आदेशानुसार नेपालीमा अनुवाद भई मिसिल संलग्न भएकोमा त्यसलाई वेवास्ता गरिएको छ । यसमा माथि लेखिएअनुसार पुनरावेदन अदालत बागलुङबाट भएको २०५७।१।१८ को फैसला कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त पुनरावेदन पत्र ।
मुस्ताङ दरवार अर्को कि. नं. १८ को जग्गा र त्यसले चर्चेको घर गोठ ऐतिहासिक महत्वको भएकोले सो वण्डा नगर्ने निर्णय त्रुटिपूर्ण छ । सो सम्पत्ति साविक देखिकै मेरा ससुरा, पति तथा विपक्षी देवरलगायतको सगोल परिवारले भोगचलन गरेको सम्पत्ति म अंशियारले वण्डा नपाउने भन्न मिल्दैन । ऐतिहासिक महत्वको मान्दैमा अंशियारले अंश पाउँदैन भन्न कानूनतः मिल्ने देखिदैन । मुस्ताङ्गी राजपरिवारका सवै सदस्य सामान्य नागरिक भएकाले प्रचलित कानूनले विशेष अधिकार दिएको छैन । एक अंशियाराको नाम दर्ताका सम्पत्ति अर्को अंशियारले नपाउने भन्न मिल्दैन । कि. नं. १८ मा बनेको घर जग्गाबाट समेत मैले अंश नपाउने कुनै कारण छैन । मैले उक्त कि. नं.समेतका घर जग्गा विपक्षीले पाउने गरी आफ्नो दावी छोडेको छैन । मेरो व्यहोरालाई गलत अर्थ गरी फैसला गरेको र स्वयं विपक्षी प्रतिवादीले घर जग्गा ऐतिहासिक महत्वको हुँदा वण्डा लाग्दैन भन्न सकेको छैन । चराङ गा.वि.स. वडा नं. १ (ख) कि. नं. ५९१ को जग्गा र त्यसमा बनेको गुम्बा घरलाई धार्मिकस्थल भएको भन्ने आधार समेत त्रुटिपूर्ण छ । त्यस्तो घरबाट अंशियारले अंश नपाउने हो भने सार्वजनिक वा सरकारी स्वामित्वको देखिनु पर्दथ्यो । राज्य रजौटा ऐन, २०१७ को दफा ६ को आधारमा मैले अंश नपाउने भनिएको छ । मुस्ताङ्गी राजा सो ऐनले व्यवस्था गरेबमोजिम उपाधि पाएका राजा होइनन् । तसर्थ फैसला त्रु्टिपूर्ण छ । काठमाडौँ जिल्ला का. म. न. पा. वडा नं. ७ कि. नं. ७ को जग्गा विपक्षीले वकस पाएको भए पनि त्यो घर म समेतले अंश पाउने सम्पत्ति लागी बनेको हुँदा सोबाट मैले अंश नपाउने भन्न मिल्दैन । तसर्थ मैले अंश पाउने गरी भएको हदसम्म सदर गरी अंश नपाउने गरी भएको हदसम्म फैसला बदर गरी वादी दावीबमोजिम अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादीले विपक्षी वादीले पटक–पटक श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र चढाउनु हुँदा २०१७।९।१० को वण्डापत्रको फोटोकपी पेश गर्नु भएको छ । उक्त विन्तिपत्रसहितको वण्डाको फोटोकपी राजदरवारबाट झिकाई प्रमाण लगाई पाऊँ भनी पुनरावेदनमा जिकीर लिनु भएकोले उक्त विन्तिपत्र राजदरवारको कुन विभागमा चढाएको हो अ.वं. १३३ नं. बमोजिम प्रतिवादीको कागज गरी खुलाई विन्तिपत्र र सो विन्तिपत्र साथ संलग्न रहेको वण्डापत्रको छायाप्रति मगाउनु भन्ने यस अदालतको मिति २०६१।४।२७ को आदेश ।
विन्तिपत्रसहितको मिति २०१७।९।१० को वण्डापत्रको फोटोकपी राजदरवारको प्रमुख सचिवालय राजदरवार प्रमुख सचिव मि. सु. श्री पशुपतिभक्त महर्जनको विभागमा छ भन्ने समेत व्यहोराको प्रतिवादीको वारेशले मिति २०६१।६।७ मा गरेको कागज ।
यसमा वादीले आफ्नो अंश भागको जग्गा आफ्ना छोरीहरूको नाउँमा राखी दाखेल खारेज गराई विक्री व्यवहार गरेकोले अंश दिनु पर्दैन भनी प्रतिउत्तरमा जिकीर लिएको देखिँदा र वादीको छोरी छिमी डोलकर र कर्साङ लवाङ्ग र निजको छोरा लवाङ्ग थिचिङ्ग तथा नाङ्गचुङ्गको नाउँमा जग्गाहरू दाखेल खारेज भएको भन्ने कुरा मालपोत कार्यालयबाट झिकाई आएको स्रेस्ता प्रमाणबाट देखियो । वादी प्रतिवादीको पेटवोलीबाट वुझिनु पर्ने प्रमाणको मानिस अ. वं. १३९ नं. बमोजिम बुझी यकीन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले छिमी डोलकर र कर्साङ लवाङ्गको ठेगाना वादी प्रतिवादीबाट अ. वं. १३३ नं. अनुसार कागज गराई खोल्न लगाई निज छिमी डोल्कर र कर्साङ लवाङ्गलाई अ. वं. १३९ नं. अनुसार झिकाई निजहरूको नाउँमा दर्ता हुन आएको जग्गा के कसरी, कुन व्यहोराले कहाँबाट कहिले प्राप्त हुन आएको हो । निजहरूबाट खुलाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।०६।०५ को आदेश ।
यस अदालतको मिति २०६२।०६।०५ को आदेशानुसार अ.वं. १३९ नं. बमोजिम बुझिने भनिएका छिमी डोल्करको नाउँमा जारी सूचना निजको घर दैलामा टाँस भएको र कर्साङ लवाङ्गको नाउँमा जारी म्याद निजले घर वेच विखन गरी अन्यत्र गएको भन्ने व्यहोरा उल्लेख भै तामेल भएको देखियो । कर्साङ लवाङको हकमा दे.पु.नं. ६५२७ को डिकी डोल्करको मुद्दा सकार गरी रोहवरमा रहेको देखिँदा निजको सूचना निजको वारेसलाई अ.वं. ११० नं. को देहाय ६ बमोजिम तामेल गर्ने र छिमी डोल्करको हकमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४(च) को प्रक्रिया पूरा गरी दुवै पक्षको पुनरावेदन परेको अवस्था हुँदा दुवैलाई एक अर्काको पुनरावेदन परेको व्यहोराको जनाउ दिनु भन्ने यस अदालतको मिति २०६४।३।२७ को आदेश ।
पुनरावेदक वादीको छोरी कर्साङ लवाङ्ग २/३ वर्ष पहिलै पूरै परिवार आफू बसोवास गरी रहेको ठाउँ बेचविखन गरी संयुक्त राज्य अमेरिकामा बसोबास गरी आएकी छिन् । मलाई साविकमा वारिस मुकरर गरेकाले मैले अदालतमा समेत निजलाई उपस्थित गराउन नसकी मुद्दा पुर्पक्ष गरिरहेको छु । वादीले कहिल्यै अंश लिएकी छैनन् । वादीका छोरीहरूका नाउँमा रहेको सम्पूर्ण सम्पत्ति छोरीहरूकै पारिवारिक आर्जनको सम्पत्ति हो । त्यस्तो सम्पत्ति कुन कुन मितिमा के कसरी कुन व्यहोराले प्राप्त भयो कारणीसँग सम्पर्क नहुँदा खुलाउन सक्दिन भनी अ.वं. १३९ नं. बमोजिम कर्साद्दस्ङ्ग लवाङ्गको वारेस टंकहरि दाहालले मिति २०६४।०६।१४ मा गरेको वयान ।
मुद्दाको विषयवस्तु र प्रकृति हेर्दा मेलमिलाप हुन उपयुक्त देखिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५ (घ) अनुसार सर्वोच्च अदालत, मेलमिलाप केन्द्रमा पठाउने मिति २०६६।०२।२६ को यस अदालतको आदेश ।
अ.वं. १३९ नं. बमोजिम बुझिएको कर्साङ लवाङ्गको वारेसले सम्पत्तिको पूरा विवरण सम्बन्धित कारणीसँग सम्पर्क नभएको हुँदा खुलाउन सक्दिन भनी असमर्थतता व्यक्त गरेको पाइयो । के कारणले सम्पर्क हुन नसकेको हो सम्पर्क हुन नसक्ने कारण के हो ? कारणीसँग सम्पर्क गरी पूर्व आदेशानुसार खुलाउन लगाउनु भन्ने यस अदालतको मिति २०६६।०९।१९ को आदेश ।
पक्ष कर्साङ लवाङ्गसँग विगत लामो समयदेखि मेरो तथा मेरो कानून व्यवसायीको भेटघाट हुन सकेको छैन । निज संयुक्त राज्य अमेरिकामा बसोबास गरी रहनु भएको छ । पक्षले हालसम्म मसँग सम्पर्क गर्नु नभएको र उहाँको ठेगानामा पत्राचार गर्दा कुनै जवाफ नआएकोले सम्मानीत अदालतको आदेशानुसारको व्यहोरा खुलाउन नसकेको हो भन्ने कर्साङ लवाङ्गको वारेस टंकहरि दाहालले मिति २०६६।०९।२७ गते गरेको कागज ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको शुरु एवं रेकर्ड मिसिल अध्ययन गरियो । पुनरावेदक वादी एवं प्रतिवादीहरूका तर्फबाट निम्न कानून व्यवसायीहरूले मुख्यरुपमा निम्नानुसार बहस प्रस्तुत गर्नुभयोः–
पुनरावेदक/वादीका तर्फबाट वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले शुरु पुनरावेदन अदालत बागलुङको फैसलाले अंशवण्डा हुने ठहराएको सम्पत्तिको हकमा नभै वण्डा नहुने ठहराएको सम्पत्तिका सम्बन्धमा मात्र वादीको पुनरावेदन जिकीर रहेको छ । वण्डा नहुने ठहराएको कि.नं.१८ मा रहेको मुस्ताङ दरवार पुरातात्विक हो भन्ने कहिँ कतैबाट खुल्दैन । मुस्ताङ दरवारको नाउँमा जग्गाधनी प्रमाणपूर्जा बनेको अवस्था पनि छैन । २०१७ सालको राज्य रजौटा उन्मूलन ऐनले पूर्व राजाहरूको विशेषाधिकार र उन्मुक्ति कटौती गरी सकेकाले केवल सम्मानका लागि मात्र प्रतिवादीलाई राजाको उपाधि दिइएको हो । मुस्ताङ दरवारको हकमा वादीले फिराद पत्रमा दावी त्याग गरेकी छैनन् । राजा दरवारमा बस्नेसम्म उल्लेख गरेको देखिन्छ ।
२०१७ सालमा भयो भनिएको वण्डापत्रको सक्कल मागिएकोमा प्रतिवादीबाट पेश हुन सकेको छैन । सो कागज लेख्ने भनेका लेखक साक्षी चक्रबहादुर भट्टचनले अंशवण्डा मैले नगरेकोले सम्पत्ति कसले कति पाए थाहा छैन भनी अदालतमा बकपत्र गर्दा लेखाएका छन् । वण्डा नलाग्ने भनिएको काठमाडौंको कि.नं. ७ को जग्गा तत्कालीन श्री ५ को सरकारले रकम प्रदान गरी किनेको र घर बनाउने काम पैतृक सम्पत्तिबाट गरिएकोबाट वादीले अंश पाउने हुन्छ । तसर्थ वादीलाई वण्डा नलाग्ने सम्पत्तिको हदसम्मको शुरु फैसला बदर गरी वादीको पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भनी बहस गर्नुभयो । त्यसैगरी अधिवक्ता श्री मातृका निरौलालस्ले प्रतिवादीहरूको जिकीर २०१७ सालमा घरसारमा वण्डापत्र भै वादीले अंश बुझिसकेको भन्ने रहे तापनि अंश पाइसकेको भन्ने कुनै कागज प्रमाण पेश गरी सो प्रमाणित गर्न सकेका देखिँदैन । अंशवण्डाको ३० नं. को प्रयोजनका लागि वादी प्रतिवादी सम्पत्तिको भोग विक्री व्यवहारबाट अंश छुट्टिई सकेको भन्ने देखिनु पर्छ । तर, यहाँ सो देखिएको अवस्था छैन । छोरीहरूका नाउँमा सम्पत्ति रहेकै कारणबाट वादीलाई अंशजस्तो नैसर्गिक हकबाट वञ्चित गर्न कानूनतः मिल्दैन । कि.नं. ५९१ गुम्बा ऐतिहासिक विशिष्ट महत्वको नरहेको र कि.नं. १८ को मुस्ताङ दरवार र काठमाडौको कि.नं. ७ समेतको घरजग्गा वण्डा नगर्ने गरी भएको पुनरावेदन अदालत बाग्लुङको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी वादीले वण्डा पाउने गरी फैसला होस् भनी बहस गर्नुभयो ।
प्रतिवादीहरूका तर्फबाट अधिवक्ता श्री लोकभक्त राणाले वादी र प्रतिवादीहरू बीच २०१७ सालमा घरसारमा वण्डापत्र भै सोबमोजिम वादीले आफ्नो हकको सम्पत्ति दर्ता गरी हक हस्तान्तरण समेत गर्नु भएको छ । जग्गाको छुट्टाछुट्टै फाँटवारी भरिएको अवस्था छ । वादीको नाउँमा हदवन्दीभन्दा बढी सम्पत्ति रहेकोमा बढी सम्पत्ति नातिहरूका नाउँमा राखेको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. बमोजिम वादी प्रतिवादीका बीच भएको वण्डापत्र, सम्पत्तिको भोग विक्री व्यवहारबाट प्रमाणित भएको छ । वादीका छोरीहरूका नाउँमा रहेको सम्पत्तिको स्रोत खुलाउन यस अदालतबाट आदेश हुँदा खुलाउन नसकेबाट उक्त सम्पत्ति पैतृक रहेको भन्ने अझ प्रष्ट हुन्छ । वण्डापत्रअनुसार ७ नं. फाँटवारी पनि छुट्टाछुट्टै भरिएको छ । वादीका छोरीका नाउँमा कतिपय जग्गाहरू विक्री गरिसकेको देखिन्छ । यसर्थ अंशवण्डा पाइसकेकी वादीलाई अंश दिने ठहराएको पुनरावेदन अदालत बागलुङको फैसला सो हदसम्म बदर गरी प्रतिउत्तर एवं पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भनी बहस गर्नुभयो । त्यसैगरी अधिवक्ता श्री शम्भु थापाले वादीले अंशबाट प्राप्त सम्पत्ति आफ्नो नाउँमा नराखी छोरीहरूका नाउँमा राख्नु भएको छ । वादीका छोरीहरूले आफ्नो नाउँमा रहेको सम्पत्तिको हकको स्रोत अदालतबाट सोध्दा देखाउन नसकेकोले प्रमाण ऐन, २०३१ को दफा ७ अनुसार निजका विरुद्धमा प्रमाण लाग्दछ । अंशवण्डाको ३० नं. को मूल तात्पर्य पैतृक सम्पत्तिको दर्ता भोग फुट्नु पर्ने र स्वामित्व अर्को व्यक्तिमा सर्नु हो । यहाँ वादीको अंशभागको सम्पत्ति निजका छोरीहरूमा हक सारेको अवस्था छ । केही सम्पत्ति तिब्बती भाषाका लिखतबाट विक्री गरेको पनि देखिन्छ । यसर्थ वादीले अंश पाइसकेको देखिँदा देखिदैँ पुनः दुई भागको एक खण्ड अंश पाउने ठहराई शुरु पुनरावेदन अदालत बागलुङबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भनी बहस गर्नुभयो ।
वादी र प्रतिवादीहरू तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उल्लिखित बहस समेत सुनी प्रस्तुत मुद्दामा शुरु पुनरावेदन अदालत बागलुङले गरेको फैसला मिले नमिलेको के छ भनी प्रस्तुत विवादमा निष्कर्षमा पुग्न देहायका प्रश्नहरूको विश्लेषण आवश्यक छः–
(१) अंशवण्डाको ३० नं. ले यहाँ वादी प्रतिवादीहरू बीच अंशवण्डा भइसकेको मान्न मिल्दछ वा मिल्दैन ?
(२) अंशवण्डा भएको मान्न सकिन्न भने तीन वा दुई कति अंशियार कायम हुन्छ ?
(३) अंशवण्डा भएको नठहरेको स्थितिमा निम्न सम्पत्ति वण्डा हुने हुन् वा होइनन् ?
(क) मुस्ताङ चराङ गुम्बा र सोसँग सम्वद्ध सम्पत्ति,
(ख) काठमाडौँ बौद्धको घर जग्गा,
(ग) मुस्ताङ लोमन्थाङ दरवार र सोसँग सम्वद्ध सम्पत्ति ।
२. उपरोक्त प्रश्नहरूमा केन्द्रित रही निर्णयतर्फ विचार गर्दा, वादीले अंश नपाएको भन्ने र प्रतिवादीले मिति २०१७।९।१०।७ मा वादीसँग घरसारको वण्डापत्र गरी सम्पत्तिको आ–आफ्नो दर्ता स्रेस्ता गराई छुट्टाछुट्टै भोग विक्री व्यवहार समेत गरेको भन्ने प्रतिउत्तर जिकीर रहेको छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. को परिप्रेक्ष्यमा व्यवहार प्रमाणबाट वादी प्रतिवादीबीच वण्डा भइसकेको हो वा होइन भन्ने यस मुद्दाको पहिलो र प्रारम्भिक निर्णायक प्रश्न रहेको पाइयो । मुलुकी ऐन अंशवण्डाको महलमा मिति २०३४।९।२७ मा भएको सातौँ संशोधनले संशोधनअघिको हकमा व्यवहार प्रमाणद्वारा वण्डा भएको देखिए सोलाई पनि स्वीकार गर्ने मान्यता स्थापित ग¥यो । सो मान्यताको लामो अभ्यास हामी र हाम्रो अदालतले गरिआएको छौँ । यस संशोधित कानून अंशवण्डाको ३० नं. का सन्दर्भमा भएका सबै किसिमका प्रतिनिधि व्याख्याहरूलाई समेटी यस अदालतले ने.का.प २०६६ नि.नं. ८२२७ पृष्ठ १५२५ मा आफ्नो अवधारणा व्यक्त गरेको छ । यस निर्णयमा भनिएको छ– “व्यवहार प्रमाणको निक्र्यौल गर्न सम्पत्ति विभाजनमा नरम गरम मिलेको, आ–आफ्नो भाग लिई दाखिल खारेज गरेको, आ–आफ्नो भागको सम्पत्ति भोग विक्री व्यवहार गरेको जस्ता तत्वलाई मापदण्ड मानियो” ।
सोही निर्णयमा अगाडि भनिएको छ, “वास्तवमा अंशवण्डाको ३० नं. को प्रयोग र प्रयोजनका लागि विवादको स्वरुप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारण तत्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट वण्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्वहरूको परिधिमात्र तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबूद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नु पर्ने हुन्छ” । सोही निर्णयको अर्को खण्डले भनेको छ, “व्यवहार प्रमाण एवं आचरणबाट वण्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोवार, अलग–अलग वासस्थान र समयको अस्वाभाविक अन्तराल आदि हुन् । यी तत्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशवण्डाको ३० नं. को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्वलाई प्रमाणले अंगीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशवण्डा भइसकेको कुरामा विश्वस्थ हुन अदालत सक्षम हुन पुग्दछ” ।
३. उल्लिखित अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था र सोको व्याख्यालाई केन्द्रविन्दूमा राखी प्रस्तुत विवादलाई अध्ययन गर्दा व्यवहार प्रमाणबाट अंशवण्डा भई सकेको भनी प्रथमतः मिति २०१७।९।१० को घरसारको वण्डापत्रको लिखतको फोटोकपी प्रतिवादी पक्षबाट पेश भएको छ । वादीले यो पेश भएको वण्डापत्रको फोटोकपी र यसको व्यहोरालाई अस्वीकार गरेबाट सर्वप्रथम २०१७ सालको लिखतको प्रमाणिकता सम्बन्धमा निरोपण गरिनुपर्ने हुन जान्छ । अदालतबाट आदेश हुँदा प्रतिवादीले वण्डा भएको स्थापति गर्न औँल्याएको उक्त लिखतको सक्कल पटकपटक आदेश हुँदा समेत पेश हुन सकेको छैन । फोटोकपीको आधारमा मात्र सो लिखतलाई सनाखत गराउन मिल्ने देखिँदैन । सो लिखत कार्यान्वयन भएको देखिने भरपर्दा आधार समेत प्रतिवादीबाट पेश हुन सकेका छैनन् । तिब्बती भाषामा लेखिएका लिखतको नेपाली भाषामा गराइएका अनुवादको अध्ययन गर्दा पनि २०१७ सालमा वादी प्रतिवादीहरू नरम गरम मिलाई सम्पत्ति विभाजन गरी आ–आफ्नो नाममा दाखिल खारेज गराई व्यवहार गरेको अर्थ गर्न सकिने ठाउँ छैन ।
४. कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्यौल गर्नु पर्दा अदालत अति संवेदनशील हुनु पर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशवण्डाको ३० नं. प्रयोग गरी वण्डा भइसकेको निष्कर्ष निकाल्न मिल्दैन । वादीको नाममा कुनै जग्गा दर्ता छैन । निजका छोरीसमेतको नाममा जग्गा दर्ता हुनुले नै यस ३० नं. को प्रयोजन पूरा भएको मान्नु न्यायसंगत हुँदैन । नरम गरम मिल्नु वा मिलेको देखिनु अंशवण्डा को ३० नं. को पहिलो शर्त हो । यस कानूनद्वारा निर्धारण गरिएका मापदण्ड व्यवहारबाट पुष्टि हुनुपर्ने हुन्छ । घर व्यवहारबाट छुट्टिभिन्न भएको स्थापित हुन लिखतबमोजिम वण्डामा परेको सम्पत्ति वण्डा पाउने व्यक्तिहरूका नाउँमा नरम गरम मिलेको हुनुका अतिरिक्त नामसारी दाखिल खारेज विक्री व्यवहार भएको हुनुपर्नेमा दर्ता दाखिल खारेज विक्री व्यवहार भएको स्थिति देखिँदैन् । घरसारको अंशवण्डाबाट वादीले प्राप्त गरेका भनिएका सम्पत्ति सोही माध्यमले दर्ता दाखिल खारेज गरे भएको प्रमाणित स्रेस्ता प्रतिवादीहरूले देखाउन सकेको अवस्था छैन ।
५. वादीले अंशमा प्राप्त गरेका भनिएका जग्गाहरू स्वंय वादीका नाउँमा दर्ता नभै निजका छोरीहरू छिमी डोलकर तथा कर्साङका नाउँमा दर्ता स्रेस्ता कायम भै निजहरूले विक्री व्यवहार गरेकोले अंशवण्डाको ३० नं. प्रयोजनार्थ व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भन्ने प्रतिउत्तर जिकीर देखिन्छ । कूल सम्पत्तिको अनुपातमा नरम गरम मिलेको स्थिति नदेखिनुका अतिरिक्त वादी प्रतिवादीको पैतृक सम्पत्तिसँग सो सम्पत्तिको सम्बन्ध स्थापित हुन सकेको छैन् । वादीले अंशवण्डाबाटै प्राप्त जग्गाहरू निज छोरीहरूका नाउँमा दर्ता रहेका भन्ने प्रतिवादी कथनको प्रमाण ऐन, २०३१ को दफा २७(२) ले जिकीर लिने पक्षमा नै सो पृष्टि गर्नुपर्ने प्रमाणको भार रहन्छ । वादीको नाउँबाट कुनै प्रकारले हकहस्तान्तरण भै गएका जग्गाहरू नै निजका छोरीहरू र नातिका नाउँमा रहेका जग्गा हुन भनी मिसिल कागजबाट पुष्टि हुन आउँदैन । वादीका नाउँमा कुनै जग्गा दर्ता नभएको र ७ नं. फाँटवारी समेत नभरिएको भनी मिति २०५२।०८।१३ गतेको मालपोत कार्यालय मुस्ताङको पत्रबाट देखिँदा वादीको नाउँमा सम्पत्ति नरहेको भन्ने प्रष्ट देखिन्छ ।
६. वादी प्रतिवादीबीच रीतपूर्वकको अंशवण्डाको लिखत नभएको एवं आपसी विक्री व्यवहार समेत नभएको अवस्थामा केवल भूमिसम्बन्धी ऐन, २०२१ को प्रयोजनका लागि १ नं. र ७ नं. अनुसूची फारम भरेकै आधारमा अंशवण्डाको ३० नं. बमोजिमको व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भनी अंश जस्तो नैसर्गिक हकलाई संकुचित पार्न न्यायोचित हुँदैन । यस सन्दर्भमा ने.का.प. २०६० नि.नं. ७२०५ पृष्ठ २९२ मा मा सिद्धान्त प्रतिपादन भएको छ । सो सिद्धान्त यस विवादमा आकर्षित हुने नै देखिन्छ ।
७. उपरोक्तानुसार घरसारको २०१७ सालको सक्कल पेश नभएको घरायसी लिखतको प्रामाणिक महत्व नरहेको तथा मिसिल संलग्न १ नं. र ७ नं. फाँटवारी पुष्टिकारक प्रमाणको अभावमा अंशवण्डा भएका आधारभूत प्रमाण हुन नसक्दा अंश जस्तो नैसर्गिक अधिकारबाट वादीलाई वञ्चित गर्नु न्यायसँगत देखिन आउँदैन । यसर्थ वादी र प्रतिवादीबीच अंशवण्डा भएको नदेखिँदा वादीले अंश पाउने देखिन्छ ।
८. वादी प्रतिवादीहरू कति अंशियारा रहेछन् र वादीले कति भाग अंश पाउने हो भन्ने सम्बन्धमा हेर्दा हाल जीवित मूल अंशियार तीन जना भएको भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पाइयो । वादीले मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टलाई प्रतिवादीमध्येका एक अंशियार र आफू एक अंशियार कायम गरी माइलो भाई चाराङ स्याण्टुङलाई लामा भएको हुनाले अंश नपाउने भन्ने फिराद मागदावी लिनु भएको छ । अ.वं. १३९ नं. बमोजिम बुझ्दा चाराङ गुम्वामा बस्ने निज चाराङ स्याण्टुङ आफूले केही जग्गा र पूजाको सामान पाइसकेकोले अंशमा दावी गर्दिन भन्ने किसिमको वयान गरेको देखियो । निजको सोही वयानबाट निजको छोराछोरी र दुई श्रीमतीहरू देखिएका छन् । बाबु/लोग्नेले अंशमा दावी छोडे पनि छोरा छोरी स्वास्नीका सम्बन्धमा यस मिसिलबाट बोल्न नमिल्ने भएकाले उनीहरूको दावी परेका खण्डमा मात्र अदालतले बोल्ने कुरा भएकोले हाल चाराङ स्याण्टुङ लामा भन्ने थुक्देन ग्याचो विष्टबाहेक वादी र मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टमात्र दुई अंशियार कायम हुने प्रतिवादीबाट वादीले दुई खण्डको एक खण्ड अंश पाउने ठहर शुरु पुनरावेदन अदालत बागलुङले गरेको देखियो ।
९. वादीका माहिलो देवर चाराङ स्याण्टुङ भन्ने थुक्देन ग्याचोका स्वास्नी र छोराछोरी समेत रहेको निजको वयानबाट देखिन्छ । यो तथ्यलाई वादीले खण्डन गर्न सकेको पाइएन । मुद्दाका पक्षको पनि न्याय सम्पादनमा निश्चित कर्तव्य हुन्छ । फिराद र प्रतिउत्तर परे पछि अ.वं. १३९ बमोजिम बुझिदा प्रकट भई मिसिलमा प्रवेश पाएको तथ्यबाट प्रतिकूल असर पर्ने वादीले तत्कालै निवेदन दिएर खण्डन गर्न सक्नु हुन्थ्यो । यसो हुन नसकेको अवस्थामा समेत यस अदालतमा पुनरावेदन दिँदा सो तथ्य झूठो भएको कुरा राख्न सक्नु हुन्थ्यो । यस्तो केही हुन सकेको छैन । विवाद नभएको तथ्यका पछाडि लागी खोजीनीति गरी अदालतले आफ्नो समय वर्वाद गर्दैन । तसर्थ माहिलो थुक्देन ग्याचोका दुई श्रीमतीहरू र एक छोरा एक छोरी रहेको मान्नु बाहेक अर्को विकल्प छैन ।
१०. सम्पत्तिमा त्यसका सबै हकवालाको अन्तर्भूत अधिकार रहन्छ । लोग्नेको सम्पत्तिमा अन्यथा प्रमाणित भएमा बाहेक स्वास्नीको तथा बाबु आमाको सम्पत्तिमा निजको छोरा छोरी समेतका हकवालाको अन्तर्भूत अधिकार रहन्छ । लामा बनेका थुक्देन ग्याचोले आफूलाई अंश चाहिन्न भनेको अभिव्यक्ति केवल निजका हकमा सम्म आकर्षित हुनसक्ने अवस्था रहन्छ । आफूबाहेक अरु हकवालाको साम्पत्तिक हकलाई निजहरूको मञ्जूरीविना तिलाञ्जलि दिने अधिकार परिवारको मुख्यलाई पनि हुँदैन । मुख्यले नै सम्पत्ति छाडेपछि निजको हकवालाको पनि हक गएको अर्थ निकाल्न न्यायोचित हुँदैन । तसर्थ वादीका माहिला देवरको कथनले त्यो वंश वृक्ष नै अंशको हकबाट वञ्चित भएको अर्थ गरी केवल दुई अंशियार कायम गर्नु वा भविष्यमा मुद्दा परेमा विचार गरिनेछ भन्नु न्यायसंगत हुँदैन । अंश मुद्दाका फिरादीको हक नै तीन खण्डको एक खण्डमा सीमित रहेको अवस्थामा सोभन्दा बढी दावी गर्ने हकदैया नै निजमा रहेको मान्न मिल्दैन ।
११. यसमा अतिरिक्त मुलुकी ऐन अंशवण्डाको ९ नं. मा मुडिई विजया होम गर्नेले अंशमा दावा गर्न पाउँदैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । थुक्देन ग्याचो विष्ट मुडिई विजया होम गरेको व्यक्ति नभै लामा बनेको भन्ने तथ्य निर्विवाद रुपमा स्थापित भएको छ । भिक्षु हुनुलाई मुडिई विजया होम गरेको नमानिने भनी ने.का.प. २०४२, नि.नं. २२९५ पृष्ठ २४३ मा यस अदालतबाट सिद्धान्त कायम भइसकेको छ । सो परिप्रेक्ष्यमा स्वास्नीहरू तथा छोरा छोरी समेत रहेका थुक्देनले अंश चाहिन्न भन्ने वित्तिकै त्यो हाँगोमा कोही नरहे सरह सो हाँगो नै अंशहकबाट वञ्चित हुने र वादीको हैसियत वृद्धि भई हकभन्दा बढी सम्पत्ति पाउने हुन सक्दैन । अतः उल्लिखित आधारबाट वादीको माहिलो देवरको हाँगोलाई समेत एक अंशियार कायम गर्नुपर्नेमा नगरेका शुरु फैसला सो हदमा नमिल्ने देखिन्छ । प्रस्तुत मुद्दामा जम्मा तीन अंशियार कायम हुने भै तीन भागको एक भाग अंशको हिस्सा वादीले पाउने देखिन आउँछ ।
१२. अब तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्ति वण्डा लाग्ने हो वा कुन कुन सम्पत्ति वण्डा नलाग्ने हो भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीमध्येका झिग्मी सिङगी पलवर विष्टले दिएको तायदातीमा उल्लेख भएको मुस्ताङ जिल्ला चराङ, १(ख) कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा घर धार्मिकस्थल भएकोले राज्य रजौटा ऐन, २०१७ को दफा ६ मा, “यो ऐनबमोजिम समाप्त भएका कुनै राज्यका आयस्ता उठती वा अन्य आम्दानीबाट राजा रजौटाले वा राजा रजौटाका सहमतिले अरु कसैले कुनै देवालय शिवालय स्थापना गरी वा नगरी पूजा आजा वा गुठी कार्य चलाई आएकोमा दफा ४ बमोजिम जीवनभत्ता पाउने राजाले सोही रकमबाट खर्च गरी साविकबमोजिम चलाउनु भएमा चलाउनु वा चलाउन लाउन पाउने छ । चलाउने ईच्छा नभएमा त्यसको सूचना निज राजाले श्री ५ को सरकारलाई अगावै दिनुपर्छ र श्री ५ को सरकारले राज गुठीबाट जो चाहिने खर्च गरी साविकबमोजिम चलाउन लाउने छ,” भन्ने कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा मन्दिर मठ र यस्तै प्रकारका धार्मिक स्थलहरू समाप्त गर्न मिल्दैन । धार्मिकस्थलको विभाजन सो स्थलको समाप्तिको कडी हो । यस्ता धार्मिकस्थल विक्री वण्डा गर्न नमिल्ने भएकोले वण्डा नलाग्ने भनी पुनरावेदन अदालत बाग्लुङले वण्डा नलाग्ने सम्पत्तिको प्रकृतिमा राखेको देखिन्छ ।
१३. सो कि.नं. ५९१ जग्गा नापी हुँदाकै अवस्थामा गुम्बा जनिई नापी भएको देखिन्छ । व्यक्तिगत सम्पत्तिको रुपमा प्रयोग हुने भए निश्चितरुपमा सो सम्पत्ति व्यक्तिको नाउँमा दर्ता रहने थियो । स्वाभाविक रुपमा गुम्बा धार्मिकस्थल भएको कारणले सोको सार्वजनिक रुपमा प्रयोग हुन्छ । धार्मिक आस्थाअनुरूप त्यहाँ जो कोहीले धार्मिक उपासना गर्न पाउने हुन्छ । यस्तो मानवमात्रको आस्थाको केन्द्रको रुपमा रहेको गुम्बालाई विभाजित गरी धर्म र संस्कृतिमा आँच पुर्याउनु न्यायोचित हुँदैन । कि.नं. ५९१ मा गुम्बा रहेको विषय वादी प्रतिवादीबीच विवादरहित रहेकोले सो धार्मिक उपसनास्थललाई वादी समेतले धार्मिक प्रयोजनमा सो गुम्बाका नीति नियमअन्तर्गत रही प्रयोग गर्नसक्ने नै हुँदा सोलाई वण्डा गर्नु कानूनी दृष्टिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक आधारबाट समेत उचित हुँदैन । सार्वजनिक प्रकृतिको धार्मिकस्थललाई वण्डा नलाग्ने गरी भएको पुनरावेदन अदालतको फैसलामा त्रुटि देखिन आएन ।
१४. काठमाडौँ महानगरपालिका–७ को कि.नं. ७ को घर जग्गासमेत वण्डा हुनैपर्ने वादी पुनरावेदिकाको जिकीर सम्बन्धमा हेर्दा उक्त जग्गा मिति २०३१।१२।०८ मा डेरामा बस्ने मुस्ताङ्गी राजाले तत्कालीन श्री ५ महाराजाधिराजमा विन्तिपत्र दिई हुकुम प्रमाङ्गीबमोजिम श्री ५ को सरकार, गृह मन्त्रालयबाट रकम भुक्तानी गरी जीवनकालमा अरुलाई बेच्न नपाउने शर्त बन्देजसहित प्रतिवादीलाई किनिदिएको देखियो । उक्त जग्गा पैतृक सम्पत्ति नरहेको तथ्य विवादरहित छ । मुस्ताङ्गी राजाको हैसियत राख्ने प्रतिवादीलाई तत्कालीन श्री ५ को सरकारबाट राज्यकै कोष प्रयोग गरी किनिदिएको जग्गा निजका अन्य अंशियारहरूलाई वण्डा लाग्ने स्थितिको देखिन आएन । यस प्रकृतिको कि.नं. ७ को जग्गामा बनेको घरमा पैतृक सम्पत्तिको लगानी भयो भन्ने आधार वादीले देखाउन सकेको छैन । कुन पैतृक सम्पत्ति बेचिएर वा लगानी गरेर त्यस किसिमको जग्गामा घर बन्यो भन्ने कुरा प्रमाणित गर्ने दायित्व वादीको हो । सो तत्कालीन सरकारले मुस्ताङ्गी राजालाई किनिदिएको जग्गामा बनेको घरमा आफ्नो समेत लगानी वा योगदान छ भन्ने कुरा वादीले सबूद प्रमाण गुजारी पुष्टि गर्न नसकेको अवस्थामा उक्त घरजग्गा वण्डा नलाग्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिन आयो ।
१५. लोमन्थाङ – १ कि.नं. ३ को जग्गा र सोमा बनेको दरवार र सोही गा.वि.स. को कि.नं. १८ मा बनेको घरका सम्बन्धमा वादी स्वयंले आफ्नो फिरादमा दरवारमा तिमी राजा भएकोले बस बाँकीबाट हामीलाई पनि बस्न खान व्यवस्था गरिदेऊ भन्दा नमानेकाले अंशमा फिराद गर्न आएकी छु भन्ने फिराद दावी भएकाले मुस्ताङ दरवार र त्यसले चर्चेको घर जग्गा ऐतिहासिक महत्वको भएकोले जो राजा हुन्छ उही बस्ने गरेको भन्ने फिरादीले स्वीकार गरी सकेकोले मुस्ताङ दरवार र त्यसले चर्चेको घर गोठ वण्डा गर्न उचित नहुने भन्ने पुनरावेदन अदालत बागलुङको निष्कर्ष छ । यस सन्दर्भमा हेर्दा कि.नं.३ र १८ मा रहेका मुस्ताङ दरवार एवं घरहरू पैतृक सम्पत्ति रहेको तथ्यमा विवाद छैन । मूल कुरा नापी हुँदा फिल्डबुकमा विशुद्ध रुपमा झिग्मी परवल विष्टका नाममा ती दर्ता भएका मिसिल संलग्न फिल्डबुक र जग्गाधनी प्रमाण पूर्जाका प्रतिलिपिबाट देखिन्छ । कुनै व्यक्ति विशेषका नाममा दर्ता भएको सम्पत्तिलाई निजी प्रकृतिको सम्पत्ति मान्नुपर्ने हुन्छ । निजी नाममा दर्ता सम्पत्तिलाई स्वआर्जन प्रमाणित भएको अवस्थामा बाहेक दरवार भन्ने संज्ञा पाउँदैमा कुनै कानूनले विशेष सम्पत्ति मानेको छैन । फिराद दावी र त्यसमा उल्लिखित कथनले सम्पत्तिमा हक छाडेको अर्थ लाग्दैन । ऐतिहासिक भवन भन्दैमा बासस्थानको रुपमा प्रयोग भइआएको सम्पत्ति वण्डा नलाग्ने भन्न मिल्दैन । भवनको ऐतिहासिकता जोगाउन प्रचलित नेपाल कानूनले समुचित व्यवस्था गरेकै छन् । यस सन्दर्भमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को परिपालन हुने कुरामा शंका गर्न आवश्यक छैन । यस्तो परिस्थितिमा आफ्ना पुर्खा मुस्ताङ्गी राजा भएको तथा वादीका पति तत्कालीन राजाको २०१५ सालमा देहान्त भएको, माहिला छोरा लामा भएकोले कान्छा भए पनि राजा भएका भन्ने फिराद कथनको खण्डन नपाइँदा यस परिस्थितिमा राजा भएका प्रतिवादी झिग्मी पलवर विष्टले अन्य नेपाली नागरिकभन्दा छुट्टै विशिष्ट स्थान प्राप्त गरी व्यक्तिगत नाममा दर्ता रहेको पैतृक सम्पत्तिका सम्बन्धमा निजले विशेषाधिकार प्राप्त गर्ने भन्ने कुरा संविधान र कानूनतः मिल्ने देखिन आउँदैन । अतः कि.नं. ३ र १८ को सम्पत्ति सगोलको सम्पत्ति हुँदा वादी प्रतिवादीबीच वण्डा लाग्नेमा सो वण्डा नलाग्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन । तर, मिसिल संलग्न प्रमाणबाट मुस्ताङ दरवार ऐतिहासिक महत्वको देखिएको छ । यस कुरामा वादी प्रतिवादी दुवै पक्षको सहमति छ । त्यसैले यस्तो ऐतिहासिक सांस्कृतिक धरोहरहरूको संरक्षण आवश्यक हुन्छ । दरवारको संरक्षणबाट दुवै पक्षको हित प्रवर्धन हुने देखिन्छ । दरवारको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक स्वरुप प्रचलित नेपाल कानूनका अधीनमा रही यथावत् कायम गर्ने गरी उक्त सम्पत्ति अंशवण्डा हुनुपर्ने देखियो ।
१६. अतः माथि विवेच्य आधार प्रमाणहरूबाट वादी प्रतिवादीहरू बीच यस पूर्व वण्डा भएको नदेखिएको र शुरु पुनरावेदन अदालत बागलुङले वादीको माहिलो देवर बाहेक दुई अंशियार मात्र कायम गरेकोमा सो नमिली तीन अंशियार रहेकाले वादी प्रतिवादीहरू जम्मा तीन अंशियार कायम हुने ठहर्छ । तसर्थ वादीले तीन भागको एक भाग अंश पाउने ठहर्छ । मुस्ताङको कि.नं. ३ र १८ को मुस्ताङ दरवार वण्डा नगरेको हकमा उपरोक्तानुसार पुनरावेदन अदालतको निर्णय नमिलेकोले उक्त दरवारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक स्वरुपलाई कानूनअनुरूप संरक्षित रुपमा राख्नु पर्ने गरी तीन भागको एक भाग वादीले अंश पाउने ठहर्छ । मुस्ताङ चराङ १(ख) को कि.नं. ५९१ को गुम्बा समेतको सम्पत्ति र काठमाडौँ महानगरपालिका ७ को कि.नं. ७ को घर जग्गा वण्डा नगर्ने र उल्लिखितबाहेकको अन्य सबै सम्पत्ति वण्डा गर्ने ठहराएको हदसम्म पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सो फैसला केही उल्टी हुने ठहर्छ । वादीले अंश पाइसकेकोले अंश दिनु नपर्ने भन्ने प्रतिवादीको र सम्पूर्ण सम्पत्ति वण्डा लाग्ने भन्ने वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ (निर्णय) खण्डमा लेखिएबमोजिम शुरु फैसला केही उल्टी भै तीन अंशियार कायम हुने ठहरेकाले मुस्ताङ जिल्ला चराङ गा.वि.स. वडा नं. १ (ख) कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा र काठमाडौँ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ को कि.नं. ७ को घर जग्गाबाहेक अन्य प्रतिवादीहरूबाट पेश गरिएको फाँटवारीमा उल्लिखित सम्पत्तिबाट तीन भागको एक भाग सम्पत्ति छुट्टयाई पाऊँ भनी वादीको कानूनको म्यादभित्र दरखास्त परे लाग्ने दस्तूर लिई वण्डा छुट्टयाई दिनू भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाउनू ………………………… १
वादीले दावी गरेको सम्पूर्ण सम्पत्तिको आधा अंश नपाउने भई तायदाती फाँटवारीमा उल्लिखित विगोअनुसार रु. ३,४५,६९० को तीन भागको एक भाग अर्थात रु.१,१५,२३०।– विगोको सम्पत्ति पाउने हुँदा निजले शुरु फिराद दर्ता गर्दा रु.१००।– तथा तायदातीअनुसार रु.६,९५४ गरी जम्मा रु. ७,०५४ कोर्टफी राखेको देखिँदा अंश पाउने ठहरेको विगोको कोर्टफी रु.३,२७४ प्रतिवादीहरूबाट भरी पाउनेमा प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा मिति २०५७।४।३० मा रसीद नं. ४२९७९ बाट रु.२,५२०।९७ धरौटी राखेको देखिँदा सोही धरौटीबाट वादीको कानूनबमोजिमको दरखास्त परे केही दस्तूर नलिई र बाँकी ७५३।०३ प्रतिवादीहरूबाट भराई पाऊँ भनी वादीको दरखास्त परे कानूनबमोजिम कुनै दस्तूर नलिई भराई दिनू भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाउनू ………………………………………. २
अंश पाउने ठहरेका थुक्देन ग्याचो विष्टका श्रीमती तथा सन्तान समेतका हकवालाको वण्डा छुट्याई पाऊँ भने दरखास्त परे लाग्ने कोर्टफी समेतको दस्तूर लिई वण्डा छुट्याई दिनु भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाउनू ………………………. ३
दायरीको लगत कट्टागरी मिसिल नियमानुसार बुझाई दिनू ………………………………………… ४
उक्त रायमा मेरो सहमति छ ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६६ साल फागुन ४ गते रोज ३ शुभम
इजलास अधिकृत : गायत्रीप्रसाद रेग्मी