April 20, 2010
Created by nepalarchives

निर्णय नं. ८३५७ – ठगी ।

निर्णय नं. ८३५७ ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६४ सालको...

निर्णय नं. ८३५७ ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रणबहादुर बम

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६४ सालको फौ.पु.नं.३२७, ०४५१

फैसला मितिः २०६७।१।७।३

 

मुद्दा :ठगी 

 

पुनरावेदक प्रतिवादीः सोलुखुम्बू जिल्ला सल्यान गा.बि.स.वडा नं.८ बस्ने बीरेन्द्र निरौला

विरुद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

पुनरावेदक वादीः नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः सोलुखुम्बू जिल्ला सल्यान गा.बि.स.वडा नं.८ बस्ने बीरेन्द्र निरौला

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री शम्भुबहादुर कार्की

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री कृष्णप्रसाद बस्याल

मा.न्या. श्री जनार्दनबहादुर खड्का

 

§  वैदेशिक रोजगारमा पठाउन इजाजत पत्र नपाएको व्यक्तिले गफलतमा पारी आफूलाई फाइदा र अरुलाई नोक्सान पार्ने कार्य गरेको कसूर ठगीको महलको २ नं. ले परिभाषित गरेको कसूरभित्र नै पर्ने देखिएको र सरकारवादी भै चलाएको मुद्दालाई वैदेशिक रोजगार ऐनअन्तर्गत नचलाएको भन्ने कारणले मात्र कानूनविपरीतको अभियोग पत्र दायर गरेको भन्न नमिल्ने 

§  अभियोग पत्र दायर गर्दा ठगीको महलको १ नं. को कसूर स्थापित गरेको भए तापनि कसूरको प्रकृति र अवस्थाबाट ऐ. महलको २ नं. को परिभाषाअन्तर्गत पनि पर्न सक्ने 

(प्रकरण नं.२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बिक्रम बस्नेत

पुनरावेदक वादीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

·         मुलुकी ऐन ठगीको १ नं. र २ नं.

 

फैसला

न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

मिति २०५७।२।२७ गते प्रतिवादीहरू बीरेन्द्र निरौला, मदन निरौला, सुशील न्यौपाने, नारायणप्रसाद न्यौपाने, मुस्कान न्यौपाने, समेतले विदेश पठाउने मेनपावर संस्था दर्ता गरेको हो भनी दर्ता नै नगरी झूठा प्रमाण पत्र देखाई हामीहरू लक्ष्मी कार्की, विनोद भट्टराई, पुरुषोत्तम शर्मा, देबेन्द्र श्रेष्ठ, ठाकुरचन्द्र राई समेतलाई अनेकन प्रलोभन देखाई हामीबाट जम्मा रु.२२,००,०००। गोमा के.सी.को घर कोठाबाट लिएर गएको र पछि रकम फिर्ता समेत नगरी ठगी गरेकाले कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त 

प्रतिवादीमध्येका बीरेन्द्र निरौलाले वैदेशिक रोजगारीको लागि क्यानाडा पठाई दिनेछु भनी लक्ष्मी के.सी., विनोद भट्टराई, पुरुषोत्तम शर्मासंगबाट गोमा के.सी. मार्फत रु.१२,००,०००। लिएको भन्ने समेत व्यहोराको कागज 

मलाई विदेश क्यानाडामा रोजगारीका लागि पठाई दिन्छु भनी बीरेन्द्र निरौला, मदन निरौला, ईश्वरी शाह, नारायण न्यौपाने, सुशील न्यौपाने समेतले ३,५०,०००।जाहेरवालामार्फत लिएको हो । निजहरूले एकमुष्ट म समेतबाट जाहेरवालामार्फत जम्मा रु.२२,००,०००। ठगी गरेको हो भन्ने समेत व्यहोराको बुझिएका मानिसहरू विनोदकुमार भट्टराई, पुरुषोत्तम शर्मा, ठाकुरचन्द्र राई, लक्ष्मी कार्की समेतका व्यक्तिहरूले गरी दिएको कागज 

प्रतिवादी मुस्कान न्यौपानेलाई खोजतलास गर्दा फेला नपरेको र वतन समेत खुल्न नसकेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन 

प्रतिवादीहरू बीरेन्द्र निरौला, मदन निरौला, सुशील न्यौपाने, ईश्वरी शाह, मुस्कान न्यौपाने, समेत भै विदेश क्यानाडा रोजगारीको लागि पठाई दिन्छु भनी मेनपावर संस्था नखोलीकनै खोलेको हुँ भनी विनोदकुमार भट्टराई, पुरुषोत्तम शर्मा, लक्ष्मी कार्की र ठाकुरचन्द्र राई समेतका व्यक्तिहरूबाट जाहेरवाला गोमा के.सी. मार्फत बिगो रु.२२,००,०००। लिई विदेशमा रोजगारीको लागि नपठाई रकम समेत फिर्ता नगरी गफलत झुक्यानमा पारी ठगी गरेकोले, मुलुकी ऐन ठगीको महलको १ नं.बमोजिमको कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको ४ नं.बमोजिम सजाय हुन र ठगी गरेको बिगो रु.२२,००,०००।प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई पाऊँ भन्ने व्यहोराको अभियोग पत्र 

मैले कुनै पनि रकम कसैसित पनि लिएको छैन । प्रहरीमा मलाई कुटपीट गरी सही गर भनेकाले सही गरेको हुँ । जाहेरवाला समेतका व्यक्तिहरूलाई म चिन्दिन भनी कसूरमा इन्कार रही प्रतिवादी बीरेन्द्र निरौलाले शुरु जिल्ला अदालतमा गरेको बयान 

हाललाई मुद्दाको पुर्पक्षका लागि प्रतिवादी बीरेन्द्र निरौलाबाट रु.१२,५०,०००। धरौटी वा जमानत लिई तारेखम राख्नु वा सो बमोजिमको धरौट वा जमानत दाखेल गर्न नसके थुनामा राख्न कारागार शाखामा पठाई दिनु भन्ने शुरु जिल्ला अदालतको मिति २०५७।४।२५ को आदेश 

जाहेरवाला गोमा के.सी. लाई मैले चिनेको पनि छैन म विद्यार्थी हुँ । म विदेश पठाउने मेनपावर खोलेर बसेको व्यक्ति पनि होइन । तसर्थ म निर्दोष भएकाले सफाइ पाऊँ भनी अपराधमा इन्कारी रही प्रतिवादी सुशील न्यौपानेले अदालतमा गरेको बयान 

प्रतिवादी सुशील न्यौपानेबाट नगद रु.१५,००,०००। वा सो वरावरको जेथा जमानी दिए लिई तारेखमा राख्नु र दिन नसके थुनामा राख्न कारागार शाखामा पठाई दिनु भनी मिति २०५७।१२।१५ मा शुरु जिल्ला अदालतबाट भएको आदेश 

मिति २०५७।४।१३ गतेका दिन प्रहरीमा गरेको कागज मेरो हो मलाई प्रतिवादीहरू बीरेन्द्र निरौला, मदन निरौला, सुशील न्यौपानेले क्यानाडा लगिदिन्छु भनेर तीन लाख पचास हजार रुपैया लिएको हो भनी प्रहरी समक्ष कागज गराएको हो भन्ने ठाकुरचन्द्र राईले अदालतसमक्ष गरेको बयान 

      बीरेन्द्र निरौला, मदन निरौला, ईश्वरी शाह, सुशील न्यौपाने, नारायण न्यौपाने, मुस्कान न्यौपाने, समेतका व्यक्तिहरूले क्यानाडा लैजाने भनेर मेरो आफ्नो सहोदर बहिनी लक्ष्मी कार्की, देबेन्द्र श्रेष्ठ, विनोदकुमार भट्टराई र पुरुषोत्तम शर्मा समेतको क्यास पैसा रु.२२ लाख प्रतिवादी बीरेन्द्र निरौलाको हातमा मेरै घरमा दिएको र सोको साक्षी ठाकुरचन्द्र राई हुन भनी जाहेरवाला गोमा के.सी. ले अदालतमा गरेको बकपत्र 

समयमा रकम बुझाउन नसकेमा घर घराना, जायजेथाबाट असूलउपर गरी लिनु भन्ने लिखत कागजमा उल्लेख भएको देखिंदा प्रस्तुत मुद्दा ठगीको ३ नं.को परिभाषाभित्र पर्ने देखिन आएन तसर्थ वादी दावी पुग्न नसक्ने र ठगीको कसूरबाट प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।९।९ मा भएको फैसला 

गोमा के.सी. लाई क्यानाडा पठाई दिने भनी ०५७।२।२७ मा रु.१२ लाख लिएको लिखतमा नै क्यानाडा पठाउन नसकेमा ठगीमा कारवाही गरी साँवा व्याज असूलउपर गरी लिनु भनी कागजमा उल्लेख भएको प्रष्ट हुँदाहुँदै सो लिखत ठगीको ३ नं.को परिभाषा भित्र पर्दैन भनी प्रतिवादीहरूलाई सफाइ दिने गरी शुरु जिल्ला अदालतबाट भएको मिति २०६०।९।९ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकार तर्फबाट पुनरावेदन अदालत, पाटनमा दर्ता भएको पुनरावेदन पत्र 

जाहेरवालाले गराएको कागजको समेत आधार लिई तत्कालीन स्थितिमा ठगी गरेको भन्ने अभियोग माग दावीअन्तर्गत इन्साफ नगरी लेनदेन व्यवहार अन्तर्गत पर्न सक्ने ठहराएको प्रस्तुत मुद्दाको फैसला बिचारणीय देखिंदा प्रत्यर्थी झिकाई आए पछि वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६१।५।२५ को आदेश 

प्रतिवादी मध्येको सुशील न्यौपानेको मिति २०६१।९।१ को लिखित प्रतिवाद, मिसिल संलग्न रहेको 

जाहेरवाला गोमा के.सी.बाट प्रतिवादी बीरेन्द्र निरौलाले रु.१२ लाख लिएको मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि हुन आएकाले मिति २०५७।२।२७ मा प्रतिवादी बीरेन्द्र निरौलाले जाहेरवाला गोमा के.सी.लाई गरी दिएको लिखत कागजमा मासिक तलव ग्यारेन्टीका साथ क्यानाडा पठाउने भनी अङ्क अक्षरमा रु.१२ लाख लिएको व्यहोरा र मानिस पठाउन नसकेमा ठगीमा कारवाही गरी असूलउपर गरेमा मञ्जूर छ भन्ने व्यहोरा समेत उल्लेख गरी वैदेशिक रोजगारीको निमित्त रीतपूर्वक कागज भए गरेको कुरामा कुनै द्विविधा देखिदैन । जुन कार्यको निमित्त यी प्रतिवादीले रुपैया लिएको हो सो काम भए गरेको देखिएन । लिएको उल्लिखित रकम पनि जाहेरवालीलाई फिर्ता गरेको सबूद प्रमाण देखाउन नसकेबाट प्रस्तुत मुद्दाको प्रतिवादीमध्येका बीरेन्द्र निरौलाले मुलुकी ऐन, ठगीको २ नं.अन्तर्गत कसूर गरेको ठहर्छ । तसर्थ शुरु जिल्ला अदालतले ठगीको ३ नं.को ब्याख्याले लेनदेनमा जान सक्ने भनी निजलाई सफाइ दिएको शुरु इन्साफ सो हदसम्म उल्टी हुने र अन्य प्रतिवादीको प्रत्यक्ष संलग्नको परिपुष्टि नदेखिँदा अन्य प्रतिवादीहरूलाई सफाइ दिएको शुरु जिल्ला अदालतको मिति २०६०।९।९ को इन्साफ मुनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादी बीरेन्द्र निरौलालाई ठगीको ४ नं.ले बिगोबमोजिम जरीवाना गरी प्रस्तुत मुद्दाका जाहेरवालालाई बिगो भराई दिनु पर्ने र ऐ.ऐनले ३ बर्ष कैद समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६३।२।१४ को फैसला 

मुद्दा दायर गर्दा मुलुकी ऐन, ठगीको महलको १ नं.को कसूर गरेकोले ऐ.ऐनको ४ नं.बमोजिम सजाय गरिपाऊँ भनी अभियोग माग दावी रहेकोमा सम्मानित पुनरावेदन अदालतले मलाई हराई फैसला गर्दा ठगीको महलको २ नं.को कसूर गरेको भनी कसूरदार ठहर्‍याएको छ । अदालतले सामान्यतया अभियोग पत्रमा जो जे कसूर सहितको अभियोग लगाएको छ , सोही कसूर अभियोगअन्तर्गत अभियुक्तले सो कार्य ग¥यो गरेन र कसूरदार भयो भएन भन्ने कुरा मात्र हेर्नुपर्ने हो । तर त्यसो नगरी शुरु अभियोग पत्रमा उल्लिखित ठगीको १ न.को कसूर गरेको हो होइन सो नहेरी अर्को कसूर अभियोग कायम गरी कैद सजाय ठहर गर्न कानूतः मिल्दैन । वादी दावीभन्दा बाहिर गई रु. १२ लाख ठगी गरेको भनी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकाले उक्त त्रुटिपूर्ण फैसला बदर गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बीरेन्द्र निरौलाको पुनरावेदन पत्र 

प्रतिवादी बीरेन्द्र निरौला समेतले रु.२२ लाख ठगी गरेको तथ्य मिसिल संलग्न सबूद प्रमाणहरूबाट पुष्टि हुँदाहुँदैको अवस्थामा केवल रु.१२ लाख मात्र ठगी गरेको भनी कम विगो कायम गर्ने गरी भएको फैसला बदरभागी छ साथै प्रतिवादी बीरेन्द्र निरौलालाई जुन सबूद प्रमाणको आधारमा कसूरदार कायम गरिएको छ तिनै सबूद प्रमाणहरूबाट प्रतिवादी मदन निरौला, सुशील न्यौपाने, ईश्वरी शाह समेत कसूरदार हुन भन्ने तथ्य स्थापित भएको अवस्थामा प्रतिवादी बीरेन्द्र निरौलालाई कसूरदार ठहर्‍याई सजाय गर्ने तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसलामा सबूद प्रमाणको उचित मूल्याङ्कन हुन नसकेको हुँदा उक्त फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी अन्य प्रतिवादीहरूलाई समेत अभियोग माग दावीबमोजिम सजाय गरी दावीबमोजिमको बिगो समेत प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र 

यसमा मिति २०५७।२।२७ को प्रतिवादी बीरेन्द्र निरौलाले गरेको भनेको कागजको सन्दर्भमा ठगीको ३ नं.को व्याख्या परिप्रेक्ष्यबाट पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिंदा महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई लगाउको फौ.पु.नं.०४५१ को पुनरावेदन समेत साथै राखी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६५।११।२५ गतेको आदेश 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक बीरेन्द्र निरौलाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विक्रम बस्नेतले मिति २०५७।२।२७ मा भएको कागजमा रु.१२ लाख लिएको भनी उल्लेख गरेको छ । तर जाहेरी दरखास्तमा २२ लाख उल्लेख गर्नु र जाहेरवाला गोमा के.सी.ले अदालतमा गरेको बयानमा पनि रु.२२ लाख लिएको उल्लेख गरेको व्यहोरा आपसमा मिलेको छैन । प्रस्तुत वैदेशिक रोजगारीसम्बन्धी मुद्दा वैदेशिक रोजगार ऐन, २०४२ अनुसार वैदेशिक रोजगार विभागमार्फत आउनुपर्नेमा प्रहरीमा जाहेरी परी ठगीको महलअन्तर्गत गलत बाटोबाट दायर गरेको मिलेको छैन । मेरो पक्षले ठगी गर्ने कुनै कार्य नगरेको हुँदा आरोपित कसूरबाट सफाइ पाउनु पर्छ भनी गर्नु भएको बहस र पुनरावेदक नेपाल सरकार तर्फबाट विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राईले प्रतिवादीउपर किटानी जाहेरी परेको छ । प्रतिवादी बीरेन्द्र निरौलाले अरु प्रतिवादीले रकम लिएको भनी अन्य प्रतिवादी उपर दायित्व पन्छाई प्रहरीसमक्ष बयान गरेका छन । काम कारवाही हुन नसकेमा मलाई मुलुकी ऐन ठगीको महलबमोजिम ठगीमा कारवाही चलाएमा मेरो मञ्जूर छ भनी कागज गरी दिएको अवस्था र अनुचित प्रभावमा पारी रकम लिएको कार्यले प्रस्तुत मुद्दा ठगीको परिभाषाअन्तर्गत पर्दछ । त्यसरी अनुचित प्रभावमा पारी रकम लिनु ठगी गर्नु हो । अतः अभियोग माग दावीबमोजिम इन्साफ गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो 

मिसिल अध्ययन गरी पक्ष विपक्ष तर्फको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनु पर्ने देखियो 

निर्णयतर्फ विचार गर्दा प्रतिवादी बीरेन्द्र निरौला समेतले मुलुकी ऐन ठगीको महलको १ नं. विपरीतको कसूर अपराध गरेको हुँदा निज बीरेन्द्र निरौला समेतका प्रतिवादीहरूलाई सोही महलको ४ नं.बमोजिम सजाय हुन र ठगी गरेको रु.२२ लाख प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई पाऊँ भन्ने समेतको माग दावी लिई अभियोग पत्र दायर भएकोमा साँवा व्याजउपर हुने गरी लिखत भइरहेको कुरामा ठगीको ३ न..ले साहू आसामी सरह हुने छ भन्ने प्रष्ट भइरहेको हुँदा साहु आसामीको हैसियतबाट दावी आएका बखत ठहरे बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट दावी लिए बमोजिम प्रतिवादीहरूले ठगीको अपराध कसूर गरेको देखिन आएन दावी पुग्न नसक्ने र ठगीको कसूरबाट प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भनी काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट प्रतिवादीमध्येका बीरेन्द्र निरौलाले मुलुकी ऐन ठगीको २ नं.अन्तर्गतको कसूर गरेको ठहर्छ । तसर्थ शुरु जिल्ला अदालतले ठगीको ३ नं.को व्याख्याले लेनदेनमा जान सक्ने भनी निजलाई सफाइ दिएको शुरु इन्साफ सो हदसम्म उल्टी हुने र अन्य प्रतिवादीहरूको प्रत्यक्ष संलग्नताको परिपुष्टि नदेखिंदा अन्य प्रतिवादीहरूलाई सफाइ दिएको शुरु जिल्ला अदालतको इन्साफ मुनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादी बीरेन्द्र निरौलालाई ठगीको ४ नं.ले बिगो बमोजिम जरीवाना गरी प्रस्तुत मुद्दाका जाहेरवालालाई रु. १२,००,०००।मात्र बिगो भराई दिनु पर्ने र ऐ.ऐनले ३ (तीन) बर्ष कैद समेत हुने ठहर्छ भन्ने फैसला भएकोमा प्रतिवादी बीरेन्द्र निरौलाको हकमा बिगो कम भराउने गरी र अन्य प्रतिवादीलाई सफाइ दिन गरेको उपर वादी नेपाल सरकारको र आफूलाई सजाय गरेको उपर प्रतिवादी बीरेन्द्र निरौलाको चित्त नबुझी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो 

प्रस्तुत मुद्दामा मुख्यतया निम्न प्रश्नहरूमा निरोपण हुनुपर्ने देखिन्छः

१.     प्रस्तुत मुद्दाको कसूर व्यवहार ठगीको परिभाषा भित्र पर्ने हो होइन ?

२.    प्रतिवादीहरूले अभियोग पत्रअनुसारको कसूर गरेको हो होइन ?

३.    गरेको भए को कसले गरेको हो र विगो के कति कायम हुने हो ?

            २.    सर्वप्रथम पहिलो प्रश्न तर्फ विचार गर्दा, प्रतिवादीहरूले विदेश पठाई दिन्छु भनी रु. २२,००,०००।लिएकोमा विदेश पनि नपठाएको र लिएको रकम समेत फिर्ता नदिएकोले ठगीमा कारवाही गरी ठगी गरेको रकम समेत फिर्ता पाऊँ भनी जाहेरी दर्खास्त दिएको देखिन्छ । सोही व्यहोरालाई समर्थन हुने गरी निज जाहेरवालीले अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादी बीरेन्द्र निरौलाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान र निजले जाहेरवाली गोमा के.सी.लाई मिति २०५७।२।२७ मा गरी दिएको कागज जुन प्रतिवादी बीरेन्द्रले करकापबाट गराएको भनी जिकीर लिएपनि सो कागज करकापबाट गराएको भनी प्रमाणित गर्न सकेका छैन बाट समेत विदेश क्यानडा पठाई दिन्छु भनी जाहेरवालीबाट रकम लिएको, विदेश पठाउन नसकेको र लिएको रकम समेत फिर्ता गरेको नदेखिँदा जाहेरवाली समेतलाई विदेशमा रोजगारीको लागि पठाई दिन्छु भनी वैदेशिक रोजगारमा पठाउन इजाजत पत्र नपाएको व्यक्तिले गफलतमा पारी आफूलाई फायदा र अरुलाई नोक्सान पार्ने कार्य गरेको भन्ने कुरा सिद्ध हुने हुँदा यस्तो प्रकृतिको कसूर ठगीको महलको २ नं. ले परिभाषित गरेको कसूर भित्र नै पर्ने देखिएको र सरकारवादी भै चलाएको मुद्दालाई वैदेशिक रोजगार ऐन अन्तर्गत नचलाएको भन्ने कारणले मात्र कानून विपरीतको अभियोग पत्र दायर गरेको भन्न मिल्ने देखिएन । अभियोग पत्र दायर गर्दा ठगीको महलको १ नं. को कसूर स्थापित गरेको भए तापनि कसूरको प्रकृति र अवस्थाबाट ऐ. महलको २ नं. को परिभाषाअन्तर्गत पर्न आएको र कसूर ठगीको महलअन्तर्गत स्थापित भएकोले पुनरावेदन अदालतको फैसलाले प्रस्तुत मुद्दाको कसूर ठगीको महलको २ नं. अन्तरगत पर्ने भनी ठहर गर्दैमा पुनरावेदक प्रतिवादीलाई गरिएको सजाय अभियोग माग दावीभन्दा बढी नभएको र ठगीको १ नं. र २ नं. को कसूरमा सजाय घटी बढी हुने कानूनी व्यवस्था समेत नहुँदा इन्साफमा तात्विक फरक पर्नसक्ने अवस्था समेत नदेखिँदा पुनरावेदक प्र. बीरेन्द्र निरौलाले त्यसतर्फ लिएको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन 

३.    दोस्रो प्रश्न तर्फ विचार गर्दा, प्रतिवादी मध्येको बीरेन्द्र निरौलाले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला गोमा के.सी. र दिलबहादुर प्रधानबाट जाहेरीमा उल्लेख भए बमोजिम रु. २२ लाख विदेश पठाउनको लागि लिएको छैन । गोमा के.सी.संग केवल रु. २, ६०,०००।मात्र लिएको भनी जिकीर लिएको देखिन्छ । विदेश क्यानाडा पठाउन भनी गोमा के.सी.बाट रु. १२,००,०००।बुझी लिएको भनी बीरेन्द्र निरौलाले मिति २०५७।२।२७ मा गरी दिएको भनेको कागजमा परेको ल्याप्चे सही र दस्तखत आफ्नो भएको कुरालाई स्वीकार गरेको देखिन्छ । उक्त कागज मलाई डर धाक धम्की दिई गराएको भनी निज प्रतिवादीले जिकीर लिएपनि सो कुरा अधिकारीक सबूद प्रमाणहरूबाट पुष्टि गर्न सकेको छैन । केवल प्रतिवादीहरूको मौखिक कथनको भरमा मिति २०५७।२।२७ को कागजलाई अन्यथा भन्न मिल्ने देखिएन । बीरेन्द्र निरौलाले गोमा के.सी. लाई गरी दिएको उक्त कागजको व्यहोरा हेर्दा कागज भएको मितिले एक महिना भित्र मासिक तलब र ग्यारेण्टीका साथ क्यानाडा पठाउने छु । लेखिएको शर्त र समयअनुसार गर्न गराउन नसके क्यानाडा पठाउन नसकेको मितिले १७ दिन भित्र रकम बुझाउने छु । बुझाउन नसके ठगीका महलअन्तर्गत कारवाही गरी असूल गरेमा मेरो मञ्जूर छ भनी उल्लेख गरेको देखिन्छ प्रतिवादी बीरेन्द्र निरौलाले उक्त लिखतको शर्तअनुसार मानिसलाई विदेश पनि नपठाएको र रकम समेत फिर्ता गर्न नसकेको देखिएबाट निजले जाहेरवाला समेतबाट लिएको रकम पच गर्ने उद्देश्यले बेइमानी गरेको भन्ने कुरा जाहेरवाली गोमा के.सी.ले अदालतमा गरेको बकपत्र समेतका अन्य मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि हुने हुँदा प्रतिवादी बीरेन्द्र निरौलाले मुलुकी ऐन, ठगीको २ नं. ले परिभाषित कसूर गरेको ठहर्छ । निज प्रतिवादी बीरेन्द्र निरौला वाहेकका अभियोग पत्रमा अभियोग लगाइएका मदन निरौला समेतका अन्य प्रतिवादीहरूले आरोपित कसूर गरेको हो भन्ने कुरा शंका रहित तवरले पुष्टि गर्ने तथ्ययुक्त ठोस सबूत प्रमाण वादी पक्षले गुजार्न सकेको नदेखिँदा निज प्रतिवादीहरूले कसूर गरेको भनी ठहर्‍याउन मिल्ने देखिएन 

४.    अब के कति विगो जाहेरवालाले को कसबाट भरी पाउने हो भन्नेतर्फ हेरिएमा जाहेरवाला गोमा के.सी. समेतले दिएको शुरु जाहेरी दरखास्तमा प्रतिवादी बीरेन्द्र निरौला समेतले रु. २२ लाख ठगी गरी लिइ गएको भनी उल्लेख गरेको देखिन्छ भने निजै जाहेरावालाले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले रु. २२ लाखनै ठगी गरेको भनी दावी लिएको भए तापनि २०५७।२।१७ मा प्रतिवादी बीरेन्द्रले जाहेरवाली गोमा के.सी.लाई गरिदिएको कागजात केवल रु.१२ लाख रकम लिएको भन्ने देखिन्छ । सो रकम वाहेक अरु रकम प्रस्तुत मुद्दाका प्रतिवादीहरूले ठगी गरी लिएको खाएको भन्ने कुराको तथ्ययुक्त आधिकारिक लिखत प्रमाण वादी पक्ष र जाहेरवाला समेतले पेश गर्न सकेको नदेखिँदा विगो रु.१२,००,०००।मात्र ठगी गरेको पुष्टि हुन आयो । प्रतिवादी बीरेन्द्र निरौला वाहेकका अरु प्रतिवादीहरूले आरोपित कसूर गरेको नठहरी सफाइ पाएको अवस्था हुँदा उक्त विगो रु. १२ लाख प्रतिवादी बीरेन्द्र निरौलाले ठगी गरेको ठहर्ने हुन्छ 

५.    अतः उपरोक्त विवेचित आधार प्रमाणबाट प्रतिवादी बीरेन्द्र निरौला वाहेक अरु प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने र प्रतिवादी बीरेन्द्र निरौलाले विगो रु. बाह्र लाख ठगी गरेको ठहर्‍याई निजलाई ठगीको ४ नं. अनुसार विगोबमोजिम जरीवाना र ३ वर्ष कैद गर्ने तथा जाहेरवालालाई उक्त ठहरेबमोजिमको विगो भराई दिने गरेको समेत पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुन्छ । आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने प्रतिवादी बीरेन्द्र निरौलाको र अन्य प्रतिवादीलाई समेत कसूरदार ठहर्‍याई अभियोग पत्र माग दावीअनुसारको नै विगो कायम गरिपाऊँ भन्ने तर्फको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । यो फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.सुशीला कार्की

 

इति संवत् २०६७ साल बैशाख ७ गते रोज ३ शुभम्

 

 

इजलास अधिकृतउद्धव गजुरेल