February 9, 2010
Created by nepalarchives

निर्णय नं. ८३५६ – गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग

निर्णय नं. ८३५६ ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरत राज उप्रेती संवत् २०६१...

निर्णय नं. ८३५६ ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री भरत राज उप्रेती

संवत् २०६१ सालको दे.पु.नं……. ९६६१, ९६६२

फैसला मितिः २०६६।१०।२६।३

 

मुद्दा :गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग 

 

पुनरावेदकः का.जि.का.म.न.पा.वडा नं. ३१ स्थित भृकुटी मण्डपमा प्रधान कार्यालय भएको      माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि.का अधिकार प्राप्त कार्यकारी निर्देशक डा.दमनबहादुर अमात्य

विरुद्ध

विपक्षीः नेपाल सरकार, उद्योग, विभाग, त्रिपुरेश्वर, काठमाडौं समेत

 

पुनरावेदकः मकवानपुर जिल्ला हेटौंडा न.पा.वडा नं. ८ स्थित प्रधान कार्यालय भएको युनाईटेड व्रुअरी नेपाल प्रा.लि.को तर्फबाट अधिकार प्राप्त डाइरेक्टर प्रेमध्वज थापा

विरुद्ध

विपक्षीः नेपाल सरकार, उद्योग, विभाग, त्रिपुरेश्वर, काठमाडौं

 

§  बियर आफैमा पेय पदार्थ हो । तर यस्तो बियर भरिने वोतलहरू खाद्य वा पेय वस्तु नभएको हुनाले यी प्रत्येकको उत्पादनको प्रक्रियाको भिन्नता वा प्रकृतिले नै वोतल उत्पादन गर्ने उद्योगको प्रकृति र यी वोतलमा राखिने बियर, वाइन, ह्स्किी जस्ता पेय पदार्थ उत्पादन गर्ने कम्पनी वा फर्म एउटै हुन्छन् भन्ने परिकल्पना गर्न नसकिने 

(प्रकरण नं.३)

§  औद्योगिक वस्तुको उत्पादनकर्तालाई निजले उत्पादन गरेको वस्तुमा दुई प्रकारको स्वामित्व सम्वन्धी हक अधिकार प्राप्त हुन्छ । यसरी उत्पादन गरेको वस्तुको भौतिक स्वामित्व सम्वन्धी अधिकार पहिलो अधिकार हो भने यसरी उत्पादित वस्तुलाई अन्य प्रतिस्पर्धी उत्पादकहरूले उत्पादन गरेको वस्तुबाट छुट्याउनको लागि प्रयोग गरिने ट्रेडमार्क वा डिजाइनलाई वौद्धिक वा औद्योगिक सम्पत्ति (intellectual or Industrial Property) सम्बन्धी दोस्रो महत्वपूर्ण अधिकार मानिन्छ । यी दुई अधिकारमध्ये प्रत्येकको प्रकृति फरक हुने हुदा यी प्रत्येक अधिकारको विक्री वा हस्तान्तरणको प्रक्रिया पनि फरक हुन्छ । यस्ता औद्योगिक उत्पादन वा वस्तुहरूको भौतिक स्वामित्वमाथिको अधिकारको हस्तान्तरण सामान्य खरीद विक्रीको प्रक्रियाबाट हुन्छ । तर यस्ता वस्तुमा लगाइने वा प्रयोग हुने ट्रेडमार्क वा डिजाइन जस्ता वौद्धिक सम्पत्तिको हस्तान्तरणको प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । यस्तो प्रक्रिया नअपनाई यस्तो अधिकार हस्तान्तरण हुन सक्दैन र यस्तो प्रक्रिया पूरा गरी हक हस्तान्तरण नगरिएसम्म यस्तो ट्रेडमार्क लगायत अन्य वौद्धिक सम्पत्तिको स्वामित्व यसको वैधानिक मालिकमा नै रहने 

(प्रकरण नं.५)

§  उत्पादन गरेका वस्तु विक्री भएपछि यस्तो वस्तुमा रहेको भौतिक स्वामित्वसम्बन्धी हक खरीदकर्तामा हस्तान्तरण हुन्छ । तर उक्त वस्तुमा रहेको उत्पादनकर्ताको वौद्धिक सम्पत्तिसम्बन्धी हक वस्तु विक्रीको प्रक्रियाबाट खरीदकर्तामा हस्तान्तरण भएको हुँदैन । यस्तो हक उत्पादनकर्तामा नै रहने 

§  बियर र यसको वोतलमा अंकित ट्रेडमार्क अर्थात् वौद्धिक तथा औद्योगिक सम्पत्तिउपर कुनै हक वा स्वामित्व प्राप्त गर्न सक्दैन । वोतलमा भरिएको बियर उपभोग गरेपछि यो वोतलको भौतिक स्वामित्व प्राप्त गर्ने खरीद कर्तालाई यो वोतल फोर्न, तोड्न, कुनै व्यहोराले नास गर्न वा त्यसलाई गलाई अर्कै वस्तु बनाउन वा यसबाट नयाँ वोतल बनाउने हक पनि प्राप्त हुन सक्दछ र यस्ता खाली वोतल अन्य प्रतिस्पर्धी उद्योगहरूले उत्पादन गरेका बियर भरी उपभोग कर्तालाई विक्री गर्ने काम वाहेक अन्य प्रयोजनको लागि खरीद विक्री हुन पनि सक्दछ । तर उक्त वोतलमा अंकित गरिएको ट्रेडमार्क भौतिक सम्पत्ति नभई वौद्धिक तथा औद्योगिक सम्पत्ति भएकोले यस्तो वौद्धिक तथा औद्योगिक सम्पत्तिमा उक्त वोतलको खरीदकर्ताले कुनै पनि हक प्राप्त गरेको हुदैन । र, निजले यस्तो ट्रेडमार्क अंकित वोतल वा र्‍यापरलाई समान प्रकृतिको वस्तु प्याक गर्ने वा ट्रेडमार्क धनीको हकमा असर पार्ने गरी वा सर्वसाधारण उपभोक्ता झुक्किने किसिमले यसको प्रयोग गर्न नसक्ने 

§  कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अंकित र्‍यापर वा वोतललाई कुनै अर्कै प्रतिस्पर्धी व्यक्तिले अनाधिकृत रुपले प्रयोग गर्दा उपभोक्ता झुकिन्छन् भन्ने कुरामा विवाद वा शंका गर्ने ठाउँ नै रहँदैन । यदि यस बारेमा शंकाको स्थिति देखिए पनि यस्तो शंकाको सुविधा ट्रेडमार्क धनीले प्राप्त गर्दछ र अन्य प्रतिस्पर्धीहरूले शंकाको सुविधा प्राप्त गर्न नसक्ने 

(प्रकरण नं.६)

 

पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र लक्ष्मीबहादुर निराला     विद्वान अधिवक्ताहरू श्री नरेन्द्रकुमार जोशी, प्रकाश के.सी., मेघराज पौडेल, विष्णुप्रसाद बाँस्कोटा

विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल एवं विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री केशव भटृराई

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

·         पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग), १६(२), २(ख), १२

 

फैसला

न्या. भरतराज उप्रेतीः पुनरावेदन अदालत, पाटनको मिति २०६१।३।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) अनुसार यस अदालतमा मुद्दा दोहोर्‍याउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः

यस प्रा.लि.द्वारा उत्पादित टुवोर्ग बियर एवं गोर्खा व्रुअरी अक्षर अंकित खाली सिसीमा भरतपुर उप महानगरपालिका, चितवनमा कारखाना भई का.म.न.पा.भृकुटी मण्डप स्थित विणा चेम्वर्स प्रधान कार्यालय रहेको माउण्ट एभरेष्ट व्रुअरीले आफ्नो उत्पादनहरू सेन मिगेल बियर (San Miguel) र गोल्डेन टाईगर (Golden Tiger) भरी, हेटौंडा औद्योगिक क्षेत्रमा कारखाना भई सोही स्थानमा प्रधान कार्यालय रहेको युनाईटेड व्रुअरीले आफ्नो उत्पादन कल्याणी व्लेक लेवल बियर (Kalyani Black Label) भरी हाम्रो उत्पादन एवं पहिचानमा नै वाधा एवं धक्का पर्ने गरी विक्री वितरण गरी रहेको जानकारी गराईएको कुरा विदितै छ । उक्त व्रुअरीको उत्पादन भनी एवं विक्री वितरण गर्न आजैका मितिबाट रोक्का गर्ने आदेश जारी गरी दिनु भई सोको कार्यान्वयनको लागि आन्तरिक राजश्व विभागमा समेत जानकारी गराई दिनु हुन अनुरोध गर्दछु भन्ने समेत व्यहोराको गोरखा व्रुअरीले उद्योग विभागलाई मिति २०५९।१२।१८ मा गरेको पत्राचार 

            अरु कसैको नाममा दर्ता भएको ट्रेड मार्कको व्राण्ड, लेवल र वोटल समेत हामीहरूबाट प्रयोग नभएको तथा त्यस्तो गर्न आवश्यक नरहेको । एकै आकार, प्रकार, रङ्ग, परिणाम आदि सवै मिल्दो र विक्री गर्दा उपभोक्तालाई वोटलको समेत पैसा असूल गरिसकेको सन्दर्भमा त्यस प्रकारको अडान अव्यवहारिक छ । कारखानाबाट बोतल समेत विक्री गरी सकेपछि वोतलमा कारखानाको अधिकार रहंदैन । खरीदकर्ताले जे जसरी पनि प्रयोग गर्न पाउँदछ । यसमा कारखानाको स्वामित्व हुंदैन । उपभोक्ताले खरीद गरिसकेको खाली वोतल अरु व्रुरअरीले प्रयोग गर्न नपाईने भएमा निजले सो वोतल त्यतिकै फाल्नु पर्ने अथवा फुटाल्नु पर्ने हुन जान्छ । वजारमा उपलव्ध खाली वोतल सवै उद्योगले प्रयोगमा ल्याई आफ्नो व्राण्ड लेवल टाँसी आम उपभोक्तालाई आफ्नो उत्पादन उपलव्ध गराउदै आएको हालको कार्य नै यथार्थमा व्यवहारिक हुँदा हाल व्यवहारमा चल्दै आएअनुरूप वजारमा उपलव्ध सवै किसिमका वोतल प्रयोग गर्न सकिने व्यवस्था कायमै हुनुपर्ने भन्ने समेत व्यहोराको नि. माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि., नि.युनाईटेड व्रुअरी नेपाल प्रा.लि.समेतले उद्योग विभागलाई लेखेको मिति २०५९।१२।२० को सँयुक्त पत्र 

            वोलाइएको वैठकमा उपस्थित भएनन् । ४ वटा बियर कम्पनीको प्रतिउत्तर औद्योगिक सम्पत्तिसम्बन्धी कानून र व्यवहारमा पनि मिल्ने देखिएन । तसर्थ निर्यातमा पेश भए अनुसार १ महिनाको म्याद दिई र अन्यको २०६० जेष्ठ मसान्तभित्र आआफ्नो वोतल प्रयोग गर्ने गराउने गरी सवै ५ वटै उद्योगहरूलाई उपरोक्तबमोजिम सूचना गर्ने भन्ने उद्योग विभागको मिति २०६०।१।१२ को निर्णय 

            पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ को उपदफा (२) अनुसार कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क सो व्यक्तिको लिखित मञ्जूरी विना कसैले आफ्नो प्रयोगमा ल्याउन वा सर्वसाधारण जनतालाई झुक्याउन सकिने किसिमबाट त्यसको नक्कल गरी चलाउन हुँदैन । यस्तो प्रचलनबाट दुवै कम्पनीको ट्रेडमार्कको ख्यातिमा असर पर्नुका साथै आम उपभोक्तामा समेत भ्रम पर्नसक्ने हुन्छ । तसर्थ,अव आईन्दा यस्तो किमिसको कार्य नहुने व्यवस्था गर्नु आवश्यक भएकोले सवै कम्पनीहरूलाई विभागमा उपस्थित गराई छलफल गराउन प्रयत्न गरिएको अवगत नै छ । ५ वटै बियर उद्योगहरूलाई निर्यातका हकमा एक महिना भित्र र अन्यका हकमा २०६० साल जेष्ठ मसान्त भित्र आफ्नै वोतल प्रयोग गर्न र सो अवधि भित्र आवश्यक व्यवस्था मिलाउन एवं एक अर्को उद्योगको ट्रेडमार्क र नाम अंकित वोतलहरू स्टक भए आपसमा आदान प्रदान गरी सक्न सूचना गर्ने भनी मिति २०६०।१।१२ मा निर्णय भएको हुँदा जानकारी गराईएको छ । तदनुरुप नगरेको पाईएमा कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ भनी उद्योग विभागले युनाईटेड व्रुअरी नेपाल प्रा.लि., माउण्ट एभरेष्ट व्रुअरी समेतलाई लेखेको पत्र 

            उद्योग विभागको मिति २०६०।१।१२ को निर्णयमा चित्त वुझेन । पुनरावेदक लगायतका अन्य बियर उत्पादक कम्पनीले आफूले उत्पादन गरेको बियरको लेवलसम्म ट्रेडमार्कको रुपमा कानूनबमोजिम दर्ता गर्ने गरेको हुन्छ । तर बियर भरिने वोतलहरू खुला वजारमा विक्री हुने र खुल्ला वजारबाट नै यस्ता वोतलहरू खरीद गरिने, हरेक उत्पादकले जुनसुकै वोतल वजारबाट खरीद गर्ने र बियर भरेर वोतल सहितको मुल्य जोडेर वजारमा बियर विक्री गरिसकेपछि बियर खरीदकर्ता र निजबाट तहतह वोतल विक्री हुंदै अन्ततः वजारबाट जुनसुकै उत्पादकले जुनसुकै उत्पादकको वोतल उत्पादनकर्ता वाहेक अन्य उनाउ व्यक्तिबाट खरीद गरी प्रयोगमा ल्याउने गरेको त्यस्ता वोतलहरूलाई बियर उत्पादनकर्ताको उत्पादन हो र सो उपर पेटेन्ड, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६(२) को कानून आकृष्ट हुने भनी गरेको मिति २०६०।१।१२ को निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि.को तर्फबाट पर्न आएको मिति २०६०।२।२२ को पुनरावेदन पत्र 

            उद्योग विभागको मिति २०६०।१।१२ को निर्णयमा चित्त वुझेन । पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) ले गरेको परिभाषाअनुसार कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरुको मालसामान वा सेवावाट फरक देखाउन प्रयोग गरिने शव्द, चिन्ह वा चित्र वा शव्द, चिन्ह वा चित्र तिनै कुराको संयोग सम्झनु पर्छ भनी स्पष्ट गरिरहेको अवस्थामा विपक्षीहरूले सो स्पष्ट कानूनी व्यवस्थाको विपरीत आफूले वजारमा आफ्नो उत्पादन बियरसंगै विक्री गरिसकेको बियरको वोतल माथि यति लामो अवधि पछि आफ्नो प्रतिष्पर्धी उद्योग र तिनका उत्पादनमाथि अनुचित दवाव दिई मिति २०६०।१।१२ मा गरिएको निर्णय बदर गरि इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको युनाईटेड व्रुअरी प्रा.लि.को तर्फबाट पुनरावेदन अदालत पाटनमा मिति २०६०।२।२२ मा पर्न आएको पुनरावेदन पत्र

            एका कम्पनीको मार्क अंकित वोतल त्यस्तै तरल प्रयोग गर्ने प्रयोजनका निमित्त अर्को बियर कम्पनीलाई प्रयोग गर्न प्रतिवन्ध लगाई गरेको उद्योग विभागको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६१।३।८ को फैसला 

            पुनरावेदक कम्पनी जस्तै अन्य कम्पनीले उत्पादन गरी विक्री वितरण गर्ने बियरमा (Contain) ट्रेडमार्क प्रयोग गरिने र्‍यापर र बियरको वोतल(Container) फरक फरक भई आफ्नो मार्क अंकित कागज र व्यापार चिन्ह शव्द र चित्रमा मात्र सीमित रहने हुन्छ । कुनै पनि कम्पनीले वोतल उत्पादन नगर्ने र प्रयोगमा ल्याएका बियरका वोतलहरू प्राय भारतीय उत्पादन भएको वोतल सहित खुला रुपमा वजारमा विक्री भै जाने, उपभोक्ता कवाडी मार्फत पुनः कम्पनीले नै प्राप्त गर्ने, विदेशी अन्य उत्पादनकर्ताले उत्पादन गर्ने बियर वोतलमा नेपाली बियर उत्पादक कम्पनीको कानूनले नै ट्रेडमार्क दर्ता नै नहुने हुँदा विपक्षी कम्पनीले समेत उत्पादन नगरेको र नगर्ने टुवोर्ग बियरको वोतलमा नै टुवोर्ग इम्वेस लेखेको भन्दैमा बियर वोतल नै ट्रेडमार्कमा दर्ता भएको भनी पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) तथा १६(२) को कानूनी व्यवस्थाविपरीत भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) को कानूनी प्रश्नमा गम्भीर त्रुटि भई व्याख्यात्मक प्रश्न समावेश भएको हुँदा मुद्दा दोहर्‍याई पाऊँ भन्ने समेत व्यहोराको माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि.को तर्फबाट यस अदालतमा पर्न आएको मिति २०६१।५।२ को निवेदन 

            ट्रेडमार्कसम्बन्धी प्रचलित कुनै पनि कानूनले एक उत्पादकको उत्पादनउपर अर्को उत्पादकको ट्रेडमार्क कायम हुने र सो उपर सम्पत्तिको रुपमा ट्रेडमार्क स्थापित भई कानूनी संरक्षणको हक प्रचलन गराई माग्ने असम्भव कानूनी हक स्थापित गराउन मिल्दैन । पुनरावेदन अदालत, पाटनले बियर र वोतल दुवै पदार्थ, वस्तु, गोरखा व्रुअरीले उत्पादन गर्छ र वोतल माथि पनि ट्रेडमार्क हक उसले प्राप्त गरेको छ भनी निज उत्पादकले दावी नगरेको कुरामा निर्णय गरेको हुँदा पेटेन्ट डिजायन ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) तथा १६(२) को कानूनी व्याख्यात्मक प्रश्न समावेश भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) अन्तर्गत मुद्दा दोहोर्‍याई इन्साफ पाऊँ भन्ने समेत व्यहोराको युनाईटेड व्रुअरी नेपाल प्रा.लि.को तर्फबाट यस अदालतमा पर्न आएको मिति २०६१।५।२ को निवेदन पत्र 

            निवेदन तथा निर्णय फायल हेर्दा पुनरावेदक निवेदक लगायत अन्य कुनै पनि बियर कम्पनीहरूले बियर वोतलको ट्रेडमार्क दर्ता गराएको भन्ने देखिएन । यसरी बियर उत्पादकहरूका नाममा ट्रेडमार्क दर्ता नभएको अवस्थामा उद्योग विभागले बियर (उत्पादन) को लागि आआफने वोतल प्रयोग गर्नु भनी आदेश गरेको पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(क) दफा १६, १७ र १८ को विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०६२।१।२८ को आदेश 

            नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदन तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की र श्री लक्ष्मीबहादुर निराला अधिवक्ताहरू श्री नरेन्द्रकुमार जोशी, श्री प्रकाश के.सी. श्री मेघराज पौडेल श्री विष्णुप्रसाद वास्कोटाले पुनरावेदक कम्पनीले जस्तै अन्य कम्पनीले उत्पादन गरी विक्री वितरण गर्ने बियरमा ट्रेडमार्क प्रयोग गरिने र्‍यापर र बियरको वोतल फरकफरक भई आफ्नो मार्क अंकित कागज, व्यापार चिन्ह शव्द र चित्रमा मात्र सीमित रहने हुन्छ । नेपालमा कुनै पनि कम्पनीले वोतल उत्पादन गर्दैनन् । प्रयोगमा ल्याएका वोतलहरू खुला रुपमा बजारमा विक्री वितरण हुने, खुला बजार बाटै खरीद गरिने र बियर भरेर वोतलसहितको मूल्य जोडेर बजारमा विक्री गरिने हुँदा त्यस्ता बियरको वोतलमा टुवोर्ग इम्वोस लेखेको भन्दैमा बियर वोतल नै ट्रेडमार्क दर्ता भएको भन्न नमिल्नेमा पुनरावेदन अदालत पाटनले बियर र वोतल दुवै गोरखा व्रुअरीले उत्पादन गर्छ र वोतलमाथि पनि ट्रेडमार्क हक उसले प्राप्त गरेको छ भनी गरेको फैसला त्रुटिपूर्ण छ भनी गर्नु भएको बहस तथा विपक्षी उद्योग विभागको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले एउटा कम्पनीको इम्वोस गरिएको वोतलमा अर्को कम्पनीले लेवल लगाई बियर बजारमा विक्री गर्दा उपभोक्तामा भ्रम सिर्जना हुने, ट्रेडमार्कको सिद्धान्तः पनि नमिल्ने भएको र यस्तो प्रचलनबाट दुवै कम्पनीको ट्रेडमार्कको ख्यातिमा पनि असर पर्ने हुँदा उद्योग विभागबाट भएको निर्णयलाई मनासिव ठहराई पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्ने भनी र विपक्षी गोर्खा व्रुअरी प्रा.लि.को तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री केशव भट्टराईले विपक्षी कम्पनीहरूले हाम्रो कम्पनीको व्राण्ड तथा छाप अंकित वोतलहरूमा बियर भरी स्थानीय बजारमा विक्री गरेको र भारतमा समेत निर्यात गरेकोले आफ्नो उत्पादन भरी हाम्रो उत्पादन एवं पहिचानमा वाधा पुर्‍याएको हुँदा पुनरावेदन जिकीरबमोजिम हुने होइन भनी गर्नु भएको बहस समेत सुनियो 

            दुवैतर्फ बाट उपस्थित कानून व्यवसायीहरूको बहस सुनी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी पुनरावेदकहरूको पुरावेदन जिकीरबमोजिम हुने हो होइन सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो 

            निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा यस प्रा.लि.द्धारा उत्पादित टुवोर्ग बियर एवं गोरखा व्रुअरी अक्षर अंकित खाली सिसीमा युनाइटेड व्रुअरी नेपाल प्रा.लि., हिमालयन व्रुअरी, प्रा.लि.,माउण्ट एभरेष्ट व्रुअरी, सनगोल्ड व्रुअरी प्रा.लि.ले आफ्नो उत्पादन भरी हाम्रो उत्पादन एवं पहिचानमा नै बाधा एवं धक्का पर्ने गरी विक्री वितरण गरी रहेको हुँदा यस व्रुअरीको नाम अंकित वोतल र टुवोर्ग तथा काल्सवर्ग बियर व्राण्ड अंकित वोतलहरूमा अन्य व्रुअरीले आफ्नो उत्पादन भर्न तथा विक्री वितरण गर्न रोक लगाइ दिने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु भनी गोर्खा व्रुअरी प्रा.लि.ले उद्योग विभागलाई पत्र लेखेकोमा सो सम्बन्धमा पुनरावेदकहरूको समेत पत्र उद्योग विभागमा पेश भई बियर उद्योगहरूलाई आआफ्नै वोतल प्रयोग गर्ने गरी उद्योग विभागबाट २०६०।१।१२ मा निर्णय भएको देखिन्छ । सो निर्णयमा चित्त नवुझी पुनरावेदकहरूकोे पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी सो अदालतबाट उद्योग विभागको निर्णय मनासिव ठहराई भएको फैसलाउपरमा चित्त नवुझी उद्योग विभागबाट भएको निर्णय र पुनरावेदन अदालत पाटनको फैसला पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन,२०२२ को दफा २(ग) तथा दफा १६(२) को प्रतिकूल भएको हुँदा बदर गरी बियर उत्पादन तथा उपभोक्ता समेतको हित संरक्षण गरिपाऊँ भन्ने पुनरावेदन जिकीर देखिन्छ 

            शुरु उद्योग विभागमा निवेदन दिने गोरखा व्रुअरी कम्पनी र यी पुनरावेदक युनाइटेड व्रुअरी प्रा.लि.तथा माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि.ले पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम आआफ्नो ट्रेडमार्क प्राप्त गरी बियर उत्पादन गरी विक्री वितरण गर्दै आएको र गोर्खा व्रुअरी प्रा.लि.ले टुवोर्ग तथा काल्सवर्ग व्राण्डको बियर उत्पादन गरी विक्री वितरण गर्दै आएको र यसरी उत्पादन गरेको टुवर्ग व्राण्डको बियरलाई टुवोर्ग (Tuborg) शव्द र यसलाई चिनाउने विशेष चिन्ह (लोगो) समेत अंकित भएको (इम्वोस गरिएको) वोतलमा राखी उपभोक्ताहरूलाई विक्री गर्ने गरेको कुरामा विवाद देखिँदैन । यसैगरी गोर्खा व्रुअरी प्रा.लि.ले आफूले उत्पादन गरेको टुवोर्ग बियर राखी उक्त उत्पादन उपभोक्तासमक्ष पुर्‍याउनको लागि प्रयोग गर्ने गरेको टुवोर्ग शव्द र यो शव्द सहितको चिन्ह (लोगो) भएको खाली सिसीमा नै सनगोल्ड व्रुअरी, एभरेष्ट व्रुअरी, युनाइटेड व्रुअरी र हिमालयन व्रुअरीले आफूले उत्पादन गरेको बियर बजारमा ल्याउने गरेको कुरामा पनि विवाद छैन । प्रत्यर्थीहरूको उक्त कार्यबाट आफ्नो उत्पादन एवं पहिचानमा नै बाधा एवं धक्का पर्ने गरी विपक्षीहरूले बियर विक्री वितरण गरी रहेकोले यस व्रुअरीको नाम अंकित वोतल र टुवोर्ग तथा काल्सवर्ग बियर व्राण्ड अंकित वोतलहरूमा अन्य व्रुअरीले आफ्नो उत्पादन भर्न तथा विक्री वितरण गर्न रोक लगाई पाऊँ भनी गोर्खा व्रुअरी कम्पनीको उद्योग विभागमा दिएको निवेदनबाट प्रस्तुत विवादको उठान भएको छ र यसरी गोर्खा व्रुअरी प्रा.लि.ले उत्पादन गरेको बियर विक्री वितरण गरी खाली भएको टुवर्ग शव्द र यो शव्द सहितको चिन्ह (लोगो) अंकित भएको वोतल पुनरावेदक लगाएत अन्य कम्पनीले खरीद गरी आफ्नो उत्पादित बियर भरी विक्री वितरण गरेको कुरामा समेत विवाद देखिँदैन 

            उपरोक्त तथ्य र वास्तविकताको सन्दर्भमा उद्योग विभागले पुनरावेदक लगायतका बियर उत्पादक कम्पनीहरूलाई आआफ्नै वोतल प्रयोग गर्नु भन्ने निर्देशन दिने गरी मिति २०६०।१।१२ मा गरेको निर्णय मिलेको छ वा छैन भन्ने विषयमा निर्णय गर्नुपर्ने देखियो । यस वारेमा निर्णयमा पुग्नुभन्दा पहिले निम्न तीन प्रश्नको निराकरण गर्नु पर्ने देखियो 

(क)   बियर वा अन्य कुनै तरल पदार्थ प्याक गर्ने वोतल आफैमा प्रचलित                       कानूनबमोजिम ट्रेडमार्कको रुपमा दर्ता गरिने वस्तु वा ट्रेडमार्क हो वा होइन ?

(ख)   कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अंकित र्‍यापर वा यस्तो ट्रेडमार्क                 जनाउने शव्द वा चित्र रहेको (इम्वोस गरेको) वोतलमा रहेको ट्रेडमार्कमा हक प्राप्त            गर्न उक्त ट्रेडमार्क धनी आफैले उत्पादन गर्न आवश्यक छ वा छैन ?

(ग)   पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा २(ग) तथा १६(२) अन्तर्गत कुनै            ट्रेडमार्कको मालिक वा यस्तो ट्रेडमार्कको वैधानिक प्रयोग कर्तालाई यस्तो ट्रेडमार्क                   अंकित खाली वोतललाई अन्य प्रतिस्पर्धी उद्योगले प्रयोग गर्नबाट रोकी पाउने                 वारेमा कुनै हक हुन्छ वा हुदैन र यस्तो ट्रेडमार्कको प्रयोग सम्बन्धमा निजलाई                  प्राप्त हक अधिकारको दायरा के हो ?

            २.    पहिलो प्रश्न निराकरण गर्नका लागि पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा २(ग) मा गरिएको कानूनी व्यवस्थाको विवेचना गर्नुपर्ने हुन्छ । उक्त ऐनको दफा २ (ग) मा ट्रेडमार्कशव्दको परिभाषा गरिएको छ । उक्त व्यवस्था अनुसार कुनै फर्म,कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गरेको सेवालाई अरुको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शव्द, चिन्ह वा चित्र वा शव्द, चिन्ह र तीनै कुराको संयोग लाई ट्रेडमार्क भनिन्छ । बियर तथा अन्य तरल पदार्थ प्याक गरिने वोतल आफैमा कुनै शव्द वा चिन्ह वा चित्र कुनै पनि होइन । काँच वा सिसाबाट वनेको वस्तु मात्र हो । उपरोक्त परिभाषाअनुसार बियर भर्ने वोतल आफैमा ट्रेडमार्क हुन सक्दैन । तर यस्तो वस्तु अर्थात वोतलमा कुनै चित्र, शव्द वा चिन्ह वा यी तीनैवटाको संयोजनबाट तयार भएको आकृति रहेको कुनै र्‍यापर लगाई वा टाँसी यसभित्र कुनै उत्पादकले आफ्नो उत्पादनहरू (जस्तो बियर, वाइन, व्हिस्की, तेल वा अन्य तरल पदार्थ) प्याक गरेको, भरेको वा राखेको भएमा वा यस्तो वोतलमा नै ट्रेडमार्कको रुपमा प्रयोग हुने कुनै शव्द वा चिन्ह वा चित्र वा यी तीनवटैको संयोजनबाट बनेको कुनै आकृति (लोगो) वोतलमा नै अंकित गरिएको (इम्वोस गरिएको ) भएमा यसको कानूनी परिणाम वा मान्यता फरक हुन सक्दछ । यसरी कुनै खाली वोतलमा नै अंकित (इम्वोस) गरिएको शव्द, चिन्ह वा चित्र वा तिनवटैको संयोजनको रुपमा रहेको कुनै चिन्हलाई वोतलको ट्रेडमार्क मान्न सकिदैन । वोतल कुनै तरल पदार्थ प्याक गर्ने भाँडो (कन्टेन्टर) मात्र भएकोले यो आफैमा उपभोक्ताले प्रत्यक्ष रुपमा उपभोग गर्ने वस्तु होइन । यसैले बियर, वाइन, व्हिस्की तथा अन्य पेय तरल पदार्थहरू प्याक गर्ने खाली वोतल आफै ट्रेडमार्कको रुपमा दर्ता हुने वस्तु होइन । तर यस्तो वोतलमा लेखिएको शव्द, चिन्ह वा चित्र वा यिनीहरूको संयोजनको रुपमा अंकित (इम्वोस) गरिएको वोतलभित्र कुनै उत्पादकले उत्पादन गरेको बियर वा अन्य तरल पदार्थ भरिए पछि यसरी राखीएको वस्तुलाई उपभोक्ताबीच चिनाउने ट्रेडमार्कको रुपमा यस्तो वोतलको प्रयोग हुन सक्दछ । यसको अतिरिक्त कुनै वोतललाई विशेष डिजाइनको रुपमा विकास गर्न सकिन्छ र यस्तो डिजाइनको छुट्टै आफ्नो मूल्य र मान्यता पनि हुन सक्दछ । तर यस्तो डिजाइनलाई पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन अनुसार दर्ता हुने ट्रेडमार्क मानिदैन । वोतलको डिजाइन सम्म उक्त ऐनको दफा २ (ख) तथा दफा १२ अनुसार दर्ता हुन सक्दछ । प्रस्तुत विवाद बियर वोतलको डिजाइनसम्बन्धी हकको उलंघन भएको विषय नभई ट्रेडमार्कसम्बन्धी हकमा अवरोध भएको भन्ने प्रश्न भएको र बियरको खाली वोतल नै ट्रेडमार्कको रुपमा दर्ता नहुने भएकोले यस्तो वोतल ट्रेडमार्कको रुपमा दर्ता नगराएको भन्ने आधारमा मुद्दा दोहोर्‍याउने अनुमति दिने इजलासको मा.न्याहरूको रायसंग सहमत हुन सकिएन 

            ३.    गोर्खा व्रुअरी प्रा.लि.ले टुवर्गट्रेडमार्क अंकित वोतल उत्पादन नगर्ने हुनाले उक्त बियर भरिएका वोतलहरू विक्री भएपछि यस्तो वोतलको प्रयोगको सम्बन्धमा विपक्षी गोर्खा व्रुअरी प्रा.लि.को कुनै हक हुदैन भन्ने सम्बन्धमा पुनरावेदकहरू तथा निजहरूका कानून व्यवसायीहरूले लिएको पुनरावेदन जिकीरको सन्दर्भमा दोस्रो प्रश्नको विवेचना गर्नुपर्ने देखियो । पहिलो प्रश्नको सन्दर्भमा उपरोक्त प्रकरणहरूमा गरिएको विवेचनाको सन्दर्भमा नै दोस्रो प्रश्नको पनि विवेचना गर्नुपर्ने हुन्छ । उपरोक्त प्रकरणहरूमा उल्लेख गरिएअनुसार बियर, ह्स्किी ब्राण्डी लगायतका तरल पदार्थहरू प्याक गर्ने खाली वोतल आफै ट्रेडमार्कको रुपमा दर्ता हुने वस्तु नभई यस्ता वोतलहरू डिजाइनको रुपमा मात्र दर्ता हुनसक्ने वस्तु हुन् । तर यस्ता खाली वोतलमा पनि कुनै कम्पनी वा फर्मले उल्पादन गरेका बियर वा अन्य तरल पेय पदार्थहरूलाई अन्य फर्म वा कम्पनीले उत्पादन गरेका बियर वा अन्य तरल पेय पदार्थबाट छुट्याउन प्रयोग गरिने कुनै शव्द, चित्र वा चिन्ह वा यी सवै वा केहीको संयोजनबाट बनेको ट्रेडमार्क अंकित गर्न (इम्वोस गर्न) सकिन्छ । यसको मतलव यसरी कुनै कम्पनी वा फर्मको ट्रेडमार्कको चिन्ह अंकित गरिएको (इम्वोश गरिएको) वोतलहरू पनि उक्त बियर उत्पादन गर्ने कम्पनीले नै उत्पादन गर्नु पर्दछ भन्ने होइन । बियर आफैमा पेय पदार्थ हो तर यस्तो बियर भरिने वोतलहरू खाद्य वा पेय वस्तु नभएको हुनाले यी प्रत्येकको उत्पादनको प्रक्रियाको भिन्नता वा प्रकृतिले नै वोतल उत्पादन गर्ने उद्योगको प्रकृति र यी वोतलमा राखिने बियर, वाइन, ह्स्किी जस्ता पेय पदार्थ उत्पादन गर्ने कम्पनी वा फर्म एउटै हुन्छन भन्ने परिकल्पना गर्न सकिदैन । यो सामान्य ज्ञानको कुरा हो । यसै गरी कुनै खाद्य वस्तु प्याक गर्ने र्‍यापर र यस्तो खाद्य वस्तु उत्पादन एउटै कम्पनीबाट हुने भन्ने कुरा पनि होइन र यो कुरा व्यवहारिक रुपमा सम्भव नहुन पनि सक्छ । यस्तो ट्रेडमार्कयुक्त र्‍यापरको उत्पादन वा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क (इम्वोस) भएका वोतलहरूको उत्पादन यस्ता ट्रेडमार्कको मालिक वा प्रयोग कर्ताको अनुरोधमा अन्य कम्पनी वा फर्मले उत्पादन गर्ने कुरा मान्य व्यवसायिक प्रचलन को रुपमा विकास भएको छ । यस्ता र्‍यापर, वोतल तथा कन्टेन्टहरू उत्पादन गर्ने उद्योगहरू छुट्टै विशिष्ट उद्योगको रुपमा सञ्चालन हुने गरेको कुरा सामान्य ज्ञानको र व्यवसायिक प्रचलन र प्रयोगको विषय भएका छन् । यसैले गोर्खा व्रुअरी प्रा.लि.ले उत्पादन गरेको बियर उपभोक्ता समक्ष पुर्‍याउनको लागि उक्त कम्पनीले प्रयोग गर्ने अधिकार प्राप्त रजिष्टर्ड ट्रेडमार्क टुवर्गशव्द र चित्र अंकित (इम्वोस) भएका वोतलहरू गोर्खा व्रुअरी प्रा.लि.आफैले उत्पादन नगरेका कारणले उक्त कम्पनीले उत्पादन गरेको बियरलाई पुनरावेदक लगायत अन्य कम्पनीले उत्पादन गरेको बियरबाट छुट्याउनको लागि प्रयोग गरिने वोतलमा अंकित भएको (इम्वोश गरिएको) टुवर्ग’ ‘ट्रेडमार्क र उक्त ट्रेडमार्क अंकित वोतलमा गोर्खा व्रुअरीको कुनै हक हुदैन भन्ने पुनरावेदन जिकीरसंग सहमत हुन सकिएन 

            ४.    अव तेस्रो प्रश्न अर्थात् कुनै रजिष्टर्ड ट्रेडमार्कको मालिक वा यसको वैधानिक प्रयोग कर्तालाई प्राप्त हुने अधिकारको दायरा के हो भन्ने प्रश्न निराकरणको लागि मूल रुपमा पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा २ (ग) तथा दफा १६(२) मा गरिएको व्यवस्थाको मर्म, अर्थ र प्रयोजनलाई हेर्नु पर्दछ । उक्त ऐनको दफा २(ग) ले कुनै एक कम्पनी वा फर्मले उत्पादन गरेको वस्तु वा सेवालाई अन्य कम्पनी वा फर्मले उत्पादन गरेको वस्तु वा सेवाबाट छुट्याउनको लागि प्रयोग गरिने शव्द, चिन्ह, चित्र वा यी तिनको संयोजनलाई नै ट्रेडमार्क मानेको छ र उक्त ऐनको दफा १६ (२) ले कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क सो व्यक्तिको लिखित मञ्जूरी विना कसैले पनि उपयोग गर्न वा सर्वसाधारणलाई झुक्याउने किसिमबाट त्यसको नक्कल गरी त्यस्तो टेडमार्क चलाउनबाट रोक लगाएको छ । उक्त दफा १६(२) को व्यवस्थाले दर्ता भएको ट्रेडमार्कको धनी तथा यसको वैधानिक प्रयोगकर्तालाई दुई प्रकारको संरक्षण दिइएको देखिन्छ । ट्रेडमार्कको धनीको स्वीकृति नलिई कसैले यस्तो ट्रेडमार्क प्रयोग गरेमा उक्त प्रयोग रोक्न पाउने पहिलो अधिकार हो भने कसैले उक्त ट्रेडमार्क नक्कल गरी प्रयोग गरेकोमा उक्त नक्कली प्रयोग रोक्न पाउने दोस्रो महत्वपूर्ण अधिकार हो । अर्को अर्थमा भन्ने हो भने ट्रेडमार्कको वैधानिक मालिकको हकको रक्षाको लागि उक्त दफा १६(२) ले दर्ता भएको कुनैपनि ट्रेडमार्कको अनाधिकृत प्रयोग वा सर्वसाधारणलाई झुक्याउने किसिमले नक्कल गरी वा अन्य कुनै व्यहोराले ट्रेडमार्कको अनाधिकृत प्रयोग गर्नबाट रोक लगाएको छ 

            ५.    टुवर्गट्रेडमार्क अंकित बियरको वोतलहरूमा गोर्खाव्रुअरी प्रा.लि.ले उत्पादन गरेका बियर राखी उपभोक्तालाई विक्री गरेपछि उक्त ट्रेडमार्कमा गोर्खा व्रुअरीको हक समाप्त हुन्छ र उक्त वोतलको प्रयोग गर्ने अधिकार बियरको वोतल खरीद गर्ने व्यक्ति वा खरीदकर्तामा स्वतः हस्तान्तरण हुन्छ भन्ने पुनरावेदन जिकीर देखिन्छ । यस सम्बन्धमा विचार गर्दा कुनै रजिष्टर्ड ट्रेडमार्क भएको र्‍यापरमा प्याक गरिएको वा यस्तो ट्रेडमार्क अंकित भएको (इम्वोस गरिएको) वोतलमा वन्द गरिएको कुनै पेय वा खाद्यपदार्थको उत्पादनकर्ताले यस्तो पेयपदार्थ वा खाद्यवस्तु प्याकगर्न प्रयोग गरिने ट्रेडयुक्त र्‍यापर तथा ट्रेडमार्क अंकित भएको बोतलका सम्बन्धमा कति प्रकारका अधिकार प्राप्त गरेका हुन्छ र यस्ता वस्तु खरीद गर्ने उपभोक्तालाई कस्तो प्रकारको अधिकार प्राप्त हुन्छ भन्ने विषयमा पनि विवेचना गर्नु पर्दछ । कुनै पनि औद्योगिक वस्तुको उत्पादनकर्तालाई निजले उत्पादन गरेको वस्तुमा दुई प्रकारको स्वामित्व सम्वन्धि हक अधिकार प्राप्त हुन्छ । यसरी उत्पादन गरेको वस्तुको भौतिक स्वामित्व सम्वन्धि अधिकार पहिलो अधिकार हो भने यसरी उत्पादित वस्तुलाई अन्य प्रतिस्पर्धी उत्पादकहरूले उत्पादन गरेको वस्तुबाट छुट्याउनको लागि प्रयोग गरिने ट्रेडमार्क वा डिजाइनलाई वौद्धिक वा औद्योगिक सम्पत्ति (Intellectual or Industrial Property) सम्बन्धी दोस्रो महत्वपूर्ण अधिकार मानिन्छ । यी दुई अधिकार मध्ये प्रत्येकको प्रकृति फरक हुने हुदा यी प्रत्येक अधिकारको विक्री वा हस्तान्तरणको प्रक्रिया पनि फरक हुन्छ । यस्ता औद्योगिक उत्पादन वा वस्तुहरूको भौतिक स्वामित्व माथिको अधिकारको हस्तान्तरण सामान्य खरीद विक्रीको प्रक्रियाबाट हुन्छ । तर यस्ता वस्तुमा लगाइने वा प्रयो हुने ट्रेडमार्क वा डिजाइन जस्ता वौद्धिक सम्पत्तिको हस्तान्तरणको प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । यस्तो प्रक्रिया नअपनाई यस्तो अधिकार हस्तान्तरण हुन सक्दैन र यस्तो प्रक्रिया पूरा गरी हक हस्तान्तरण नगरिएसम्म यस्तो ट्रेडमार्क लगायत अन्य वौद्धिक सम्पत्तिको स्वामित्व यसको वैद्यानिक मालिकमा नै रहन्छ 

            ६.    कुनै व्यक्ति फर्म वा कम्पनीले उत्पादन गरेका वस्तु विक्री भएपछि यस्तो वस्तुमा रहेको भौतिक स्वामित्व सम्बन्धी हक खरीदकर्तामा हस्तान्तरण हुन्छ । तर उक्त वस्तुमा रहेको उत्पादन कर्ताको वौद्धिक सम्पत्तिसम्बन्धी हक वस्तु विक्रीको प्रक्रियाबाट खरीदकर्तामा हस्तान्तरण भएको हुदैन । यस्तो हक उत्पादन कर्तामा नै रहन्छ । यसैले प्रस्तुत विवादको सन्दर्भमा निर्णय गर्दा कुनैपनि कम्पनीको ट्रेडमार्क अंकित (इम्वोस) गरिएको वोतलमा भरिएको बियर वा अन्य पेय पदार्थ खरीद गर्ने उपभोक्ताले उक्त वोतलका सम्बन्धमा कस्तो अधिकार प्राप्त गर्दछ र यस्तो अधिकारको दायरा के हो भन्नेतर्फ पनि विचार गर्नुपर्दछ । जस्तो टुवर्गट्रेडमार्क अंकित वोतलमा भरिएको बियर खरीद गर्ने उपभोक्ताले उक्त वोतलमा रहेको बियर उपभोग गर्ने अधिकार र यस्तो बियर भरिएको वोतलमा भौतिक स्वामित्व प्राप्त गर्दछ । तर यो बियर र यसको वोतलमा अंकित ट्रेडमार्क अर्थात वौद्धिक तथा औद्योगिक सम्पत्तिउपर कुनै हक वा स्वामित्व प्राप्त गर्न सक्दैन । वोतलमा भरिएको बियर उपभोग गरेपछि यो वोतलको भौतिक स्वामित्व प्राप्त गर्ने खरीद कर्तालाई यो वोतल फोर्न, तोड्न, कुनै व्यहोराले नाश गर्न वा त्यसलाई गलाई अर्कै वस्तु बनाउन वा यसबाट नयाँ वोतल बनाउने हक पनि प्राप्त हुन सक्दछ र यस्ता खाली वोतल अन्य प्रतिस्पर्धी उद्योगहरूले उत्पादन गरेका बियर भरी उपभोग कर्तालाई विक्री गर्ने काम वाहेक अन्य प्रयोजनको लागि खरीद विक्री हुन पनि सक्दछ । तर उक्त वोतलमा अंकित गरिएको ट्रेडमार्क भौतिक सम्पत्ति नभई वौद्धिक तथा औद्योगिक सम्पत्ति भएकोले यस्तो वौद्धिक तथा औद्योगिक सम्पत्तिमा उक्त वोतलको खरीदकर्ताले कुनै पनि हक प्राप्त गरेको हुदैन । र निजले यस्तो ट्रेडमार्क अंकित वोतल वा र्‍यापरलाई समान प्रकृतिको वस्तु प्याक गर्ने वा ट्रेडमार्क धनीको हकमा असर पार्ने गरी वा सर्वसाधारण उपभोक्ता झुक्किने किसिमले यसको प्रयोग गर्न सक्दैन । यस्तो प्रकारको प्रयोगलाई पेटेन्ट डिजाइन, तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ ले रोक लगाएको देखिन्छ । यस सम्बन्धमा विवाद गर्ने ठाउँ देखिदैन । यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अंकित र्‍यापर वा वोतललाई कुनै अर्कै प्रतिस्पर्धी व्यक्तिले अनाधिकृत रुपले प्रयोग गर्दा उपभोक्ता झुकिन्छन् भन्ने कुरामा विवाद वा शंका गर्ने ठाउँ नै रहदैन । यदि यस बारेमा शंकाको स्थिति देखिए पनि यस्तो शंकाको सुविधा ट्रेडमार्क धनीले प्राप्त गर्दछ र अन्य प्रतिस्पर्धीहरूले शंकाको सुविधा प्राप्त गर्न सक्दैन भन्ने कुरा मान्य सिद्धान्तको रुपमा विकास भएको छ 

            ७.    उपरोक्त तीनवटै प्रश्नहरूको सम्बन्धमा गरिएको विवेचनाको आधारमा मिति २०६०।१।१२ को उद्योग विभागको निर्णय र सो लाई सदर गरेको पुनरावेदन अदालत पाटनको निर्णय मिलेको छ वा छैन भन्ने तर्फ विचार गर्दा गोर्खा व्रुअरी प्रा.लि.ले उत्पादन गरेको बियर टुवर्गट्रेडमार्क अंकित वोतलमा राखी विक्री वितरण गरी उक्त बियर उपभोग पछि खाली भएका टुवर्गअंकित वोतलमा पुनरावेदक कम्पनी लगाएतका उद्योगले उक्त वोतलहरू खरीद गरी सो वोतलमा आफ्नो उत्पादित बियर भरी विक्री वितरण गर्दा प्रत्यर्थी गोर्खा व्रुअरी प्रा.लि.ले प्रयोग गर्ने अधिकार पाएको टुवर्गट्रेडमार्कमा रहेको हक हनन् हुन गई पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १६(२) को विपरीत कार्य गरेको देखिएको र उक्त कार्य रोक्न उद्योग विभागबाट ५(पाँच) वटै बियर उद्योगहरूले आआफ्नै वोतल प्रयोग गर्नु भनी मिति २०६०।१।१२ मा भएकोे निर्णय कानूनसम्मत नै देखिएकोले उक्त निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू 

 

उक्त रायमा मेरो सहमति छ 

 

न्या.प्रेम शर्मा

 

इति संवत् २०६६ साल माघ २६ गते रोज ३ शुभम्

 

इजलास अधिकृत : हरिश्चन्द्र इङ्नाम