February 3, 2010
Created by nepalarchives

निर्णय नं. ८३५५ – लिखित गाली बेइज्जती

निर्णय नं. ८३५५ ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री रणबहादुर वम संवत् २०६२ सालको...

निर्णय नं. ८३५५ ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री रणबहादुर वम

संवत् २०६२ सालको दे.पु.नं.३५२९

फैसला मितिः २०६६।१०।२०।४

 

मुद्दाःलिखित गाली बेइज्जती  ।

 

पुनरावेदक वादीः म्याग्दी जिल्ला भल्कवाङ गा.बि.स.वडा नं.८ बस्ने थकदेवी छन्त्याल

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः म्याग्दी जिल्ला भल्कवाङ गा.बि.स.वडा नं.८ बस्ने बलिमाया छन्त्याल       समेत

                       

शुरु :जिल्ला अदालतः

मा.न्या.श्री दामोदरप्रसाद अधिकारी

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री ताहिर अली अन्सारी

मा.न्या.श्री बुद्घीप्रसाद रेग्मी

 

§  गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (Actus) भन्दा त्यस्ता व्यक्तिको नियत वा मनसाय (Intention) के रहेको छ, त्यसले व्यक्तिको चरित्रमा के कति ह्रास पुर्‍याएको छ त्यसमा विचार गर्नुपर्ने 

(प्रकरण नं.५)

§  नारीको सतित्व र अस्मिता सामाजिक अनुशासन हो । यो सदैव उच्चस्थान र मर्यादामा रहेको हुन्छ । मर्यादा उल्लंघन नगरेको अवस्थामा कुनै व्यहोराबाट आक्षेप लगाइन्छ भने लगाइएको आक्षेप सबूद प्रमाणद्वारा पुष्टि गरी प्रमाणित गराउन असमर्थ हुने व्यक्ति दण्डको भागीदार भई दाण्डिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने 

(प्रकरण नं.७)

पुनरावेदक वादी तर्फवाटःबिदुषी अधिवक्ता श्री सुष्मा बाँस्कोटा

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामबहादुर कार्की

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

·         गाली बेइज्जती ऐन, २०१६ को दफा ३ र ५

 

फैसला

न्या. प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

म थकदेवी छन्त्याल सन्तान सम्पन्न हिन्दु नारी हुँ । आफ्नो मान मर्यादा चरित्रमा बसेकी पतिव्रता नारीलाई तकदेवी, बलिमाया, तमबहादुर समेतले बेस्या अर्काको गर्भ फाल्ने पात्तर भनी बेइज्जत गरेमा २०५७ साल असार महिनामा गाली बेइज्जतीको फिराद दिएको र लोग्ने खिमबहादुर समेतका उपर अंश पाऊँ भनी २०५७।३।११ मा अंश मुद्दा दायर गरेकीमा दुबै मुद्दामा ०५७।१२।१० मा प्रतिउत्तर लगाउँदा रामबहादुर बि.क.संग करणीमा बिग्री गर्भ धारण गरी गर्भ समेत फालेकी भनी मेरो लिखित रुपमा बेइज्जती गरेकाले विपक्षीहरूलाई गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र 

थकदेवीले म खिमबहादुरको सतित्व डगाई परपुरुष रामबहादुरसंग करणीमा बिग्री सकेकी र जन्मेको जातक समेतको हत्या गरेकी व्यक्ति हुन् । वादी अनुशासन भङ्ग गरी कुलिन परम्परा एवं कानूनी कर्तव्यच्यूत भएको कुरालाई मनन गरी सामाजिक हितको खातिर असल नियतले काम गरिएको सम्म हो । विपक्षीको सार्वजनिक प्रश्नसंग सम्बन्ध आचरणबाट प्रदर्शन भएको साँचो व्यवहारलाई मात्र हामीले प्रतिउत्तर पत्रको प्रकरणमा खुलाएका हौ । सबै घटनासंग सम्बन्धित यथार्थ कुराको साँचो सिफारिश प्र.म रामबहादुरले गरी दिएको हुँ, व्यक्तिगत रिसइवीले चरित्र हत्या गर्ने उद्देश्यले होइन । गाउँ विकास समितिको जिम्मेवारी जन प्रतिनिधिको हैसियतले वडा र गाउँ विकास समितिका सदस्यहरूको पूर्व समर्थन एवं आग्रहका आधारमा सिफारिश दिएको हुँ । विपक्षीका हालका पति रामबहादुर बि.क., रामबहादुर बि.क.को पिता डल्ला कामी, चैती कमीनी, खिमबहादुर कै छोरा गंगाबहादुर छन्त्याल समेतलाई अ.बं.१३९ नं.बमोजिम बुझिएमा बास्तविक यथार्थ कुरा खुल्ने हुँदा झूठा वादी दावीबाट अलग फुर्सद दिलाई गाली बेइज्जती ऐन, २०१६ को दफा १० बमोजिम वादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र 

मलाई मिति याद भएन हाम्रो घरमा काम गर्ने रामबहादुर र मेरी आमा थकदेवी बाहिर पिडीमा एकै ठाउँमा सुतेको देखेको हुँ । बच्चा समेत मैले घरदेखी पश्चिमतर्फ फालेको हुँ । उक्त बच्चा रामबहादुरकै होलानी भन्ने समेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका व्यक्ति गंगाबहादुर छन्त्यालले गरेको बयान 

मलाई मिति याद भएन । यिनै वादीको घरमा काम गर्न बसेको थिए । यी वादीले मलाई निजकै घरको पिँढीमा सुत भन्नुभयो । म सुतेको अवस्थामा यी वादी पनि मेरो बिस्तारामा आएकीले करिब २ महिना जति हाम्रो शारीरिक सम्पर्क भएको हो । तर गर्भ रहे नरहेको मलाई थाहा भएन । साथै गाउँलेहरूले मेरो घरमा हुलेका हुन् तर वादी मेरो घरमा बस्न मान्नु भएन भन्ने समेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका रामबहादुर बि.क.ले गरेको बयान 

प्रतिवादी खिमबहादुर विदेशमा थिए । मेरो माइलो छोरा रामबहादुर वादी थकदेवीको घरमा काम गर्न बसेको सिलसिलामा करणी लिनु दिनु गरी गर्भधारण समेत गरेको गर्भ मैले देखिन । वादीको घरमा मेरो छोरा करिव १ बर्ष जति बसेको हो । वादीले मेरो घरमा छोरालाई आउन दिदैनथिन् भन्ने समेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका व्यक्ति डल्ला कामीले गरेको बयान 

साल थाहा भएन कार्तिक महिना हो, वादीलार्ई बच्चा पाउने व्यथा लागेछ, मलाई रातको समयमा वादीको जेठा छोरा समेत बोलाउन गै म वादीको घरमा आउँदा तपेसमा रगत देखे, गंगाबहादुरले बच्चा पनि छ भनेका थिए, मेरो आङ कमजोर हुँदा हेर्न सकिन उक्त तपेसमा भएको रगत बच्चालाई वादीकै छोरा गंगाबहादुरले फालेका हुन गर्भ रामबहादुर बि.क.को हो भन्थे अरु मलाई थाहा भएन भन्ने समेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका व्यक्ति चैती कमिनीले गरेको बयान 

प्रतिवादीका साक्षीको बकपत्र वादीका छोरा गंगाबहादुर छन्त्याल, रामबहादुर बि.क.,डल्ला कामी र चैती कमिनीको बयान समेतका आधारमा वादी थकदेवी रामबहादुर बि.क.सँग करणीमा बिग्रिएको पुष्टि हुन आयो । सोहीअनुसार आज यसै इजलासबाट अंश मुद्दामा अंश नपाउने गरी फैसला भएको समेत कारणबाट प्रतिवादीहरूले लिखित गाली बेइज्जती गरे भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु म्याग्दी जिल्ला अदालतको मिति २०५९।३।३० को फैसला 

रामबहादुर बि.क.तथा डल्ला कामीले मेरा पति खिमबहादुरको आर्थिक प्रलोभनमा परी त्यस्तो बयान गरेका हुन । पति विदेश गएको अवस्थामा ४ छोराछोरी पालेर बसेकी म एक अवला नारीलाई २४ जनाले लान्छना लगाउदैमा मेरो सतित्व गुम्न पाउने होइन । प्रमाणमा लिन नहुने व्यक्तिबाट भएको झूठा बयानलाई आधार बनाई भएको म्याग्दी जिल्ला अदालतको फैसला बदर गरी वादी दावी एवं पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी थकदेवी छन्त्यालको पुनरावेदन अदालत, बाग्लुङमा पर्न आएको पुनरावेदन पत्र 

यसमा यसै लगाउको अंश मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बाग्लुङको मिति २०५९।८।२५ को आदेश 

अंश मुद्दामा वादी थकदेवी छन्त्याल आफ्ना पति खिमबहादुर छन्त्यालको सतमा नरही परपुरुषसंग करणीमा बिग्रिएकी र यस्तो अवस्थामा लोग्ने स्वास्नीको सम्बन्धमा समेत स्वतः विच्छेद हुने हुँदा लोग्नेको सत्य डगाउने स्वास्नीले अंश पाउँदिन भनी वादी दावी एवं पुनरावेदन जिकीर समेत पुग्न नसक्ने गरी फैसला भएको हुनाले अंश मुद्दामा लिइएका बुँदा प्रमाणका आधारमा प्रस्तुत लिखित गाली बेइज्जती मुद्दामा वादीको पुनरावेदन जिकीरसंग सहमत हुन नसकेकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याई म्याग्दी जिल्ला अदालतले मिति २०५९।३।३० मा गरेको फैसला मनासिव देखिएकोले सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बाग्लुङको मिति २०६१।१०।१८ को फैसला 

म नैतिक चरित्र, सामाजिक प्रतिष्ठा भएकी एक प्रतिब्रता हिन्दु नारी हुँ । समाजमा इज्जत र मर्यादाका साथ बसी आएको कुरा सैह्य नभई व्यक्तिगत रिसइवी साध्न अर्कै व्यक्तिको श्रीमतीको रुपमा भित्रिएको, जातक गाडेको, साल थुतेको भन्ने जस्ता कपोलकल्पित कुराहरू उल्लेख गरेको कारणबाट मेरो सामाजिक प्रतिष्ठामा दाग लाग्ने कार्य भएको छ । सर्जमिन नगरी गा.बि.स.को एक व्यक्तिले पदीय दायित्वविपरीत हुने गरी गरिएको सिफारिश नै गैरकानूनी छ । सो सिफारिश र प्रतिवादीको साक्षीलाई प्रमाणमा लिई मेरो साक्षीलाई टाढाको भन्ने जस्तो साक्षी सम्बन्धी व्यवस्थाको अपव्याख्या गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई पाऊँ भन्ने समेत व्यहोराको वादी थकदेवी छन्त्यालको यस अदालतमा पर्न आएको निवेदन पत्र 

यसमा यसै लगाउको यिनै वादी प्रतिवादी भएको दो.नि.नं.३६८६ को अंश मुद्दामा आजै यसै इजलासबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को आधारमा दोहोर्‍याई हेर्न निस्सा प्रदान भएको र सो मुद्दा र प्रस्तुत मुद्दा परस्पर अन्तरसम्बन्धित र अन्तरप्रभावी भएको हुँदा यस मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरी दिएको छ । प्रस्तुत मुद्दामा ऐन बमोजिम लाग्ने कोर्टफी लिई पुनरावेदन दायरीमा दर्ता गरी प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६२।८।२४ को आदेश 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुष्मा बास्कोटाले थकदेवी प्रतिवादी खिमबहादुरकै सतित्वमा छन् । अंश नदिने नियतले मात्र आरोप लगाइएको हो । अंश मुद्दा दायर भएपछि अर्कासंग करणीमा विग्रेको भनी प्रतिउत्तर लगाइएको छ । पहिला कहिं कतै उजूर नगरेको हुँदा सो आरोप बनावटी हो भन्ने तथ्य स्वतः प्रमाणित हुन्छ । अर्काको मान मर्यादामा आँच आउने गरी गा.वि.स.ले सिफारिश गरेको छ । कानूनविपरीत गरिएको सिफारिशलाई आधार लिई दावी नपुग्ने ठहर गरेको फैसला मिलेको छैन । मेरो पक्षको टाढाको साक्षी भनी बकपत्रलाई बाहेक गरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री रामबहादुर कार्कीले थकदेवी खिमबहादुरको सतित्वमा छैनन् । सो कुराको पुष्टि निजै वादीको छोरा गंगाबहादुरले गरेको बकपत्र र गा.वि.स.को सिफारिशबाट स्थापित हुन्छ । वादी जोसंग करणीमा विग्रीएकी भनिएको छ सोही ब्यक्ति रामबहादुर वि.क ले अदालतमा यथार्थ ब्यहोरा लेखाएका हुँदा दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

दुबै तर्फका विद्वान अधिवक्ताहरूले प्रस्तुत गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बाग्लुङको फैसला मिलेको छ छैन ? सोही विषयमा निर्णय दिनु पर्ने देखियो 

२.    निर्णयतर्फ विचार गर्दा, अंश मुद्दामा र गाली बेइज्जती मुद्दामा मिति २०५७।१२।१० मा प्रतिउत्तर लगाउँदा रामबहादुर बि.क.संग करणीमा बिग्री गर्भधारण गरी गर्भ समेत फालेकी बेश्या, पात्तर भनी लिखित रुपमा गाली बेइज्जती गरेको हुँदा सजाय गरिपाऊँ भन्ने वादी दावी भएकोमा दावी नपुग्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, बाग्लुङको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउन वादीको निवेदन परी निस्सा प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको पाइयो 

३.    वादी थकदेवी छन्त्याल, रामबहादुर बि.क.संग करणीमा बिग्रिएकी हुन् होइनन् र अंश मुद्दामा प्रतिवादी खिमबहादुर र गाली बेइज्जती मुद्दामा प्रतिवादी बलिमाया छन्त्याल समेतले वादी थकदेवी रामबहादुरसंग करणीमा बिग्री गर्भ समेत फालेकी वेश्या, पात्तर भनी प्रतिवादीहरूले लगाएको प्रतिउत्तरबाट यी वादीको इज्जत मान मर्यादा प्रतिष्ठामा आँच पुगी बेइज्जती भएको हो होइन भन्नेतर्फ विचार गर्दा यसै लगाउको दे.पु.नं.८५७३ को अंश मुद्दामा प्रतिवादी खिमबहादुर छन्त्याल र वादी थकदेवी छन्त्यालको लोग्ने स्वास्नीको नाता नटुटी कायम रहेको हुँदा निजबाट वादीले अंश पाउने तथा यसै लगाउको फौपु.नं.३५३० को गाली बेइज्जती मुद्दामा प्रतिवादीहरूले गाली बेइज्जती गरेको ठहरी आज यसै इजलासबाट फैसला भइसकेको छ 

४.    थकदेवी छन्त्यालले रामबहादुर बि.क.को गर्भधारण गरी गर्भपतन गराई जातक लगी घर भन्दा माथितर्फ लगी गाडी अड्केको साललाई चैती कमिनीको सहयोगमा हातद्वारा थुत्न लगाई फ्याकेको र निज रामबहादुरकै श्रीमतीको रुपमा भित्रिएको भन्ने प्रतिवादीहरूले अंश मुद्दा तथा गाली बेइज्जती मुद्दामा प्रतिउत्तर लगाई वादीलाई परपुरुषसंग करणी गरी गर्भ फालेको भन्ने जस्तो गम्भीर आरोप लगाइएको छ । सो आरोपलाई वादीले शुरु देखि नै स्वीकार गरेकी छै्रनन् । वादी कुनै पनि साधिकार निकायमा कुनै माध्यमबाट आरोप स्वीकार गरेको वा सावित भई बयान गरेको अवस्था समेत छैन । वादीले परपुरुषसंगको अवैध यौन सम्बन्धबाट जन्मेको बच्चा फालेको भए त्यसरी जातक बच्चा मारी फाल्ने व्यक्ति यी वादीउपर ज्यानसम्बन्धी महलअन्तर्गत कानूनी कारवाहीको लागि जाहेरी दिएको समेत देखिदैन । विना आधार अर्का सित करणीमा बिग्रिएकी भनी दोष लगाउने र श्रीमती स्वीकार नगर्ने व्यक्तिले आफ्नी श्रीमती अर्काको गर्भ बोकी बच्चा जन्माई मारेको भए कानूनी कारवाही गर्न कुनै कसर बाँकी राख्ने थिए होलान् भनी सहज अनुमान गर्न सकिने अवस्था पनि आउदैन 

५.    अब के कस्तो अवस्थामा बेइज्जती गरेको मानिने भन्ने सम्बन्धमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ मा भएको कानूनी व्यवस्था हेर्दा कसैले अरु कुनै व्यक्तिको इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी वा विश्वास गर्ने कारण भई लेखेर वा बचनले वा संकेतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिने छभन्ने र सोही दफाको स्पष्टीकरण (२क) मा जानाजान कसैको चरित्र हत्या गर्न वा अनुचित लान्छना लगाउने नियतले दोष लगाएमा वा प्रचार प्रसार गरेमा बेइज्जती गरेको ठहर्न सक्नेछभन्ने उल्लेख भएको पाइन्छ । गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (Actus) भन्दा त्यस्ता ब्यक्तिको नियत वा मनसाय (Intention) के रहेको छ ? त्यसले व्यक्तिको चरित्रमा के कति ह्रास पुर्‍याएको छ त्यसमा विचार गर्नुपर्ने हुन्छ । हाम्रो समाज पुरुष प्रधान समाजको रुपमा रही आएको र त्यही समाजमा हुर्केको हठवादी चिन्तनले कुनै न कुनै प्रकारले नारी पीडित हुने गरेका छन् । अंश मुद्दा दायर हुनु पूर्व वादीको सतित्वमा कुनै प्रश्नचिन्ह उठाइएको छैन । अंशमा दावी गरिएपछि मात्र वादीको सतित्वमा आँच लाग्ने गरी दोष लगाइएको छ । वाह्य कार्यहरूबाट व्यक्तिको गुप्त नियत प्रकट हुन्छ । अनैतिक शारीरिक सम्बन्ध गासी अर्कासित करणीमा विग्रेकी भनी कलंकित पार्न प्रयासरत रहनु नै प्रतिवादी खिमबहादुरको जीवनबाट वादीलाई सदाको लागि हटाउने नियत हो । सो नियत लिखित रूपमा नै प्रकट भएको भन्नेमा विवाद देखिदैन 

६.    असल नैतिक चरित्र विपरीतको चरित्र र सामाजिक अस्मिता विरुद्घको चरित्र यी वादीमा छ भन्ने शंकासम्म हुने स्थिति कहिं कतैबाट देखिदैन । चरित्र हत्या गर्ने नियतले रामबहादुर बि.क.संग करणीमा बिग्रिएकी भनी लगाइएको आरोपबाट वादीको आफ्नो समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई निसन्देह कुण्ठित गरेको छ । हाम्रो जस्तो सामाजिक परिवेशमा रहेकी नारीलाई आफ्नै लोग्नेबाट लगाइएका कलंकित आरोप निसन्देह निजको प्रतिष्ठा तथा आचरण प्रतिकूल भै निजको इज्जतमा प्रत्यक्ष कुठाराघात गरेकोमा दुइमत राख्नुपर्ने अवस्था आउदैन । यी वादीलाई अंश हकबाट बिमुख गर्ने एकमात्र उद्देश्य लिई आरोप लगाइएको र उक्त आरोप कुनै पनि स्वतन्त्र वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन आएको नदेखिंदा मिथ्या सावित हुन आएको छ । वादी र प्रतिवादी खिमबहादुर छन्त्याल लोग्ने स्वास्नीको नाता नटुटी कायम रही निजबाट वादीले अंश पाउने ठहरी फैसला भइसकेको आधार प्रमाण समेतबाट अंश मुद्दा तथा गाली बेइज्जती मुद्दामा लगाइएको प्रतिउत्तरको आरोपबाट यी वादीको इज्जतमा आघात पुग्न गएको देखिंदा प्रतिवादीहरूले गरेको उक्त कार्य लिखित गाली बेइज्जतीको कसूरको दायराभित्र पर्ने नै देखियो 

७.    अतः नारीको सतित्व र अस्मिता सामाजिक अनुशासन पनि हो । यो सदैव उच्चस्थान र मर्यादामा रहेको हुन्छ । मर्यादा उल्लंघन नगरेको अवस्थामा कुनै व्यहोराबाट आक्षेप लगाइन्छ भने लगाइएको आक्षेप सबूद प्रमाणद्वारा पुष्टि गरी प्रमाणित गराउन असमर्थ हुने ब्यक्ति दण्डको भागीदार भई दाण्डिक दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था हुँदैन । प्रतिवादीहरूले वादीको इज्जत, मान, प्रतिष्ठामा आघात पुग्ने गरी रामबहादुर बि.क.संग करणीमा बिग्री पोइल गएकी भनी अंश मुद्दा तथा गाली बेइज्जती मुद्दामा फिराएको प्रतिउत्तर लेखको ब्यहोराबाट स्पष्ट देखिएको हुँदा प्रतिवादीहरूले लिखित गाली बेइज्जती गरेको ठहर्छ । लिखित गाली बेइज्जती गरेको ठहरेको हुँदा गाली र बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम प्रतिवादीहरूलाई रु.५०००। जरीवाना हुने ठहर्छ । वादी दावी नपुग्ने ठहर गरेको शुरू म्याग्दी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बाग्लुङ्गको मिति २०६१।१०।१८ को फैसला मिलेको नदेखिदा उल्टी हुन्छ । अरु तपसीलबमोजिम गर्नू 

तपसील

 

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, बाग्लुङको फैसला उल्टी भई प्रतिवादीहरूलाई गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम रु.५०००।जरीवाना हुने ठहरेकोले लगत कसी असूलउपर गर्नु भनी म्याग्दी जिल्ला अदालतमा लेखी पठाइदिनू.. ….

 

प्रतिवादीहरू         जरिवाना रु.

बलिमाया छन्त्याल   ४५४।५५

तकमती छन्त्याल    ४५४।५५

तमबहादुर छन्त्याल  ४५४।५५

भक्त छन्त्याल       ४५४।५५

मीनबहादुर छन्त्याल  ४५४।५५

भीमप्रसाद छन्त्याल  ४५४।५५

रामबहादुर छन्त्याल  ४५४।५५

खड्गी छन्त्याल     ४५४।५५

खीमबहादुर छन्त्याल ४५४।५५

यीमबहादुर छन्त्याल  ४५४।५५

समबहादुर छन्त्याल  ४५४।५५

 

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू–––­­­

 

उक्त रायमा म सहमत छु 

 

न्या.रणबहादुर बम

 

ईति संवत् २०६६ साल माघ २० गते रोज ४ शुभम्

 

इजलास अधिकृतदीपक ढकाल