निर्णय नं. ८३५२ – भ्रष्टाचार ।
निर्णय नं. ८३५२ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६३ CR––०१५८...
निर्णय नं. ८३५२ ने.का.प २०६७ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
संवत् २०६३ CR––०१५८
फैसला मितिः २०६६।४।२७।३
मुद्दाः भ्रष्टाचार ।
पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वार्ड नं. ४ कञ्चनवारी हिमालीटोल बस्ने राधाप्रसाद घिमिरे
विरुद्ध
बिपक्षी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत कोमलबहादुर खत्रीको प्रतिवेदनले नेपाल सरकार
§ आफूले नियमित रुपमा गर्नुपर्ने कार्य र पूरा गर्नुपर्ने पदीय जिम्मेवारी स्वाभाविक रुपले कर्तव्यनिष्ठ भै इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा Malafied Intention राखी रोक्का रहेको जग्गालाई रोक्का छैन भनी उल्लेख गरिदिएको कारणबाट रमादेवी गौतमको नाममा हस्तान्तरण भएको जग्गा र सो जग्गा कृषि विकास वैंकको सूचना पत्रबमोजिम आफैले सकार गरेको स्थितिबाट रमादेवी गौतमलाई गैरकानूनी हानि नोक्सानी हुन गएको अवस्थामा निजको कार्यबाट उत्पन्न परिणाम समेतका आधारमा निजको कार्य वदनियतपूर्ण रहेभएको मान्नुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी
विपक्षी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता प्रेमराज कार्की
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको मोरङ जिल्ला साविक बखरी गा.वि.स.वडा नं. ८(क) को कित्ता नं. ३५९ को क्षेत्रफल ०–१–१२–५ भएको जग्गा र सो जग्गामा बनेको घर कृषि विकास बैंक, मोरङले धितो लिई कर्जा प्रवाह गरी कृषि विकास बैंकको पत्रबमोजिम मालपोत कार्यालय मोरङले रोक्का राखिरहेको अवस्थामा रोक्का छैन भनी मेरो नाममा राजीनामाको लिखित पारित गरी दिने मालपोत कार्यालयका कर्मचारीहरूलाई कारवाही गरी क्षतिपूर्ति दिलाई पाऊँ भन्ने समेत व्यहोरा रहेको रमादेवी गौतमको उजूरी निवेदन ।
लोकसेवा आयोगबाट सिफारिश भई बिभिन्न कार्यालयमा कामकाज गर्दै २०५२ सालदेखि २०५५ साल कार्तिकसम्म मालपोत कार्यालय मोरङमा कार्यरत थिए । हाल जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत छु । मिति २०५२।६।२ मा म मालपोत कार्यालय, मोरङको रोक्का फाँटमा कार्यरत रहँदा पारित हुन आएका लिखतहरूको रोक्का भिडाउने, बिभिन्न कार्यालयहरूबाट रोक्का राख्न भनी आएका पत्रबमोजिम रोक्का राख्ने तथा फुकुवा भनी लेखी आएको अवस्थामा फुकुवा गर्ने कार्य गर्दथे । नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको मोरङ जिल्ला बखरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ३५९ को जग्गा ०–१–१२.५ कृषि विकास बैंक मोरङबाट रोक्का रहिरहेको अवस्थामा रोक्का छैन भनी मिति २०५२।६।२ को राजीनामाको कागजको पुछारमा भएको सही मैले नै गरेको हुँ । त्यसबेलाको भिडभाडको अवस्थाले बखरी गा.वि.स. को ठेलीबाट रोक्का भिडाउनु पर्नेमा गल्तीको कारणले उक्त ठेलीबाट रोक्का नभिडी विराटनगरको ठेलीबाट पनि भिड्न भिडाउनु पर्नेमा गल्तीको कारणले उक्त ठेलीबाट रोक्का नभिडी बिराटनगरको ठेलीबाट पनि भिड्न सक्ने हुँदा उक्त व्यक्तिको नाममा रोक्का छैन भनी प्रमाणित भई गएको हुनसक्छ । दृष्टि पुग्न नसकी कर्यबोझले गर्दा रोक्का प्रमाणित भएको हुनसक्छ । बखरी गा.वि.स. को ठेली हेरी भिडाउनु पर्नेमा विराटनगरको ठेलीबाट परेकोले भूलबाट गल्ती भई रोक्का प्रमाणित भएको हुने हुँदा मैले जानी–जानी आफ्नो हातै काटेर त्यसरी रोक्का भिडाएको अवश्य होइन । भूलबाट त्यस्तो हुन गएको हो । गल्तीको लागि क्षमा चाहन्छु । तत्कालीन जग्गाधनीले कृषि विकास बैंकबाट ऋण लिएको कुरा भन्दै नभनी जानकारी नै नगराई भिडभाडमा झुक्याई लिखत पारित गरेका हुन् । रोक्का रहेको जग्गा रोक्का नभएको भनी प्रमाणित भई राजीनामा पारित भएको कुरा मैले २०५६ जेष्ठ तिर थाहा पाएको हुँ । उक्त जग्गा बिक्री गर्ने नन्दकुमारी पराजुलीसंग मेरो कुनै नाता पर्दैन र चिनजान समेत छैन । रमादेवी गौतमको नाममा पारित भएको मिति २०५२।६।२ को राजीनामाको लिखतको पुछारमा रोक्का छैन भनी मैले गरेको दस्तखत नदेखिने गरी कसले प्वाल पार्यो मलाई थाहा छैन । लिखत पारित भएपछि लिखत फाँटमा नरहने, तामेली फाँटमा रहने भएकोले च्यातिएको र प्वाल परेको विषयमा मलाई जानकारी भएन । रोक्का छैन भनी मैले नै सही गरेको हुँ । कृषि विकास बैंक मोरङबाट रोक्का राखिएको सो घर जग्गा रोक्का छैन भनी प्रमाणित गर्नुको कारण भने राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय रानी शाखाको च.नं. ६७३८ मिति २०५१।२।२९ को पत्रबाट फुकुवा ल्याई फुकुवा जनिएको देखिएको र कृषि विकास बैंकबाट पनि रोक्का छ भन्ने थाहा नपाएर रोक्का छैन भनी प्रमाणित भै गएको हो, जानी जानी गरेको होइन । रोक्का भएको जग्गा रोक्का छैन भनी प्रमाणित गर्न मलाई कतैबाट दवाव आएको थिएन । मैले लोभलालचमा फसी रोक्का प्रमाणित गरेको पनि होइन । दैनिक २०० देखि २५० सम्मको लिखतहरूको रोक्का भिडाउनु पर्ने हुँदा दृष्टि पुग्न नसकी रोक्का प्रमाणित भई गएको हो । पेन्सन पाकेको जागीरलाई धक्का लगाई बालबच्चाको पेटमा लात मार्ने काम मबाट भएको छैन । भिडभाडको कारणबाट रोक्का भएको जग्गा दृष्टि पुग्न नसकी गल्ती भई रोक्का छैन भनी प्रमाणित भै गएको स्वीकार गर्दछु । गल्ती भै काम भएकोमा एकपल्टलाई माफी चाहन्छु भन्ने समेतको प्रतिवादी राधाप्रसाद घिमिरेले अनुसन्धानको क्रममा गरेको बयान ।
मोरङ जिल्लाको साविक बखरी गा.वि.स. ८(क) को कि.नं. ३५९ को ०–१–१२.५ जग्गा र सोमा बनेको घर मेरो नाममा थियो । सो घर जग्गा २०५२ सालमा नै बिक्री भएको भन्ने जानकारी मलाई पछिमात्र थाहा भयो । मेरो जेठो छोरा लक्ष्मीप्रसादले सबै काम कुरा गर्ने हुँदा कहिले मलाई कागज गराई बिक्री गरे यकीन छैन । घरमा नै कागजपत्र ल्याई मलाइ सही गर्न लगाउथे, के कागजमा सही गरे मलाई याद छैन । सो जग्गा कृषि विकास बैंकमा धितोमा राखी ऋण लिएको कुरा मलाई थाहा छैन । सबै काम जेठो छोराले नै गर्ने हुँदा के कसरी बिक्री गर्यो मलाईथाहा छैन । मेरो नाममा घर जग्गा भएकोले कागजमा सहीछाप गरेकोसम्म हो । म कृषि विकास बैंक गएको पनि छैन । छोराले मलाई कुन कागजमा सही गराए थाहा छैन । ऋण लिएको कुरा छोराले कहिल्यै भनेको पनि थिएन । रोक्का रहेको जग्गा बिक्री भएको समेत मलाई थाहा भएन । २०५५ सालतिर मेरो श्रीमानको मृत्यु भएपछि २०५७ सालतिर मात्र उक्त घर छोडी म अन्यत्र दिदी वहिनीकोमा बस्न थाले । आफू एक्लो भएकोले मात्र घर छोडेकी हुँ । मैले घर छोडेपछि मात्र रमादेवी गौतमहरू आई उक्त घरमा बसेका भन्ने सुनेकी हुँ । जेठो छोरा लक्ष्मीप्रसाद पराजुली कहाँ छ थाहा छैन । घर छोडेर हिंडेको ७।८ बर्ष भयो । उसका परिवारहरू माइत दमकमा बस्दछन् । रमादेवी गौतमलाई म चिन्दिन । निजसंग घरसारमा कुनै कागज गरेको पनि छैन । मालपोत कार्यालय, मोरङका तत्कालीन कर्मचारीहरू पनि कोही चिन्दिन । घर जग्गा बिक्री गर्ने सिलसिलामा पनि मेरो कुनै कर्मचारीसंग चिनजान भएन । घर जग्गा बिक्री भएको नै पछि थाहा पाएँ । मलाई एउटा कागजमा सही गर्न घरमा नै ल्याएको थियो के कागज हो जानकारी भएन । सबै काम छोरा लक्ष्मीप्रसादले गर्ने भएकोले मलाई थाहा नभएको हो । मैले घर जग्गा बिक्री गर्न कुनै कर्मचारीलाई रकम दिएको पनि छैन । घरजग्गा बिक्री भएको कुरा नै पछि थाहा पाएको हुँ भन्ने समेतको प्रतिवादी नन्दकुमारी पराजुलीले अनुसन्धानको क्रममा गरेको बयान ।
मोरङ मालपोत कार्यालयमा २०५२ सालमा करिब १ बर्ष कार्यरत रहें । नन्दकुमारी पराजुलीको नाममा दर्ता भएको मोरङ जिल्ला साविक बखरी गा.वि.स. को कित्ता नं. ३५९ जग्गा र सोमा बनेको घर मिति २०५२।६।२ मा रमादेवी गौतमले खरीद गरी मालपोत कार्यालय मोरङबाट गरिदिएको राजीनामाको लिखतमा भएको हस्ताक्षर मेरै हो । सम्झना भएसम्म उक्त जग्गा खरीद बिक्री हुँदाको बखत लिने दिने दुबै व्यक्ति कार्यालयमा उपस्थित भई खरीद बिक्री कार्य गरेको हो । उक्त लिखत मोठ फाँटबाट खरीदार दिव्यराज रेग्मीले मोठ कायम छ भनी गरिदिएको सही, रोक्का फाँटमा खरीदार राधाप्रसाद घिमिरेले उक्त कि.नं. को जग्गा रोक्का छैन भनी गरिदिएको सही, रजिष्ट्रेशन फाँटका खरीदार सुरेश चापागाई तथा नायवसुव्वा यादव पोखरेलले सनाखत गराई लाग्ने राजश्व लिई गरिदिएको सही, लालपूर्जा, तिरो तिरेको रसिद आदि समेत आवश्यक कागजातका आधारमा उक्त लिखत पारित गरिदिएको हुँ । के आधारमा सो जग्गा बिक्री गर्ने नन्दकुमारी पराजुलीले कार्यालयमा म गएको छैन भनी भनेकी हुन् मलाई थाहा भएन । सम्बन्धित फाँटमा कार्यरत कर्मचारी स्वयंम् नै जिम्मेवारी हुने भएकोले के आधारमा रोक्का भएको जग्गा रोक्का छैन भनी फाँटवालाले सही गरे सोको सम्पूर्ण जिम्मा निजले नै लिनु पर्दछ । मालपोत कार्यालयको ऐन, नियम, प्रचलन समेतका आधारमा मैले पदीय जिम्मेवारी अनुसार नै काम गरेको छु । रोक्का फाँटका फाँटवाला राधाप्रसाद घिमिरेले रोक्का रहेको जग्गा वारे जानकारी नगराई नियतवश रोक्का छैन भनी सहिछाप गरिदिएको कारणले उक्त कि.नं. को जग्गा बेचबिखन भएको हो । मालपोत कार्यालय, मोरङले मिति २०५२।६।२ मा नन्दकुमारी पराजुलीबाट रमादेवी गौतमको नाममा राजीनामा पास गराएको लिखतको पुछारमा भएको जग्गा रोक्का छैन भनी गरेको हस्ताक्षर निज राधाप्रसाद घिमिरेले बदनियतसाथ आफ्नो गल्ती छुपाउन प्वाल पारेका हुन सक्छन् किनभने निज रोक्का फाँटबाट तामेली फाँटमा सरुवा भएको र फाइल पनि तामेली फाँटमा रहेको हुँदा नियतवश निज घिमिरेले नै प्वाल पारेका हुन् । रोक्का फाँट, मोठ फाँट, रजिष्ट्रेशन फाँटबाट हस्ताक्षर भई रुजु गरेपछि मात्र मालपोत अधिकृतको हैसियतबाट आवश्यक कागज प्रमाणहरूको आधारमा उक्त लिखत पारित गरिदिएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम मलाई कारवाही गर्नुपर्ने होइन भन्ने तत्कालीन मालपोत अधिकृत पशुपति खतिवडाले अनुसन्धानको क्रममा गरेको वयान ।
मालपोत कार्यालय मोरङको रोक्का फाँट र मोठ फाँटमा २०५२।२ देखि २०५४।१० सम्म र २०५५।४ देखि २०६०।९ सम्म गरी २ पटक कार्य गरेको थिएँ । जिल्ला मोरङ बखरी गा.वि.स.को वडा नं. ८(क) को कि.नं. ३५९ को नन्दकुमारी पराजुलीको नाउँको घर जग्गा कृषि बिकास बैंक विराटनगरबाट रोक्का भएको अवस्थामा २०५२।६।२ मा रमादेवी गौतमको नाममा राजीनामा पारित गरेको र सो लिखतमा रोक्का नभएको भनी प्रमाणित गरेको सन्दर्भमा भने म सो बखत रोक्का ठेली सार्ने काममा रहेको थिए । मैले रोक्का भिडाएको होइन । राजीनामा पत्रको कागजमा भएको हस्ताक्षर मेरो नभएकोले सजाय पाउनु पर्ने होइन भन्ने तत्कालीन मालपोत कार्यालय मोरङका कर्मचारी दिनेश बस्नेतले अनुसन्धानको क्रममा गरेको वयान ।
२०५२।१।१९ देखि २०५३।१।३० सम्म मालपोत कार्यालय, मोरङको रजिष्ट्रेशन, रोक्का र गुठी फाँटमा रही काम गरेको हुँ । मोरङ जिल्ला साविक बखरी गा.वि.स. वडा नं. ८(क) कित्ता नं. ३५९ को जग्गा र सोमा बनेको घर समेत बिक्री गर्ने सिलसिलामा रोक्का भिडाउने कार्य मबाट भएको होइन । बिक्री भएको राजीनामाको लिखतमा रोक्का भएको हस्ताक्षर मेरो होइन । मलाई सजाय गर्न मिल्ने होइन भन्ने मालपोत कार्यालय, मोरङका तत्कालीन कर्मचारी जयन्द्रराज रेग्मीले अनुसन्धानको क्रममा गरेको बयान ।
म रमादेवी गौतमको एकाघरको छोरा हुँ । मोरङ जिल्ला साविक बखरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ३५९ को घर जग्गा २०५२।६।३ देखि हाम्रो भोगचलनमा छ । उक्त जग्गा र घरको मालपोत, धारा, बिजुली आदिको महसुल हामी आफै बुझाउँदै आएका छों । जग्गा खरीद बिक्री हुने दिन बिक्रीकर्ता र खरीदकर्ता दुबै मालपोत कार्यालयमा आई खरीद बिक्री भएको हो । पूर्व जग्गाधनी नन्दकुमारी पराजुलीसंग हाम्रो कुनै चिनजान र नाता पनि पर्दैन । सो घर जग्गा बिक्री भएको मितिबाट दुई तीन महिनापछि खाली गरिदिने शर्तमा किनबेच भएको हो । सो अवधिपश्चात् हामीले अविरल रुपमा भोग गर्दै आइरहेका छौं हालसम्म कायम छ । बिक्रीकर्ता नन्दकुमारी पराजुलीले उक्त घर जग्गामा २०५७ सालसम्म म आफैले भोग गरी बसेको हुँ भनी के आधारमा भन्नुभयो मलाई थाहा छैन । कृषि बिकास बैंक, वैकिङ कार्यालय विराटनगरलाई डुवाउने उद्देश्यले पूर्व जग्गाधनी नन्दकुमारी पराजुली र हाम्रो बीच खिचोला उत्पन्न गराएको होइन । हाम्रो कुनै मिलोमतो पनि छैन । मालपोत कार्यालय मोरङलाई साक्षी राखी उक्त घर जग्गा खरीद गरेको हुँदा बैंकलाई डुवाउने प्रश्नै छैन । रोक्का भएको जग्गा रोक्का छैन भनी फटाई गर्ने कर्मचारी र अर्कोको स्रेस्ता भएको जग्गा लिलाम गर्ने बैंक दुबैलाई कारवाई गरिपाऊँ भन्ने समेत मिति २०६२।४।२० रमादेवी गौतमको एकाघरका छोरा प्रकाश गौतमले अनुसन्धानको क्रममा गरेको बयान ।
राष्ट्रिय वाणिज्य बैंक, रानीशाखा मोरङमा उपरोक्त घर जग्गा धितो राखी कर्जा लिई मालपोत कार्यालय, मोरङबाट रोक्का भइरहेको घर जग्गा वद्नियतपूर्वक नक्कली फुकुवा पत्र बनाई फुकुवा गरी पुन कृषि विकास बैंक वैकिङ कार्यालय, विराटनगरबाट सोही घर जग्गा धितो राखी कर्जा लिई कृषि विकास बैंकको पत्रबमोजिम मालपोत कार्यालय मोरङबाट रोक्का भईरहेको अवस्थामा पनि सोही कार्यालयका रोक्का फाँटका फाँटवाला खरीदार राधाप्रसाद घिमिरेसंग मिलोमतो गरी “रोक्का छैन” भनी प्रमाणित गरी गराई पुनः सोही घर जग्गा रमादेवी गौतमलाई रु. ८ लाखमा बिक्री गरी आफूहरूलाई फाइदा र बैंकलाई नोक्सानी पुर्याएको देखिएको र निजहरूबाट भएको उपरोक्त कसूर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र २९ हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम सजाय हुने कसूर हुनाले उल्लिखित ऐनबमोजिम नन्दकुमारी पराजुली र निजका छोरा लक्ष्मीप्रसाद पराजुलीलाई हदैसम्म सजाय गरिपाऊँ ।
मालपोत कार्यालय मोरङका रोक्का फाँटका फाँटवाला खरिदार राधाप्रसाद घिमिरेले मालपोत कार्यालय मोरङमा रोक्का कायम भइरहेको उपरोक्त घर जग्गा, घर जग्गा धनी नन्दकुमारी पराजुली र निजका छोरा लक्ष्मीप्रसाद पराजुलीसंग मिलोमतो गरी रोक्का छैन भनी वद्नियतपूर्वक प्रमाणित गरी दिएको र रमादेवी गौतमको नाममा रु. ८ लाखमा राजीनामाको लिखत पारित गरी बिक्री गरी सकेपछि रोक्का छैन भनी आफूले नियतवस गरेको कार्यलाई ढाकछोप गर्न मिति २०५२।६।२ मा रमादेवी गौतमको नाममा मालपोत कार्यालय मोरङबाट पारित भएको राजीनामाको लिखतको पुछारमा भएको रोक्का छैन भनी आफैले हस्ताक्षर गरेको भागलाई निज राधाप्रसाद घिमिरेले नै प्वाल पारी च्याती आफू बच्ने दुष्प्रयास गरी आफू, नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीलाई गैरकानूनी फाइदा र बैंक समेतलाई गैरकानूनी नोक्सान पुर्याएको देखिएको र निजबाट भएको उपरोक्त कसूर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) बमोजिमको कसूर हुनाले उक्त ऐनबमोजिम निज राधाप्रसाद घिमिरेलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने आरोपपत्र मागदावी ।
म मालपोत कार्यालय, मोरङमा काज दरवन्दीमा खरीदार पदमा रोक्का फाँटमा कार्यरत थिएँ र रोक्काका लागि आएका लिखितहरू रोक्का भिडाउने, बिभिन्न वैंकबाट आएका चिठ्ठीपत्रहरू फाइलिङ गर्ने, रोक्का फुकुवा गर्ने आदि गर्थे, दैनिक २५० देखि ३०० सम्म लिखत पारित हुन आउने हुँदा ठूलो भिडको फाइदा उठाई ऋणीले जग्गा रोक्का छ भन्ने कुरा कर्मचारी र अड्डालाई जानकारी नगराई झुक्याई लिखित पारित गराएको हो । मैले प्रमाणित गरेको लिखतको पुच्छारमा रहेको “रोक्का छैन” भन्ने शब्द च्यातिएको छ त्यसमा रोक्का फाँटबाट प्रमाणित भएपछि लिखत रोक्का फाँटमा नरहने अन्य फाँटमा जाने हुँदा उक्त लिखतमा के भएको छ भन्ने मलाई थाहा हुँदैन र मैले कुनै लिखतमा प्वाल पार्ने च्यात्ने काम गरेको छैन । उक्त लिखत रोक्का ठेलीसंग भिडाउदा राष्ट्रिय वाणिज्य बैँक रानीशाखा, विराटनगरको पत्रले फुकुवा जनिएको देखिंदा अन्यत्रबाट पनि रोक्का होला भन्ने जानकारी नहुँदा मबाट भूलले रोक्का प्रमाणित भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी राधाप्रसाद घिमिरेले यस अदालतमा गरेको वयान ।
प्रतिवादी राधाप्रसाद घिमिरेलार्ई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०४९ को दफा ७(घ) बमोजिम रु.२०,०००।– नगद धरौट वा सो वापत जेथा जमानत दिए लिई तारेखमा राख्नु यदि दिन नसके कानूनबमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने समेत व्यहोराको विशेष अदालतको मिति २०६२।६।५ को आदेशानुसार निजले नगदै धरौट दाखिल गरी तारेखमा रहेको ।
आरोप पत्रमा उल्लिखित ठेगानामा प्रतिवादीहरू लक्ष्मीप्रसाद पराजुली र नन्दकुमारी पराजुलीको नामको म्याद वेपत्ते तामेल भै आएको देखिंदा निजहरूको नाममा विशेष अदालत ऐन, २०५९ को दफा १०(९) बमोजिम राष्ट्रिय स्तरको दैनिक नेपाली समाचार पत्रमा सूचना प्रकाशित गर्नु भन्ने समेत व्यहोराको मिति २०६२।९।१ का आदेशानुसार प्रतिवादीहरू नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीका नाउंमा मिति २०६२।१०।१७ र १८ गतेको गोरखा पत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिदिनु भन्ने सूचना समेत संलग्न राखी गोरखापत्र संस्थानमा विशेष अदालतको च.नं. १९९१ मिति २०६२।१०।१४ को पत्रद्वारा पठाइएको मिति २०६२।१०।१७ र १८ गतेको गोरखापत्र दैनिक पत्रिकामा उक्त सूचना प्रकाशित भएको रहेछ ।
यसमा मिसिल संलग्न तथ्य र प्रमाणबाट प्रतिवादी राधाप्रसाद घिमिरे, नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीले वैंकको अनुरोधमा रोक्का रहेको जग्गालाई रोक्का नरहेको भनी बिक्री गरी अभियोगपत्र दावीबमोजिम कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्र. राधाप्रसाद घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ र २९ बमोजिम र प्र. नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीलाई सोही ऐनको दफा ८ र २९ बमोजिम जनही रु. ३०००।– जरीवाना हुन्छ भन्ने समेत बेहोराको विशेष अदालत काठमाडौको मिति २०६३।२।१२।२ को फैसला ।
म पुनरावेदक तत्कालीन समयमा मालपोत कार्यालय मोरङमा रोक्का फाँटमा कार्यरत रहेको र टोकन लागी आएका लिखतहरू रोक्का भिडाउने कार्य गर्नुपर्ने दैनिक २५० देखि ३०० सम्मका लिखत पारित हुन आउने र भिडभाडमा भूल हुन गई कृषि विकास वैंकबाट रोक्का रहेको साविक बखरी गा.वि.स. वार्ड नं. ८(क) कि.नं. ३५९ को घर जग्गा रोक्का छैन भनी लेखिन गएको हो भनी मैले इमानदारीपूर्वक गरेको वयानलार्ई मध्यनजर नगरी काम गर्दा भएको सामान्य गल्तीलाई भ्रष्टाचार जस्तो कसूरमा सजायको भागी वनाइनु कानूनसम्मत हुँदैन । निजामती कर्मचारीले कामको सिलसिलामा गरेको गल्ती भूलबाट कुनै गलत काम हुन पुगेको रहेछ भने पनि प्रचलित ऐन नियम निजामती ऐन नियमबमोजिम बिभागीय सजायसम्म हुने कुरालाई भ्रष्टाचार जस्तो गम्भीर अपराध ठहराई रु.३,०००।– जरीवाना गरेको हदसम्म विशेष अदालतको फैसला त्रुटीपूर्ण र गैरकानूनी रहेको भएको हुँदा सो हदसम्म उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्र. मध्येका राधाप्रसाद घिमिरेको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा १ मा भ्रष्टाचारजन्य अपराध ठहर्याउन वदनियतको अनिवार्यता उल्लेख भएको र यसै परिप्रेक्ष्यमा नेकाप २०५४, अङ्क १०, पृष्ठ ५५३, नि.नं. ६४६८ मा प्रतिपादित सिद्धान्तअनुरूप यी पुनरावेदकको वदनियत रही निज पुनरावेदकलाई प्रत्यक्ष लाभ भएको भन्ने मिसिल संलग्न सवुद प्रमाणबाट पुष्टी नभएको अवस्थामा कसूरदार ठहर्याई सजाय गर्ने गरेको विशेष अदालत काठमाडौको निर्णय फरक पर्ने देखिंदा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको आदेश ।
नियम बमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता वसन्तराम भण्डारीले नन्दकुमारी नामदर्ताको मोरङ बखरी गा.वि.स. वार्ड नं. ८(क) कि.नं. ३५९ को घर जग्गा मिति २०५०।११।२७ मा रा.वा. वैं रानी बैंक रानीशाखाबाट हेमन्त स्टोर्ससंगको कारोवारमा रोक्का राखी मिति २०५५।११।२७ मा फुकुवा गरिएको र सोही मितिमा पुनः कोल्याटार धितो दि रोक्का राखी २०५१।२।२६ मा फुकुवा भएको अवस्था छ । २०५१।३।१२ मा पुनः लक्ष्मीप्रसाद पराजुलीले कृषि विकास वैंकमा धितो राखेकोमा सो जग्गा २०५६।६।२ मा नन्दकुमारीले रमादेवी पराजुलीलाई बेच्ने क्रममा मालपोत कार्यालयको रोक्का फाँटमा रोक्का भिडाउँदा भिडभाडको कारण तथा पहिले पनि पटक–पटक रोक्का फुकुवा भैसकेको हुँदा ध्यान नपुगेर भूलबाट गल्ती भै रोक्का छैन भनी प्रमाणित हुन पुगेको भनी मेरो पक्ष पुनरावेदकले अनुसन्धानको क्रममा र अदालतमा समेत वयान गरेको अवस्था छ । जानजान वदनियत राखी भ्रष्टाचारजन्य कसूर गरेको नभै मानवीय त्रुटिवश त्यस्तो व्यहोरा प्रमाणित हुन पुगेको कार्य भ्रष्टाचारको कसूर अन्र्तगत पर्ने होइन । सामान्य गल्तीलाई भ्रष्टाचार जस्तो कसूरमा सजायको भागिदार वनाइनु हुँदैन । निजामती कर्मचारीले कामको सिलसिलामा गरेको गल्ती भूलबाट कुनै गलत काम हुन पुगेको रहेछ भने प्रचलित निजामती ऐन, नियमबमोजिम बिभागीय कारवाही हुन सक्ने कुरालाई भ्रष्टाचार जस्तो गम्भीर अपराधमा सजाय गरेको नमिलेको हुँदा ने.का.प. २०५३ नि.नं. ६२८६, अंक ११ पृष्ठ ७८४ तथा ने.का.प. ०५४ नि.नं. ६४४८ अंक १० पृष्ठ ५५३ मा प्रकाशित कानूनी सिद्धान्त समेतका प्रतिकूल हुने गरी विशेष अदालत काठमाडौबाट फैसला भएको हुँदा उक्त फैसला वदर गरी प्रतिवादीले सफाई पाउनु पर्दछ भन्नेसमेत वहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी नेपाल सरकारतर्फबाट विद्वान सहन्यायाधिवक्ता प्रेमराज कार्कीले प्रतिवादीले नै विवादित राजीनामामा कि.नं. ३५९ को जग्गा रोक्का छैन भनी प्रमाणित गरिदिएकोमा विवाद नहुँदा निजले मोठ स्रेस्तामा रोक्का जनिएको जग्गालाई रोक्का छैन भनी लिखतमा प्रमाणित गरिदिएको कार्य नै कसूरजन्य हो । त्यस्तोमा कार्य तत्वबाटै मनसाय तत्व र वद्नियत तत्व पत्ता लगाउनु पर्ने हुन्छ । त्यसो नभए क्रिया तत्व वदनियतबाट हो होइन सोको पहिचान हुनुपर्दछ । प्रतिवादी राधा प्र. घिमिरे मालपोत कार्यालय मोरङको रोक्का फाटको रेकर्ड भिडाई जग्गा रोक्का राख्ने वा फुकुवा गर्ने जिम्मेवारी प्राप्त कर्मचारी भएकोमा निजले प्रतिवादी नन्दकुमारी र निजको छोरा लक्ष्मीप्रसादसंग मिली विधिवत श्रेस्तामा रोक्का रहेको जग्गालाई रोक्का नभएको भनी लिखतमा उल्लेख गरिदिएको कार्य आफैमा वदनियतपूर्ण भै सोबाट प्रतिवादीहरूलाई गैरकानूनी फाइदा पुगेको र जग्गा धितो लिई रोक्का राख्ने बैँक समेतलाइ गैरकानूनी नोक्सान पुगेको अवस्था हुँदा प्रतिवादीहरूलाई दावीबमोजिम सजाय गरेको विशेष अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्नेसमेत वहश जिकीर प्रस्तुत गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूको उपरोक्त वहस जिकीर सुनि मिसिल संलग्न कागजात प्रमाणहरू अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा विशेष अदालत काठमाडौको मिति २०६३।२।२२ को फैसला मिलेको छ छैन र प्रतिवादी मध्येका पुनरावेदक राधा प्रसाद घिमिरेको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ बिचार गर्दा कृषि विकास बैँक शाखा कार्यालय विराटनगरमा धितो राखी मालपोत कार्यालय विराटनगरमा रोक्का रहेको अवस्थामा प्रतिवादी नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको जिल्ला मोरङ बखरी गा.वि.स. वार्ड नं. ८(क) कि.नं. ३५९ को घर जग्गा उक्त मालपोत कार्यालयका रोक्का फाँटका फाँटवाला खरीदार राधाप्रसाद घिमिरेसंग मिलेमतो गरी “रोक्का” छैन भनी प्रमाणित गरि गराई पुनः सोही जग्गा राधादेवी गौतमलाई रु. ८ लाखमा बिक्री गरी आफूहरूलाई फाइदा र वैकलाई नोक्सानी पुर्याई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र २९ हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम सजाय हुने कसूर गरेको हुनाले नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीलाई सोही दफाबमोजिम सजाय तथा निज राधाप्रसाद घिमिरेले मालपोत कार्यालयमा रोक्का कायम भइरहेको उपरोक्त घर जग्गा जग्गाधनी र निजको छोरा लक्ष्मीप्रसाद पराजुलीसंग मिलेमतो गरी रोक्का छैन भनी वदनियतपूर्वक प्रमाणित गरिदिएको र सोबमोजिम राजीनामा लिखत पारित भै सकेपछि आफूले नियतवस गरेको कार्यलाई ढाकछोप गर्न पारित राजीनामा पुछारमा भएको आफैले हस्ताक्षर गरेको भागलाई प्वाल पारी च्याती आफू बच्ने दुष्प्रयास गरी आफू, नन्दकुमारी पराजुली र लक्ष्मीप्रसाद पराजुलीलाई गैरकानूनी फाइदा र वैक समेतलाई गैरकानूनी नोक्सान पुर्याई सावीक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) बमोजिम कसूर गरेको हुँदा सोही बमोजीम सजाय गरिपाऊँ भन्ने अभियोग मांग दावी रहेको देखिन्छ । जग्गाधनीहरूले जग्गा रोक्का छ भनी नभनेको र कार्य बोझको कारणले गर्दा रोक्का छैन भनी लेखिन गएको हो रोक्का छैन भनी आफूले नै प्रमाणित गरेको हो । आफूले गरेको उक्त कार्य खराव आसयबाट नभएर कामको चापको कारणबाट भूलवस हुन पुगेको हुँदा दावी बमोजीम सजाय पाउनु पर्ने होइन भन्ने समेत यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर रहेको छ ।
३. प्रस्तुत मुद्दामा प्रतिवादीमध्येकी नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको विवादित कि.नं. ३५९ को जग्गा मालपोत कार्यालय मोरङ विराटनगरको च.नं. १०१६५ मिति २०५१।३।१२ को पत्रद्वारा कृषि विकास वैंकको नाममा रोक्का रहेकोमा विवाद देखिदैन । उक्त विवादित जग्गा कृषि विकास बैँक विराटनगरबाट ऋण लिएवापत धितो राखी रोक्का राखिएको र रोक्का कायमै रहेको अवस्थामा सो व्यहोरा गुम पारी मालपोत कार्यालय विराटनगरका रोक्का फाँटका कर्मचारी खरीदार यी पुनरावेदकले रोक्का छैन भनी लिखतमा जनाई गलत व्यहोरा प्रमाणित गरिदिएको कारणबाट नै मिति २०५२।६।२ मा रमादेवी गौतमको नाममा विवादित राजीनामा लिखत रजिष्ट्रेशन पारित हुन पुगेको हो भन्नेमा पनि द्विविधा देखिदैन ।
४. यी पुनरावेदक प्रतिवादीले आफूबाट भएको उक्त कार्य खराव आसयबाट नभएर कामको चापका कारण भूलवस त्यस्तो हुन गएको भनी जिकीर लिए सम्बन्धमा बिचार गर्दा यी प्रतिवादी मालपोत कार्यालय विराटनगरका खरीदार पदमा कार्यरत रहेको र आफ्नो काम जग्गाको अभिलेख राख्ने जग्गा रोक्का रहे नरहेको व्यहोरा सम्बन्धित कागजातमा उल्लेख गरी सही सूचना दिने हो भन्ने समेत कुरालाई यी प्रतिवादीले आफ्नो वयान कागजमा स्वीकार गरेको देखिन्छ । आफ्नो विवादित कि.नं. ३५९ को जग्गालाई रोक्का भिडाउन पेश भएको विवादित राजीनामा लिखतमा जग्गा रोक्का छैन भनी गलत व्यहोरा जनाएको र त्यसरी रोक्का रहेको जग्गालाई रोक्का नरहेको भनी गलत व्यहोरा जनाउनु पर्ने सम्मको ठोस र तर्कसंगत कारण पेश गरी त्यस्तो वाध्यात्मक परिस्थिति सिर्जना भएको कुरा तथ्ययुक्त प्रमाणबाट पुष्ट्याई गर्न सक्नुपर्नेमा सो केही गर्न नसकी राष्ट्रिय वाणिज्य बैंक रानी शाखा विराटनगरको पत्रले फुकुवा जनिएको अन्यत्रबाट पनि रोक्का होला भन्ने जानकारी नहुँदा आफूबाट भूलवस त्यस्तो रोक्का प्रमाणित भएको हो भनी प्रतिरक्षा जिकीरसम्म लिएको देखियो ।
५. यसमा विवादित कि.नं. समेत समावेश भएको बखरी गा.पं. को रोक्का अभिलेखको प्रतिलिपि हेर्दा सि.नं. १२७, १५८ मा नन्दकुमारी पराजुली नामदर्ताको विवादित कि.नं. ८(क)३५९ को घरजग्गा रा.वा.बैंक रानीको तर्फबाट रोक्का उक्त अभिलेखमा फुकुवा जनिई क्रमसंख्या समेतमा घेरा लगाई प्रमाणित गरिएको अवस्था देखिन्छ भने सोही अभिलेख पुस्तिकाको सि.नं. १३५ मा निज नन्दकुमारीको उक्त विवादित कि.नं. ३५९ को जग्गा कृषि विकास बैँक वैकिङ कार्यालय विराटनगरको तर्फबाट च.नं. १२४३ मिति २०५१।३।१२ को पत्रानुसार मिति २०५१।३।१५ मा रोक्का रहेको देखिन्छ । यसरी उक्त मालपोत कार्यालयको रोक्का पुस्तिकामा विधिवत् रोक्का कायम रहेको अवस्थामा सोही रोक्का कितावमा जनिएको अभिलेख हेरी रोक्का रहे नरहेको ब्यहोरा रोक्का भिडाउने प्रयोजनका लागि आफूसमक्ष आउने लिखतमा प्रमाणित गरिदिनु पर्ने कर्तव्य भएका मालपोत कार्यालयका रोक्का फाँटका तत्कालीन कर्मचारी यी पुनरावेदक प्रतिवादीले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न नसकेको कुरा विवादरहित रुपमा पुष्टि हुन आयो ।
६. अ.वं. आफूले गरेको कार्य वदनियतपूर्वक गरेको नभै भूलवस भएको हुँदा ने.का.प. ०५४ नि.नं. ६४४८ पृष्ठ ५५३ मा प्रतिपादित सिद्धान्तअनुरूप भ्रष्टाचारको आरोपबाट सफाई पाउनुपर्दछ भनी पुनरावेदकले लिएको जिकीर सम्बन्धमा उक्त नजीर अध्ययन गरी हेर्दा पुनरावेदक प्रतिवादी विष्णुप्रसाद पराजुलीसमेत र प्रत्यर्थी वादी श्री ५ को सरकार भएको उक्त मुद्दामा नेशनल ट्रेडिङ लिमिटेडका गोदाम किपरको जिम्मामा रहेको गोदाममा रहेका सामानहरू हिनामिना भई सोबाट कार्यरत संस्थानलाई हानि नोक्सानी हुन पुगेपनि गोदामका सामानहरू हराउन र नासिन सक्ने, सोको परिमाण तुरुन्तै थाहा नलाग्ने भई नपुग घटी सामानको विगो कानूनबमोजिम असूलउपर गर्न मिल्ने अवस्थाको देखिंदा बदनियतपूर्वक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कसूर गरेको तथ्य स्थापित नभएको अवस्था छ । तर प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी मालपोत कार्यालय विराटनगरका रोक्का फाँटका कर्मचारी रहेको र निजले आफू कार्यरत शाखाको रोक्का कितावमा विधिवत रोक्का जनिएको जग्गालाई आफूसमक्ष प्रमाणिकरणका लागि पेश गरिएको राजीनामा लिखतमा रोक्का छैन भनी गलत ब्यहोरा प्रमाणित गरिदिएको कारणबाट विवादित लिखत रजिष्ट्रेशन पारित हुन पुगेको र सोबाट उक्त जग्गा दृष्टिवन्धक रोक्का राख्न लगाई प्रतिवादी लक्ष्मीप्रसाद पराजुलीलाई ऋण प्रवाह गर्ने कृषि विकास बैंकलाई साथै उक्त जग्गा राजीनामा पारित गरिलिने रमादेवी गौतमलाई गैरकानूनी रुपमा हानि नोक्सानी पुगेको अवस्था विद्यमान हुँदा उल्लिखित नजीरसंग सम्बन्धित मुद्दाको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा एकरुपता नदेखिंदा उक्त नजीर यस मुद्दामा आकर्षित हुने देखिएन ।
७. अर्कोतर्फ विवादित राजीनामा लिखतको मालपोत कार्यालय विराटनगरवाट प्राप्त भै मिसिलसंलग्न रहेको सक्कल प्रति हेर्दा उक्त लिखतको रोक्का प्रमाणित गर्ने सम्बन्धी व्यहोरा जनाउने महलमा ८(क) कि.नं. ३५९ सम्म जनिएको र सोपछि सम्बन्धित कर्मचारीले दस्तखत गर्ने स्थानमा प्वाल पारिएको पाइन्छ । उक्त लिखत भएको सो प्वाल सम्बन्धमा प्रतिवादी राधाप्रसाद घिमिरेले रोक्का रहेको जग्गा रोक्का छैन भनी प्रमाणिकरण गरिदिएको कारण लिखत पारित हुन पुगेको र आफ्नो गल्ती छिपाउन लिखतमा पुछारमा लागेको सहिछापमा प्वाल पारेको हुँदा सो कार्य नियतवस गरेको हो भनी तत्कालीन मालपोत अधिकृत पशुपति खतिवडाले प्रतिवादीको वदनियतका वारेमा स्पष्ट पार्दै बयान गरेको पाइन्छ । प्रतिवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष बयान गर्दा उक्त राजीनामा लिखतमा रोक्का छैन भनी लेखिएको स्थानमा लेखिएको अङ्क अक्षर मेरै हो भनी स्वीकार गरेको र उक्त लिखतमा परेको प्वाल सम्बन्धमा बयान गर्दा पारित भएपछि लिखत रोक्का फाँटमा नरहने उक्त लिखत तामेली फाँटमा रहने गर्छ, च्यातिएको वा प्वाल परेको सम्बन्धमा मलाई केही थाहा छैन भन्ने उल्लेख गरेको पाइन्छ । निजले विशेष अदालतमा वयान गर्दा ऋणीले जानकारी नदिंदा नदिंदै पनि लिखत रोक्का ठेलीसंग भिडाएको हो भिडाउँदा राष्ट्रिय वाणिज्य बैँक रानी शाखा विराटनगरको पत्रले फुकुवा जनिएको देखिंदा र उक्त जग्गा अन्यत्रवाट पनि रोक्का होला भन्ने जानकारी नहुँदा त्यसो हुन गएको हो भनी लेखाइदिएको पाइन्छ । रोक्का कितावको सम्बन्धित पानाहरूको प्रतिलिपि हेर्दा सि.नं. १२७ र १२८ मा रा.वा.बैँक रानीको रोक्का फुकुवा जनिएको र १३३ मा कृषि विकास वैंकको रोक्का कायमै रहेको रोक्का कितावबाट स्पष्ट देखिन आउने ब्यहोरालाई कहिले ऋणीले जानकारी नदिई झुक्याएको भन्ने आधारमा त कहिले भिडभाडको कारण त्यसो हुनु पुगेको हो भनी उचित र मनासीव आधार र कारण समेत प्रस्तुत गर्न नसकेको अवस्था र स्थितिमा विवादित राजीनामा लिखतको कार्यालयप्रतिमा रोक्का छैन भनी लेखिएको व्यहोरा पछाडि सहिछाप गर्नेको स्थानमा समेत प्वाल पारेको देखिएको हुँदा उपरोक्त तथ्यको विद्यमानतामा प्रतिवादीको उल्लिखित कार्य वद्नियतपूर्वकको होइन भन्न मिल्ने अवस्था नहुँदा तत्सम्बन्धमा बिपक्षी झिकाउने आदेशमा उल्लिखित आधार एवं पुनरावेदन जिकीरसंग सहमत हुन सकिएन ।
८. यी प्रतिवादीबाट अभिलेखअनुसार गर्नुपर्ने कार्य नगरेको कारणबाट उत्पन्न भएको परिणाम हेर्दा विवादित जग्गा धितो रोक्का गराई प्रतिवादीहरू लक्ष्मीप्रसाद पराजुलीलाई ऋण प्रदान गर्ने कृषि विकास वैंकलाई प्रत्यक्ष असर पुगेको र वैंकको नाममा रोक्का रहेको जग्गा रोक्का छैन भनी लिखतमा जनिएको कारणबाट रजिष्ट्रेशन पारित हुन पुगी उक्त विवादित जग्गा मूल्य ८,००,०००।– तिरी खरीद गर्ने रमादेवी गौतमको निमित्त सुधार नै हुन नसक्ने परिणामलाई बेहोर्नु पर्ने स्थिति सिर्जना हुन पुगेको देखिएबाट प्रतिवादीको उक्त कार्यलाई निजको जिकीरअनुरूप सामान्य त्रुटीको रुपमा मात्र लिन र मान्न मिलेन । आफूले नियमित रुपमा गर्नुपर्ने कार्य र पूरा गर्नुपर्ने पदीय जिम्मेवारी स्वाभाविक रुपले कर्तव्य निष्ठ भै इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा Malafied Intention राखी रोक्का रहेको जग्गालाई रोक्का छैन भनी उल्लेख गरिदिएको कारणबाट उल्लिखित जग्गा रमादेवी गौतमको नाममा हस्तान्तरण भएको र सो जग्गा कृषि विकास वैंकले मिति २०५९।४।१२ को सूचना पत्रबमोजिम आफैले सकार गरेको स्थितिबाट रमादेवी गौतमलाई गैर कानूनी हानि नोक्सानी हुन गएको अवस्थामा निजको कार्यबाट उत्पन्न परिणाम समेतका आधारमा निजको कार्य वदनियतपूर्ण रहेभएको मान्नुपर्ने हुन आयो ।
९. अतः उपरोक्त उल्लिखित बुँदा प्रमाण समेतका आधारमा यसमा पुनरावेदक प्रतिवादी राधाप्रसाद घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७, को कसूर स्थापित गरी ऐ दफा २९ बमोजिम रु. ३,०००।– जरीवाना गर्ने गरेको विशेष अदालत काठमाडौको मिति २०६३।२।२२ को फैसला मिलेको हुँदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मोहनप्रकाश सिटौला
इजलास अधिकृतः हरिराज कार्की
इति संवत् २०६६ साल साउन २७ गते रोज ३ शुभम्