March 22, 2010
Created by nepalarchives

निर्णय नं. ८३४८ – लगत सच्याई पाऊँ ।

निर्णय नं.  ८३४८ ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६०...

निर्णय नं.  ८३४८ ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

संवत् २०६० सालको दे.पु.नं.९३३८, ८२७७

फैसला मितिः २०६६।१२।९।२

 

मुद्दाःलगत सच्याई पाऊँ 

 

पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ४ हाल थिमी न.पा.   वडा नं. १५ बस्ने कान्छाभाइको मु.स. गर्ने आशालाल प्रजापती समेत

बिरुद्ध

प्रत्यर्थी वादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८ बस्ने मञ्जू ढुङ्गाना समेत 

एवं

पुनरावेदकः ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. १ बस्ने बलराम बस्नेत

बिरुद्ध

प्रत्यर्थी वादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८ बस्ने मञ्जू ढुङ्गाना समेत

शुरु फैसला गर्ने :

भू.सु.अ.श्री जानकीराम शर्मा

 

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री राजेन्द्रराज पन्त

मा.न्या.श्री हरिबाबु भट्टराई

 

§  अधिकारक्षेत्रविहीन निकायले गरेको निर्णयको अस्तित्व कानूनको दृष्टिमा शून्य हुने र त्यस्तो निर्णय स्वतः बदरभागी हुने हुनाले उक्त निर्णयबाट तत्कालीन मोहीहरूको मोहीयानी हकमा असर परेको सम्झन नमिल्ने 

§  जग्गाधनी नै कायम नभएका उनाउ व्यक्तिको नालेसका आधारमा अधिकारक्षेत्रविहीन गाउँ पञ्चायतको निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने 

(प्रकरण नं.४)

§  सर्जमिनको आधारमा एउटा कायम भइरहेको मोहीलाई निष्काशन गरी अर्कै व्यक्तिलाई मोही कायम गर्न नमिल्ने 

(प्रकरण नं.६)

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता बालकृष्ण नेउपाने

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता शम्भु थापा

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीले न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन गरी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

भक्तपुर जिल्ला दिब्यश्वरी गा.बि.स.वडा नं.४ (ख) को कि.नं.३००, ३८७, ३९४, ३९९ तथा २९४ समेतका जग्गा हाम्रा दाता ज्ञानीबाबा जोशीबाट मिति २०४९।५।१५ मा मालपोत कार्यालय भक्तपुरबाट राजीनामा लिखत पारित गरी लिई हाम्रो हक हुन आएको उक्त जग्गाको हकभोग र स्वामित्वमा विवाद उठाई दाता ज्ञानीवावा जोशीउपर बलराम वस्नेतले निर्णय दर्ता बदर मुद्दा दिएकोमा भक्तपुर जिल्ला अदालतबाट वादी दावी नपुग्ने ठहरी मिति २०५०।१।२९ मा भएको फैसला पुनरावेदन अदालत, पाटनबाट मिति २०५१।१२।१३ मा सदर हुने ठहरी अन्तिम भइरहेको छ । निज बलराम बस्नेतले उक्त मिति २०४९।५।१५ को राजीनामा लिखतउपर लिखत बदर तथा जालसाजी मुद्दा दिएकोमा सो मुद्दामा समेत वादी दावी नपुग्ने ठहरी भक्तपुर जिल्ला अदालतबाट मिति २०५२।११।२५ मा भएको फैसला समेत अन्तिम भइरहेको छ । उल्लिखित जग्गाको हक स्वामित्वमा बलराम वस्नेत र हामीबीच विवाद भई मुद्दा चली अदालतहरूबाट भएका फैसलाहरूबाट हाम्रो हक स्वामित्व स्थापित भई हाम्रै हकभोग चलनमा रहेको छ । भूमि सम्बन्धी ऐन, २०२१ लागू भई नापी हुँदाका बखत यही जग्गामध्ये कि.नं.२९४ र ३०० को जग्गाको किसानको महलमा कान्छाभाई प्रजापती र कि.नं.३८७, ३९४ र ३९९ को जग्गाको किसानको महलमा पुनकुमार प्रजापती नाम रहन गएकोमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २८ अनुसार जग्गावालाको हैसियतमा मोहीबाट झिकी पाऊँ भनी बलराम बस्नेतले स्थानीय ललितपुर इमाडोल गा.पं.मा निवेदन दिएकोमा कान्छाभाई प्रजापती तथा पुनकुमार प्रजापतीलाई मोहीबाट निष्काशन हुने ठहर्‍याई मिति २०२३।२।२४ मा निर्णय गरेको पाईन्छ । गा.पं.को निर्णयअनुसार लगत सच्चाई दिन भनी भूमिसुधार कार्यालय भक्तपुरमा लेखी पठाएको र निज बलराम बस्नेत समेतले निवेदन दिई गा.पं.को निर्णयअनुसार लगत सच्याई दिने गरी भूमिसुधार कार्यालयबाट मिति २०२३।४।२१ मा आदेश भई सोही समय देखी बलराम बस्नेतले जोत कमोद गर्न थालेकोमा कान्छाभाई तथा पुनकुमार प्रजापतीले बलराम बस्नेतउपर खिचोला मुद्दा दायर गरेकोमा कान्छाभाई तथा पुनकुमारको मोहीको हक समाप्त भइसकेको हुँदा वादी दावी पुग्न नसक्ने ठहरी भक्तपुर जिल्ला अदालतबाट मिति २०२५।१।३१ मा फैसला भई अन्तिम रुपमा रहेको छ । यसरी कान्छाभाई तथा पुनकुमार उक्त जग्गाको मोहीबाट निष्काशित भैसकेको अवस्थामा निजहरूका नाउँमा मोही लगत कायमै रहिरहेकोले लगत कट्टा गर्न इमाडोल गा.बि.स.को मिति २०२३।२।२४ को निर्णय तथा भक्तपुर जिल्ला अदालतको मिति २०२५।१।३१ को फैसलाअनुसार लगत सच्याई जोताहामा जग्गा धनी आफै कायम गरी पाउन निवेदन गर्न आएका छौं । अतः भक्तपुर जिल्ला दिब्यश्वरी गा.बि.स.वडा नं.४ (ख) कि.नं.२९४ र ३०० को मोहीमा उल्लिखित कान्छाभाई प्रजापती र कि.नं.३८७, ३९४ र ३९९ को मोही लगतमा उल्लिखित पुनकुमार प्रजापतीको नामको मोही लगत कट्टा गरी सो महलमा जग्गा धनी आफ्नै नाम उल्लेख गरिपाऊँ भन्ने समेत व्यहोराको वादी मञ्जू ढुङ्गाना र कृष्णकला ओलीको निवेदन 

विपक्षीले दावी गरेको जग्गामा हाम्रा बाबुहरू कान्छाभाई प्रजापती र पुनकुमार प्रजापती मोही जनिई २ नं.अनुसूची प्रकाशित भएको छ । सो अनुसूचीउपर उजूर गरी बदर गराउन नसकेपछि मोही लगत कट्टा हुने कुनै कानूनी व्यवस्था छैन । मिति २०४९।५।१५ को राजीनामा लिखत गर्दा मोही महलमा हाम्रा बाबुहरूको नाम जनाई विपक्षीले लिखत पारित गराई लिनु भएको छ । मोही स्वीकार गरी राजीनामा गरी लिएपछि हाल मोही होइन भन्न मिल्दैन । जुन गा.पं.मा जग्गा छ सोही गा.पं.ले निर्णय गर्न पाउने हो दिब्यश्वरीको जग्गालाई इमाडोलको गा.पं.ले निर्णय गर्न मिल्दैन । भक्तपुर जिल्ला अदालतको मिति २०२५।१।३१ को फैसला मोही लगत कट्टा गरेको छैन । इमाडोल गा.पं.को मिति २०२३।२।२४ को फैसलाले बलराम वस्नेत र हिराबहादुर प्रजापतीको बीचको फैसला हो । यो जग्गासंग निजको कुनै संलग्नता र सरोकार छैन । बेसरोकारको व्यक्तिबीच भएको फैसलाले मोही लगत कट्टा हुन सक्दैन । विपक्षीको निवेदन भू.सु.नियमावली, २०२१ को नियम ६ र ७ विपरीत छ । उक्त नियम ७ ले प्रकाशित २ नं.अनुसूचीमा विपक्षीका दाताले उजूर नगरेपछि विपक्षीले मोही दावी पारित गरी लिएको जग्गाको मोही लगत कट्टा हुने अवस्था नहुँदा निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको आशालाल प्रजापती र काजीबहादुर प्रजापतीको प्रतिउत्तर पत्र 

भक्तपुर जिल्ला दिब्यश्वरी गा.बि.स.वडा नं.४ (ख) को कि.नं.३००, ३८७, ३९४, ३९९, ३०६, ३३७, ३३५ समेतका कित्ता जग्गा र ऐ.कि.नं.१५६,१५९,११५ र ११० समेतका जग्गा टेकमान सिंह बस्नेतको नाममा साविक पाटन मौजा ल.नं.६०१ र ५४८ बाट भिड्दा दर्ता हुने अवस्थामा रहेकोमा हिराबहादुरले गैरकानूनी रुपले दावी गरेको कारण त्यस सम्बन्धमा विवाद भई म निवेदक चेतमान सिंह भन्ने बलराम बस्नेतले फिराद दिई इमाडोल गा.पं.बाट २०२३।२।२४ मा निर्णय हुँदा हिराबहादुरलाई जग्गाको मोहीबाट निष्काशन हुने ठहरी निर्णय भएको थियो । त्यस पछि भक्तपुर जिल्ला दिब्यश्वरी गा.बि.स.वडा नं.४ (ख) को कि.नं.३००, ३८७, ३९४, ३९९ तथा २९४ समेतमा मोहीसम्बन्धी विवाद भई विपक्षीहरू हिराबहादुर प्रजापती, पुनकुमार प्रजापती र कान्छाभाई प्रजापतीले दावी गरेकोमा मेरो मोही कायम गरी २०२५।१।३१ मा फैसला भएको थियो । साविक लोकन्थली गा.बि.स.वडा नं.४ (ख) कि.नं.२९४, ३००, ३९४, ३८७, ३९९ को जग्गाको जोताहामा म बलराम भन्ने चेतमान सिंह बस्नेतको नाममा कायम हुने गरी इमाडोल गा.पं.को मिति २०२३।२।२४ र भक्तपुर जिल्ला अदालतको मिति २०२५।१।३१ को फैसलाबाट उक्त जग्गाहरूबाट निज कान्छाभाई प्रजापती र पुनकुमार प्रजापतीको नाउँ मोहीबाट निष्काशन भई मेरो कायम रहेको छ । यसरी मेरो मोही कायम रहेको अवस्थामा जोताहा लगत कट्टा गरिपाऊँ भन्ने र जोताहा कायम गरिपाऊँ भन्ने विपक्षीहरूको दावी तथा प्रतिउत्तर जिकीर खारेज गरी मेरो नाम यथावत् कायम राखी पाऊँ भन्ने समेत व्यहोराको बलराम बस्नेतको प्रतिउत्तर पत्र 

विवादित जग्गाको स्थलगत सर्जमिन हुँदा उक्त जग्गाहरू बलराम वस्नेतको जोतभोगमा रहेको भन्ने सर्जमिन मुचुल्का 

सर्जमिन समेतबाट विवादित जग्गा हाल बलराम वस्नेतले जोती भोगी आएको देखिंदा सो विवादित कि.नं. ३००, ३८७, ३९४, ३९९ र २९४ को साविक मोही कान्छाभाई प्रजापती र पुनकुमार प्रजापतीको मोही लगत इमाडोल गा.पं.को २०२३।२।२४ को फैसला अनुसार कट्टा गरी उक्त कित्ता जग्गाहरूमा बलराम बस्नेतलाई भूभिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) बमोजिम मोही कायम गर्नुपर्ने देखियो । दावीबमोजिम मोही लगतबाट साविक मोहीको नाम कट्टा गर्न मिलेन दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय भक्तपुरको मिति २०५५।४।२६ को निर्णय 

विवादको जग्गाको मोहीमा प्रतिवादीमध्येको बलराम वस्नेतलाई मोही कायम हुने ठहर गरेको मिलेको छैन । वादी दावीमा सीमित रही निर्णय गर्नुपर्नेमा दावी बाहिर गई गरेको निर्णय नेकाप २०५०, पृ.५५४, नेकाप २०४७ पृ.३३५ र नेकाप २०४५ पृ.३२३ मा प्रतिपादित सिद्धान्तविपरीत छ । विवादित जग्गा भक्तपुर जिल्ला दिब्यश्वरी गा.पं.का जग्गाहरू हुन । २०२३ सालको फैसला ललितपुर जिल्ला इमाडोल गा.पं.को हो । सो फैसला अ.बं.३५ र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २८ बमोजिम अधिकारक्षेत्रबिहीन छ । सो फैसला बलराम वस्नेत बिरुद्ध हिराबहादुर प्रजापतीबीचको मुद्दाको हो । हिराबहादुर प्रजापतीको फैसलाले हामी पुनरावेदकका पिताको मुद्दामा प्रमाण लाग्दैन । २ नं.अनुसूची लगत, जोताहा अस्थायी निस्सा, जग्गा धनीको राजीनामा र जग्गा धनी प्रमाण पुर्जा समेतमा हाम्रा पिताको मोहीमा नाम उल्लेख भएको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिम बलराम वस्नेतलाई मोही कायम गर्न मिल्दैन । अतः भूमिसुधार कार्यालयको निर्णय बदर गरी मोही हक यथावत कायम राखी पाऊँ भन्ने काजीबहादुर प्रजापती र आशालाल प्रजापतीको पुनरावेदन अदालत, पाटनमा परेको संयुक्त पुनरावेदन पत्र 

यसमा वादी दावीमा केन्द्रीत भई निर्णय गर्नुपर्नेमा वादी दावी बाहिरको बलराम बस्नेतलाई मोही कायम गर्ने गरी भएको भूमिसुधार कार्यालय भक्तपुरको निर्णय फरक पर्न सक्ने देखिंदा छलफलको लागि वादी तथा पुनरावेदन नगर्ने प्रतिवादीलाई समेत झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश 

भूमिसुधार कार्यालय भक्तपुरले प्रतिवादीमध्येका बलराम वस्नेतलाई मोही कायम गर्ने ठहर गरेको निर्णय आधारहीन छ । वादी दावीमा सीमित रही निर्णय दिनु पर्नेमा आफैले वादीको स्थानग्रहण गरी निर्णय दिन मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन सहितको दफा २५ अनुसार उक्त प्रावधान लागू भएको ६ महिनाभित्र सम्ममा मोही कायम गराई माग्नसक्ने प्रष्ट छ । सो कानूनी व्यवस्थाअनुसार २०५४।३।२४ बाट म्याद समाप्त भैसकेको छ । यसर्थ वादी दावीभन्दा बाहिर गई बलराम बस्नेतलाई मोही कायम गर्ने गरी भएको निर्णय त्रुटिपूर्ण छ । अर्कोतर्फ कान्छाभाई र पुनकुमारको मोहीको साविक लगत कट्टा गर्न मिलेन भन्ने निर्णय विरोधाभाषपूर्ण छ । जहाँसम्म पुनकुमार र कान्छा भाई इमाडोल गा.वि.स.को फैसलामा विपक्षी बनाइएको छैन भन्ने प्रतिवादीहरूको जिकीर रहेको छ, तर एकाघरका दाजुभाई भई सगोलमा रहँदाकै अवस्थामा घरको जेठो बाठो मुख्य व्यक्ति हिराबहादुर रहेको र मोहीको लगत जसको नाममा भएपनि सगोलको जोतभोग रहेको हुँदा हिराबहादुर विपक्षी कायम गरी गा.पं.बाट निर्णय भएको छ । २०२३ सालको गा.पं.को निर्णय र २०२५ सालको भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार सोही समयदेखि कान्छाभाई र पुनकुमार मोही हकबाट हटक भई हालसम्म पनि निजहरूको जोत कमोद नरहेको हुँदा लगत कट्टा गर्नुपर्नेमा सो बमोजिम नगरी द्विविधाजनक भाषा प्रयोग गरी साविक मोही लगत कट्टा नगर्ने गरी भूमिसुधार कार्यालय भक्तपुरबाट भएको निर्णय बदर गरी दावीबमोजिम मोही लगत कट्टा गरिपाऊँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन पत्र 

विवादित कि.नं.३००, ३८७, ३९४, ३९९, २९४ को जग्गाको मोही म हुँ भन्ने बलराम बस्नेतको दावी नै भएको देखिदैन भने इमाडोल गा.पं.को २०२३।२।२४ को निर्णय अन्तिम भै बसी रहेको सम्बन्धमा प्रतिवादी आशालाल समेतको जिकीर भएको देखिएन । यस्तो अवस्थामा विवादित जग्गामा प्रतिवादीहरूको मोही हक यथावत छ भन्न कानूनसंगत नहुने हुँदा सो जग्गाहरूमा प्रतिवादीको मोही हकको लगत कट्टा भई जग्गा धनी प्रमाण पूर्जामा मोही महलमा उल्लिखित मोहीको नाम कट्टा गर्नुपर्ने देखिन आयो । बलराम बस्नेतको दावी नै नभएको र इमाडोल गा.पं.बाट भएको फैसलाउपर पुनरावेदक प्रतिवादीहरूको कुनै जिकीर नभएको तथा बलराम बस्नेतले भूमि सम्बन्धी ऐन, २०२१ अनुसारको प्रमाण नै पेश गर्न नसकेको अवस्थामा सर्जमिनको आधारमा मात्र बलराम वस्नेतलाई कि.नं.३००, ३८७, ३९४, ३९९ र २९४ का कित्ता जग्गाहरूमा मोही कायम गर्ने गरेको भूमिसुधार कार्यालय भक्तपुरको मिति २०५५।४।२६ को फैसला उल्टी हुने ठहर्छ । पुनरावेदक प्रतिवादी आशालाल समेतको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६०।१।२९ को फैसला 

विवादित कित्ताका जग्गाहरूमा मेरो मोहीसम्बन्धी दावी नै नरहेको भनी पुनरावेदन अदालतले ठहर गरेको मिलेको छैन । उक्त जग्गाहरूमा मैले इमाडोल गा.पं.को मिति २०२३।२।२४ को फैसला र मिति २०२५।१।३१ को भक्तपुर जिल्ला अदालतको फैसला समेत उल्लेख गरी कि.नं.३००, ३८७, ३९४, ३९९ र २९४ सम्बन्धित कार्यालयबाट जोताहाको महलमा मेरो नाम कायम गर्ने गरी कारवाही भई अद्यावधिक ती जग्गोस्हरू जोतभोग गरेकोले मेरै मोहियानी हक कायम गरिपाऊँ भनी प्रतिउत्तरमा नै स्पष्ट उल्लेख गरेको छु । २०२३।२।२४ को इमाडोल गा.वि.स.तथा २०२५।१।३१ को भक्तपुर जिल्ला अदालतको फैसलाबाट उक्त जग्गाहरूमा खनजोत गर्ने अधिकार मलाई प्राप्त भएको स्थितिमा मेरो मोहियानी हक समाप्त हुने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला प्रतिपादित सिद्धान्तविपरीत भएकोले उक्त फैसला बदर गरी मेरो हक स्थापित हुने गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको बलराम बस्नेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

विपक्षीहरूले मोही लगत सच्याई पाऊँ भनी दिएको निवेदनको आधारमा हाम्रो कि.नं.३००, २९४, ३८७, ३९४ र ३९९ जग्गाको मोही महलबाट हामी पुनरावेदकका पिताको मोही लगत कट्टा गर्न गराउन मिल्दैन । विपक्षीहरूले मिति २०४९।५।१५ मा लिखत पास गरि लिंदा हाम्रा पितालाई मोही महलमा देखाई लिखत पास भएको छ । सो लिखत पास गर्दा मोही कटाई राजश्व तिरिएको छ । सो लिखत पास भए पछि मोही महलमा नाम उल्लेख भई जग्गाधनी प्रमाण पूर्जा बनेको छ । फिल्डबुक २ नं.अनुसूची मोठ स्रेस्ता समेतमा मोही जनिएको अवस्थामा एक मात्र निवेदनको आधारमा लगत कट्टा गर्न मिल्दैन । अर्कोतर्फ विपक्षीहरूले पेश गरेको भनिएको मिति २०२५।१।३१ र २०२३।२।२४ को फैसला हिराबहादुर प्रजापती बिरुद्ध बलराम बस्नेत भएको मुद्दाले हाम्रा पिताको मोही हक जाने होइन । हिराबहादुर हाम्रो कुनै नाताका मानिस होइनन् । अरु व्यक्तिउपर दिएको मुद्दाबाट हाम्रो हक गुम्न सक्दैन । भू.सं.ऐन, २०२१ आउनुपूर्व देखि नै मोही भई मोहीको हैसियतले जोत कमोद र भोग चलन गर्दै आएको नापी दर्ता समेत भएका जग्गा हुन । उक्त जग्गामा जग्गाधनीहरू बीच स्वामित्वको विषयमा हालसम्म विवाद भइरहेको हुँदा बालीसम्म नबुझाएको हो । २०४९ सालमा जग्गा किन्नेले भूमि सम्बन्धी ऐन, २०२१ को दफा २८ को आधार लगाउन मिल्दैन । उक्त ऐन आउनुपूर्व देखि कायम रहेको मोहीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २८ लगाउन मिल्दैन । तसर्थ भूमिसुधार कार्यालय र पुनरावेदन अदालतको फैसला उक्त ऐनको दफा २५, २८ र ३४ समेतको विपरीत छ । उक्त जग्गाहरूमा हाम्रा पिताको लगत कट्टा गर्ने गरेको हदसम्मको फैसला बदर गरी मोही हक यथावत् कायम राखी पाऊँ भन्ने समेत व्यहोराको आशालाल प्रजापती र काजीबहादुर प्रजापतीको संयुक्त पुनरावेदन पत्र 

यसमा कान्छाभाई र हिराबहादुर प्रजापती तथा चेतमान बस्नेत वादी प्रतिवादी भएको मोही निष्काशन मुद्दामा तत्कालीन इमाडोल गा.पं.बाट मिति २०२३।२।२४ मा र भूमिसुधार अधिकारीबाट मिति २०२३।४।२१ मा भएको फैसला सहितको मिसिल झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश 

यसमा पुनरावेदक वादी बलराम बस्नेत बिरुद्ध ज्ञानुबाबा जोशी भएको दर्ता बदर मुद्दामा पुनरावेदन अदालत, पाटनको मिति २०५१।१२।१३ को फैसलाबाट वादी बलराम बस्नेतलाई जग्गा धनी कायम नगरी ज्ञानुबाबा जोशीलाई जग्गाधनी ठहर्‍याई फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको उक्त फैसलाबाट जग्गा धनी ठहर भएको ज्ञानुबाबा जोशीले प्रस्तुत मुद्दाका पुनरावेदक आशालाल प्रजापतीलाई मोही मानेको र उक्त कित्ताका जग्गाहरूको बिक्री व्यवहार समेत भइसकेको अवस्थामा लगत कट्टा गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला यस अदालतबाट २०५८ सालको दे.पु.नं.७३१४ को रामबहादुर भण्डारी बिरुद्ध चन्द्रदेव पाठक भएको मुद्दामा मिति २०६२।६।७ मा भएको फैसला तुफान राजबंशी बिरुद्ध जगतलाल राजबंशीको मुद्दामा (स.अ.बुलेटिन, बर्ष ३, अङ्क १, पृ.४) भएको फैसला र २०६३ सालको दे.पु.नं.७१५ को रामसेवक यादव बिरुद्ध लखचन यादव भएको मुद्दामा मिति २०६४।६।११ मा भएको फैसला समेतमा प्रतिपादित सिद्धान्त समेतबाट फरक पर्न सक्ने देखिंदा प्रत्यर्थी झिकाउने भन्ने दे.पु.नं.९३३८ को मुद्दामा यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि सोही मुद्दाको अन्तरप्रभावी भएको हुँदा सोही आधारमा यसमा पनि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६५।९।२५ को आदेश 

नियमबमोजिम आजको पेसी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक आशालाल प्रजापती समेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता बालकृष्ण नेउपानेले प्रत्यर्थी वादीले मिति २०४९।५।१५ मा जग्गाको राजीनामा लिखत पास गरी लिँदा पुनरावेदकका पिताहरू कान्छा भाई प्रजापती र पुनकुमार प्रजापतीलाई मोही महलमा देखाई लिखत पास भएको छ । फिल्डबुक, २ नं. अनुसूची, मोठ स्रेस्ता समेतमा मोही जनिएको छ । मोही जनिएको जग्गा लिएपछि प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार मोही होइन भन्न पाइँदैन । बेजिल्लाको इमाडोल गाउँ पञ्चायतको फैसलालाई आधार बनाउन मिल्दैन । साविक जग्गाधनीले मोही लगत कट्टा नगरी मोही यथावत् राखी विक्री गरेका छन् । तसर्थ मोही लगत कट्टा हुने अवस्था छैन भनी र प्रत्यर्थी वादीहरू मञ्जू ढुङ्गाना समेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता शम्भु थापाले साविक मोही कान्छा भाई र पुनकुमार प्रजापतीहरूलाई मोही हकबाट निष्काशन गरेको तत्कालीन इमाडोल गाउँ पञ्चायतको २०२३।२।२४ को निर्णय अन्तिम भएर बसेको छ । सोउपर पुनरावेदन लाग्ने अवस्था छैन । बलराम बस्नेतले जग्गा जोती आएको भएपनि कुत दिलाई मोही निष्काशन मुद्दामा आफू मोही होइन भनी स्वीकार गरेको छ । मोहीले आफैंले जग्गा कमाउन छोडेको हुँदा मोहीको लगत सच्चिने अवस्था छ । पुनरावेदन अदालतको फैसला मनासिव भएकोले सदर गरिपाऊँ भनी वहस प्रस्तुत गर्नुभयो 

२.    उपरोक्त बहस जिकीर सुनी पुनरावेदकहरूको पुनरावेदन जिकीरतर्फ हेर्दा कि.नं. ३००, २९४, ३८७, ३९४ र ३९९ जग्गाको मोही क्रमशः पुनरावेदक आशालाल प्रजापतीका पिता कान्छा भाइ प्रजापती र काजिबहादुरका पिता पुनकुमार प्रजापती उल्लेख भएको जग्गा प्रत्यर्थी       जग्गाधनीहरूले २०४९।५।१५ मा जग्गा राजीनामा लिखत गरी लिँदा मोही देखाई लिखत पास भएको छ, फिल्डबुक, २ नं. अनुसूची, मोही स्रेस्ता, जग्गाधनी प्रमाणपूर्जा समेतमा मोही जनिएको छ । दिव्यश्वरी गा.वि.स. को जग्गाको विषयमा जिल्ला ललितपुर इमाडोल गा.वि.स. को फैसलाले हक जाने हैन, उनाउ व्यक्ति हिराबहादुरसँगको फैसलाले हक जाने होइन, भूमिसम्बन्धी ऐन, २०२१ आउनुपूर्व नै पिता मोही हुन् । मोही लगत कट्टा हुने अवस्था छैन भन्ने पुनरावेदक आशालाल प्रजापती समेतको र पिताको पालादेखि जोतभोग गरी आएको जग्गामा इमाडोल गाउँ पञ्चायतको निर्णय भक्तपुर जिल्ला अदालतको फैसला, सर्जमिन मुचुल्का समेतका आधारमा मोही कायम हुनुपर्ने भन्ने बलराम बस्नेतको पुनरावेदन जिकीर रहेको प्रस्तुत पुनरावेदन पत्रहरू निर्णयार्थ पेश भएकोमा दावी गरिएका जग्गाहरूमा बलराम बस्नेतलाई मोही कायम गरेको हदसम्म शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने कुराको निर्णय गर्नुपर्ने देखियो 

३.    भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ४।ख कि.नं. २९४ र ३०० जग्गाको मोही लगतमा उल्लेख भएका कान्छा भाई प्रजापती र कि.नं. ३८७, ३९४, ३९९ को लगतमा उल्लिखित पुनकुमार प्रजापतीको मोहीहक भूमीसम्बन्धी ऐन, २०२१ को दफा २८ अनुसार बलराम बस्नेतको निवेदनबाट तत्कालीन इमाडोल गा.प. को मिति २०२३।२।२४ का निर्णयले निस्काशन हुने निर्णय भएअनुसार भूमिसुधार अफिसबाट लगत सच्चाएको र सोउपर मोही कान्छा भाइ प्रजापती समेतले नालेस गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०२५।१।३१ मा भूमिसुधार कार्यालयको निर्णय सदर गरी अन्तिम फैसला भएकोले सो फैसलाअनुसार मोहीको लगत कट्टा गरी लगत सच्चाई पाऊँ भनी मञ्जू ढुङ्गाना र कृष्णकला ओलीले भूमीसुधार कार्यालय भक्तपुरमा निवेदन पेश गरेको देखिन्छ । यस सम्बन्धमा मिसिल सामेल प्रमाणहरूतर्फ हेर्दा प्रतिवादी कान्छा भाइ प्रजापती मरी मु.स. गर्ने आशालाल प्रजापती र पुनकुमार प्रजापती मरी मु.स. गर्ने काजीबहादुर प्रजापतीले प्रतिउत्तर पत्रसाथ पेश गरेको लिखत दिने ज्ञानी वावा जोशी लिने मञ्जू ढुङ्गाना समेत भएको मिति २०४९।५।१५ को राजीनामाको फोटोकपी, नापी शाखाबाट प्राप्त फिल्डबुक उतार र जग्गा धनी प्रमाण पूर्जामासमेतमा कि.नं. २९४, ३०० मा मोही कान्छा भाई प्रजापती र कि.नं. ३८७, ३९४ र ३९९ मा मोही पुनकुमार प्रजापती उल्लेख भएको देखिन्छ । हालका जग्गा धनी मञ्जू ढुङ्गाना समेतले जग्गादाता र साविक जग्गाधनी ज्ञानीबाबा जोशीबाट जग्गा खरीद गर्दा मिति २०४९।५।१५ मा मोही समेत भएको जग्गा खरीद गरेको देखिन्छ । यसरी साबिक जग्गाधनी र हाल जग्गाधनी भएका वादीहरूको दर्ता प्रमाणपूर्जामा मोही लागेको जग्गा भनी निरन्तर उल्लेख भइनै रहेकोमा कुनै विवाद देखिएन 

४.    जहाँसम्म तत्कालीन इमाडोल गाउँ पञ्चायतबाट वादी बलराम भन्ने चेतमान सिं बस्नेत प्रतिवादी हिराबहादुर प्रजापती समेत भएको जग्गा मुद्दामा मिति २०२३।२।२४ मा दावी गरिएको जग्गाबाट प्र. कान्छाभाइ र पुनकुमार प्रजापतीको मोहीहक निस्काशन गरेको भन्ने निवेदकहरूको दावीका सम्बन्धमा हेर्दा हाल विवादित सबै ५ कित्ता जग्गाहरू भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. अन्तरगतको जग्गा हुन भन्ने कुरामा कुनै विवाद छैन । तर मिति २०२३।२।२४ को निर्णय अर्कै जिल्ला भित्रको अर्कै पञ्चायतबाट भएको देखिन्छ । साबिक भक्तपुर जिल्ला दिव्यश्वरी गाउँ पञ्चायतबाट नै पछि ललितपुर जिल्ला भित्रको इमाडोल गाउँपञ्चायत भित्र पर्न गएको भन्ने विपक्षीहरू र पुनरावेदक बलराम बस्नेतको भनाइ छैन । अन्य आधार, प्रमाणबाट पनि सो कुरा देखिन आउँदैन । यसरी अधिकारक्षेत्रविहीन निकायले गरेको निर्णयको अस्तित्व कानूनको दृष्टिमा शून्य हुने र त्यस्तो निर्णय स्वतः बदरभागी हुने हुनाले उक्त निर्णयबाट तत्कालीन मोहीहरूको मोहीयानी हकमा असर परेको सम्झन मिलेन । साथै भक्तपुर जिल्ला अदालतको मिति २०२५।१।३१।२ को फैसलाबाट बलराम बस्नेत भन्ने चेतमान सिं बस्नेत उक्त जग्गाका जग्गाधनी नै कायम भएको नदेखिँदा जग्गाधनी नै कायम नभएका उनाउ व्यक्तिको नालेसका आधारमा अधिकारक्षेत्रविहीन गाउँ पञ्चायतको निर्णयले पनि कानूनी मान्यता प्राप्त गर्न सक्दैन 

५.    राम काजी भन्ने सिंहबहादुर जोशीले पुनकुमार प्रजापती उपर कि.नं. ३८७, ३९४ र ३९९ जग्गाको कुत दिलाई मोही निष्काशन सम्बन्धमा दिएको मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०३८।३।७।१ मा दर्ता वाँकी रहेकोले दावी पुग्न सक्तैन भनी फैसला भएकोसम्म देखिन्छ । जहाँसम्म सो मुद्दामा जग्गा बलराम बस्नेतले कमाई आएको भनी पुनकुमार प्रजापतीले स्वीकार गरेको भन्ने प्रश्न छ त्यसतर्फ, सो मुद्दामा वादीको दावी नपुग्ने गरी फैसला भइ अन्तिम भई रहेकोले त्यसबाट उक्त जग्गाको मोही बलराम बस्नेत कायम भएको भन्ने देखिन आएन । उक्त मुद्दामा मोही कायम सम्बन्धी विवाद पनि थिएन र मोही निष्काशनतर्फ वादी दावी नपुग्ने फैसला भएको थियो । सम्बन्धित जग्गाको फिल्डबुक उतार, राजीनामा, जग्गा धनी प्रमाणपूर्जा लगायतका स्रेस्ता कागजबाट बलराम बस्नेतको नाममा मोही लेखिएको कतै देखिँदैन 

६.    विवादित जग्गाहरू २०४६ सालमा मात्र सिंहबहादुरको नाममा दर्ता भएको देखिन्छ । निजबाट निजकी श्रीमती ज्ञानीबाबा जोशीको नाममा आएकोमा कुनै विवाद छैन । त्यस्तै ज्ञानीबाबाबाट यी वादीहरूले सो जग्गा मिति २०४९।५।१५ मा प्राप्त गर्दासम्म कान्छा भाई र पुनकुमार निर्वाध रुपले मोही कायम रही आएको अवस्था छ । २०३८ सालको फैसला पछिदेखि यो मुद्दा पर्नुभन्दा अघिसम्म कुनै पनि जग्गावालाले मोही निष्काशनतर्फ उजूरसम्म गरेको अवस्था छैन । दावीको यसै जग्गा समेतमा यिनै प्रतिवादी बलराम बस्नेतले वादीहरूको दाता सिंहबहादुरको पत्नी ज्ञानीवावा जोशी उपर चलाएको दे.पु.नं. १५३८ को निर्णय बदर समेत मुद्दामा वादी दावी नपुग्ने ठहरी पुनरावेदन अदालत पाटनबाट मिति २०५१।१२।१३ मा फैसला भएको प्रमाणबाट समेत देखिँदा सोही जग्गामा प्रतिवादी बलराम बस्नेतले मोहीको हकदावी लिएको न्यायसँगत पनि देखिएन । जग्गा जोतभोग बलराम बस्नेतले गरेको हो भन्ने सर्जमिन मुचुल्का मात्रको आधारमा सो जग्गामा प्रतिवादी बलराम बस्नेतलाई मोही कायम गर्न मिल्ने स्थिति देखिएन । सर्जमिनको आधारमा एउटा कायम भइरहेको मोहीलाई निष्काशन गरी अर्कै व्यक्तिलाई मोही कायम गर्न मिल्दैन 

७.    यस प्रकार मिसिल संलग्न माथि उल्लिखित स्रेस्ता प्रमाणबाट कि.नं. २९४ र ३०० को जग्गाको मोही कान्छा भाई प्रजापती र कि.नं. ३८७, ३९४ र ३९९ जग्गाको मोही पुनकुमार प्रजापती देखिँदा सो तथ्य र मोही स्वीकार गरी मिति २०४९।५।१५ मा जग्गा राजीनामा पास गरी वादीहरूले लिएको हुँदा हाल आएर कार्यान्वयन नै नभएको तत्कालीन इमाडोल गाउँ पञ्चायतको मिति २०२३।२।२४ को निर्णयको आधार देखाउँदै कायम भइरहेको मोही लगत कट्टा गर्न मिल्ने देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ३४ ले पनि कान्छा भाई र पुनकुमार प्रजापतीलाई मोही होइन भन्नबाट वादीहरू विवन्धित देखिन्छन् । निजहरूले मोही इन्कार गर्न मिल्दैन 

८.    यसै सन्दर्भमा पुनरावेदक तुफान राजवंशी बिरुद्ध जगतलाल राजवंशी भएको मोही प्रमाणपत्र पाऊँ भन्ने मुद्दामा प्रतिवादीले जग्गा खरीद गर्नु अघिदेखि नै जग्गाधनी पूर्जामा निवेदक मोही उल्लेख भै रहेकोमा सोअनुसार प्रतिवादीको जग्गाधनी पूर्जामा समेत मोहीकै रुपमा कायम रहेको निवेदकलाई सो अवस्था कायम रहेसम्म प्रतिवादीले मोही होइन भन्न मिल्ने नदेखिनेभनी २०४९ सालको दे.पु.नं. ६७७ को मोही प्रमाणपत्र पाऊँ मुद्दामा यस अदालतबाट मिति २०५०।९।४ मा व्याख्या समेत भएको देखिन्छ 

९.    तसर्थ उपरोक्त विवेचित आधार प्रमाणबाट प्रतिवादी पुनरावेदकहरू आशालाल प्रजापतीको बाबु कान्छाभाई प्रजापती र काजीबहादुर प्रजापतीको बाबु पुनकुमार प्रजापतीको मोहियानी हक कानूनसम्मत ढंगले विवादित कित्ता नम्बरका जग्गाहरूमा कायम रही आएकोले लाग्नै नसक्ने २०२३।२।२४ को तत्कालीन इमाडोल गाउँपञ्चायतले गरेको फैसलाको आधारमा मोहियानी लगतबाट निजहरूको नाम हटाउने गरी स्रेस्ता सच्याउने ठहराई पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।२९ मा भएको फैसला नमिलेकोले उल्टी हुने भै साविक मोही कान्छा भाई प्रजापती र पुनकुमार प्रजापतीको मोही हक यथावत् कायम रहने र वादीहरूको वादी दावी पुग्न नसक्ने ठहर्छ । साथै सोही जग्गामा आफ्नो मोहियानी हक छ भनी दावी गर्ने प्रतिवादी बलराम बस्नेतको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नू 

तपसील

१.     माथि ठहर खण्डमा लेखिएबमाजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भएकोले वादी दावीको कि.नं. २९४, ३००, जग्गाको मोही कान्छा भाइ प्रजापती र कि.नं. ३८७, ३९४      र ३९९ को जग्गाको मोही पुनकुमार प्रजापतीको नामको मोही हकको लगत कट्टा नगरी    यथावत राख्नु भनी शुरुमा लेखी पठाइदिनू 

२.    प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू  ।

 

उक्त रायमा सहमत छु 

 

न्या.तपबहादुर मगर

 

इति संवत् २०६६ साल चैत ९ गते रोज २ शुभम्

 

इजलास अधिकृत : महेन्द्रप्रसाद पोखरेल