निर्णय नं. ८३४७ – जग्गा खिचोला
निर्णय नं. ८३४७ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६१ सालको...
निर्णय नं. ८३४७ ने.का.प २०६७ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
संवत् २०६१ सालको दे.पु.नं. ८३५६
फैसला मितिः २०६६।१२।१।१
मुद्दा : जग्गा खिचोला
पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २२ बस्ने जयन्तीदेवी जोशी
बिरुद्ध
प्रत्यर्थी वादीः ऐ. वडा नं. १२ बस्ने प्रेमदेवी श्रेष्ठ
शुरु फैसला गर्नेः
मा.न्या.श्री जनार्दनबहादुर खड्का
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला
मा.न्या.श्री हरिबाबु भट्टराई
§ आफ्नो जग्गा अरुले कब्जा गरेको थाहा पाएपछि खिचोलामा नालेस गर्नुपर्ने कारण (Cause Of Action) सिर्जना भएको मान्नुपर्दछ र सोही मितिबाटै नालिस गर्ने हदम्याद सिर्जना हुने ।
§ वादीको जग्गामा पर्खाल लगाउँदैमा वादीको स्वामित्व समाप्त हुने र प्रतिवादीको स्वामित्व सिर्जना नहुने ।
(प्रकरण नं.५)
पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री पन्नामान तुलाधर, श्री विनय स्थापित र श्री जगदीश दाहाल
प्रत्यर्थी वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ताद्वय श्री लक्ष्मीप्रसाद उप्रेती र श्री शालिकराम पाण्डे
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं.
फैसला
न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :—
साविक ल.पु.जि.ल.पु.न.पा वडा नं. ३ (घ) कि.नं. ४७९ को क्षे.फ. १–०–० मध्ये पूर्वतर्फबाट क्षे.फ. ०–९–० ऐ. कि.नं. १७ को क्षे.फ. २–०–० मध्ये पूर्वतर्फबाट १–७–० जग्गा मिति २०२८।२।२।१ मा जयन्तीदेवी ढुंगेलबाट म फिरादीले राजीनामा गरी लिएकोमा सोहीबमोजिम हाल ल.पु.जि., ल.पु.उप.म.न.पा. वडा नं. ३ (घ) कि.नं. ७३ को क्षे.फ. ०–३–० नाप नक्सा भएको उक्त जग्गा रेखाँकन गरी साँध सीमाना छुट्याउन नापी शाखा कार्यालय ललितपुरमा मिति २०५६।८।१८ मा स्थलगत निरीक्षण गर्दा विपक्षीको कि.नं. ६४ को क्षे.फ. १–०–० मा कि.नं. ७३ को पूर्वतर्फबाट पूर्वपश्चिम लम्बाई ११ फीट ६ ईञ्च उत्तर दक्षिण चौडाई ७८ फीट जम्मा ०–२–२ जग्गा घूसेको देखिन्छ भनी ललितपुरबाट खटिई आएका अमिनले नक्साअनुसार रेखांकन गरी प्रतिवेदन ०५६।८।२० मा नापी शाखा ल.पु.मा पेश गरेको हुँदा उक्त प्रतिवेदन मिति २०५६।८।२० मा हेरेपछि थाहा जानकारी भएकोले सो विपक्षीको कि.नं. ६४ को पश्चिमतर्फ विपक्षीले च्यापी घूसेको जति खिचोला मेटाई हक कायम गरी अड्डैबाट चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।
विपक्षीले मलाई कि.नं. ६४ को जग्गा राजीनामा गरी दिँदा सो जग्गावाहेक पश्चिमतर्फ निजको कुनै जग्गा केही नरहेकोले राजीनामा लिखतअनुसारको जग्गा मैले राजीनामा गरी लिएपछि सोही मात्र भोग चलन गरी आएकोले निजको जग्गा मैले घूसाएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जयन्तीदेवीको प्रतिउत्तरपत्र ।
मिसिल संलग्न रहेको नक्सा मुचुल्का हेर्दा न.नं. ५ कि.नं. ६४ को ०–१४–१–२ र ६४ को जग्गाको दक्षिणतर्फ बाटोमा परेको ०–२–२ जग्गा समेत जोड्दा १–०–३–२ जग्गा प्रतिवादीको छुट्टै रहेको सो प्रतिवादीको कि.नं. ६४ पश्चिमपट्टी न.नं. ४ कि.नं. ७३ मा ०–२–१–२ जग्गा छुट्टै रहेभएको स्थिति देखिएको । यसरी प्रतिवादीको कायमी क्षे.फ. भन्दा बढी जग्गा रहेभएको स्थिति देखिएको र न.नं. ४ कि.नं. ७३ को ०–२–१–२ जग्गा छुट्टै रहेभएको स्थितिमा त्यस्तो जग्गालाई मेरो जग्गा भन्ने प्रतिवादीले खिचोला गरेन भनी भन्न नमिल्ने हुँदा वादीको न.नं. ४ कि.नं. ७३ को जग्गामध्ये ०–२–१–२ जग्गा प्रतिवादीले घूसाई खिचोला गरेकोले उक्त जग्गामा वादीको हक कायम भई प्रतिवादीले खिचोला गरेकोले चलन समेत चलाई दिने ठहर्छ भन्नेसमेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको मिति २०५९।३।२७ को फैसला ।
शुरु जिल्ला अदालतले मलाई हराई गरेको फैसलामा चित्त बुझेन । ल.पु.जि.अ. ले जुन कि.नं. ७३ को वादीको नाममा दर्ता स्रेस्ता कायम रहेको कि.नं. ६४ को पश्चिमपट्टि ७३ को जग्गा कायम रहेको भन्ने ठहर गरेको छ, उक्त स्रेस्ता सर्भे नक्सामा उक्त जग्गाहरूको अवस्थिति उक्त पारित लिखतहरूसँग मेलै खाँदैन । त्यसतर्फ दृष्टि नदिई गरेको शुरुको फैसला बुँदा नमिलेको प्रष्ट रुपमा देखिइरहेको छ । शुरुको फैसला बदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी जयन्तीदेवी जोशीको पुनरावेदनपत्र ।
वादीले मिति २०२८।२।२ मा नै जग्गा पारित गरी लिएको हुनाले जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को तत्कालीन व्यवस्थाअनुसार भए गरेको मितिले २ वर्षभित्र फिराद दायर गर्नुपर्नेमा सो हदम्याद नघाई दर्ता भएको फिराद पत्रलाई हदम्याद भित्रकै मानी शुरु ललितपुर जिल्ला अदालतबाट भएको फैसला फरक पर्नसक्ने विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
नक्सामा एवं स्रेस्तामा कि.नं. ७३ कायम देखिई रहेको र उक्त जग्गा छुट्याई पाउने अथवा भोग गर्ने वादीको हकाधिकारअनुरूप नापीमा निवेदन दिई छुट्याउँदा उक्त जग्गा अन्यत्र घूसी गएको छ भन्ने जानकारी दिएपछि उजूर गर्ने पक्षले सोही मितिलाई समाती ऐनको हदम्याद भित्र उजूर गर्न आएकोलाई हदम्याद नाघी उजूर गरेको भन्न नसकिने हुँदा प्रस्तुत मुद्दामा इन्साफ गर्ने हदम्यादसम्बन्धी विवाद रहेको भन्न मिलेन । दावी अनुसार वादीको जग्गा प्रतिवादीको कि.नं. ६४ समेतमा घूसी खिचोला भएको हो होइन रहेछ भनी हेर्दा वादी प्रेमदेवीका नाममा रहेको जग्गाधनी प्रमाणपूर्जामा कि.नं. ७३ आवादी ज.रो.०–३–० (तीन आना) कायम रहेको मिसिल संलग्न प्रमाणपूर्जाको प्रतिलिपिबाट देखिन आउँछ । उक्त स्रेस्तापट्टि वादीले कुनै उजूरवाजूर गरेको पनि देखिँदैन । त्यसैगरी ०२२ सालको सर्भे नापी ट्रेस कपीमा कि.नं. ७३ कि.नं. ६४ को पश्चिमपट्टि कायम रहेको पनि ट्रेस कपी प्रतिलिपिबाट देखिएको छ । साविक २०२८।२।२ को राजीनामा लिखत समेतमा स्रेस्ताबाट कि.नं. ७३ कायम हुन नसक्ने भन्ने प्रतिवादीको जिकीरसम्म रहेको छ भने सोको अस्तित्वलाई अस्वीकार गर्न सक्ने कुनै प्रमाण प्रतिवादी तर्फबाट पेश हुनसकेको देखिँदैन र प्रस्तुत मुद्दामा उक्त कि.नं. ७३, ६४ समेतका स्रोतका सम्बन्धमा विवेचना गरिरहनुपर्ने आवश्यकता पनि देखिएको छैन । यसरी नापी कार्यालयबाट समेत कि.नं. ७३ को जग्गा नक्सा अनुसार कि.नं. ६४ मा घूसेको छ भनी यकीन प्रतिवेदन दिई सकेपछि अदालतबाट भएको मिति २०५८।५।१८ को नक्सा हेर्दा न.नं. ५ कि.नं. ६४ को पश्चिमपट्टि न.नं. ४ को भनी विवादको ०–२–१–२ जग्गा देखिएको र सो जग्गा स्रेस्ताअनुसारको कि.नं. ६४ को जग्गाभन्दा बढी नै देखिइरहेको अवस्थामा सो जग्गा समेत कि.नं. ६४ मा समावेश हुनुपर्ने भनी जिकीरलिई रहेका प्रतिवादीले खिचोला गरेको होइन रहेछ भन्न सकिने स्थिति नहुँदा वादी दावीअनुसार विवादित न.नं. ४ को जग्गासम्ममा प्रतिवादीले खिचोला गरेको हुँदा उक्त जग्गामा वादीको हक कायम भई वादीले चलन समेत चलाई लिन पाउने ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको मिति २०५९।३।२७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६०।१०।२७ को फैसला ।
नापी रेखाङ्कन प्रतिवेदन मिति २०५६।८।१८ मा पेश भई सो आधारबाट वादीको जग्गा मैले खिचोला गरेको थाहा पाई सो थाहा पाएको मितिबाट हदम्यादभित्र फिराद गरेको भन्ने वादीको भनाई छ । मेरो कि.नं. ६४ को पश्चिममा खडा रहेको मेरो पर्खाल २०२८ सालमा नै बनाई मेरो जग्गा मैले भोग चलन गरिआएको छु । वादीले निजको जग्गा मेरो पर्खालभित्र पारी पर्खाल बनाई खिचोला गरेको भन्न सकेको छैन । कुन मितिमा खिचोला गरेको हो भनी भन्न सकेको पनि छैन । कि.नं. ७३ को जग्गा यदि कि.नं. ६४ मा घूसेको भए कि.नं. ६४ मा पर्खाल बनेको २०२८ सालमा नै वादीलाई सो कुराको जानकारी भइसकेको छ । किनभने मेरो कि.नं. ६४ को पर्खालभन्दा पश्चिमपट्टि वादीले २०३१ सालमा नै नक्सा पास गरी घर बनाइसकेका छन् । अतः फिराद हदम्याद भित्रको भनी गरेको पुनरावेदन अदालतको फैसलामा जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. को त्रुटि हुनाको साथै “सबूद प्रमाणको आधारमा मिति यकीन गरी हदम्यादभित्र उजूर परेको छ छैन हेरी मात्र निर्णय गर्नुपर्छ” भन्ने नेकाप २०३६, पृ. ११, नि.नं. १२२७ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको हुँदा मुद्दा दोहोर्याई हेरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदनपत्र ।
मिति २०५६।८।२८ मा अमिनले दिएको प्रतिवेदनको आधारमा थाहा पाई जग्गा मिच्नेको १८ नं. अनुसार थाहा पाएको मितिले ६ महिनाभित्र फिराद दायर गरेको भन्ने फिराद दावी र कि.नं. ६४ को पश्चिमपट्टि २०२८ सालमा पर्खाल बनाई जग्गा चलन गरिरहेको भनी प्रतिवादीले जिकीर लिएको र मेरो जग्गा मिची पर्खाल लगाएको भनी वादीको दावी नभएको अवस्थामा पर्खाल कहिले बनेको हो यकीन गरी हदम्यादभित्र फिराद दायर भएको छ छैन ? निरोपण गर्नुपर्नेमा नगरेको पुनरावेदन अदालत पाटनको फैसलामा अ.वं. १८४(क), १८५ नं. तथा जग्गा मिच्नेको १८ नं. को त्रुटि हुनाको साथै नेकाप २०३६ नि.नं. १२२७ पृ. ११ मा प्रतिपादित कानूनी सिद्धान्तसमेतको त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६१।३।२९ को आदेश ।
दावीको कि.नं. ६४ को पश्चिमपट्टि विवादित पर्खाल २०२८ सालमा आफूले लगाई भोग गरेको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकीर रहेको र सो कि.नं. ६४ विवादित जग्गाको पश्चिम सीमानामा कि.नं. ७४ को रत्नमान शाक्यको जग्गा रहेको देखिएकोले सो दुबै जग्गाको वीचमा रहेको उक्त पर्खाल कसले कहिले लगाएको हो ? सो सम्बन्धमा निज संधियार रत्नमान शाक्यलाई बुझी निर्णय गर्नुपर्नेमा सो नगरेकाले निज रत्नमान शाक्यलाई झिकाई अ.वं. १३३ नं. बमोजिम कागज गराउनू । साथै अदालतबाट भएको मिति २०५८।५।१८ को नक्सा मुचुल्कामा यी वादीले मिति २०३१।१०।३० मा नक्सा पास गराई कि.नं. ८६ र कि.नं. ७३ मा बनाएको घर कुन हो र सो घर कुन कित्ता नम्बरमा बनी तयार भएको हो ? तथा निजको साँधमा कि.नं. ७४ मा रत्नमान शाक्यको भोगमा रहेको घर समेत रेखाङ्कन गरिएको उक्त नक्सा मुचुल्काबाट देखिन आएकोले सो नक्सा मुचुल्काको आधारमा वादी प्रतिवादीबीच रहेको विवादको विषयमा निर्णय गर्न वाधा पुगेकोले उक्त मिति २०५८।५।१८ को नक्सा मुचुल्का बदर गरिदिएको छ । अव यी वादीले नक्सापासको दरखास्त दिई मिति २०३१।१०।३० मा दिएको नक्सा पास पूर्जीबमोजिम कि.नं. ८६ र कि.नं. ७३ मा बनेको घर, कि.नं. ७४ मा रत्नमान शाक्यको भोग चलनमा रहेको घर, प्रतिवादी जयन्तीदेबी जोशीको कि.नं. ६४ र निजको पति इन्द्रमानको घर कम्पाउण्ड तथा त्यस वरिपरी रहेको पर्खाल लगायतका सबै भौतिक संरचना साँध सीमाना समेत प्रष्ट देखिने गरी सर्भे नापीको नक्सासँग मेल खाने गरी अ.वं. १७१ नं. बमोजिम नक्सा गर्नु भन्ने यस अदालतको मिति २०६६।५।१७ को आदेश ।
कि.नं. ७४ मा वादी प्रेमदेवी श्रेष्ठले नै घर निर्माण गरी भोग चलन गरी आएको हुँदा कि.नं. ६४ र कि.नं. ७४ को बीचमा रहेको पर्खाल कसले र कहिले लगाएको हो मलाई थाहा भएन भन्ने व्यहोराको यस अदालतबाट अ.वं. १३९ नं. बमोजिम बुझिएका रत्नमान शाक्यले गरेको मिति २०६६।९।१६ को बयान ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री पन्नामान तुलाधर, श्री विनय स्थापित र श्री जगदीश दाहालले प्रतिवादीको कि.नं. ६४ को पश्चिममा रहेको पर्खाल प्रतिवादीले २०२८ सालमा नै निर्माण गरेको हो । सो कि.नं. ६४ को पर्खालभन्दा पश्चिमपट्टि वादीले २०३१ सालमा नै नक्सा पास गरी घर बनाएको हुँदा सो पर्खाल मैले बनाएको कुरा उसबेलै वादीलाई थाहा भएकोमा तत्काल प्रचलित ज.मि.को १८ नं. को हदम्यादभित्र फिराद गर्नुपर्नेमा नगरी २०५७ सालमा गरेको फिराद हदम्यादविहीन छ । प्रतिवादीले कहिले कुन क्रिया गरी कसरी जग्गा खिचोला गरेको हो भन्ने कुरा पनि फिरादपत्रमा उल्लेख छैन । आफ्नो जग्गा नापी शाखाबाट रेखाङ्कन गराउँदा प्रतिवादीको जग्गामा आफ्नो जग्गा घूसेको भनी नापीका अमिनले मिति २०५६।८।२० मा दिएको प्रतिवेदनबाट खिचोला गरेको थाहा पाएको भनी परेको फिरादमा “खिचोला” का कुनै तत्व समावेश छैनन् । अमिनले दिएको प्रतिवेदनका आधारमा प्रतिवादीले खिचोला गरेको सिद्ध हुँदैन । खिचोला हुन प्रतिवादीको भौतिक कब्जा वा हस्तक्षेप भएको स्थापित हुनुपर्दछ । प्रतिवादीले बनाएको उक्त पर्खाल भत्काइपाऊँ भन्ने वादीको दावी पनि छैन । तसर्थ पुनरावेदन अदालत पाटनको फैसला बदर गरी फिराद खारेज हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ताद्वय श्री लक्ष्मीप्रसाद उप्रेती र श्री शालिकराम पाण्डेले पर्खाल लगाउँदैमा जग्गाको स्वामित्व प्राप्त हुँदैन । निस्सा आदेशमा उल्लिखित फैसलाले पनि फिराद खारेज गरेको छैन, इन्साफै गर्न शुरुमा पठाएको अवस्था छ । तसर्थ उक्त नजीर प्रस्तुत मुद्दामा आकर्षित हुँदैन । आफ्नो जग्गा मिचिएको थाहा पाएपछि नै खिचोलामा दावी गर्ने हो । प्रतिवादीको जग्गा पुगेकै छ । तसर्थ प्रतिवादीले खिचोला गरेको ठहर्याएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनुपरेको छ ।
२. निर्णयतर्फ विचार गर्दा, मेरो नामदर्ताको ललितपुर उपमहानगरपालिका वडा नं. ३ (घ) कि.नं. ७३ को ०–३–० जग्गा नापी शाखाबाट रेखाङ्कन गराउँदा मेरो ०–२–२–० जग्गा विपक्षीको कि.नं. ६४ को १–०–० जग्गामा घूसेको छ भनी रेखाङ्कन प्रतिवेदनबाट थाहा हुनआएकोले खिचोला मेटाई उक्त जग्गामा हक कायम गरिपाऊँ भन्ने वादीको दावी रहेको देखिन्छ । मेरो कि.नं. ६४ र मेरा पतिका नामदर्ताको कि.नं. ६२ र ६३ समेतका ३ कित्ता जग्गामा २०२८ सालमा नगरपञ्चायतबाट नक्सा पास गरी घर र पर्खाल समेत बनाई चारैतिर बाउण्डरीवाल लगाएको हो, ३० वर्षपछि परेको फिराद हदम्यादविहीन छ भन्ने प्रतिवाद जिकीर रहेको पाइन्छ ।
३. स्रेस्तामा वादीका नामदर्ताको कि.नं. ७३ को क्षेत्रफल ०–३–० र प्रतिवादीको कि.नं. ६४ को क्षेत्रफल १–०–० कायम रहेको देखिन्छ । कि.नं. ६४ को उक्त जग्गा प्रतिवादीले २०२८ सालमा वादीबाटै राजीनामा गरिलिएको भन्ने कुरामा विवाद छैन । कि.नं. ६४ समेतको जग्गामा २०२८ सालमै नक्सा पास गरी पर्खाल लगाएको भन्ने प्रतिवादीको जिकीर भएअनुरूप नक्सा पास भएको प्रमाण प्रतिवादीले पेश गर्न सकेको पाइँदैन । यस अदालतबाट मिति २०६६।७।८ मा भइआएको नक्सामा विवादित न.नं. ३ कि.नं. ७३ को जग्गा र न.नं. २ कि.नं. ७४ को जग्गा बीचमा रहेको उक्त पर्खाल आफूले नक्सा पास गरी बनाएको भन्ने प्रतिवादीले जिकीर गरे पनि पारित नक्सा देखाउन नसकेकोले सो पर्खाल कहिले निर्माण भएको हो भन्ने कुराको निक्र्यौल हुन सकेको देखिँदैन । यस अदालतबाट अ.वं. १३९ नं. बमोजिम बुझिएका रत्नमान शाक्यले बयान गर्दा पनि उक्त पर्खाल कसले कहिले बनाएको हो मलाई थाहा छैन भनी बयान गरेको देखिन्छ ।
४. विवादित कि.नं. ७३ को जग्गामा रहेको वादीको हक स्वामित्वलाई प्रतिवादीले अन्यथा भन्न सकेको पाइँदैन । भइआएको नक्साबाट वादीदावीको कि.नं. ७३ मा देखिएको ०–२–३–० र बाटोमा परेको ०–०–१–१ जोड्दा वादीको स्रेस्ताअनुसारको ०–३–० जग्गा पुग्ने देखिन्छ । त्यस्तै प्रतिवादीको कि.नं. ६४ मा नक्साबाट देखिएको ०–१४–१–२ र बाटोमा परेको ०–२–०–२ जोड्दा निजको स्रेस्ताअनुरूपको १–०–० जग्गा पुगिरहेकै देखिन्छ । विवादित जग्गासमेत जोड्दा प्रतिवादीको जग्गा स्रेस्ताभन्दा बढी हुने र वादीको जग्गा नपुग हुने देखिन्छ । तसर्थ प्रतिवादीले आफ्नो स्रेस्ताभन्दा बढी हुने गरी वादीको कि.नं. ७३ को जग्गालाई आफ्नो जग्गामा समावेश गरेको देखिन आयो ।
५. विवादित पर्खाल प्रतिवादीले कहिले लगाएको हो भन्ने प्रमाणबाट देखिन आएको छैन । वादीले आफ्नो जग्गाको सीमाना छुट्याउन रेखाङ्कन गराउन नापी शाखाबाट स्थलगत नापजाँच हुँदा अमिनले मिति २०५६।८।२० मा दिएको प्रतिवेदनबाट आफ्नो जग्गा प्रतिवादीले निजको कि.नं. ६४ को जग्गामा घूसाएको तथ्य थाहा पाएको भनी मिति २०५७।१।१६ मा फिराद गरेको देखिन्छ । वस्तुतः आफ्नो जग्गा अरुले कब्जा गरेको थाहा पाएपछि खिचोलामा नालेस गर्नुपर्ने कारण (Cause Of Action) सिर्जना भएको मान्नुपर्दछ र सोही मितिबाटै नालिस गर्ने हदम्याद सिर्जना हुन्छ । तसर्थ प्रस्तुत विवादमा नापी शाखाबाट भएको स्थलगत जाँचबाट आफ्नो जग्गा प्रतिवादीको जग्गामा घूसेको तथ्य वादीलाई थाहा भएको मितिबाट नै वादीले खिचोलामा नालेस गर्ने हदम्याद प्रारम्भ हुने हुँदा सो मितिबाट जग्गा मिच्नेको १८ नं. अनुसार ६ महिनाभित्र परेको प्रस्तुत फिरादलाई हदम्याद बाहिरको फिराद भनी निस्सा प्रदान गर्दा ग्रहण गरिएको आधार तथा पुनरावेदकतर्फका विद्वान् कानून व्यवसायीहरूको बहससँग सहमत हुन सकिएन । वादीको जग्गामा पर्खाल लगाउँदैमा वादीको स्वामित्व समाप्त हुने र प्रतिवादीको स्वामित्व सिर्जना हुने हुँदैन । तसर्थ, पर्खाल भत्काई पाऊँ भन्नेतर्फ दावी नभएको हुँदा समेत खिचोला ठहर गर्न मिल्दैन भनी निस्सा प्रदान गर्दा ग्रहण गरिएको अर्को आधारसँग पनि सहमत हुन सकिने भएन । निस्सा प्रदान गर्दा ग्रहण गरिएको नेकाप २०३६, नि.नं. १२२७, पृ. ११ मा प्रकाशित मुद्दामा घर बनेको मिति यकीन गरी हदम्यादभित्र उजूर परे नपरेको निर्णय दिनुपर्नेमा खिचोलातर्फ निर्णय नगरी फिराद खारेज गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी पुनः निर्णयका लागि शुरुमा पठाएको देखिन्छ । प्रस्तुत मुद्दामा फिराद खारेज भएको अवस्था छैन । साथै सबूद प्रमाणको मूल्याङ्कन गरी खिचोलातर्फ नै इन्साफ भएको हुँदा उक्त फैसलामा प्रतिपादित सिद्धान्तसँग प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट भएको इन्साफ विरोधाभाषपूर्ण रहेको समेत देखिन आएन ।
६. अतः वादी दावीबमोजिम विवादित न.नं. ३ कि.नं. ७३ को जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्याई वादीले चलन चलाई पाउने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ताहिर अली अन्सारी
इति संवत् २०६६ साल चैत १ गते रोज १ शुभम् –
इजलास अधिकृत : मातृकाप्रसाद आचार्य