January 19, 2010
Created by nepalarchives

निर्णय नं. ८३४० – भ्रष्टाचार ।

निर्णय नं. ८३४० ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६१...

निर्णय नं. ८३४० ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

संवत् २०६१ सालको फौ.पु.नं. ३६९८

फैसला मितिः २०६६।१०।५।३

 

मुद्दा : भ्रष्टाचार 

 

      पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला चरम्बी गा.वि.स.वडा नं.१ घर भई हाल का.जि.    का.म.न.पा.वडा नं.१० बस्ने प्रदीप अधिकारी  

विरुद्ध

      प्रत्यर्थी वादीः अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कुमुद शर्माको प्रतिवेदनले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री तपबहादुर मगर

मा.न्या.श्री भूपध्वज अधिकारी

 

§  अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निजउपर नै हुन्छ । खल्तीबाट घूसको रकम वरामद भएको अवस्थामा घूस रिसवत लिएको होइन भनी जिकीरसम्म लिएको तर त्यसलाई कुनै वस्तुनिष्ठ प्रमाण पेश गरी प्रमाणित गर्न नसकेकोले बरामद भएका नोटहरू प्रतिवादीको जानकारी र सहमति बेगर निजको अज्ञानतामा नै निजको खल्तीमा राखिएको वा जबर्जस्ती राखिएको भनी अनुमान गर्न नमिल्ने 

(प्रकरण नं.५)

§  गर्नुपर्ने काम यथासमयमा नगरी घूसको माग गरेकाले अधिकार प्राप्त निकायबाट नोटहरू लिएर घूसबापत प्रतिवादीलाई दिएका क्रियाहरू आरोपित कसूरका लागि गरिने अनुसन्धान प्रक्रियाका अङ्ग हुन् र कानूनअनुकूल नै सम्पन्न भएकाले अभियोजन पक्षको नियत र अनुसन्धान कारवाहीमा दूषित मनसाय र कानूनी त्रुटि समेत देखिन नआएकोले त्यसको आधारमा एकत्रित प्रमाणहरू आरोपित कसूर प्रमाणित गर्नका लागि प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छन् । घूसको रकम, रङ्गे हात पक्राउ परेकोे स्कूल दर्ता गर्ने क्रममा घूस, रिसवत मागी लिएको अवस्थामा त्यस्तो रिसवत लिने राष्ट्रसेवक कर्मचारी कानूनबमोजिम सजायको भागी हुने 

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू श्री बालकृष्ण नेउपाने र श्री बोर्णबहादुर कार्की

प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क)

 

फैसला

न्या.ताहिर अली अन्सारीः विशेष अदालत काठमाडौंको मिति २०६०।४।२० को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका शाखा अधिकृत प्रदीप अधिकारीले विद्यालय दर्तासम्बन्धी काम गर्दा फाइलपिच्छे रू.एक हजार नभई विद्यालय दर्तासम्बन्धी काम गर्न सक्दिन भनेकोले यसै कार्यालयका नोटहरू बुझी लगी निज अधिकारीलाई बुझाई रंगेहात जफत गराई भ्रष्टाचार तथा अख्तियारको दुरुपयोगमा आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत तुल्सीराम काफ्लेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा परेको उजूरी 

उजूरवाला तुल्सीराम काफ्लेले प्रदीप अधिकारीलाई दिन भनी क, ५२, ८२७०४३, , ९१, ९७७४५५ क, ६८, १७८३८१, , ६२५५१६०९ र क, २२४३६७२५ न.का एकहजार दरका ५ थान नोटहरू बुझी लगेको भरपाई मिसिल संलग्न देखिएको 

कम्पनी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत प्रदीप अधिकारीको शरीर खानतलासी गर्दा निजले लगाएको गाढा खरानी रंगको पाईन्टको बायाँतर्फको अगाडिपट्टिको खल्तीबाट एकहजार दरको नोटहरू ५ थान र रू.पाँच सय दरको नोट थान एक बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का 

कम्पनी रजिष्ट्रारको कार्यालयमा खटिएदेखि नै कम्पनी दर्तासम्बन्धी काम गरेको छु । कम्पनी दर्ताको लागि प्राप्त कागजातहरू जाँचबुझ गर्ने, निर्णयको लागि पेश गर्ने र निर्णय भएपछि प्रमाणपत्र दिने मेरो काम हो । बरामद भएको रकम मेरो खल्तीबाट बरामद भएको हो । तुल्सीराम काफ्लेले काम गरिदिएनन् भनी प्रमाणस्वरुप पेश गरेका फाइलहरू कम्पनी शाखाका ना.सु. नवीन खालिङ्गमार्फत् पेश गर्न लगाई मिति २०५९।६।११ गते सदर भएका हुन् । ती फाइलमा राजश्व बुझाउने पत्र सम्भवत मैले नै काटेको हुनुपर्छ । उल्लिखीत फाइलहरू ११ गते सदर भए पनि ५ दिन पछि अर्थात् मिति २०५९।६।१६ गते मात्र राजश्व तिरेको देखिन्छ । १८ गते सम्म शाखाबाट प्रमाणपत्र र चिठ्ठी (कम्पनी दर्तासम्बन्धी) तयार भई सहीको लागि म कहाँ आए कै छैनन्, म कहाँ कागजात तयार भई नआएका फाइलहरू कसरी काम रोकेर पैसा मागें त्यो कुरा अन्यौलपूर्ण छ । मिति २०५९।६।१८ गते निज काफ्ले म कहाँ आएर मेरो २२ वटा स्कूल दर्तासम्बन्धी प्रमाणपत्र र चिठ्ठी तयार भएका छन् कहिले सहीछाप गरी दिनु हुन्छ भनी सोधे म काममा ज्यादै व्यस्त थिएँ, जरूरी ४।५ वटा सम्म फायलहरू ल्याउँ म पौने ४ बजे तिम्रो काम गरी दिन्छु बाँकी काम अफीस खुलेको दिन पहिलो आवरमा सकिदिन्छु भने निजले अधिकाशं फाइलको प्रमाणपत्र र चिठ्ठी टाइप भइसकेको छ बाँकी टाइप हुँदैछ, फाइलको नाम टिपेर दिन्छु भने मलाई नाम टिपाउनु पर्दैन म सही गरी दिन्छु भने निज १०।१५ मिनेट बाहिर निस्केर भित्र पसें र मेरो घरमा भाई मरेको छ भनी भने फायल सहायकलाई जिम्मा लगाई घर जाउँ भने पुनः ५।७ मिनेट पछि यो नेमलिष्ट दाजुले लिए म ढुक्क भएर अहिले नै घर जान्छु भनी कागज दिए म अति व्यस्त भएकोले कागज नहेरी खल्तीमा राखे निज निस्केको १ मिनेट पनि नभई १ जना अपरिचित व्यक्ति भित्र पसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिचय पत्र देखाई तपाई पक्राउ पर्नुभयो भनी भन्दा कम्पनीको नेमलिष्ट भनेर तुल्सीले दिएको कागजमा केही चिज छ जस्तो लाग्यो । नभन्दै हजार दरका ५ थान नोटहरू रहेछन् । मैले काम रोकेर घूस मागेको होइन पूर्वाग्रहले पीडित भएर पूर्वनियोजित तरिकाले कम्पनीको लिष्ट भनी कागजमा पैसा राखेर फसाउन खोजेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रदीप अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको कागज 

कम्पनी दर्ताको सिलसिलामा अनावश्यक झिझो थापी ढिलाई गर्ने र प्रदीप अधिकारी कहाँ आइसकेपछि निजले कम्पनी दर्ता गर्दा एक हजारका दरले लिने गर्छौ बाँकी कम्पनीको लागि सोही दरले पैसा दिनुपर्छ भनेकोले आयोगमा निवेदन दिएको हो । राजश्व बुझाएका केही विद्यालयका रसिद म आफैसँग भएकोले सो को फाटोकपी पेश गरेको छु । आयोगबाट बुझेको एक हजार दरका ५ थानको भरपाईमा परेको सही मेरै हो सो पैसा लिने दिने सम्बन्धमा निजले पौने ४ बजे भनेपछि बाहिर निस्की भित्र पसी निजलाई दिँदा पाइन्टको खल्तीमा निजले हालिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धानका कर्मचारीलाई संकेत गरी हिडेको हुँ भन्ने समेत व्यहोराको उजूरवाला तुल्सीराम काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको बयान 

प्रतिवादी प्रदीप अधिकारीले घूस रिस्वत माग गरेका र उजूरवालाले यस आयोगबाट लिई दिएका एकहजार दरका ५ थान नोटहरू निज प्रदीपबाट बरामद भएको र उक्त बरामद भएको व्यहोरालाई निजले स्वीकार गरी बयान गरेबाट निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसूर अपराध भएकोले निजलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम हदैसम्म सजाय हुन् र निज तारेख गुजारी बसेकोले सम्मानित अदालतबाटै म्याद जारी गरिपाऊँ भन्ने समेत व्यहोराको आरोप पत्र मागदावी 

तुल्सीराम काफ्लेको जाहेरी कपोलकल्पित भ्रामक झूठा र निराधार छ । निजले २०।२२ वटा कम्पनी दर्तासम्बन्धी फाइल दर्ता गराई निर्णय भएपछि रू.१,०००।का दरले घूस माग्यो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाहेर गरेका रहेछन । उक्त फायलमा निज तुल्सीरामले कानून व्यवसायीको हैसियतले प्रबन्ध पत्र र नियमावलीमा सही गरे पनि दर्ताको काम संस्थापकहरूले हेमप्रसाद भट्टराईलाई अख्तियारी दिएको देखिन्छ । रकम नदिए काम गर्दिन भन्ने मेरो भनाई रहेको भन्ने सम्बन्धमा सरोकारै नभएका व्यक्तिसँग घूस माग्यो भन्ने कुरा आफैमा द्विविधा छ निजले बद्‌नियतपूर्वक झूठो उजूरी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई फसाएको देखिन्छ । उजूरी म तुल्सीरामले २२ वटा कम्पनी दर्ताको राजश्व तिरेको भनी भने पनि १५ वटाको मात्र तिरेको निजले पेश गरेको कागजले देखाउँछ । राजश्व तिरेको रसिद फाँटमा पेश गरेपछि मात्र प्रमाणपत्र बनाउने काम हुन्छ । मिति २०५९।६।१८ गते विहान १० बजे सम्म रसिद फाँटमा पेश नगरे पछि प्रमाणपत्र बन्ने कुरै आउँदैन । मिति २०५९।६।११ गते र १६ गते सम्बन्धित व्यक्तिले राजश्व बुझाएका १५ थान रसिदहरू फाँटमा बुझाउनु पर्नेमा तुल्सीरामको साथमा पुगेको देखिन्छ । तिनै फाइललाई आधार बनाई सरोकार नभएका तुल्सीरामले मेरो विरुद्ध उजूर गरेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रुपैयाँ बोकी मिति २०५९।६।१८ गते विहान १० बजे नै कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भै मेरो कक्षमा परिचित व्यक्ति सहित प्रवेश गरी मेरो केही कम्पनी दर्ता फाइल प्रमाणपत्र उठाउन बाँकी छ कहिले सकिदिनु हुन्छ प्याब्सनका अध्यक्षसँगै आउनु भएको छ भने मैले राजश्व तिरेर प्रमाणपत्र बनाउन लगाउनु होस् जरुरी ४।५ बटासम्म बेलुका ४ बजेसम्म सकिदिन्छु बाँकी सोमवार सकिदिन्छु भने । १ घण्टा पछि पुनः प्रवेश गरी अघिकै कुरा दोहोराएँ एउटै कुरा किन दोहोर्‍याउनु हुन्छ मकहाँ फाइल प्रमाणपत्र नआई मेरो काम हुँदैन । ज्यादै प्याक छ भनेपछि एक आधा घण्टापछि लगभग सबै प्रमाणपत्र टाइप भइसके बाँकी टाइप हुँदैछ । यो कम्पनीको लिष्ट हो सबै सोमबार नै लग्ने म जान्छु भने । लिष्ट नदेउ टाइप भइसकेपछि टेवलमा छोडीदेउ र सोमवार आउ भने । निज पुनः ३.४५ तिर प्रवेश गरी घरमा भाई मर्‍यो सहयोगी पनि आएको छैन निजलाई यो लिष्ट दिएँ म आजै घर जान्छु भने । भाई कहिले मरेको भन्दा २ दिन भयो भने मरुवाको जस्तो संवेदनसिलतालाई ध्यानमा राखी सहयोगीलाई लिष्ट दिने मनसायले लिष्ट ल्याई दिन्छु भन्यो हुन्छ भनी बाहिर निस्कीएर तुरुन्तै भित्र पसि एउटा कागज दिई निज निस्कने वित्तिकै अपरिचित व्यक्ति भित्र पसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिचयपत्र देखाई अव तँ पक्राउ परिस् कतै नचटपटा भने र टोलीले शरीर खानतलासी गर्दा रू.५००।को एउटा नोट र एउटा कागज बरामद भयो । पछि सबैले मलाई छोपी ५,०००।रहेछ भनी हल्ला गरे त्यो कागज भित्र के थियो मलाई थाहा भएन । पछि मुचुल्का बनाई मलाई जबर्जस्ती सही गर्न भने नमान्दा प्र.उ. धनराज रानाले पछाडिबाट घाँटीमा मुक्का हाने । धम्क्याएपछि सही गरेको हुँ । बयानमा अनुसन्धान अधिकृतले सिकाएबमोजिम लेख्न बाध्य पारियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको बयान मेरो स्वेच्छाको होइन । उजूरवाला झूठा उजूर गर्ने र आफ्नो उजूरी सच्याई अभियोग लागेका व्यक्तिसँग मोटो रकम माग गर्ने नियतको मानिस हुन् भन्ने सुनेको छु । सोहीअनुरूप मसँग उजूरवालाले रकम माग गरे उक्त रकम माग गर्दाको कुरा रेकर्ड गरी पेश गरेको छु । बरामदी रुपैयाँ मेरो होइन । कसको हो मलाई थाहा छैन खल्तीबाट रू.५००।र कागज बरामद भएको हो काजग भित्र के कसो थियो थाहा भएन । आरोप झूठा हो मलाई सफाइ हुनुपर्छ भन्ने समेत प्रतिवादी प्रदीप अधिकारीको विशेष अदालतमा भएको बयान 

मिति २०५९।६।१८ गते दिउँसो म कम्पनी रजिष्ट्रारको कार्यालयमा बसी रहेको अवस्था उजूरवाला प्रदीप अधिकारीको कोठामा जाने आउने गरिरहेका थिए । निजले भाई मरेको खवर झापाबाट आएको र सहयोगी पनि आज नभएकोले केही कम्पनीको लिष्ट आफ्नो सहयोगी यमप्रसादलाई दिनु भनी म झापा जान्छु भनी प्रदीप अधिकारीलाई दिएका थिए । प्रतिवादीले कुनै रिस्वत लिएका छैनन् त्यस्तो आचारणका मानिस पनि होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रदीप अधिकारीका साक्षी सुरेन्द्र थापाले विशेष अदालतमा गरेको वकपत्र 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजूरी निवेदनमा भएको सही मेरै हो । कम्पनी दर्ताको सिलसिलमा घूस रिस्वत माग गर्नु भएको व्यहोरा उल्लेख गरी रकम बुझी पाऊँ भनी निवेदन गरेको थिएँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बुझीलिएको रकम ४ बजे तिर प्रतिवादी प्रदीपलाई जानाकारी थियो भन्ने समेत व्यहोराको उजूरवाला तुल्सीराम काफ्लेको विशेष अदालतमा भएको वकपत्र 

घटनाका सम्बन्धमा रेडियोबाट सुनेपछि तुल्सीराम काफ्लेसँग भेट गरी सोद्धा मेरो काम छिटो छरितोसँग प्रतिवादीले नगरिदिएकोले फसाउने उद्देश्यले रकम कागजमा पट्याई दिई फसाएको हुँ । रुपैया दिए बयान फेरि दिन्छु भनी मसँग उजूरवाला तुल्सीरामले भनेका र रकम लिई बयान फेरि दिन्छु भनेर भनेका कुरा टेपमा रेकर्ड समेत भएकोले फसाउने उद्देश्यले नै उजूरवालाले प्रतिवादीलाई रकम कागजमा पट्याइदिएका हुन । प्रदीप अधिकारी नराम्रो चालचलन भएको मानिस होइनन् भन्ने समेत प्रतिवादीका साक्षी खेमराज अधिकारीको विशेष अदालतमा भएको वकपत्र 

कार्यालयका कानूनका उपसचिव सीताप्रसादले बोलाउन आउनु भएको र प्रदीपबाट नोटहरू बरामद गरेका छौं साक्षी बसिदेउ भनी भनेकोले सही गरिदिएको हुँ । तहाँ के भएको थियो मलाई थाहा भएन भन्ने समेत व्यहोराको वादीका गवाह बरामदी मुचुल्काका मानिस रविन्द्रजंग थापाको विशेष अदालतमा भएको वकपत्र 

ताप्रसाद सरले बोलाउनु भएकोले प्रदीप अधिकारीको कोठामा गएको हुँ । त्यहाँ लक्ष्मण ठाकुर सर लगायत नचिनेका ४।५ जना थिए । उहाँहरूले प्रदीपबाट नोट गरेको रकम बरामद भयो सही गरी दिनु भनी भनेकाले लेखी राखेको कागजमा सही गरिदिएको हुँ । बरामद भएको मैले देखिन भन्ने समेत व्यहोराको वादीका गवाह बरामदी मुचुल्काका मानिस नन्दराज पौडेलको विशेष अदालतमा भएको वकपत्र उजूरवाला तुल्सीरामले झुक्याएर प्रदीप अधिकारीलाई फसाएका हुन् । निज काफ्ले त्यस्तै चरित्रका मानिस हुन् । पहिला फसाउने र पछि रकम लिई मिल्ने मिलाउने चरित्र भएका व्यक्ति हुन् । म प्रदीप, खेमराज र सुरेन्द्र भै तुल्सीरामको अफिसमा गएका थियौं । तहाँ निज तुुल्सीरामले पैसा दिए म अदालतमा गई बयान फेरि दिन्छु भनी भन्नु भएको थियो । उक्त कुराको टेप रेकर्ड समेत भएको छ । यो कम्पनीको कागज हो भनी दिएको कागजबाट रकम बरामद भएको मैले देखिन भन्ने समेत प्रतिवादीका साक्षी बालकुमार मगरको विशेष अदालतमा गरेको बकपत्र 

मिति २०५९।६।१७ गते विहान तुल्सीराम ९ बज्न ७,८ मिनेट अगाडि नै ४।५ जना मानिससँगै कार्यालयमा आएका थिए । म आफ्नो कार्यालयमा ९ बज्न १० मिनेट अगाडि नै पुगेको थिएँ । अढाई बजेतिर म क्यान्टीनमा जाँदा विहान देखिएका व्यक्तिहरू मध्ये १ ले कागजमा पोको पारेर देउन भनेको सुनी किन के कसो हो थाहा भएन । बेलुकीपख प्रदीप सरको कोठा बन्द रहेछ सुब्बा साहेवहरूसँग सोद्धा अख्तियारका मान्छे आएका छन् भने पछि सीताप्रसाद सरले ना.सु. दानबहादुर, नन्दराज र रविन्द्र जंगलाई बोलाई प्रदीप सरको कोठामा पस्नुभयो । अख्तियारले प्रदीप सरलाई समाते भन्ने सुने तर प्रदीप अधिकारी घूस खाने व्यक्ति होइन भन्ने समेत प्रदीप अधिकारीको साक्षी धीरबहादुर खड्काको विशेष अदालतमा भएको वकपत्र 

बरामदी मुचुल्कामा भएका सहीछाप मेरै हो । प्रतिवादीबाट पट्याइएको सेतो कागज र रू.५००।को नोट बरामद भएको र बरामद भएको कागज खोली हेर्दा १,०००।दरको ५ थान नोटहरू थिए भन्ने समेत व्यहोराको वादीका गवाह वरामदी मुचुल्काको रोहवरमा बस्ने सीताप्रसाद पोखरेल, काम तामेल गर्ने धनराज राना, पुष्कर बस्नेत, शंकर गिरी र शिवप्रसाद शर्मा आचार्यको विशेष अदालतमा भएको वकपत्र 

प्रतिवादी प्रदीप अधिकारीले स्कूल दर्तासम्बन्धी कामका लागि पैसा मागेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको दरखास्तअनुसार आयोगबाट निज प्रदीप अधिकारीलाई दिन भनी उजूरवाला तुल्सीरामले बुझी लिएको नम्बर नोट गरिएका एक हजार दरका पाँच थान नोटहरू प्रतिवादीले लगाएको पाइन्टको खल्तीबाट बरामद भएको बरामदी मुचुल्काबाट देखिन्छ । बरामदी मुचुल्कामा बस्ने काम तामेल गर्ने र रोहवरमा बस्ने मानिसहरूले अदालतमा वकपत्र गर्दा प्रतिवादीले लगाएको पाइन्टको खल्तीबाट रू. ५००।को एउटा नोट र सेतो कागजभित्र पट्याएर राखिएका हजार दरका पाँच थान नोटहरू बरामद भएको भनी बकेका छन् भने उजूरवाला तुल्सीरामले अदालतमा वकपत्र गर्दा स्कूल दर्ता प्रमाणपत्र दिनलाई प्रतिवादीले आफूसँग घूस रिस्वत माग्नुभएको हुँदा हजार दरका ५ वटा नोटहरू समाती बुझी लिएका हुन भनी बकेको समेत देखिएको अवस्थामा बुझिएसम्मका सबूद प्रमाण तथा आधार कारणहरू बाट प्रतिवादी प्रदीप अधिकारीले आफूले गरी दिनुपर्ने स्कूल दर्ता गरी प्रमणपत्र दिने कामका सम्बन्धमा उजूरवाला तुल्सीरामसँग रिस्वत मागी रू.५,०००।नगद लिएको प्रमाणित हुन आएको हुँदा निज प्रतिवादी प्रदीप अधिकारीले अभियोग माग दावीबमोजिमको कसूर गरेको ठहर्छ । सो ठहर्नाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१)(क) बमोजिम रू.५,०००।जरीवाना र १ (एक) महिना कैदको सजाय हुन्छ भन्ने समेतको विशेष अदालत काठमाडौंको मिति २०६०।४।२० को फैसला 

जाहेरवालाले मलाई फसाउनको लागि फाइलको लिष्ट भनी कागज भित्र लुकाई दिएको र म पुनरावेदकले फाइलको लिष्ट उजूरवालाको सहयोगीलाई दिन भनी लिएको मात्र हो । पैसा भनी लिएको होइन । उजूरवाला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसरी भए पनि म पुनरावेदकलाई फसाउनलाई कार्यालयमा फोन समेत काटी कागज भित्र पैसा राखी सहयोगीलाई कम्पनीको लिष्ट दिन भनी घरमा भाई मरेको बहाना गरी फसाएको कुरा मिसिलबाट प्रमाणित भएको छ । विशेष अदालतले पैसा छ भन्ने कुरा थाहा पाई लिएको भनी ठहर गरेको छैन । फैसलामा कागज भित्र पैसा छ भन्ने कुरा सामान्यतया थाहा हुनुपर्ने भनी प्रमाणको आधारमा नभई अनुसन्धानको आधारमा कसूरदार कायम गरेको मिलेको छैन । प्रस्तुत मुद्दामा फाइलको लिष्ट सहयोगीलाई दिन भनी लिष्ट भनी सो भित्र पैसा राखेको र तत्काल डोरले पक्राउ गरेकोले घूस लिएको ठहर हुने अवस्था छैन । जवकी मलाई भ्रष्टाचारमा फसाउन सहयोग लिएको सम्पूर्ण फाइलहरू दर्ता गरी प्रमाणपत्र ल्याई दिने भनी निवेदन सहितको अख्तियारी यमप्रसाद भट्टराई भन्नेलाई दिएको छ । कम्पनी दर्ता गरी प्रमाणपत्र लिने सम्बन्धी काममा उजूरवालाको कुनै सरोकार नै छैन । जुनकुरो निजले अदालतसमक्ष गरेको वकपत्रको स.ज. २,२२ नं. २३ बाट प्रष्ट हुन्छ । यसरी एउटालाई कम्पनी दर्ता गरी प्रमाणपत्र ल्याइ दिने अख्तियारी दिएका फाइललाई गलत तरिकाले सहारा लिएर उक्त कामसँग कुनै सरोकार नै नभएको मानिसले गरेको झूठा उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ममाथि भ्रष्टाचारको कारवाही चलाउँदा फाइल दर्ता गर्ने अख्तियारी भएको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई सामान्य सोधपुछ सम्म गरेको देखिदैन । यदि मैले रिस्वत मागेको, कानूनबमोजिम हुने काम नगरी दिएको भए सोउपर उजूरी गर्ने मभन्दा माथिका सोही कार्यालयका २ तहका कर्मचारीहरू थिए त्यहाँ उजूरी गर्नु पर्दथ्यो तर त्यहाँ उजूरी गरेको अवस्था छैन । यसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली संवैधानिक निकायले पूर्वाग्राही तरिकाले गरेको अनुसन्धान र सोही आधारमा विशेष अदालतले मलाई कसूरदार ठहर्‍याई सजाय गर्ने गरेको फैसला कानून तथा यस अदालतबाट प्रतिपादित नजीर सिद्धान्त समेतको विपरीत र त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी प्रदीप अधिकारीको यस अदालतमा परेको पुनरावेदन पत्र 

यसमा मिसिल संलग्न जाहेरवाला तुल्सीराम काफ्ले र पुनरावेदक प्रतिवादी प्रदीप अधिकारी बीच मुद्दा चलिसकेपछि यी जाहेरवाला तुल्सीरामले यी पुनरावेदकसँग रकम माग गर्दा मागबमोजिम रकम दिएमा आफू अदालतमा वकपत्र गर्दा Hostile भई दिने काम गर्न समेत गरेको टेप समेत रेकर्ड गरिएको भन्ने देखियो । यस्तो अवस्थामा जाहेरवालाले यी पुनरावेदकलाई फसाउन जाहेरी दिएका हुन पनि सक्ने अवस्था देखिनुका साथै मिसिल साथ जाहेरवाला र पुनरावेदक बीचको वार्तालाप समेत संलग्न भएको टेप मिसिल संलग्न प्रमाणको रुपमा आएको अवस्थामा प्रतिवादीले कसूर गरेको ठहर्‍याएको विशेष अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको सूचना दिई नियमानुसार पेश गर्नु र पेशीका दिन उक्त टेप इजलासलाई सुन्न आवश्यक व्यवस्था समेत गरीदिनु भन्ने यस अदालतको मिति २०६४।८।१६ को आदेश 

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने र श्री वोर्णबहादुर कार्कीले रू.पाँच हजारको नोटहरू प्रतिवादीलाई खुला रुपमा हातमा दिएको अवस्था छैन । कागजमा बेरेर दिएको चिज वस्तु पैसा नै हो भन्ने प्रतिवादीले थाहा पाउन सक्दैन । घूस मुद्दामा घूस लिएको कुरा जानी जानी लिएको भन्ने प्रमाणित हुनुपर्छ । कागजमा बेरेर झुक्याएर दिएको छ । प्रस्तुत मुद्दामा विशेष अदालतले अनुमानको आधारमा यी प्रतिवादीलाई कसूरदार ठहर्‍याएको छ । प्रतिवादी अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गर्दा समेत आरोपित कसूर गरेकोमा इन्कार रही बयान गरेका छन । बरामद भएको भनेको विगो नगन्य मात्रामा छ । सबूद प्रमाणबाट आरोप पुष्टि भएको अवस्था छैन । यी प्रतिवादीलाई भ्रष्टाचारमा फसाउनको लागि नै सुनियोजित तरिकाबाट फाइलको लिष्ट भनी कागज भित्र पैसा लुकाई दिएको र तत्कालै डोरले कागजमा बेरिएकै अवस्थाका नोटहरू पक्राउ गरेको अवस्था हुँदा यस्तो कार्यलाई घूस लिएको ठहर गर्न मिल्ने होइन । जाहरेवाला स्वयं कानून व्यवसायी भए पनि पेशागत आचरण विपरीत रू.१०००।मा कम्पनी दर्ता गराउने गरी विज्ञापन दिई काम गर्ने गरेका व्यक्ति हुन् । प्रतिवादीले निजले भने अनुसार अन्य सेवाग्राहीको पालो मिचेर निजको काम नगरेकोले एउटा इमानदार राष्ट्र सेवकलाई षड्यन्त्र पूर्वक फसाएको सम्म हो । प्रतिवादीले घूस लिएको होइन । तसर्थ विशेष अदालत काठमाडौंबाट बिना आधार, प्रमाण प्रतिवादीलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दावीबाट प्रतिवादीले सफाइ पाउनु पर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो 

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित रहनु भएका विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले प्रतिवादी प्रदीप अधिकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत शाखा अधिकृत हुन । निजले स्कूलहरूको दर्ता चाँडो गरी दिने भनी उजूरवाला तुल्सीरामसँग घूस मागेपछि निज उजूरवाला तुल्सीरामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हजारका पाँच थान नोटहरू बुझी लगी निज प्रतिवादीलाई कागजमा बेरी दिएको र सोही अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटी गएका अनुसन्धान टोलीले तत्कालै निजको शरीर खानतलासी गर्दा निजले लगाएको पैन्टको बायाँ खल्तीबाट ती हजार दरका पाँच वटा नोटहरू बरामद भएका हुन् । उक्त बरामद भएका नोटहरू आफ्नो खल्तीबाट बरामद भएको भन्ने प्रतिवादीको बयान समेतबाट देखिएको छ । साथै उजूरवाला तथा बरामद गर्ने र बरामद मुचुल्कामा बस्ने मानिसहरू समेतको वकपत्रबाट प्रतिवादीले घूस रिस्वत लिनु खानु गरेको पुष्टि हुन आएको छ । त्यस कारण घूस लिएकै अवस्थामा दसी सहित पक्राउ परेकाले विशेष अदालत काठमाडौंबाट यी प्रतिवादी प्रदीप अधिकारीलाई कसूरदार ठहर्‍याई कानूनबमोजिम सजाय गर्ने गरेको उक्त फैसला मिलेकै देखिँदा सो सदर कायम होस् भनी गर्नु भएको बहस समेत सुनियो 

उपरोक्त बमोजिको बहस जिकीर सुनी पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा विशेष अदालत काठमाडौंबाट प्रतिवादीलाई कसूरदार ठहर्‍याई सजाय गर्ने गरेको फैसला मिले नमिलेको के छ ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो 

२.    निर्णयतर्फ विचार गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत प्रतिवादी प्रदीप अधिकारीले विद्यालय दर्ता गरी प्रमाणपत्र दिने कार्यको लागि उजूरवाला तुल्सीराम काफ्लेसँग रू. पाँच हजार घूस रिस्वत लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) को कसूर गरेकोले निजलाई सोही ऐनको सोही दफाबमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी भएको प्रस्तुत मुद्दामा विशेष अदालत काठमाडौंबाट निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क) बमोजिम रू.पाँच हजार जरीवाना र एक महिना कैदको सजाय हुने ठहर्‍याएको फैसलाउपर प्रतिवादीको प्रस्तुत पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको रहेछ 

३.    प्रस्तुत मुद्दामा उजूरवाला तुल्सीरामले कम्पनी दर्ताका लागि स्कूलहरूको तर्फबाट दरखास्त दिई कारवाही चलाएको र प्रतिवादी प्रदीप अधिकारी सो सम्बन्धी काम गर्ने कम्पनी रजिष्ट्रार कार्यालयको शाखा अधिकृत पदमा कार्यरत रहेको भन्ने कुरामा कुनै विवाद देखिदैन । स्कूल दर्ता गर्ने सम्बन्धमा निज प्रतिवादीले सो काम गर्नको लागि उजूरवाला तुल्सीरामसँग घूस रिस्वत मागेको भनी निज उजूरवाला तुल्सीरामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दिएको र सो उजूरीअनुसार आयोगबाट निज प्रतिवादी प्रदीप अधिकारीलाई दिन भनी उजूरवाला तुल्सीरामले बुझी लिएको रू. १ (एक) हजारका ५ थान नोटहरू निज प्रतिवादीले रिस्वत बापत लिएकोमा सो रकम प्रतिवादीले लगाएको पाइन्टको खल्तीबाट बरामद भएको भन्ने बरामदी मुचुल्काबाट देखिएको र सो बरामदी मुचुल्कामा यी प्रतिवादी प्रदीप अधिकारी समेत रोहवरमा बसेको अवस्था देखिन्छ । यी प्रतिवादीले अदालतसमक्ष आई बयान गर्दा आरोपित कसूर गरेकोमा इन्कार रही बयान गरेता पनि अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा बरामदी मुचुल्कामा बरामद भएको रकम मेरो खल्तीबाट बरामद भएको हो भनी लेखाई दिएको पाइन्छ 

४.    विशेष अदालतमा गरेको बयानमा पनि आफ्नो खल्तीबाट एउटा ५००।को नोट र एउटा कागज बरामद भएको र सो कागजमा रू.५,०००।का नोट थिए भन्ने कुरा स्वीकारै गरेको देखिन्छ । वादी पक्षका गवाहहरू बरामदी मुचुल्कामा रोहवरमा बस्ने सीताप्रसाद पोखरेल, काम तामेल गर्ने धनराज राना र पुष्कर बस्नेत समेतले अदालतमा आई वकपत्र गर्दा प्रतिवादीले लगाएको पाइन्टको खल्तीबाट रू. पाँच सयको एउटा नोट र सेतो कागज भित्र पट्याएर राखिएका हजार दरका पाँच थान नोटहरू बरामद भएको भनी बकी लेखाइदिएको देखिन्छ । उजूरवाला तुल्सीरामले वकपत्र गर्दा स्कूल दर्ता प्रमाणपत्र दिनलाई प्रतिवादीले आफू सँग घूस रिस्वत माग्नु भएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी निवेदन दिई सोही आयोगबाट हजार दरका ५ वटा नोटहरू बुझी लिई कागज भित्र पैसा पट्याएर राखी पैसा लिनु होस भनेर दिँदा निज प्रतिवादीले बायाँ हातले समाती लिएका हुन । कागज भित्र पैसा पट्याएर राखेको थियो । सोको पूर्व जानाकारी निज प्रतिवादीलाई थियो भनी बकी लेखाई दिएको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा कम्पनीको नेम लिस्ट भनी दिएको कागजमा केही चीज छ जस्तो लागेको थियो भन्ने कुरा उल्लेख गरेको पाइन्छ । तर निजले घूस नलिने भएको भए पट्याएर दिएको कागज तत्काल खोली हेर्नु पर्ने र त्यहाँ अरु मानिसको उपस्थिति भए सबैको अगाडि पनि तत्कालै हेरी सो नोटहरू दिने व्यक्ति उपर नै कारावही गराउन सक्नु पर्नेमा त्यसो गरेको पाइएको छैन । यस बाट पनि यी प्रतिवादीले पूर्व सहमति दिए अनुसार उजूरवालाले निजलाई कागज भित्र नोटहरू राखी कागज पट्याई प्रतिवादीलाई दिएको भन्ने कुराको पुष्टि भइरहेको छ 

५.    जहाँसम्म यी पुनरावेदक प्रतिवादीले उजूरवाला तुल्सीरामले कागज भित्र लुकाई दिएको उक्त फाइलको लिष्ट उजूरवालाको सहयोगीलाई दिन भनी लिएको मात्र हो । पैसा भनी लिएको होइन । मलाई फसाउनको लागि सो कार्य गरिएको हो भनी जुन पुनरावेदन जिकीर लिएका छन् सो जिकीरलाई पुष्टि गर्ने दायित्व पनि निज प्रतिवादी माथि नै रहन जाने हुन्छ । यहाँ यी पुनरावेदक प्रतिवादी प्रदीप अधिकारीले आफूले लिएको जिकीरलाई ठोस भरपर्दो एवं निश्चयात्मक प्रमाणबाट पुष्टि गर्न सकेको र वादीको प्रमाणलाई खण्डन गर्न सकेको देखिदैन । कुनै अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निजउपर नै हुन्छ । तर यी प्रतिवादीको खल्तीबाट घूसको रकम वरामद भएको अवस्थामा आफूले घूस रिस्वत लिएको होइन भनी जिकीरसम्म लिएको तर त्यसलाई कुनै वस्तुनिष्ठ प्रमाण पेश गरी प्रमाणित गर्न नसकेकोले बरामद भएका नोटहरू प्रतिवादीको जानकारी र सहमति बेगर निजको अज्ञानतामा नै निजको खल्तीमा राखिएको वा जबरजस्ती राखिएको भनी अनुमान गर्न मिल्दैन 

६.    अब सम्पूर्ण घटनाहरूको विवेचना र उपलब्ध प्रमाणहरूको मूल्याङ्कन गरी हेर्दा उजूरवालाको पेशागत आचारणसम्बन्धी विवाद नहुँदा त्यसतर्फ विचार गर्न नपर्ने र प्रतिवादीलाई फसाउने प्रयोजनले नै झूठा उजूरी दिएको नदेखिएकोले सो सम्बन्धमा प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकीरसँग सहमत हुन सकिएन । एउटा राष्ट्र सेवकको लागि निजको कानूनी दायित्व इमानदारीपूर्वक बहन गर्नुपर्ने र सेवाग्राहीलाई कानूनबमोजिम गर्नुपर्ने काम यथासमयमा सम्पन्न गर्नुपर्ने हुन्छ । प्रतिवादीले गर्नुपर्ने काम निजले यथासमयमा नगरेको र घूसको माग गरेको हुनाले उजूरवालाले अधिकारप्राप्त निकायबाट नोटहरू लिएर घूसबापत प्रतिवादीलाई दिएको देखिन्छ । यी क्रियाहरू आरोपित कसूरका लागि गरिने अनुसन्धान प्रक्रियाका अङ्ग हुन् र कानूनअनुकूल नै सम्पन्न भएकाले अभियोजन पक्षको नियत र अनुसन्धान कारवाहीमा दूषित मनसाय र कानूनी त्रुटि समेत देखिन नआएकोले त्यसको आधारमा एकत्रित प्रमाणहरू ओरोपित कसूर प्रमाणित गर्नका लागि प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छन् । घूसको रकम, रङ्गे हात पक्राउ परेको, पुनरावेदक प्रतिवादीले स्कूल दर्ता गर्ने क्रममा उजूरवालासँग घूस, रिस्वत मागी लिएको अवस्थामा त्यस्तो रिसवत लिने राष्ट्रसेवक कर्मचारी कानूनबमोजिम सजायको भागी हुने कुरामा कुनै विवाद रहेन 

७.    तसर्थ, माथि उल्लिखित बुँदा प्रमाण समेतको आधारमा निज प्रतिवादी प्रदीप अधिकारीले स्कूल दर्ता सम्बन्धी काम गर्दा उजूरवाला तुल्सीराम काफ्लेसँग रू.पाँच हजार घूस रिस्वत लिएको र सो लिएको घूस रिस्वत निजको साथबाट बरामद समेत भएको हुँदा सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क) बमोजिम कसूरजन्य रहेको देखिएको अवस्थामा विशेष अदालत काठमाडौंबाट निज प्रतिवादीलाई सोही ऐनको दफा ३(१)(क) बमोजिम कसूरदार ठहर्‍याई उक्त ऐनको सोही दफा ३(१)(क) बमोजिम रू.५,०००।— (पाँच हजार) जरीवाना र १(एक) महिना कैद गर्ने गरेको विशेष अदालत काठमाडौंको मिति २०६०।४।२० को फैसला मुनासिब देखिदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू 

 

उक्त रायमा सहमत छु  ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति संवत् २०६६ साल माघ ५ गते रोज ३ शुभम्

 

 

इजलास अधिकृतःविष्णुप्रसाद अर्याल