December 25, 2006
Created by nepalarchives

निर्णय नं. ७७९५ – लेनदेन

निर्णय नं. ७७९५    ने.का.प.२०६३       अङ्क १२   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला सम्बत् २०५८...

निर्णय नं. ७७९५    ने.का.प.२०६३       अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

फैसला

सम्बत् २०५८ सालको दे.पु.नं. : ८०६२

फैसला मितिः ०६३।९।१०।२

 

मुद्दा :लेनदेन ।

 

पुनरावेदक/प्रतिवादीः महोत्तरी जिल्ला कोलहुवा वगिया गा.वि.स. वडा नं. ३ वस्ने कलाम       मिया 

विरुद्ध

प्रत्यर्थी/वादीः महोत्तरी जिल्ला कोलहुवा वगिया गा.वि.स. वडा नं. ३ वस्ने लुकमान  दफाली 

           

§  प्रतिवादीले पहिलो बाहेक अरू छाप आफ्नो भएको कुरा प्रमाणित नभएको हुँदा कागज जाँचको महलको ८ नं. समेतको रित पुगेको छैन भन्ने जिकिर लिएपनि विवादित लिखितमा लागेका अन्य छापहरु स्पष्ट नभएको सम्म देखिन्छ, यसबाट प्रतिवादीको छाप नै लागेको छैन भन्ने पुष्टी हुन नसक्ने ।

§  एउटै लिखतमा लागेको एउटा ल्याप्चे प्रतिवादीको भन्ने देखिइरहेको अवस्थामा अन्य छाप अस्पष्ट भएको सम्म कुराका आधारमा छापहरू लाग्दै नलागेको भन्ने अनुमान गर्न कानून संगत नहुने ।         

  (प्रकरण नं. १६)

§  विवादित लिखतको लिखितमको पहिलो ल्याप्चे प्रतिवादीको ल्याप्चेसँग भिडेको, सो ल्याप्चे वादी दावी बमोजिमको प्रयोजनको लागि नभए अन्य के कारणले लगाएको हो भन्ने प्रतिवादीले देखाउन र प्रमाणित गर्न नसकेको तथा विवादित कागजमा अन्य ल्याप्चेहरु अस्पष्टसम्म भएको कारणबाट दावी गर्न नै नमिल्ने गरी कागज जाँचको ५,,,८ नं को प्रक्रिया नपुगेको मान्न नमिल्ने ।

(प्रकरण नं. १७)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ

प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा र अरविन्द कुमार झा

अवलम्बित नजीरः

 

फैसला

            न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको ०५७।१०।२७ को फैसला उपर वादीको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्याई हेर्ने आदेश भै दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

२.    प्रतिवादीले मसँग रु. ८१,००१।वन्द व्यापार गर्नलाई कर्जा लिई मिति २०४९ साल माघ मसान्त भित्रमा साँवा व्याज बुझाउने भाका राखी मिति २०४९।२।३० मा गरिदिनु भएको सक्कल तमसुक मसँग छ । भाका भित्रको साँवा व्याज नदिएकोले दिलाई भराई पाउँ भन्ने समेतको फिराद दावी ।

३.    वादीसँग ऋण लिई तमसुक कागज गरिदिएको छैन । के कुन लेखतको आधारमा मुद्दा गरे अ.वं. ७८ नं. बमोजिम सनाखत गर्ने नै छु भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

४.    दावीको लिखत किर्ते जालसाजी हो । वादी, साक्षी तथा लेखत साक्षी समेत मिली किर्ते जालसाजी गरेका हुन् । लेखत जाँच गराई पाउँ भन्ने समेतको प्र.वा रामस्वरुप प्रसाद साहको बयान ।

५.    प्र.वा को वयान झुठ्ठा लेखत सद्दे हो । लेखत जाँच गराई पाउँ भन्ने समेतको वादी लुकमान दफालीको बयान ।

६.    दावीको लेखत सद्दे हो । प्र.वा.को वयान झुठ्ठा हो । मेरो सामुनेमा लेनदेन व्यवहार र सहीछाप समेत भएको हो । मैले किर्ते जालसाज गरेको छैन भन्ने समेतको अन्तरसाक्षी हकिम मियाको वयान ।

७.    अ.वं. १३९ नं. बमोजिम बुझिएका वासुदेव तिवारी र राम प्रसाद साह समेतले म्यादमा हाजिर नभै म्यादै गुजारी वसेको ।

८.    वादीले प्रतिवादीवाट दावी वमोजिमको साँवा व्याज भराई लिन पाउने ठहर्छ भन्ने समेतको महोत्तरी जिल्ला अदालतको मिति २०५६।५।१ को फैसला ।

९.    महोत्तरी जिल्ला अदालतको फैसला ऐन कानून एवं लेखत जाँच प्रतिवेदन समेतलाई वेवास्ता गरी भएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरिपाउँ भन्ने समेतको पुनरावेदन पत्र ।

१०.    विधि विज्ञान प्रयोगशालावाट प्राप्त प्रतिवेदनवाट दाँया औंठाको ल्याप्चे छापसम्म मिलेको, तर बाँया औठाको ल्याप्चेछाप नमिलेकोवाट विवादित कपाली तमसुक सद्दे भन्न सकिने अवस्था नदेखिँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेतको मिति २०५७।५।३० को आदेश ।

११.    विशेषज्ञद्धारा जाँच हुँदा ३ जना मध्ये २ जना विशेषज्ञले लिखतको शुरूमा लिखितम् भन्ने शब्दावलीमा लागेका दायाँ हातको बुढी औंलाको सहीछाप प्रतिवादीको दायाँ हातको बुढी औंलाको सहीछापसँग मिल्ने भिड्ने, अरू सहीछापको हकमा सहीछाप भई रहेको सहीछाप माथि अर्को सहीछाप भएको कारणबाट सहीछाप नभिड्ने भनी राय आएको समेत देखिँदा शुरु महोत्तरी जिल्ला अदालतले फिराद दावी बमोजिम प्रतिवादीबाट वादीले साँवा व्याज भराई पाउने ठहर्याई मिति ०५६।५।१ गते गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।

१२.   ०४९।२।३० को कथित तमसुकमा परेको छाप सम्बन्धमा अन्तिम राय प्रकट गर्ने विधि विज्ञान समाजवाट पहिलो दायाँ औठाको छाप वाहेक अरु ५ वटा छापहरु प्रतिवादी कलाम मियासंग लिएको औंठा छापसँग मिल्दैन भन्ने राय पेश भएको छ । ती सबै ६ वटा सहीछापहरु मेरा हुन् भनी प्रमाणित गर्ने भार विपक्षी वादीमा छ । कागज जाँचको महलको ८ नं. ले कर्जा लेनदेन गरेको कागज गर्दा गराउँदा दुवै हातको बुढी औंलाको ल्याप्चे र लेख्न जान्नेको हस्ताक्षरसमेत गराउनु पर्ने व्यवस्था बमोजिमको लिखत भएको छैन । कलाम मियाँको दुवै हातको औंलाको छाप लागेको भन्ने रायमा उल्लेख छैन । यिनै वादी लुकमान दफालीले म समेत उपर उक्त विवादको तमसुकमा छापमाथि छाप लगाई तमसुक नष्ट गरिदियो भनी दिनु भएको जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने भन्ने ठहर भै सो फैसला अन्तिम भैसकेको छ । वादी स्वयंले नष्ट भयो भनेको तमसुकबाट साँवा व्याज भराइ लिन मिल्ने होइन । अतः शुरु फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा कागज जाँचको महलको ५, , , ८ नं. को कानूनी त्रुटी हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।

१३.   विधिविज्ञान समाजका विधि विज्ञान विशेषज्ञ सुजनमान श्रेष्ठ र पदमराज काफ्लेले दिएको रायमा लिखतको लिखितमको पहिलो ल्याप्चे भिडेको अरु ल्याप्चेमा दोहोरो ल्याप्चे हुनाले नभिडेको भन्ने समेत व्यहोरा व्यक्त भएको अवस्थामा दावी बमोजिम प्रतिवादीवाट वादीले साँवा र ब्याज समेत भराई पाउने गरी शुरु जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतवाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५२ को त्रुटी देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतवाट ०५८।१।११।३ मा भएको आदेश ।

१४.   प्रतिवेदनको प्रकरण १ देखि प्रकरण ३ सम्ममा विस्तृत विवरण सहित फोटोहरुमा समेत रेखांकन गरी दर्शाएको छु । प्रस्तुत विवादमा पछिवाट लागेको ल्याप्चेको स्वरुप चक्र छ तथा वि.१ को र नं. १ को ल्याप्चको स्वरुप जुम्ल्याहा शंख छ । तसर्थ वि.१ र नं. १ मा रेखांकित बुँदाहरुको आधारमा एउटै औंलाबाट लागेको भन्ने बुझिन्छ । सो बाहेक अरू ल्याप्चेमा दोहोरो ल्याप्चे लागेको र पछिल्लो ल्याप्चेको स्वरुप चक्र देखिन्छ भन्ने समेत रेखा तथा लेखा विशेषज्ञ श्री पदमराज काफ्लेले यस अदालतमा गरेको वकपत्र ।

१५.   नियम वमोजिम पेशी सूचीमा चढी इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ तथा प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा र अरविन्द कुमार झाले गर्नु भएको बहस समेत सुनी विचार गर्दा यसमा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिले नमिलेको एवं पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१६.    निर्णय तर्फ विचार गर्दा वादीले सद्दे भनी पेश गरेको ०४९।२।३० को कपाली तमसुकलाई प्रतिवादीले सद्दे होइन भन्ने जिकिर लिएको देखिन्छ । उक्त विवादित लिखतमा लागेको ल्याप्चे सहीछापसँग प्रतिवादीबाट लिइएको नमूना जाँच गरी विशेषज्ञले दिएको प्रतिवेदनमा विवादित लिखतको लिखितमको पहिलो ल्याप्चे र नमूना दायाँ ल्याप्चे एउटै औंलाबाट लागेको हो । अत मिल्छभन्ने उल्लेख भएको र विशेषज्ञ पदमराज काफ्लेले सो व्यहोरा समर्थन हुने गरी यस अदालतमा वकपत्र समेत गरेबाट सो लिखतमा प्रतिवादीको दायाँ औंलाको ल्याप्चे रितपूर्वक लागेको रहेछ भन्ने कुरामा विवाद देखिएन । सो लिखतमा भएका अन्य ल्याप्चे छाप सम्बन्धमा उल्लिखित विशेषज्ञहरुले पछि अर्कै औँलाबाट दोहोरो ल्याप्चे छाप लागेको छ, पहिले लागेको छापलाई पछि लागेको छापले ढाकेको कारणले, पहिले लागेको छापसँग नमूनाबाट प्रष्टसँग भिडाउन सकिएनभन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीले पहिलो बाहेक अरू छाप आफ्नो भएको कुरा प्रमाणित नभएको हुँदा कागज जाँचको महलको ८ नं. समेतको रित पुगेको छैन भन्ने जिकिर लिएपनि विवादित लिखितमा लागेका अन्य छापहरु स्पष्ट नभएको सम्म देखिन्छ, यसबाट प्रतिवादीको छाप नै लागेको छैन भन्ने पुष्टी हुन सक्दैन । एउटै लिखतमा लागेको एउटा ल्याप्चे प्रतिवादीको भन्ने देखिइरहेको अवस्थामा अन्य छाप अस्पष्ट भएको सम्म कुराका आधारमा अन्य छापहरु लाग्दै नलागेको भन्ने अनुमान गर्न कानूनसंगत हुंदैन । किनभने ल्याप्चे नलाग्नु र कुनै कारणले ल्याप्चे अस्पष्ट हुनु समान कुरा होइनन् ।

१७.   अतः विवादित लिखतको लिखितमको पहिलो ल्याप्चे प्रतिवादीको ल्याप्चेसँग भिडेको, सो ल्याप्चे वादी दावी बमोजिमको प्रयोजनको लागि नभए अन्य के कारणले लगाएको हो भन्ने प्रतिवादीले देखाउन र प्रमाणित गर्न नसकेको तथा विवादित कागजमा अन्य ल्याप्चेहरू अस्पष्ट सम्म भएको कारणवाट दावी गर्न नै नमिल्ने गरी कागज जाँचको ५, , , ८ नं को प्रक्रिया नपुगेको मान्न नमिल्ने अवस्था हुँदा फिराद दावी वमोजिम वादीले प्रतिावादीबाट साँवा व्याज भराई पाउने ठहर्याई शुरू जिल्ला अदालतबाट भएको इन्साफ सदर गरेको पुनरावेदन अदालत जनकपुरको २०५७।१०।२७।५ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. केदार प्रसाद गिरी

इजलाश अधिकृतः सुर्य प्रसाद पराजुली

 

ईति सम्बत् २०६३ साल पौष १० गते रोज २ शुभम्   ।