निर्णय नं. ७६९ – अंश
निर्णय नं. ७६९ ने.का.प २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८...
निर्णय नं. ७६९ ने.का.प २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२८ सालको देवानी फु.नं. १६२
फैसला भएको मिति : २०३०।६।५।६ मा
निवेदक : जि.रूपन्देही तप्पे हाटी मौजे कानपारा बस्ने हरेराम थारू
विरूद्ध
विपक्षी : ऐ. तप्पे खुटहट मौजे नन्दवा बस्ने झब्बु पश्चिम थारू
मुद्दा : अंश
(१) सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने त्यतिको कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको पक्का सबूद भएमात्र मान्नुपर्ने ।
हरेरामको बाबु रामऔतार कानपारा मौजामा बसाइँ सरी गएको भनी वादीले लेखेको हरेराम कानपारामा गई बसेको भन्ने कुरालाई प्रतिवादी बदलुले पनि मानेकै र हरेरामले बयान गर्दा बाबुराम औतार ७६।७७ सालमा के हो कानपारा गई बसेका भनी लेखेकाले हरेरामको बाबु रामऔतार मानु छुट्टी बसेको भन्ने कुरामा वादी प्रतिवादी र पेटबोलीबाट बुझिएको हरेरामको मुख मिलेकाले रामऔतार र हरेरामको कानपाराको जग्गा बण्डा गर्नु नहुने भनी तर्क उठेकोमा सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने पनि त्यतिकै कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको मितिमा २ थरको मुख मिलेको वा मानो छुट्टिएको हो भन्न मिल्ने पक्का सबूद लिखत भएमात्र मानु छुट्टिएको हो भनी मान्नु पर्नेमा त्यस्तो प्रमाण केही देखिएन प्र.बदलुले आफ्नो प्रतिवादीमा हरेराम कानपारामा खेती गरी सगोलमा बसी आएको, पछि ०६ सालमा अंशबण्डा हुँदा हरेरामका भागमा जग्गा विगाहा ९–४–३ परेकोमा पानी लाग्ने भएकाले कानपाराको जग्गा विगाहा ८।।.।।।३ भई घटी भए पनि कानपाराको जग्गा खान्छु पनि पालितर्फको जग्गा अरू भाइलाई छोडिदिएको पनि र अञ्चल अदालतमा दिएका पुनरावेदनमा हरेरामसँग हाम्रो मानो छुट्टिएको नभई सगोल सराकतकै आर्जनको कानपाराको नम्बरी जग्गामा बसी आएको हाम्रो सगोलको जग्गा हो भन्ने जिकिर लिएको कानपाराको जग्गा पनि अंशबण्डा हुने हो भने फिरादीले पनि पुनरावेदनमा जिकिर लिएको हरेराम वा निजको बाबु रामऔतार हामीसँग यो साल महिना मितिदेखि मानु छुट्टिई बसेको हो भनी फिरादीले पनि मिति किटान गरी नभनेकाले ७७ साल चैत्रमै मानु छुट्टिएको मिति कायम गर्न मिल्ने आधार केही पाइएन ७७ सालमै मानु छुट्टिई कानपारामा बसेको भए त्यसपछि ८७ र ९१–९२ सालमा प्र.बदलुका बाबुले खरीद गरी दर्ता भए भनेका जग्गामा हरेरामले कसरी अंश भाग पाउने सो जग्गामासमेत अंश भाग पाउने ठहराई भएको निर्णय उपर पनि निजले कुनै खण्डन नगरी त्यसतर्फ पनि मौन रहेकाले यस स्थितिमा हरेरामका निजका बाबुको र फिरादीसमेतको मानो छुट्टिएको मिति फिराद दर्ता भएको अघिल्लो दिन लाई नै कायम गर्नु पर्ने हुन आएको छ ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट
विपक्ष तर्फबाट : अधिवक्ता प्रेमकृष्ण पाठक
फैसला
न्या. जयदेव भट्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधान धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५महाराजाधिराजबाट बक्स भई आएको २०२८।३।३१।५ को हुकुम प्रमाड्डी बमोजिम दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छ : मेरो जिजु बाजेको ३ भाइ छोरामा जेठा जगदेउ, माहिला प्रयाग, कान्छा शिवनारायण, जेठा जगदेउको छोरा रमेश्वर मोसु रमेश्वरका छोरा बदलु प्रयागका छोरा रामऔतार कान्छा शिवनारायणको छोरा म डाहाक होमोसु, रामेश्वरसमेत मरेका रामऔतार खतिउपति केही नव्यहोर्ने गरी कानपारामा अघि नै गएका म र अन्यायवाला बदलुसँग बसेका सबै कारोवार बदलुले नै गरेको थियो परिवार बढ्दै गएकाले अंशबण्डा गरौं भन्दा आधा अंश दिन नमानेकाले निजबाट फाँट लिई मेरो बाबु विसनारायणका नाउँमा १९६५ सालमा र ७८ सालमा दर्ता भएको बाबुका शेषपछि जेठा बाबुको छोरा दाजु रामेश्वर निजको शेषपछिको भोसु सतका नाउँमा दर्ता भएको नदवरा, लक्ष्मीपुर मौजाको र मल्लका जिमिदारी विगाहा ३०–१–१–४ जग्गासमेत र चल अचल गैह्रको आधा अंश दिलाई पाउँ भन्ने ०१६।९।१३।२ को डाहाक पश्चिमा थारूको फिरादपत्र ।
३. मेरो जिज्यू गयादत्तका ४ भाइ छोरामा जेठा जगदेव, माहिला प्रयाग, साहिंला इन्द्रदेव र कान्छा शिवनारायण जेठाको छोरा रामेश्वर र निजको छोरा म बदलु माहिलाको छोरा रामऔतार र निजको छोरा हरेराम साहिंलाका छोरा भोसु र कान्छाका छोरा वादी डाहाक हुन् म बदलु हरेराम, भोसु र वादी डाहाकसमेत ४ जनाका बीचमा नरम करम मिलाई बराबर अंश गरी आ–आफ्ना नाउँमा दर्ता दाखिल खारेज गरिसकेको छौं वादीका नाउँमा पनि लक्ष्मीपुरमा जग्गा विगाहा १०द्र२। कायम छ भोसु परलोक भई निजका छोरा वृजलाल पनि परलोक भई भोसुकी श्रीमती ठगनी र वृजलालको श्रीमती ठगनी जिवितै छन् र अंश भोग गरिराखेका छन् निजहरू बुझेमा पनि प्रष्ट हुन्छ अंश दिनुपर्ने होइन वादी दावा खारेज गरिपाउँ भन्नेसमेत बदलु पश्चिमा थारूको प्रतिउत्तर ।
४. बाबु रामऔतार ७६।७७ साल के मा हो नदबासमेतको अंश छोडी हाटी मौजे कानपारामा गई बसी बाबुले आर्जन गरेको जग्गा बिगाहा ८।।.।।।३ भोगेको छु नदबा, लक्ष्मीपुरमा वादी डाहाक भोसु, बदलुले ३ बण्डा गरिलिएका छन् भन्ने सुनेको हुँ मलाई केही नदिएकाले कानूनले पाउने भए पाउँ भन्नेसमेत हरिराम थारुको ०१७।२।२० मा गरेको बयान ।
५. गयादत्तको कति छोरा थिए, मलाई थाहा छैन मेरो ससुरा इन्द्रदेवको छोरा लोग्ने भोसु मरेको ३ बर्ष भयो छोरा वृजलाल पोहोर साल परलोक भएको लोग्नेका पालादेखि भिन्न भई ०७ सालका बालीदेखि लोग्नेका नाउँमा जग्गा दर्ता गराई म र बुहारी ठगनीले भोगी आएका छौं भन्नेसमेत भोसुको स्वास्नी ठगनी थारूनीको बयान ।
६. नरम करम मिलाई बण्डा गरी आफ्ना आफ्ना नाउँमा नामसारी दर्ता गरी खाई आएको देखिएको बण्डा पाउने भोसु मरिसकेपछिको दावा हुँदा अंशबण्डाको ६१ नं.का ऐनले खारेज गरिदिन भन्नेसमेत ०१७।७।१७।४ को परासी इलाका अदालतको फैसला ।
७. खारेज गर्न मिल्दैन इन्साफ गरिदिनु भन्नेसमेत ०१७।११।१३ को तत्कालिन तौ.जि.अ.को फैसला र सो इन्साफ मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।१२।२ को फैसला ।
८. ०१६ सालमा अंशबण्डा भइसकेको भन्ने हकमा बण्डापत्रको लिखत नदेखिएकोले बण्डा भइसकेको भन्न मिलेन मानो छुट्टिएको मिति नखुलाएको प्रतिवादीबाट ०६ सालमा छुट्टिएको भन्ने देखिएकाले ०६ साल आश्विनकै मानो छुट्टिएको मिति कायम भई तायदाती मागिएको हुँदा प्रतिवादीले दाखिल गरेको तायदातीमा पछिको आर्जन भनी लेखिएको घर जग्गा बाहेक अरू जम्मा ४२६७२। मोल बिगोको सम्पत्तिबाट वादी र बदलु, हरीरामसमेत ३ अंशियारले बराबर अंश पाउँछन् भोसुले वादी चण्डिका र प्र.हरीराम केवटको चोरी मुद्दामा बकपत्र मुद्दामा बकपत्र गर्दा जगदेवको छोरा भनी ०१२।८।३ मा बकपत्र गरेको देखिएकोले निज बदलु पट्टि भई अंश छुट्याउन नपर्ने भन्नेसमेत शुरु नवलपरासी जिल्ला अदालतको ०२२।१२।२९ गतेको फैसला ।
९. बाबुका पालादेखि कानपारा मौजामा बसी आर्जन गरेका जग्गा वादीले फिराद गर्दा दावी नगरेकोसमेत बण्डा गरिदिने गरेकोमा चित्त बुझेन भन्ने हरिराम र भोसुलाई इन्द्रदेवको छोरा नगराई जगदेवको छोरा कायम गरिदिएमा चित्त बुझेन भन्नेसमेत बदलु ०६ सालमा मानो छुट्टिएको ठहराएमा चित्त बुझेन भन्नेसमेत वादी डाहाकको मुद्दा सकार गर्ने झब्बु थारूको पृथक्पृथक् पुनरावेदन पत्र ।
१०. ०६ सालमा मानु छुट्टिएको र अंशबण्डा गरिदिने ठहराएको सुरुको मनासिवै देखियो उखडा जग्गा बिगाहा ९।।३।।।२ गोश्वारा सम्पति हुन आएकोले त्यसको ३ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्छ सो नगर्नु शुरुको गल्ती ठहर्छ भन्नेसमेत लुम्बिनी अञ्चल अदालतको ०२३।१०।१७।३ को फैसला ।
११. सो इन्साफमा चित बुझेन भन्ने हरिराम थारू, बदलु थारू झब्बु थारूको पुनरावेदन पर्दा वादी प्रतिवादी दुबै थर अंशियार हुन् भन्ने कुरामा मुख मिलेकै र ०६ सालमा मानो छुट्टिएको लिखत प्रमाण केही नभएकोले मानो छुट्टिएकोबाट अंश भइसकेको भन्न मिलेन तसर्थ वादीले प्रतिवादी उपर नालेस दिएको २०१६।३।१९।६ मा मानो छुट्टिएको भन्नु परी सो मानो छुट्टिएको दिनको अघिल्लो अर्थात् ०१६।३।१८।५ का दिनसम्मको ऐन बमोजिम तायदाती लिई अंशबण्डा गर्नु पर्ने ठहरेकाले २००६ सालमा मानो छुट्टिएको मिति कायम गरेको अञ्चल अदालतसँग यो बेञ्च सहमत हुन सकेन अब वादीले के कति अंश पाउने हो भन्नेतर्फ विचार गर्दा प्रतिवादी भोसुलाई इन्द्रदेवको छोरा पुरै १ हिस्सा पाउने लेखाएता पनि रामेश्वरका छोरा बदलु र भोसु भनी वादीले लेखेको र मिसिल सामेल रहेको चोरी मुद्दाको बकपत्र जगदेवको छोरा भोसु भनी लेखेकोले भोसुका बाबु र बदलुका बाबु रामेश्वरको बाबु एउटै जगदेव देखिएकोले भोसु र बदलुले जगदेवको भागबाट अंश पाउने देखिन्छ बदलुसँग अंश पाउँ भनी शिवनारायणका छोरा डाहाकले उजूर गरेको यो मुद्दा हुनाले निजहरूको भएसम्मको धन ऋण बण्डा गनुपर्ने हुन आएको छ, जगदेवको भाइ रामऔतारले कानपाराको जग्गा भोग गरेको भनी वादी प्रतिवादीले लेखेको र रामऔतारको छोरा हरेरामले निजका तायदातीमा लेखेको जग्गा यो बाटोबाट आम्दानी गरेको हो भनी नखुलाएकोले बण्डा हुने र नदवा, लक्ष्मीपुरको जग्गासमेत हरेरामको भाग लाग्छ झब्बुले तायदाती दिएको र प्रतिवादीले आफ्नो चलन भोगमा रहेको भनी तायदातीमा भिडेको र लेखेको जति यस मुद्दाबाट बण्डा हुन सक्छ ऋणको फाँटवारी देखाएकोमा भरी भराउ गरी पाउँ भन्ने यो मुद्दा नहुनाले यस मुद्दाबाट भरी भराउ गर्नु परेन सो बमोजिम ठहर नगरेकोले जिल्ला अदालत तथा अञ्चलतको केही उल्टी हुन्छ भन्नेसमेत ०२७।३।८।२ को डिभिजन बेञ्चको फैसला ।
१२. प्रतिवादी मध्येकै बदलुको छोरा सुखराज पश्चिमा थारूलाईसमेत राहेवरमा राखी मुद्दा सुनुवाई हुनुपर्ने देखिएकोले बाटाका म्याद बाहेक ७ दिनभित्र हाजिर हुन आउनु भनी सुखराजलाई म्याद दिई आएपछि पेश गर्नु भन्ने ०२९।८।२३।६ को फुल बेञ्चको आदेश ।
१३. प्रतिवादी सरह रहेकी अंशियार मध्येकै भोसुकी स्वास्नी ठगनी र वृजलालकी स्वास्नी ठगनीसमेतलाई रोहवरमा राखी मुद्दाको सुनुवाई हुनुपर्ने निजहरूलाई ७ दिने म्याद दिई झिकाई पेश गर्नु पर्ने भन्नेसमेत ०२९।१२।१४।३ को फुल बेञ्चका आदेश बमोजिम म्याद जारी भई गएकोमा भोसुकी स्वास्नी ठगनी ०१८ सालमा र वृजलालको स्वास्नी ठगनी ०२४ सालमा परलोक भएको भनी ०३०।१।१४।५ मा ७ दिने म्याद तामेल भई आएको रहेछ ।
१४. यसमा निवेदक हरिराम थारूको वा.झलकबहादुर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता लवदेव भट्ट र विपक्ष तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रेमकृष्ण पाठकले ०२९।६।५।६ मा गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीले प्रतिवादीहरूसँग अंश पाउने गरी डिभिजन बेञ्चबाट निर्णय भएको सो इन्साफ दोहर्याई भनी दिएका निवेदनबाट न्यायिक समितिको सिफारिसमा पाउँ दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्सी भई आएको प्रस्तुत मुद्दामा फिरादीले अंश नपाउने हैन भन्ने कुुराको कसैले विवाद उठाएको छैन । कानपाराको जग्गा अंशबण्डा हुन नपर्ने भनी प्र.हरेरामले र धन बाँडी पाएपछि ऋण पनि बाँडिनु पर्ने भनी प्र.बदलुले निवेदन जिकिर लिएको हुँदा वादी प्रतिवादीहरू पेटबोलीबाट बुझिएको प्रतिवादी हरेरामको मानु छुट्टिदिएको मिति कुन हो कानपाराको जग्गा बण्डा हुने हो हैन र तायजाती बमोजिम ऋण धनको बण्डा भएको छ छैन भनी निर्णय दिनुपर्ने देखियो ।
१५. हरेरामको बाबु रामऔतार कानपारा मौजामा बसाइँ सरी गएको भनी वादीले लेखेको हरेराम कानपारामा गई बसेको भन्ने कुरालाई प्रतिवादी बदलुले पनि मानेकै र हरेरामले बयान गर्दा बाबुराम औतार ७६।७७ सालमा के हो कानपारा गई बसेका भनी लेखेकाले हरेरामको बाबु रामऔतार मानु छुट्टी बसेको भन्ने कुरामा वादी प्रतिवादी र पेटबोलीबाट बुझिएको हरेरामको मुख मिलेकाले रामऔतार र हरेरामको कानपाराको जग्गा बण्डा गर्नु नहुने भनी तर्क उठेकोमा सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने पनि त्यतिकै कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको मितिमा २ थरको मुख मिलेको वा मानो छुट्टिएको हो भन्न मिल्ने पक्का सबूद लिखत भएमात्र मानु छुट्टिएको हो भनी मान्नु पर्नेमा त्यस्तो प्रमाण केही देखिएन प्र.बदलुले आफ्नो प्रतिवादीमा हरेराम कानपारामा खेती गरी सगोलमा बसी आएको, पछि ०६ सालमा अंशबण्डा हुँदा हरेरामका भागमा जग्गा विगाहा ९–४–३ परेकोमा पानी लाग्ने भएकाले कानपाराको जग्गा विगाहा ८।।.।।।३ भई घटी भए पनि कानपाराको जग्गा खान्छु पनि पालितर्फको जग्गा अरू भाइलाई छोडिदिएको पनि र अञ्चल अदालतमा दिएका पुनरावेदनमा हरेरामसँग हाम्रो मानो छुट्टिएको नभई सगोल सराकतकै आर्जनको कानपाराको नम्बरी जग्गामा बसी आएको हाम्रो सगोलको जग्गा हो भन्ने जिकिर लिएको कानपाराको जग्गा पनि अंशबण्डा हुने हो भने फिरादीले पनि पुनरावेदनमा जिकिर लिएको हरेराम वा निजको बाबु रामऔतार हामीसँग यो साल महिना मितिदेखि मानु छुट्टिई बसेको हो भनी फिरादीले पनि मिति किटान गरी नभनेकाले ७७ साल चैत्रमै मानु छुट्टिएको मिति कायम गर्न मिल्ने आधार केही पाइएन ७७ सालमै मानु छुट्टिई कानपारामा बसेको भए त्यसपछि ८७ र ९१–९२ सालमा प्र.बदलुका बाबुले खरीद गरी दर्ता भए भनेका जग्गामा हरेरामले कसरी अंश भाग पाउने सो जग्गामासमेत अंश भाग पाउने ठहराई भएको निर्णय उपर पनि निजले कुनै खण्डन नगरी त्यसतर्फ पनि मौन रहेकाले यस स्थितिमा हरेरामका निजका बाबुको र फिरादीसमेतको मानो छुट्टिएको मिति फिराद दर्ता भएको अघिल्लो दिन लाई नै कायम गर्नु पर्ने हुन आएको छ ।
१६. जगदेवको भाइ रामऔतारले कानपाराको जग्गा भोग गरेको भनी वादी प्रतिवादीले लेखाएको रामऔतारको छोरा हरेरामले तायदातीमा लेखेको जग्गा यो साल मितिमा खरीद गरेका वा अन्य यस परिबन्दबाट आर्जन गरेको भनी नखुलाएको कानपाराको सगोलको सम्पति कायम गरी डिभिजन बेञ्चले निर्णय दिएको सो इन्साफ दोहोर्याउन दिएको निवेदनमा पनि प्र.हरेरामले उक्त जग्गा यस परिबन्दबाट मेरो निजी आर्जन गरेको एकलौटी हक भएको बण्डा हुन नसक्ने भन्ने सबूद दिन नसकेको निजले पेश गरेको ७८ सालको नापी अठसठ्ठा उतारबाट उक्त जग्गा हरेरामले हाल आवादी वा अन्य स्रोतबाट ७८ सालमा प्राप्त गरेको भन्ने देखिन नआई हरेराम थारूका नाउँको दर्ता उतार भन्ने उल्लेख भएकाले सगोल गोश्वाराको ठाउँ ठाउँको जेथा विभिन्न अंशियारले भोग गरे मध्येकै अंशियारा वादीका बाबु शिवनारायणका नाउँमा ७८ सालमा दर्ता भएका जग्गा भने बण्डा भई त्यसमा प्र.हरेरामको अंश भाग पनि लाग्ने भएपछि हरेरामका नाउँमा ७८ सालमै दर्ता भएका जग्गामा फिरादीसमेतका अंशियारहरूको अंश भाग नलागी हरेरामको मात्र एकलौटी हक कायम हुने भनी ठहराउन नमिल्ने दुबै पक्षका पुर्खाको सगोलको जेथा मध्येकै कानपाराको जग्गासमेत अघि अंशबण्डा नभएको हुँदा अंशबण्डाको तत्कालिन ६१ हालको ३५ नं.ले सबै अंशियारहरूको अंश भाग लाग्ने देखिन्छ ।
१७. धनको अंशबण्डा भएपछि ऋणको पनि अंशबण्डा हुनुपर्ने भएन सो गरिपाउँ भन्ने बदलुको छोरा सुकराजको जिकिरलाई २२ साल मार्गमा दिएका फाँटवारीमा ऋण निर्त पर्ने बाँकी छ भन्ने उल्लेख नगरेको बदलुको छोरा सुकराजले ०२५ साल चैत्रमा दिएको तायदातीमा ०१६ साल आषाढसम्म तिर्न पर्ने बाँकी रहेको नालेस परेपछि यता मैले एकलौटी तिरेको ऋण र उखडा जग्गाको क्षतिपूर्तिसमेत वादीसमेतले बेहर्नु पर्ने रू.७४८९।२२ भन्ने उल्लेख गरेकाले साहु तिर्नुपर्ने बाँकी भए साहुको मञ्जूरी नलिई बण्डा गरेकोमा एकै साहु पनि जति बण्डा लाग्छ बक्स पिच्छे बण्डा गर्नुपर्छ साहुको जिउ जिउ पर्ने गरी बण्डा गरेको सदर हुँदैन भन्ने कुरा लेनदेन व्यवहारको २१ नं.ले व्यवस्था गरेको हुँदा सो बमोजिम तिर्नुपर्ने साहु बाँकी भएको भन्ने दायदाती नभई नालेस परेपछि मैले एकलौटी तिरेको ऋण भन्ने लेखेकाले साहु बाँड्नु पर्ने अवस्था नदेखिएको ऋणको फाँटवारी देखाएकोमा भरिभराउ गरिपाउँ भन्ने यो मुद्दा नहुनाले यस मुद्दाबाट भरिभराउ गर्न परेन भनी डिभिजन बेञ्चको फैसलामा उल्ल्लेख भएकै हुनाले ऋणको बण्डा भएन भन्ने जिकिर मनासिव देखिएन ।
१८. अतः कानपाराको जग्गासमेत बण्डा हुने ठहराई छिनेको इन्साफ ०२७।३।८।२ को डिभिजन बेञ्चको मनासिव छ कोर्टफी राखेकाले निवेदक प्रतिवादीलाई मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन । नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. मीनबहादुर थापा
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल आश्विन ५ गते रोज ६ शुभम् ।