निर्णय नं. ७६२ – विहावारी
निर्णय नं. ७६२ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ७६२ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको फौ.फु.नं. ३६
फैसला भएको मिति : २०३०।५।२९।६ मा
निवेदक : जि.स.प्र.मझौवा मौजे झुटकी बस्ने लङ्गवती यादवनी
विरूद्ध
विपक्षी : ऐ.बस्ने महादेव यादव उत्तिमलाल यादवसमेत
मुद्दा : विहावारी
(१) विवाह भएको नभई हिन्दु समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न स्वभाविक विश्वासलायक कारण नहुने ।
यसमा भाइ जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ सालमा मरेकोले निजको लङ्गवतीसँग विवाह भएकै होइन भन्ने वादी उतिमलाल महादेव र १९९३ सालमा जुगेश्वरसँग मेरो विवाह भई १९९९ सालमा दुरागमन भएपछि ०१२ सालमामात्र लोग्ने जुगेश्वर मरेका हुन् भन्ने लङ्गवतीको भनाई जिकिर भई विवाह भए नभएको कुरामा विवाद उठेको रहेछ । यो मुद्दाको वादी उतिमलाल महादेवहरूको २०१६ साल कार्तिक २९ गते अंशबण्डा हुँदा अरू अंशियार छैन भनी यिनै लङ्गवतीको भाइ लखनलाल लेखक साक्षी भई बण्डापत्र खडा भएको भन्ने वादी पक्षको जिकिरको हकमा त्यस्तो बोली पारी लखनलालले बण्डापत्र लेखिदिएकै भए पनि लखनलालले लेखेकोबाट लङ्गवतीको हकमा असर पुर्याउन हक जान सक्ने स्थिति नहुँदा त्यसलाई खास प्रमाण मान्न मिलेन । पुरोहित भनेको चुनचुन ठाकुरले मैले विवाह गराएको होइन भनेको भन्ने अर्को जिकिरको हकमा निजको बकपत्र हेर्दा वादीको भाइ जुगेश्वर थियो भन्ने कुरासम्म सुनेको हुँ तर म जन्मेदेखि र थाहा भएदेखि जुगेश्वरलाई देखेको छैन जुगेश्वरको विवाह भए नभएको पनि म जान्दिन दुवै थरको म पुरोहित हुँ तर मैले लङ्गवतीको विवाह गराएको छैन बाबु बाजेले गराएको पनि मलाई थाहा छैन भनी बकेको र निजबाट उमेर कति रहेछ भनी हेर्दा ०२५।९।२०।२ मा बकपत्र गर्दा ३४ बर्षको उमेर लेखाएको रहेछ त्यस उमेरको हिसाबबाट निजको जन्म ९२ सालतिर भएको हुन आउँछ ९२ सालमा जन्मेको निज चुनचुनलाई ९३ सालमा लङ्गवतीको जुगेश्वरसँग विवाह भएको थाहा हुनु अथवा निज पुरोहित भई विवाह गराएको हुनु सम्भावित कुरै भएन खास गरी निज लङ्गवती र जुुगेश्वरको विवाह भएको होइन भन्न निजले नसकी थाहा छैन भन्नेको र निजको बाबु बाजे पुरोहित भई विवाह गराएको निजलाई थाहा हुन पनि नसक्ने हुनाले वास्तवमा निज चुनचुनको बकाईबाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै होइन भन्ने वादीहरूको भनाई जिकिरलाई कुनै मद्दत गर्दैन अरू साक्षीहरूको बकाई हेर्दा वादीको अरू ७ जना साक्षीले लङ्गवती र जुगेश्वरको विवाह भएको होइन भनेको र प्रतिवादी लङ्गवतीका १६ जना साक्षीले लङ्गवती जुगेश्वरको १९९३ सालमा विवाह भई ९९ सालमा दुरागमन भएको र १२ सालमा जुगेश्वर मरेको भन्ने लङ्गवतीको भनाई जिकिर समर्थित हुने गरी बकेको पाइन्छ । दुवै पक्षका ती साक्षीहरूको बकाईको मूल्याङ्कन गरी हेर्दा एक त वादीको भन्दा प्रतिवादीका साक्षीहरूको संख्या दोब्बर भएको, सामान्यत थोरैजनाको भन्दा धेरैजनाले भनेको कुरा नै साँचो मान्नु स्वाभाविक हुने र दोश्रो कुरा प्रतिवादीका ती १६ जना साक्षी मध्ये सुकराती हजामले लङ्गवती र जुगेश्वरको विवाहमा म हजाम भई काम गराएको हुँ भन्ने र अगम यादवले सो विवाहमा म पनि वरियात गएको थिएँ भन्ने किटानसाथ भने बकेकोसमेत बाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै प्रमाणित हुन्छ, उसमा पनि वादीको भनाई जिकिर अनुसार लङ्गवतीको जुगेश्वरसँग विवाह भएको नभए प्रतिवादी लङ्गवतीले हिन्दू समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै जुगेश्वरकी स्वास्नी हुँ भनी भन्न जानु स्वाभाविक र विश्वासलायक कारण पनि नभएकोसमेत प्रमाण परिबन्दबाट प्रतिवादी लङ्गवतीको भनाई अनुसार निजको जुगेश्वरसँग विवाह भएकै ठहर्छ विवाह भएको नठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको सदर गरी ०२६।१०।१६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : यिनीहरूको पहिले परेको अंश मुद्दामा विहावारीतर्फ कारवाई किनारा गरी पठाउनु भन्ने ०२५।१।२७।५ को डिभिजन बेञ्चबाट आदेश भई गए बमोजिम यो मुद्दाको कारवाई चलेकोमा लङ्गवतीले लोग्ने भनेको जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ साल अर्थात् ४ बर्षमा विवाह नहुँदै मरेकोमा लङ्गवतीले जुगेश्वरको स्वास्नी भनी उजूर गरेकी झुठ्ठा हो निज लङ्गवतीको आजसम्म विवाह नभई कन्या भई बसेकी छन् भन्नेसमेत उत्तिमलाल महादेवको बयान । उत्तिमलालसमेतको बयान झुठ्ठा हो जुगेश्वर यादवसँग ९३ सालमा निज लङ्गवतीको विवाह भएको ९९ सालमा दुरागमन भई आफ्नो पतिको घरमा गएकी लोग्ने जुगेश्वर कालगतिले १२ सालमा परलोक हुनु भएको हो म आजसम्म उहाँको सत्तेमा रहेकी छु भन्ने लङ्गवतीको बयान । प्रतिवादीको १६ जना साक्षीको बकाइकै मिलान नभई परस्पर सबको सब कुरा फरक परेको वादीको ९ जना साक्षीमध्ये १ जना वातिल भए पनि ८ जनाले तथ्यसाथ जुगेश्वर १९८० सालमा जन्मी ३।४ बर्ष हुँदैमा मरेकाले निजको विवाह नै भएको थिएन भनी वादीहरूकै कुरा खम्विर राखी बकेकी र अंश मुद्दातर्फको सबूद प्रमाणबाट पनि वादीहरूको भाइ जुगेश्र नावालख भई विवाह नहुँदै मरेको भन्ने कुरा सबूदबाट प्रष्ट देखिन आएको प्रतिवादीले वादीहरूको भाइ जुगेश्वरसँग विवाह भएको थियो भन्ने कुराको ठोस सबूद पुर्याउन नसकेकोसमेत प्रमाणबाट प्र.लङ्गवतीको वादीहरूको भाइ जुगेश्वरसँग विवाह भएको ठहर्दैन भन्ने सगरमाथा अं. अदालत राजविराज बेञ्चको ०२६।१।९।१ को फैसला ।
३. सो उपर चित्त बुझेन भन्ने लङ्गवतीको पुनरावेदन ।
४. लङ्गवतीको लोग्ने भनेको जुगेश्वर १९८० सालमा जन्मी ३।४ बर्षको हुँदैमा मरेको निजको विवाह नै भएको थिएन भनी वादीहरूकै कुरा खम्विर राखी बुझिएका साक्षीहरूले पनि बकी दिएका र अंश मुद्दातर्फ सबूद प्रमाण पनि खम्विर भएको नदेखिनाले लङ्गवतीलाई जुगेश्वरको स्वास्नी कायम नगर्ने ठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मुनसिव छ भन्ने ०२६।१०।१६।५ मा डिभिजन बेञ्चबाट फैसला भएको ।
५. न्यायिक समितिको मुद्दा दोहोर्याउने सिफारिसमा उत्तिमलाल र महादेवको बण्डापत्रमा अरू अंशियार छैन भनी लङ्गवतीको भाइ लखनलाल लेखक साक्षी भएको भन्ने हकमा लखनलालबाट त्यस किसिम लेखाउँदैमा लङ्गवतीको हक जान्छ भन्न नमिल्ने वादीको साक्षीहरूले लङ्गवतीको विवाह भएको छैन भने पनि त्यसरी लङ्गवतीले अर्काको स्वास्नी बन्नु पर्ने कारण खुलाई लेख्न नसकेको प्रतिवादी लङ्गवतीको साक्षी १६ जनाले विवाह भएको कुरा किटानसाथ बकी लेखिदिएको धेरै साक्षीको कुरा नमानी थोरै साक्षीको कुरा मान्न मनासिव नपर्नेसमेत प्रमाणबाट वादीको कुरा झुठ्ठा देखिँदा डिभिजन बेञ्चको निर्णय मिलेको भन्नेसमेत उल्लेख भएको।
६. यस बेञ्च समक्ष निवेदक प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले उत्तिमलाल महादेवको बण्डापत्र हुँदा अरू अंशियार छैन भनी लङ्गवतीको भाइ लखनलालले बण्डापत्र लेखेका भन्ने हकमा त्यसरी बीचको मानिसले लेखेकोबाट लङ्गवतीको हक जान सक्दैन । यो मुद्दामा बुझिएका धेरै साक्षीको बकाईबाट मेरो पक्षको भनाई अनुसार मेरो पक्ष लङ्गवतीको विवाह जुगेश्वरसँग विवाह भएको प्रमाणित भएको छ त्यसकारण विवाह भएको कायम हुनुपर्छ भन्नेसमेत र लङ्गवतीको जुगेश्वरसँग विवाह भएको भए खुदै लङ्गवतीको भाइ लखनलालले उत्तिमलाल महादेवको बण्डापत्रमा अरू अंशियार नभएको भनी लेख्नुपर्ने थिएन पुरोहित चुनचुनले विवाह गराएको होइन भनेको छ र मेरो पक्षका अरू साक्षीहरूले विवाह भएको होइन भनी किटानसाथ लेखिदिएका छन् त्यसकारण विवाह भएको नठहराएको डिभिजन बेञ्चको इन्साफ कायम गर्नुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
७. यसमा भाइ जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ सालमा मरेकोले निजको लङ्गवतीसँग विवाह भएकै होइन भन्ने वादी उतिमलाल महादेव र १९९३ सालमा जुगेश्वरसँग मेरो विवाह भई १९९९ सालमा दुरागमन भएपछि ०१२ सालमामात्र लोग्ने जुगेश्वर मरेका हुन् भन्ने लङ्गवतीको भनाई जिकिर भई विवाह भए नभएको कुरामा विवाद उठेको रहेछ । यो मुद्दाको वादी उतिमलाल महादेवहरूको २०१६ साल कार्तिक २९ गते अंशबण्डा हुँदा अरू अंशियार छैन भनी यिनै लङ्गवतीको भाइ लखनलाल लेखक साक्षी भई बण्डापत्र खडा भएको भन्ने वादी पक्षको जिकिरको हकमा त्यस्तो बोली पारी लखनलालले बण्डापत्र लेखिदिएकै भए पनि लखनलालले लेखेकोबाट लङ्गवतीको हकमा असर पुर्याउन हक जान सक्ने स्थिति नहुँदा त्यसलाई खास प्रमाण मान्न मिलेन । पुरोहित भनेको चुनचुन ठाकुरले मैले विवाह गराएको होइन भनेको भन्ने अर्को जिकिरको हकमा निजको बकपत्र हेर्दा वादीको भाइ जुगेश्वर थियो भन्ने कुरासम्म सुनेको हुँ तर म जन्मेदेखि र थाहा भएदेखि जुगेश्वरलाई देखेको छैन जुगेश्वरको विवाह भए नभएको पनि म जान्दिन दुवै थरको म पुरोहित हुँ तर मैले लङ्गवतीको विवाह गराएको छैन बाबु बाजेले गराएको पनि मलाई थाहा छैन भनी बकेको र निजबाट उमेर कति रहेछ भनी हेर्दा ०२५।९।२०।२ मा बकपत्र गर्दा ३४ बर्षको उमेर लेखाएको रहेछ त्यस उमेरको हिसाबबाट निजको जन्म ९२ सालतिर भएको हुन आउँछ ९२ सालमा जन्मेको निज चुनचुनलाई ९३ सालमा लङ्गवतीको जुगेश्वरसँग विवाह भएको थाहा हुनु अथवा निज पुरोहित भई विवाह गराएको हुनु सम्भावित कुरै भएन खास गरी निज लङ्गवती र जुुगेश्वरको विवाह भएको होइन भन्न निजले नसकी थाहा छैन भन्नेको र निजको बाबु बाजे पुरोहित भई विवाह गराएको निजलाई थाहा हुन पनि नसक्ने हुनाले वास्तवमा निज चुनचुनको बकाईबाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै होइन भन्ने वादीहरूको भनाई जिकिरलाई कुनै मद्दत गर्दैन अरू साक्षीहरूको बकाई हेर्दा वादीको अरू ७ जना साक्षीले लङ्गवती र जुगेश्वरको विवाह भएको होइन भनेको र प्रतिवादी लङ्गवतीका १६ जना साक्षीले लङ्गवती जुगेश्वरको १९९३ सालमा विवाह भई ९९ सालमा दुरागमन भएको र १२ सालमा जुगेश्वर मरेको भन्ने लङ्गवतीको भनाई जिकिर समर्थित हुने गरी बकेको पाइन्छ । दुवै पक्षका ती साक्षीहरूको बकाईको मूल्याङ्कन गरी हेर्दा एक त वादीको भन्दा प्रतिवादीका साक्षीहरूको संख्या दोब्बर भएको, सामान्यत थोरैजनाको भन्दा धेरैजनाले भनेको कुरा नै साँचो मान्नु स्वाभाविक हुने र दोश्रो कुरा प्रतिवादीका ती १६ जना साक्षी मध्ये सुकराती हजामले लङ्गवती र जुगेश्वरको विवाहमा म हजाम भई काम गराएको हुँ भन्ने र अगम यादवले सो विवाहमा म पनि वरियात गएको थिएँ भन्ने किटानसाथ भने बकेकोसमेत बाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै प्रमाणित हुन्छ, उसमा पनि वादीको भनाई जिकिर अनुसार लङ्गवतीको जुगेश्वरसँग विवाह भएको नभए प्रतिवादी लङ्गवतीले हिन्दू समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै जुगेश्वरकी स्वास्नी हुँ भनी भन्न जानु स्वाभाविक र विश्वासलायक कारण पनि नभएकोसमेत प्रमाण परिबन्दबाट प्रतिवादी लङ्गवतीको भनाई अनुसार निजको जुगेश्वरसँग विवाह भएकै ठहर्छ विवाह भएको नठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको सदर गरी ०२६।१०।१६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी लङ्गवती यादवनी के सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको ०२६।१।८।१ को फैसलाले गर्ने गरेको जरिवाना रू.५। नलाग्ने हुँदा ०२६।२।८ मा सप्तरी जिल्ला अदालतमा तिरे बुझाएको कानूनबमोजिम फिर्ता दिनु भनी उक्त अदालतलाई लेखी पठाउन का.जि.अ.तहसील फँटमा लगत दिनु……………….१
ऐ.ऐ.के ०२६।१०।१६।५ को डिभिजन बेञ्चको फैसलाले गरेको जरिवाना रू.।५० नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ.ऐ………………२
वादी देहायका मानिस के लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै होइन भनी झुठ्ठा दावी लिएमा दण्ड सजायको १२ नं.ले रू.१०। जरिवाना हुन्छ वारेस हुँदा दामासाहीले देहाय असूल गर्न कानूनबमोजिम लगत दिनु………………..३
महादेव यादव के रू.५।, उत्तिमलाल यादव के रू.५।
देहायका साक्षीहरूले झुठ्ठा बकेको भनी सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको ०२६।१।८।१ को फैसलाले रू.१। दरले गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असूल भइसकेको फिर्ता बाँकीको लगत कट्टा गरी दिन भनी ऐ.ऐ……………..४
सप्तरी प्र.मझुवा झुटको बस्ने खुसीलाल यादव १, ऐ.बस्ने इसाई यादव १, ऐ.बस्ने अधिकलाल यादव १, ऐ.बस्ने बबा यादव १, ऐ.बस्ने सुकराती हजाम १, ऐ.बस्ने अधिकलाल यादव १, ऐ.बस्ने बचा मलाहा १, ऐ.बस्ने अगम यादव १, ऐ.बस्ने तालजी ठाकुर हजाम १, ऐ.बस्ने हरिजन चमार १, ऐ.बस्ने मकै अरिजन चमार १, ऐ.बस्ने गेनी यादव १, ऐ.बस्ने बोवालाल यादव १, ऐ.बस्ने बैजनाथ पण्डित कुमाल १, ऐ.बस्ने मोती मण्डर मधैया धानुक १, ऐ.बस्ने महंथी यादव १
वादीका साक्षी देहायका मानिसके झुठ्ठा बकेमा अ.बं.१६९ ले रू.१। का दरले जरिवाना हुन्छ कानूनबमोजिम असूलगर्नु भनी ऐ.ऐ….५
सप्तरी प्र.मझुवा झुटकी बस्ने सीताराम यादव १, ऐ.झुटकी कजरा टोल बस्ने मुराई यादव १, ऐ.ऐ.बस्ने मुनाई यादव १, ऐ.ऐ.बस्ने रामजी यादव १, ऐ.ऐ.बस्ने वौधी यादव १, ऐ.ऐ.बस्ने झडरी यादव १, ऐ.ऐ.बस्ने राम किसन यादव १
सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चका तत्कालिन अञ्चल न्यायाधीश श्री सर्वज्ञराज पण्डित ज्यूको इन्साफ उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु…………………६
नियमबमोजिम मिसिल बुझाई दिनु…………………..७
न्या. मीनबहादुर थापा,
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल भाद्र २९ गते रोज ६ शुभम् ।