निर्णय नं. ७५३ – जग्गा खिचोला
निर्णय नं. ७५३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत्...
निर्णय नं. ७५३ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२८ सालको दे.फु.नं. ११८
फैसला भएको मिति : २०३०।४।१२।६
निवेदक : पूर्व ४ नं. डिंग्ला साना मजुवा जिमिगाउँ बस्ने मानबहादुर राई
विरूद्ध
विपक्षी : ऐ.बस्ने माहावीर राईसमेत
मुद्दा : जग्गा खिचोला
(१) हक छोडी दिएको व्यहोरा परेको कागज रजिष्ट्रेशन गराउनु नै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गरेको नदेखिए कानूनी मान्यता दिन नमिल्ने ।
सो अपुतालीको भागबण्डा लगाउँदा वादीले रोटे पिङ छेउको जङ्गल कित्ता १ घरबारी कित्ता १ घर १ मात्र लिन मञ्जूरी गरी ०२१।७।२७।५ मा घरायसमा कागज भए गरेको भनी उक्त कागज प्रतिवादीहरूले प्रमाणमा पेस गरेका भए पनि खेततर्फको हकमा साहू ऋण म मानबहादुरले केही नबोक्ने भएकाले र अरू पाखा जग्गा खेतसमेत तिमीहरूले साहू तिरी ३ बण्डा गरी खानु भन्ने अरू जग्गामा हक छाडी दिएको व्यहोरासमेत पारेको त्यस्तो कागज र रजिष्ट्रेशनको १ नं. बमोजिम रजिष्ट्रेशन गराउनै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गराएको नदेखिनाले त्यस्तो कागजलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा खडुमायाको अपुतालीको घर जग्गा जो जति छ सो सबैमा माथि उल्लेख भएको भागशान्ती सबैको हक लाग्ने देखिन आउँछ ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।२।१४।६ मा हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : जिजू दलमान राईको छोरा जेठा बागमान माइला राजमान कान्छा डिकमान ३ जनामा जेठा बागमानका छोरा माइला हजार सिंको छोरा एक भाइ पद्मबहादुरमात्र भएको माइला राजमानको छोरा गगन सिं, गगन सिंको छोरा जेठो मरेको माइला क्षेत्रबहादुर काइँला माहावीर अन्तरे नरबहादुर कान्छा हर्षबहादुर जेठा बाघमानको छोरा साइँला कर्ण सिंहको छोरा म मानबहादुर १ भाइमात्र भएको कान्छा डिकमानको छोरा सबै मरी छोरी दुई बहिनीमा जेठी छोरी खिनमायाँ बाबु डिकमान जीवित छँदै विवाह गरी मरी सकेको कान्छी छोरी खडुमाया विवाह गर्न नमानी बाबु आमा पाली बाबुको घरमा बसेकीले अंशबण्डाको १६ नं.ले ३५ बर्षको उमेर पुगेपछि भाइ सरह अंश पाउनेमा दाजुभाइ कोही नभएको बाबु आमा मर्दा शेषपछि अपुतालीको २ नं.ले बाबुआमाको अपुताली निजै छोरीले भोग तिरो गरी आएको निज खडुमायाँ मेरो २ पुस्ताको फूपु नाताको भएकीले अन्यायवालाहरूले हेरविचार पालनपोषण नगरेकाले मैले हेरविचार गरी आफ्नै घरमा ल्याई स्याहार संभार पालनपोषण गरेको ०२१।७।१६ गते फूपु परलोक हुँदा काजकृयासमेत मैले नै गरेको भई निजको जेथा मैले नै खान पाउने हुनाले साहू परे नपरेको जग्गा जमीनसमेत मैले नै भोग गरेकोमा हामीले पनि दामासाही पाउनुपर्छ भनी मेरो मञ्जुरी बेगर लिखत खडा गराउने गरे पनि निजहरूको त्यसमा हकदैया नपुग्ने सो लिखत म्यादभित्र पास हुन नसकी बदर भई जग्गामा उनीहरूको दावा नपुगी मैले नै भोगी पोत रकम बुझाई रसिद लिने गरेकोमा सागु रुन्टी भन्ने खेत मुरी ।६ को कित्ता १ सिम भन्ने मुरी ।२ को कित्ता १ जामुने सिरान २ ठाउँ गरी माटो ।१।१५ मध्ये माटो ।१ समेत खेत कित्ता ३ र हले बीजमाना ।१२ के रू.।२८ को पाखो कित्ता १ समेतमा ०२२।५।५ गतेमा प्रतिवादीहरूले खिचोला गरेकाले सो जग्गामा निजहरूको दावी खिचोला मेटाई मेरो सदर गरिपाउँ भन्ने वादी ।
३. फूपु खडुमायाँको घर बेगलै भई वादीले हेरविचार पालन पोषण नगरेकोले मसमेतका प्रतिवादीले हेरविचार स्याहार संभार गर्दै थियौं । ०२१।७।१६ मा परलोक भएकीले हामीले नै काजकृया गरेका हौं ०२१।७।२७ मा फूपुको अपुताली बाँड्ने कुरा हुँदा वादीले म साहू बोक्तिन सरदर मिल्ने गरी जग्गा दिनुहोस् भन्दा वादी दावीको सागु बोटे मुरी ।६ मध्ये ।३ को कित्ता १ मुरी ।२ मध्ये मुरी ।१ को कित्ता एक वास बोटे विज माना ।।२ मध्ये ३ भागको १ भाग कित्ता १ वादीले दावी नगरेको खेत मुरी १३ मध्ये ।१ को कित्ता १ पधेरे भनेको पिपलबोटे माटो मुरी ।२ को खडुमायाँबाट मैले रू.५९५। मा ०२० सालदेखि बन्धकी लिई भोगी आएको कित्ता १ सिंखुवा बारी विज ।।१ मध्ये ३ भागको १ भाग कित्ता १ आँप डाँडा बारी विज ।।१ मध्ये ३ भागको १ भाग कित्ता १ असारे बारी विज ।।१ मध्ये ३ भागको १ भाग कित्ता १ वनपाला बारी विज ।।१ मध्ये ३ भागको १ भाग कित्ता १ टेंगेबारी कित्ता १ समेतको जग्गा मेरो भागमा परेकोले मैले तिरो गरेको छु वादीले जग्गा बाँडेको लिखत गरेमा सावित छ सो काजगमा चित्त नबुझेको भए म्यादभित्र उजूर गर्नुपथ्र्यो अरूबाट हक छुटाई लिएको नभई अपुतालीबाट हक भएकोमा हिस्सा लगाएको कागज ऐनले रजिष्ट्रेशन पास गर्न नपर्ने देखिएको छ वादीको हिस्सा रोटे पिंग छेउको जङ्गल १ स्यामरूपा दर्ताको घरबारी १ फुसको छाना भएको घर एकसमेत परी अरू जग्गा नखोज्ने साहू नबोक्ने बोलीसमेत कागजमा उल्लेख भएको छ भन्नेसमेत पद्मबहादुरको र हामीहरू एकै बाबु गगन सिंहका छोरा हुँदा एक हिस्साबाट वादीले दावी लिए मध्ये संखु बारी वारने सिरानसमेत २ ठाउँ गरी माटो ।१।१० मध्ये रवीमान दर्ता पाथी ।।१५ को खेत एक साँगुबोटे डिकमान दर्ता मुरी ।६ मध्ये ३ कित्ता १ मुरी ।२ मध्ये १ को कित्ता १ बासबोटे बारी विजमाना ।।२ मध्ये ३ भागको २ भाग १ वादीले दावी नलिएको डिकमान दर्ता मुरी ५ को खडुमायाँबाट रू.२३०१।७० मा ०२०।१०।१५।४ मा म क्षेत्रबहादुरले भोगबन्धकीमा लिएको कित्ता १ बाह्पुरे छेउ जामुने सिरान २ ठाउँ माटो ।१।१५ मध्ये ।१।२।१ को कित्ता १ जामुने सिराह माटो ।।१५ मध्ये ।।७।४ को खडुमायाबाट जङ्गमानले भोगबन्धकी लिएको कित्ता जामुने सिरान २ ठाउँ मुरी ।१।१५ मध्ये ।।११ को ऐ.ले बन्धकी लिएको कित्ता १ सिंखुवा बारी विजमाना ।।२ मध्ये ३ भागको २ भाग कित्ता १ आँप डाँडा बारी विजमाना ।।१ मध्ये ३ भागको २ भाग कित्ता १ आहाले बारी विजमाना १ मध्ये ३ भागको २ भाग कित्ता १ वनपालाको बारी विजं ।।१ मध्ये ३ भागको २ भाग कित्ता १ टेंगेबारी ३ भागको २ भाग कित्ता १ समेत हामी ४ भाइले खाने गरी लिखत भएकोले हामीले भोग चलन गरी आएका छौं भनी भन्ने क्षत्रबहादुर, माहावीर, नरबहादुर, हर्षबहादुरसमेतको एउटै प्रतिवादी ।
४. खडुमायाको अपुताली जग्गा सबै वादी प्रतिवादी मिली पञ्च राखी वादी कागज गरेमा वादी सावित छ काजक्रियाबाट हक भएको भन्दैमा वादीको मात्र हक नदेखिने बाँडी खाने गरेको शर्तनामा सरहको कागज भइसकेको शर्तानामा कागज पास नगर्दा प्र.हरूको हक जाने भन्न नसकिने सबै प्रतिवादीहरू बाँडी जत्तिकै हकदार भन्ने कुरामा वादी सावित हुँदा ०२१।७।२७ मा गरेका कागजमा उल्लिखित जग्गामात्र वादीको हक देखिँदा वादी दावी बमोजिम प्र.हरूले किचोला गरेको ठहर्दैन भन्नेसमेत भो.जि.अ.को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. अपुताली जग्गा बण्डा गरी लिखत भएको होइन भनी वादीले भन्न नसकेको सो कागज बमोजिम आफ्नो भागबण्डामा परेका जग्गामा खिचोला गरे भन्ने वादी दावी देखिन आई मैले पालनपोषण काजकृया गरेकाले सबै मेरोमात्र हक हुने भन्ने दावी लिएको वादीले पालनपोषण क्रिया गरी एकलौटी हक भएको भए त्यसरी बण्डा लगाई लिखत गरी दिनुपर्नेसमेत नदेखिँदा इन्साफ शुरु अदालतको मनासिव छ भन्नेसमेत ०२४।३।१२।२ को सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला ।
७. अञ्चल अदालतले हदमुनि गरी छिनेको इन्साफ जाँची पाउँ भन्ने वादीको निवेदन परेकोमा सर्वोच्च अदालतले एकपटक मिसिल झिकाई इन्साफ जाँच गरी निर्णय गरिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएको ।
८. मरी अपुताली पर्ने खडुमायाँका यिनी फिरादी मानबहादुर प्रतिवादी पद्ममबहादुरसमेतका ५ जवानहरू बराबर हक लाग्ने हकदार हुन् भन्ने कुरामा विवाद देखिँदैन सो अपुताली जग्गा बाँडी खाने कुरामा यी २ थरीले २१ साल कार्तिक २७ गते घरसारमा गरेको लिखतमा उल्लेख भएको जग्गामामात्र वादीको हक हुने भनी शुरु भोजपुर अदालतले आफ्नो फैसलामा तर्क गरेको मनासिव भन्न अपुतालीमा बराबर हक लाग्ने हकदारहरूले घटी बढी गरी लिने दिने भनी गरेको लिखत रजिष्ट्रेेशनका १ नं.का देहाय १ दफा अन्तर्गत पर्न जाने भई सोही नं.ले रजिष्ट्रेशन पास हुनुपर्ने सो नभए रजिष्ट्रेशनका ६ नं.ले त्यसबाट अचल सम्पत्तिमा दावा गर्न नपाउने हुँदा त्यस्तो पास नभएका कागजमा उल्लेख भएको जग्गामात्र वादीको हक हुने भनी शुरुको ठहर कायम गरेको अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । फूपु खडुमाया मरी मैले तिरो भरो भोग गरी आएको सो अपुतलीबाट हक भएको ४ कित्ता जग्गामा किचोला गरेको भन्ने वादी दावातर्फ खडुमायाको अपुतालीमा वादीको मात्र एकलौटी हक हुने नभई उपरोक्त उल्लेख भए बमोजिम वादी प्रतिवादी दुबै पक्षको बराबर हक लाग्ने गोश्वारा जग्गा देखिँदा २ पक्षको बराबर हक लाग्ने जग्गालाई मेरोमात्र एकलौटी भनी जिकिर लिई प्रतिवादीहरूले किचोला गरे भनी उजूर गर्ने फिरादी साँचो कुरामा चलेको नदेखिनाले त्यसतर्फ वादी दावा झुठ्ठा ठहराई छिनेको शुरु भोजपुर जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको इन्साफ मनासिव छ भन्ने २०२७।१०।५।२ को डिभिजन बेञ्चको फैसला ।
९. यस बेञ्च समक्ष निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले विवाह नगरी बूढीकन्या बसेकी खडुमायाको अपुताली अपुतालीको ऐन अनुसार हकवालाले खान पाउने हो सो अपुताली पुर्खौली हिसाबले बाजेहरूको भाग लगाई त्यसमा जसपट्टि जे जति छन् उनीहरूले बण्डा गरी खानुपर्छ वादी प्रतिवादी दुवै पक्षले सो अपुताली ०२१।७।२७ मा बण्डा गरी कागज गरेको यस्तो कागज ऐनले रजिष्ट्रेशन पास गर्नु नपर्ने हुनाले सो कागजबाट वादीको भागमा परे जतिमामात्र वादीको हक पुग्नेमा पूरै अपुताली मेरो हकको भनी वादीले दावी लिएको झुठ्ठा देखिएकै छ वादी दावी नपुग्ने ठहराएको शुरु र अञ्चल अदालतले गरेको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१०. यसमा फूपु खडुमायाको अपुतालीबाट मेरो हक भएको भनी वादीले दावी लिएको जग्गामा वादीको मात्र एकलौटी हक लाग्ने हो होइन, वादीको हक लाग्ने जग्गामा प्रतिवादीहरूले खिचोला गरे नगरेको के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. मर्ने खडुमाया र यी वादी, प्रतिवादीहरूकै नाताका रहेछन् भन्नेतर्फ हेर्दा मूल पुर्खा दलमानको ३ छोरामा जेठो बागमानपट्टिका नाति वादी मानबहादुर र प्रतिवादी पद्मबहादुर, माइलो राजमानपट्टिको नाति प्रतिवादी छत्रबहादुर, माहावीर, नरबहादुर, हर्षबहादुर, कान्छो डिकमानकी छोरी खुडुमाया भन्ने पुस्तावारीमा दुबै पक्षको मुख मिली राखेकैले खडुमाया र यी वादी प्रतिवादीहरू फूपु भदाहा नाताका रहेछन् भन्ने प्रष्ट हुन्छ । निज खडुमाया विवाह नगरी बसेकी ३५ बर्ष उमेर नाघेकी बूढीकन्या भन्ने भनाई भएकोले अंशबण्डाको १६ नं. बमोजिम छोरा सरह छोराले पाउने अंशको आधि अंश पाउनेमा बाबुआमा मरी दाजुभाइ नहुँदा बाबुआमाको अपुताली बेहोरेको देखिन आएको हुँदा निज मरी परेको अपुताली अपुतालीको १ नं. बमोजिम हकवाला मानिने एक जिजू बाजेपट्टिका सन्तान वादी प्रतिवादीहरूले पाउने कुरामा कुनै शंका छैन ।
१२. फूपु खडुमायाको हेरविचार स्याहार संभार प्रतिवादीहरूले नगरी मैले गरेकोले निज खडुमायाको अपुताली एकलौटी मेरोमात्र हक हुने भन्ने वादीको मुख्य दावी भएकोमा वादी आफूलेमात्र हेरविचार गरेको प्रमाण केही नभएको र उसमा पनि यस्तो फूपुको अपुताली हेरविचार गर्ने हकवालालेमात्र एकलौटी खान पाउने कानूनी व्यवस्था नभएकाले एकै समानका भदाहा नाताका हकवाला वादी प्रतिवादी सबैको हक लाग्ने प्रष्टै छ ।
१३. वादी प्रतिवादीहरू क कसको के कति हक लाग्ने हो भन्ने हकमा बाजेहरू ३ भाइमा कान्छो डिकमान पट्टिको छोरी खडुमाया मरी यो अपुताली पर्न आएको निज डिकमान पट्टिको अरू सन्तान नभएको र जेठो बागमानपट्टिका नाति वादी मानबहादुर प्रतिवादी पद्मबहादुर माइलो राजमानपट्टिका नाति प्रतिवादी छत्रबहादुर माहावीर, नरबहादुर, हर्कबहादुर भएको देखिन आएकोले बाजे बाजेको हिसाबले २ भाग लगाई जेठो बागमानपट्टिको १ भाग निजपट्टिका सन्तानले र माइलो राजमानपट्टिको १ भाग निजपट्टिका सन्तानले बाँडी खान पाउने देखिन्छ ।
१४. सो अपुतालीको भागबण्डा लगाउँदा वादीले रोटे पिङ छेउको जङ्गल कित्ता १ घरबारी कित्ता १ घर १ मात्र लिन मञ्जूरी गरी ०२१।७।२७।५ मा घरायसमा कागज भए गरेको भनी उक्त कागज प्रतिवादीहरूले प्रमाणमा पेस गरेका भए पनि खेततर्फको हकमा साहू ऋण म मानबहादुरले केही नबोक्ने भएकाले र अरू पाखा जग्गा खेतसमेत तिमीहरूले साहू तिरी ३ बण्डा गरी खानु भन्ने अरू जग्गामा हक छाडी दिएको व्यहोरासमेत पारेको त्यस्तो कागज र रजिष्ट्रेशनको १ नं. बमोजिम रजिष्ट्रेशन गराउनै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गराएको नदेखिनाले त्यस्तो कागजलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा खडुमायाको अपुतालीको घर जग्गा जो जति छ सो सबैमा माथि उल्लेख भएको भागशान्ती सबैको हक लाग्ने देखिन आउँछ ।
१५. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वादी दावीको जग्गा वादीको मात्र एकलौटी हक लाग्ने नदेखिएकोले मेरोमात्र एकलौटी हक भएको जग्गामा प्रतिवादीहरूले खिचोला गरे भन्ने वादी दावी पुग्न सक्दैन ०२७।१०।५।२ को डिभिजन बेञ्चले दुबै पक्षको बराबर हक लाग्ने ठहराएकोसम्म नमिलेको र खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ इन्साफ उक्त डिभिजन बेञ्चको मुनसिवै ठहर्छ । निवेदक दुबै पक्षले मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी राखेकोले अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. मीनबहादुर थापा,
न्या. ब्रम्हदत्त तिवारी
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल श्रावण १२ गते रोज ६ शुभम् ।