April 9, 1973
Created by nepalarchives

निर्णय नं. ७५१ – निषेधाज्ञा जारी गरिपाउँ

निर्णय नं. ७५१     ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२९ सालको दे.विविध नम्बर ६७५ फैसला...

निर्णय नं. ७५१     ने.का.प. २०३०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२९ सालको दे.विविध नम्बर ६७५

फैसला भएको मिति : २०२९।१२।२७।२ मा

निवेदक : काठमाडौं जिल्ला ठमेल १५।९० घरमा बस्ने जि.न्या.डिल्लीबहादुर कार्की

विरूद्ध

विपक्षी : श्री बिमा संस्थान, मुकाम आर.एन.ए.सी.भवन टुंडिखेल काठमाडौंसमेत

मुद्दा : निषेधाज्ञा जारी गरिपाउँ

(१)   बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) को नाम स्पष्ट उल्लेख भएको देखिए बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निषेधाज्ञा जारी गर्न नमिल्ने ।

            मेरो एकाघरको छोरा सहसे उलेन्द्रध्वज कार्की हवाई दुर्घटनामा परी परलोक भएको र निजले इन्सोरेन्स गरेको बिमा संस्थानबाट पाउने रकम रू.८०,०००। असी हजार बुहारी मन्जूलाई मात्र एकलौटी दिने आशंका भएकोले अंशबण्डाको १, , १८ नं.ले बण्डा लाग्ने सम्पत्ति नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र ऐ.दफा ६ को (छ) समेतको अधिकारमा आघात हुने आशंका भएकोले दफा १७ को उपदफा (२) अनुसार निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर भएकोमा प्रतिरक्षीहरूबाट प्राप्त हुन आएका लिखितजवाफमा बिमा ऐन, २०२५ को दफा १५ अन्तर्गतको प्रस्तुत मुद्दा हुँदा निषेधाज्ञा जारी हुन पर्ने हो होइन भन्ने मुख्य जिकिर लिइएको पाइयो । तत्सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा बिमा ऐन, २०२५ को दफा १५ मा इच्छाएको व्यक्तिले पाउनेभनी उपदफा (१) मा कुनै जीवन बिमा लेखेको अवधि समाप्त हुनु अगावै सो बिमा लेख लिने व्यक्ति मृत्यु भएमा बिमा लेख अनुसारको रकम निजले आफ्नो बिमा लेखमा इच्छाएको व्यक्तिले पाउने छ । निजले कसैलाई इच्छाएको रहेछन् वा इच्छाएको व्यक्तिको मृत्यु भएमा निजको देहाएका नाता पर्ने आश्रितहरू मध्ये क्रमानुसार जुन अघिल्लो जीवित रहन्छ उसैले पाउने छ भनी (क) मा पति वा पत्नि” (ख) मा अविवाहित छोरा छोरीहरूमा बराबर हिस्सामार (ग) मा बाबु आमाभन्ने उल्लेख भएको देखियो प्रस्तुत केशमा विवादमा आएको बिमा ऐन, २०२५ बमोजिम राष्ट्रिय बिमा संस्थान र एयर बोर्न सपोर्ट ट्रान्सपोर्ट विङ्ग त्रिभुवन एयरपोर्टका बीच करार भई सहसेनानी उलेन्द्रध्वज कार्कीसमेतका व्यक्तिहरूका जीवन बिमा भएको बिमा संस्थानका तर्फबाट उपस्थित बिमा अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको बिमा लेखको प्रतिलिपिबाट देखिन्छ । उक्त बिमा लेखमा बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) मा श्रीमती मन्जू कार्कीको नाम स्पष्ट उल्लेख भएको देखिएबाट बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निवेदकका मागबमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिल्दैन, निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दा कोर्टफी लागी दायर भएको हुनाले सजाय गर्नु परेन । श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा किनारा भएको जाहेरार्थ एकप्रति प्रतिलिपि मौसूफका विशेष जाहेरी विभागमा पठाई, मिसिल नियमबमोजिम गरी बुझाई दिनू ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली अधिवक्ता मोतिकाजी स्थापित

फैसला

     न्या. वासुदेव शर्मा

      १.     नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा २ अन्तगरत बागमती अञ्चल अदालतमा मिति २०२९।९।६ मा दर्ता भएको प्रस्तुत केशमा श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग सवारी शिविर सुर्खेतमा परेको द.नं.८७ को निवेदन पत्रमा बक्स भई आएको हुकुम प्रमांगीबमोजिम देवानी विविध नं.६७५ मा दर्ता भई पेस हुनआएको प्रस्तुत केश रहेछ ।

      २.    निवेदन उजूरी सम्बन्धी संक्षिप्त तथ्य निम्न प्रकार छन् :

      ३.    प्रतिरक्षी मध्येकी मन्जू कार्की निवेदकको छोरा उलेन्द्रध्वजकी श्रीमती हुनाले निवेदककी बुहारी र प्रतिरक्षी मोहनध्वज भतिजो तथा इश्वरी कार्की भतिजो बुहारी नाताका व्यक्ति रहेछन् । प्रतिरक्षी मोहनध्वज र इश्वरी कार्की मन्जू कार्कीका दिदी भिनाजुका नाता पर्ने रहेछन् । २०२९ साल भाद्र २९ गते प्लेन दुर्घटना हुँदा निवेदकको एकाघरको छोरा सहसेनानी उलेन्द्रध्वज कार्कीसमेत प्लेन दुर्घटनामा परी परलोक भएको र निजले पाउने इन्सोरेन्ससमेतको रूपैयाँ बिमा संस्थाबाट पाउने रू.८००००। अशी हजार रूपैयाँ बुहारी मन्जूबाट झिक्न लगाई आफूलाई फाइदा उठाई नावालख नातिसमेत लाई अलपत्र पार्ने उद्देश्य लिएकोले र प्रतिरक्षी बिमा संस्थानले पनि उक्त रकम मन्जू कार्कीलाई नै एकलौटी दिन पूरा आशंका भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ३ ऐ.दफा ६ को (छ) समेतको अधिकारमा आघात हुने आशंका भएकोले अर्को आदेश नभएसम्म मन्जू कार्कीलाई दिइन लागिएको रकम हाल नदिनु भन्ने अन्तरिम आदेशसमेत जारी गरी नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा २ अनुसार निवेदकको मञ्जूरी बेगर रूपैयाँ दिने लिने कायम नगर्नु नगराउनु भनी निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदनपत्र रहेछ ।

      निवेदकको निवेदन लेख जिकिर निम्न प्रकार रहेछन् :

(१)    छोरा उलेन्द्रध्वज परलोक भएकोमा पाउने इन्सोरेन्ससमेतको रूपैयाँ बिमा संस्थानबाट पाउने रकम रू.८००००। असी हज्जार रूपैयाँ बुहारी मन्जूबाट झिक्न लगाई आफूलाई फाइदा उठाई नावालख नातिसमेतलाई अलपत्र पार्ने रूपमा, मोहनध्वज, इश्वरीले उद्देश्य लिएको बुहारी मन्जूले आफ्नो हानी नोक्सानी गर्ने हुने कुराको विचार नलिई मोहनध्वज, इश्वरीको वकाहटमा लागि सो रूपैयाँ मैले पाउने हुँ, पाउँ भनिरहेकी छन् ।

(२) मेरो सगोलको जेठा छोरा उलेन्द्रध्वजको श्रीमती बुहारी मन्जू र अरू सगोलमा तीन छोरा र मेरो श्रीमती म समेत गरी अंशियार ६ छ जवान भएकोले सो पाउने रूपैयाँ ८००००। अशी हज्जार अंशबण्डाको १,,१८ नं.ले ६ छ बण्डा लाग्ने भई मन्जूले ६ खण्डको १ खण्ड पाउने कानूनी व्यवस्था भएको र साथै छोरा उलेन्द्रध्वजको बर्ष ३।। को छोरा एक भई विपक्षी मन्जू गर्भवती पनि हुँदा नाति नातिनी जो पैदा हुन्छ सोसमेत दुवैको पढाउनसमेत पर्ने र मन्जूको उमेर बर्ष २४ मात्र भएको हुनाले नाति सञ्जुको उमेर ३।। बर्षको मात्र हुनाले २५ बर्ष पूरा नभएसम्म मन्जू कार्कीले लिन नपाउने गरी रू.७००००। सत्तरी हजार फिक्स्ड डिपोजित खातामा जम्मा गराई व्याजसम्म झिक्न पाउने र रू.१००००। दश हजारको हकमा परलोक हुने छोरा उलेन्द्रध्वज फुटबलको खेलाडी हुनाले सो रू.१००००। दश हजार कुनै बैंकमा जम्मा गरी त्यसबाट पाउने व्याजको गोल्ड मेडल बनाई आर्मिको सबभन्दा राम्रो फुटबलको खेलाडीलाई दिने व्यवस्था गर्ने र पाउने पेन्सन बुहारी मन्जूले नै पाउने भन्नेसमेत व्यहोराको विपक्षी बिमा संस्थानसमेतमा निवेदन दिएकोमा कुनै वास्ता राखिएन । मन्जू कार्कीलाई नै उक्त रकम दिने दिलाउने तर्फ लागिएको भन्ने बुझिएकोले म एकघरको पिताजी भएको र परलोक हुनेको आश्रित परिवारसमेत भएको र अंशबण्डाको १,,१८ नं.समेतले सगोलको सबै अंशियारको हक लाग्ने सम्पत्ति हो ।

(३)   नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा २ अनुसार निवेदकको मञ्जूरी बेगर रूपैयाँ दिने लिने कार्य नगर्नु नगराउनु भन्ने निषेधाज्ञा जारी गरिनु पर्दछ विपक्षीहरूद्वारा ७ दिनभित्र लिखितजवाफ लिई पेस गर्नु भन्ने बागमती अञ्चल अदालतको मिति २०२९।९।७।५ को आदेश बमोजिम प्राप्त भएको प्रतिरक्षी बिमा संस्थानका महाप्रबन्धक तथा बिमा संस्थानको संयुक्त लिखितजवाफमा निम्न प्रकारको जिकिर लिएको पाइन्छ । (१) यस बिमा संस्थान र एयर वर्न सपोर्ट ट्रान्सपोर्ट विङ्ग त्रिभुवन एयरपोर्ट काठमाडौंको बीचमा खडा भएको पोलिसी नं.ए.मि.पि.ए.।०२५।७१ को करारनामा बिमालेखमा मृतक उलेन्द्रध्वज कार्कीको दुर्घटनावस शारीरिक क्षति भएमा पाउने बिमा रकम निजको श्रीमती मन्जू कार्कीले पाउने गरी उलेन्द्रध्वजले हस्ताक्षर गरी इच्छाएको र सो कुरामा सहमती जनाई एयर वर्न सपोर्ट ट्रान्स्पोर्ट विङ्गका तर्फबाट फणिन्द्रबहादुर के.सी.ले काउण्टर साइन अर्थात बिमा लेखमा उल्लेख भए अनुसार हुने भनी हस्ताक्षर गरेकोबाट उक्त बिमा लेख तयार भएको हुनाले यस प्रकारको करारनामा मौजूद भएको स्थितिमा त्यस प्रतिकूल यस बिमा संस्थानले जान नहुने स्पष्ट छँदैछ । विमितले बिमा लेखमा जो जसले क्षतिपूर्ति रकम पाउने गरी इच्छाएको छ यस बिमा संस्थानले उसैलाई सो रकम भुक्तानी दिने गरी बिमा लेख करारनामा बन्ने हुँदा करार विपरीत बिमा संस्थानले जान पनि हुँदैन र करार प्रतिकूल भएमा बिमाको उद्देश्य पनि विफल हुनजान्छ । (२) बिमा ऐन, २०२५ को दफा १५ अनुसार आश्रित परिवारमा सबै अशिंयारहरूको अंश लाग्ने हुनाले विपक्षी मन्जू कार्कीले नपाउने भन्ने पनि निवेदनमा जिकिर छ सो अनुसार यो मुद्दाको वस्तुस्थिति नभई मृतक उलेन्द्रध्वज कार्कीले नै आफ्नी श्रीमती मन्जू कार्कीले पाउने गरी बिमा ऐन, २०२५ को दफा १५ (१) अनुसार इच्छाएको स्थिति भएको यो मुद्दा हो । कसैलाई इच्छाएको रहेनछ भन्ने पनि प्राथमिकताको क्रमानुसार पतिको बिमा रकम पत्नीले नै पाउने स्थिति ऐनमा नै छ । यस्तो स्थितिमा नागरिक अधिकार ऐनको दफा १७ (२) अनुसार यस बिमासंथान उपर निषेधाज्ञा जारी हुन नसक्ने हुनाले खारेज गरिनु पर्दछ ।

      प्रतिरक्षी मोहनध्वज तथा इश्वरीसमेतको लिखितजवाफ प्राप्त भएको रहेछ । लिखितजवाफ जिकिर निम्न प्रकार छन् :

(१)    निवेदन लेखाई बमोजिम मन्जूलाई हामीले कुनै नचाहिंदो कुरामा बहकाई निजले बिमा संस्थानबाट पाउने रकमबाट आफ्नो फाइदा उठाउन खोजेको पनि छैन होइन ।

(२)   निवेदकको बुहारी मन्जूको पति परलोक भएको हुनाले नाता सम्बन्धका व्यक्ति हुँदा गृहस्थी व्यवहारिक कर्म कर्तव्य इत्यादिबाट पनि भेटघाट गर्न नहुने भन्ने नहुँदा आफ्नो कर्तव्य पालन गरेका हौं ।

(३)   हाम्रो कुनै कसूर अपराध नभएका व्यक्ति उपर पुरानो रिसइवी साधन गर्न र आफ्नो फाइदा उठाउन हामी निरपराधी व्यक्तिउपर समेत झुठ्ठा उजूर गरेका हुन् सुपथ न्याय भई उजूरी दावाबाट फुर्सद गराई पाउँ ।

प्रतिरक्षी मञ्जू कार्कीको लिखितजवाफमा निम्न प्रकारको जिकिर लिएको पाइन्छ :

(१)    स्वर्गीय मेरा पतिले राष्ट्रिय बिमा संस्थानसँग करार गरी लिई राखेको जीवन बिमा लेखमा बिमा रकम पाउने हकदार (नोमिनी) मा निजको पत्नी म मन्जू कार्कीको नाम लेखाइराखेको हुनाले सो बिमा लेख अनुसारको रकम राष्ट्रिय बिमा संस्थानबाट पाउने हक सो बिमा लेख बमोजिम मलाई मात्र छ । म वा मैले अधिकृत गरेको व्यक्ति बाहेक अरू कसैले उक्त बिमा रकम पाउन नसक्ने तथा राष्ट्रिय बिमा संस्थानले उक्त रकमलाई म बाहेक अरू कसैलाई दिन नसक्ने भएकोले विपक्षी निवेदकको सो बिमा रकममा कुनै हक दावी पुग्न सक्ने होइन ।

(२)   बिमा ऐन, २०२५ को दफा १५ ले बिमा लेख अनुसार रकम पाउने हक बिमा लेखमा इच्छाइएको व्यक्तिलाई प्रदान गरेको र त्यस्ता इच्छाइएको व्यक्ति नभएमा सो रकम पाउने हक मृतकको पत्नीलाई सर्वप्रथम दिएको हुनाले म बिमा लेखमा इच्छाएको व्यक्ति हुनाको साथै मृतकको पत्नी पनि भएकोले सो बिमा रकम पाउने हक मेरो भएको र मलाई नै उक्त रकम दिनुपर्ने राष्ट्रिय बिमा संस्थानको कानूनी कर्तव्य भएको हुनाले यसमा निवेदकको कुनै हक नभएको प्रष्ट छ । बिमा ऐन, २०२५ तथा बिमा लेखद्वारा प्रशासित सञ्चालित हुने उक्त बिमा रकममा अंशबण्डाको ऐन लाग्न सक्ने होइन र अंशबण्डाको ऐनको आडमा निवेदकले दावी गरेको सर्वथा बिमा ऐनको विपरीत हुँदा निवेदकको निवेदन स्वतः खारेज हुनुपर्ने स्पष्ट छ ।

      ४.    कानून नभएको राज्य सरह विधवा, अवला, अन्यायीहरूको जाल पेचबाट सारै नै अन्याय मर्कामा परेँ प्र.से.फलेन्द्रबहादुरले डिस्यार्ज फाराम पठाउन ढिला गरेका र मै सरहका मृतकहरूका श्रीमती क्याप्टेन किंगको श्रीमतीले पनि रकम पाइसकेको हुँदा र ससुराले ऐन कानून विपरीत निषेधाज्ञाको रिट दिएकोले मैले पाउनु पर्ने बिमा रकम पाउन ढिला भएको छ । कुनै जाल षडयन्त्र गर्न नपाउने गरी रिट खारेज गरी पाउने रकम दिनुस भन्ने हुकुम प्रमांगी बक्स गरिपाउँ भनी मन्जू कार्कीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तीपत्रमा यसमा लेखिएको रिट निवेदन सर्वोच्च अदालत वा बागमती अञ्चल अदालत जहाँ छ मिसिल झिकी सर्वोच्च अदालतबाट हेरी कानूनबमोजिम गरी १५ दिनभित्र छिनी सम्बन्धित कार्यालयलाई र निवेदिकालाई जनाउ दिई फैसला भएको व्यहोराको नतिजा जाहेर हुने गरी सवारी शिविरमा पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छभनी मौसुफका विशेष जाहेर विभाग सवारी शिविर सुर्खेतबाट मिति ०२९।१०।२।२ मा लेखी आएको रहेछ ।

      ५.    यसमा तारेखमा रहेका निवेदक जि.न्या.डिल्लीबहादुर कार्की विपक्षी बिमा संस्थानसमेतको वा.श्रीप्रसाद विपक्षी मोहनध्वजसमेतको वा.बद्रीबहादुर र विपक्षी श्रीमती मन्जू कार्कीको वा.श्यामबहादुर पाण्डेलाई रोहवरमा राखी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ठाकूरप्रसाद खरेल र प्रतिरक्षी वीमा संस्थानको तर्फबाट विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली तथा प्रतिरक्षी श्रीमती मन्जुको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापितले गर्नु भएको बहससमेत सुनी फाइल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा निवेदकका मागबमोजिम निषेधाज्ञा जारी गर्नु पर्ने नपर्ने के रहेछ भनी त्यस कुराको निर्णय दिनु परेको छ ।

      ६.    मेरो एकाघरको छोरा सहसे उलेन्द्रध्वज कार्की हवाई दुर्घटनामा परी परलोक भएको र निजले इन्सोरेन्स गरेको बिमा संस्थानबाट पाउने रकम रू.८०,०००। असी हजार बुहारी मन्जूलाई मात्र एकलौटी दिने आशंका भएकोले अंशबण्डाको १, , १८ नं.ले बण्डा लाग्ने सम्पत्ति नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र ऐ.दफा ६ को (छ) समेतको अधिकारमा आघात हुने आशंका भएकोले दफा १७ को उपदफा (२) अनुसार निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर भएकोमा प्रतिरक्षीहरूबाट प्राप्त हुन आएका लिखितजवाफमा बिमा ऐन, २०२५ को दफा १५ अन्तर्गतको प्रस्तुत मुद्दा हुँदा निषेधाज्ञा जारी हुन पर्ने हो होइन भन्ने मुख्य जिकिर लिइएको पाइयो । तत्सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा बिमा ऐन, २०२५ को दफा १५ मा इच्छाएको व्यक्तिले पाउनेभनी उपदफा (१) मा कुनै जीवन बिमा लेखेको अवधि समाप्त हुनु अगावै सो बिमा लेख लिने व्यक्ति मृत्यु भएमा बिमा लेख अनुसारको रकम निजले आफ्नो बिमा लेखमा इच्छाएको व्यक्तिले पाउने छ । निजले कसैलाई इच्छाएको रहेछन् वा इच्छाएको व्यक्तिको मृत्यु भएमा निजको देहाएका नाता पर्ने आश्रितहरू मध्ये क्रमानुसार जुन अघिल्लो जीवित रहन्छ उसैले पाउने छ भनी (क) मा पति वा पत्नि” (ख) मा अविवाहित छोरा छोरीहरूमा बराबर हिस्सामार (ग) मा बाबु आमाभन्ने उल्लेख भएको देखियो प्रस्तुत केशमा विवादमा आएको बिमा ऐन, २०२५ बमोजिम राष्ट्रिय बिमा संस्थान र एयर बोर्न सपोर्ट ट्रान्सपोर्ट विङ्ग त्रिभुवन एयरपोर्टका बीच करार भई सहसेनानी उलेन्द्रध्वज कार्कीसमेतका व्यक्तिहरूका जीवन बिमा भएको बिमा संस्थानका तर्फबाट उपस्थित बिमा अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको बिमा लेखको प्रतिलिपिबाट देखिन्छ । उक्त बिमा लेखमा बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) मा श्रीमती मन्जू कार्कीको नाम स्पष्ट उल्लेख भएको देखिएबाट बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निवेदकका मागबमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिल्दैन, निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दा कोर्टफी लागी दायर भएको हुनाले सजाय गर्नु परेन । श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा किनारा भएको जाहेरार्थ एकप्रति प्रतिलिपि मौसूफका विशेष जाहेरी विभागमा पठाई, मिसिल नियमबमोजिम गरी बुझाई दिनू ।

 

न्या. जयदेव भट्ट

 

उक्त रायमा म सहमत छु ।

 

इति सम्वत् २०२९ साल चैत्र २७ गते रोज २ शुभम् ।