निर्णय नं. ७५० – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ७५० ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्वराज सम्वत् २०२८ सालको रिट नम्बर १०३२ आदेश भएको...
निर्णय नं. ७५० ने.का.प. २०३०
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्वराज
सम्वत् २०२८ सालको रिट नम्बर १०३२
आदेश भएको मिति : २०३०।१।२८।५ मा
निवेदक : जि.धनुषा तारापट्टि सरसिया पं.वार्ड नं.७ बस्ने डाक्टर हुकुमदेव शाह
विरूद्ध
विपक्षी : श्री ५ को सरकार, स्वास्थ्य सेवा विभागको महानिर्देशकसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको भई स्थायी पदबाट दिएको राजीनामा स्वीकृत भएको नदेखिए स्थायी नियुक्ति भएको पदमा कामकाज गर्न दिनु भन्ने परमादेशको आदेश दिने ठहर्ने ।
तसर्थ निवेदकले डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति भएको पदबाट राजीनामा गरेको नभई अस्थायी नियुक्ति भएको अवस्थामा विशेषज्ञ भएको हुँदा सरकारी मिति अनुसार सहुलियत प्राप्त स्थानमा सरुवा गरियोस अन्यथा राजीनामा स्वीकृत गरिपाउँ भनी शर्त सहितको माग गरेकोमा अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको र निजले स्थायी नियुक्त भएको पदबाट राजीनामा दिएको स्वीकृति भएको नदेखिँदा निवेदकलाई स्थायी नियुक्ति गरिएको पदमा कामकाज गर्न दिनु भनी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयका नाउँमा परमादेशको आदेश दिने ठहर्छ । यो आदेशको प्रतितिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनू ।
(प्रकरण नं. ६)
निवेदक तर्फबाट : अधवक्ता शुसिलकुमार सिन्हा
विपक्ष तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल
आदेश
न्या. वासुदेव शर्मा
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी स्वास्थ्य सेवा विभागको मिति ०२७।१०।७ को आदेश र श्री ५ को सरकारको मिति ०२७।१०।२।६ को निर्णय तथा मिति ०२८।५।७ को निर्णयसमेत बदर गरी परमादेशको रिटद्वारा निवेदकको स्थायी नियुक्ति पदमा कामकाज लगाई हक प्रचलन गराई पाउँ भनी मिति ०२८।९।११।१ मा रिट निवेदन दर्ता भएको रहेछ ।
२. यस रिट निवेदनमा संक्षिप्त तथ्य यस प्रकारका छन् : श्री ५ को सरकारको मिति ०२६।९।२२ को निर्णय बमोजिम निवेदक डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदमा हाजिर भएका मितिदेखि तलव खान पाउने गरी ६ महिनाको अस्थायी नियुक्ति पाई स्वास्थ्य मन्त्रालय, स्वास्थ्या सेवा विभागबाट मिति ०२६।११।१३ मा भ्रमण आदेश लिई मिति ०२६।१।१२।७ गते डडेल्धुरा अस्पतालमा बहाल गरेको रहेछन् । डाक्टरहरूको सरुवा तथा नियुक्ति विषयमा श्री ५ को सरकारको मिति निर्धारण सूचना २०२७ साल भाद्र १८ गतेको गोरखापत्रमा प्रकाशित हुँदा सो नीति बमोजिम निवेदक चाइल्ड स्पेसलिष्ट विशेषज्ञ हुँदा सो सेवा उपलब्ध गराउने अस्पतालमा सरुवा गरिपाउँ भनी स्वास्थ्य सेवा विभागमा निवेदन गरेकोमा कुनै कारवाइको सूचना नपाएको हुँदा सरकारी नीति बमोजिम सरुवा नभएको हुँदा सरकारी नीति बमोजिम विशेषज्ञ उपलब्ध अस्पतालमा वा अन्यत्र सहुलियत प्राप्त अस्पतालमा सरुवा गरिपाउँ अथवा राजीनामा स्वीकृत होस् भनी मिति ०२७।७।१२ मा अस्थायी पदबाट राजीनामा गरेको रहेछन । निवेदकले स्थायी तथा पेन्सन पाईन मेडिकल अधिकृत पदहरूको लागि लोकसेवा आयोगको परीक्षा दिएकोमा उत्तिर्ण भएको लोकसेवा आयोगको सिफारिसमा श्री ५ को सरकारले मिति ०२७।८।९ को निर्णयद्वारा डडेलधुरा अस्पतालको रा.पं.(प्रा.) तृतीय श्रेणीको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ति गरेकोमा सो नियुक्तिपत्र स्वास्थ्य सेवा विभागको प.सं.०२७–प्र.डा.१५९।३२१३ मिति ०२७।८।१५ को प्राप्त गरी डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति पाइएको पदको कार्यभार संभाली काम काज गरी आएकोमा २०२७ सालमा काठमाडौं आउँदा निवेदकको अस्थायी नियुक्तिको अवस्थामा दिएको राजीनामालाई निवेदकको स्थायी नियुक्तिको पदमा असर पर्ने गरी विपक्षी स्वस्थ्य विभागले कितावखानामा राजीनामा खाली जनाई निवेदकलाई सो पदबाट हटाउने आदेश पठाएको कुरा थाहा पाई विभागमा सोद्धा श्री ५ को सरकारको निर्णय बमोजिम भएको भनी जवाफ पाउँदा अस्थायी नियुक्तिको अवस्थामा दिएको राजीनमालाई स्थायी पदको राजीनामा भनी निर्णय भएको बदर गरी स्थायी नियुक्ति भएको पदाधिकार कायम गरी नोकरी थमौती गरिपाउँ भनी विभागीय मन्त्रीज्यूमा ०२७।१०।१३ मा निवेदन गरेकोमा डडेलधुरा अस्पतालको मे.अ.पदमा अस्थायी नियुक्ति रहँदाको अवधिमा दिएको राजीनमाबाट स्थायी नियुक्तिको राजीनामा नमानी स्वीकृति भएको राजीनामा बदर गरी स्थायी नोकरी थामी पाउँ भनी तपाईंले ०२७।१०।१३ र ०२८।४।२ मा माननीय स्वास्थ्य मन्त्रीमा दिएको निवेदनमा भएको आदेशानुसार कारवाई हुँदा स्वीकृति भइसकेको राजीनामा बदर गर्न नमिल्ने भएकोले स्थायी सेवामा रहन तपाई पुनः नेपाल लोक सेवा आयोगबाट सिफारिस भई आउनु पर्ने हुँदा ने.लो.से.आयोगको खुल्ला प्रतियोगिताको लागि विज्ञापन भएका बखत दर्खास्त दिन हुन ०२८।५।७ को निर्णयानुसार सूचना गरेको छ । अस्थायी नियुक्तको पदबाट दिएको राजीनामालाई सो पदमा बहाल छँदा स्वीकृति नगरी निवेदकले लोक सेवाको सिफारिसमा अर्को नयाँ स्थायी नियुक्ति पाई भर्ना भएको अवस्थामा लागू हुने कपटपूर्ण निर्णय गर्न गराउन तथा भ्रमात्मक रूपमा आदेश प्रमाणित गरी निवेदकको स्थायी पदको अधिकारबाट बञ्चित गर्ने काम कारवाई स्वास्थ्य सेवा विभागको अनाधिकार एवं गैरकानूनी हुँदा बदर हुनुपर्ने प्रष्ट छ भनी रिट निवेदन पर्न आएको छ ।
३. निवेदकको लेख जिकिर र विद्वान अधिवक्ताको बहस निम्न प्रकारका छन् :
(१) निवेदकको अस्थायी पदबाट दिएको राजीनामालाई निवेदकलाई सो पदमा स्थायी नियुक्ति दिई सो नियुक्त पत्र स्वीकार गरी पदभार सम्भाली सकेपछि पूर्व अस्थायी पदको राजीनामा स्वतः निस्कृय भइसकेको प्रष्ट छ । त्यस्तो निस्कृय भइसकेको राजीनामालाई पछिमात्र स्वीकृति गर्दैमा निवेदकको स्थायी नियुक्ति पदको हक अधिकार समाप्त हुन गर्न नमिल्ने ।
(२) राजीनामा गरेको अस्थायी पदको राजीनामा स्वीकृत भएको हुँदा अस्थायी नियुक्तिको पदबाट राजीनामा दिएकोले सो अस्थायी मेडिकल पदको राजीनामा स्वीकृत भएको प्रष्ट छ । निवेदकले स्थायी मेडिकल अधिकृत पदबाट कुनै राजीनामा नै नदिएको हुँदा एक पदबाट दिएको राजीनामालाई अर्को पदको राजीनामा स्वीकृतिको कपटपूर्ण अर्थ गरी निवेदकले राजीनामा नै नगरेको मेडिकल अधिकृत रा.प.प्रा.तृतीय श्रेणीको स्थायी पदको निवेदकको हक अधिकार समाप्त गर्ने गरी निजामति कितावखानामा राजीनामा खाली जनाउन आदेश गरी निवेदकलाई सो स्थायी पदको काम काज गर्नबाट बञ्चित गर्नु स्वास्थ्य सेवा विभागको काम कारवाई अनाधिकार एवं गैरकानूनी भएको प्रष्ट छ ।
(३) निवेदकको नियुक्ति नि.से.नि.ऐन, २०१३ अन्तर्गत भएको हुँदा निवेदकको सेवा नि.से.ऐनमा आधारित छ र सो बमोजिम आफ्नो पदमा बहाल रही कामकाज गर्ने र नि.से.नि., २०२१ बमोजिम पेन्सनसमेत पाउने कानूनी हक हो र जागिर खाई डाक्टरी सेवा गर्ने पेशा वृति हो त्यस्तो पेशा वृत्ति तथा कानूनी हक अधिकारमा गैरकानूनी ढङ्गले विपक्षीहरूले आघात पुर्याएको छ ।
(४) माथि दफा दफामा उल्लिखित आधार बमोजिम निवेदकको नि.से.ऐन, ०१३ को दफा ७।१ नि.से.नि., २०२१ को परिच्छेद ४ को ४–२–४–३–४–६ तथा नागरिक अधिकार ऐन, २०१२ को दफा ६–७–८ संविधानको धारा ९७२ र १०।२ को प्रदत्त हक अधिकारमा गैरकानूनी तरिकाले विपक्षीहरूले आघात पुर्याएको हुँदा निवेदकको हकप्रचलन गराइपाउँ ।
विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेस गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०२९।१।२५।१ को आदेशानुसार प्राप्त हुन आएको स्वास्थ्य मन्त्रालय (प्रशासन) शाखा र स्वास्थ्य सेवा विभागको लिखितजवाफ र विद्वान सरकारी अधिवक्ताको बहस निम्न प्रकारका छन् :
(१) नि.से.ऐन र नि.से.नि.का जुन दफाहरूको निवेदकले उल्लेख गरेको छ ती दफाहरूले राजीनामा स्वीकृतिबाट निजको हक हनन हुन जाने कुनै बन्देज लगाएको छैन । सरकारी सेवामा बहाल रहने कानूनी हक हो भन्ने निजको जिकिर साररहित छ ।
(२) नि.से.ऐन, २०१३ यसमा पनि नि.से.नि.ऐन र नियमद्वारा प्रदत्त हक हनन् भएको छ भन्ने निवेदकलाई लागेमा सोही ऐन र नियममा व्यवस्था गरिएका उपचारको मार्ग अवलम्बन गर्न सक्नु हुन्थ्यो संविधानको धारा ९ (२) र १० (२) को पनि निवेदनपत्रमा उल्लेख छ तर धारा ९ (२) ले कुनै अधिकार प्रदान गरेको देखिँदैन ।
(३) धारा १०(२) को उल्लेख पनि विलकुल अप्रासंगिक छ । निवेदक उपर कसरी कुन रूपबाट धर्म, वर्ण, लिंग, जात, जातीमा ति मध्ये कुन कुराको आधारमा भेदभाव गरेको छ केही लेख्न सक्नु भएको छैन । नागरिक अधिकार ऐन, २०१२ को दफा ६ देहाय (७) को अधिकार हनन् भयो भन्ने निवेदन जिकिर पनि निराधार छ ।
(४) निजलाई एक बर्षको परीक्षण कालमा राख्ने गरी नियुक्तपत्र पठाइएको हो । परीक्षण कालको अवधिमा रहेको कर्मचारीलाई परीक्षण समाप्त नभई स्थायी कर्मचारी मान्न नसकिने । यस अवस्थामा निजले अस्थायी छँदा दिएको राजीनामा स्थायी नियुक्त हुँदा लागू हुनु नपर्ने भन्ने जिकिर विलकुल अमान्य छ । राजीनामा स्वीकृत भएबाट निजले पुनः ले.से.आ.को खुला प्रतियोगितामा उम्मेद्वार भई सेवामा सिफारिस भई आउन बाधा पुर्याएको छैन रिट निवेदन खारेज गरिपाउँ ।
(१) निवेदकले डडेलधुरा अस्पतालबाट सरुवा नहुने भए राजीनामा स्वीकृत गरिपाउँ भनी अनुरोध गरेको र निजलाई पछि नियुक्ती गर्दा पनि डडेलधुरा अस्पतालमा नै पोष्टिङ गरेको हुँदा निजले सो ठाउँमा रही काम काज गर्न नचाहेको ठानी निजको राजीनामा स्वीकार गरिएको हो । राजीनामा दिने कर्मचारीले पद थामी पाउँ भन्ने दावी गर्न मिल्दो देखिन्न ।
(२) श्री स्वास्थ सचिवको लिखितजवाफमा परेकै हुँदा यस जवाफमा पनि निवेदन खारेज हुन सादर अनुरोध गर्दछु ।
४. यसमा तारेखमा रहेका निवेदकको वारेस सूर्यबहादुर श्रेष्ठलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री शुशीलकुमार सिन्हाको र विपक्षी स्वास्थ्य मन्त्रालयसमेत बाट खटी उपस्थित हुनु भएका सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलको मिति २०३०।१।२१।५ मा बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
५. निवेदक श्री ५ को सरकारको निर्णय अनुसार डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदमा अस्थायी नियुक्ति भई काम काज गरेकोमा सरकारी नीति बमोजिम सहुलियत प्राप्त अस्पतालमा सरुवा गरिपाउँ अन्यथा राजीनामा स्वीकृति होस भनी मिति २०२७।७।१२ गतेमा सो अस्थायी पदबाट राजीनामा गरेकोमा, त्यसपछि लोक सेवा आयोगबाट सिफारिस भई श्री ५ को सरकारको निर्णयद्वारा उक्त अस्पतालको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ति पाई काम काज गरी रहेको अवस्थामा अस्थायी पदबाट दिएको राजीनामालाई श्री ५ को सरकारले मिति २०२७।१०।७ मा स्वीकृत गरिएको र स्थायी पदमा नियुक्ति भएको कुरालाई समेत असर पार्ने गरी हक अधिकारमा बञ्चित गरिएको भन्ने निवेदकको मुख्य निवेदन जिकिर भएकोमा प्रतिरक्षी श्री ५ को सरकार स्वास्थ्य मन्त्रलायका सचिवले दिएको लिखितजवाफमा निवेदकले डडेलधुरा अस्पतालबाट सरुवा नहुने भए राजीनामा स्वीकृत गरिपाउँ भनी अनुरोध गरेको र निजलाई पछि नियुक्ति गर्दा पनि डडेलधुरामा नै पोष्टिङ गरिएको हुँदा निजले सो ठाउँमा रही कामकाज गर्न नचाहेको ठानी निजको राजीनामा स्वीकृत गरिएको हो भन्ने उल्लेख गरिएको छ । निवेदकले आफ्नो निवेदन जिकिरमा स्थायी पदबाट राजीनामा नदिएको अस्थायी पदबाट राजीनामा दिएकोलाई तत्कालै स्वीकृत नगरी स्थायी पदमा नियुक्त पाई कामकाज गरिसकेपछि सो स्थायी पदमा असर पार्ने गरी पहिलेको राजीनामा स्वीकृत गरियो, सो अमान्य गरिपाउँ भनी मौकेदेखि सम्बन्धित विभागीय मन्त्रीज्यू समक्ष पनि निवेदन गर्दै आएको फाइल साथ समावेश भएका कागजातहरूबाट देखियो ।
६. तसर्थ निवेदकले डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति भएको पदबाट राजीनामा गरेको नभई अस्थायी नियुक्ति भएको अवस्थामा विशेषज्ञ भएको हुँदा सरकारी मिति अनुसार सहुलियत प्राप्त स्थानमा सरुवा गरियोस अन्यथा राजीनामा स्वीकृत गरिपाउँ भनी शर्त सहितको माग गरेकोमा अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको र निजले स्थायी नियुक्त भएको पदबाट राजीनामा दिएको स्वीकृति भएको नदेखिँदा निवेदकलाई स्थायी नियुक्ति गरिएको पदमा कामकाज गर्न दिनु भनी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयका नाउँमा परमादेशको आदेश दिने ठहर्छ । यो आदेशको प्रतितिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनू ।
न्या. हेरम्बराज
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०३० साल बैशाख २८ गते रोज ५ शुभम् ।