निर्णय नं. ७४३ – जग्गा खिचोला
निर्णय नं. ७४३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत्...
निर्णय नं. ७४३ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२८ सालको दे.फु.नं. १५ ‘१’
फैसला भएको मिति : २०३०।३।१९।३
निवेदक : पूर्व ४ नं.खिगामाछा दला गाउँ बस्ने धर्मप्रसाद उपाध्याय
विरूद्ध
विपक्षी : पूर्व ४ नठथुमसिक्रेल लकुरे बस्ने शमशेरबहादुर मगरसमेत
मुद्दा : जग्गा खिचोला
(१) जग्गामा हकै नभएको बीचको मानिससँग मुद्दा गरी जग्गा छाडिदिने व्यहोरासँग मिलापत्र गरेको सम्म नाताले जग्गामा हक पुग्न नसक्ने भोग तिरोसमेतको अन्य सबूद चाहिने ।
अब रह्यो २००३।१२।२६।२ को मिलापत्रको कुरा उक्त मिलापत्र हुनु भन्दा अगावै परेको मुद्दाहरूमा माथिको प्रकरणमा उल्लेख भए बमोजिम नैनमानबाट तिरो बुझ्नु पर्ने ठहरी पूर्व ४ नं.गोश्वाराबाट २००१।७।२०।१ मा फैसला भएकोमा उक्त फैसलामै नैनमानको हक कायम भएको जग्गामा हकै नभएको बीचको मानिस भिमबहादुरसँग प्रतिवादी शमशेरबहादुरको स्वास्नी इन्द्रमायाले मुद्दा गरी जग्गा इन्द्रमायालाई छाडी दिने व्यहोरासँग उक्त २००३।१२।२६।२ मा मिलापत्र गरेकोसम्म नाताले जग्गामा प्रतिवादी शमशेरबहादुरको हक पुग्न सक्ने हुँदैन जग्गामा हक कायम गर्नालाई भोग तिरोसमेतको अन्य सबूद प्रमाण पनि चाहिन्छ त्यस्तो सबूद प्रमाण प्रतिवादी तर्फबाट कुनै आउँन नसकेको माथि नै उल्लेख भइसकेको छ सो मिलापत्र भन्दा पछि भिमबहादुर नैनमानको अर्को मुद्दा परेकोमा जग्गा नैनमानले खान पाउने गरी २००४।७।२० मा मिलापत्र भएको र नैनमानबाट राजीनामा लिने भनेको वादी धर्मप्रसाद र भिमबहादुरको जग्गा बाली मुद्दा परेकोमा सो जग्गा वादीले राजीनामा लिएको कायम भई अधिया बाली वादीले भरी पाउने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएकोसमेत प्रमाणपत्रबाट उक्त ०३।१२।२६ को मिलापत्र अमान्य भइसकेको पनि छ ।
(प्रकरण नं. १९)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
उल्लिखित मुद्दा : ( दे.फु.नं. १४२ षडानन्द उपाध्याय वि.हरिभक्तसमेत, जालसाजी)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : अर्जुन दर्ताको अंशबाट पाउने प्रमानसिंबाट ७२।९।१९ मा बाबा रामनाथले रू.४१२ मा बन्धकी लिई भोग चलन गरेको उक्त तमसुकमा बड थप गरी भा.रु. १६१२। मा प्रमानसिं मर्दा छोरा नैनसिंबाट ज्यामिरे पुछार बगर खेत मुरी ।४ मध्ये मिलापत्रबाट हक भएको खेत मुरी ।१ पाँधेरे माटो मुरी ।२ मध्ये ।१ लकुरे पाँधेरे र ठाउँ खेत मुरी ।१ मानुवासे बुढा खेत मुरी ।३ समेत ४ खला खेत ०६।८।१४।३ मा भोगबन्धकी र त्यसमा फेरि रू.५८८। बड थप गरी रू.२२०० मा ०१०।१०।४ मा राजीनामा पास गरी लिई भोग गरेको पहलसिं अर्जुन थापा दर्ता मुरी ।४ मध्ये १। ज्यामिरे बगरमा भिमबहादुरसँग झगडा पर्दा नैनमानले बेचेको मेरो हक पाको ठहरी पूर्वाञ्चल उच्च अदालतबाट फैसला भएको उक्त ज्यामिरे खेत १८ सालको बर्षे बालीदेखि अधियाँमा शमशेरबहादुर तोष बहादुरलाई कमाउन दिएको अरू खेत मुरी ।५ नैनमानलाई रोपाइँ गर्न दिएकोमा १९।८।१४ गते मेरो भागको धान पराल शमशेरबहादुर इन्द्रमायाले लगेछन् बालीको बिगो रू.४९७। दिलाई मोहीबाट हटाई पाउँ भन्नेसमेत वादी ।
३. ०२७ सालको जाँचमा ढोकल रानाको पाँधेरे २ ठाउँ गरी बाबु अर्जुन थापाका नाममा माटो मुरी ।१ र २५ सालको जाँचमा मकान थापाको लकुरे २ ठाउँ गरी सहदेव थापाको अर्जुन थापा धनी माटो पुरी ।२ अर्जुन पहलसिं थापाहरूले ७६ सालमा बिराएको ज्यामिरे पुछार माटो मुरी ।४ दर्ता भएको खेत ३ कित्ता र अरू जग्गासमेत बाबु अर्जुनका नाममा दर्ता भई भोग गरिआएको कसैको दावी नपुग्ने जग्गा हो ज्यामिरे पुछार बगर खेतको ०२ सालको बाली म ज्यान मुद्दा लगी जेलमा रहेको बखत लुटी खायो म शमशेरबहादुरकी स्वास्नी म इन्द्रमायाले उजूर गरेमा दावी गर्दिन भनी ०३ सालमा भिमबहादुरले मिलापत्र गरी दावी छाडेको छ वादीबाट आफ्नो जग्गा अधियाँमा लिनु पर्ने कारण नहुनाले लिएको होइन हाम्रो जग्गाको बाली लुटी खाई उल्टो झुठ्ठा दावी उजूर गरेको हो भन्नेसमेत शमशेरबहादुर इन्द्रमायाको प्रतिवादी ।
४. वादी शमशेरबहादुरले अधियाँमा रोपेको के कुरामा हो बाजाबाज हुँदा शमशेरबहादुरसमेतले धान लुटी लगेको भनी मौकैमा भनेकोमा शमशेरबहादुर उपरमात्र फिराद गर्नु पर्ने मैले कुनै मिलेमतो नगरेकोमा म उपर झुठ्ठा उजूर गरेको हो मैले कमाएको जग्गाको सुरक्षित किसान हकबाट बञ्चित हुन नपाउने गरिपाउँ भन्ने नैनमानको प्रतिवादी ।
५. यो मुद्दा पछि विशेष अदालतमा सरिआएकोमा ०३ सालको भिमबहादुरसँगको मिलापत्र र ०१६।१२।५ को पूर्वाञ्चल उच्च अदालतको फैसलासमेत बाट वादीको हक भएको २ बर्ष भित्र उसै बखत उजूर गरी बदर गराई लिन नसकेको आखिर बालीको झगडा मेरो हकको जग्गा भनी प्रतिवादीले खिचोला उठाई अघिल्लो मिलापत्रको आड लिएको अघिल्लो मिलापत्रलाई मान्यता दिन नमिल्ने र अरू कित्ताको हकमा प्र.शमशेरबहादुरले कुनै सबूद प्रमाण जिकिर नलिएको हुँदा वादी दावीको ४ कित्ता जग्गा हालसम्म वादीकै भोगतिरो हक देखिएकोले प्रतिवादी शमशेरबहादुर, तोषबहादुर, इन्द्रमायासमेतले खिचोला गरी बिगो रू.४९७। नदिएको ठहर्छ भन्नेसमेत विशेष अदालत सगरमाथा अञ्चल सा.नं.३ भोजपूरको ०२३।५।१३।२ को फैसला ।
६. सो उपर चित्त बुझेन भन्ने शमशेरबहादुर, तोषबहादुर, इन्द्रमायाको पुनरावेदन ।
७. जग्गाको हकबेहक गर्नु पर्ने देखिएकोले यसै मिसिलबाट जो चाहिने बयान गराई सबूद बुझी ऐन बमोजिम ठहर गर्नु पुनरावेदन परे साथै र नपरे यस अदालतमा परेको पुनरावेदन किनारा गर्न उक्त मिसिल पठाई दिनु भनी सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चमा पठाई दिनु भन्ने ०२५।७।४।१ को डिभिजन बेञ्चको आदेश ।
८. ज्यामिरे माटो मुरी ।१ समेत पहिलेको बन्धकी थैलीमा बढ थप गरी भा.रू.२२००। मा अंश पाउने प्रमानसिंको छोरा नैनमानबाट राजीनामा लिई भोग चलन गरेको मेरो जग्गा हो उक्त जग्गामा शमशेरबहादुरको खिचोला मेटाई पाउँ भन्ने धर्मप्रसादको बयान ।
९. वादीले दावी गरेको सबै जग्गा मेरो बाबुको दर्ता मेरो हकको भई मेरै भोग छ नैनमानको बाबु प्रमानसिं मेरो बाबु अर्जुन मइला बाबु पहलसिंसमेतको १९५० सालमा अंशबण्डा भएको हो वादीको जग्गामा खिचोला गरेको छैन भन्ने शमशेरबहादुरको बयान ।
१०. पँधेरै २ ठाउँ गरी माटो पुरी ।१ मेरो बाबु प्रमानसिं दर्ताको हो अरू ३ कित्ता प्रतिवादी शमशेरबहादुरको बाबु अर्जुनका नाममा दर्ता भए पनि मेरो हक भएकोले मैले बिक्री गरेको हुँ प्रतिवादीको हक छैन भन्नेसमेत नैनमानको बयान ।
११. तिरो बुझाएको रसिद प्रतिवादीले प्रमाण दिन नसकेको वादीबाटै रसिद पेस भएको उक्त जग्गाहरू ०१०।१।१० मा नैनमानले वादीलाई राजीनामा पास गरिदिएको देखिन आएको नैनमानले १८ सालसम्म वादीको जग्गाको वादी वादीलाई बुझाएको भन्ने बयान गरेको १८ साल अघि बाली आफूले खाएको सबूद प्रतिवादीले गुजार्न नसकेको रसिद दिने जि.भिमबहादुर उपर उजूर गरेको भन्नेसमेत नसकेको प्रतिवादीको जग्गा नैनमानले वादीलाई राजीनामा दिएको भए जग्गा मिच्नेको १८ नं.का.म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन सक्नु पर्ने नसकेकोले समेत वादीको जग्गामा प्र.शमशेरबहादुरले खिचोला गरेको ठहर्छ भन्ने ०२६।२।७।३ को सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला ।
१२. सो फैसला उपर चित्त बुझेन भन्ने शमशेरबहादुर, इन्द्रमायाको र तोषबहादुरसमेतको पुनरावेदन ।
१३. नैनमानसँग २००६ साल मार्ग १४ गते भोगबन्धकी पास गरेको र १०।१।१०।४ मा राजीनामा रजिष्ट्रेशन पास गरेको भन्ने वादीको प्रमण भएकोमा शमशेरबहादुरकी स्वास्नी इन्द्रमायाको भिमबहादुरसमेत सँग जग्गा मुद्दा पर्दा २००३।१२।२६ मा मिलापत्र भएको प्रमाण प्रतिवादी शमशेरबहादुरसमेतले पेस गरेकोमा दावीको ज्यामिरे पुछार माटो पुरी ।४ खेतमा म भिमबहादुरले अब दावी गर्दिन भनी लेखेको देखिएको र सो जग्गा प्रतिवादी शमशेरको बाबु अर्जुनको दर्ताको भए पनि तिरो तिरी मेरो हक भएकोले मैले बिक्री गरेको भनी नैनमानले ०२६।१।१०।१ मा बयान गरेको बाट अरू लिखत प्रमाण केही नभए केवल तिरो तिरेको आधारमा जग्गामा मेरो हक भएको थियो भनी नैनमानले बयान गरेको देखियो त्यसबाट पँधेरे पुछार अर्जुनको दर्ताको देखिएको छ भिमबहादुर नैनमानको ०४।७।२० गते मिलापत्र भएकोबाट नैनमानको हक देखिएको भनी प्रतिवादी नैनमानको तिरो र मिलापत्रको प्रमाणबाट देखिएको छ ०३ साल चैत्र २६ गते शमशेरबहादुरकी स्वास्नी इन्द्रमायालाई मिलापत्र गरी जग्गा हक छोडिसकेको भिमबहादुरले ०४।७।२० गते नैनमानलाई अधिकार नभएको बखतमा मिलापत्र गरेकोले भिमबहादुरसँगको मिलापत्रबाट जग्गामा मेरो हक पुगेको छ भनी नैनमानले भन्न पाउँदैन भिमबहादुरसँग मुद्दा परी ज्यामिरे पुछार रैकर खेतको ०१३।१४ सालको बाली दिलाई पाउँ भनी भिमबहादुर मगर उपर यो वादी धर्मप्रसादले दर्ता गरेको जग्गा बाली मुद्दामा पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएको भए पनि इन्द्रमायासँग मिलापत्र गरी हक छाडी सकेको भिमबहादुरसँग मुद्दा गरेको कुराले वादीको मिलापत्रमा प्रमाण हुन सक्तैन तिराको हकमा अर्जुनकै दर्ताको भन्ने देखिएकोले हस्तेवारीको तिरो हुन जाने हुनाले नैनमानको राजीनामा म मानसिंकै अंश ज्यामिरे पुछार माटो मुरी ।४ मध्येको निज भिमबहादुरसमेत सँग झगडा परी मिलापत्रबाट मेरो हक भएको खेत मुरी ।४ मध्ये ।१ भनी दावी गरेकोमा पूर्व ४ नं.गोश्वाराबाट फैसला हुँदा सो जग्गाको ४ किल्ला नदेखिएकोसमेत र शमशेरबहादुरले अंश नपाउने प्रमाण वादी तर्फबाट पेस नभएकोले समेत ज्यामिरे पुछार बगरमा भिमबहादुरसँग मिलापत्र गरेकोबाट समेत हक पुगेको भनी नैनमानले राजीनामा गरेको आधारमा माझमार किराँत मालमा दर्ता भएको अर्जुन थापा पहरसिं थापाहरूले बिराएको ज्यामिरे पुछार बगर मोही निज ।४ मध्ये ।१ मा वादी दावा पुग्न सक्तैन अरू ३ कित्ताका हकमा विशेष अदालत सगरमाथा अञ्चल शाखा नं.३ भोजपुरका फैसलाले वादीले बाली पाउने ठहरे उपर शमशेरबहादुरसमेतको पुनरावेदन परेकोमा ति ३ कित्तामा प्रतिवादीको हक भएको प्रमाण नभएकोले समेत इन्साफ मुनसिव छ भन्ने ०२७।४।११।४ को डिभिजन बेञ्चको फैसला ।
१४. यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले नैनमान भिमबहादुरको तिरो बुझी दिएन भन्ने मुद्दा पर्दा २००१।७।२० गते पूर्व ४ नं.गोश्वाराबाट नैनमानबाट भिमबहादुरले तिरो बुझ्नुपर्ने ठहरी फैसला भएको र भिमबहादुर इन्द्रमायाको मुद्दा पर्दा सो ज्यामिरे पुछार खेत मुरी ।१ इन्द्रमायाँको जग्गा हो भनी ०३।१२।२६ गते मिलापत्र गरेको भए पनि सो पछि फेरि भिमबहामदुर नैनमानको मुद्दा पर्दा नैनमानको हक कायम गरी ०४।७।२० गते मिलापत्र गरेको सो उपर तत्कालिन अ.बं.१११ नं. बमोजिम उजूर गर्न नसकेकोसमेत प्रमाणबाट जग्गा नैनमानको हक देखिएको छ त्यसकारण नैनमान बाट मेरो पक्षले राजीनामा लिई भोग गरेको कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१५. यसमा वादी दावीको ४ कित्ता मध्ये ज्यामिरे पुछार बगर मुरी १ को कित्ता बाहेक अरू ३ कित्ताको हकमा प्रतिवादीको हक भएको प्रमाण नभएको भनी ०२७।४।२१।४ को डिभिजन बेञ्चले वादीले बाली भरी पाउने ठहराएको शुरुको इन्साफ सदर गरेकोमा त्यसलाई खण्डन गर्ने तथ्ययुक्त कुनै जिकिर हाल बहससमेतमा प्रतिवादी तर्फबाट आउन नसकेकाले ती कित्ताहरूका हकमा अरू विचार गरिरहनु परेन, ज्यामिरे पुछार बगर खेत मुरी ।१ को हकमा वादी या प्रतिवादी शमशेर बहादुर, इन्द्रमाया कसको हक लाग्ने हो सो कित्ताको बाली बिगो प्रतिवादीले भरी पाउने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१६. सो ज्यामिरे पुछार बगर खेत प्रतिवादी शमशेरबहादुरको बाबु अर्जुनको नाममा दर्ता भइराखेको भए पनि अंश हुँदा नैनमानको बाबु प्रमानसिंको भाग बण्डामा परी निजबाट पहिले बन्धकी र पछि बड थप गरी रू.२२०००। मा नैनमानबाट मैले राजीनामा गरिदिएको मेरो हक भन्ने वादीको दावी भएकोलाई राजीनामा दिने भनेको दाता नै नैनमानले स्वीकारै गरेको पाइन्छ ।
१७. सो जग्गा आफ्नो बाबु अर्जुनका नाममा दर्ता भएको र आफ्नी स्वास्नी इन्द्रमाया र भीमबहादुरको मुद्दा पर्दा जग्गा इन्द्रमायालई छाडिने गरी २००३।१२।२६।२ मा मिलापत्र भएको भन्ने मुख्य आधारमा मेरो भन्ने प्रतिवादी शमशेरबहादुरको मुख्य दावी भएको भए पनि जग्गा आफूले भोग तिरो गरेको सबूदतर्फ बाट कुनै आउन सकेको पाइएन ।
वादी नैनमान मगर प्रतिवादी जिं.भीमबहादुरको यही ज्यामिरे पुछारसमेतको तिरो बुझी दिएन भन्ने मुद्दा परेकोमा जिं.भीमबहादुरले तिरो बुझ्नै पर्ने ठहरी पूर्व ४ नं.गोश्वाराबाट २००१।७।२०।१ मा र वादी धर्मप्रसाद प्रतिवादी भीमबहादुरको गौरको जग्गा बाली मुद्दा परेकोमा नैनमानले गरिदिएको राजीनामा र मिलापत्र बमोजिम मेरो हक भएको ज्यामिरे पुछार खेत भीमबहादुरलाई मगनीमा कमाउन दिएको अधिया बाली दिएन भराई पाउँ भन्ने दावी भएकोमा सो जग्गा वादीले राजीनामा लिएको कायम भई अधिया बाली भरी पाउनेसमेत ठहरी पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएको र वादी भीमबहादुर प्रतिवादी नैनमानको यही जग्गामा मुद्दा परेकोमा जग्गामा वादी भीमबहादुरले दावी छाडी नैनमानले खान पाउने गरी २००४।७।२०।४ मा मिलापत्र भएकोसमेत नक्कलहरू वादीतर्फ बाट पेस हुन आएको सो फैसला मिलापत्र र वादीलाई नैनमानले गराइदिएको राजीनामासमेत प्रतिवादीहरूले कानूनबमोजिम नालेस उजूर गरी बदर गराउनसमेत नसकेका र जग्गा भोग तिरो गरेको रसिद पनि वादीतर्फबाटै पेस हुन आएकोसमेत हुँदा सो ज्यामिरे पुछार बगर जग्गा येले पू.मानसिं नैननमानले र नैनमानबाट राजीनामासमेत लिखत गराई लिए पछि वादीले हक भोग तिरो गरिआएको प्रमाणित हुन्छ ।
१८. दर्ताको हकमा सो जग्गा अंशबण्डा हुँदा प्र.मानसिंको भागमा परेको निज र नैनमानसमेतले आफ्नो नाममा नामसारी दर्ता नगराएकोसमेत कारणबाट पनि अर्जुनका नाममा कायम रही रहेको हुनसक्ने कुरा हो अन्य सबूद प्रमाणबाट प्र.मानसिंको भागबण्डामा परी निजसमेतले भोग तिरो गरी वादीलाई राजीनामा दिएको प्रमाणित हुन्छ भन्ने एका अंशियारको अंश भागको जग्गा अर्को अंशियारको नाममा दर्ता रहेको हुँदैमा सो दर्तासम्मको नाताले भोग तिरोसमेत अन्य सवूद प्रमाणको अभावमा जग्गामा दर्तावालाको हक कायम हुनसक्ने हुँदैन । दे.फु.नं. १४२ वादी षडानन्द पाध्या विरूद्ध हरिभक्तसमेतको जग्गा जालसाजी मुद्दामा ०२९।२।२४।३ को फुल बेञ्चबाट निर्णय हुँदा सतिदेवीको अंश भागमा परेको जग्गा निजले आफ्नो नाममा नामसारी नगराई खडानन्दको नाउँमा दर्ता कायम राखेको भए पनि अंशियार मध्येको वादीको नाममा दर्ता कायम रहेकोसम्म नाताले जग्गामा वादीको हक ठहराउन नमिल्ने भन्ने निर्णय भइराखेको पनि पाइन्छ ।
१९. अब रह्यो २००३।१२।२६।२ को मिलापत्रको कुरा उक्त मिलापत्र हुनु भन्दा अगावै परेको मुद्दाहरूमा माथिको प्रकरणमा उल्लेख भए बमोजिम नैनमानबाट तिरो बुझ्नु पर्ने ठहरी पूर्व ४ नं.गोश्वाराबाट २००१।७।२०।१ मा फैसला भएकोमा उक्त फैसलामै नैनमानको हक कायम भएको जग्गामा हकै नभएको बीचको मानिस भिमबहादुरसँग प्रतिवादी शमशेरबहादुरको स्वास्नी इन्द्रमायाले मुद्दा गरी जग्गा इन्द्रमायालाई छाडी दिने व्यहोरासँग उक्त २००३।१२।२६।२ मा मिलापत्र गरेकोसम्म नाताले जग्गामा प्रतिवादी शमशेरबहादुरको हक पुग्न सक्ने हुँदैन जग्गामा हक कायम गर्नालाई भोग तिरोसमेतको अन्य सबूद प्रमाण पनि चाहिन्छ त्यस्तो सबूद प्रमाण प्रतिवादी तर्फबाट कुनै आउँन नसकेको माथि नै उल्लेख भइसकेको छ सो मिलापत्र भन्दा पछि भिमबहादुर नैनमानको अर्को मुद्दा परेकोमा जग्गा नैनमानले खान पाउने गरी २००४।७।२० मा मिलापत्र भएको र नैनमानबाट राजीनामा लिने भनेको वादी धर्मप्रसाद र भिमबहादुरको जग्गा बाली मुद्दा परेकोमा सो जग्गा वादीले राजीनामा लिएको कायम भई अधिया बाली वादीले भरी पाउने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएकोसमेत प्रमाणपत्रबाट उक्त ०३।१२।२६ को मिलापत्र अमान्य भइसकेको पनि छ ।
२०. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट उक्त ज्यामिरे पुछार बगर खेत मुरी ।१ मा वादीको हक कायम गरी त्यसमा प्रतिवादी शमशेरबहादुरले खिचोला गरेको ठहराई सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चले ०२६।२।७।३ मा र सो ज्यामिरे पुछारसमेतको बाली बिगो भरी पाउने ठहराई विशेष अदालत सगरमाथा अञ्चलाधीश कार्यालय शाखा नं.३ बाट ०२३।५।१३।२ मा छिनेको इन्साफ मनासिव ठहर्छ उक्त ज्यामिरे पुछार खेतमा वादी दावा पुग्न नसक्ने ठहराएको ०२७।४।२१।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन अरू ३ कित्ताको हकमा शुरु इन्साफ सदर गरेको उक्त डिभिजन बेञ्चको मनासिवै छ अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी धर्मप्रसाद उपाध्यायको जग्गातर्फ दावी गरी बयान गर्दा राखेको कोर्टफी रू.१८०। सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको ०२६।२।७।३ को फैसलाले प्रतिवादी शमशेरबहादुरबाट भराई दिने गरेको लगत कायमै राख्नु ०२७।४।२१।४ को डिभिजन बेञ्चको फैसलाले उक्त अञ्चल अदालतको फैसला बमोजिम रू.१८०। भराउने गरेको लगत काटी रू.१५३।३५ मात्र प्रतिवादी शमशेरबहादुर, तोसबहादुर, इन्द्रमायाबाट भराई दिने गरेकोमा सो अनुसार गर्नुपर्दैन उक्त डिभिजन बेञ्चको फैसला बमोजिमको लगत काटी दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु ………………१
वादी धर्मप्रसाद पाध्याकै सगरमाथा अञ्चलाधीश कार्यालय शाखा नं.३ को ०२३।५।१३।२ को फैसला बमोजिम प्रतिवादी शमशेरबहादुर, इन्द्रमाया, तोसबहादुरबाट भराई दिने गरेको बिगो रू.४९७। को लगत कायमै राख्नु ०२७।४।२१।४ को डिभिजन बेञ्चको फैसलाले उक्त विशेष अदालतको फैसला बमोजिमको बिगो रू.४९७। को लगत काटी रू.३६२।७५ मात्र भराउने गरेकोमा सो अनुसार गर्नुपर्दैन उक्त डिभिजन बेञ्चको फैसला बमोजिमको लगत काटी दिनु ऐ.ऐ………………२
वादी धर्मप्रसाद पाध्या के मुद्दा दोहर्याउँदा ०२८।११।११।४ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.३।३६ प्रतिवादी शमशेरबहादुर, इन्द्रमाया, तोसबहादुरबाट बराबर दरले भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनु भनी ऐ.ऐ………………….३
०२७।४।२१।४ को डि.बे.को फैसलाले स.अं.अ.भोजपुर अदालत भोजपुर बेञ्चका तत्कालिन न्यायाधीश हरिहरलाल राजभण्डारीको इन्साफ केही उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ……………….४
नियमबमोजिम मिसिल बुझाई दिनु …………………..५
न्या. वासुदेव शर्मा,
न्या. चन्द्रप्रसाद प्रधान
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल आषाढ १९ गते रोज ३ शुभम् ।