September 26, 2003
Created by nepalarchives

निर्णय नं. ७२८२ – जिउ मास्ने बेच्ने

निर्णय नं. ७२८२          ने.का.प.२०६० अङ्क ९.१०   संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्बत् २०५८ सालको फौ.पु.नं.२७७५ फैसला...

निर्णय नं. ७२८२          ने.का.प.२०६० अङ्क ९.१०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

सम्बत् २०५८ सालको फौ.पु.नं.२७७५

फैसला मितिः २०६०।६।९।६

 

मुद्दा :जिउ मास्ने बेच्ने ।

 

पुनरावेदक

वादीः जिल्ला चितवन गा.वि.स.फुलवारी वडा नं.९ गोपालगञ्ज घर भई हाल कारागार शाखा, पर्सा, विरगञ्ज थुनामा रहेको भिमवहादुर परियार समेत

बिरुद्ध

प्रत्यर्थी

वादीः लक्ष्मी वि.क.को जाहेरीले श्री ५ को सरकार  

 

§  प्रहरीमा भएको साविति जवरजस्ती भएको भने पनि सो कुरालाई सावित गर्न यथेष्ट प्रमाण पेश गर्न सकेको नपाइदा जवरजस्ती सहीछाप गराइएको भनी मौखिक जिकिरलाई प्रमाणको रुपमा ग्राह्य मान्नु कानूनसम्मत  नहुने ।

§  प्रतिवादीले जाहेरवालीलाई भारतको बम्बैमा लगि बिक्री गरेको होइन भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा, जाहेरवालीको किटानी जाहेरी तथा अदालतबाट जाहेरवालीको प्रमाणित बयान र पीडितको बयानलाई प्रहरीमा कागज गर्ने वालकुमारी चापागाई समेतको अदालतमा भएको बकपत्रबाट पुष्टी भएको र सो पीडितको अदालत समक्ष भएको प्रमाणित बयानलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम उक्त कुरालाई झुठ्ठा हो भनी प्रतिवादीहरुले सवुद प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिदा केवल पुनरावेदन जिकिर दिदैमा प्रतिवादीहरु निर्दोष छन् भनी अनुमान गर्ने अबस्था नरहने ।

(प्र.नं. २२)

 

पुनरावेदक वादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, हेटौंडाको मिति २०५८।३।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

२.    चितवन जिल्ला फुलवारी गा.वि.स.वडा नं.९ बस्ने भिमवहादुर परियार र निजको श्रीमती वुद्धमाया परियार समेत भै मलाई ललाई फकाई भारतको बम्बई वेश्यालयमा लगी भा.रु.४०,०००।मा बिक्री गरी आएका र निजहरुले मलाई बिक्री गरेको मिति २०४९ साल जेष्ठ महिनादेखि वेश्यालयमा रहँदा हाल मेरो स्वास्थ्यस्थित अत्यन्त नाजुक भै सकेकोले फर्की आई जाहेरी दरखास्त दिई उपस्थित भएको छु । कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी वि.क.को जाहेरी दरखास्त ।

३.    मलाई २०४९ साल जेष्ठ महिनामा भिमवहादुर परियार निजकै श्रीमती बुद्धमाया परियार समेत भै ललाईफकाई भारतको बम्बई वेश्यालयमा लगी भा.रु.४०,०००।मा बिक्री गरेका र वेश्यालयमा रहँदा मलाई एड्स रोगले ग्रस्त भएकोले हाल फर्की आएकी हुँ भन्ने समेत व्यहोराको जाहेरवाली लक्ष्मी वि.क.ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

४.    २०४९ साल जेठ महिनामा म, मेरो श्रीमती बुद्धमाया भन्ने तुलसी माया  परियार, मेरो जेठी सासु तथा मेरो श्रीमतीको दिदी काली परियार निजसँग आएका गोरे परियार समेत जना ४ भै जाहेरवाली लक्ष्मी वि.क.लाई ललाईफकाई भारत दिल्ली गै कपडा व्यापार गर्ने भनी भारत बम्बईको बेश्यालयमा लगी भा.रु.४०,०००।मा बिक्री गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी भिमवहादुर परियारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

५.    २०४९ साल जेष्ठ महिनामा दिलवहादुर वि.क.को छोरी जाहेरवाली लक्ष्मी वि.क.लाई दिल्लीमा गै कपडा व्यापार गरौं भनी ललाईफकाई म, मेरो श्रीमान् भिमवहादुर परियार, काली परियार र गोरे परियार समेत जना ४ भै विरगञ्ज हूँदै बम्बई पुर्‍याई भा.रु.४०,०००।मा बिक्री गरी हामी फर्की आएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी बुद्धमाया भन्ने तुलसी माया परियारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

६.    जाहेरवाली लक्ष्मी वि.क.लाई एच.आई .भी.एड्स भएको भन्ने रगत परीक्षण प्रतिवेदन ।

७.    जाहेरवाली लक्ष्मी वि.क.को मिति २०५७।२।२५ मा मृत्यु भएको भन्ने मृत्यु दर्ता प्रमाण पत्र र मृतकको दाजु उमाराज वि.क.को निवेदन ।

८.    प्रतिवादी भिमवहादुर परियार, बुद्धमाया भन्ने तुलसी परियार र एकिन वतन नखुलेको काली परियार र गोरे परियार समेत भै जाहेरवाली लक्ष्मी वि.क.लाई २०४९ साल जेष्ठमा दिल्लीमा गै कपडा व्यापार गर्ने भनी ललाई फकाई भारतको बम्बई वेश्यालयमा लगी भा.रु.४०,०००।मा बिक्री गरेको र निज लक्ष्मी वि.क.वेश्यालयमा रहंदा एड्स लागी फिर्ता आई प्रहरीमा जाहेरी दिए पश्चात २०५७।२।२५ मा मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने बालकुमारी चापागाई, विष्णुमाया सापकोटा, माया चापागाई समेतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

९.    मेरी छोरी जाहेरवाली लक्ष्मी वि.क.लाई २०४९ साल जेष्ठमा प्रतिवादी भिमवहादुर परियार, बुद्धमाया भन्ने तुलसी परियार र काली परियार समेत जना ४ भै दिल्लीमा गै कपडा व्यापार गर्ने भनी ललाई, फकाई भारत बम्बईको वेश्यालयमा लगी भा.रु.४०,०००।मा बिक्री गरेको र छोरी लक्ष्मी वि.क.वेश्यालयमा रही वेश्या कार्यमा संलग्न रहंदा एड्स रोगले ग्रस्त भै मिति २०५७।२।१६ मा घरमा फिर्ता आई प्रहरी कार्यालयमा जाहेरी तथा बयान दिए पश्चात मिति २०५७।२।२५ मा मृत्यु भएको हो भन्ने समेत व्यहोराको जाहेरवाली लक्ष्मी वि.क.को आमा भविसरा वि.क.ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।

१०.    प्रतिवादीहरुको उक्त कार्य जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर गरेको प्रमाण पुष्टी हुन आएबाट निज प्रतिवादी भिमवहादुर परियार र बुद्धमाया भन्ने तुलसीमाया परियारलाई सोही ऐनको ८(१) र (५) नं.अनुसार सजाय हुन र फरार रहेका काली परियार र गोरे परियारलाई प्रष्ट वतन खुलेका बखत छुट्टै अभियोग पेश गरिने गरी प्रतिवादी भिमवहादुर परियार, बुद्धमाया परियारलाई सक्कल मिसिलसाथ अभियोग पत्रसाथ पेश गरिएको भन्ने अभियोग पत्र ।

११.    जाहेरी व्यहोरा झुठ्ठा हो, सो कुरा मलाई केही थाहा छैन, मेरो दिदी काली परियारलाई खोजी पत्ता नलागेपछि मात्र हामीलाई यो जाहेरी दिएका हुन् । म समेत भै जाहेरवालीलाई बिक्री नगरेको हुँदा मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी बुद्धमाया भन्ने तुलसीमाया परियारले शुरु अदालतमा गरेको बयान ।

१२.   मैले जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको हैन । रिसइवीका कारण दुःख दिन झुठ्ठा व्यहोरा लेखाएका हुन् । मैले केटी बेच्ने कार्य नगरेको हुँदा दावी बमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भिमवहादुर परियारले शुरु अदालतमा गरेको बयान।

१३.   प्रतिवादी भिमवहादुर परियार, तुलसी परियार, काली परियार र गोरे परियार मिली आज भन्दा ९ वर्ष अघि मेरो छोरी लक्ष्मी वि.क.लाई बम्बईमा लगी भा.रु.४०,०००।मा बिक्री गरेका हुन् भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने भविसरा वि.क.ले शुरु अदालतमा गरेको बकपत्र ।

१४.   प्रतिवादी भिमवहादुर परियार, गोरे परियार, काले परियार र तुलसी माया परियारले भारतको बम्बईमा लगी भा.रु.४०,०००।मा बिक्री गरेकोमा निज लक्ष्मी वि.क.को २०५७।२।२५ मा मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने माया चापागाई, विष्णुमाया सापकोटा र बालकुमारी चापागाई समेतले शुरु अदालतमा गरेको बकपत्र ।

१५.   प्रतिवादी बुद्धमाया भन्ने तुलसीमाया परियारले लक्ष्मी वि.क.लाई भारतमा लगी बिक्री गरेको होइन । यी प्रतिवादीलाई लागेको आरोप झुठ्ठा हो । निज प्रतिवादीको चाल चलन राम्रो छ । अभियोग दावी बमोजिम प्रतिवादी तुलसीमाया परियारलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी तुलसीमाया परियारका साक्षी लिला परियार, विष्णु परियारले शुरु अदालतमा गरेको बकपत्र ।

१६.    लक्ष्मीमाया वि.क.लाई भारत, बम्बै लगी बिक्री गरेकामा प्रतिवादीहरु सावित रहेको, निज प्रतिवादीहरुले वेश्यालयमा बिक्री गरेको भनि पीडितले गरेको बयान प्रमाणित भएको र सो बयानमा उल्लेखित कुराहरु झुठ्ठा हो भन्ने प्रमाण प्रतिवादीले नै पुर्‍याउनु पर्नेमा सो बयान अन्यथा प्रमाणित गर्न सकेको नदेखिंदा प्रतिवादीहरु निर्दोष रहेछन् भन्न सकिने अबस्था नदेखिएकोले प्रतिवादीहरुले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) बमोजिम कसूर गरेको ठहर्नाले ऐ.को दफा ८(१) र ८ (५) बमोजिम प्रतिवादीहरुलाई जनही १० वर्ष कैद र रु.४०,०००।जरिवाना हुने ठहर्छ भन्ने चितवन जिल्ला अदालतको २०५७।११।१८ को फैसला ।

१७.   यसमा हामीले लक्ष्मी विक.लाई २०४९ सालमा बम्बैमा लगी बिक्री गरेको भए पीडितका अभिभावकहरुले खोजतलासको कार्य गर्नुपर्नेमा सो नगरी ८ वर्षपछि लक्ष्मी वि.क.ले जाहेरी दिई सोही जाहेरीकै भरमा मात्र हामी प्रतिवादीको भनाइलाई कुनै वास्ता नै नगरी सजाय गर्ने गरेको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी सफाइ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन प्रतिवादीको पुनरावेदन जिकिर ।

१८.   प्रतिवादीहरुले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ४(क) को कसूर गरेको ठहर गर्दै ऐ.को ८(१) र ८(५) बमोजिम जनही १० वर्ष कैद र ४० हजार जरिवानाको सजाय हुने ठहराई गरेको चितवन जिल्ला अदालतको फैसला मनासिव नै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको फैसला ।

१९.    प्रचलित कानूनी व्यवस्थाले फौजदारी मुद्दामा अभियुक्त विरुद्ध लगाइएको अभियोग स्वतन्त्र र वस्तुनिष्ट प्रमाणले पुष्टी हुनुपर्छ । यदि मिसिलमा कुनै शंका गर्ने ठाउँ छ भने शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सिद्धान्त रही आएको छ । प्रस्तुत मुद्दामा हाम्रा विरुद्धमा एउटा पनि स्वतन्त्र र विश्वसनीय प्रमाण छैन । चश्मदिद गवाह छैन । यस अबस्थामा हामीलाई दोषि ठहर गर्न मिल्दैन । फौज्दारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षको हुन्छ । तसर्थ, पुनरावेदन अदालत, हेटौंडाबाट समेत भएको त्रुटीपूर्ण फैसला बदर गरी सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२०.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका सम्पूर्ण कागजात अध्ययन गरियो । अब, पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।

२१.   निर्णयतर्फ विचार गर्दा, प्रतिवादी भिमवहादुर परियार र बुद्धमाया भन्ने तुलसी माया परियारलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को को ८(१) र ८(५) नं.अनुसार सजायको अभियोग माग दावी मा ऐ.ऐनको दफा ८(१) र ८(५) बमोजिम प्रतिवादीलाई जनही १० वर्ष कैद र रु.४०,०००।जरिवाना ठहर्‍याई गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर यस अदालतमा पुनरावेदन परेको देखिन्छ । 

२२.   यसमा प्रतिवादीहरु भिमवहादुर र तुलसी माया परियारले आफुलाई भारतको बम्बैमा लगि रु.४०,०००मा बिक्री गरी वेश्यावृतिमा लगाई आएकोले निज प्रतिवादीहरुलाई ऐन बमोजिम कारवाही गरी पाउँ भनी पीडित लक्ष्मी वि.क.को जाहेरी परे पश्चात अनुसन्धान भै प्रस्तुत मुद्दा प्रारम्भ भएको देखिन्छ । पीडितको किटानी जाहेरी र अदालतबाट प्रमाणित पीडितको बयान मिसिल संलग्न देखिन्छ । प्रतिवादीहरु आरोपित कसूरमा अदालतमा इन्कारी रहे पनि अधिकार प्राप्त अधिकारी समक्ष भने सावित रहेको पाइन्छ । उक्त प्रहरीमा भएको साविति जवरजस्ती भएको भने पनि सो कुरालाई सावित गर्न यथेष्ट प्रमाण पेश गर्न सकेको पाइदैन । जवरजस्ती सहीछाप गराइएको भनी मौखिक जिकिरलाई प्रमाणको रुपमा ग्राह्य मान्नु कानूनसम्मत हुँदैन । पीडित एड्स जस्तो डर लाग्दो रोगबाट ग्रसित ज्क्ष्ख् त्भकत एयकष्तष्खभ भन्ने भगवती प्याथोलोजीको रिपोर्ट र सोही रोगबाट निज पीडितको मृत्यु भएको मिति २०५७।२।३१ को मृत्यु दर्ता प्रमाण पत्रबाट देखिन्छ । प्रहरीमा कागज गर्ने बालकुमारी चापागाई, माया चापागाई र विष्णुमाया चापागाईले प्रतिवादीहरुले नै पीडितलाई भारतको बम्बैमा लगि बिक्री गरेका हुन भनी अदालतमा समेत उपस्थित भै बकपत्र गरेको देखिन्छ । त्यस्तै पीडित लक्ष्मी वि.क.कि आमा भविसरा वि.क.ले पनि यिनै प्रतिवादीहरुले छोरीलाई भारतको बम्बैमा लगी बिक्री गरेको भनी प्रहरीमा तथा अदालतमा समेत लेखाई दिएकी छन् । प्रतिवादीले जाहेरवालीलाई भारतको बम्बैमा लगि बिक्री गरेको होइन भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा, जाहेरवालीको किटानी जाहेरी तथा अदालतबाट जाहेरवालीको प्रमाणित बयान र पीडितको बयानलाई प्रहरीमा कागज गर्न वालकुमारी चापागाई समेतको अदालतमा भएको बकपत्रबाट पुष्टी भएको र सो पीडितको अदालत समक्ष भएको प्रमाणित बयानलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम उक्त कुरालाई झुठ्ठा हो भनी प्रतिवादीहरुले सवुद प्रमाणबाट पुष्टि गर्न सकेको  देखिदैन।  केवल पुनरावेदन जिकिर दिदैमा प्रतिवादीहरु निर्दोष छन् भनी अनुमान गर्ने अबस्था रहदैन ।

२३.   तसर्थ, प्रतिवादीहरुलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा  ८(१) बमोजिम १० वर्ष कैद र सोही ऐनको दफा ८(५) बमोजिम रु.४०,०००।–  (चालिस हजार) सजाय हुने ठहर्‍याई गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ। पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई  दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.शुसिला सिंह सिलु                                                                         

 

इति सम्बत् २०६० असोज ९ गते रोज ६ शुभम् ––