July 14, 2003
Created by nepalarchives

निर्णय नं. ७२८० – हक सफा

निर्णय नं. ७२८०    ने.का.प.२०६० अङ्क ९.१०   संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५६ सालको दे.पु.नं. ५००८ फैसला...

निर्णय नं. ७२८०    ने.का.प.२०६० अङ्क ९.१०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

सम्बत् २०५६ सालको दे.पु.नं. ५००८

फैसला मितिः २०६०।३।३०।२

 

मुद्दा :हक सफा ।

 

पुनरावेदक

वादीः जिल्ला रुपन्देही बोदवार गा.वि.स. वडा नं. १ बस्ने रवि प्रताप पाण्डे समेत

बिरुद्ध

प्रत्यर्थी

प्रतिवादीः जिल्ला रुपन्देही वसन्तपुर गा.वि.स. वडा नं. ५ बस्ने राममूर्ति नारायण पाण्डे समेत

 

§  बादीहरुको जुन जग्गाहरुमा आवतजावत गर्नको लागि विवादित जग्गाहरु सन्धीसर्पन पर्ने भन्ने बादीको दावी छ उक्त न.नं. १५ को दशगजा क्षेत्रबाट ती जग्गाहरुमा आवतजावत गर्न मिल्ने नक्सा मुचुल्काबाट देखिन आयो । उक्त नक्सा मुचुल्काबाट विवादित जग्गाहरुबाट बाहेक बादीहरुको जग्गामा आवत जावत गर्न नमिल्ने अवस्था नभएको हुँदा बादीहरुको जग्गासँग विवादको जग्गाहरुलाई बादीहरुको सन्धीसर्पन पर्ने भन्न मिलेन । अतः सन्धीसर्पन पर्ने भनी दावी बमोजिम विवादको जग्गाहरु बादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिदा सदर हुने ।

(प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फवाटः

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

      न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५५।१०।१२ को फैसला उपर बादी पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

      २.    नरसिंह नारायणका ४ भाइ छोरामा जमुना, अक्षवर, जगमोहन र प्रतिवादी राममूर्ति नारायण पाण्डेय समेत भै जमुनाकी श्रीमती तलासी देवी, अक्षवरको छोरा रामनरेश, जगमोहनको छोरा रामउग्रह भै रामउग्रहको छोरा हामी बादीहरु भएको । नरसिंह, जमुना, तलासी देवी, अक्षवर, रामनरेश र जगमोहन समेत परलोक भएको, प्रतिवादी मध्येका कान्छा बाजे राममूर्ति नारायणको अपुतालीको १ नं. बमोजिम हकवाला हामी भै निजसँग छुट्टिई भिन्न समेत भैसकेको छ । हाम्रो हकभागको बोदवार गा.वि.स. वडा नं. ४(क) कि.नं. ३९, २६, ४७, ४९, ५१ को जग्गालाई सन्धीसर्पन पर्ने विपक्षी मध्ये राममूर्ति नारायण पाण्डेयका नाउँको ऐ. को कि.नं. ४६, ५०, ४८, २५ को जग्गा विगाहा ३१३० विपक्षी मध्येका बाबुलाल र लालबहादुर गुप्तालाई मिति २०५०।११।१३ मा बिक्री गरी रजिष्ट्रेशन पारित गरी दिनु लिनु गरेको कुरा मिति २०५१।४।१२ मा थाहा पाएकोले लेनदेन व्यवहारको ११ नं. र रजिष्ट्रेशनको ३५ न.. बमोजिम राजिनामाको थैली रु. १,१०,०००।रजिष्ट्रेशन दस्तुर रु. ७,७००।समेत जम्मा रु. १,१७,७००।रुपन्देही मालपोत कार्यालयको नामको धरौटी खाता न.. ००६ मा    मिति २०५१।४।३० मा धरौट दाखिल गरी उक्त जग्गा निखनाई हकसफा गरी पाउँ भनी उजुरी निवेदन दिएकोमा दावीअनुसार हक निखनाई  पाउने ठहराई २०५१।८।२८ गते निर्णय पर्चा भए उपर प्रतिवादीहरुले पुनरावेदन गरेकोमा सन्धीसर्पन पर्ने नपर्ने सम्बन्धा प्रमाण बुझी निर्णय गर्नुपर्ने हुँदा अदालतमा उजुर गर्न जानु भनी सुनाउनु पर्नेमा निखनाई पाउने गरी गरेको निर्णय बदर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।१०।१० मा फैसला भई सोहीअनुसार सम्बन्धित अदालतबाट कानून बमोजिम हक ठहर गराई ल्याएका बखत सोही बमोजिम हुने भनी मालपोत कार्यालय रुपन्देहीबाट मिति २०५३।२।२७ मा निर्णय पर्चा सुनाएको हुँदा निर्णय पर्चा सुनाएको मितिले ३५ दिनभित्र लेनदेन व्यवहारको ११, १६ र रजिष्ट्रेशनको ३५ नं. समेतको आधारमा फिरादपत्र दायर गर्न आएका छौं, धरौटी थैली र रजिष्ट्रेशन दस्तुर समेत बुझाउन लगाई उल्लेखित जग्गा हामीहरुले निखनाई हकसफा गरी पाउँ भन्ने व्यहोराको फिराद दावी ।

      ३.    मैले बिक्री गरेका जग्गा विपक्षीहरुलाई सन्धीसर्पन नपर्ने र निजहरुको मालपोत कार्यालयमा परेको उजुरी म्याद नाघी परेको हुँदा खारेज हुनुपर्ने हो, सन्धीसर्पन पर्ने नपर्ने भन्नेतर्फ उजुरीमा उल्लेख गरेको कि.नं. २७ मा घर छैन, कि.नं. ४५, ४६, ४७, ४८, ४९, ५०, ५१ र साविक कि.नं. २५ हाल कित्ताकाट भै कि.नं. ५२, ५३, २९, ३०, ३४, ५०, ४१, ४२, ४३ को जग्गा र सोसँग सटेको जग्गा दक्षिणमा भारत नेपालको अन्तर्राष्ट्रिय कि.नं. ४४ को दशगजा सीमा छ । उपरोक्त जग्गामा आउन जान मल, टे«क्टर, ट्रली गोरु, वैल समेत ल्याउन लैजान सक्ने अन्तर्राष्ट्रिय सीमाबाट आउने जाने गर्छौ । कि.नं. ४५ को पश्चिम तर्फ वयेला नदी छ, पूर्व दक्षिण उवरमा कुला नाला नैं छैन । सो नदी र कि.नं. ४५ को प्रति र सीमाना समेतका जग्गाहरुबाट विपक्षीहरुको उल्लेखित कित्तामा पानी लगाउने र आवत जावत समेत गरी आएको हुँदा उजुरी बमोजिम सन्धीसर्पन नपर्ने, विपक्षीहरु नजिकको हकदार समेत नभएका र हदम्याद नाघी परेको प्रस्तुत उजुरी हुँदा विपक्षीहरुले हकसफा गर्न नपाउने र हकसफा गर्न दिन समेत मंजुर नहुँदा अ.वं. १७२ नं. बमोजिम नापी नक्सा समेत गरी उजुरी खारेज गरी राजिनामा सदर गरी पाउँ भन्ने समेत प्रतिवादी मध्ये राममूर्ति नारायण पाण्डेको प्रतिउत्तर जिकिर ।

      ४.    विपक्षीहरुको दावी अनुसार कित्ता जोडिदैमा सन्धीसर्पन पर्ने भन्न नमिल्ने हुँदा दावी झुठ्ठा हो । हामीले खरीद गरेको जग्गा २०४९ सालदेखि कृषि विकास बैंकले लिलाम गर्ने भनी गोरखापत्रमा प्रकाशित सूचनामा तोकिएको म्यादमा लिलाम गरी बैंकले आफ्नो जिम्मामा लिई राखेको जग्गा हामी मध्येका लालबहादुरले कृषि विकास बैंक भैरहवालाई भुक्तानी गर्नुपर्ने रकम मिति २०५०।११।६ र २०५०।११।११ मा भूक्तानी गरी बैंकले राममूर्तिलाई जग्गा फुकुवा गरी दिई सकेपछि राममूर्ति नारायणले हामीलाई राजिनामा गरी लिनु भन्दा पहिले नैं बैंकका नाउँमा गै त्यसपछि राममूर्तिले फिर्ता पाएपछि मात्र हामीहरुका नाउँमा राजिनामा भएको हुँदा बैंकले लिलाम गर्दा आफ्ना नाउँमा राखेको अवस्था विपक्षीहरुले हामीहरुको सन्धीसर्पन पर्ने भनी लिलाममा सकार गर्न र बैंकले आफ्नो नाउँमा गराउँदा समेत दावी गर्न नसकी अहिले आएर लिलाम भएको कुरालाई लोप गरी मिति २०५१।४।११ मा थाहा पाएको भनी दावी लिएको झुठ्ठा हो । हामीले राजिनामा गरी लिएको जग्गा विपक्षीहरुलाई सन्धीसर्पन पनि पर्ने होइन । निजहरुलाई हकसफा गरी दिनमा हाम्रो मंजुर समेत नहुँदा नक्सा समेत गरी झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु बाबुलाल गुप्ता र लालबहादुर गुप्ताको संयुक्त प्रतिउत्तर पत्र ।

      ५.    बादीहरु विवादित कि.नं. ४६, ४८, ५०, २५ को जग्गाको सन्धीसर्पन पर्ने हकवाला देखिन आएकोले दावी बमोजिम उक्त जग्गाहरु वादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रुपन्देही जिल्ला अदालतको फैसला ।

      ६.    हामीहरुले राममूर्ति नारायण पाण्डेसँग खरीद गरी लिएको जग्गा विपक्षीहरुको सन्धीसर्पन नपर्ने भई जग्गामा आवत जावत गर्ने स्थान नेपाल भारत सीमानाको दशगजा भएकोमा शुरुबाट सन्धीसर्पन पर्ने ठहर गरी वादी दावी बमोजिम हक निखनाई  लिन पाउने ठहर भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला बदर गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी बाबुलाल गुप्ता र लालबहादुर गुप्ताले पुनरावेदन अदालत बुटवलमा गरेको पुनरावेदन पत्र।

      ७.    शुरु रुपन्देही जिल्ला अदालतबाट बुझ्नु पर्ने प्रमाण नबुझी बुझिएको प्रमाणको मूल्याङ्कन नगरी जग्गामा आवतजावत गर्ने स्थान नेपाल भारत सीमानाको दशगजा भएकोमा सो को मूल्याङ्कन नगरी भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राममूर्ति नारायण पाण्डेको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।

      ८.    यसमा शुरुले फैसलामा न.नं. १५ नेपाल भारत सीमानाको मानव बसोबास नभएको १० गजा क्षेत्र भन्ने सो जग्गाबाट बाटो छ भन्न मिल्दैन भन्ने उल्लेख गर्दा गर्दै उक्त न.नं. १५ वादी वाहेक दावीको कि.नं. को जग्गाहरुमा आउने जाने बाटो नभएको भनी उल्लेख गरेको निर्णयाधार परस्पर बाझिएको देखिएको सन्दर्भमा बादी दावीको निकास लगायतको सन्धीसर्पन परे नपरेको तथ्यको मूल्याङ्कन गरी ठहर गर्नुपर्ने देखिन आई शुरुको निर्णय फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।  

      ९.    शुरु रुपन्देही जिल्ला अदालतबाट बादी दावी बमोजिम दावीका जग्गाहरु निखनाई हकसफा गरी दिनुपर्ने ठहराएको इन्साफ उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५५।१०।१२ को फैसला ।

      १०.    आवतजावत गर्ने विवादित कित्ता नम्वरहरु भन्दा बाहेक अन्यत्र बाटो नदेखिएको अवस्थामा दुई देशको सीमानामा रहेको दशगजा बाटो हो भन्ने निर्णयाधार उल्लेख गरी शुरु रुपन्देही जिल्ला अदालतले हकसफा गरी दिनुपर्ने ठहराएको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी फिराद दावी बमोजिम गरी पाउँ भन्ने व्यहोराको बादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

      ११.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विवादित कि.नं. ४६, ४८, ५० र २५ को जग्गाहरु बादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिले, नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने  भयो ।

      १२.   निर्णयतर्फ विचार गर्दा हाम्रो हकभोगको कि.नं. ३९, २६, ४७, ४९, ५१ को जग्गालाई सन्धीसर्पन पर्ने प्रतिवादी मध्येका हाम्रो कान्छा बाजे राममूर्ति नारायणको नामको कि.नं. ४६, ५०, ४८, २५ को जग्गा प्रतिवादी मध्येका बाबुलाल र लालबहादुर गुप्तालाई बिक्री गरेकोले उल्लेखित जग्गाहरु हामीहरुले निखनाई हकसफा गरी पाउँ भन्ने फिराद दावी र बादीहरुको जग्गासँग विवादित जग्गा सन्धीसर्पन नपर्ने र बादीहरु नजिकको हकदार समेत नभएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने व्यहोराको प्रतिउत्तर जिकिर भएको पाइयो । शुरु रुपन्देही जिल्ला अदालतबाट मिति २०४८।८।३ मा भएको नक्सा मुचुल्कामा उल्लेखित न.नं. ११, १२, १३ र १४ क्रमशः कि.नं. ४६, ४८, ५० र २५ को विवादित जग्गाहरु भएको देखियो । उक्त विवादित जग्गाको दक्षिण तर्फ नेपाल भारत सीमानाको दशगजा भन्ने न.नं. १५ उल्लेख भएको  देखिन्छ । उक्त दशगजा क्षेत्र कसैको  कब्जामा नभएको र आवतजावत गर्न रोक लागेको नभै खुला रुपमा रहेको देखिन्छ । बादीहरुको जुन जग्गाहरुमा आवतजावत गर्नको लागि विवादित जग्गाहरु सन्धीसर्पन पर्ने भन्ने बादीको दावी छ उक्त न.नं. १५ को दशगजा क्षेत्रबाट ती जग्गाहरुमा आवतजावत गर्न मिल्ने नक्सा मुचुल्काबाट देखिन आयो । उक्त नक्सा मुचुल्काबाट विवादित जग्गाहरुबाट बाहेक बादीहरुको जग्गामा आवत जावत गर्न नमिल्ने अवस्था नभएको हुँदा बादीहरुको जग्गासँग विवादको जग्गाहरुलाई बादीहरुको सन्धीसर्पन पर्ने भन्न मिलेन । अतः सन्धीसर्पन पर्ने भनी दावी बमोजिम विवादको जग्गाहरु बादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । बादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.रामप्रसाद श्रेष्ठ

 

इतिसम्बत् २०६० साल असार ३० गते रोज २ शुभम्……….