May 12, 2003
Created by nepalarchives

निर्णय नं. ७२७१ – भ्रष्टाचार

निर्णय न.७२७१     ने.का.प.२०६० अङ्क ९.१०   संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५७ सालको फौ.पु.नं. –२२५४ फैसला मितिः...

निर्णय न.७२७१     ने.का.प.२०६० अङ्क ९.१०

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

संवत् २०५७ सालको फौ.पु.नं. २२५४

फैसला मितिः २०६०।१।२९।२

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक

वादीः  गृह मन्त्रालयको पत्रको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीःजि.रौतहट आरैया गा.वि.स.वडा नं. १ घर भै तत्कालीन जिल्ला वन कार्यालय चितवनका      जिल्ला वन अधिकृत अरुणकुमार श्रीवास्तव समेत

 

§  प्रतिवादीहरु उपर तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को कसूर गरेको भनि अभियोग लगाइएको देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसारको कसूर स्थापित हुन सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफु वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले वा राष्ट्र वा श्री ५ तथा श्री ५ को सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याउने बदनियतले नेपाल कानून जानीजानी पालन नगरेको वा शर्त, कवुलियत वा संझौता जानीजानी पालन नगरेको वा सरकारी सुविधा वा अधिकारको दूरुपयोग गरेको वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेको तथ्य स्थापित हुनपर्नेमा प्रस्तुत मुद्दामा प्रतिवादीहरुले उल्लेखित कानूनी व्यवस्था अनुसार आफूलाई वा अरु कसैलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले आफ्नो  क्षेत्रभित्रको सरकारी वनको रुख काटेको वा काट्ने कार्यमा अरु कसैसंग मिलेमतो गरेको भन्ने तथ्य सबुद प्रमाणबाट पुष्टि हुन सकेको नपाइने ।

§  वन कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो पदीय कर्तव्य तथा जिम्मेवारी पूरा नगरेको कारणले श्री ५ को सरकारलाई हानी हुने गरी सरकारी वन जंगलका रुखहरु काटिएको वा मासिएको भन्ने विषय भ्रष्टाचारजन्य कसूर भन्दा पनि कर्मचारी उपर विभागीय कारवाही हुन सक्ने प्रकृतिको दायराभित्र पर्न सक्ने देखिन आउंछ । यसर्थ केवल अनुमानको आधारमा यी प्रतिवादीहरुले भ्रष्टाचार जन्य कसूर गरेको भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।१२।२१ को इन्साफ मनासिव देखिंदा सदर हुने ।

(प्र.नं.४६)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत हेटौंडाबाट मिति २०५६।१२।२१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :

२.    चितवन जिल्ला वन कार्यालयका डि.एफ.ओ. अरुणकुमार श्रीवास्तव तथा सो अन्तर्गतका इलाका वन कार्यालयका ई.व.स. समेतले आआफ्नो इलाका वन कार्यालय अन्तर्गत पर्ने नम्बरी जग्गामा रहेको कुकाठ र सालको रुखको संख्या भन्दा २,३ दोव्वर बढि देखाई प्रतिवेदन दिई समिल समेतमा बिक्री वितरण गरेको बुझिन आएको भन्ने समेत व्यहोराको मिति ०४९।३।१८ को गृह मन्त्रालयको पत्र ।

३.    शक्तिखोर इलाका वन कार्यालय अन्तर्गत आ.व. ०४८।०४९ मा टि.सि.एन, भरतपुरको बिभागीय आदेशानुसार ढलापडाबाट मात्र काठ दाउरा काट्न ३ वटा प्लटहरु उपलव्ध गराएकोमा (क) दाहाखानी बन इलाकाको रुख संख्या ८० भएको प्लट१(ख) दाहाखानी ढलापडा रुख संख्या २६३ प्लट १(ग) दाहाखानी ढलापडा रुख संख्या ३७३ प्लट नं. १ चितवन जिल्ला अन्तर्गत गुन्जनगर क्षेत्रको नम्बरी आवादी क्षेत्रमा रहेको रुखहरु काट्ने सम्बन्धमा यस कार्यालयबाट क्वालबहादुर तामाङ समेतलाई इजाजत दिएको हो । आ.व. ०४८।०४९ मा यस कार्यालय मातहत पर्ने लोथर इ.व.का. को वन क्षेत्रमा काठहरु काट्ने इजाजत कुनै संघ संस्था तथा व्यक्ति विशेषलाई नदिइएको भन्ने समेत व्यहोराको जिल्ला वन कार्यालय भरतपुरको मिति ०४९।४।१३ को पत्र ।

४.    चितवन जिल्ला दाहाखानी गा.वि.स.मा पर्ने झङझाङ स्याङदी खोलाको किनारामा बन निरीक्षणको सिलसिलामा बेवारिसे काठको दाउरा फेला परेको भन्ने मिति ०४९।४।१४ को मुचुल्का ।

५.    चितवन जिल्ला शक्तिखोर ई.व.का. क्षेत्र भित्रको बन निरीक्षण गर्दा शक्ति खोर गा.वि.स.वडा नं. ५ पर्ने शक्तिखोर भन्ने स्थानको चर्तुमुखि माध्यमिक विद्यालय हाता भित्र काठ रहेको भन्ने समेत व्यहोराको २०४९।४।१४ को मुचुल्का ।

६.    चितवन जिल्लाको शक्तिखोर इलाका वन कार्यालयको क्षेत्रभित्रको वन जंगल निरीक्षण जांच गर्दा शक्तिखोर गा.वि.स.वडा नं. ५ बस्ने शक्तिखोर भन्ने स्थानको चतुरमुखि माध्यमिक विद्यालयको नजिकमा विभिन्न जात परिमाणका गोलिया फेला परेको भन्ने मिति ०४९।४।१५ को मुचुल्का ।

७.    शक्तिखोर इलाका वन कार्यालय अन्तर्गतको हातिवाङ वन इलाकामा पर्ने शक्तिखोर गा.वि.स.वडा नं. ७ को मुल बाटोदेखि पश्चिमतर्फ पहाड घेचसम्मको सरकारी वन जंगल करिव ५० विगाहा जति फडानि कटानीका यी वन काठहरु २०४८ साल फाल्गुण चैत्र महिनातिर केही र केही २०४९ साल जेष्ठ आषाढ तिर कटान भएका हुन कस्ले गरे यकिन भन्न सकिन्न । यसमा कर्मचारीहरुको संलग्नता हुनुपर्छ किनभने कर्मचारीको मिलेमतो नभए यत्रो परिमाणमा रुखहरु कटान भै काठहरु संकलित हुन सक्ने अवस्था थिएन । सो सम्बन्धमा वन क्षेत्रका वन संरक्षणको जिम्मेवारी लिई बसेका सम्बन्धित बनका कर्मचारीहरुलाई नै थाहा हुनु पर्न हो भन्ने समेत व्यहोराको मिति २०४९।४।१७ को मुचुल्का ।

८.    सिसउ जातका गोलिया काठहरु थान ४६ क्वालबहादुर तामाङको नम्बरी आवादीको ४ वटा र पूर्व बाटो पश्चिम नारायणी नदी उत्तर सन्तबहादुर रावलको कि.नं. ८५ को जग्गा दक्षिण मटुराउतको जग्गा यति चार जिल्ला भित्रको ऐ. ऐ. वडा नं. ७ कै जग्गावाला दिलबहादुर राउतको  जग्गाका दुईवटा रुख हुन । फेला परेको सो रुखहरु आफ्नै नम्बरी आवादीको हुंदा चैत्र महिना २०४८ साल तिर कटान गरी दिव्य नगर गा.वि.स. बस्ने भरत अधिकारीले बिक्री गरेको हो उस्ले नउठाएको नलगेको हुंदा हालसम्म ति गोलिया रहन गएका हुन सो ६ वटा  रुखहरुको फेद काठको नाप जांच गरेको भन्ने व्यहोराको मिति ०४९।४।२० को मुचुल्का ।

९.    सोमनाथ घिमिरेका जग्गामा रहेको सिसउको काटिएको रुखको फेद नाप साईज गोलाई ५ फिट १० इन्च सो को गोलिया क्रमशः ४’६ गोलाई ८’ लम्बाईको १,४’, गोलाई ८’ लम्बाईको ३’१० गोलाई ८’ लम्बाईको १ र ३’४ गोलाई ९’ लम्बाई भएको गोलिया थान १ समेत जम्मा चार थान भएको काठको नापजांच गरेको मिति ०४९।४।३० को मुचुल्का  ।

१०.    हात्तिवाङ वन ईकाई अन्तर्गत जम्मा साल र अन्य जातको गो.फु. ३८८८, ०० कटान भएको देखिन्छ । उल्लेखित मितिको मुचुल्का हेरि सनाखत समेत गरी दिएको छु । उल्लेखित दुवै क्षेत्रको म मात्र नभई अन्य कर्मचारी समेतको संयुक्त जिम्मेवारी भएको हुंदा हानि नोक्सानी नै गरेको ठहर कानूनले गर्दछ भने उक्त हानि नोक्सानिको रकम विगो बुझाउन मन्जूर छ भन्ने समेत व्यहोराको किशोरप्रसाद बरालको बयान कागज ।

११.    सिद्धि गा.वि.स.वडा नं. २ निबुवाटारमा डम्बरबहादुर कामीको कि.नं. १० र १३ मा ४ चार थान चांप जातको रुख निज डम्बरबहादुर कै जग्गामा भएको देखियो भन्ने मिति ०४९।४।२७ को मुचुल्का ।

१२.   जुगेडि भन्ने जंगलमा अवैध रुपमा काटिएको साल जातका रुख फेद ठुटा गोलिया काठ फेला परेको काठ गोलियाहरुका नाप जांच गरेको भन्ने मिति ०४९।४।२६ को डोरको मुचुल्का।

१३.   मेरो कार्यकालमा कसैलाई पनि रुख कटानी गर्ने आदेश पनि दिएको छैन र नम्बरी आवादीको रुख काट्ने सम्बन्धमा मेरो कार्यकालमा बिना आदेश काटेको थाहा छैन । शक्तिखोर गा.वि.स.को चतुरमुखि मा.वि.को दक्षिणमा रहेको कर्मा जातको गोलिया थान ३१ काठ अवैध  हो। हातिवाङ क्षेत्र अन्तर्गत पर्ने क्षेत्र क्षेत्रमा बरामद मुचुल्का अनुसार सरकारी टांडिमा शक्तिखोर गा.वि.स.बरामती असना ५४.२ घ.मि. अन्य कु काठमा २९५.९३ घ.मि. र साल २४१०, ०७ घ.मि. र वडा न. ८ देखि चारवटा मात्र बरामदी मुचुल्का अनुसार साल ११२८ घ. मि.काठ सनाखत गरेअनुसारको बिगो देखिन्छ भन्ने समेत व्यहोराको रामकृष्ण थापाको बयान ।

१४.   दाहाखानी वन इलाका क्षेत्रभित्र पर्ने वन क्षेत्रको संरक्षण गर्न आफ्नो बुद्धि विवेकले भ्याएसम्मको टुरगस्ती गरी वन जंगलको संरक्षण गरेको छु । समय समयमा मानिस पक्राउ गरी ल्याएको छु । सो गर्दा गर्दै पनि नोक्सानी भएमा ठहरे बमोजिम सहन तयार छु । यसरी बरामद भएका मुचुल्का अनुसार दाहाखानी हातेलास वडा नं. २ हातिढुङ्गामा बरामद भएको साल काठमा फ. २११५,०९७ बरामदी मुचुल्का अनुसार देखिएकोले बरामद मुचुल्का हेरि सनाखत समेत गरि दिएं भन्ने समेत व्यहोराको देवेन्द्रप्रसाद महतोको बयान ।

१५.   आफ्नो क्षेत्रभित्र पर्ने जंगल हानीनोक्सानी हुन नदिन गस्ती गरी आएको छु । सो बन निरीक्षण गर्दा गर्दै पनि बनको दुरी २.३ किलो परसम्म रहेकोले हेर्दा हेर्दै पनि हानीनोक्सानी हुन गएको हुन्छ । हानीनोक्सानी भएको काठमा चतुरमुखि मा.वि.को कम्पाउण्ड भित्र रहेको सबै काठहरु पनि कुनै टांचा नलागी अवैध किसिमले राखेको काठ अवैध नै ठहर्छ । म कार्यरत हात्तिवाङ क्षेत्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने बरामद भएको मुचुल्का अनुसार सरकारी टाडी शक्तिखोर गा.वि.स.७ बाट बरामद भएको असना ५४.०० घ.मि. अन्य कुकाठ २९५.९३ घ.मि. र साल २४१०, ०७ घ.मि. काठ देखिन्छ । सो अनुसार उल्लेख भएको नापजांच प्रतिवेदन हेरी सनाखत गरी दिएं भन्ने समेत व्यहोराको कोमल कान्त सापकोटाको बयान ।

१६.    म कार्यरत रहेको हातिवाङ बन इकाई कार्यालय क्षेत्र भित्र पर्ने सरकारी वन जंगलको रुख निरीक्षण गर्ने काम मेरो हो । त्यस हात्तिवाङ वन इकाई कार्यालयको क्षेत्रभित्र पर्ने सरकारी वन जंगलका रुखहरु अवैध किसिमले काटिएको जंगल हानि नोक्सानी भएमा त्यसको जवाफदेही म समेत हुनुपर्ने हो । मैले काटि हिनामिना गराई हानिनोक्सानी पुर्याउको होइन । तापनि सरकारी जंगलको रुखहरु अवैध किसिमले काटि अन्यत्र लगेको र जंगल हानि नोक्सानी पुयाई श्री ५ को सरकारलाई गैरकानूनी हानी पुग्न गएकोमा सो को जवाफदेही म समेत हुने हुंदा यस्मा कानूनले जे ठहर्छ सहन तयार छु भन्ने समेत व्यहोराको सवदिन मियाको बयान ।

१७.   दाहाखानी वन इकाई अन्तर्गत पर्ने जुगेडि डांडा भन्ने सरकारी वन जंगलबाट साल जातको जम्मा रुख थान १२१ वटा अवैध किसिमले काटिएको भेटिएकोले सो १२१ थान ठुटा नाप जांच गर्दा हाल सालै काटिएको र सो को डोरबाट उठाएको मुचुल्का हेरी सनाखत गरी दिएं । सो काठ कटानीमा मेरो समेत जवाफदेही हुन्छ भन्ने समेत व्यहोराको तेजबहादुर बस्नेतको बयान ।

१८.   वन जंगल सुरक्षा गर्न कुनै पनि रैन्जर वा अधिकृतहरु आई वा आफ्नो प्लाईन कमाण्डर संगमात्र वनको गस्ती गर्न जाने गरिन्छ । त्यसरी जांदा हानि नोक्सानी भएको सो प्रतिवेदन ती रेन्जर वा वन अधिकृत वा प्लाईन कमाण्डरले नै दिने गर्छ । गस्ती गर्न जांदा हाम्रो काम जंगलमा गस्ती गर्न जांदा रुख काट्ने कुनै फेला परे त्यो सम्बन्धित निकायमा बुझाई दिने खास गरी मेरो काम वन सुरक्षाको कार्य गर्ने र वन्यजस्तु सुरक्षा गर्नु हो भन्ने समेत व्यहोराको रामप्रसाद लामाको बयान ।

१९.    २०४९ जेष्ठ ७ गतेदेखि हातिवाङ इकाईमा काम गरेको थिएं । आफ्नो एरिया भित्र जंगलको रेखदेख निरीक्षण गर्न पठाउने गरे अनुसार हप्ता हप्तामा जाने गरेको छु । यसरी हप्तामा जांदा हानिनोक्सानी भएको विषयमा रेन्जरलाई मौखिक भनेको हुं । म समेतको नियन्त्रणमा रहेको सरकारी जंगल अवैध किसिमले काटि हानीनोक्सानी भएकोमा त्यस्को जवाफ देही हुनुपर्ने ठीक हो । मिति २०४९।४।१७ र २०४९।४।१५ मा भएको मुचुल्का अनुसार हानिनोक्सानी भएको ठीक हो । मुचुल्कामा देखिएको चिरान काठ कस्ले काटी राखे मलाई थाहा छैन भन्ने समेत व्यहोराको मानबहादुर खड्काको बयान ।

२०.   मेरो क्षेत्र भित्र पर्ने जंगल हानीनोक्सानी भए नभएको हेर्ने दायित्व म समेतको हो। सो क्षेत्रमा हानीनोक्सानी पक्कै भएको छ । म स्वयंले हानिनोक्सानी गरेको छैन । गैरकानूनी तरिकाबाट भएको हानीनोक्सानीमा मेरो भन्नु छैन । कानूनले जो ठहर्छ सहन बुझाउन मेरो मंजूर छ  भन्ने समेत व्यहोराको विनोदप्रसाद अर्यालको बयान ।

२१.   म कार्यरत रहेको हातिवाङ इकाई कार्यालयको क्षेत्रभित्र पर्ने सरकारी वन जंगल हानीनोक्सान भएको छ । सो मेरो पनि जवाफ देही हुन आउंछ । मिति ०४९।४।१७ मा भएको मुचुल्का पाना ३ समेत हेरि सनाखत गरी दिएको छु । चतुरमुखी मा.वि. भित्र रहेको कटान गरेको चिरान सालको काठ कस्ले त्याहां राखे थाहा छैन । त्यो अवैध तरिकाले ल्याई राखेको ठीक हो । म समेतको रेखदेख नियन्त्रणमा रहेको सरकारी वन जंगलको रुख अवैध किसिमले काटी हानिनोक्सानी भएकोमा मेरो पनि जवाफदेहीे हुन्छ । यसमा कानूनले जे ठहर्छ । बुझाउन तयार छु भन्ने समेत व्यहोराको साधुप्रसाद कुर्मीको बयान ।

२२.   शक्तिखोर इलाका अन्तर्गत ई.व.स.रामकृष्ण थापा, कोमल कान्त सापकोटा देवेन्द्रप्रसाद महतो, भगवती बाग्ले, किशोरप्रसाद बराल, कृष्ण विलास मिश्र, वनपाले तेजबहादुर बस्नेत, विनोद अर्याल, सव्दीन मिया, साधु,प्रसाद कुर्मी मानबहादुर खड्का समेतका कर्मचारी कार्यरत छन् । कटानी आदेश दिंदा आवश्यकता अनुसार कार्यरत कर्मचारी मार्फत टांचाको प्रयोग गर्न दिने गरिन्छ । यसरी हातिवाङ वन इकाई अन्तर्गत पर्ने क्षेत्रभित्रका वनहरु हानिनोक्सानी हुन गयो देखाएको मुचुल्का देखे सनाखत पनि गरी दिएं सनाखत गरेको काठ नियम बमोजिम छैन । प्रमुखको हैसियतले वन संरक्षण सम्बन्धित नीति निर्देशन दिएको हो । प्रमाणित हुन आएमा कारवाही भएमा मेरो मंजूर छ भन्ने समेत व्यहोराको जिल्ला वन कार्यालय चितवनका वन अधिकृत अरुणकुमार श्रीवास्तवको बयान ।

२३.   आ.व. २०४८।०४९ को चैत्र ९ गतेसम्म हात्तिखोर ईलाका वन कार्यालयमा हाजिर भई कामकाज गरेको समयमा इलाका मातहत इकाई वन कार्यालयको वन क्षेत्रमा हानिनोक्सानी भएको मुचुल्काबाट देखिन्छ । उक्त मिति मितिको मुचुल्का हेरि सनाखत गरी दिएं । मुचुल्काबाट हानीनोक्सानी बमोमिजको दण्ड जरिवाना ऐन कानूनले दोषी ठहर भोग्नमा मंजूर छु भन्ने समेत व्यहोराको रेन्जर कृष्ण बिलास मिश्रको बयान ।

२४.   मेरो आफ्नो  क्षेत्र अवैध रुपमा वन फडानी हानिनोक्सानी भएको जे जीत मेरो कार्यकालमा भएको छ, त्यसमा हामी वन कर्मचारीहरुले देखे भेटेसम्म अभियुक्तहरुलाई कारबाही गरेका छौं । म इलाका वन सहायकको नाताले आवश्यक कार्वाही गरी जिल्ला वन कार्यालय चितवनमा पेश गरेको छु । यसमा मेरो मिलेमतो छैन । मैले कुनै अनियमित काम गरेको छैन । वन हानिनोक्सानी गर्ने काममा मेरो कुनै संलग्नता छैन यदि कानूनले मलाई दोषि ठहर्याउंछ भने त्यो सहनु बझाउनु मेरो वाध्यता हो भन्ने समेत व्यहोराको किशोर बरालले गरेको ततिम्बा बयान।

२५.   हानिनोक्सानी भएको सम्बन्धमा मुचुल्कामा सनाखत गर्ने समयमा टांडि भन्ने ठाउंमा मुचुल्का सूर्य अस्तपछि भएको र डोरको कर्मचारीको करको कारणले सनाखत गरेको हो । डोर कर्मचारीले उल्लेख गर्नु भएको मुचुल्कामा बस्ने गाउंलेहरुले समेत भनेछन । पर्सा बसोवास गरी बस्ने श्याम कृष्ण श्रेष्ठ र मदन पाठकलाई कारवाही गरी पेश गरेको छ । म त्यहां नभएको प्रमाणको लागि वन कार्यालयले चैत्रदेखि  आषाढ मसान्तसम्म अन्य सामुदायिक कामको लागि खटाएको प्रमाणपत्र छ । हानीनोक्सानी गर्ने व्यक्तिहरु पर्सा बसोवास गर्ने श्याम श्रेष्ठ र मदन पाठकले साविति बयानको साथ वन संरक्षण विशेष अदालतमा पेश भएको छ । सो अदालतबाट झिकाई पाउं र सो व्यक्तिहरुलाई उक्त हानीनोक्सानी भएको क्षेत्रको वारेमा कावाही म मार्फत पेश भएको छैन । शक्तिखोर इलाका वन कार्यालय मार्फत नै पेश भएको हो । सो बेलामा म .वि.प्र.वि.डोरसंगै छु । वि.प्र.वि.डोरले विभिन्न मितिको मुचुल्कामा सो समयमा कुनै निकायमा डरको कारणले सनाखत गराएको भनेर लेखेको छैन । श्यामकृष्ण र मदन पाठक समेतलाई गरेको कारवाही विवरण विशेष अदालत भरतपुरमा छ । कुन जातको रुख भन्ने वारे पनि मिसिलमा नै छ सो मिसिल वन संरक्षण विशेष अदालतमा छ भन्ने समेत व्यहोराको रामकृष्ण थापाले मिति ०५०।१।१७ र १८ गते गरेको ततिम्बा बयान ।

२६.   गाउं सर्जमिनको भनाइ र त्यसै सम्बन्धमा एक सदस्यीय वन संरक्षण विशेष अदालत चितवनमा निज समेतको नाउंमा दर्ता भएको मुद्दाबाट प्राप्त प्रमाण फेला पर्ने छ । मेरो आफ्नो मिलेमतोमा वनविनास नभएको कुरा प्रष्ट गराउन चाहन्छु । मैले यस भन्दा अगाडिको बयानमा लेखिए बमोजिम कुनै संलग्नता छैन र संपूर्ण प्रमाण संलग्न गरी यदि म बाट सो हिनामिना भएको भए कानून बमोजिम सहुंला भन्ने समेत व्यहोराको कोमल कान्त सापकोटाले मिति २०५०।१।१८ गते गरेको ततिम्ब बयान ।

२७.   वन हानिनोक्सानी हुंदा वास्ता नगर्नु जिम्मेवारी अनुसार कार्य गर्नु भ्रष्टाचार हो । यस्मा कानून बमोजिम भएमा मलाई मंजूर छ भन्ने समेत व्यहोराको वनपाले मानबहादुर खड्काको मिति २०५०।१।३ को बयान ।

२८.   वि.प्र. टोलिबाट मिति २०४९।४।१५ गतेदेखि ०४९।११।२।६ गतेसम्म शक्तिखोर इलाका वन कार्यालय अन्तर्गतका दाहाखानी हात्तिवाङ वन इलाका अन्तर्गतका जंगलभित्र अनियमित कटानी गरी रहेका लकडी फेला पारी ई.व.स. रमानन्दप्रसाद कुर्मीको प्रतिवेदन अनुसारको नापजांच अनुसार बरामद भएका जम्मा क्यूबिक फुट ९११९,००८ दाउरा चटृा २,७८ दाहाखानी वन इकाई अन्तर्गत पर्ने झङझङ स्यागुठि खोलामा दाउरामा जाने बिभिन्न नाप साइजको मिति ०४९।४।१४ को मुचुल्का अनुसार विभिन्न जातको थान दशको आयतन ११२७०.८४ को चतुमुर्खि मा.वि.को कम्पाउण्ड भित्र फेला परेको सालको गोलिया थान १८ को क्यू फिट ५६.८३८ सोहि मिति ०४९।४।१५ मा ऐ. मा.वि. कम्पाउण्ड बाहिर फेला परेको कर्मा थान ३१ को आयतन २८४.६२ युरेनी खयर खोला नजिक ०४९।४।१६ मा फेला परेको हस्त ब. तमाङको कर्म गोलिया थान १२ को आयतन २६१.३८ सरकारी टांडि बन जंगल भित्र मिति ०४९।४।१७ को मुचुल्का अनुसार फेला परेको साल फेद ठुटा थान ४५ को क्यूविक फुट १५२६,००८ सालको गोलिया थान ७७ को क्यू फिट ११६३.१ र कुकाठ ठुटा थान ४७ को आयतन ११६६.०८ कु.काठ विभिन्न नाप साइजको गोलिया थान १६ को क्यूबिक फिट २९७.३६ हुन्छ । लोथर इलाका वन कार्यालय अन्तर्गत जुटपानि वन ईकाईमा चाप जात थान १ को क्यु. फिट ३११.०० र कुकाठ जात थान १ को क्यु फुट २६२.०० यो व्यक्ति विशेषको नम्बरी र यस्मा जम्मा साखु जात र अरु अन्य जात समेत गरी जम्मा क्यू. फिट ९११९.०० नोक्सानी भएको देखिन्छ । जसमध्ये वन जंगल भित्रको ठुटा र गोलिया समेतको आयतन ८०१०.३९ साल र कुकाठ समेत नोक्सानी भएको र अरु बांकी आयतन दाउरा र गोलिया ठुटा समेतको १११९.०० व्यक्ति विशेषले दावी गरेको देखिन्छ । दाउरा चटृा भएकोले मुल्य ननिकालिएको हो । यस्मा सालको गोलिया र कुकाठको गोलिया समेतको जम्मा आयतन ८०१०.३९ को जम्मा मुल्य रु. १३,१५,६४९।६० हुन्छ भन्ने समेत व्यहोराको इकाई वन सहायक श्यामानन्द मिश्रको मिति ०५०।१।९ को प्रतिवेदन ।

२९.   शक्तिखोर इलाका वन कार्यालय क्षेत्रको शक्तिखोर गा.वि.स.वडा नं. ८ देविटा र भन्ने गाउंको तेर्सो बाटोको माथि तथा गाउंमाथिको सरकारी वन जंगल जाच गर्दा साल जातको ३५ थान रुख काटि सो रुखका काठहरु अवैध किसिमले निकासी गरी हानि नोक्सानी गरेको भनि ठुटा नाप जांच गरी २०४९।४।२२ मा मुचुल्का गरेको सो ३५ थान ठुटा अनुसारको १११४.०० क्यू. फिट काठको मुल्य रु.२,२२,८००।हुन्छ भन्ने समेत व्यहोराको वन प्राविधिज्ञको प्रतिवेदन ।

३०.   शक्तिखोर इलाका वन कार्यालय क्षेत्रको दाहाखानी वन इलाकामा पर्ने नारायणघाट मुग्लीङ राजमार्गदेखि पूर्व जोडि खोलादेखि उत्तर पूर्व  जोडि खोलादेखि उत्तर पूर्व चौकी टांडिदेखि दक्षिण भित्रको जुगेडि डांडा भन्ने जंगल जांच गर्दा यहि २०४९ साल आषाढ महिनातिर अधिकांश २०४९ साल श्रावण महिनाको हालसालै अवैध रुपमा काटिएको साल जातको रुखका ठुटा १२१ थान र गोलिया तथा चिरान काठ १६ थान फेला परेको भन्ने २०४९।४।२७ को मुचुल्का र सो १२१ थान ठुटाको २३७९ क्युवफिट काठ हुने उक्त काठको मूल्य रु.४,७५,८००।हुने १६ थान चिरान काठ र गोलियाको २५६३ क्यू फिट काठ हुने उत्तर काठको मूल्य रु.५१२०६।हुने भन्ने समेत वन प्राविधिज्ञको प्रतिवेदन ।

३१.   जिल्ला वन कार्यालय चितवनको शक्तिखोर इलाका वन कार्यालय अन्तर्गत हात्तिवाङ इकाई र दाहखानी इकाई अन्तर्गतको सरकारी वनमा जिल्ला वन कार्यालय चितवनका वन अधिकृत अरुणकुमार श्रीवास्तव समेतका वनका कर्मचारीहरुले सरकारी वन जंगलको रुखहरु गैरकानूनी तरिकाबाट काटि हिनामिना गराएको संकलित सबूद प्रमाणबाट पुष्टि भएको देखिएको हुंदा वन अधिकृत अरुणकुमार श्रीवास्तवले आफ्नो क्षेत्रभित्र विभिन्न स्थानमा रुख काटी हानिनोक्सानी हुंदा पनि सो स्थानको संरक्षण नगरी आफ्नो दायित्व एवं कर्तव्य पालना नगरेको त्यस्तै इ.व.स.हरु कृष्ण बिलास मिश्र, किसोरप्रसाद बराल, कोमल कान्त सापकोटा, रामकृष्ण थापा, देवेन्द्रप्रसाद महतो र वनपालेहरु साधुप्रसाद कुर्मी, विनोदप्रसाद अर्याल, मानबहादुर खड्का, तेजबहादुर बस्नेत र सबदिन मिया समेतले आफूलाई खटाएको क्षेत्रको वनजंगलको रेखदेख नगरी प्रतिवादीहरुको मिलेमतो तथा लापरवाहीबाट कुल ६२६९ क्यू. फि. बराबरको काठ काटी मुल्य रु.१०,५३,६८०। बराबरको सरकारी वन जंगल हानी पुर्याउकोमा सो मध्ये रु.३,०६,८६८।४० बराबरको काठ बरामद भएकोले नपुग बिगो रु.७,४६,८११।४० बराबरको वन जंगल हानिनोक्सानी गरी आफूलाई गैरकानूनी लाभ र श्री ५ को सरकारलाई हानिनोक्सानी पुयाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) बमोजिमको कसूर गरेकोले निज प्रतिवादीहरुलाई सोहि दफा बमोजिम सजायं गरी सोही ऐनको दफा २९(१) बमोजिम नपुग विगो प्रतिवादीहरुबाट असुल गरी सोही ऐनको दफा २९(२) बमोजिम जरिवाना समेत गरी पाउं भन्ने समेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर भएको अभियोग प्रतिवेदन ।

३२.   अभियोग पत्रमा उल्लेखित अवधिमा म उक्त स्थानमा कार्यरत थिइन । गृह मन्त्रालयले लेखेको पत्रमा मेरो नाम छैन । विशेष प्रहरीबाट अनुसन्धानको अवस्थामा भएको मुचुल्कामा समेत म रोहवरमा छैन । म उक्त स्थानमा रहेको समयमा टि.सि.एन.ले कटान गरेको बाहेक अन्य वन जंगल नोक्सान भएको छैन । अभियोग दावी बमोजिम सजायं पाउनु पर्ने होइन। विशेष प्रहरी अधिकृत समक्ष गरिएको बयान स्वेच्छाले गरेको होइन । अतः सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण विलास मिश्रले अदालतमा गरेको बयान ।

३३.   म उपर लगाइएको अभियोग झुठृा हो, गृह मन्त्रालयमा दिएको निवेदनमा मेरो नाम उल्लेख छैन । अभियोग पत्रमा उल्लेखित क्षेत्रमा ०३६ सालदेखि २०४६ सम्ममा टि.सि.एन. ले वन कटानी गरेको हो । त्यसपछि कटान गर्ने चन्द्रबहादुर वि.क., सरोजकुमार सापकोटा समेत ३८ जनाका नाउंमा मुद्दा दायर गरी सकेको अवस्था छ । विशेष प्रहरी अधिकृत समक्ष गरेको बयान मेरो खुशिराजिले गरेको होइन । यातना दिइएकोले सहिसम्म गरिदिएको हो । अभियोग दावी बमोजिम सजायं हुनुपर्ने होइन । सफाइ पाउं भन्ने समेत व्यहोराको प्र.राम कृष्ण थापाले अदालतमा गरेको बयान ।

३४.   अभियोग दावी बमोजिमको कसूर मैले गरेको नहुंदा सजायं पाउनु पर्ने होइन । विशेष प्रहरी अधिकृत समक्ष गरेको बयान मेरो स्वेच्छाले गरेको नभै शारीरिक तथा मानसिक यातना दिई डर, धाक, धम्की देखाएकोले डराई सहि मात्र गरिदिएको छु । अभियोग पत्रमा उल्लेखित वन क्षेत्रमा टिम्बर कर्पाेरेशनले ०३६ र २०४६ सालमा कटान गरेको थियो । म समेतले नोक्सान गरेको भन्ने झुठृा हो । उक्त कटान भएको भनिएको अवधिमा म सो क्षेत्रमा कार्यरत नभएको हुंदा सफाइ पाउं भन्ने समेत व्यहोराको प्र. कोमलकान्त सापकोटाले अदालतमा गरेको बयान ।

३५.   दावी बमोजिमको कसूर मैले गरेको छैन । अभियोग पत्रमा उल्लेख भएको बन जंगल २०३६ र ०४६ सालमा टिम्बर कर्पाेरेशनले नियमित कटान गरेको हो । बांकी वन जंगल फडानी गरेकोमा चन्द्रबहादुर गुरुङ समेत जना १३ का नाउंमा मुद्दा चलि सकेको अवस्था छ । विशेष प्रहरी समक्ष मैले गरेको बयान राजिखुशिबाट गरेको होइन डर, धाक, धम्की, शारीरिक तथा मानसिक यातना दिएको हुंदा सहिसम्म गरी दिएको छु । गृह मन्त्रालयको म उपरको उजूरी झुठृा हो भन्ने समेत व्यहोराको प्र.देवेन्द्रप्रसाद महतोले अदालतमा गरेको बयान ।

३६.   मैले दावी बमोजिमको कसूर अपराध गरेको छैन । म कार्यरत रहेको हात्तिवाङ वन जंगल २०३६ र ०४६ साल तिर टिम्बर कर्पाेरेशनले फडानी गरेको थियो र पछि अन्य व्यक्तिले पनि कटानी गरेकोमा तिनीहरु उपर कावाही चलिरहेको छ । विशेष प्रहरीले उक्त ठुटाहरु समेतलाई लिएर म समेत उपर मुद्दा अभियोग तयार गरेको हुंदा मैले सजायं पाउनु पर्ने होइन । गृह मन्त्रालयमा पेश भएको कागजमा समेत मेरो नाम उल्लेख छैन । विशेष प्रहरी अधिकृत समक्ष मैले गरेको बयान राजिखुशिबाट गरेको होइन । कुटपीट डर,धाकबाट गराइएको हो । तसर्थ अभियोग दावी बमोजिम मैले सजायं पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.सवदीन मियांले अदालतमा गरेको बयान ।

३७.   मैले अभियोग दावी बमोजिमको वन जंगल नोक्सानी गर्ने कार्य गरेको छैन । वादीले दावी लिएको वन जंगल भनेको ०३६ र ०४६ साल तिर टि.सि.एन. ले फडानी गर्दाको ठुटाहरु हुन । फडानी भएको भनिएको अवधिमा म बिरामी भएको हुंदा बिदामा बसेकोले मलाई त्यत्ति थाहा छैन । गृह मन्त्रालयको पत्रमा समेत मेरो नाम नभएको हुंदा म निर्दाेष छु । विशेष प्रहरी अधिकृत समक्ष गरेको बयान राजिखुशिबाट गरेको नभै कुटपिट, डरधाक, धम्कीबाट गराइएको हुंदा म निर्दाेष छु । सफाइ पाउं भन्ने समेत व्यहोराको प्र साधुप्रसाद कुर्मीले अदालतमा गरेको बयान ।

३८.   अभियोग दावी बमोजिम मैले कसूर अपराध गरेको होइन । २०३६ र २०४६ सालमा टिम्बर कर्पाेरेशनले नियमित कटान गरेको र बांकी वन स्थानीय जनताले कटान गर्दा निजहरुलाई पक्राउ गरी मुद्दा समेत चलाइएको छ । पुराना ठुटाहरुको सर्जमिन गराई झुठृा अभियोग खडा गरिएको हो । विशेष प्रहरी अधिकृत समक्ष गरेको बयान मैले स्वेच्छाले गरेको होइन, मेरो नाम गृह मन्त्रालयको पत्रमा समेत उल्लेख नहुंदा अभियोग दावीबाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्र.मानबहादुर खड्काले अदालतमा गरेको बयान ।

३९.   अभियोग दावी बमोजिमको कसूर मैले गरेको छैन । मैले काम गर्ने दाहाखानी इलाकाको बनमा कुनै अवैध हानीनोक्सानी भएको छैन । विशेष प्रहरीले खडा गरेको मुचुल्कामा उल्लेख भएका ठुटाहरु २०३६ र २०४६ सालमा टिम्बर कर्पोरेशनले कटानी गरेको रुखको ठुटाहरु हो । पछि स्थानीय जनताले केही रुख कटान गरेकोमा पक्राउ गरी मुद्दा चलाइएको अवस्था छ । गृह मन्त्रालयको पत्रमा समेत मेरो नाम उल्लेख नहुंदा वादी दावीबाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्र.विनोदप्रसाद अर्यालले अदालतमा गरेको बयान ।

४०.   म २०४८।१२।१० बाट शक्तिखोर इलाका वन कार्यालयमा हाजिर भएको हुं । विशेष प्रहरीबाट अनुसन्धान हुंदा देखिएको हानीनोक्सानी मेरो पालामा भएको होइन । मेरो पालामा भएको नोक्सानीको विवरण खोली सम्बन्धित वन कार्यालय चितवनमा मुद्दा दायर गरेकै छु । मैले अभियोग दावी बमोजिमको कसूर गरेको छैन । विशेष प्रहरी समक्ष गरेको बयान स्वच्छाले गरेको होइन । डर,धाक,धम्की देखाएको र कुटपिट गरेकोले सहि गरेकोसम्म हो । मुचुल्कामा उल्लेखित नोक्सान भएको भनेको ठुटाहरु तत्कालीन नभै धेरै वर्ष पुरानो नोक्सान भएका ठुटाहरु हुन । मैले अभियोग दावी बमोजिम कसूर गरेको नुहुंदा फुर्सद पाउं भन्ने समेत व्यहोराको किशोरप्रसाद बरालले अदालतमा गरेको बयान ।

४१.   मैले भ्रष्टाचार निवारण ऐन, बमोजिमको कुनै कसूर गरेको छैन । मेरो कार्यकाल ०४८ पौषदेखि ०४९ माघ सम्ममा भए गरेको काम तथा वन संरक्षण विशेष अदालतमा दायर गरेको मुद्दाहरुको लिष्ट साथै पेश गरेको छु । विशेष प्रहरीमा गरिएको बयान तथा उठाइएका मुचुल्काहरुमा मैले खुशीराजिले सहिछाप गरेको नभै डर त्रास, करकाप तथा मानसिक त्रास देखाएपछि सहिसम्म गरेको छु । कसैले मेरो चरित्र हत्या गर्ने उद्देश्यले रिसइविले म उपर उजूरी दिएका हुन् । जुन निराधार छ । मलाई थाहा भएसम्म कानून विपरीत कुनै कार्य गरेको छैन । अतः अभियोग दावी बमोमिजको कसूर गरेको नहुंदा सफाइ पाउं भन्ने समेत व्यहोराको प्र अरुणकुमार श्रीवास्तवले अदालतमा गरेको बयान ।

४५.   अभियोग दावी बमोजिमको वन हानीनोक्सानी गरेको होइन । मनोमानि रुपमा विशेष प्रहरीले गरेको मुचुल्काको आधारमा झुठृा मुद्दा लगाएको हुंदा सजायं हुनुपर्ने होइन । २०४८।२०४९ तिर म दाहाखानी इलाकामा थिएं । त्यहां वन जंगल नोक्सान भएको थिएन । नोक्सान गर्नेलाई पक्राउ गरी जिल्ला वन कार्यालयमा मुद्दा दायर गरेको हुंदा हिनामिना गरेको छैन । २०३६ सालमा टिम्बर कर्पोरेशनले फडानी गरेको ठाउंमा  मुचुल्का खडा गरेको हो । मलाई विशेष प्रहरीमा कुटपीट गरी यातना दिई सहि गराएका हुन् । स्वेच्छाले गरेको होइन । मुचुल्कामा पनि जवर्जस्ती सहिछाप गराएका हुन । गृह मन्त्रालयको पत्रमा समेत मेरो नाम नहुंदा सफाइ पाउं भन्ने समेत व्यहोराको प्र.तेजबहादुर बस्नेतले अदालतमा गरेको  बयान ।

४३.   मिसिल संलग्न कागज प्रमाणहरुबाट आफूलाई गैरकानूनी लाभ र श्री ५ को सरकारलाई हानी पुयाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) बमोजिम कसूर अपराध गरेकोले सजायं गरी पाउं भन्ने समेत व्यहोराको अभियोग दावी पुष्टि हुन आएको नपाईदा प्रतिवादीहरुले  अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।१२।२१ को फैसला ।

४४.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेलले प्रतिवादीहरु वन कार्यालयका कर्मचारी हुन्। निजहरुले आफ्नो कार्यालयको क्षेत्रभित्र पर्ने सरकारी वनका रुखहरु अवैध किसिमले कटान भए नभएको समय समयमा रेखदेख निरीक्षण गर्नुपर्ने हुन्छ । सो जिम्मेवारी पूरा गरिएको भए सरकारी वन जंगलका असंख्य रुखहरु नियम विपरीत कटान हुने स्थिति नै नहुने भएकोले निजहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ उल्टी गरी अभियोग दावी बमोजिम सजायं गरी पाउं भनी गर्नु भएको वहस समेत सुनि निर्णय तर्फ  बिचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।१२।२१ को फैसला मिलेको छ, छैन? पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

४५.   प्रस्तुत मुद्दाको उठान अरुणकुमार श्रीवास्तव समेतका प्रतिवादीहरुले काठको अवैध धन्धामा संलग्न मानिसहरुसंग मिलेमतो गरी आर्थिक लाभ उठाएकोले आवश्यक छानवीन गर्नु भन्ने समेत व्यहोराको गृह मन्त्रालयको मिति २०४९।३।२८ को पत्रबाट भएको देखिन्छ । जिल्लावन कार्यालय, चितवनका जिल्ला वन अधिकृत अरुणकुमार श्रीवास्तवले  आफ्नो कार्यालय भित्रको शक्तिखोर इलाका वन कार्यालय अन्तर्गत हात्तिवाङ इकाई र दहखानी इकाइ अन्तर्गतका सरकारी वन भित्र विभिन्न स्थानमा  रुखकाटी हानीनोक्सानी हुंदा पनि सो स्थानको रेखदेख एवं संरक्षण नगरी आफ्नो दायित्व एवं कर्तव्य पालन नगरेको र निज अन्तर्गतका रेञ्जर तथा वनपाले पदमा कार्यरत अन्य प्रतिवादीहरुले आफ्नो क्षेत्रभित्रको वन जंगलको रेखदेख, संरक्षण गर्नुपर्नेमा सो नगरेको कारणबाट सरकारी वनका  कूल ६२६९ क्यू फिट काठ काटी रु. १०,५३,६८०।बराबरीको सरकार वन जंगल हानि नोक्सानी  गरी आफुलाई गैरकानूनी लाभ र श्री ५ को सरकारलाई हानी पुयाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१)  बमोजिम कसूर अपराध गरेकोले सोही दफा अनुसार सजायं गरी दफा २९ बमोजिम नपुग विगो असूल गरी जरिवाना समेत गरी पाउं भनि अभियोग दावी लिएको पाइन्छ । विशेष प्रहरी अधिकृत समक्ष भएको प्रतिवादीहरुको बयानमा निजहरु वन कार्यालयमा कार्यरत रहेको अवस्थामा आफुले निरीक्षण एवं रेखदेख गर्नुपर्ने सरकारी वन जंगलका रुखहरु अनियमित तरिकाले काटिएको पाइएकोले आफूहरुले वन संरक्षण गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको भन्नेसम्म व्यहोरा उल्लेख गरिएको पाइन्छ । प्रतिवादीहरुले अन्य व्यक्तिसंग मिलोमतो गरी वा नगरी आफुखुशी सरकारी वन जंगलका रुखहरु कटान गरी सरकारी वन जंगलमा हानि नोक्सानी पुर्याउको भन्ने कुनै पनि प्रतिवादीहरुको बयानबाट खुल्न आएको पाइदैन । प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूरमा पूर्णतः इन्कार रही बयान गरेको पाइन्छ । मिसिल संलग्न विभिन्न मितिको मुचुल्काबाट चितवन जिल्ला वन कार्यालय अन्तर्गत पर्ने विभिन्न ठाउंमा सरकारी वन जंगलका काठ दाउरा तथा गोलिया फेला परेको भन्ने सम्म देखिन्छ । सो अनुसार बरामद काठ दाउराहरु यी प्रतिवादीहरु आफैले वा निजहरु समेतको मिलोमतोमा अरु कुनै व्यक्तिहरुले कटान गरी जम्मा गरेको भन्ने मिसिलबाट देखिन आउंदैन ।

४६.   प्रतिवादीहरु उपर तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को कसूर गरेको भनि अभियोग लगाइएको देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसारको कसूर स्थापित हुन सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफु वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले वा राष्ट्र वा श्री ५ तथा श्री ५ को सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याउने बदनियतले नेपाल कानून जानीजानी पालन नगरेको वा शर्त, कवुलियत वा संझौता जानीजानी पालन नगरेको वा सरकारी सुविधा वा अधिकारको दूरुपयोग गरेको वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेको तथ्य स्थापित हुन पर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरुले उल्लेखित कानूनी व्यवस्था अनुसार आफूलाई वा अरु कसैलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले आफ्नो  क्षेत्रभित्रको सरकारी वनको रुख काटेको वा काट्ने कार्यमा अरु कसैसंग मिलेमतो गरेको भन्ने तथ्य सबुद प्रमाणबाट पुष्टि हुन सकेको पाइदैन । प्रतिवादीहरुले आफूलाई गैरकानूनी लाभ र श्री ५ को सरकारलाई गैरकानूनी हानीनोक्सानी हुने गरी आफू स्वयंले वा अन्य को कोसंग मिलेमतो गरी सरकारी बन जंगलको रुख कटान गरी भ्रष्टाचार जन्य कसूर गरेको हो भन्ने सम्बन्धमा अभियोग पत्रमा स्पष्ट दावी लिन सकिएको पाइएन । वन कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो पदीय कर्तव्य तथा जिम्मेवारी पूरा नगरेको कारणले श्री ५ को सरकारलाई हानी हुने गरी सरकारी वन जंगलका रुखहरु काटिएको वा मासिएको भन्ने विषय भ्रष्टाचारजन्य कसूर भन्दा पनि कर्मचारी उपर विभागीय कारवाही हुन सक्ने प्रकृतिको दायराभित्र पर्न सक्ने देखिन आउंछ । यसर्थ केवल अनुमानको आधारमा यी प्रतिवादीहरुले भ्रष्टाचार जन्य कसूर गरेको भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।१२।२१ को इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनु ।

उपर्युक्त रायमा सहमत छु ।

प्र.न्या.केदारनाथ उपाध्याय

 

इति संवत् २०६० साल वैशाख २९ गते रोज २ शुभम्–––––––––––––––––––