January 8, 2004
Created by nepalarchives

निर्णय नं. ७२६९ – लिखत वदर

निर्णय नं.७२६९      ने.का.प.२०६० अङ्क ९.१०   पूर्ण इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री वलिरामकुमार माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६० सालको...

निर्णय नं.७२६९      ने.का.प.२०६० अङ्क ९.१०

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री वलिरामकुमार

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्बत् २०६० सालको दे.पु.इ.नं. …..५५

फैसला मितिः २०६०।९।२४।५

 

मुद्दा :लिखत वदर ।

 

पुनरावेदक

प्रतिवादीः काठमाडौं जि.चम्पादेवी गा.बि.स. वडा नं. ५ वस्ने रामप्रसाद रावल समेत

विरुद्ध

विपक्षी

वादीः काठमाडौं जि.काठमाडौं म.न.पा.वडा नं. २ वस्ने झलकवहादुर समेत

 

§  साविकको उल्लेखित कि.नं. १६५ को जग्गालाई चक्र कुमारीले २०१४ सालमा नरवहादुर खत्रीवाट फार्छेपत्र पारित गरी लिएको देखिन्छ । उक्त लिखत गराई लिएको जग्गा दाइजोवाट प्राप्त निजी आर्जन भनी प्रतिवादीहरुले जिकिर लिएकोमा उक्त २०१४ सालको पारित फार्छे पत्र हेर्दा सो कि.नं. १६५ को जग्गा चक्र कुमारीलाई दाइजो स्वरुप प्राप्त भएको भन्ने कुरा खुल्न आउदैन र निजको निजी आर्जनको भन्ने पनि उल्लेख भएको देखिंदैन । चक्रकुमारीले रु. ७१५०।मा खरिद गरी लिएको भन्ने तथ्य लिखतवाट खुल्न आउंछ तर आफ्नो दाइजोको रकमवाट खरिद गरेको भन्ने लिखतमा कही कतै उल्लेख भएको नपाइने र अन्य कुनै तथ्यवाट पुष्टी हुन सकेको पनि नदेखिने ।

§  मिति २०३७।९।१७ को लिखतमा निजी आर्जन भन्ने उल्लेख भएको र सो उपर वादीहरुको नालिस पर्न नआएको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो वहसका क्रममा व्यक्त गर्नु भएको छ । उक्त २०३७।९।१७ को लिखतको कैफियत महलमा निजी आर्जनको भनी उल्लेख गर्दैमा सो सम्पत्ति आफूखुश गर्न पाउने निजी आर्जनको सम्पत्ति रहेछ भनी स्वत : अनुमान गर्न नमिल्ने ।

§  मिति ०३७ सालको लिखत उपर वादीले नालेस उजुर नगरेको र उक्त कैफियत व्यहोरा वदर गराउन नसकेको भन्ने प्रश्नका सन्दर्भमा उक्त लिखत उपर दावी उजुर गर्नु नगर्नु वादीको स्वेच्छाको कुरा हो । एउटा संपत्ति पर दावी छाड्दैमा अन्य संपत्ति उपर दावी गर्न मिल्दैन भन्ने हुँदैन । यसका अतिरिक्त उक्त ०३७ सालको प्र.चक्र कुमारी आफैले गरी दिएको लिखतमा आफै निजी आर्जनको भनी प्रमाणित गर्न खोजेको देखिएको छ । आफ्नो कुरालाई आफैले भनेको कुराले प्रमाणित गर्दैन, अन्य तथ्य र स्वतन्त्र प्रमाणद्वारा पुष्टि गरिनु पर्दछ । प्रमाण कानूनको सिद्धान्त पनि यही हो । त्यसमा पनि अघिको तथ्यलाई पछि वनाइएको वा निर्माण गरिएको तथ्य प्रमाणले पुष्टि हुने पनि होइन । ०१४ सालको लिखतको संपत्तिलाई ०३७ सालको लिखतको व्यहोराले निजी आर्जन भनेर पुष्टि गरेको मान्न पनि नमिल्ने ।

§  मिसिल संलग्न अन्य कुनै पनि सवुद प्रमाणहरुले आफू खुश गर्न पाउने निजी आर्जनको एकलौटी सम्पत्ति हो भन्ने कुरालाई पुष्टयाई गर्न नसकिरहेको स्थितिमा २०२३ सालमा वण्डापत्र हुँदा २०१४ सालमा चक्रकुमारीले प्राप्त गरेको जग्गा वण्डा नलागेको वा अवण्डा रहेको नदेखिएको भन्ने आधारबाट मात्रै सो सम्पत्ति चक्र कुमारीको निजी तवरले आफूखुश गर्न पाउने सम्पत्ति रहेछ भनी अर्थ गर्न मिल्दैन र आमा छोराका वीच वण्डा नलाग्ने संपत्ति हो भन्न नसकिने ।

§  प्रतिवादीहरुले आफूखुश गर्न पाउने दाइजोबाट प्राप्त सम्पत्ति भनी जिकिर लिएको विवादित जग्गा २०१४।८।२१ मा चक्र कुमारीका नाउमा कायम हुन आएको र मुलुकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन हुनु पूर्व सगोलमा रहे भएको अवस्थामा आर्जन गरिएको संपत्ति वण्डा लाग्ने भन्ने तत्कालको अंश वण्डाको १८ नं. को कानूनी व्यवस्थाको आधारमा समेत विवादित संपत्ति निजी आर्जनको आफूखुश गर्न पाउने भनी अर्थ गर्न नमिल्ने ।

(प्र.नं. १७ देखि २०)

§  विवादित जग्गामा वादीहरुको समेत अंश हक लाग्ने भएको र लिखत पारित गरि दिंदा वादीहरुको समेत मंजुरी लिन पर्नेमा सो लिएको नदेखिएका भनी ७ भागको २ भाग लिखत वदर हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटन दुवैको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन नसकिई विवादित २०५०।११।८ को वकसपत्र लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग वदर हुने ठहर्‍याई नरम करम मिलाई दर्ता गरी वादीको हक कायम भै चलन समेत पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला सदर हुने गरी व्यक्त गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर  हुने ।

(प्र.नं.२२)

 

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री हरिशंकर निरौला श्री भैरवराज पन्त

विपक्षी वादी तर्फवाटःविद्वान अविधवक्ताहरु श्री प्रकाश वस्ती, श्री लक्ष्मीराज उप्रेती र श्री   पुस्करप्रसाद गजुरेल

अवलम्वित नजिरः

 

फैसला

      न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५४।२।१०।६ को फैसला उपर परेको पुनरावेदन संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत निमयावली २०४९ को नियम ३(.१) (क) अनुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर देहाय वमोजिम रहेको छ ।

२.    पिता चुत्रबहादुर रावलको २०५२।३।१२ मा कालगतिले मृत्यु भै माता चक्रकुमारी रावल १, निजको छोराहरु चन्द्रबहादुर रावल १, झलकबहादुर रावल १, निलबहादुर रावल १, वल्लभ हारि रावल १, रामप्रसाद रावल १, तुलसि रावल १ समेत ७ अंशियार भै हालसम्म हामी वीच अंशबण्डा नगरी सगोलमा बसि आएका छौ । हामी एकासगोलमा रहेको अवस्थामा हामीहरुको अंश हक लाग्ने का. जि. का. न. पा. वडा नं २४ को हाल २ कि नं १६५ को क्षेत्रफल १(११(२ मध्ये कि का गरी कायम कि नं ५२९ को ०(८(० जग्गा आमाले दाजु चन्द्रबहादुर रावललाई हाम्रो मंजुरी वेगर साक्षी नराखी २०३७।९।१७ मा र नं ४१३१ बाट राजिनामा गरी दिनु भएछ । बाँकि कि नं ५३० को १२ को घर जग्गा आमा चक्रकुमारी रावलको नाउमा नै रहेकोमा सो समेत आमालाई झुक्याई फकाई विपक्षीहरु तुलसी रावल तथा रामप्रसाद रावलले २०५०।११।८ मा र नं १७८३ वाट हा.ब गरी लिई हाम्रो हक मेटाएको हुँदा बिपक्षी चन्द्रबहादुर रावल र चक्रकुमारी रावलको मिति २०३७।९।१७ र नं ४१३१ बाट अंश भाग गै सकेकोले हामीहरु ५ अंशियारको सगोलको हक लाग्ने हामी फिरादिहरुको हक मेटाई लिएको लिखत र त्यसको अधारमा बिपक्षीहरुको नाउँमा भएको उक्त कि.नं ५३० को जग्गाको दक्षिण पश्चिम तर्फको ५ भागको २ भाग जति बदर गरी हक कायम गरी चलन समेत चलाई पाउ भन्ने समेतको संयुक्त फिराद पत्र ।

३.    हामी प्रतिवादीहरुले वृद्ध आमालाई झुक्याई ललाई फकाई हा.ब. गरी लिएको होईन। आमाको स्वेच्छाले नै सो जग्गा हाम्रो नाउँमा संयुक्त रुपमा गरी दिनु भएको हो । यसमा विपक्षीहरु समेतको हक जाने कुनै किसिमको काम कुरा हामीबाट नभएको हुँदा झुटा फिराद खारेज गरि न्याय पाउँ भन्ने समेत ब्यहोराको प्रतिबादी तुलसी रावल र रामप्रसाद रावलको संयुक्त प्रतिउत्तर पत्र ।

४.    मेरो आफनो दाइजोको सम्पत्ति सेवा टहल गरी रिझाए वापत खुशीराजीसग छोरा तुलसीप्रसाद र रामप्रसादलाई हा.ब. गरी दिएको हुँदा मैले गरी दिएको लिखत वदर नहुने हुँदा फिराद खारेज गरी इन्साफ पाउँ भन्ने समेतको प्रतिवादी चन्द्रकुमारी रावलको प्रतिउत्तरपत्र ।

५.    बादीहरुको हक लाग्ने घर जग्गा बकसपत्र गर्दा बादीहरुको मंजुरी समेत नहुदा उक्त विवादको लिखतको घर जग्गा ७ भागको २ भाग वदर भै नरमकरम मिलाई  दर्ता गरी वादीहरुको हक कायम समेत हुने तथा चलन समेत पाउने ठहर्छ भन्ने ब्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५२।१।१३ को फैसला ।

६.    मैले स्त्री अंशधनको १ र ५ नं बाट पा्रप्त रुपयाले खरिद गरी आफूखुश गर्न पाउने पूरा अधिकार भएको सम्पत्तिको सम्बन्धमा  भएको लिखत बदर हुने ठहरयाएको काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम न्याय पाउँ भन्ने ब्यहोराको चक्रकुमारी रावलको  पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

७.    आमा चक्रकुमारीको पूर्णाधिकार भएको कि.नं. ५३० को जग्गामा बिपक्षीहरुको कुनै अंश हक नलाग्ने हुँदा काठमाडौं जिल्ला अदालतबाट ७ भागको २ भाग बदर हुने भनी गरेको शुरु फैसला त्रुटीपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकिर बमोजिम न्याय पाउँ भन्ने ब्यहोराको तुलसी रावल र रामप्रसाद रावलको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

८.    कि.नं ५३० को घर जग्गा ५ भागको २ भाग वदर गरी हाम्रो हक कायम गराई पाउँ भनी माग गरेकोमा ७ भागको २ भाग वदर गरेकाले काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी फिराद दाबी बमोजिम ५ भागको २ भाग बदर गरी न्याय इन्साफ पाउँ भन्ने ब्यहोराको बादी झलकबहादुर रावल र बल्लभ हरि रावलको पुनरावेदन अदालत पाटनमा परेको  पुनरावेदन ।

९.    विवादको कि नं ५३० को घर जग्गामा बादीहरु समेतको हक लाग्ने र त्यस्तो सम्पत्ति बकसपत्र गर्दा यी वादीहरुको मन्जुरी समेत नभएको देखिदा उक्त मिति २०५०।११।८ को बकसपत्रको लिखतको जग्गा मध्ये ७ भागको २ भाग बदर हने ठहरयाई नरमकरम मिलाई दर्ता गरी वादीहरुको हक कायम समेत हुने ठहरयाई वादीहरुले चलन समेत पाउने ठहरयाएको काठमाडौं जिल्ला अदालतको फैसला मनासिबै देखिदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५४।२।१० को फैसला ।

१०.    विवादित कि नं ५३० को घर जग्गा आमा चक्रकुमारीको स्त्री अंशधनको ४ नं बमाजिम प्राप्त रकमबाट फार्छेपत्र राजिनामा गरी खरिदको ऐ. को ५ नं बमोजिम आमाले आफूखुशि गर्न पाउने सम्पत्ति भै आमाले हा.ब. गरी दिएको हुँदा बदर हुनु पर्ने होइन । सो सम्पत्ति पिता तथा काका बीच २०२३।११।५ मा अंशबण्डा पारित गर्दा बण्डा भएको छैन, सोबाट पैत्रिक नभै एकलौटी भएको पुष्टि हुन्छ । साबिक कि नं ५२९ बाट मिति २०३७।९।२७ मा दाजु चन्द्रबहादुरलाई राजिनामा लिखत पारित गरी दिदा सो उपर उजुर नगरेको तर सोहि जग्गाको बाँकि हामीलाई हा ब पारित गरी दिदा मन्जुरी नभएको भनी लिखत बदर गरी बिपक्षीको हक कायम गरेको फैसलामा ने.का.प. २०३९, पृष्ठ १ मा प्रकाशित नजिरको प्रतिकूल निर्णय भएको हुदाँ मुद्दा दोहोरयाई हेरी पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।

११.    चक्रकुमारीले नरबहादुर खत्रीबाट २०१४।८।२१ फार्छेपत्र गराई लिएको उक्त बिबादित जग्गा चक्रकुमारीका पति चुत्रबहादुर र देबर कृष्णबहादुर बीच बण्डापत्र पारित हुँदा बण्डापत्रमा समाबेश नगरेको र मिति २०३७।९।१७ मा समेत उक्त जग्गा मध्ये ०० जग्गा छोरा चन्द्रबहादुरलाई राजिनामा पारित गर्दा आफ्नै आर्जन भनी उल्लेख गरेको, लिखतमा लोग्ने चुत्रबहादुर साक्षी बसेको अवस्थामा स्त्री अंशधनको १ नं बमोजिम अफूखुश गर्न पाउनेमा सो वदर गर्ने ठहरयाएको शुरुको सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड(क) को कानूनको ब्याख्यात्मक त्रुटी बिद्यमान देखिदा दोहोरयाउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।   

      १२.   वादीको समेत अंश हक लाग्ने विवादित जग्गा भए उक्त चन्द्रवहादुरलाई गरी दिएको लिखतका सम्बन्धमा समेत नालिस उजूर गरी वदर गराउन सक्नु पर्नेमा सो तर्फ नालेश उजुर परेको अवस्था देखिंदैन । यस स्थितिमा विवादको जग्गा निज चक्रकुमारीको आर्जनको देखिन आई स्त्री अंश धनको १ नं. वमोजिम आफू खुश गर्न पाउने प्रकृतिको सम्पत्ति नै हो भनी मान्नुपर्ने हुन आएकाले विवादित घर जग्गा प्र.चक्रकुमारीले स्त्री अंशधनको १ नं. वमोजिम आफूखुश गर्न पाउने सम्पत्ति भएको देखिंदा वादी दावी पुग्न नसक्नेमा सो लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग लिखत वदर गरी वादीहरुको दर्ता हक कायम हुने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला र सो लाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा उक्त दुवै फैसला वदर भै उल्टी हुने ठहर्छ । मिति २०५०।११।८ को लिखत वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । वादी दावी वमोजिम ७ भागको २ भाग लिखत वदर गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला र सो लाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने गरेको सहयोगी माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय संग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।

      १३.   प्र.चक्रकुमारीले मिति २०१४।८।२१ मा प्राप्त गरेको फार्छे राजिनामाको लिखत वमोजिमको सम्पत्ति निजले अन्य प्रतिवादीहरुसंग सगोलमै रहंदा राजिनामावाट प्राप्त गरेको तथा उक्त राजिनामाको लिखत मुलुकी ऐन सातौं संशोधन मिति २०३४।९।२७ मा हुनु पूर्व भएको देखिंदा तत्कालीन कानून अंश वण्डाको १८ नं. ले मानो नछुट्टिई संग वसेका अंशीयार छन भने अंशियारहरुले कमाएको धन र लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने व्यवस्था भएवाट सगोलको अंशीयारले आर्जेको सम्पत्तिमा अरु अंशियारको समेत भाग लाग्ने देखिने हुँदा विवादित घर जग्गामा पनि यि वादीको अंश हक भै वण्डा लाग्ने नै देखिन आएकाले विवादित कि.नं. ५३० सम्पत्ति प्रतिवादी चक्रकुमारीले स्त्रि अंशधनको महल अन्तर्गत आफूखुसी गर्न पाउने एकलौटी नभै एकै अंशियारको अंश हक लाग्ने देखिंदा त्यस्तो सम्पत्ति बकसपत्रको लिखत गरी दिंदा यि वादीहरु साक्षी नबसेको तथा मंन्जुरीको लिखत समेत गरेको नदेखिंदा उक्त मिति २०५०।११।८ को वकसपत्र लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग वदर हुने ठहर्‍याई नरमकरम मिलाई दर्ता गरी वादीको हक कायम भै चलन समेत पाउने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला वदर गरी वादी दावी नपुग्ने ठहर गरेको सहयोगी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश मीनवहादुर रायमाझीको राय ।

      १४.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिवक्ताद्वय श्री हरिशंकर निरौला र भैरव राज पन्तले विवादित सम्पत्ति चक्रकुमारीले स्त्री अंश धनको १ नं. वमोजिम आफू खुसी गर्न पाउने सम्पत्ति हो । २०१४ सालमा दाइजोको सम्पत्तिवाट खरिद गरेकाले पैतृक सम्पत्ति भन्न मिल्दैन । २०२३ सालको वण्डापत्रमा समेत विवादित सम्पत्ति वण्डा नभएको र अवण्डा नै रहेको भन्ने पनि नदेखिएवाट चक्रकुमारीको एकलौटी हकको हो भन्ने पुष्टी हुन आउछ । चक्रकुमारीले मिति २०३७।९।१७ मा चन्द्रवहादुर रावललाई गरिदिएको राजिनामाको लिखत उपर वादीको उजुर परेको छैन । उक्त लिखतको कैफियतको महलमा आफ्नो आर्जनको भन्ने उल्लेख भएको र आफूले आर्जेको सम्पत्तिमा मंजुरी लिन नपर्ने हुंदा ७ भागको २ भाग लिखत वदर गरी वादीको दर्ता हक कायम हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको माननीय न्यायाधीश हरिश्चन्द«प्रसाद उपाध्यायको राय सदर हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

      १५.   यसै गरी प्रत्यर्थी वादी झलकवहादुर रावलको तर्फवाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले २०१४ सालको राजिनामा लिखतवाट विवादित जग्गा चक्रकुमारीको दाइजो पेवाको हो भन्ने देखिंदैन । २०३७ सालको लिखत उपर नालीश नगर्दैमा २०५० सालको लिखत उपर फिराद नै गर्न नपाउने भन्न पनि मिल्दैन भनी र अर्का प्रत्यर्थी वादी वल्लभ हरि रावलको तर्फवाट विद्वान अधिवक्ता द्वय श्री लक्ष्मीराज उप्रेती र पुष्करप्रसाद गजुरेलले २०१४ सालको राजिनामाको हकको श्रोत प्रतिवादीले देखाउन सक्नु भएको छैन । २०५० सालको लिखतमा आफ्नो आर्जन भन्ने उल्लेख नभएको तथा निजी आर्जनको हुन लिखत र व्यवहारवाट समेत पुष्टि हुनुपर्नेमा सो समेत हुन सकेको नदेखिंदा ७ भागको २ भाग लिखत वदर हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

      १६.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा हामीहरुको अंश हक लाग्ने कि.नं.१६५ कित्ताकाट भै कायम हुन आएको कि.नं. ५३० को क्षेत्रफल १२ घर जग्गा आमा चक्रकुमारी दिने र बिपक्षीहरु तुलसी रावल तथा रामप्रसाद रावल लिने गरी मिति  २०५०।११।८ मा हालैको बकसपत्रको लिखत गरेकाले चन्द्रवहादुर रावल र चक्रकुमारी रावलको अंश भाग मिति २०३७।९।१७ को लिखतवाट गईसकेको हुंदा ५ भागको २ भाग लिखत वदर गरी हक कायम गरी चलन समेत चलाई पाउ भन्ने फिराद माग दावी र आफ्नो दाइजोको सम्पत्ति सेवा टहल गरी रिझाए वापत छोरा तुलसीप्रसाद र रामप्रसादलाई हालैको वकसत्रप गरी दिएको हुंदा लिखत वदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेकोमा विवादको लिखतको घर जग्गा ७ भागको २ भाग वदर हुने ठहर गरेको काठमाडौं जिल्ला अदालतको फैसला उपर वादी प्रतिवादी दुवैको पुनरावेदनपरि पुनरावेदन अदालत पाटनबाट काठमाडौं जिल्ला अदालतको फैसला सदर नै ठहरी फैसला भएको देखिन्छ । सो पश्चात उक्त पुनरावेदन अदालत पाटनको फैसला दोहोर्‍याई हेरी पाउ भनी प्रतिवादीको निवेदन परी यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) खण्ड (क) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुंदा संयुक्त इजलासमा माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएकोमा निम्न वमोजिमको प्रश्नहरुमा निर्णय गर्नु पर्ने देखिन आएको छ ।

१.     ०१४।८।२१ मा राजीनामावाट प्राप्त गरेको संपत्ति दाइजो वा निजी आर्जन हुन सक्छ, सक्दैन ?

२.    आफूले हक छाडी लिखत गरी दिंदा निजी आर्जन भनी उल्लेख गर्दैमा अघि            राजिनामावाट प्राप्त संपत्ति निजी आर्जन हुने हो, होइन ?

            ३.    अंशियार वावु र काकाका वीच वण्डा हुँदा वण्डामा नपरेको आमाको नामको                  राजीनामावाट प्राप्त संपत्तिमा छोराहरुको अंश हक लाग्ने हो, होइन ?

४.    वादी दावी वमोजिम लिखत वदर हुने हो, होइन ?

      १७.   उपरोक्त वमोजिम मिसिलको अध्ययन गरी उल्लिखित प्रश्नहरुको संवन्धमा विचार गर्नुपर्ने भएको छ । प्रस्तुत मुद्दाको तथ्यगत स्थितिको अवलोकन गर्दा चक्रकुमारी दिने र तुलसी रावल तथा रामप्रसाद रावल लिने भई मिति २०५०।११।८ मा हालैको वकसपत्र गरी लिनु दिनु गरेको वादी दावीको कि.नं. ५३० को क्षेत्रफल  १२ जग्गा साविकको कि.नं. १६५ वाट कित्ताकाट भई कायम हुन आएको देखिन्छ । साविकको उल्लेखित कि.नं. १६५ को जग्गालाई चक्रकुमारीले २०१४ सालमा नरवहादुर खत्रीवाट फार्छेपत्र पारित गरी लिएको देखिन्छ । उक्त लिखत गराई लिएको जग्गा दाइजोवाट प्राप्त निजी आर्जन भनी प्रतिवादीहरुले जिकिर लिएकोमा उक्त २०१४ सालको पारित फार्छे पत्र हेर्दा सो कि.नं. १६५ को जग्गा चक्रकुमारीलाई दाइजो स्वरुप प्राप्त भएको भन्ने कुरा खुल्न आउदैन र निजको निजी आर्जनको भन्ने पनि उल्लेख भएको देखिंदैन । चक्रकुमारीले रु. ७१५०।मा खरिद गरी लिएको भन्ने तथ्य लिखतवाट खुल्न आउंछ तर आफ्नो दाइजोको रकमवाट खरिद गरेको भन्ने लिखतमा कही कतै उल्लेख भएको पाईदैन र अन्य कुनै तथ्यवाट पुष्टी हुन सकेको पनि देखिंदैन ।

      १८.   प्रतिवादीको जिकिर वमोजिम २०१४ सालमा चक्रकुमारीले दाइजोको रकमवाट प्राप्त गरेको भनिएको साविक कि.नं. १६५ को जग्गा मध्येवाट कित्ताकाट हुन गएको कि.नं. ५२९ को जग्गा मिति २०३७।९।१७ मा निजै चक्रकुमारीले आफ्नो छोरा चन्द्रवहादुर रावललाई राजीनामा पारित गरी दिएको देखिन्छ । सो पारित राजीनामाको कैफियत महलमा भने उल्लेखित जग्गा चक्रकुमारीको निजी आर्जनको भन्ने उल्लेख भएको पाइयो । उक्त मिति २०३७।९।१७ को लिखतमा निजी आर्जन भन्ने उल्लेख भएको र सो उपर वादीहरुको नालिस पर्न नआएको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो वहसका क्रममा व्यक्त गर्नु भएको छ । उक्त २०३७।९।१७ को लिखतको कैफियत महलमा निजी आर्जनको भनी उल्लेख गर्दैमा सो सम्पत्ति आफूखुश गर्न पाउने निजी आर्जनको सम्पत्ति रहेछ भनी स्वत : अनुमान गर्न मिल्दैन । किन कि कुनै पनि अचल संपत्ति निजी आर्जनको आफूखुश गर्न पाउने संपत्ति हो भन्ने कुरा छुट्याउने पहिलो आधार प्रमाण संवन्धित लिखतमा उल्लेखित व्यहोरा नै हुन आउंछ । स्वयं प्र.चक्रकुमारीले प्राप्त गरेको ०१४ सालको लिखतको व्यहोराले नै विवादित संपत्ति निजी आर्जनको आफूखुश गर्न पाउने संपत्ति हो भन्ने प्रतिवादीहरुको जिकिरलाई पुष्टि गर्न नसकिरहेको स्थिति छ । त्यसमा पनि प्र.चक्रकुमारीले आफ्नो दाइजोको संपत्ति भनी प्रतिवाद गरेको पाइन्छ भने ०३७ सालको लिखतमा निजी आर्जनको भन्ने उल्लेख भएको पाइन्छ । दाइजो र निजी आर्जन भन्ने कुरा भिन्ना भिन्नै प्रकृतिका कुरा हुन् । दाइजो प्राप्त गरिने कुरा हो आफूले आर्जन गरिने कुरा होइन । आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेकोलाई निजी आर्जन र दान, वक्स, दाइजोबाट प्राप्त संपत्ति आफूखुशी गर्न पाउने निजी ठहर्ने हुन्छ । अंशवण्डाको १८ नं. ले परिभाषित गरेको स्थिति यस्तै देखिन आउँछ । त्यसैले प्रतिवादीको जिकिर र तथ्य स्वयंमा विरोधाभाषपूर्ण देखिन आउँछ । जहाँसम्म उक्त ०३७ सालको लिखत उपर वादीले नालेस उजुर नगरेको र उक्त कैफियत व्यहोरा वदर गराउन नसकेको भन्ने प्रश्न छ ? उक्त लिखत उपर दावी उजुर गर्नु नगर्नु वादीको स्वेच्छाको कुरा हो । एउटा संपत्ति पर दावी छाड्दैमा अन्य संपत्ति उपर दावी गर्न मिल्दैन भन्ने हुँदैन । यसका अतिरिक्त उक्त ०३७ सालको प्र.चक्रकुमारी आफैले गरी दिएको लिखतमा आफै निजी आर्जनको भनी प्रमाणित गर्न खोजेको देखिएको छ । आफ्नो कुरालाई आफैले भनेको कुराले प्रमाणित गर्दैन, अन्य तथ्य र स्वतन्त्र प्रमाणद्वारा पुष्टि गरिनु पर्दछ । प्रमाण कानूनको सिद्धान्त पनि यही हो । त्यसमा पनि अघिको तथ्यलाई पछि वनाइएको वा निर्माण गरिएको तथ्य प्रमाणले पुष्टि हुने पनि होइन । ०१४ सालको लिखतको संपत्तिलाई ०३७ सालको लिखतको व्यहोराले निजी आर्जन भनेर पुष्टि गरेको मान्न पनि मिल्दैन ।

      १९.    अब २०२३ सालको वण्डापत्रमा वादी दावीको जग्गा सवैको अंश हक लाग्ने अवण्डा रहेको भनी उल्लेख भएको छैन भन्ने प्रतिवादी जिकिरतर्फ विचार गर्दा उक्त वण्डापत्र यि वादी प्रतिवादीहरुका वीचमा नभई वादी प्रतिवादीका पिता तथा पति चुत्रवहादुर र निजको भाई कृष्णवहादुरका विचमा भएको देखिन्छ ।  प्रस्तुत मुद्दा उक्त वण्डापत्रका पक्षहरुको विचको विवाद नभई चुत्रवहादुरको श्रीमती चक्रकुमारी र निजका छोराहरु अर्थात आमा र छोराहरु वीच अंश हक लाग्ने संपत्तिलाई लिएर पारित लिखत सम्बन्धमा परेको छ । मिसिल संलग्न अन्य कुनै पनि सवुद प्रमाणहरुले आफू खुश गर्न पाउने निजी आर्जनको एकलौटी सम्पत्ति हो भन्ने कुरालाई पुष्टयाई गर्न नसकिरहेको स्थितिमा २०२३ सालमा वण्डापत्र हुँदा २०१४ सालमा चक्रकुमारीले प्राप्त गरेको जग्गा वण्डा नलागेको वा अवण्डा रहेको नदेखिएको भन्ने आधारबाट मात्रै सो सम्पत्ति चक्रकुमारीको निजी तवरले आफूखुश गर्न पाउने सम्पत्ति रहेछ भनी अर्थ गर्न मिल्दैन र आमा छोराका वीच वण्डा नलाग्ने संपत्ति हो भन्न सकिंदैन ।

      २०.   यसका अतिरिक्त प्रतिवादीहरुले आफुखुश गर्न पाउने दाइजोबाट प्राप्त सम्पत्ति भनी जिकिर लिएको विवादित जग्गा २०१४।८।२१ मा चक्रकुमारीका नाउमा कायम हुन आएको देखिन्छ। मुलुकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन हुनु पूर्व सगोलमा रहे भएको अवस्थामा आर्जन गरिएको संपत्ति वण्डा लाग्ने भन्ने तत्कालको अंश वण्डाको १८ नं. को कानूनी व्यवस्थाको आधारमा समेत विवादित संपत्ति निजी आर्जनको आफूखुश गर्न पाउने भनी अर्थ गर्न मिल्ने देखिंदैन । प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले बहसको क्रममा मिनवहादुर वस्नेत विरुद्ध वेदकुमारी वस्नेत समेत भएको २०५४ सालको दे.पु.ई.नं. १२६ को वकसपत्र वदर मुद्दामा यस अदालत पूर्ण इजलासवाट मिति २०५८।५।१४ मा प्रतिपादित सिद्धान्त ( ने.का.प. २०५९ अंक ५।६ नि.नं. ७०८७) लाई आफ्नो जिकिरको पुष्ट्याई हुने आधारको रुपमा पेश गर्नु भएको पाइन्छ। सो मुद्दामा फिरादी वेदकुमारी वस्नेत समेतले हामीहरुको अंश हक लाग्ने कि.नं. ३५५ र कि.नं. ३८६ को जग्गा हाम्रो मन्जूरी वेगर दाजुले भाईलाई रिझाएको भन्ने झुठ्ठा व्यहोरा उल्लेख गरी लोग्ने तथा वावु तेजवहादुर वस्नेतले जेठाजु तथा ठूला वावु मिनवहादुर वस्नेतलाई मिति २०४५।३।६ मा हालैको वकसपत्र गरी दिएकाले सो लिखत मध्ये हाम्रो भाग जति वदर गरी पाउं भनी फिराद गरेकोमा मैले रुपैयाँ दिई साविक जग्गाधनी यज्ञप्रसाद गौत्तमवाट भाई तेजवहादुरले मिति २०४१।२।२९ मा खरिद गरि लिएको जग्गा नै भाईले मलाई वकसपत्र गरिदिएका हुन भन्ने मिनवहादुर वस्नेतको प्रतिउत्तर जिकिर भई यस अदालत पूर्ण इजलासवाट तेजवहादुरले खरिद गरी लिएको जग्गाको हकको श्रोत यज्ञप्रसाद गौतमवाट गरि लिएको राजीनामा भएवाट अंशवण्डाको महलको १९ नं. को देहाय २ ले व्यवस्था गरेको आफ्ना पालामा आर्जेको आफूखुश गर्न पाउने सम्पत्ति रहे भएकोले मिनवहादुर वस्नेतलाई वकसपत्र गरिदिंदा वादीहरुको मंजुरी लिइरहनु नपर्ने, लिखत सदर नै हुने भनी फैसला भएको देखियो । तर प्रस्तुत मुद्दामा विवादित जग्गा २०१४ सालको पारित फार्छे पत्र वमोजिम चक्रकुमारीको नाउमा कायम हुन आएको देखिंदा सो दे.पु.इ.नं. १२६ को वकसपत्र वदर मुद्दामा भएको बिषयवस्तु र प्रस्तुत मुद्दामा भएको बिषयवस्तु अलग अलग देखिन आएकाले सो प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति पनि रहेन ।

      २१.   यस सन्दर्भमा ललितमान तामाङ्ग समेत विरुद्ध चित्रवहादुर अधिकारी समेत भएको लिखत वदर मुद्दामा यस अदालत पूर्ण इजलासवाट मिति २०४८।१२।११।५ मा  ‘‘  लिखत प्रमाण वेगर कुनै सम्पत्ति प्रतिवादीको भनाइकै भरमा निजि आर्जनको भनी ठहर गर्न नमिल्ने ‘‘ (ने.का.प. २०४८, नि.नं. ४४३७) भन्ने सिद्धान्त प्रतिपादित भै आएको परिप्रेक्ष्यमा उक्त प्रतिपादित सिद्धान्त आकर्षित हुने भई प्रमाणको अभावमा विवादित जग्गा चक्रकुमारीको निजी आर्जनको आफूखुश गर्न पाउने स्थितिको देखिन आएन ।

      २२.   यसप्रकार उल्लेख भए वमोजिम विवादित जग्गामा वादीहरुको समेत अंश हक लाग्ने भएको र लिखत पारित गरि दिंदा वादीहरुको समेत मंजुरी लिन पर्नेमा सो लिएको नदेखिएका भनी ७ भागको २ भाग लिखत वदर हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटन दुवैको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन सकिएन । विवादित २०५०।११।८ को  वकसपत्र  लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग वदर हुने ठहर्‍याई नरम करम मिलाई दर्ता गरी वादीको हक कायम भै चलन समेत पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला सदर हुने गरी व्यक्त गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाईदिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.दिलीपकुमार पौडेल

न्या.वलिरामकुमार

 

इति सम्बत् २०६० साल पौष २४ गते रोज ५ शुभम् ………।