निर्णय नं. ७२६५ – अंश चलन
निर्णय नं.७२६५ ने.का.प. २०६० अङ्क ९.१० पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत्...
निर्णय नं.७२६५ ने.का.प. २०६० अङ्क ९.१०
पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्बत् २०५९ सालको दे.पू.इ.नं. …४५
फैसला मितिः २०६०।९।१७।५
मुद्दा :– अंश चलन ।
पुनरावेदक
प्रतिवादीः ल.पु.जि.ल.पु.उप.म.न.पा.वडा नं. २० पूर्णचण्डी वस्ने नरेन्द्र गोविन्द मुल्मी
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. वस्ने कृष्ण मुल्मी
प्रत्यर्थी
प्रतिवादीः जयगोविन्द मुल्मी समेत
§ मानो छुट्टिएको वा जोडीएको कुराको लिखत पारित नै हुनुपर्ने रजिष्ट्रेशनको १ नं. को व्यवस्थालाई अंशवण्डाको ३० नं. ले अन्यथा गरेको भन्न नसकिने ।
§ अंशवण्डाको लिखत पारित हुनुपर्ने प्रचलित कानूनी व्यवस्थाको अपवाद स्वरुप अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणलाई मान्यता दिएको हदसम्म सो ३० न. को सीमीत वा नियन्त्रित व्याख्या सम्म हुन सक्ने ।
§ वकसपत्रको जग्गा नामसारी गर्ने क्रममा प्रतिवादी नरेन्द्र गोविन्दका सौतेनी आमा र सौतेनी भाईहरुले निजको नाउँमा नामसारी भएमा मन्जुरी छ भनी मालपोत कार्यालयमा लेखिदिएकै कारणले आफ्नो हक नै परित्याग गरिदिएको भन्न समेत नमिल्ने ।
§ धेरैजना अंशियार मध्ये कुनै एकको नाउँमा कुनै सम्पत्ति नामसारी भएमा मन्जूरी छ भनी लिखत गरि दिंदैमा आफ्नो हक नै हस्तान्तरण हुने नभै दर्ता श्रेस्तामा कुन अंशियारको नाउँमा सम्पत्ति राख्नेसम्म कुराको सगोलको अंशियारहरुको मन्जूरी रहेको सम्म सो मन्जूरीनामावाट प्रमाणित हुन आउने र त्यति कुरा भन्दा वढी त्यसरी मन्जूर हुने अंशियारहरुले आफ्नो अंश छोडेको अथवा नामसारी गराई लिनेको एकलौटी हक हुने भनी मन्जूरी गरिदिएको भन्न नमिल्ने ।
§ अंशियारहरुले परस्परमा कुनै एक अंशियारलाई एकलौटी हकको भनी नामसारी गर्न मन्जूरी दिंदा त्यस्तो मन्जूरी दिएको अभिप्राय सो लिखतवाट नै स्पष्ट हुनुपर्ने र अभिप्राय स्पष्ट नरहेको अवस्थामा नामसारीको मन्जूरीको लिखतवाट सो अभिप्राय रहेको अनुमान गर्न मिल्ने समेत नदेखिने ।
§ प्रतिवादी नरेन्द गोविन्दले अंशवण्डाको महलको १८ नं. मा २०३४ सालमा संशोधन हुनुपूर्व शेषपछिको वकसपत्र प्राप्त गरी नामसारी गराई लिएको वादी प्रतिवादीका माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्द तर्फको सम्पत्ति समेत वण्डा लाग्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश.श्री मीनवहादुर रायमाझीको राय सदर हुने ।
(प्र.नं.१९ र २०)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल र भोजबहादुर खत्री
प्रत्यर्थी वादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र अधिवक्ता श्री पन्नामान तुलाधर
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का
अवलम्वित नजिरः
फैसला
प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति ०५४।११।१८ को फैसला उपर परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ : –
२. स्व.पिता धर्म गोविन्द मुल्मीको ४ जना श्रीमतीहरुमा जेठी र साहिली धेरै अधि नै परलोक भई सकेको र जेठी श्रीमती तर्फ छोरा छोरी समेत कुनै जायजन्म नभएको, साहिली श्रीमती तर्फ एक मात्र छोरी रुकमिनीको जायजन्म भएकोमा निजको विवाह भै सकेको, साहिली श्रीमती स्वर्गिय मिश्री मुल्मी तर्फवाट विपक्षी मध्येका नरेन्द्र गोविन्दको जायजन्म भएको र कान्छी श्रीमती विपक्षी मध्येकी कृष्णकुमारी मुल्मी हुन । निजको तर्फवाट विपक्षी मध्येको जेठा जय गोविन्द मुल्मी –१ माहिला जय कृष्ण मुल्मी –१ र कान्छा म फिरादी कृष्ण मुल्मी –१ तथा दिदी रजिना मुल्मी –१ को जायजन्म भएकोमा म फिरादी तथा विपक्षीहरु एकासगोलमा वसिआएका छौ । हामीहरु विच अंशवण्डा भएको छैन । विपक्षीहरुलाई मेरो अंश भाग छुटयाई दिनुहोस भन्दा वेवास्ता गरेकोले फिराद परेको अधिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विवाह गर्न वाकी रहेको दिदी रजिना मुल्मीलाई विवाह खर्च परसारी वण्डा गर्नु पर्ने सवै श्री सम्पत्तिको तायदाती फाँटवारी विपक्षीहरुवाट लिई सम्पूर्ण श्री सम्पत्ति ५ भाग लगाई मेरो १ भाग अडडैवाट वण्डा गरी छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावी झुठ्ठा हो । पिता धर्म गोविन्दको अंशवण्डा गर्नु पर्ने श्री सम्पत्ति वादी र वादीका दाजु आमाले चलन गरी आउनु भएको छ । मैले सगोलको सम्पत्ति कुनै भोगचलन गरेको छैन । सगोलको अंशवण्डा गर्नु पर्ने सम्पत्ति अंशवण्डा भएमा मलाई कुनै आपती छैन । मैले हिसाव शान्ती ५ भागको १ भाग पाउने हो । महिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्दको अंश भागको सम्पत्ति २०१६।४।४।१ को शेष पछिको वकसपत्रवाट मैले पाएको छु । मेरो एकलौटी हक आर्जनको सम्पत्ति हो । फिरादी समेतलाई अंश भाग वण्डा गर्नु पर्ने सम्पत्ति होइन । मेरो हकमा मानो छुट्टिएको मिति कायम गर्दा माहिलो वाजेको भाग छुटयाई दर्ता गरेको मिति २०२१।११।२० लाई नै मानो छुट्टिएको मिति कायम गरी अंशवण्डा हुनु पर्ने हो । वादी दावी अनुसार होइन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको प्रतिउत्तर पत्र ।
४. हाम्रा पति पिता धर्म गोविन्दका वादी कृष्ण मुल्मी छोरा हुन् । विपक्षी वादी र हामी प्रतिवादीहरु सवै पति पिता छउन्जेल पति पिताले सवै व्यवहार गर्दै आउनु भएको र पति पिताको मृत्यु पश्चात नरेन्द्र गोविन्द घरको मुख्य भै एकासगोलमै वसि आएका छौ । विपक्षी वादीलाई अंशवाट हामीले वन्चित गर्न खोजेको होइनौ । अंश दिन हाम्रो मन्जुरी भएकै हुँदा वादी लगायत सवैको अंशभाग वण्डा छुट्याई दिएमा हाम्रो मन्जुरी छ भन्ने समेत व्यहोराको प्रतिवादी जय गोविन्द मुल्मी, जय कृष्ण मुल्मी र कृष्णकुमारी मुल्मी समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र ।
५. जग्गा दर्ताको कार्यवाही हुँदा यस मुद्दाका वादी समेतले यस मुद्दाका प्रतिवादीको आधा हक भनि संयुक्त दरखास्त दिई स्वीकार गरेका जग्गा वाहेक पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको घर जग्गावाट दावा अनुसार अंश भाग छुटयाई लिन पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको मिति २०५२।९।२१ को फैसला ।
६. ल.पु.जि.अ.वाट वाजे श्री गोविन्द भन्ने शिव गोविन्द वाट प्राप्त भएको शेष पछिको वकसपत्रको श्री सम्पत्तिलाई वण्डा लाग्ने ठहराई मिति २०५२।९।२१ मा भएको निर्णय वदर गरी पुनरावेदन जिकिर वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
७. ल.पु.जि.अ ले वण्डा नलाग्ने गरी वाहेक गरेको ३ कित्ता जग्गा समेत सम्पूर्ण श्री सम्पत्ति समेत सवै अंशियारहरुमा अंशवण्डा हुनु पर्ने हो । हाम्रो समेत अंशवण्डा छुटयाई न्याय इन्साफ होस भन्ने समेत व्यहोराको प्रतिवादी जय कृष्ण मुल्मी समेतको पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
८. तायदातीमा उल्लेख भै आएको ३ कित्ता जग्गा पनि वण्डा हुनु पर्नेमा सो ३ कित्ता जग्गा वण्डा नहुने गरी भएको ल.पु.जि.अ .को मिति २०५२।९।२१ को फैसला त्रुटीपूर्ण हुदा वदर गरी फिराद दावी वमोजिम न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी कृष्ण मुल्मीको पुनरावेदन जिकिर ।
९. २०१६ सालमा माहिला वाजे शिव गोविन्द वाट प्राप्त सम्पत्ति वण्डा नहुने हो कि भन्नलाई तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं ले वकस पाएको सम्पत्ति पनि वण्डा गर्नु पर्ने मनसाय रहेको पाइन्छ भन्ने ने.का.प. ०४१ अंक ११ पेज १०१३ मा प्रतिपादित सिद्धान्त समेतवाट पनि वकस पाएका सम्पत्ति वण्डा हुने भन्ने कुरा नै देखिन आएवाट जग्गा दर्ताको कार्यवाही हुँदा यस मुद्दाको प्रतिवादीको आधा हक भनि संयुक्त दरखास्त दिई स्वीकार गरेको जग्गा वाहेक पेश भएको दायदाती फाँटवारी वमोजिम अंश छुटयाई लिन पाउने भनी गरेको साना गाउँको ४७,१९८ र २४७ को जग्गा मध्ये शे.व. अनुसारको आधा जग्गाको सम्म वण्डा नलगाउने गरी भएको शुरु ललितपुर जिल्ला अदालतको मिति २०५२।९।२१ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ । कि.न ४७,१९८ र २४७ को जग्गा समेत दावी वमोजिम वण्डा पाउने ठहर्छ । पुनरावेदक (प्रतिवादी) नरेन्द्र गोविन्दको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।११।१८ को फैसला ।
१०. म पुनरावेदक सानै उमेर देखि अलग वसेको, माहिला वाजे शिव गोविन्दवाट पाएको सम्पत्ति एकलौटी हक भोगको वण्डा गर्नु नपर्ने हो भनि जिकिर लिएको हुँ । उक्त जिकिरको वारेमा पुनरावेदन अदालतवाट ठहर भएको छैन । अतः अ.व. १८४ क, १८५ र १८९ नं तथा प्रमाण ऐन, ०३१ को दफा ३ र ५४ समेतको प्रत्यक्षत त्रुटी भएको छ । ०२१ सालमा नै श्री गोविन्दको हक खाने भन्ने कुरा उल्लेख गरी नामसारी दर्ता भएको कुरालाई पिता स्वयमले स्वीकार गरेकोमा ०१६ सालको शे.व. वमोजिम पाएको सम्पत्ति वण्डा हुन सक्दैन । म पुनरावेदक र विपक्षी भाईहरु गुठीको वेग्ला वेग्लै सदस्य भएको, घरको ल्वक नं समेत भिन्नै भएको, छुट्टाछुटैृ कर प्रमाणपत्र भई अलग अलग कर तिरी आएको समेत हुँदा वण्डा नभए पनि मानो छुट्टिई अलग वसेको पुष्टि हुन्छ । अंशवण्डाको ३० नं वमोजिम प्रमाणित हुने व्यवहारहरु यथेष्ठ छन् । तसर्थ पु.वे.अ.पाटनको फैसला त्रुटीपूर्ण भएकोले वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको नरेन्द्र गोविन्द मुल्मीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. जग्गा दर्ताको कारवाही हुँदा वादी समेतले प्रतिवादीको आधा हक भनी संयुक्त दरखास्त दिई स्वीकार गरेको जग्गा समेत पुरै वण्डा हुने ठहर्याएको पु.वे.अ.पाटनको फैसला फरक पर्ने देखिदा अ.व. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५८।८।१५ को आदेश ।
१२. भतिजा नरेन्द्र गोविन्द मुल्मीलाई वालक कालदेखि पालन पोषण गरी आफैसंग राखी २०१६।४।४ मा श्री गोविन्द भन्ने शिव गोविन्दले आफ्नो अंश हकको श्री सम्पत्ति शेषपछिको वकसपत्र गरिदिएको निजको इच्छा बमोजिम नरेन्द्र गोविन्दले नै एकलौटी रुपमा पाउँने हुंदा त्यसमा वादी कृष्ण मुल्मी समेतको अंश हक लाग्न सक्दैन । तसर्थ उक्त सम्पत्ति समेत अंशवण्डा गरिदिने ठहराएको शुरु जि.अ. एवं पु.वे.अ. पाटनको निर्णय त्रुटीपूर्ण देखिंदा उल्टी हुने ठहर्छ । वादी कृष्ण मुल्मीले वावु धर्म गोविन्दको हक सम्पत्तिवाट वादीले अंश पाउने ठहर्याएको सम्म पु.वे.अ. को इन्साफ सदर हुन्छ । प्रतिवादीले पाएको शेषपछिको वकसपत्रको सम्पत्ति समेतवाट वादीले अंश पाउने ठहर्याएको पु.वे.अ. को इन्साफ मनासीब ठहर्याएको मा.न्या. श्री मीनवहादुर रायमाझीको रायसंग सहमत नहुंदा निर्णयका लागि सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय ।
१३. साविक दर्ता भिडाई जग्गा दर्ता गर्नुपर्ने कानूनी व्यवस्थाको परिप्रेक्षमा जग्गा दर्ता गराउने क्रममा व्यक्त गरिएको कुराहरु प्रस्तुत विवादको निरुपणको आधार हुन सक्ने अवस्था नहुंदा वादी दावी वमोजिम वादी प्रतिवादीसंग रहेको चल– अचल सम्पत्ति वण्डा हुने ठहर्याएको पुनरावेदन अदालतको इन्साफ मनासीव ठहर्छ । वकसपत्रवाट प्राप्त सम्पत्ति वण्डा नहुने भनी गरेको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको रायसंग सहमत नहुंदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) अनुसार निर्णयका लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५९।४।३१ को फैसला ।
१४. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको तर्फवाट विद्वान अधिवक्ता द्वय श्री हरिहर दाहाल र भोजवहादुर खत्रीले श्री गोविन्द भन्ने शिव गोविन्द निःसन्तान भएको कारणवाट नरेन्द्र गोविन्दलाई आफ्नो घरमा लगी राखी नरेन्द्र गोविन्दले निजको हेरचाह पालनपोषण गरे वापत आफ्ना नाउँको सम्पत्ति २०१६।४।४ मा शेषपछिको वकसपत्र गरिदिएको हो । शिव गोविन्दको २०२० सालमा मृत्यु भएपछि क्रियाशील भएको सो शेषपछिको वकसपत्र वमोजिमको सम्पूर्ण सम्पत्ति ०२१।११।२० मा नरेन्द्र गोविन्दका नाउंमा एकलौटी नामसारी भएको हो । सो शेषपछिको वकसपत्रको व्यहोरावाट नरेन्द्र गोविन्द मुल्मी आफ्ना पिता धर्म गोविन्दका साथमा नरही माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्दका साथमा रही वसी ०२१।११।२० मा निज शिव गोविन्दका नाउंको सम्पत्ति समेत आफ्ना नाउमा नामसारी गराई लिएको मितिवाट मानो चामल अलग गरी बसेको हुंदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको समेत मिलेको छैन । शिव गोविन्दको नाउको सम्पत्ति नरेन्द्र गोविन्दले नाउसारी गराएको हुंदा समेत नरेन्द्र गोविन्द व्यवहारवाट पहिले नै मानो छुट्टिई वसेका व्यक्ति हुन् । मानो छुट्टिएको मिति ०२१।११।२० अघि शेष पछिको वकसपत्रवाट प्राप्त गरेको सम्पत्ति वण्डा लाग्न नसक्ने व्यवस्था तत्काल प्रचलित अंशवण्डाको महलको १८ नं. समेतले गरेको हुंदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी नरेन्द्र गोविन्द मुल्मीले शेष पछिको वकसपत्रवाट प्राप्त गरेको सम्पत्ति समेत वण्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय नमिलेको हुंदा सो सम्पत्ति वण्डा नलाग्ने राय व्यक्त गरेको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो ।
१५. प्रत्यर्थी वादी कृष्ण मुल्मीको तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्न्द रेग्मी, विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले यी प्रतिवादी नरेन्द्र गोविन्द मुल्मी पिता धर्म गोविन्द संग वा यी वादीसंग मानो छुट्टि अलग भएको वा अंशवण्डा गरी अलग बसेको भन्ने प्रमाण कागज केहि छैन । माहिला वाजेले २०१६।४।४ मा शेष पछिको वकस पत्र गरिदिए पनि फिराद पर्दा सम्म वादी कृष्ण मुल्मी र प्रतिवादी नरेन्द्र गोविन्द मुल्मी भिन्न नभएका अंशियार रहेको निजले अघि चलेको अंश मुद्दामा दिएको वारेसनामा र सरकारनामा समेतको कागजवाट पुष्टी भईरहेको छ । तत्काल प्रचलित अंशवण्डाको महलको १८ नं. ले मानो चामल अलग गरी बसेको रहेनछ भने जुनसुकै श्रोतवाट प्राप्त गरेको सम्पत्ति पनि अंशियार वीच वण्डा लाग्ने व्यवस्था गरेको। वादी प्रतिवादी अंशियार रहेको भन्नेमा विवाद नभएपछि एका सगोलमा रहंदा प्राप्त गरेको जुनसुकै अंशियारका नाउंको भएपनि सो सम्पत्ति सबै अंशियारले वाँडी लिन पाउने हुंदा सो समेत वण्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय मिलेकै हुंदा सदर हुनुपर्छ भन्ने र सोही मिलानको प्रत्यर्थी प्रतिवादी जय गोविन्द मुल्मी समेको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्काले बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१६. विद्वान कानून व्यवसायीहरुको उपर्युक्त व्यहोराको बहस जिकिर समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा दुवै तर्फका विद्वान कानून व्यवसायीहरुले पेश गरेको बहस नोट र सम्बन्धित कागजात अध्ययन गरी हेर्दा बिपक्षी नरेन्द्र गोविन्द मुल्मी समेत हामी ५ अंशियार भएको, हामी वीच अंशवण्डा भई नसकेको ले ५ भागको १ भाग अंश छुट्याई चलन समेत चलाई पाउँ भन्ने माग गरी कृष्ण मुल्मीले यी पुनरावेदक प्रतिवादी नरेन्द्र गोविन्द मुल्मी र जयगोविन्द मुल्मी , जय कृष्ण मुल्मी तथा कृष्णकुमारी मुल्मी उपर अंश मुद्दाको फिराद दायर गरी पर्न आएको प्रस्तुत मुद्दामा वादी समेतले यस मुद्दाका प्रतिवादीको आधा हक भनी संयुक्त दरखास्त दिई स्वीकार गरेको जग्गा वाहेक पेश भएको तायदाती फांटवारीमा उल्लेख भएको घर जग्गावाट दावा अनुसार अंश भाग छुट्याई लिन पाउने ठहर ललितपुर जिल्ला अदालतवाट भए उपर माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्दवाट २०१६।४।४ मा प्राप्त गरेको शेषपछिको वकसपत्र समेतको जग्गा वण्डा लाग्ने गरेको चित्त बुझेन भनी प्रतिवादी नरेन्द्र गोविन्द मुल्मी र ल.पु.जि.अ.ले वण्डा नलाग्ने गरेको ३ कित्ता जग्गा समेतमा वण्डा लाग्नु पर्ने भनी प्रतिवादी कृष्णकुमारी मुल्मी, जय गोविन्द मुल्मी, र जयकृष्ण मुल्मीको संयुक्त तथा सोही व्यहोराको वादी कृष्ण मुल्मीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा जग्गा दर्ताको कार्यवाही हुंदा यस मुद्दाको प्रतिवादीको आधा हक भनी संयुक्त दरखास्त दिई स्वीकार गरेको जग्गा वाहेक पेश भएको तायदाती फांटवारी वमोजिम अंश छुट्याई लिन पाउने भनी गरेको साना गाउंको कि.न. ४७,१९८ र २४७ को जग्गा मध्ये शे.व. अनुसारको आधा जग्गाको सम्म वण्डा नलगाउने गरी गरेको शुरु ललितपुर जिल्ला अदालतको मिति २०५२।९।२१ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने गरी कि.नं. ४७, १९८ र २४७ को जग्गा समेत दावी वमोजिम वण्डा पाउने पुनरावेदन अदालत पाटनवाट फैसला भएको देखिन्छ । सो फैसला पश्चात बिपक्षीहरुको पुनरावेदन जिकिर वमोजिम थप ३ कित्ता जग्गा समेत वण्डा लाग्ने ठहर गरे उपर चित्त बुझेन भनी प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको यस अदालतमा पुनरावेदन परी पेश हुंदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच यी प्रतिवादीले २०१६।४।४ को शेषपछिको वकसपत्रवाट पाएको जग्गा वण्डा लाग्ने नलाग्ने बिषयमा मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस पूर्ण इजलासमा पेश हुन आएको देखिन्छ ।
१७. यसप्रकार पुनरावेदक प्रतिवादी नरेन्द्र गोविन्दको पुनरावेदन जिकिर र निज तर्फका विद्वान कानून व्यवसायीको वहस जिकिर वमोजिम विवादको साना गाउंको कि.नं. ४७,१९८ र २४७ को जग्गा समेत २०१६।४।४ को शेषपछिको वकसपत्र वमोजिमको जग्गा वण्डा लाग्ने हो होइन सो कुराको निरोपण गर्नु पर्ने मुख्य रुपमा यस मुद्दामा देखिन आएको छ । विवादको शेषपछिको बकसपत्रवाट प्राप्त गरेको भनेको जग्गा वण्डा लाग्न नपर्नेमा माहिला वाजे श्री गोविन्दको सन्तान नभएकोले २००७ साल देखि आफ्ना घरमा लगी मलाई पालेका र वहालाई आफ्नो दाजुभाईले हेरविचार नगरेकोले मलाई मिति २०१६।४।४ मा शेषपछिको वकसपत्र गरिदिनु भई निजको मृत्यू २०२० सालमा भएपछि माइला बाजेको हक जतिको जग्गा मेरा नाउंमा २०२१ ।११।२० मा दर्ता हुन आएको, सो कुरा पिता स्वयं धर्म गोविन्दले स्वीकार गरेको, २०४९।९।२२ मा बिपक्षीहरुले म स्वयंको आधा हकको भनी स्वीकार गरी रहेको अवस्थामा २०२१ ।११।२० लाई मानो छुट्टिएको मिति कायम गरी निर्णय गर्नु पर्नेमा नगरेको त्रुटीपूर्ण रहेको भन्ने मुख्य आधार र जिकिर यी प्रतिवादी नरेन्द्र गोविन्दको रहेको देखिन्छ ।
१८. वादी प्रतिवादीले उल्लेख गरेको पुस्तावारी अनुसार यी प्रतिवादी नरेन्द्र गोविन्द समेत धर्म गोविन्द मुल्मीका छोरा र श्रीमती रहे भएकोमा, अंशवण्डा नभएकोमा समेत मुख मिलेकै देखिन्छ र सो उपर जिकिर समेत नरहेकोवाट त्यस सम्बन्धमा विचार गरिरहनु पर्ने देखिन आएन ।
१९. अब यी पुनरावेदक प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको जिकिर वमोजिम विवादको शेषपछिको वकसपत्रवाट प्राप्त गरेको जग्गा समेत वण्डा लाग्ने हो, होइन सो तर्फ विचार गर्दा यी वादी प्रतिवादीहरुका वाजे गणेश गोविन्दका माहिला दाजु श्री गोविन्द भन्ने शिव गोविन्द निःसन्तान भएका र प्रतिवादी मध्येका नरेन्द्र गोविन्दको जिकिरमा निजलाई माहिला वाजेले लगी पालेको र निज माहिला वाजेको नाउँको सम्पत्ति आफ्नो नाउँमा नाउँसारी गरेको भन्ने सम्मका कारणवाट निजको जिकिर अनुसार २०२१।११।२० मा नै मानो छुट्टिएको वा भिन्न भएको मान्न सकिने कानूनी स्थिति देखिन आउंदैन । मानो छुट्टिएको वा जोडीएको कुराको लिखत पारित नै हुनुपर्ने रजिष्ट्रेशनको १ नं. को व्यवस्थालाई अंशवण्डाको ३० नं. ले अन्यथा गरेको भन्न सकिने समेत देखिंदैन । अंशवण्डाको लिखत पारित हुनुपर्ने प्रचलित कानूनी व्यवस्थाको अपवाद स्वरुप अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणलाई मान्यता दिएको हदसम्म सो ३० न. को सीमीत वा नियन्त्रित व्याख्या सम्म हुन सक्ने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी नरेन्द्र गोविन्द मुल्मीको कान्छी आमा पट्टिका भाईहरु जन्मदै नजन्मेका र कथंकथाचित कोही जन्मेका भएपनि काखाकै रहेको स्थितिमा परस्परमा निजका वाजे र माहिला वाजे दुई दाजुभाईले दिदी वहिनी विवाह गरेको दोहरो र वढी घनिष्ट नाताको कारणवाट निःसन्तान माहिलाको सम्पत्ति आफ्नो तर्फ नै सर्ने गरी गणेश गोविन्दका छोरा धर्म गोविन्द साक्षी वसी शेष पछिको वकसपत्र गरी दिएको र सो वकसपत्र वमोजिम २०२१ सालमा नाउसारी समेत गराई लिएको भएतापनि वकसपत्रमा लेखिएको व्यहोराबाट अंशियार वावु धर्मगोविन्द वाहेक अरु दाजुभाई अंशियार विवन्धित हुन सक्ने समेत देखिंदैन । त्यस्तै वक्सपत्रको जग्गा नामसारी गर्ने क्रममा प्रतिवादी नरेन्द्र गोविन्दका सौतेनी आमा र सौतेनी भाईहरुले निजको नाउँमा नामसारी भएमा मन्जुरी छ भनी मालपोत कार्यालयमा लेखिदिएकै कारणले आफ्नो हक नै परित्याग गरिदिएको भन्न समेत मिल्ने देखिन आएन । धेरैजना अंशियार मध्ये कुनै एकको नाउमा कुनै सम्पत्ति नामसारी भएमा मन्जूरी छ भनी लिखत गरि दिंदैमा आफ्नो हक नै हस्तान्तरण हुने नभै दर्ता श्रेस्तामा कुन अंशियारको नाउमा सम्पत्ति राख्ने सम्म कुराको संगोलको अंशियारहरुको मन्जूरी रहेको सम्म सो मन्जूरीनामावाट प्रमाणित हुन आउने देखिन्छ । त्यति कुरा भन्दा वढी त्यसरी मन्जूर हुने अंशियारहरुले आफ्नो अंश छोडेको अथवा नामसारी गराई लिनेको एकलौटी हक हुने भनी मन्जूरी गरिदिएको भन्न मिल्दैन। अंशियारहरुले परस्परमा कुनै एक अंशियारलाई एकलौटी हकको भनी नामसारी गर्न मन्जूरी दिंदा त्यस्तो मन्जूरी दिएको अभिप्राय सो लिखतवाट नै स्पष्ट हुनुपर्छ । त्यस्तो अभिप्राय स्पष्ट नरहेको अवस्थामा नामसारीको मन्जूरीको लिखतवाट सो अभिप्राय रहेको अनुमान गर्न मिल्ने समेत देखिन आउंदैन । पुनरावेदक तर्फवाट इजलास समक्ष प्रस्तुत गरिएको ने.का.प. ०५९, अंक ६, पृष्ठ ३९२, ने.का.प. ०५७, अंक ७ पृष्ठ २८८ समेतका नजिरकको तथ्य र प्रस्तुत मुद्दाको तथ्य पृथक भई ती नजिरहरु प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति समेत देखिन आएन ।
१७. उपरोक्त कारण र स्थितिवाट प्रतिवादी नरेन्द्र गोविन्दले अंशवण्डाको महलको १८ नं. मा २०३४ सालमा संशोधन हुनुपूर्व शेषपछिको वकसपत्र प्राप्त गरी नामसारी गराई लिएको वादी प्रतिवादीका माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्द तर्फको सम्पत्ति समेत वण्डा लाग्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश.श्री मीनवहादुर रायमाझीको राय सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या.दिलीपकुमार पौडेल
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्बत् २०६० साल पौष १७ गते रोज ५ शुभम् …………………