निर्णय नं. ७२४२ – कर्तव्य ज्यान
निर्णय नं.७२४२ ने.का.प.२०६० अङ्क ७.८ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्बत्...
निर्णय नं.७२४२ ने.का.प.२०६० अङ्क ७.८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री राम नगिना सिंह
सम्बत् २०६० सालको फौ.पू.ई.नं. ..१२
फैसला मितिः २०६०।५।४।५
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः जि.बारा फेटा गा.वि.स. वडा नं. २ वस्ने गोपिचन साह कलवार
विरुद्ध
प्रत्यर्थी
वादीः जलेश्वर राउत अहिरको जाहेरीले श्री ५ को सरकार
§ तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतवाट फैसला भएको, सो फैसला उपर तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(३) (ग) ले यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको र सोही ऐनको व्यवस्था समेत अनुरुप पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दामा ऐनको दफा १४(२) ले क्षेत्रीय अदालतले मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने ठहराएको मुद्दामा सर्वोच्च अदालतमा साधक जाहेर गर्नुपर्ने व्यवस्था गरेको र सो दफा १४(३) ले साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेको रहेछ भने साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट मुद्दा हेर्नु पर्छ भन्ने व्यवस्था गरेको देखिन्छ । साधक जाहेरी भै आएको अवस्थामा पनरावेदन परेमा पुनरावेदनवाट हेर्नु पर्ने भन्ने साविकको व्यवस्था कै प्रकृतिको व्यवस्था प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) ले गरेको पाइदा पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहवाट हेरी निर्णय गरि सकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निस्प्रभावी वनाउन नमिल्ने भनी प्रकाशित सिद्धान्त समेतवाट प्रस्तुत पुनरावेदन हेरी न्याय निरोपण गर्न वाधा पर्ने अवस्था देखिन नआउने ।
§ प्रतिवादीको पुनरावेदनको रोहवाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएवाट यी पुनरावेदकका हकमा सम्म साधकको रोहवाट हेरी गरेको यस अदालतको मिति ०४९।२।७ को फैसला स्वतः वदर हुने ।
(प्र.नं. २४)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।१० को फैसला उपर तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ : –
२. मिति २०४२।३।३० गते बिहान छोरा अमलदेव खेतमा पानी लगाउन जांदा छोरा अमलदेवलाई जि.वारा फेटा गा.पं. वडा नं. २ बस्ने झापस कलवार, लखिचन साह समेतका मानिसले कुटपिट गरी अचेत अवस्थामा छाडेकोले निजलाई उपचार गर्न लैजादा वाटैमा मृत्यु भएकोले त्यसमा आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जलेश्वर राउत अहिरको जाहेरी दरखास्त ।
३. लासको वायां तिघ्राको भित्री भागमा केही टाटो निलो डाम देखिएको, लासको मलद्वारवाट मल निस्कीएका, लिङ्गवाट विर्य निस्किएको, मृत्युको कारण स्वास रोकिई मृत्यु भएको भन्ने समेत व्यहोराको डाक्टरको राय समेत भएको लासजांच प्रकृती मुचुल्का ।
४. जि.बारा फेटा गा.पं. वडा नं. २ वस्ने झापस शाह कलवार, ऐ.वस्ने लखिचन शाह कलवार ऐ.वस्ने गोपिचन शाह कलवार, ऐ.वस्ने सखिचन शाह कलवार ऐ.वस्ने श्याम कृष्ण शाह कलवार तथा मर्ने व्यक्ति बीच आपसमा भनाभन भै रहेको थियो । त्यसको केही छिनपछि गोपिचन र लखिचन समेतले मर्नेको मुख थुनी उल्लेखित सबै पाँचै जनाले बोकी लास लगेको देखी सोद्धा अस्पताल लगेको भनी भनेका थिए । सो अवस्थामा झापस साहले लौ मा¥यो भनेपछि निजहरुले अमलदेवलाई त्यही छाडी गए । सो वखत निजको मृत्यु भएको थिएन । निजको वावुले पछि अस्पताल लगे भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
५. विभिन्न आधार प्रमाणवाट अभियुक्त गोपिचन साह कलवार र लखिचन शाह कलवार उपर ज्यान सम्बन्धीको महलको १३(३) र अन्य सहयोगी प्रतिवादीहरु झापस शाह कलवार १ सखिचन शाह कलवार, श्याम किशोर शाह कलवारलाई ऐ. महलको १३(४) अनुसार हदैसम्मको सजाय होस भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
६. वारदातको मिति अगावै मिति २०४२।३।२९ गते भैसी खरीद गर्न गएका थियौं । २–३ दिनपछि घर आएकोले वादी दावी अनुसार मैले मर्ने अमलदेवलाई मारे मराएको छैन, होइन। जाहेरी अभियोग झुठृा हो भन्ने समेत व्यहोराको प्रतिवादी गोपिचन शाहको शुरु अदालतमा भएको वयान ।
७. वारदातका दिन म घरमा थिइन । मिति २०४२।३।३१ गते घर फर्किए पछि मलाई पनि जाहेरीमा पोलेको थाहा पाएको हुं । त्यस अपराधमा म संलग्न छैन । रिसइवीवाट मलाई समेत पोलिएको हो भन्ने समेत व्यहोराको श्याम किशोर शाहको शुरु जिल्ला अदालतमा भएको वयान ।
८. वारदातको दिन म काममा जितपुरमा नै छु । त्यसैले म समेत भै अमलदेवलाई कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सखिचन शाह कलवारको शुरु जिल्ला अदालतमा भएको वयान ।
९. म श्रीमती लिन ससुराली गएकोले सो वारदात भएको दिन म ससुरालीमा नै थिएँ। जाहेरवालासंग आली सिमानाको कुरामा झगडा भएकोले सोही रिस इवीवाट मलाई पोलिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी लखिचन शाह कलवारको शुरु जिल्ला अदालतमा भएको वयान ।
१०. वारदातको दिन र सो समयमा म कतै नगई आफ्नो घरमा बसीरहेको छु । जाहेरवाला र मेरो जग्गा एकै ठाउंमा भएको र जग्गा सम्बन्धमा झगडा परी रहेकोले सोही रिसइवीवाट मलाई जाहेरवालाले पोलेको हो भन्ने समेत व्यहोराको प्रतिवादी झापस शाह कलवारले शुरु जिल्ला अदालतमा गरेको वयान ।
११. प्र.हरुले जाहेरवालाको छोरा अमलदेवलाई कुटपिट गरी नाक मुख थुनी सास रोकी दिई मरणासन्न अवस्थामा चौरमा छोडी भागी गएको कार्य र कारणवाट निज अमलदेवको मृत्यु भएको प्रमाणीत हुंदा प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलाई सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको मिति २०४३।१०।१६ को फैसला ।
१२. सबुद प्रमाणको अभावमा कसुरदार ठहर्याई गरेको शुरु बारा जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो बदर गरी सजायबाट छुटकारा पाउं भन्ने समेत व्यहोराको प्र.झापस शाह कलवारको तत्कालीन नारायणी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
१३. पोष्टमार्टम रिपोर्टको परिप्रेक्षमा बिपक्षी राखी छलफल गर्नुपर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम वादीलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको तत्कालीन नारायणी अंचल अदालतको मिति ०४४।७।१७ को आदेश ।
१४. जाहेरवालाको जाहेरी र अदालतको वकपत्रमा एकरुपता नभएको, सर्जमिनका मानिसहरुको किटानी वकपत्रको अभाव हुंदा–हुंदै सो तर्फ कुनै दृष्टि नै नगरी प्रहरी प्रतिवेदन वमोजिम प्रतिवादीहरुलाई सजाय गर्ने गरेको बारा जिल्ला अदालतको फैसला उल्टी भै प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन नारायणी अंचल अदालतको मिति ०४५।१।५ को फैसला ।
१५. प्रतिवादीहरुलाई कसुरदार ठहर्याउने सबुद प्रमाण हुंदा–हुंदै प्रमाणको अभावमा भनी सफाइ दिई गरेको नारायणी अंचल अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला वदर गरी शुरु बारा जिल्ला अदालतको फैसला सदर कायम होस् भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
१६. किटानी जाहेरी परेको सोलाई सर्जमीनवाट समर्थन भएको लाशलाई फ्याकी गएको भन्ने चश्मदिद गवाह समेत भएको अवस्थामा प्रतिवादीहरुलाई सफाइ दिने ठहर्याएको ना.अं.अ. को फैसला फरक पर्ने हुंदा अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४५।१२।२९ को फैसला ।
१७. मृतक अमलदेवको नाकमुख थुन्ने कार्यमा लखीचन र गोपीचनलाई देखाएको र यी दुई जना मध्ये कस्को क्रियावाट अमलदेवको मृत्यु हुन गएको हो भन्ने कुरा खुल्न नआएकोवाट निजलाई सर्वश्वसहित जन्मकैद गर्न कानूनसंगत नदेखिंदा लखिचन र गोपीचनलाई ज्यान सम्बन्धीको १३(३) वमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरुलाई सफाइ दिने ठहर्याएको नारायणी अंचल अदालतको र गोपीचन कलवार र लखिचन साह कलवारलाई सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु वारा जिल्ला अदालतको फैसला सो हदसम्म गल्ती भै केही उल्टी हुने ठहर्छ । गोपिचन शाह कलवार लखिचन शाह कलवारको हकमा सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने समेत व्यहोराको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।१०।३ को फैसला ।
१८. मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानूनको गम्भीर त्रुटी हुनुको साथै यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत भएकोले सो फैसला उल्टाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी श्याम किशोर शाह कलवारको र सोही मिलानको सखिचन शाह कलवारको छुट्टाछुट्टै यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।
१९. कम सजाय गरेको हदसम्म म.क्षे.अ. को इन्साफ नमिलेको हुंदा सो फैसला केही उल्टी गरी माग दावी वमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
२०. क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेको छु । मृतकको तिघ्राको भित्री भागमा देखिएको टाटो पुरानो देखिन्छ । पछि नयाँडाम भएको भए डाम परेको ठाउंमा सुन्निने अवस्था हुन्थ्यो । लास प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टले कुटपिटको कुनै कुरा देखाएको छैन । वारदात वनावटी हो । मृतकको मृत्यु चट्याङवाट भएको हो । म पुनरावेदकको कर्तव्यवाट मृत्यु भएको भनी लिएको आधार कानून र न्यायसंगत नहुंदा सजाय गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी न्याय दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गोपिचन साहको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२१. मध्यमान्चल क्षेत्रीय अदालतवाट मिति २०४६।१०।१० मा निर्णय हुंदा नारायणी अंचल अदालतको फैसला उल्टी गरी प्रतिवादी लखिचन र गोपीचनलाई ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सजाय हुने निर्णय भएपछि निजहरुलाई पुनरावेदनको म्याद दिइएको नदेखिंदा प्रतिवादी लखिचन कलवारको नाउंमा पुनरावेदनको म्याद जारी गरी निजको पुनरावेदन परे पुनरावेदन साथ नपरे म्याद नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५८।१२।१ को आदेश ।
२२. मध्यमान्चल क्षेत्रीय अदालतवाट भएको फैसला उपर श्री ५को सरकारको तर्फ समेतवाट परेको पुनरावेदनमा यस अदालत संयुक्त इजलासवाट ०४९।२।७ मा फैसला भएको देखिन आउंछ । तत्पश्चात प्रस्तुत पुनरावेदन परेको देखिन आएको अवस्थामा समान तह कै यस इजलासवाट हेरी निर्णय गर्न जटिल कानूनी प्रश्न समावेश भएवाट प्रस्तुत मुद्दा पूर्ण इजलासवाट हेर्नुपर्ने अवस्थाको देखिंदा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।३।६ को आदेश ।
२३. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा यी पुनरावेदक प्रतिवादी गोपीचन साहलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला साधकको रोहवाट र अन्य प्रतिवादीहरुको पुनरावेदनको रोहवाट हेरी यस अदालत संयुक्त इजलासवाट मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर हुने ठहर्याई यस अदालत संयुक्त इजलासवाट मिति ०४९।२।७ मा फैसला भए पश्चात यी पुनरावेदक प्रतिवादीको ०५८।८।२८ मा तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर प्रस्तुत पुनरावेदन पर्न आएकोमा प्रस्तुत मुद्दा पूर्ण इजलासवाट हेर्नुपर्ने अवस्थाको देखिएको भनी संयुक्त इजलासको मिति ०६०।३।६ का आदेशानुसार प्रस्तुत मुद्दा यस इजलासमा पेश हुन आएको देखिन्छ ।
२४. प्रस्तुत मुद्दा तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतवाट फैसला भएको, सो फैसला उपर तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(३) (ग) ले यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको र सोही ऐनको व्यवस्था समेत अनुरुप प्रस्तुत पुनरावेदन दर्ता हुन आएको देखिन्छ । सो ऐनको दफा १४(२) ले क्षेत्रीय अदालतले मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने ठहराएको मुद्दामा सर्वोच्च अदालतमा साधक जाहेर गर्नुपर्ने व्यवस्था गरेको र सो दफा १४(३) ल साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेको रहेछ भने साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट मुद्दा हेर्नु पर्छ भन्ने व्यवस्था गरेको देखिन्छ । साधक जाहेरी भै आएको अवस्थामा पनरावेदन परेमा पुनरावेदनवाट हेर्नु पर्ने भन्ने साविकको व्यवस्था कै प्रकृतिको व्यवस्था प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) ले गरेको पाइन्छ । पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहवाट हेरी निर्णय गरि सकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निस्प्रभावी वनाउन नमिल्ने भनी ने.का.प. २०५७, नि.नं. ६९४३, पृष्ठ ७०४ मा प्रकाशित सिद्धान्त समेतवाट प्रस्तुत पुनरावेदन उपर हेरी न्याय निरोपण गर्न वाधा पर्ने अवस्था देखिन आएन । प्रतिवादीको पुनरावेदनको रोहवाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएवाट यी पुनरावेदकका हकमा सम्म साधकको रोहवाट हेरी गरेको यस अदालतको मिति ०४९।२।७ को फैसला स्वतः वदर हुन्छ ।
२५. अब यी पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला प्रस्तुत पुनरावेदन जिकिर समेतको रोहमा मिलेको छ, छैन त्यस तर्फ विचार गर्दा मृतक अमलदेवलाई यी प्रतिवादी गोपिचन समेतले कुटपिट गरी निज मृतकको मुख थुनी कर्तव्य गरेको हो भनी शिव शंकर समेतका सर्जमीनका चश्मदिद व्यक्तिले मौकामा देखेको व्यहोरा अदालतमा आई समर्थन गरी वकी लेखाई दिएको देखिन्छ । जग्गाको साँध सिमाना सम्बन्धी बिषयमा झगडा परेको कारणवाट कुटपिट भएको र सो मा यी पुनरावेदक समेत संलग्न रहेको भन्ने जाहेरवालाको किटानी जाहेरी र वकपत्र समेत रहेको पाइन्छ । सीमाना सम्बन्धी झगडा परेको भन्ने प्रतिवादी झापस साहको अदालतको वयानवाट समेत समर्थित भइरहेको देखिन आउंछ । लास प्रकृति मुचुल्कावाट मृतकको तिघ्रामा दाग र नीलडाम देखिएको, वीर्य तथा दीशा निस्केको भन्ने उल्लेख भई शव परीक्षण प्रतिवेदनवाट मृतकको मुटुमा रगत जमेको, फियोमा तरल पदार्थ भरिएको र मृत्युको कारणमा श्वासप्रश्वास वन्द भई भएको भन्ने उल्लेख भएवाट मृतकको मृत्यु कर्तव्यवाटै भएको र चश्मदीद व्यक्तिको भनाई समेत अन्य प्रमाणवाट समेत समर्थित भइरहेको अवस्था देखिन आउंछ । यसरी मृतक अमलदेवको मृत्यु यी प्रतिवादी गोपीचन र अर्का प्रतिवादी लखिचन कै कर्तव्यवाट भएको पुष्टी भएको हुंदा निजको मृत्यु अन्य कारणवाट भएकोले सफाइ पाउनु पर्दछ भन्ने यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने अवस्था देखिंदैन । अतः निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाको तपसिलको देहाय १ बमोजिमको लगत अनुसार कैद म्याद ठेकी असूल गर्नु भनी शुरु वारा जिल्ला अदालतमा लेखी पठाई फैसलाको जानकारी थुनुवा प्रतिवादीलाई दिई नियमानुसार मिसिल वुझाईदिनु ।
उपरोक्त रायमा सहमत छौं ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
न्या.रामनगिना सिंह
इति सम्बत् २०६० साल भाद्र ४ गते रोज ५ शुभम. …………