निर्णय नं. ७२२ – जालसाजी
निर्णय नं. ७२२ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२७ सालको...
निर्णय नं. ७२२ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०२७ सालको फौ.फु.नं. ३९
फैसला भएको मिति : २०२९।९।५।३ मा
निवेदक : प.१ नं.नु.जी. कविलास पाठक थोक बस्ने चन्द्रबहादुर मरी सकार गर्ने दमयन्तदेवी क्षेत्रीनीसमेत
विरूद्ध
विपक्षी : ऐ.कविलास डाँडाथोक बस्ने रत्नबहादुर महत क्षेत्रीसमेत
मुद्दा : जालसाजी
(१) आफै अदालतमा उपस्थित भई नालेस गरेकोसमेत देखिए ७५ बर्ष उमेर पुगी आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने भन्नेसमेतको लेखाई समर्थित नहुने ।
झुक्याएको भन्ने परिवन्ध वादीले के कस्तो देखाएको छ भन्ने तर्फ हेर्दा १३ साल श्रावण भाद्र के मा हो बागमती स्नान गर्नसमेत काठमाडौं गएको थाहा पाई प्रतिवादी रत्नबहादुर आई म ७५ उमेर पुगेको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने कान पनि राम्रो नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएका बृद्ध मानिसलाई छोरी नातिलाई बकसपत्र पास गरेको रसिद मिलेको छैन फेर्नु पर्यो नामसारी पनि गर्नु पर्यो भनी फकाई दुई तिन थान के कति हो कागज गराई अड्डामा लगी झुक्याई सहिछाप गराएको भन्नेसमेत वादीमा उल्लेख गरेको पाइन्छ ।
वादी लेखअनुसार निज राम्रो होस ठोगाना नभएको आफ्नो व्यवहारको संरक्षणसमेत गर्न नसक्नेसमेत अवस्थाको मानिस भए त्यस्ताको हकमा एकाघरसँग बसेको १६ बर्ष नाधेको हकदार कोही रहेनछ भने ऐनले अपुताली खान पाउने हकवालाले सो कारण देखाई नालेस उजूर गरी दिन पाउनेसमेत तत्काल प्रचलित अ.बं.१०७ नं.मा व्यवस्था भएको तर स्वयम वादी आफैं अदालतमा उपस्थित भई यो नालेस गरेकोसमेत देखिएकोले वादीको उपरोक्त लेखाई समर्थीत हुन आएन ।
(प्र.नं. १३,१४)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णजंग रायमाझी
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
उल्लिखित मुद्दा :
फैसला
न्या. झपटसिंह रावल
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : मेरो छोरा नभएको भाइ कृष्णबहादुरले हेरविचार नगरकोले छोरीहरू जेठी दमयन्ती माईली मायादेवी कान्छी पुन्यदेवी । जेठी छोरीको छोरा भक्तबहादुरसमेतले मेरो र मेरी स्वास्नीको हेरविचार गरी आएकोबाट ६५ बर्ष उमेर पुगेको म र ६१ बर्ष उमेर पुगेको मेरी स्वास्नी बालकुमारीले मेरो भागको चल अचल गैह्र श्री सम्पत्ति २००३।१।१३ गते बाँचुञ्जेल पालन पोषण गरेपछि काजकृया पिण्ड पानी चलाई बाँकी रहेको शेषपछि खानु भनी सदर रजिष्ट्रेशनमा गई बकसपत्र पास गरी दिएको ०११ सालमा मेरी स्वास्नी कालगतिले परलोक गएपछि काजकृया नाति भक्तबहादुरले गरी मलाई पालन पोषण गरी राखेकै अवस्थामा बागमती स्नान र श्री पशुपतिनाथ गुहृयश्वरीको दर्शन गर्ने इच्छा भई ०१३ साल श्रावण वा भाद्र कुन महिनामा हो गएको थाहा पाई रत्नबहादुर आई छोरी नातीलाई बकसपत्र गरी दिएको रसिद पनि मिलेको छैन जग्गाको नामसारी गर्नु पर्छ भनी मलाई फकाई ७५ बर्ष उमेर भएको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने राम्रो कान पनि नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएको बृद्ध मानिसको कागज गर्न गराउन नहुनेमा के व्यहोरा हो लेखेको २।३ थान कागज गराई यो अड्डा हो भन्ने मलाई थाहा पनि नभएकोलाई अड्डामा लगी सही गराएको थियो १६ साल भाद्र १५ गते आई यो घर जग्गा तिमीले राजीनामा गरी दिएबाट मेरो हक भइसकेकोछ यहाँ बस्न पाउँदैनौं भनेकाले स्वास्नी बालकुमारी मरी बकसवालाको हक भइसकेको आधि पनि मेरो उमेर अवस्थाले गर्दा बकसवालाको हक भइसकेकोमा मलाई झुक्याई वा मानिसै कीर्ते गरी राजीनामा भोग दृष्टि वा और के व्यहोराको हो मेरो घरबासै उठ्ठा गराउने नियत गरी के कागज गराएको हो राजीनामा गराएको भनी भन्दा सारै अन्यायमा परेकोले नालेस गर्न आएको छु सो कागज खिची मलाई देखाई सुनाई सो कागज बदर गरी लेखिएबमोजिम अन्यथा गरेमा सजाय गरिपाउँ भन्नेसमेत ०१६।५।२५।५ को चन्द्रबहादुरको फिराद।
३. पाठक थोकको बगैंचा बारी भन्ने पाखो रू.९९९९ मा राजीनामा गरी निजैले मगनीमा कमाई आएको र घरबारी र अइबोटे खेत रू.२९९९। मा १३।१२।७।५ मा घरसारमा राजीनामा गरी दिई ०१४।५।२४।२ मा काठमाडौं पोता रजिष्ट्रेशनमा गई पास गरी दिएकोले सो पनि अधियाँ बाली लिने गरी आएको छु तिरो मैले नै तिरेको छु नामसारी गर्न बाँकी छ ०१३ साल श्रावण भाद्रमा यो वादी नेपाल गएको पनि छैन वादी दावी बमोजिम कागज गराएको पनि होइन झुक्याई गराएको भए अड्डा उपर उजूर किन गरेनन् यो साल महिनामा मितिमा झुक्याई गराएको भनी किटान गर्न नसकेको नालेस लाग्ने पनि होइन निजले बकसपत्र गरी दिएको थाहा छैन भन्नेसमेत रत्नबहादुरको प्रतिवादी ।
४. प्रतिवादीले पेश गरेको राजीनामासमेतका कागजहरू सुनाउँदा झुक्याई गराएको भन्ने वादीको र सद्दे नै हो भन्ने प्रतिवादीको बयान भएको ।
५. ०३ सालको बकसपत्र प्रतिवादीलाई देखाउँदा यसमा मलाई केही भन्नु छैन भन्ने बयान गरेको ।
६. वादीका छोरीहरूले आमा बालकुमारीको आधा भाग पाको गरी सकेकोलेसमेत साहु आसामीको ६ नं.ले.आधिमा हकै नपुग्ने चन्द्रबहादुरबाट गराएको राजीनामा सदरै नहुने र चन्द्रबहादुरको हकमा पनि बकसपत्र बदर गराएको नदेखिएकोले त्यस्तो जग्गा राजीनामा गराई लिएका रजिष्ट्रेशनको ४४ नं.ले स्वतः बदर हुनेसमेत देखिएकोले वादीलाई भोर्याई जालसाजबाट खडा गरेको राजीनामा लिखत बदर हुने ठहर्छ भन्नेसमेत नुवाकोट इलाका अदालतको २०१९।१०।४।५ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी रत्नबहादुरसमेतको पुनरावेदन ।
८. ०११ सालमा बालकुमारी मरी सकेको बालकुमारीको हक जति शेष भुक्तान भएको हुँदा शेष पछिको बकसपत्र बमोजिम चन्द्रबहादुरको हकै नरहेकोमा लिखत भएका हुनाले उक्त लिखत राजिखुशीले भएको रहेछ भन्न नहुने वादीको दावी रजिष्ट्रेशन पास भएको ०१४।५।२४ को मितिबाट गणना गर्दा २ बर्षको म्यादमा २ दिन नाघेको देखिन आए पनि साविक कीर्ते कागजको २१ नं.अनुसार कीर्तेमा नालेस दिने हदम्याद भएको कीर्ते गरे भन्ने दावी नभएकोले उक्त हदम्याद कायम नहुने घरसारको लिखतमा पनि भोग कायम गर्नु पर्ने भएबाट वादीको फिराद म्यादभित्रैको देखिने वादी चन्द्रबहादुरको लिखत हुँदाको उमेर अवस्थाबाट अर्को हकदारसमेत रही लेनदेन हुनुपर्ने सो भएको नदेखिएकोसमेत बाट इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतले हदमुनी गरी छिनेको ०२४।५।१३।३ को फैसला ।
९. जटिल कानूनी प्रश्न समावेश भएको अञ्चल अदालतको फैसला उपर पुनरावेदन दिने अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन परेकोमा न्यायप्रशासन विविध व्यवस्था ऐनको दफा ८(२) बमोजिम पुनरावेदनको अनुमति दिने सिंगल बेञ्चबाट आदेश भई बागमती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन परेको ।
१०. वादीको भनाई बमोजिम झुक्याई गराएको भन्नालाई सो कुराको सबूद नभएको रू.२९९९। को राजीनामा काठमाडौं पोता रजिष्ट्रेशन अड्डामा भएको पास गरी दिने अड्डाले लिखत पास गरी दिन आउने व्यक्तिलाई कागजको व्यहोरा पढी वाँची सुनाई मतलब र परिणामसमेत बुझाई लिखत गरी दिन मञ्जूर गरेमात्र सही गराई पास गरी दिनुपर्ने कर्तव्य पालन नगरेको भए अड्डाका कर्मचारीसमेत उपर कानूनबमोजिम उजूर हुनुपर्ने नभएकोले यस्तो पास भएको लिखतलाई साहु र साक्षीहरूले झुक्याई सही गराई लिएको भन्न नमिल्ने कविराज शिवनाथले गरी दिएका रसिदले ०१२।२।१८ मा राजीनामा गरी दिएको कुरा कायम हुने विर्तावालालाई आफुले तिरो बुझाएको रसिद वादीले पेश गर्न नसकेको रैकर खेतको पनि वादीले तिरो बुझाएको नदेखिएको तिरो प्रतिवादीको हातबाट चलेको भोग प्रतिवादीको कायम हुने साविक कीर्ते कागजको २१ नं.मा जालसाजीमा उजूर गर्ने भन्ने वाक्यांश नभएकोले जालसाजीमा उजूर गर्नेहरूले जुन विषयको लिखत हो त्यसै ऐनमा लेखिएको हदम्याद २ बर्ष भित्र उजूर गर्नु पर्ने प्रष्टै भएको पास नभएको लिखत रसिदहरू समेत जालसाज गरेको भन्ने फिराद दावी हुँदा उक्त ऐन लगाई खारेज गर्न नमिल्ने स्वयम चन्द्रबहादुरले झुक्याई कागज गराए भन्ने कुरामा उजूर कारवाई चलाएको र आफैं तारेखमा रही पैरवी गरेको देखिएकोले बृद्ध व्यक्तिले कागज गराउँदा हकदार साक्षी रहनु पर्ने भन्ने तर्क युक्तिसंगत नदेखिएको बकसपत्र गरी दिने मध्येकी बालकुमारीको मृत्यु भए पनि ०३।१।१३।५ मा गरी दिएको बकसपत्रमा हामीहरूका शेषपछि हामीहरूको घर खेत चल अचल बाँडी खानु भन्ने लेखिएकोबाट बकसपत्र गरी दिने दुवै व्यक्तिको मृत्यु भई सकेपछिमात्र बकस पाउनेको हक पुग्ने उसमा पनि हाम्रो हक भइसकेको बीचका मानिसले लिखत गरेको बदर होस भनी बकस पाउनेहरूले गरेको यो उजूरी नभएकोबाट बकस पाउनेहरूको उजूर दावी बेगर उक्त तर्क उठाउन अप्रासांगीक हुने रू.३४०। बुझी जग्गा छाड्ने गरी मिलापत्र गर्ने दर्खास्त गरेको भए पनि सो बमोजिम मिलापत्र नभएकोले पुरै लिखत बदर वा सदर गर्ने दावी जिकिर भएको प्रस्तुत मुद्दामा त्यस्ता दर्खास्तलाई प्रमाणित लिखत हो भन्न नमिल्नेसमेत देखिँदा राजीनामा रसिदसमेत झुक्याई गराएको जालसाजी भन्ने वादी दावी नपुग्ने र शुरु र अञ्चल अदालतको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत ०२६।३।३०।२ को डि.बेञ्चको फैसला भएको ।
११. यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णजंग रायमाझीले छोरी र नातिहरूलाई वादी चन्द्रबहादुर र निजकी स्वास्नी बालकुमारीले २००३।१।१३।५ मा शेषपछिको बकसपत्र गरी दिएकोमा बालकुमारी ११ सालमा मरी निजको हक जति बकसपत्रबाट बकस पाउनेको हक पाको भइसकेको घर जग्गासमेत पारी खुसी राजीले राजीनामा दिने कुरै छैन रू.३४०। लिई जग्गा छाडी मिल्छु भनी प्रतिवादीले दर्खास्त गरेको छ रू.२९९९। मा राजीनामा लिएका सद्दे व्यवहार भए त्यस्तो दर्खास्त किन दिन्थ्यो ७५ बर्ष उमेर नाघिसकेको बृद्ध हुनाले मेरो पक्ष झुक्किन सक्ने अवस्थाको थियो बेइलाकाको काठमाडौंमा आई पास गराएकोसमेत बाट झुक्याई पास गराएको भन्ने प्रष्टै देखिन्छ भन्नेसमेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले शेष पछिको बकसपत्र दिने मध्ये बालकुमारी मरी निजको हक जति हाम्रो हक भइसकेको जग्गासमेत लिनु दिनु गरेको बदर गरिपाउँ भन्ने बकस पाउनेको दावी नालेस परेको यो मुद्दा नहुनाले त्यसतर्फ विचार गर्नु पर्ने प्रश्नै उठ्न सक्तैन यो मुद्दाबाट वादीलाई झुक्याई राजीनामा पास गराएको हो होइन भन्नेसम्म कुराको निर्णय हुनुपर्ने हो दुवैथर र रजिष्ट्रेशन अड्डामा गई पास भए गरेको लिखत मेरो पक्षले मात्र झुक्याई गराउन सक्ने अवस्थै छैन रजिष्ट्रेशन अड्डासमेत मिली झुक्याई गराएको भन्न र अड्डाका कर्मचारी उपर उजूर गर्न वादीले सकेको छैन अरू सबूद प्रमाणसमेतको अभावमा ७५ बर्ष उमेर नाघेको वृद्ध भन्दैमा झुक्याएको कायम हुन सक्ने होइन भन्नेसमेत बहस गर्नु भयो ।
१२. यसमा झुक्याई गराएको लिखत बदर गरिपाउँ भन्ने वादीको मुख्य दावी हुनाले प्रतिवादीवाट पेश भएको रू.९९।९९ को ०१२।२।१८ को घरायसका राजीनामा र रू.२९९९। को ०१४।५।२४।२ मा काठमाडौं पोता रजिष्ट्रेशन अड्डाबाट पास भएको ०१३।१२।१।५ को राजीनामासमेत वादी दावी बमोजिम झुक्याई गराएको हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१३. झुक्याएको भन्ने परिवन्ध वादीले के कस्तो देखाएको छ भन्ने तर्फ हेर्दा १३ साल श्रावण भाद्र के मा हो बागमती स्नान गर्नसमेत काठमाडौं गएको थाहा पाई प्रतिवादी रत्नबहादुर आई म ७५ उमेर पुगेको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने कान पनि राम्रो नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएका बृद्ध मानिसलाई छोरी नातिलाई बकसपत्र पास गरेको रसिद मिलेको छैन फेर्नु पर्यो नामसारी पनि गर्नु पर्यो भनी फकाई दुई तिन थान के कति हो कागज गराई अड्डामा लगी झुक्याई सहिछाप गराएको भन्नेसमेत वादीमा उल्लेख गरेको पाइन्छ ।
१४. वादी लेखअनुसार निज राम्रो होस ठोगाना नभएको आफ्नो व्यवहारको संरक्षणसमेत गर्न नसक्नेसमेत अवस्थाको मानिस भए त्यस्ताको हकमा एकाघरसँग बसेको १६ बर्ष नाधेको हकदार कोही रहेनछ भने ऐनले अपुताली खान पाउने हकवालाले सो कारण देखाई नालेस उजूर गरी दिन पाउनेसमेत तत्काल प्रचलित अ.बं.१०७ नं.मा व्यवस्था भएको तर स्वयम वादी आफैं अदालतमा उपस्थित भई यो नालेस गरेकोसमेत देखिएकोले वादीको उपरोक्त लेखाई समर्थीत हुन आएन ।
१५. ०१२।२।१८।४ को रू.९९।९९ को जुन राजीनामा छ त्यस्मा लेखाएको पाठक थोक बगैंचा बारीको विर्तावार शिवनाथ पाध्यालाई बुझाउनु पर्ने सो राजीनामाको मिति भन्दा पछिका सालको तिरो आफुले बुझाएको रसिद पेश गर्नसमेत वादीले नसकी सो राजीनामा बमोजिम विर्तावार शिवनाथले गरी दिएको ०१२।१२।२१ को चलनी बहाली पूर्जि र सालसालको तिरो तिरेको रसिदसमेत प्रतिवादी रत्नबहादुरका नामको निजैबाट पेश हुन आएको त्यसले उक्त १२।२।१८।४ को राजीनामालाई समर्थन गरी राखेको छ चलनी बहाली र रसिदसमेत विर्तावारलाई भोर्याई गराएको भन्ने बयानमा जिकिर लिएको सो कुरा प्रतितलायक नभएको र विर्तावारसमेत मिली चलनी बहाली र विश्वास लायकका रसिद जालसाजी खडा गरेको भनी वादीले दावी लिन सकेको पाइएन ।
१६. अर्को ०१४।५।२४।२ मा काठमाडौं पोता रजिष्ट्रेशन अड्डाबाट रजिष्ट्रेशन पास भए गरेको १३।१२।१।५ को रू.२९९९। को राजीनामाको हकमा रजिष्ट्रेशन पास गर्ने अड्डाबाट कागजमा सही गराउँदा लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढी बाची सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलवसमेत सम्झाईमात्र ऐनबमोजिम सहिछाप गराउनु भन्ने तत्काल रजिष्ट्रेशनको २३ नं.मा व्यवस्था भएबमोजिम रीत पुर्याइमात्र रजिष्ट्रेशन अड्डाले सहिछाप गराई पास गरी दिने कुरामा प्रतिवादीहरूले मात्र झुक्याई सही गराई पास गराउन सक्ने अवस्था नभएको र रजिष्ट्रेशन अड्डाका कर्मचारीसमेत मिली झुक्याएको भनी कर्मचारीहरू उपर कानूनबमोजिम वादीले नालेस उजूर गर्न सकेको देखिन आएन ।
१७. छोरी नातिलाई बकस गरी दिने मध्येकी १ जना बालकुमारी ०११ सालमा मरी निजको हक आधि बकसपत्र लिखतबमोजिम बकस पाउनेको हक पक्का भइसकेको जग्गा घरसमेत जाने गरी चन्द्रबहादुरले रत्नबहादुरलाई खुशी राजी मञ्जूरीले राजीनामा गरी दियो होला भन्न सम्झन नसकीने भन्ने तर्क उठाईएको हकमा चन्द्रबहादुर बालकुमारी दुई जना आगे भई गरी दिएको २००३।१।१३।५ को बकसपत्र लिखतमा बाँचुञ्जेल हामीहरूलाई हेरविचार पालन पोषण टहल चाकरी र मरे पछि दागबत्ति काजकृया पिण्ड पानीसमेत गरी गराई हामीहरूको शेषपछि खानु बेहोर्नु भन्ने बोली परेको उक्त बकसपत्रबाट बकस दिने दुवैजनाको शेषपछिमात्र बकस पाउनेको हक हुने हो वा पहिले मर्ने १ जनाका हक जति पहिले नै बकस पाउनेको हक हुने के हो भन्ने प्रश्न उपस्थित हुने सो प्रश्नको यस मुद्दाबाट निर्णय दिनालाई बकसपत्र लिखत बमोजिम मर्ने बालकुमारीको भाग आधि बकस पाउनेको हक पाको भइसकेका घर जग्गासमेत राजीनामा लिनु दिनु गरेको बदर गरिपाउँ भन्ने तर्क हकदैया पुग्नेको कानून बमोजिम दावी परी चलेको यो मुद्दा नभएकोले बकसपत्रबाट हुने हकबेहकको सम्बन्धमा असर पुग्ने गरी यो मुद्दाबाट निर्णय दिन नमिल्नेसमेत हुँदा यो मुद्दामा उपरोक्त तर्क उठाउनु प्रासांगिक हुँदैन ।
१८. रूपैंया लिई राजीनामा गरी दिएका सद्दे लिखत भए रू.३४०। लिई जग्गा छाडी दिने गरी मिल्ने दर्खास्त गर्नु नपर्ने भन्ने हकमा मुद्दामा मिलापत्र गर्नालाई पछि गरेको उक्त दर्खास्त झुक्याई राजीनामा गराएको भन्ने वादी दावीको लागि प्रमाणिक हुन नसक्ने र उपरोक्त राजीनामासमेतका लिखतहरू झुक्याई गराएको भन्ने कुराको तथ्य सबूद कुनै गुज्रन नआएकोले र उपरोक्त परिवन्धबाट समेत झुक्याएको भन्न पनि मिल्ने देखिएन ।
१९. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट उपरोक्त राजीनामासमेत लिखतहरू झुक्याई गराएको जालसाजी भन्ने वादी दावी पुग्न सक्दैन झुक्याई राजीनामा गरायो भन्ने वादी दावी नपुग्ने ठहराई ०२६।३।३०।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । निवेदक वादी चन्द्रबहादुर मरी मुद्दा सकार गर्ने दमयन्तादेवी क्षेत्रीनी १ मायादेवी क्षेत्रीनी १ पुंडेदेवी क्षेत्रीनी १ समेत जना ३ के डिभिजन बेञ्चको फैसलाले सजाय गरेको नहुँदा अ.बं.२०४ नं.रु. १। एकका दरले जरिवाना हुन्छ वारेस हुँदा असूल गर्न लगत दिन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
न्या. धनेन्द्रबहादुर सिंह
उपरोक्त रायमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल पौष ५ गते रोज ३ शुभम् ।