निर्णय नं. ७२१ – ठेक कीर्ते
निर्णय नं. ७२१ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६...
निर्णय नं. ७२१ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२६ सालको फौ.फु.नं. २८
फैसला भएको मिति : २०२९।११।२३।३ मा
निवेदक : वीरगञ्ज तेल गोदाम बस्ने सु.भुपाल सिंह प्रधान
विरूद्ध
विपक्षी : भारत कलकत्ता हवडा खुरुट धर्म तलालैन बस्ने उपेन्द्रनाथ चट्टोपाध्या
मुद्दा : ठेक कीर्ते
(१) वादीले दावी लिएको कुराको अदालतले इन्साफ ठहर गर्नु पर्ने, वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न नमिल्ने ।
यस प्रसंगमा वादीको दावी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा ९५।११।२७।७ को मिति राखी भूपाल सिंहले आफ्ना हस्ताक्षरबाट कीर्ते ठेक्का लेखी खडा गरेको सो कीर्ते ठेक्का बदर वातेल गरी कीर्ते ठेक्का खडा गरेमा भूपाल सिंहलाई कीर्तेमासमेत सजाय गरिपाउँ भन्ने फिरादपत्रमा मुख्य दावी लिएको पाइन्छ, वादीले जे जति कुरामा दावी लिएको छ त्यतिसम्म कुराको कानून बमोजिम अदालतले इन्साफ ठहर गर्नु पर्ने हो वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न मिल्ने देखिँदैन ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
न्या. जयदेव भट्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : मौजे मधुरी वोडमपुरको विर्ता विगाहा १०१ माल तर्फको जिमिदारी जोत जिरायतसमेतको हेरविचार कारिन्दा भुपाल सिंहले गरी आएकोमा रैतिलाई दुःख पीर दिई आयस्ता बाली नबुझाएकोले ०९ सालको बालीदेखि निजलाई कारिन्दा बदर गरी किर्तिमानलाई ठेक्का दिई ०९।४।२४ मा बारा मालबाट रजिष्ट्रेशन पास भई किर्तिमानलाई ठेक्का दिए पाएकोमा ८५ सालकै ठेक्का पट्टा बमोजिम ९५।११।७।७ मा थप ठेक पाएको भनी कीर्ते ठेक्का पट्टा खडा गरी मुद्दा चलाएछन् । किर्तिमानलाई गरी दिएको ठेक्का पट्टा ०१५।६।२४ को फैसलाले बदर पनि नभएकोले ९५ सालको लिखत कीर्ते गरेमा सजाय गरिपाउँ भन्ने वादी ।
३. उपेन्द्रनाथ निलमणि दुवै भाइबाट ८५ सालदेखि ठेक्का पट्टा पाएको सोही सालदेखि मैले काम गरेको खड्गनिसाना र सर्वोच्च अदालतबाट भएको फैसलाहरू समेत बाट देखिएकै छ सो जिमिदारी उपेन्द्रनाथको मात्र नभई निलमणिसमेतको हक बराबर भएको, मुख्य भई व्यवहार निलमणिले गरी आएको निजको मञ्जूरी बेगर उपेन्द्रनाथले किर्तिमानलाई दिएको सदर नहुनेमा मुद्दा पर्दा गोश्वाराको फैसला उपर किर्तिमानको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा हार्ने देखी ९५।११।७ को लिखत कीर्ते गरेको भनी कारवाई चलाएकोमा निलमणिको र मेरो बयान भएका,े उपेन्द्रनाथले म्याद गुजारेको, सो मुद्दा १५।९।१४ मा छिनिएको सो फैसला भएको मितिले ३५ दिनभित्र उजूर गर्नु र मैले कीर्ते जालसाज गरेको भए २ बर्ष भित्र उजूर गर्नु पर्ने गर्न सकेको छैन । मैले कीर्ते गरेको होइन भन्नेसमेत प्रतिवादी, भूपाल सिंहले नपाउने निजको हक नलाग्ने जिमिदारी भए निजका नाउँमा ३५ दिनभित्र नालेस गर्नु भन्ने ०१५।६।१४ गते डिभिजन बेञ्चबाट फैसला भएको सो फैसलाबमोजिम जिमिदारीमा हकबेहक गरी हटाई पाउँ भन्ने उपेन्द्रनाथको दावा नभएको जिमिदारी जग्गातर्फ किर्तिमानको छुट्टै उजूर परेको उसतर्फ बाटै हेरिने भूपाल सिंहलाई कारिन्दा राखेको भन्ने फिरादमै उल्लेख भएको कारिन्दा भए के कति तलबमा कहिलेदेखि राखेको हो सो उल्लेख गरी तलब दिए बुझाएको निस्सा भरपाईसमेत पेश गर्नु पर्ने सो नभएको जिमिदारी जग्गा भूपाल सिंहले नै दामकाम गरी चलाएको भन्ने कुरा लिखत प्रमाण ९५ सालदेखि ९८ सालसम्मको मिसिलसमेत बाट देखिएको ९५ सालकै लिखतबाट चलन गरे चलाएको नभएको मौकैमा उजूर गर्नु पर्ने नगरेको ९५ सालको लिखत अंग्रेजी र देवनागरिक लिपिको लेखात्मक सहिछाप सामान्य हेर्दा कीर्ते भन्न नमिल्ने निलमणिको हक नलाग्ने हो भन्ने वादीले नसकेको निजको पनि सही परेकोसमेत बाट ९५ सालको लिखत कीर्ते नभई सद्दे ठहर्छ भन्ने वीरगञ्ज ईलाका अदालतको ०१७।१२।१५ को फैसला ।
४. सोउपर चित्तबुझेन भन्ने वादीको पुनरावेदन परेकोमा उपेन्द्रनाथको सहिछाप कीर्ते भन्ने प्रमाणिक सबूद नभएकोले इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने वीरगञ्ज जिल्ला अदालतको फैसला ।
५. सो उपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. सर्वोच्च अदालतको ०१५।६।१४ को फैसलामा माल गोश्वाराले जिमिदारी तर्फ हकबेहक गरेको पर्चा फैसला बदर गरेको छ कामदामसमेत अरू कुरामा मालले गर्नु पर्ने जति ऐन सवालबमोजिम गर्ने गराउने बाली रोक्का भएकोमा ऐन सवालबमोजिम फुकुवा गराई भूपाल सिंहले पाउन नसक्ने निजको हक नलाग्ने जिमिदारी भए निजका हकमा ऐनबमोजिम आजका ३५ दिनभित्र उपेन्द्रनाथले उजूर गर्नु पर्छ अमीनीमा उजूर गरी हकबेहक गर्नु भनी सुनाई दिने भन्ने लेखिएको छ ९५ साल फागुन ७ गतेको लिखतमा तिमिलाई नै स्थायी ठेक्का गरी थामी दिएका छौं साल १ को कं.रू.१५०१ का दरले साल बसाल हामीलाई बुझाउने गरी भन्ने बोली लेखिएको छ यति बर्षसम्म ठेक्का रहने भन्ने लेखिएको छैन र स्थायी वा साल बसाली भन्नेमात्र बोली रहेको छ भने त्यस्तो लिखतले कति समयसम्म बाध्यता र दायित्व राख्न सक्छ भनी निर्णय गर्नु परेको छ तत्कालिन रकम बन्दोवस्तको १३ नं.मा मिति नपुगी लिनेको मञ्जूरी बिना बीचमा पजनी गर्न हुँदैन भन्ने लेखिएकोबाट ठेक्कामा मिति किटान हुनै पर्ने मिति किटान रहेनछ भने अनिश्चित कालसम्म लिने दिने दुवै थरीलाई शर्त पालना गर्नमा बाध्यता राख्ने भएबाट अर्को थरीले मञ्जूर गरेन भने पनि जति समयसम्म पनि चालु राख्नु पर्ने हुन आउने र ठेक्का भन्ने शब्दले यो बस्तु यो शर्तमा यति समयसम्म ठेक्का रहेको हो भनी बुझाउने देखिन्छ म्याद नकिटिएको लिखतले अनिश्चित कालसम्म ठेक्का कायमै रहने भए ८९।१२।२७।१ मा खड्गनिसाना तोक हुँदा भूपाल सिंहलाई नै ठेक्का थामिनु पर्ने भन्ने हुन सक्नेमा भूपाल सिंहलाई वा अरू जसलाई ठेक्का बन्दोवस्त गर्नु पर्ने आफ्नै तर्फबाट गरी खान पाउने भन्ने वाक्यांश रहन गएकोले ठेक्का दिनेकै खुस भएको देखिएकोले म्याद नतोकिएको ठेक्कालाई अनिश्चित कालसम्म पाउने अर्थ भएको रहेछ भन्ने देखिन आउँदैन भूपाल सिंहको मञ्जूरी नभए पनि उपेन्द्रनाथले आफ्नो खुस गर्न पाउने देखिने हुनाले ९५ सालको कीर्ते ठेक्का बदर गरी पाउँ भन्ने उपेन्द्रनाथको फिराद परेकोमा बारा मालको पूर्जिबाट समेत भूपाल सिंहले उपेन्द्रनाथको तरफदारी भई काम गरेको देखिएकोले सो कीर्ते भनेको ९५।११।७ को लिखत उपेन्द्रनाथ र निलमणि एकातर्फ भई गरेको भनी पेश भएको सो कागज गठरेकोमा निलमणितर्फ बाट मञ्जूरी रहेकोले उक्त ठेक्काको लिखत कीर्ते भन्ने उपेन्द्रनाथको उजूर पुग्न सक्तैन उपेन्द्रनाथले किर्तिमान सँग ठेक्का पट्टाको लिखत गरेको हो भन्ने कुरामा सावित भएकोमा सो किर्तिमानसँग भएको ०९ साल आषाढको ठेक्का पट्टा निलमणिले गरेको देखिँदैन उपेन्द्रनाथले यो ठेक्का पट्टा गर्दा वीरगञ्जको घर बगैंचा दिएको भनी लेखेकोमा त्यसतर्फ छुट्टै मुद्दा उठेकोमा आजै फैसला भएकोले वीरगञ्ज ई.अ.बाट गरेको ठहर सदर गरेको वीरगञ्ज जिल्ला अदालतको फैसला मनासिव छ भन्ने ०२२।७।२२।१ को डिभिजन बेञ्चको फैसला ।
७. यसबेञ्च समक्ष निवेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले ९५ सालको ठेक्का कागज कीर्ते भन्नेसम्म दावीको यो मुद्दाबाट सो कागज कीर्ते हो होइन भन्नेसम्म निर्णय गर्नु पर्ने हो कीर्ते नठहराएतर्फ इलाका जिल्ला अदालतहरूको इन्साफ डिभिजन बेञ्चले सदर गरेकै छ, ठेक्का सम्बन्धी हक दायित्व हक बेहकसमेतको यो मुद्दामा दावी नै छैन त्यस कारण सो कुराको यस मुद्दाबाट ठहर गर्न मिल्ने हैन त्यसतर्फ हकबेहक हुने किसिमले दावी बाहेकको कुरामा डिभिजन बेञ्चबाट निर्णय भएको मिलेको छैन भन्नेसमेत बहस गर्नु भयो ।
८. यसमा प्रतिवादी भूपाल सिंहले ९५।११।७।७ को मिति राखी ठेक्काको कागज कीर्ते खडा गरेको बदर गरिपाउँ भन्ने वादीको मुख्य दावी भएतर्फ उक्त लिखत कीर्ते हो भन्न मिल्ने तथ्य सबूद नभएको र कीर्ते नठहराएको तत्कालिन वीरगञ्ज इलाका अदालत र जिल्ला अदालतको मनासिव ठहराई ०२२।७।२२।१ को डिभिजन बेञ्चले छिनेकोमा वादीले दोहर्याई माग्न निवेदनसमेत नदिई चित्त बुझाई बसेकोसमेत हुँदा त्यसतर्फ अरू विचार गरिरहनु परेन ।
९. उक्त ९५।११।७।७ को ठेक्का पट्टाको लिखतमा म्याद नतोकिएको त्यस्तो ठेक्कालाई अनिश्चित कालसम्म पाउने अर्थ भएको रहेछ भन्ने देखिन नआउने यदि सम्बन्ध छैन भने त्यस्तो ठेकदारलाई धनी र ठेकदारको बीचमा जग्गा कमाउने र बहालमा बस्ने वा कामदार सरहकोमात्र सम्बन्ध कायम रहने हुनाले भूपाल सिंहको मञ्जूरी नभए पनि उपेन्द्रनाथले आफुखुसी गर्न पाउने कुरा यस लिखतबाट देखिने भन्नेसमेत प्रतिवादी भूपाल सिंहले पाएको ठेक्का सम्बन्धी हक दायित्वमा असर पर्ने कुराहरू पनि ०२२।७।२२।१ को डिभिजन बेञ्चको फैसलामा ठहर उल्लेख भएकोमा चित्त बुझेन भन्ने प्रतिवादी भूपाल सिंहको निवेदनपत्र परेको आधारमा यो मुद्दा दोहरिएको हुनाले डिभिजन बेञ्चको फैसलामा उपरोक्त कुरा ठहर भएको ठिक बेठिक के हो भन्ने कुरा मुख्य रूपले विचार गर्नु पर्ने हुन आएको छ ।
१०. यस प्रसंगमा वादीको दावी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा ९५।११।२७।७ को मिति राखी भूपाल सिंहले आफ्ना हस्ताक्षरबाट कीर्ते ठेक्का लेखी खडा गरेको सो कीर्ते ठेक्का बदर वातेल गरी कीर्ते ठेक्का खडा गरेमा भूपाल सिंहलाई कीर्तेमासमेत सजाय गरिपाउँ भन्ने फिरादपत्रमा मुख्य दावी लिएको पाइन्छ, वादीले जे जति कुरामा दावी लिएको छ त्यतिसम्म कुराको कानून बमोजिम अदालतले इन्साफ ठहर गर्नु पर्ने हो वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न मिल्ने देखिँदैन ।
११. यही ठेक्का पट्टासमेतको विषयमा यिनै पक्ष विपक्षहरूसमेतको पहिले परेको मुद्दामा जिमदारीकै हकबेहक गरी भूपालसिंहले पाउन नसक्ने निजको हक नलाग्ने जिमिदारी भए निजका हकमा ऐन बमोजिम आजका ३५ दिनभित्र उपेद्रनाथले उजूर गर्नु पर्छ अमीनमा उजूर गरी हकबेहक गर्नु भनी सुनाई दिने भन्ने ०१५।६।१४।३ को डिभिजन बेञ्चबाट फैसला भएपछि सिर्फ ९५।११।७।७ को ठेक्का पट्टाको लिखत कीर्ते खडा गरेको बदर वातेल गरी कीर्ते गरेमा सजाय गरिपाउँ भन्नेसम्म दावी लिई वादी उपेन्द्रनाथले यो नालेस दर्ता गरेको भएपछि यस मुद्दाबाट दावी बमोजिम उक्त ९५।११।७।७ को ठेक्का पट्टाको लिखत कीर्ते खडा गरेको हो होइन भन्ने वादी दावीसम्मको कुरामा इन्साफ ठहर हुन सक्ने हो, उक्त ठेक्का पट्टाको लिखतमा समय नतोकिएको जग्गाधनीले जहिले पनि आफू खुसी खोसमोस गर्न पाउने हुँदा उक्त ठेक्का पट्टाको लिखत बदर गरिपाउँ भन्नेसमेत ठेक्का पट्टाको हक दायित्व हकबेहक सम्बन्धी अन्य कुराहरूको वादी दावी नै नभएकोमा बीचमा अदालतले तर्क उठाई प्रतिवादी भूपाल सिंहले उक्त ९५।११।७।७ को लिखतबमोजिम पाएको ठेक्का पट्टाको हक दायित्वमा हकबेहक हुने गरी अदालतले कुनै कुरा बोली रहन नमिल्ने प्रष्टै छ ।
१२. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट ०२२।७।२२।१ को डिभिजन बेञ्चले ९५।११।७।७ को ठेक्का पट्टाको लिखत कीर्ते नठहराएकोसम्म मनासिवै छ उक्त डिभिजन बेञ्चको फैसलामा उपरोक्त उल्लेख भए बमोजिम वादी दावी नै नभएको ठेक्का पट्टाको हक दायित्वमा असर पुग्ने गरी हकबेहक सम्बन्धी अन्य कुराहरूसमेत ठहर उल्लेख गरेको मिलेको देखिएन डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले इन्साफ दोहर्याएमा निवेदक प्रतिवादीलाई केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. ब्रम्हदत्त तिवारी
न्या. रङ्गनाथ उप्रेती
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल फागुन २३ गते रोज ३ शुभम् ।